२०८३ असोज १ गते विहीवार
दुवाकोट भक्तपुर
देवकुमारीले बिहानै मायालु स्वरले उठाइन् । उनले लाडिँदै भनिन् अब हामीले कहिल्यै झगडा नगर्ने है ? तपाईँ पनि बिनसित्ति रिस नउठाउनुहोला म पनि उठाउँदिनँ । मैले पनि मायालु स्वरमै जवाफ दिएँ । हामी अब वृद्धावस्थाको खुड्किलो टेकिसकेका छौँ । यस्तो अवस्थामा एकजनालाई अर्को जनाको आश्रय चाहिन्छ । झगडा गर्नुपर्ने कारण नै के हुन्छ र ? तिमी मेरो ठाउँमा उभिएर मलाई हेर । म तिम्रो ठाउँमा उभिएर तिमीलाई हेर्छु । आफ्नो आफ्नो ढिपी नकसे त हाम्रो संसार मायाकै संसार हुन्थ्यो नि ।
उनले म पानी तताउन जान्छु तपाईँ पानी खान आइहाल्नुहोला भनेर माथि उक्लिइन् । म खुसी हुँदै ल्यापटप समातेर बसेँ । चस्मा नभेटिएकोले सिरानी तानेर खोजेँ । भेटिएन । कपडाहरू ओल्टाई पल्टाई गरी हेरेँ भेटिएन ।
एकछिन पछि देवकुमारी पानी लिएर तल ओर्लिइन् र पानी खान माथि पनि नउक्लने भन्दै गुनासो गरिन् । अनि सिरानीहरू उल्ट्याएको र सिरक गुटमुट्याएको देखेर स्वर बढाउँदै भनिन् कहिल्यै बिछ्यौना आफै मिलाउन जान्नु छैन । मिलाएको पनि बिगार्न मात्र आउँछ । काम काज केही छैन ।
मैले पनि स्वर बढाउँदै भनेँ बिग्रिएको त सुधार गर्न सकिहालिन्छ । बिग्रिएकै पनि के छ र भनेँ ।
बिहे गरेदेखि सधैँ आफूले दुःख मात्र पाएको । कहिल्यै सन्तोष नमिलेको भन्दै चिच्याउन थालिन् ।
तिम्रो कामै के छ र खाना पकाइदिने र यही मिलाउने काम मात्र त छ । त्यसको लागि किन रडाको मच्चाउनु मै गरुँला भनेँ ।
उनले कुकुर अपशब्द प्रयोग गरिन्, मैले पनि कुकुर्नी भनेर गाली गरेँ । उनी हातखुट्टा फट्कार्दै माथि उक्लिइन् म खानै नखाई लेखनकुन्जतिर लागेँ । यसरी एकछिन अगाडिको सम्झौता भङ्ग गर्नुपरेकोमा मलाई सारै पछुतो भइरहेको थियो ।
लेखनकुन्जमा खासै काम थिएन तर घर फर्कन मन नलागेकोले यत्तिकै ४ बजेसम्म लेखनकुन्जमै बसेँ । छिनछिनमा फोन गर्ने देवकुमारीले पनि दिनभरि फोन गरिनन् मैले पनि उनलाई फोन गरिनँ ।
बद्री सम्धीले फोन गरेर डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर ओलीलाई अख्तियारको टोलीले ९ लाख घुससहित पक्रिएको खबर सुनाउनुभयो । मैले सानीआमाको छोरा भाइ पनि नापी अधिकृत र नाम डिल्लीबहादुर ओली भएको तर ऊ बच्चैदेखि धार्मिक प्रवृत्तिको मान्छे भएकोले कसैलाई दुःख दिने र घुस लिने काम कहिल्यै नगरेको स्पष्टीकरण दिएँ ।
पछि भाइ प्रकाशलाई फोन गरेर सोधेँ । उसले पनि भाइ डिल्ली नै भएको बतायो । म चकित परेँ । सायद भूमाफियाहरूले आफ्नो काम नगरिदिएपछि यसरी फसाएका हुन सक्छन् भन्ने लाग्यो ।
लेखनकुन्जबाट नयाँवानेश्वरको नागरिक लगानी कोषमा पुगेँ र आफ्नो झिक्न बाँकी स्टेटमेन्ट प्रिन्ट गर्न लगाएँ । त्यहाँबाट भक्तपुरको गाडी चढेपछि देवकुमारीलाई फोन गरेर सोधेँ- के गर्दै छ्यौ फिल्म हेर्ने भए ठिमीको भाटभटेनी आऊ ।
उनले ससपत्र गर्दै भनिन्- हुन्छ म भाटभटेनी आउँछु तपाईँले बेहुली फिल्मको टिकट लिँदै गर्नुहोला । म भाटभटेनी ओर्लिएर टिकट काउन्टरमा उक्लिएँ । बेहुली फिल्म सुरु हुने बेला भइसकेछ । अब चल्ने हिन्दी मात्र रहेछन् । देवकुमारी भाट भटेनीमा आइपुगिन् र सुरु भइसकेको भए पनि बेहुली नै हेर्ने भनिन् । टिकट काटेर सुरु भइसकेको फिल्म हेर्न थाल्यौँ । आधाबाट हेर्दा बेहुलीको कथा न उनले बुझिन् न मैले ।
त्यहाँ बेहुली फिल्म मनोरञ्जन लिनको लागि पनि हेर्दै थिएनौँ । देवकुमारीले बिहान झगडा गरेकोले मेरो मन राखिदिन चाहन्थिन् मैले उनको लागि हेरिदिँदै थिएँ ।
फिल्म सकिएपछि बेलुका साढे ८ बजेतिर हिँड्दै दुवाकोटमोडतिर लाग्यौँ । आआफूले आआफ्नो गल्ती महसुस गरिसकेका थियौँ । घरमा पुगेर खाना खाँदा बेलुका १० बजिसकेको थियो ।
२०८३ असोज २ गते शुक्रवार
दुवाकोट भक्तपुर
बहिनी किरणको पूर्वयोजना बमोजिम बिहानै उठेर सानोठिमीस्थित नवीन खडकाको कोठामा पुग्यौँ । किरण पहिल्यै आइसकेकी थिइन् । कुराकानीको मध्यस्थता किरणले नै गरिन् । हामीले हाम्रै बाध्यता जनायौँ नवीनको श्रीमतीले आफ्नो बाध्यता जनाउनुभयो । खाना पनि त्यतै खायौँ ।
त्यहाँबाट गाडी चढेर म रसियन कल्चर सेन्टर कमलपोखरीतिर लागेँ । अस्तिदेखि नै साहित्यकार महेश पौड्यालले मलाई रसियन कल्चर सेन्टरमा चल्ने अन्तिम गीत हेर्न निमन्त्रणा दिनुभएको थियो । निमन्त्रणा कार्डमा २ बजेदेखि चल्ने भनिए तापनि म १ बजे नै रसियन हाउसमा पुगेँ । जाँदा जाँदै महेश पौड्यालसँग भेट भयो । उहाँले ४ बजे मात्र नाटक सुरु हुने बताउनुभयो । ३ घण्टा अब कहाँ गएर बिताउने ? महेश पौड्यालले नै पुस्तकालय देखाइदिनुभयो । पुस्तकालय सियो खसे पनि आवाज सुनिने खालको शान्त थियो । अन्य पुस्तकालयहरू रित्तो भइरहेको अवस्थामा यहाँको पुस्तकालय भने खाली कुर्सी नभेटिने गरी खचाखच भरिएको रहेछ । छ सातवटा टेबुल र पचास साठीवटा कुर्सी नै हुँदा हुन् । एकजना कुर्सीबाट उठ्नेबित्तिकै मैले सो कुर्सी ओगटेँ र बसेर निलकण्ठ उप्रेतीको आत्मकथाको सम्पादनमा लागेँ । शान्त वातावरणमा ३ घण्टामा ३० पृष्ठजति सम्पादन गर्न सकिएको खुसी लाग्यो । घरमा वा अफिसमा त दिनभर १० पृष्ठ सम्पादन गर्न पनि मुस्किल पर्छ । महेशजीले भनेबमोजिम ठिक ४ बजे हल प्रवेश गरेँ । हलमा चार पाँचजना भन्दा बढी थिएनन् । यसै बेला महेश पौड्यालले मञ्चको छेउबाट मेरो नामोच्चारण गर्नुभयो । म खुसीले आल्हादित भएँ । आधा घण्टासम्म पनि दश बाह्रजना भन्दा बढी दर्शक देखिएनन् ।
पौने ५ बजेतिर सूचना मन्त्रीसहितको डफ्फा हलभित्र छिर्यो । त्यसपछि ३०० को हाराहारीमा रहेका कुर्सीहरू सबै दर्शकले भरियो । नाटक सुरु नभएर आसनग्रहण उद्घाटन र मन्तव्यतिरको औपचारिकता पूरा गर्नतिर लाग्यो । लगभग आधा घण्टापछि नाटक सुरु भयो ।
मञ्चमा रात परिसकेको छ। प्रदर्शन सकिइसकेको छ। दर्शक, कलाकार र कर्मचारी सबै घर गइसकेका छन् । तर एउटा वृद्ध अभिनेता वासिली स्वेत्लोविदोभ dressing room मा मदिराको नशामा निदाएको हुन्छ । ब्युँझिँदा उसले आफूलाई सुनसान रंगमञ्चमा एक्लै पाउँछ । जीवनभर हजारौँ दर्शकका अगाडि बोलेको कलाकार अन्ततः आफ्नै मञ्चमा एक्लो छ । उनको अन्तिम अभिनय निकै सफल भएको थियो। दर्शकले उनलाई पटकपटक मञ्चमा बोलाए, खादा र माला पहिराइदिए । तर कार्यक्रम सकिएपछि उनलाई घर लैजान आउने कोही भएन । यहीँबाट उनको भित्री पीडा बाहिर आउन थाल्छ।
स्वेत्लोविदोभ भन्छन् : मसँग न पत्नी छ, न सन्तान; मलाई माया गर्ने र मेरो प्रतीक्षा गर्ने कोही छैन । अर्थात्, मञ्चमा उनी अत्यन्त लोकप्रिय भए पनि व्यक्तिगत जीवनमा एक्ला छन् । दर्शकले ताली बजाउँछन्, माला लगाइदिन्छन्; तर ती ताली र माला कलाकारको घरसम्म पुग्दैनन् । प्रश्न उठ्छः कलाकारलाई उसको कला चाहिएको हो कि कलाकार स्वयं चाहिएको हो?
