×

२०८२ फागुन २३ गते शनिवार

२०८२ फागुन २३ गते शनिवार

सोलाबाङ, रुकुम पश्चिम

आज छोरा परिशीलनको निधन भएको ठिक १० वर्ष भयो । २०७२ साल फागुन २३ गते मोटरसाइकल दुर्घटनामा परी भक्तपुरको राधेराधे नजिकै २३ वर्षीय परिशीलनको निधन भएको थियो । १० वर्ष बिते पनि उसको झझल्को दुरुस्तै आइरहन्छ । सन्तान गुमाउनुको पीडा सन्तान गुमाउनेका मातापितालाई मात्र थाहा हुन्छ ।

यो दिनले हरेक वर्ष झस्काइरहन्छ । यदि दुर्घटना नभइदिएको भए आजको दिन कति फरक हुन्थ्यो होला भनी कल्पँदा कल्पँदै आज घरायसी कामहरू जाँगर नलागी नलागी गरियो । दिउँसोतिर सिम्रुतुमा पढाएका विद्यार्थीहरू भद्रबहादुर केसी र आनन्द पुन मेरो घरमै आएर भेटघाट गरेका थिए । भद्रबहादुर केसीको माइलो छोराको पनि २६ वर्षकै उमेरमा दुर्घटनामा मृत्यु भएको रहेछ ।

देवकुमारी पनि दिनभर चिन्तित थिइन् । सासूआमाको एकोहोरो गनगनले देवकुमारी झडङ झडङ रिसाइरहेकी थिइन् । स्मृति गुमाउँदै गएकी सासूआमालाई यो पीडा पनि विस्मरण भइसकेको हुनुपर्छ।

रुकुमबाट गोपाल शर्माको विजय सुनिश्चित भएको छ । जनार्दन काँग्रेसका उम्मेदवार राजु केसीभन्दा पनि पछि परेका छन् ।

मलाई चुनाव लड्नुपहिल्यै जनार्दन दाइले काठमाडौँमा आफ्नो निवासमा बोलाएका थिए । मैले उनलाई पछिल्लो स्थितिको गहन विश्लेषण नगरी चुनावमा जानुहुँदैन भनी सुझाव दिएको थिएँ ।

आज राति १० बजेसम्म रास्वपाले ७६ ठाउँबाट जित हात पारिसकेको छ भने अझै ४६ ठाउँमा अग्र स्थानमा छ । यसै गरी नेपाली काँग्रेसले ११ स्थानमा जित हासिल गरी ७ स्थानमा अग्रस्थानमा रहेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले क्रमशः ४ र ३ स्थानमा जित हासिल गरी क्रमशुः ८ र ५ स्थानमा अग्र स्थानमा रहेका छन् । समानुपातिकतर्फको पनि मतपरिणाम आउन थालिसकेको छ जसअनुसार रास्वपा निकै अघि देखिन्छ ।

Loading

Post Comment

You May Have Missed