त्यसपछि अँध्यारो रंगमञ्चबाट अर्को नाचिरहेको अवस्थामा अर्का पात्र देखा पर्छन्, निकीता इभानिच, लामो समयदेखि थिएटरमा prompter अर्थात् कलाकारलाई संवाद सम्झाउन सहयोग गर्ने व्यक्ति । स्वेत्लोविदोभलाई पहिलोपटक आफू एक्लो छैन भन्ने अनुभूति हुन्छ । निकिता उसको कुरा सुन्छिन्, सहानुभूति दिन्छिन् ।
त्यसपछि वृद्ध अभिनेता आफ्नो यौवन सम्झन्छन् । कुनै बेला उनी जवान, आकर्षक र उत्साही थिए । अभिनयमा आउनुअघि उनी सेनामा थिए । प्रेम पनि गरेका थिए । तर उनले प्रेम गरेकी युवतीले कलाकारसँग विवाह गर्न अस्वीकार गरेकी थिइन् । त्यसपछि उनको जीवन अभिनयमै बग्यो । प्रेम गुमाएपछि उनले रंगमञ्च पाए;
रंगमञ्च पाएपछि जीवनको ठूलो भाग गुमाए ।
उनी सफल भए, प्रसिद्ध भए, तर परिवार बनाउन सकेनन् । बुढेसकालमा आएर उनले आफ्नो सफलतालाई नै प्रश्न गर्न थाल्छन् ।
त्यसपछि नाटकभित्र फेरि नाटक सुरु हुन्छ । स्वेत्लोविदोभ अचानक पुराना भूमिकाहरू सम्झेर संवाद बोल्न थाल्छन् । उनले Shakespeare का King Lear, Hamlet, Macbeth र Othello आदिका भावपूर्ण अंशहरू पुनः अभिनय गर्छन् । निकिता पनि आवश्यक ठाउँमा साथ दिन्छिन् ।
वृद्ध मानिस आफ्नो जीवन सम्झिरहेको मात्र छैन; ऊ आफ्नो कलाकारिताको सम्पूर्ण जीवन फेरि एकपटक बाँचिरहेको छ ।
केही क्षणअघि ऊ निराश थियोः “अब मेरो जीवन सकियो ।”
तर पुरानो संवाद बोल्न थालेपछि उसको शरीर, आवाज, आत्मविश्वास र कलाकार फेरि जाग्छ । तर कलाकार र पात्रबीचको सीमा मेटिँदै जान्छ । स्वेत्लोविदोभले Shakespeare का पात्रहरूको दुःख बोलिरहेका छन् । तर ती पात्रको दुःख बोल्दाबोल्दै आफ्नै दुःख पनि बोलिरहेका हुन्छन्।
King Lear को वृद्धावस्था बोल्दाः आफ्नो वृद्धावस्था बोल्छन् । Hamlet को अस्तित्वगत प्रश्न बोल्दाः
आफ्नै जीवनको अर्थ खोज्छन् । Othello को विनाशतर्फको यात्रा बोल्दाः आफ्नै जीवनको अन्तिम चरणसँग साक्षात्कार गर्छन् । जसले गर्दा यो नाटक “नाटकभित्रको नाटक” जस्तो पनि बन्छ ।
Swan song भनेको कलाकारको अन्तिम सिर्जना वा विदाइको प्रस्तुति भन्ने रूपक हो । पुरानो विश्वासअनुसार हाँसले मृत्यु हुनुअघि अत्यन्त सुन्दर गीत गाउँछ भन्ने धारणा थियो । त्यसैबाट swan song भन्ने अभिव्यक्ति बनेको हो ।
स्वेत्लोविदोभको अवस्था पनि त्यस्तै छः जीवनको अन्तिम मोडमा पुगेको कलाकार आफ्नो कलाको सबैभन्दा गहिरो स्वर निकालिरहेको छ । नेपालीमा “अन्तिम गीत” शीर्षकल सार्थकता प्राप्त गरेको छ ।
मूलतः यो कलाकार र उसको निजी जीवनबीचको दूरीको कथा हो । मञ्चमा ऊ राजा हुन्छ, प्रेमी हुन्छ, दुःखी हुन्छ, वीर हुन्छ, खलनायक हुन्छ । मञ्चबाट ओर्लिएपछि ऊ केवल एउटा वृद्ध, एक्लो मानिस हुन्छ । अन्ततः प्रश्न उठ्छः हजारौँ मानिसको मन छुने कलाकारलाई उसको आफ्नै जीवनमा कसले छुन्छ ?
यहाँ एउटा अत्यन्त सुन्दर विडम्बना छ । नाटकको सुरुवातमा दर्शक छैनन् । अन्त्यतिर फेरि अभिनय सुरु हुन्छ ।
अर्थात् दर्शक हराइसकेपछि पनि कलाकार अभिनय गरिरहेछ । किन ?
अब उसले अरूलाई देखाउन अभिनय गरेको होइन । आफूलाई बचाउन अभिनय गरिरहेको छ । उसको लागि अभिनय अब पेशा मात्र होइनः उसको अस्तित्व हो ।
कलाकार सुनील पोख्रेल भन्छन् यो अभिनय मेरो अन्तिम अभिनय हुन पनि सक्छ र नहुन पनि सक्छ ।
नाटक सकिनेबित्तिकै अरूलाई उछिन्दै म थियटरबाट बाहिर निस्कन्छु तर मभन्दा पहिल्यै अनुवादक महेश पौड्याल निस्किसकेका हुन्छन् । उनको नजिक जाँदा अरू कसैले उनलाई अङ्कमाल गरिरहेका हुन्छन् । उनी छुट्टिनेबित्तिकै मैले पनि उत्कृष्ट नाटक भन्दै उनीसँग हात मिलाएर बधाई दिन्छु । दुबै बधाईदाता सँगै छौँ । महेश भन्छन् सरी है आसनग्रहणमा नाम छुटाएछु ।
यो मलाई त भनेनन् उनले ? म को हुँ र आसनग्रहणमा नाम बोलाइने ? मलाई त उनले पहिल्यै सम्बोधन गरिसकेका छन् र अन्तिममा पनि सम्बोधित हुन पहिल्यै उपस्थित छु ।
अर्कैले जवाफ दिन्छन् होइन । सबैलाई नाम बोलाएको भए त फेरि अर्को नाटक हुन जान्थ्यो ।
कमलपोखरीबाट बागबजार पुगेर भक्तपुरतिर जाने बस चढ्दा झमक्कै रात परिसकेको हुन्छ । देवकुमारीलाई जानकारी गराउँछुः कार्यक्रमबाट फर्कन ढिला भयो । आइपुग्न अझै डेढ दुई घण्टा लाग्न सक्छ है ।
२०८३ असोज ३ गते शनिवार
दुवाकोट भक्तपुर
बिहान देवकुमारीको दाँतमा सिमेन्ट भरेर क्याप राखेको शुल्क २०,००० ओम डेन्टल क्लिनिकलाई चुक्ता गरियो । पहिले रुट क्यानल टिट्रमेन्ट (आरसीटी) ५००० मात्र लाग्छ भन्यो । आरसीटी गरेको केएमसी अस्पत्तालले ५००० देखि १० हजारसम्म लाग्न सक्छ भनेको थियो । ओम डेन्टल क्लिनिकले ५००० मै गरिदिन्छु भन्दा सस्तै लाग्यो । तर आरसीटी गरेपछि क्याप नराखे भाँचिन्छ फुट्छ भन्यो । आरसीटी गरेको दाँत र दुबैतिरका दाँत गरी ३ वटैमा क्याप राख्नैपर्छ भन्यो । एउटा क्यापको सस्तोमा ५००० लाग्नेभएकोले ३ वटा दाँतको २०००० तिर्नुपर्दा मेरो दाँतबाट पसिना नै निस्कियो ।
आजै प्रकाशले कीर्तिपुरतिर बोलाएको थियो । ९ बजेतिर दुवाकोटमोडबाट निस्कियौँ र सल्लाघारीसम्म हिँड्दै गयौँ । रत्नपार्क जानुभन्दा कलङ्कीको गाडीमा जाँदा छिटो होला भनेर कलङ्कीकै गाडी पर्खेर बस्यौँ । केही पर्खाइपछि कलङ्कीको गाडी पनि आइपुग्यो । गाडी चढ्यौँ । यात्रीहरू दुई तीनजना मात्र थिए । गाडीले स्टप स्टपमा रोक्दै लग्यो । कलङ्कीका धेरै गाडीहरू उछिनेर अगाडि गए । तर कोटेश्वर पुगेपछि ग्वार्कोतिर लाग्नुपर्नेमा रत्नपार्कको बाटो पकडियो । सोध्दा नयाँ रुटमा भर्खरै चलाएको रहेछ । यात्रीहरू पनि अन्धाधुन्ध परेकोले खासै चढ्दा रहेनछन् । कालीमाटी पुग्दा साढे दश बजायो । कालीमाटी ओर्लेर कीर्तिपुर छापको गाडी खोजेर चढ्यौँ र ११ बजे कीर्तिपुर पुग्यौँ ।
प्रकाश अफिस गइसकेछ । राधा दिपेश प्रकाशका सासू ससुरासँग भेट भयो । निर्माणाधीन घरको अवलोकन गर्यौँ । ससुरालाई लिएर म नजिकै रहेको ओपेन्द्र दाजुको घरमा पुगेँ । उहाँले २ तले घर लिनुभएको रहेछ । घरको प्राङ्गणमा कार पनि थियो । भाउजूसँग र छोरा बुहारीहरूसँग पनि भेट भयो ।
भक्तपुर फर्कँदा गाडी नपाइएकोले कीर्तिपुरसम्म हिँड्दै आउनुपर्यो । बाटोमा रामबहादुर रावलसँग भेट भयो । कीर्तिपुरबाट रत्नपार्कको गाडीमा चढ्यौँ । सुनधारामा ओर्लेर धरहरा चढ्न खोज्दा अत्यधिक लाइनका कारण धरहरा चढ्ने इच्छा त्याग्यौँ । रत्नपार्कमा पस्न खोज्दा त्यहाँ पनि टिकट काट्नेको लामो लाइन रहेछ । संविधान दिवस मनाउने एक हुल रत्नपार्क ढाकेर नाराबाजी र भाषण गरिरहेका थिए ।
बागबजारबाट पुरानो बाटोको गाडी चढेर दुवाकोट मोडस्थित घरमा बेलुकातिर आइपुग्यौँ । भोलि हेटौँडामा अस्मिताको बेबी सावर कार्यक्रम राखिएकोले हेटौँडा जानको लागि देवकुमारीले सामानहरू र झोला मिलाउन थालिन् । राजबहादुर कुँवर र कुशल बोगटी ५ किलो जुम्लाको स्याउ ल्याएर घरमै आइपुग्नुभयो । जुम्लाको स्याउ १८० रुपैयाँ किलो विक्रीवितरण भइरहेको रहेछ । देवकुमारीले भने यो स्याउ ५ किलो छँदै छैन भनेर गन्थन गर्न थालिन् । जति भए पनि हेटौँडा कोसेली लग्ने स्याउ भएकोले सम्धीहरूले तौलेर स्वीकार्नु हुने होइन चाल नगर भनेर सम्झाएँ ।
२०८३ असोज ४ गते आइतवार
हेटौँडा
देवकुमारी र मैले बिहानै घरबाट हेटौँडाको लागि प्रस्थान गर्यौँ । याङ्गोको ट्याक्सी लिएर बल्खु पुग्यौँ । बल्खुमा एकछिनसम्म गाडीवालाहरूको तानातानमा परियो । बल्खुबाट हेटौँडाको लागि मिनेट मिनेटमा सुमो तथा इभी गाडी छुट्ने भएकोले राम्रो गाडी छानेर मात्र अघिल्लो सिटमा जाने भनेर बाटोमा सल्लाह गरेका थियौँ । तर एकजना व्यक्तिले हाम्रा ४ वटै झोलाहरू काँधमा बोकेर हेटौँडा जाने एउटा पुरानो सुमोमा हुल्यो । अन्तिम सिटमा कोचिएर बस्नुपर्यो । सामानहरू छतमा हालिसकेको थियो । तसर्थ झारेर अर्को गाडीको विकल्प खोज्न सकेनौँ । यात्रा सोचेजस्तो हुँदैन । गाडीवालाहरूले ललाई फकाई परिबन्दमा पारी फन्दामा पारिहाल्छन् ।
देवकुमारी र म बाहेक गाडी चालक र अन्य सबै यात्रीहरू तराईवासी थिए । उनीहरूले बोलेको मुस्किलले मात्र बुझिन्थ्यो । एकजना कपालभरि पानी खन्याएको मानसिक सन्तुलन बिग्रिएको जस्तो व्यक्तिलाई काउन्टरवालाले सोही सुमोमा चढाए । उक्त व्यक्ति अर्को यात्रीलाई धकेलेर झ्यालतिर नै बस्यो । देवकुमारी अर्को झ्यालपट्टि बसेकी थिइन् । बिचमा म र अर्को यात्री थियौँ । उसको जिउको पानीले मसँगै बसेको व्यक्ति भिजिरहेको थियो ।
एकजनाले पाउँ गुदपाक र मिठाई बोकेर बेच्न ल्यायो । त्यो नौलो यात्रीले एउटा प्याकेटमा हात हाल्यो र खोल च्यातेर कपाकप खान थाल्यो । मिठाईवालाले पैँसा माग्दा मसँग छैन काउन्टरवालासँग नै माग् भन्यो । काउन्टरवाला नाजवाफ थियो ।
९ जना यात्रीले गाडी भरिनेबित्तिकै गाडी स्टार्ट गरेर चोभारतिर गाडी हुइँकियो ।
बाटोमा राजेश्वर कार्की सर र मोमिला जोशी म्याडमसँग कुरा भयो । मैले जरुरी कामले केही दिनको लागि हेटौँडा जाँदै गरेको बताएँ । रमेशमोहन अधिकारी सरसँग पनि फोनमा कुराकानी भयो । रमेशमोहन सर हेटौँडाबाट काठमाडौँतिर आउँदै गरेको जानकारी दिनुभयो । यो पटक रमेशमोहन सरसँग हेटौँडामा भेट्ने कार्यक्रम थियो तर आजकै दिन उहाँ यता आउने र म उता जाने संयोग परेछ ।
फर्पिङ कटेपछि हामी चढेको सुमो सिस्नेरीतिर नलागी हुमानेतिर लाग्यो । पानीले भिजेको यात्रीले नानाथरी फलाक्न थाल्यो । सायद पैसा मागेको हुनुपर्छ ड्राइभरले । उसले चाँहि अस्पष्ट स्वरमा बाटोभरि मलाई सुमोमा किन चढायौ र कहाँ लिएर जाँदै छौ भनेर कराउन थाल्यो । गाडीको चालक मात्र नभएर सबै हामीबाहेक सबै यात्रीहरू उसको जवाफी प्रतिवादमा उत्रिए । उसबाट फोन मागे । तर सही फोन नम्बर नभएकोले उसको मान्छेसँग सम्पर्क गर्न सकेनन् । यात्रीले मलाई बाटोमै झार्देऊ भन्यो झार्न पनि सकेनन् ।
सम्भवतः वैदेशिक रोजगारी वा पढ्ने वा कुनै रोजगारीको सिलसिलामा त्यस व्यक्ति काठमाडौँ पुगेको हुन सक्ने र ठगहरूले सबै पैसा लुटेपछि मानसिक स्थिति खलबलिएको हुनसक्ने मैले आँकलन गरेँ । सबै यात्रीहरू त्यसलाई चौकीमा थुनाउनको लागि फाखेलमा गलफत्ती गरे । फाखेल चौकीले त्यस व्यक्तिलाई जिम्मा लग्न मानेन । फाखेलमै धेरै ढिला भयो । त्यहाँबाट हिँडेपछि उक्त यात्री चुप भइसकेको थियो । बरु हामीलाई उक्त व्यक्तिले हामीलाई देवीदेवता भन्दै पाउ छोयो । हामीहरूलाई बाबाजी सम्बोधन गर्यो । मलाई न्याय देऊ भनेर पुकारा गर्यो । तर हामीले एक त उनीहरूको भाषा बुझिरहेका थिएनौँ । सबै मधेशीहरू नै भएको र ऊप्रति आक्रामक भइरहेको हुँदा उसको पक्षमा बोल्न पनि समस्या भइरहेको थियो ।
त्यस यात्रीले फाखेलदेखि भीमफेदीसम्म चुप्पै रहेको थियो । घरीघरी निदाएको बहाना पनि गर्थ्यो । तर अन्य यात्रीहरूले निहुँ खोजिरहेका थिए ।
हामीले उसलाई पानी किनेर खुवायौँ । आधाभन्दा धेरै पानी घटघटी पियो र केही पानी कपाल र जिउ भिजायो । ऊ निकै आपतमा परेको देखिन्थ्यो । त्यस व्यक्तिले मानसिक सन्तुलन गुमाएको जस्तो पनि लागेन । किनकि उसले को ठिक र को बेठिक भनेर स्पष्ट छुट्याइरहेको थियो । उसको जिकिर पैसा नभएको थाहा पाई पाई किन मलाई गाडी चढायौ भन्ने थियो भने चालक र अन्य यात्रीको भने गाडी चढेपछि जसरी पनि गाडी असुल्ने दाउ थियो । गाडीवालाहरूले पनि बल्खुमा त्यस यात्री मिठाई खोसेर खाँदा आफूसँग पैँसा नभएको बताइसकेको थियो । बल्खुमै काउन्टरवालाले गाडी चढाउँदा पनि काउन्टरवालासँग कुनै प्रतिक्रिया जनाएका थिएनन् । बरु देवकुमारी र मैले यस्तो व्यक्तिलाई गाडी नचढाऊ भन्दा उनीहरूले नै जिद्दी गरेर बोकेर ल्याएका थिए ।
उनीहरूको दाउ भनेको यही व्यक्ति वा यसैको आफन्तबाट जसरी पनि गाडीभाडा असुल्नु मात्र देखिन्थ्यो ।
त्यो गाडी कलैया जानेभएकोले हामी हेटौँडामै ओर्लियौँ । उसको दयनीय अवस्था देखेर खाजाको लागि केही पैसा उसलाई दियौँ र उसको शुभ यात्राको कामना गर्दै बिदाईको हात हल्लायौँ ।
हेटौँडाबाट अटोरिक्सा लिए चौघडा नजिकैको न्युरेनी स्थित अस्मिता छोरीको घरमा पुग्यौँ । प्रवीर बाटोमै हामीलाई लिन आइपुगे । । छोरी अस्मिता लगायत वृद्धावस्थामा पुगेका करिब ८५ वर्षीय बुवा सम्धी, आमा सम्धिनीहरू, सम्धी-सम्धिनी, जुवाइँहरू तथा नाती प्रवीर र नक्षत्रसँग मिठो मिलन भयो । पकाइराखेको मिठो मसिनो खाना खायौँ ।
आज अस्मिताको बेबी सावर कार्यक्रममा आमन्त्रित पाहुनाहरू दिनभरि आइरहेका थिए । दिउँसो पाठक परिवारको वंशावलीको बारेमा सोधखोज गरेर विवरण उपलब्ध गराइदिएसम्मको टिपोट गरेर राखेँ । बेलुका टिपोट गरेका नामहरू कम्प्युटरमा चढाएँ ।
बेलुका विभिन्न आफन्तजनहरूको बाक्लो उपस्थितिमा बेबी सावर कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । राति १ बजेतिर प्रवीरलाई खोकी लागेकोले प्रवीण जुवाइँ र अस्मिता आत्तिइरहेका थिए । औषधि खुवाएपछि अलि ठिक भएकोले सबैले विश्राम लियौँ ।
२०८३ असोज ५ गते सोमवार
भरतपुर चितवन
बिहान ५ बजे नै सम्धीको अफिसको गाडीमा देवकुमारी अस्मिता र प्रवीरसहित ४ जना चितवनको लागि प्रस्थान गर्यौँ । ७ बजेतिर भरतपुरको पिपलचोकमा लिएको अस्मिताको कोठामा आइपुग्यौँ । अस्मिता ८ बजे अस्पत्तालतिर लागी । प्रवीर नातिलाई सवा ९ बजे स्कुल पुर्यायौँ ।
दिउँसो दारी काट्ने युज एण्ड थ्रो वाला ब्लेड किन्न पिपलचोकमा पुगेँ । पिपलचोकको पुस्तक पसलेबाट उक्त ब्लेड किन्न खोज्दा ५० रुपैयाँ कटाए । होइन यसको मूल्य त २० देखि ३० मात्र पर्नुपर्ने हो भन्दा आफूले ५० मै विक्री गरिरहेको जिद्दी । ब्लेड फिर्ता गर्न खोजेपछि बल्ल २० रुपैयाँ फिर्ता दिए ।
पसलवालाहरू सामान्यतया सबैलाई एउटै दरमा सामान बेच्छन् । उनीहरूले बेच्ने सामानमा त नाफा जोडेकै हुन्छन् तर नजिकैको अन्य पसलको भन्दा बढी लिँदैनन् । समान मूल्यमा बेच्ने नैतिकता नै हुन्छ उनीहरूको ।
तर यस पसले भने ठग्न सकिने मान्छे देखेमा जति पनि पैसा लिन खोज्दो रहेछ । मैले यो कुरा अस्मितालाई पनि बताउँदा उसले आफूलाई पनि यसरी नै व्यवहार गरेकोले आफू त्यस पसलमा जान छोडेको बताई ।
दिनभर कोठामै सुत्दै उठ्दै खाँदै सुत्दै मात्र काम भयो । दिउँसो निशाको भिडियोकल आयो । हिजोको कार्यक्रमदेखि भरतपुर आइपुगेसम्मको घटना सबै बतायौँ ।
आँगन महिला समूह सानोठिमी, राजबहादुर कुँवर, मल्ल हार्डवेयरलाई तिर्नुपर्ने रकम क्युआरबाट चुक्ता गरियो ।
२०८३ असोज ६ गते मङ्गलवार
भरतपुर चितवन
बिहान उठेर पिपलचोकको पश्चिम दक्षिण भएर देवकुमारी र म मर्निङवाकमा निस्कियौँ । फर्कँदा बाटो अलमलियो । स्थानीयलाई सोधेर बाटो भेटायौँ ।
काठमाडौँमा कसैलाई केही सोध्नुपर्यो भने जवाफ दिएको पनि मोल पर्ला जस्तो गर्छन् । एउटाले अर्कोलाई परवाह नै गर्दैनन् । चितवन पनि महानगरपालिका नै हो । तर यहाँका मान्छेहरू व्यावहारिक रूपमा असल देखिन्छन् । नयाँ देखेमा सोधपुछ गर्छन् । सोधेको कुरा हाँसेर खुसी भएर स्पष्ट गरिदिन्छन् । त्यसैले काठमाडौँमा जाँदा विदेशी भूमिमा टेकेको जस्तो महसुस हुन्छ भने चितवन आउँदा आफ्नै गाउँमा पुगेको जस्तो अनुभूति हुन्छ ।
कोठामा आइपुगेपछि प्रविर नातिलाई स्कुल पुर्याइसकेपछि नीलकण्ठ उप्रेतीको आत्मकथा सम्पादनमा लाग्छु ।
दिउँसो कमल ढकालसँग मेसेन्जरमा कुरा हुन्छ । मैले काम विशेषले चितवन आइपुगेको र सोको जानकारी गराउन नसकेकोमा क्षमा माग्दछु । कमलजीले नीलकण्ठको काम कति सकियो भनेर प्रगतिबारे सोधखोज गर्नुहुन्छ र गोविन्दराज विनोदी हाल गैँडाकोट प्रज्ञा प्रतिष्ठानको कुलपति पनि भएकोले उहासँग भेटेर प्रज्ञा प्रतिष्ठानको स्थापना सम्बन्धमा जानकारी लिन अनुरोध गर्नुहुन्छ ।
कमलजीले दिएको नम्बरमा फोन गरेपछि विनोदी सरसँग भेटघाटको लागि कुराकानी हुन्छ । उहाँले आज चितवन र गैँडाकोट क्षेत्रका साहित्यकारहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेकोले २ बजेपछि आउनुहोला भनेर निमन्त्रणा गर्नुहुन्छ । तर दिउँसोतिर देवकुमारीले जिउ गलेर बिरामी परेको अवस्था बताएपछि गोविन्दराज विनोदीलाई भेट्न जाने योजना रद्द हुन्छ ।
बेलुका प्रवीरलाई विद्यालयबाट ल्याएर खाजा खुवाइ फेरि पिपलचोकको पूर्व दक्षिणपट्टि रहेको एक घरमा ट्युशनको लागि छोड्छौँ । बेलुका लिन जाँदा ७० रुपैयाँ को सुकेको साग किनेर कोठामा ।
२०८३ असोज ७ गते बुधवार
भरतपुर चितवन
बिहानै देवकुमारी र म पिपलचोकको दक्षिण पूर्वतिर मर्निङ वाकमा निस्कन्छौँ । एउटा सागबारीमा साग टिप्दै गरेको देखेपछि बारीबाटै ५० रुपैयाँ मुठा साग किनेर कोठामा फर्कन्छौँ ।
कोठामा आइपुगेपछि नीलकण्ठ उप्रेतीको आत्मकथाको सम्पादन कार्यमा लागेर पहिलो सम्पादन सक्दछु । तिथिमिति स्थान तथा व्यक्तिको नाम हचुवाको भरमा मात्र राखेकोले सोधेर खोजेर मिलाउनुप काम अझै धेरै बाँकी रहेको छ । सम्पादन सकिएपछि संरचना र पाठहरू तथा विषयसूची मिलाउन थाल्दछु । आत्मकथाको शीर्षकः ‘लोकतन्त्रका पहरेदारः स्थायी कम्प्युटर अपरेटरदेखि प्रमुख निर्वाचन अधिकृतसम्मको सङ्घर्षपूर्ण यात्रा’ भन्ने राखेको छु ।
तर नीलकण्ठ सरसँग भेट भएको छैन । उहाँलाई सम्पादनको लागि लिइने आधारबारे बताउन बाँकी छ । नबुझेको कुराहरू स्पष्ट हुन बाँकी नै छ । उहाँको अनुमति र स्वीकारपछि मात्र वास्तविक सम्पादनको काम हुनेछ । शीर्षक पनि उहाँले भनेबमोजिम नै राखिनेछ । तर उहाँलाई कुरा राख्नुभन्दा पहिले आफूले पनि सबै आत्मकथा पढेर उहाँलाई सुझाव दिनुपर्ने भएकोले यसको पूर्वतयारी स्वरूप यी पूर्व सम्पादनको काम गरेको हुँ । यति काम गर्न मलाई १५ दिनभन्दा बढी लागिसकेको छ ।
सम्पादनको काम निकै मसिनो हुन्छ । लेखकलाई धेरै कुराहरू थाहा नै हुँदैनन् र हेक्का पनि हुँदैन । तसर्थ कुनै कुनै सम्पादनमा त सम्पादकले काम नै नगरको जस्तो पनि देखिन सक्छ । तर उसको परिश्रम निकै परिसकेको हुन्छ । मैले गरेका केही सम्पादनमा यस्ता कुराहरू भोगेको पनि छु ।
आज गोविन्दराज विनोदीलाई भेट्ने कार्यक्रम मिलाउन खोज्दा फोन नउठेकोले भेट्न जाने कार्यक्रम क्यान्सिल गर्छु । टङ्कराज ढकाल ‘तितेपाती’ र मनोहर लामिछानेसँग फोन वार्ता हुन्छ । समय मिलेसम्म तितेपातीसँग भोलि नै भेट हुनेछ । उहाँसँग चिनजान भएको १० वर्षभन्दा धेरै भइसकेको छ । तर पछिल्लो समयमा भने भेटघाछ पातलो हुँदै गएको थियो । गैँडाकोटमा आइपुग्दा उहाँको सम्झना आउने गरेको तर अहिले मध्यपहाडी लोकमार्गले गैँडाकोट नघुमाउने भएकोले तितेपाती पनि महेन्द्र राजमार्गसँगै विस्मरणमा जान थाल्नुभएको थियो ।
नामै तितेपाती । उहाँका रचनाहरू धेरैलाई तिता नै लाग्दछन् । उहाँको अभिव्यक्ति राजावादी जस्तो देखिने र बहुदलवादीहरूलाई चर्को आलोचना गर्ने भएकोले उहाँलाई मन पराउने कमै पनि हुनसक्छन् । तर मसँग भने गाढा मित्रता छ । मैले लेखेको करा र उहाँले लेखेको कुरामा एकअर्काले आलोचना गरेका छैनौँ । यसै पनि उहाँ मभन्दा अग्रज नै हुनुहुन्छ । व्यावहारिक रूपमा भने एकदमै मनकारी हुनुहुन्छ । यद्देपि उहाँलाई भौतिक रूपमा भेट्ने अवसर आजसम्म पनि जुटेको छैन ।
गोविन्दराज विनोदीले बेलुकातिर कलब्याक गर्नुभयो र भोलि गैँडाकोट प्रज्ञा प्रतिष्ठानमा भेट्ने कुरा बताउनुयो ।
नाति प्रवीरलाई ट्युशन छोडेर तरकारी किन्न देवकुमारी र म हाटबजारतिर लाग्यौँ । चितवनको हाटबजारमा तरकारीहरू सबै महङ्गो नै लाग्छन् । एक ठाउँमा प्रतिकेजी १०० का दरले एक पाउ भिण्डी किन्छौँ । अलि पर पुगेपछि भिण्डीलाई ५० रुपैयाँ केजी विक्री भइरहेको हुन्छ । बासी काँक्रो पनि एक ठाउँ रु १०० का दरले किन्छौँ तर अर्को ठाउँमा ताजा काँक्राहरू नै ५० रुपैयाँ केजी विक्री भइरहेको भेटिन्छ ।
चितवनको हाटबजारमा एउटै भाउ हुँदो रहेनछ भन्ने पाठ सिक्छौँ । जीवनमा अनेकौँ पाठ सिकिन्छ तर परीक्षा दिँदा भने सिकेको पाठ बिर्सिसकेको हुन्छ । बारम्बार यस्तो भइरहन्छ । ठगिने काम जारी रहन्छ । पाठ सिक्ने काम जारी रहन्छ । तर सिकेको पाठ तुरुन्तै बिर्सिहाल्ने हुँदा अर्को व्यक्तिलाई सजिलै ठग्ने मौका दिइरहन्छौँ । यही नै मेरो जीवनको वास्तविक पाठको नियम हुन गएको छ ।
२०८३ असोज ८ गते विहीवार
भरतपुर चितवन
बिहानै उठेर म एक्लै मर्निङ वाकमा निस्किएँ । आकाशमा बर्सनै थालेको टम्म बादल थियो । परवाह गरिनँ । हुन त बङ्गालको खाडीमा विकसित भएको चक्रवातले नेपालमा पनि ८ गतेदेखि १२ गतेसम्म ठुलो पानी पार्ने र यसले दुर्घटना पनि निम्त्याउन सक्ने भएकोले बाहिर ननिस्कन सरकारी तथा गैरसरकारी निकायहरूले सूचना प्रवाह गरिरहेका छन् । तथापि चितवनको उच्च तर समथर भूभागमा बसाइ भएकोले यहाँ बाढी पहिरोको जोखिम नभएकोले सुरक्षित नै भएको महसुस गरेको छु ।
देवकुमारी खाना बनाउनतिर लागिन् । अस्मिताको कोठाको पश्चिमपट्टि शिवालय मन्दिर रहेछ । त्यसको बगलको कच्ची बाटो समातेँ । पछाडिपट्टि ठुलो बाँसघारी रहेछ । अलि तर पानी ट्याङ्कीको टावर रहेछ । अन्यत्र पानी ट्याङ्की टावर उँचो भागमा राखिएको हुन्छ । यहाँ भने होचो भागमा राखिएको देखेर अच्चम्म लाग्यो । सायद यो तलपट्टिको बस्तीलाई होला । पिच बाटो भेटियो । पिच बाटोबाट सिधै तल गए अर्को चोक आउँथ्यो । तर मैले नहर भेटिएपछि पिचलाई छोडिदिएँ र सिधै उत्तर अर्थात् नहरको मुहानपट्टिको कच्ची बाटो समातेँ । रातभरि पानी बेसरी परेकोले होला सडकैभरि पानीका खाल्डाखुल्डी थिए । कतै हिलाम्मे थियो भने कतै हिलो नदेखिए पनि चप्पल गाडीन्थे । नहरको संरचना निकै ठुलो थियो । नहरमा गाड नै घन्किरहेको थियो । नारायणी नदीको एउटा भङ्गालो नै आएजस्तो । उचाइ १५ मिटर र चौडाइ नै २५ मिटर जतिको होला । तलतिरको समथर जग्गामा भने यो साँघुरिएको पनि देखिन्छ । यसैको पानीले चितवन जिल्लाका सबै खेतहरू सिँचित भएका होलान् । माडी, मेघौली र ठोरीसम्मै पुगेको होला ।
म दायाँबायाँ नलागी नहरकै किनारा हुँदै अगाडि बढिरहेँ । बीस मिनेटजति हिँडेपछि सरस्वति मन्दिरबाट नारायणगढतिर जाने पक्की बाटो भेटियो । आकाशमा बादल झनै कालो भइरहेको थियो । तसर्थ मैले यही पक्की बाटो फर्किने सोच बनाएँ । नत्र त नारायणगढ नै पुग्ने विचार थियो । करिब दश पन्ध्र मिनेट पैदल हिँडे पुगिन्थ्यो नारायणगढ ।
म नारायणगढतिर नलागी पूर्वतिर मोडिएँ र अलिकति उकालो चढेँ । उत्तरपट्टिको जङ्गली भागमा आर्मी क्याम्प थियो । सरस्वती मन्दिरसम्मै पुगेको । उत्तरतिर हेटौँडा रोडसम्मै फैलिएको छ । होला पन्ध्र बीस बिघाभन्दा धेरै क्षेत्रफल ओगटेको ।
दायाँपट्टि रहेको गाउँको एउटा पसलमा रायोको साग किनेँ । चितवनमा तरकारी धेरै सस्तो छ भन्ने धारणा थियो तर त्यस्तो रहेनछ । सागको एक मुठाको नै ७० रुपैयाँ पर्दो रहेछ । अस्ति हाटबजार जाँदा पनि काठमाडौँ र यहाँको भाउमा खासै फरक लागेको थिएन ।
एरपोर्टको दक्षिण पश्चिम कुनाको अलिकति तलको चोकमा पुगेँ । उत्तरी कुनामा ठुलै क्षेत्रफल ओगटेको दुर्गा भगवती मन्दिर रहेको छ । यहाँका हरेक संरचना अन्यत्रका तुलनामा निकै ठुला हुन्छन् । देवकुमारीले त यहाँका बडेमानका भवनहरू देख्दा नै रिङ्टा लाग्छ भन्छिन् । भवनहरू निकै फराकिला, विद्यालय भवनहरू पनि उत्तिकै ठुला । सडक निकै फराकिला, गल्लीहरू पनि फराकिला । आँगन र करेसाबारी समेत निकै ठुला । करेसामा रहेका फूलका बिरुवाहरुमा पनि ठुलाठुला फलफूलका बोटहरू । यहाँको जग्गा किनबेच गर्दा पनि कठ्ठामा मात्र कुरा हुँदो रहेछ । आना भन्ने त थाहा नै छैन । सबै तुलनात्मक रूपमा ठुला भएकोले सोच पनि ठुलै हुनुपर्ने हो । स्थानीय बासिन्दाहरूको त सोच ठुलै देखियो तर पसलेहरू भने अलि सङ्कुचित । बोलीको पनि पैँसा तिर्नुपर्ने खालका । सायद सबै पसले यस्ता नहोलान् ।
दुर्गा मन्दिरको छेउमा फलफूल नर्सरी रहेछ । फलफूल नर्सरी हेर्न मलाई मन पर्छ । काठमाडौँतिर पनि बिरुवा किन्ने उद्देश्य नभए पनि नर्सरी देखियो कि पसिहाल्थेँ । यहाँको नर्सरीमा पनि पसेँ । तर घर घरमा देखिएका जस्ता फूलका बिरुवाहरू देखिएनन् । एक दुई बिरूवाको मूल्य सोधिहेरेँ । खासै सस्तो लागेन । काठमाडौँ हाराहारीकै । हुन त नर्सरी व्यवसायीले आफूले गरेको मिहिनेतको पैसा उठाउनै पर्यो । जग्गाको भाडा तिर्नै पर्यो । सामग्री खर्च बेहोर्नै पर्यो । यस्ता खर्चहरू उस्तै उस्तै पर्न गए यहाँको उत्पादन निकै सस्तो पर्ने कुरा पनि भएन ।
त्यताबाट सिधै दक्षिणतिरको रोडरोडै अगाडि बढेँ । आज त बाटो नबिराई अस्मिताको कोठा पुग्छु भनेको थिएँ तर पिच बाटो नछोड्दा बिहान निस्किएको बाटो अर्थात् शिवालय मन्दिरकै छेउमा पुगेछु । बाँसघारी भकाभक मासिँदै थियो । यता पनि कुनै संरचना बनाउने तरखर होला ।
यहाँ पुग्दा पानी पर्न थाल्यो । अलि छिटोछिटो कदम चालेर एकै छिनमा अस्मिताको कोठामा पुगेँ ।
खाना पाकिसकेको रहेछ । खाना खाएर प्रवीरलाई स्कुल पठाएपछि आजभन्दा झन्डै १४ वर्ष पुरानो संस्मरण लेख्न बसेँ । बाहिर दिनभर पानी झम्झम् परिरह्यो ।
म रुकुम कोलेनिकामा कार्यरत थिएँ । महालेखा नियन्त्रक नरेन्द्र दाहालको नेतृत्वमा सहसचिव जयदेव श्रेष्ठ उपसचिव शालिग्राम पौडेललगायतको टोली काठमाडौँबाट रुकुम पुगेको थियो । त्यो घटना स्मृतिबाट अझै मेटिन सकेको रहेनछ । दिनभर लगाएर सबै घटना लेखेँ । त्यसलाई आफैले सम्पादन गरेँ । यो संस्मरण पत्रिकामा छपाउन उपयुक्त हुन्छ हुन्न भनेर साहित्यकार भेषराज रिजाललाई मेसेन्जरमा पठाइदिएँ । पछि नरेन्द्र दाहाल र शालिग्राम पौडेल दुबै फरक फरक समयमा निर्वाचन आयोगमा पुगेका थिए । भेषराज सर पनि लामो समय निर्वाचन आयोगमा कार्यरत हुनुहुन्थ्यो । उहाँले हेर्नुभएको त देखिन्छ तर प्रतिक्रिया केही आएको छैन । हुनसक्छ हाकिमहरूलाई आक्षेप लगाइएको यस प्रकारको संस्मरणमा उहाँको चित्त नबुझेको हुनसक्छ ।
२०८३ असोज ९ गते शुक्रवार
भरतपुर चितवन
आज बाहिर पानी बर्सिरहेको हुँदा बिहान मर्निङवाकमा निस्कने कार्यक्रम बनेन । प्रवीरको पनि बिदा दिइएको रहेछ । १ बजेसम्म उसलाई कागजका भलिबल चरा डुँगा आदि विभिन्न खेलौना बनाउन सिकाएँ । उसले रमाई रमाई सिक्यो । यस्ता कुरामा उसको विशेष रुचि रहन्छ । स्कुलको होमवर्क गराउन खोज्दा पनि उसले आलटाल गरिरह्यो ।
कमल ढकालको सुन्दरीजल हाइकिङ सम्बन्धी लेख र बालेन शाहको युएनमा राखेको मन्तव्य सम्बन्धी कमेन्ट । बालेन शाहको युएनमा राखेको मन्तव्य राप्ती साहित्य परिषद् र रुकुमेली वाङमय अधिष्ठानको मेसेन्जर ग्रुपमा शेयर गरिदिएको । जुन यस प्रकार छः
कमल सरले प्रम बालेन लक्षित संस्मरणहरू लेखिरहनुभएको थियो । खास गरी नेपालले सामना गर्नुपरिरहेको जलवायु संकटको चेतावनीलाई विश्वले अब गम्भीरतापूर्वक सुन्नुपर्छ; कमजोर देशलाई ऋण र राहत मात्र होइन, जलवायु न्याय, पर्याप्त स्रोत, प्रविधि र निर्णय प्रक्रियामा वास्तविक साझेदारी चाहिन्छ, र युद्धका लागि जति सक्षम विश्वव्यवस्था बनाइएको छ त्यत्तिकै सक्षम व्यवस्था जीवन, खाद्य सुरक्षा र वातावरण जोगाउन पनि बनाउनुपर्छ भनेर दिइरहेको सुझाव हाम्रा प्रधानमन्त्रीको कानसम्म पुगेको जस्तो लाग्यो । फलतः परिणाम सकारात्मक निस्कियो । यस्तै विषयमा लेखिरहे कमल सरकै हातमा बुकर प्राइज पर्न के बेर ?
पछि ट्युशन पढाउने मिस नै घरमै आएर प्रवीरलाई ट्युसन पठाउँदा उतैबाट घुम्न निस्किएँ । भूपिन खडकासँग फोन हुँदा आफ्नो बसाइ मालपोत चोकतिर भएकोले यता आएको बखत भेटौँला भन्नुभयो । भाइ युवराज खडकालाई पनि फोन गरेँ । उनले सोमवारतिर भेटौँला भने
पानी सिमसिम परिरहेको थियो । हिँडाइको गतिमा छाताले पूरै शरीर भिज्नबाट रोक्न सक्दो रहेनछ । छाताले पानी छेक्न प्रयास गर्दा पनि जिउ भिजिरहेको थियो । सिरसिर हावा पनि चलिरहेको थियो । मौसमविद्ले हावाहुरी चल्न सक्ने भनेर पनि पूर्वानुमान गरिरहेका थिए । ठुलो बतास नचले पनि घरीघरी छातालाई अवरोध पुर्याउन बतास भने चली नै रह्यो । एरपोर्टबाट क्यान्सर गेट हुँदै माडी निस्कने सडक भेटिएपछि त्यही सडकलाई पछ्याउँदै बुद्धचोक पुगेँ । बुद्धचोकमा पूर्वतिरबाट आएको अझै फराकिलो सडक भेटियो । उक्त सडक हुँदै म पश्चिमतर्फ लागेँ । आधा किलोमिटरजति हिँडेपछि क्यान्सेर १ नं गेट भेटियो । क्यान्सर अस्पत्तालभित्र पसेर एक फन्को मारेँ । छोरी अस्मिता यतै थिई उसलाई डिस्टर्ब गर्न मन लागेन । सडकमा निस्केर फेरि पश्चिमतिर हानिएँ । निकै हिँडेपछि तेरसाल नाउँको चोक भेटियो । १३ सालसँग सम्बन्धित भएको सायद यो ऐतिहासिक चोक होला । कसैलाई सोधिनँ । अझै पश्चिम लागेपछि टाइगर चोक भेटियो । यहाँबाट सडक दक्षिणतिर लागेको थियो । बसिरहेको कोठा भने उत्तरतिर पर्दथ्यो । पिपलचोक निस्कने सडक अझै भेटिएको थिएन । आफू भने निकै दक्षिणतिर आइपुगेको जस्तो लाग्यो । अझै दक्षिणतिर लागे त यतै रात पर्छ र कोठा भेटिँदैन भन्ने लाग्यो । त्यताबाट पश्चिमपट्टिको सडकपट्टि ओर्लिएँ । त्यहाँ धान लगाइएको विशाल खुल्ला फाँट भेटियो । केही समय हिँडेपछि अर्को चोक भेटियो । यस चोकको नाम यज्ञपुरी रहेछ । दक्षिणपट्टिबाट उत्तरतिर लागेको सडक भेटियो । पक्का पनि यही सडक पिपलचोक पुग्छ भनेर ठम्याएँ अनि सिधै उत्तरतिर लागेको सडक पछ्याउँदै माथितिर कुद्न थालेँ । हिड्न थालेको डेढ घण्टा भइसकेको थियो । केही माथि गलकोट चोक भेटियो । अगाडि बढ्दा पूर्वपट्टिको पुरानो पर्खालभित्र ठुलाठुला रुखहरूले ढाकिएको जङ्गल थियो । यो क्यान्सर अस्पत्तालकै परिसर हुनुपर्छ । पश्चिमपट्टिको सानो बजारलाई भने पेन्सन क्याम्प भनिँदो रहेछ । केही उकालो लागेपछि हस्पिस चोक हुँदै पिपलचोक निस्किएँ र कोठामा पुगेँ ।
४ बजे प्रवीरलाई ट्युशनबाट ल्याएँ । डेरीको दुध ल्याएर खिर पकाई खायौँ । बेलुका बेलुका प्रवीरलाई स्वस्थ मनोरञ्जन र ज्ञानको लागि वीरबलका कथा, इशपका कथा र प्राचीन कथाहरू र केही पजलहरू सुनाउने गरेको थिएँ । आज पनि सुनाएँ ।
आज साढे सात बजेदेखि एआइ सम्बन्धी डेमो क्लास थियो । भोलिदेखि ५ दिनसम्मको एआइ क्लासको लागि रु १००० तिरेँ ।
२०८३ असोज १० गते शनिवार
भरतपुर चितवन
बिहानैदेखि निरन्तर वर्षा भइरहेको थियो । बिहान मनोहर लामिछाने सरले फोन गर्नुभयो । वर्षा र पछिल्लो अवस्थाबारेमा जानकारी आदानप्रदान भयो । दिउँसोतिर राजेश्वर कार्की सरले पनि फोन गर्नुभयो । उहाँले महाराजगञ्जस्थित चाइना कल्चरल सेन्टरमा आयोजित ७७औॅं राष्ट्रिय दिवस तथा Mid-Autumn Festival को उपलक्ष्यमा सम्पन्न सांस्कृतिक कार्यक्रमको बारेमा आफूहरू सहभागी भएको बारे बताउनुभयो । साथै अर्को किमोको लागि यही असोज २१ गते दिल्ली जान थालेको पनि बताउनुभयो ।
पानी झमझम बर्सिरहेकोले आज मर्निङ वाक निस्कन सकिएन ।
कोठामा बसेर लामो समयसम्म रेलवे कम्पनीमा कार्यरत दाङ निवासी तुलाबहादुर डाँगीको वृत्ति बारेमा लेख तयार गरेँ । उक्त फरकधार र तुला डाँगीजीलाई पठाइदिएँ । निकै लामो समय नेपालको रेलवेको प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर अहिले उहाँ सेवा निवृत्त भइसकेको हुँदा यो लेख लेख्नै पर्ने आवश्यकता थियो ।
४ बजेतिर भीमफेदीबाट जुवाइँसाब आइपुग्नुभयो । अस्मिताको कोठामा एउटा मात्र खाट भएको तर अब नव सन्तान आउँदा उक्त खाटले मात्र नपुग्ने भएकोले बाहिर गेस्टरुममा राखिएको अर्को खाट अस्मिताको कोठामा राखेर मिलाउने काम गरियो । पहिलेदेखिकै लुगालत्तहरू र प्रवीरका खेलौनाहरूले गर्दा दराज र टेबुलहरू भारी भइरहेका छन् ।
बेलुका साढे ७ देखि एआइ क्लास सुरु भयो । आजको क्लास फेसबुक र युट्बमा मोनिटाइजेसन कसरी हुन्छ सम्बन्धमा थियो ।
रातभर चट्याङ र गड्याङगुडुङसहित अति भारी वर्षा भइरह्यो ।
२०८३ असोज ११ गते आइतवार
भरतपुर चितवन
रातभरि परेको पानी बिहानसम्म पनि थामिएको थिएन । म छाता बोकेर मर्निङवाकमा निस्किएँ । आज अस्ति आएकै यज्ञपुरीतिरको बाटोमा सोझिएँ । नहरमा पानी उर्लिएको होला भन्ने लागेको थियो तर निकै कम पानी थियो । पानी घटेर होला मान्छेहरू जाल हालेर माछा मार्न थालेका देखिन्थे । सायद माछा मार्नकै लागि नहरको पानी खोलातिर मिसाइयो होला ।
केही तल पुगेर अर्को बाटो फर्किएँ । सधैँ दुध ल्याउने गरेको पिपलचोक डेरीमा मान्छेको भिडभाड थियो । लाइन लागेर दुध लिइयो । चिनी नहालेको दही ल्याउनु भन्ने देवकुमारीले पठाएकी थिइन् तर चिनी नहालेको दही पाइएन ।
कोठामा फर्किएपछि अस्मिताहरूले आज पेन्सनपट्टा फिल्म हेर्ने योजना बनाएका रहेछन् । प्रवीर फिल्म हेर्न जान पाइने भयो भनेर भुइँखुट्टा नै थिएनन् । मलाई पनि परिवारसँग फिल्म हेर्न मन पर्छ । एक्लै फिल्म हेर्ने गरेको छैन । १० बजेतिर खाना खाएपछि चौबीसकोठी स्थित सीजी महलमा फिल्म हेर्ने कार्यक्रम भएकोले पैदल नै जाऊँ भनेर देवकुमारीलाई भनेँ । उनी तयार हुँदै गर्दा १२ बजेको टिकट पाइएनछ । अब ३ बजे जाउँला भनेर जुवाइँले भन्नुभयो ।
बिहानको ९ बज्दा आकाशमा बादल फाटेर घामसमेत लागिसकेका थिए । चार दिनसम्मको निरन्तर वर्षातपछिको वातावरण निकै सुन्दर देखिइरहेको थियो । आज जुवाइँ पनि घरमै भएकोले चितवनतिरका साहित्यिक व्यक्तित्वहरूलाई भेट्ने अस्तिदेखिकै धोको पूरा गर्छु भन्ने लाग्यो । टङ्कराज ढकाल तितेपातीले गैँडाकोटस्थित घरमै आउनुहोस् भनेर आमन्त्रण गर्नुभयो । गोविन्द विनोदीलाई फोन गर्दा चाँहि उहाँको फोन उठेन । मेरो विचार गैँडाकोटसम्म हिँड्दै जाने भन्ने थियो तर जुवाइँले मान्दै मान्नुभएन । अस्मिताको स्कुटीमा पुर्याइदिने हुनुभयो ।
नारायणघाट पुगेर नारायणीको पुल तर्दै गर्दा देखियो नारायणी त पुलमाथि आउने गरी उर्लिरहेको रहेछ । पुल सुरु हुने ठाउँमा पुलको बारमा नदी नदेखिने गरी अग्ला जस्तापाता ठड्याइएकोले केही देखिएन । देखिएको भए जुवाइँलाई त्यतैबाट फर्काउने थिएँ । तर बिचतिर आएपछि फर्कने ठाउँ नै थिएन । बाध्यताले पारि जानै पर्यो । पारिपट्टि पुलभन्द उत्तरको किनार बस्ती पूरै डुबानमा थियो ।
मनमा शङ्का पलाइरहेको थियो कि यति ठुलो भेलले नारायणीको एउटा मात्र पुल भाँचिए पनि पुल तर्नलायक बन्दैन । मनमनै केही नहोस् भन्ने कामना गरिरहेँ । जुवाइँले मलाई गैँडाकोटको मिलचोक नजिकै रहेको तितेपातीको घरमा छोड्नुभयो र उहाँ फर्किहाल्नुभयो ।
मनमा भने नारायणीले पुल नै फाल्यो कि भन्ने डर लागिरहेको नै थियो । एकछिन पछि अस्मितालाई जुवाइँ आइपुग्नुभयो कि भएन भनेर सोधेँ उसले आइनपुगेको बताई झन् डर लाग्यो ।
यता तितेपातीले मलाई घरभित्र लगेर पारिवारिक परिचय गराएर आफ्नो बसाइको बारेमा बताउन थाल्नुभयो । मैले पूर्वतिरको सबै बस्ती डुबानमा परेको बताएपछि उहाँले नदीको बाटोमा मान्छे बस्न खोजेपछि यस्तै दुःख पाइन्छ भनेर उदाहरणहरू दिन थाल्नुभयो । साउन दोस्रो हप्तातिर वेत्रावती हुँदै गोसाइँकुण्ड पुगेर आउनुभएको रहेछ । आफ्नो यात्रा वृत्तान्तसहित आफूले देखेको देवीघाट बट्टार विदुर र वेत्रावतीको शब्दचित्रमा उतार्नुभयो । यसै गरी सिन्धुपाल्चोकको भोटेकोसीमा पूरै गाउँ खसेर बनेको तालको विषयमा पनि एक एक बताउनुभयो । मेलम्चीको उदाहरण पनि दिनुभयो । बरु हाम्रा पुर्खाहरूले नदी किनारमा खेत बनाउने गरेको तर बस्ती भने केही माथि बसाल्ने गरेकोमा अहिले खेतमै बस्ती बसाल्दा जनधनको ठुलो क्षति भइरहेको बताउनुभयो ।
मलाई यी उदाहरणहरूले झनै मन आत्तिरहेको थियो । नारायणीले पुल नभाँच्दै छिटो फर्कन पाए हुन्थ्यो भनी मन आत्तिरहेको थियो । नारायणणीको रौद्र रूप देखेर आज पक्कै पुल बाँकी रहनेछैन भन्ने लागिरहेको थियो ।
गोविन्द विनोदीलाई पटक पटक फोन गरेँ तर उठेन । गैँडाकोट आएपछि जसरी पनि विनोदीलाई भेट्ने चाहना पनि उत्तिकै थियो । तितेपातीलाई फोन गर्न लगाएँ । पहिलो फोन उठेन तर दोस्रो फोन उठेपछि आफू भरतपुरको कार्यक्रममा भएकोले कार्यक्रम सकिएपछि मात्र कुरा गरौँला भनेर राख्नुभयो ।
मैले गोविन्द विनोदीलाई भेट्न मरिहत्ते गर्नुको कारण उहाँसँगको भेट मात्र नभएर गैँडाकोट प्रज्ञा प्रतिष्ठानको बारेमा जानकारी लिनु पनि थियो । यही कुरा तितेपातीलाई बताएपछि उहाँले उहाँकै नजरमा देखेको प्रज्ञा प्रतिष्ठानको बारेमा बताउन थाल्नुभयो ।
प्रज्ञा प्रतिष्ठानमा उहाँलाई पनि प्रज्ञा सदस्यको रूपमा राखिएको रहेछ । उहाँले नियुक्ति लिएदेखि हालसम्मको अवस्था एक एक बताउनुभयो । प्रज्ञाको बैठकहरूमा आमन्त्रण नै नगर्ने, कार्यक्रमहरुको बारेमा नबताउने वा लुकाउने, साहित्यिक भ्रमणमा आफूलाई जानकारी नै नदिएर भ्रमणमा गएका र प्रज्ञाको कुलपति नै पूर्व पञ्च र पछि काँग्रेसबाट मेयरको चुनाव जितेकोले यो प्रज्ञा प्रतिष्ठानमा कुनै साहित्यिक कार्यक्रम नभएर पार्टीकै भातृ संगठनतुल्य बनाएको आरोप लगाउनुभयो । प्रज्ञाले सम्मान गर्ने व्यक्तिहरू पनि साहित्यिक व्यक्ति नभई पार्टीका नेता र कार्यकर्ता हुने गरेको बताउनुभयो । त्यसैले यस्तो संस्थाको आफू प्रज्ञा सदस्य रहिरहन उपयुक्त नदेखी त्यागपत्र दिइसकेको जानकारी गराउनुभयो ।
यसै गरी हिजो आजका साहित्यकार भनाउँदाहरू कुनै न कुनै दलका कार्यकर्ता रहेका र त्यही दलका नेता रिझाउनको लागि लेख्ने गरेको पनि बताउनुभयो । तर आफूलाई दलमा मुछिएका साहित्यकारहरू र दलगत साहित्य मन नपर्ने बताउनुभयो ।
उहाँले नारायणी पुलको बारेमा पनि इतिहास बताउनुभयो । नारायणीमा पुल नहुँदा उहिले पूर्वी नेपाल र पश्चिमी नेपाल जोड्ने विकल्पको रूपमा डुँगाहरू मात्र भएको । डुँगाबाट तर्दा यात्रीहरूलाई अत्यन्तै महँगो पर्ने । सुरक्षाको जोखिम पनि उत्तिकै । कतिले ज्यान गुमाए गनीसाध्य छैन । मान्छे मात्र वारपार गर्न सकिने तर पूर्व र पश्चिमका सवारी वारिपारि जान नसक्ने अवस्था थियो । पछि फेरी चल्यो । फेरीबाट सवारी साधनहरू वारपार गराइन्थ्यो । त्यो पनि महँगै पर्थ्यो ।
धेरै वर्षपछि नारायणीमा पुल बन्यो । यो नै नेपाललाई एक आपसमा जोड्ने महत्त्वपूर्ण माध्यम बन्यो । सायद नदीमा यति पक्की पुल अरू छैनन् होला । सरकारलाई खर्च पनि उत्तिकै लाग्यो । यसको आयु ३० वर्षको भनिएको थियो । त्यो आयु सकिइसकेको छ । अब नारायणीमा आउने यस्ता भेलहरूले जुनसुकै बेला यो आयुको हिसाबले जीर्ण भइसकेको पुल भाँचिन सक्छ । भाँचियो भने सितिमिति बन्न सक्ने छैन । पूर्वी नेपाल र पश्चिम नेपाललाई यही पुलले फेरि विभाजन गरिदिनेछ ।
बिहान उर्लिएको भेल र जीर्ण पुल सम्झेर मेरो मुटु फेरि काँप्यो ।
उहाँले आफूले लेखेको कृति तस्बिरै तस्बिर पनि उपलब्ध गराउनुभयो र नातिनीले फोटो खिचिदिइन् । भाउजूले फलफूलको खाजा खुवाउनुभयो । विनोदीसँग भेट हुने सम्भावना देखेपछि म भरतपुरतिरको लागि प्रस्थान गरेँ ।
विनोदीजी पहिले उपचाररत हुनुहुन्थ्यो । भवानी खतिवडाले उहाँका पुस्तकहरू र आफ्नै पुस्तकहरू पनि सङ्कलन गरेर विक्री गरी आएको पैँसा उहाँको उपचारको लागि उपलब्ध गराइरहनुभएको थियो । त्यसै सिलसिलामा मलाई पनि उहाँका पुस्तकहरू उपलब्ध गराउनुभएको थियो । मैले रुकुममा लगेर आफ्ना साथीभाइहरूलाई अनुरोध गरेर उहाँका पुस्तक विक्री गरेर पठाइदिएको थिएँ । त्यो पैँसा पनि उहाँकै उपचारको लागि खर्च भएको थियो । अतः उहाँलाई भेट्नुपर्ने भावनात्मक सम्बन्ध पनि हो ।
सायद कसैलाई मेरो नाम लिएर फलानोले भेट्ने भनिरहेको छ यो को हो भनेर सोधेको भए कसैले सतही ट्यागसहितको परिचय पनि दिन सक्छन् । तितेपातीले भनेझैँ दलको चश्मा लगाएका दलीय साहित्यकार भनाउँदाहरूले आफ्नो चश्माले जे देख्यो त्यही ट्याग भिराइदिने भएकोले त्यसरी प्राप्त मेरो परिचयले डराएर पनि भेट्न नखोजेका हुन सक्छन् । जे होस् आफूले उर्लँदो नारायणीको भेलमा हेलिएर उहाँलाई भेट्न खोजेकै हुँ । उहाँले भेट्न नचाहे मेरो मात्र के लाग्ने भयो र ?
यस्तै कुरा मनमा खेलाउँदै तितेपातीको घरबाट नारायणी किनारमा आइपुगेँ । नारायणीको सतह अझै माथि आएको रहेछ । धेरै मान्छेहरू पुलको मुखमा बुजो लागेका थिए । पुल तर्नै डराइरहेका थिए । ट्राफिक तथा सुरक्षाकर्मीहरूले भारी सवारीहरूलाई रोकिरहेका थिए र हलुका सवारी मात्र पालैपालो पुल तर्ने अनुमति दिएकोले पुलको छेउमा सवारी साधनको पनि घुइँचो थियो । म पारि जानै पर्थ्यो । अस्मिताको २ दिनपछि डेलिभरीको व्यवस्थापन र सहयोगको लागि यहाँ आइएको थियो । पारि नै अड्किनुपरेपछि यो जस्तै गैरजिम्मेवारी अरू केही हुन सक्दैनथ्यो । मैले पारिपट्टि रहेका देवकुमारी र अस्मिताहरूलाई सम्झिएँ र पुलमा फटाफट टाङ हाल्न थालेँ । यो अवसरको भिडियो पनि लिन्छु भनेर मोबाइलको भिडियो एप खोलेँ ।
बाढी झन् झन् बढिरहेको जस्तो भान हुन्थ्यो । पुल हल्लिएझैँ लागिरहेको थियो । भेलको बाछिटा सहितको हावाले मार्ग छेकिरहेको थियो । अडिएर हेर्दा आँखा नै रिङ्ने भुमरी परिरहेका थिए । सिङ्गै रुखहरू र लेदो सहितको संरचनाहरू पनि पानीको माथि मच्चीमच्ची बगिरहेका थिए । पुलका पिलरहरूलाई त्यो विशाल भेल धौथाम्नु भइरहेको थियो । एउटा ढल्नेबित्तिकै अरू पनि ढल्ने र पुल गर्ल्यामगुर्लुम भेलमा मिसिने बेर लाग्ने अवस्था थिएन । हुन त अझै तीन चार मिटर तलै थियो होला बाढी तर हातले छोइएलाझैँ देखिएको थियो । बाढीको माथि बसेर तलको दृश्य हेर्नु चुनौतीपूर्ण नै थियो । कुन बेला पुलमाथि नै भेल आइपुग्छ भन्ने डर पनि उत्तिकै थियो ।
आधा पुल तरिसकेपछि भने अब पुल भाँचिदैन भन्ने लाग्यो । पुल भाँचिन थाल्दा खुर्र दौडन सक्छु भन्ने हिम्मत आयो । अनि पुलको बिचमा उभिएरै भेलको भिडियो लिने सुर भयो । तर मोबाइल स्विचअफ भएछ । पुल पार गरिरहेको भिडियो लिएँ भनेको त मोबाइलले धोका दिइसकेछ । फेरि अन गरेर भिडियो खिच्दै अगाडि बढेँ । पुलकव पाल्लो किनारमा भेल हेर्न मान्छेहरूको घुइँचो थियो ।
पारि पुगेपछि देवकुमारीलाई फोन गरेर फिल्म हेर्ने कार्यक्रम के भयो भनी सोधेँ । उनले क्यान्सेल भइसकेको बताइन् । अब कोठा नै जानुपर्यो भनेर नारायणघाटको दक्षिणतिरको बाटो समातेँ । भोक लागिरहेको थियो । घाम चर्किसकेको थियो । बिहानसम्मको चिसो मौसम एकाएक तातिइसकेको थियो । घामको परवाह नगरेर अगाडि बढिरहेँ । नहर आइपुगेपछि सडकबाटो छोडेर नहरको किनारै किनार अगाडि बढेँ । शिवालय मन्दिर आइपुगेपछि एकछिन मन्दिर परिसरमा पसेर बिसाएँ । त्यसपछि कोठामा पुगेँ ।
एकछिन बिसाएपछि जुवाइँले हाटबजारतिर जाऔँ भन्नुभयो । अस्मिताको स्कुटी लिएर आँखा अस्पत्ताल क्षेत्रतिर लाग्यौँ । जुवाइँले सीएमएस हस्पिटल, मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतका सरकारी कार्यालयहरू देखाइदिनुभयो । मालपोत कार्यालयले कवि भूपिनलाई सम्झाइदियो । अस्ति उहाँलाई फोन गर्दा मालपोततिर आएको बेला फोन गर्नुहोला भेटौँला भन्नुभएको थियो । मैले फोन गरिहालेँ । उहाँले १५ मिनेटमा भेट हुने बताउनुभयो । हामीले हाटबजार पुगेर फलफूल तथा तोरीको साग किन्यौँ । तोरीको सागको ८० रुपैयाँ पर्यो । अस्मिता र देवकुमारीलाई साग मन पर्ने भएकोले महँगो भए पनि किन्नै पर्यो । समोसा र चप पनि बोकेर फर्कियौँ । मालपोत चोकनेर आइपुगेपछि फोन गर्दा उहाँले मलाई नै पर्खिएर बस्नुभएको रहेछ ।
भूपिनले मलाई आफ्नो बाइकमा राखेर एउटा चिया पसलमा लैजानुभयो । चिया पसलमा बसेर आआफ्ना प्रगतिका कुराहरू सुन्ने सुनाउने गर्यौँ । भूपिनले हजार वर्षको निद्रा कविता सङ्ग्रह सुफ्लाको हवाइजहाज कविता सङ्ग्रह मैदारो उपन्यास र अप्पो दिवो भवः निबन्ध लगायतका थुप्रै कीर्तिहरू लेख्नुभएको छ । मैदारो मदन पुरस्कारको लागि छनौट भएको कृति पनि हो । त्यसले एउटा पुरस्कार पनि जितेको छ ।
मैले कवि डाँडाको प्रसङ्ग निकालेपछि उहाँले कवि डाँडाको अवस्थिति नामाकरण र त्यससँग जोडिएका कविहरूको परिचय पनि दिनुभयो । अहिले एलबी क्षेत्रीबाहेक सबै कविहरू त्यताबाट अन्यत्र सरेको बताउनुभयो । उहाँले मेरो विषयमा पनि सोध्नुभयो । मैले अहिलेसम्मको स्थिति बताएँ ।
चिया खाइसकेपछि म हिँड्दै पिपलचोक आउने विचारमा थिएँ तर उहाँले मान्दै मान्नुभएन । मलाई आफ्नो बाइकमा राखेर पिपलचोकसम्म छोडिदिनुभयो ।
कोठामा आउँदा जुवाइँ भने साथीहरूसँग कविलासतिर लागिसक्नुभएछ ।
खाना खाइसकेपछि देवकुमारीले चिन्ता व्यक्त गरिन् । इन्जिनियर बनाइसकेको छोरालाई गुमाउनुपरेको कान्छोको बिहे अहिलेसम्म हुन नसकेको जुवाइँलाई पत्थरी देखिएको र उहाँको अत्यधिक मोटाइको कारणले अन्य रोगहरू पनि निस्कन सक्ने । स्थायी जागिर खाए पनि आफ्नो जागिरले आफैलाई नपुग्ने । उहाँको मध्यपानको लतले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्नुको साथै छोरी अस्मिताले व्यक्त गर्न नसके पनि यसको ठुलो पिडा भोगिरहेकी । सबैलाई सम्झाउने बुझाउने भूमिका खेल्ने सम्धी सम्धिनीहरूले छोराको स्वास्थ्यको हेक्का नराखेको । तपाईँले पनि परिवारको ख्याल नराखी खाली साहित्यकारहरू र साहित्यतिर मात्र ध्यान दिएको यसले गर्दा आफ्नो चित्त बुझाउने ठाउँ कतै नभएको भन्दै देवकुमारी रातभरि रोएर बसिन् । मैले पनि उनलाई सम्झाउने ठाउँ भेटिनँ । उनले भनेका कुराहरू सबै साँचा नै थिए । बरु नारायणी तर्दै गरेको बखत खसेको भए पनि हुने भन्नेसम्म ग्लानि हुन पुग्यो ।
२०८३ असोज १२ गते सोमवार
भरतपुर चितवन
बिहान उठेर पिपलचोकको पूर्वपट्टिको क्षेत्रमा मर्निङवाकमा निस्किएँ । आएर खाना खाएपछि नारायणी भेलको सम्बन्धमा एउटा लेख तयार गरेँ र नारायणी अनलाइनलाई पठाइदिएँ । नारायणी अनलाइनका कोही पनि व्यक्तिहरू नचिनेको हुँदा सायद उक्त पत्रिकाले छाप्दैन होला ।
दिउँसोतिर जुवाइँ कविलासबाट आइपुग्नुभयो । अस्ति मिलाएको सानो खाटको लागि २० किलोको डसना बनाउन लगायौँ । प्रति किलो ५०० रुपैयाँ कपासको नै रहेछ । खोल र मर्मत समेत गरी १२००० लागत पर्ने भयो ।
देवकुमारीले दिउँसोतिर नारायणघाट बजार हेर्न जाऊँ भनिन् । बजार पुगेर २ जोर कुर्ता र सुरुवाल किनिन् । अर्को जोर कुर्ता पनि लिने मन गरेकी थिइन् तर मैले यो कुर्ता घर गएर हेर राम्रो लाग्यो भने नजिकै छ आएर किनौँला । राम्रो लागेन भने थुपार्ने मात्र हुन्छ भनेर सुझाव दिएँ । मेरो सुझाव उनलाई चित्त बुझेन । उनले आफूले सबै कुरामा फारो गरेको बजारका खाना र मेकअपका सामानहरू कहिल्यै माग नगरेको तर लुगा किन्न खोज्दा पनि गाह्रो मान्नुहुन्छ भनेर गुनासो पोखिन् । मैले भन्न खोजेको त्यो होइन भन्दा पनि बुझ्दै बुझिनन् ।
पैसाको पनि समस्या छ । पेन्सनबाट आउने २७ हजारले न राम्ररी खान पुग्छ, न राम्रो लाउन पुग्छ न राम्रोसँग डुल्न नै । अन्य स्रोतको लागि काम गर्ने देऊ भन्दा पनि मान्दिनन् । केही खर्च गर्न थाल्दा पैँसा छैन भन्यो भने उनको चित्त दुखिहाल्छ ।
नारायणघाटबाट हिँड्दै पिपलचोकतिर आयौँ । अटोमा जाऊँ भन्दा पनि मानिनन् र समोसा वा हल्काफुल्का खाजा खाऊँ भन्दा पनि मानिनन् । नारायणघाटको भित्री बाटोबाट नहरसम्म आयौँ अनि नहरको किनारै किनार पिपलचोक आइपुग्यौँ ।
बेलुका जुवाइँ अलि असामान्य अवस्थामा हुनुहुन्थ्यो । देवकुमारीले जुवाइँलाई सम्झाऊँ भनिरहेकी थिइन् तर सम्झाउँदा पनि माने त हो नमानेमा अस्मितालाई नै झन् असर पर्छ भनेर केही भन्न सकेको थिइनँ । देवकुमारीलाई पनि अति नै भएछ । बेलुका खाना खाने बेला जुवाइँलाई यस्तै ताल भइरहने हो भने म छोरीले अनाहकमा अझै दुःख पाउँछे । सुत्केरीलाई झन् समस्या हुनसक्छ म छोरीलाई लिएर काठमाडौँ गइहाल्छु भनिछन् ।
आज पनि एआइको क्लास भएन ।
नातिले बाँकी होमवर्कहरू मेरै छेउमा बसेर गरे । जुवाइँको तालले बालमनोविज्ञानमा पनि ठुलो असर परिरहेको छ । हामीसितै सुत्न खोजेका थिए तर अस्मिताले फकाएर आफ्नै कोठामा लिएर गई ।
राति पनि देवकुमारीसँग उही विषयमा निकै मन्थन र गन्थन भयो । तर निकास केही निस्किएन । डेलिभरीसम्म धैर्य गरौँ भन्ने बाहेक के गर्न सकिन्थ्यो र ?
२०८३ असोज १३ गते मङ्गलवार
भरतपुर चितवन
बिहान २ बजे नै निद्रा खुल्यो । ३ बजेसम्म कोल्टे फेर्दैमा समय बित्यो । ३ बजे उठेर अनलाइन समाचारहरू हेरेँ । फेसबुकका पोस्टहरू हेरेर समय धकेलेँ । नारायण सम्बन्धी लेखेको लेख बाँकेबाट प्रकाशित हुने पत्रिकाको लागि चरित्रा शाहलाई ह्वाट्सएपमा पठाइदिएँ ।
११ बजेतिर हेटौँडाबाट सम्धी सम्धिनी र सम्धिनीको आमा आइपुग्नुभयो । सम्धीको अफिसको तालिम पनि रहेछ । उहाँहरू तालिम स्थलतिर लाग्नुभयो ।
देवकुमारी र म १ बजेतिर घुम्न निस्कियौँ । पिपलबोटबाट उत्तरपूर्वपट्टिको बाटो समात्यौँ र कटहर चोक हुँदै एरपोर्टको पछाडिको बाटो अगाडि बढ्यौँ । घाम निकै चर्को थियो । रुख वा घरको छायाँमा विश्राम गर्दै एरपोर्ट अगाडि अर्थात् उत्तरपट्टिबाट जाँदा झन् घाम पर्ने भएकोले हामीहरू दक्षिणपट्टिबाट लागेका थियौँ । बाटोमा मकै पोलिरहेको भेटिएकोले रुखको शीतल छायाँमा बसेर मकै खायौँ र फेरि यात्रा सुरु गर्यौँ । बाटोमा माइला जेठानकी माइली छोरी अनुशाले छोरी जन्माएको खबर प्राप्त भयो । माइला जेठानलाई फोन गरेर बधाई दियौँ ।
एरपोर्टबाट पूर्वपट्टि पुगेपछि पूर्वपश्चिम लोकमार्ग पार गरेर स्याउलीबजार हुँदै उत्तरपश्चिमतिर लाग्यौँ । बजारमा देखिएका कुर्थाहरू देखिएपछि देवकुमारीले हेरौँ न हेरौँ भन्न थालिहाल्थिन् । अझै पर राम्रो पसल छ भन्दै अगाडि बढाउँदै गरेँ । उनको इच्छालाई किन मारौँ भन्ने लाग्यो । अतः एउटा कुर्ता पसल भेटिँदा उनी भित्र छिरिहालिन् । मैले साथ दिनै पर्ने भयो । पसलका अधिकांश कुर्ताको मोल सोध्ने जिउमा टाँसेर हेर्ने तथा ड्रेसिङ रुममा गएर लगाएर यो फिट भयो भएन भन्ने सोधेपछि बल्लतल्ल निकै सस्तो र ठिकठिकैको कुर्तामा मन बसालिन् । कुर्ता सेटकै जम्मा १००० मात्र पर्दो रहेछ । टप्स त ५०० का पनि रहेछन् । उनलाई मन परेको कुर्ताको क्युआरबाट पैँसा तिरिदिएँ । अब उनका अनुहारमा अलि खुसी छायो र खुट्टाहरू पनि छिटो चल्न थाले । उनले अब कोठामा फर्किहालौँ भनेर प्रस्ताव राखिन् । सायद अरू कुर्ता देखिए पनि हेर्न मन लाग्छ भनेर हो वा पिपलचोकदेखि प्रचण्ड गर्मीमा लगभग डेढ घण्टासम्म पैदल मार्च गरेको थकानले हो वा कोठाको दायित्व पूरा गर्नलाई हो ।
यहाँसम्म आइसकेपछि आन्तरिक राजस्व कार्यालयमा कार्यरत भाइ युवराज खडका र सम्धीजुवाइँ पुण्यविक्रम खडकालाई पनि भेट्नुपर्छ भनेँ । भरतपुरको स्याउलीबजार पनि निकै लामो रहेछ । यातायात कार्यालयको छेउमा पुगेपछि फेरि पोलेका मकै किनेर खायौँ ।
त्यहाँबाट आन्तरिक राजस्व कार्यालयमा पुग्यौँ । मावली भाइ युवराज खडका र सम्धीका जुवाइँ पुण्यविक्रम खडकासँग भेट भयो । पारिवारिक तथा पेसागत कुराकानीहरू भए । पुण्यविक्रम खडका यस कार्यालयको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।
त्यहाँबाट अटो चढेर पिपल चोकको कोठामा आयौँ । अस्मिताहरू अस्पतालमा पुगेर डेलिभरीको लागि भर्ना भएर आए । सम्धी आफ्नो कार्यक्रममा जानुभएको राति पनि उतै बस्नुभयो ।
२०८३ असोज १४ गते बुधवार
भरतपुर चितवन
बिहान २ बजे नै निद्रा खुल्यो । ३ बजेसम्म कोल्टे फेर्दैमा समय बित्यो । ३ बजे उठेर अनलाइन समाचारहरू हेरेँ । फेसबुकका पोस्टहरू हेरेर समय धकेलेँ । नारायण सम्बन्धी लेखेको लेख बाँकेबाट प्रकाशित हुने पत्रिकाको लागि चरित्रा शाहलाई ह्वाट्सएपमा पठाइदिएँ ।
११ बजेतिर हेटौँडाबाट सम्धी सम्धिनी र सम्धिनीको आमा आइपुग्नुभयो । सम्धीको अफिसको तालिम पनि रहेछ । उहाँहरू तालिम स्थलतिर लाग्नुभयो ।
देवकुमारी र म १ बजेतिर घुम्न निस्कियौँ । पिपलबोटबाट उत्तरपूर्वपट्टिको बाटो समात्यौँ र कटहर चोक हुँदै एरपोर्टको पछाडिको बाटो अगाडि बढ्यौँ । घाम निकै चर्को थियो । रुख वा घरको छायाँमा विश्राम गर्दै एरपोर्ट अगाडि अर्थात् उत्तरपट्टिबाट जाँदा झन् घाम पर्ने भएकोले हामीहरू दक्षिणपट्टिबाट लागेका थियौँ । बाटोमा मकै पोलिरहेको भेटिएकोले रुखको शीतल छायाँमा बसेर मकै खायौँ र फेरि यात्रा सुरु गर्यौँ । बाटोमा माइला जेठानकी माइली छोरी अनुशाले छोरी जन्माएको खबर प्राप्त भयो । माइला जेठानलाई फोन गरेर बधाई दियौँ ।
एरपोर्टबाट पूर्वपट्टि पुगेपछि पूर्वपश्चिम लोकमार्ग पार गरेर स्याउलीबजार हुँदै उत्तरपश्चिमतिर लाग्यौँ । बजारमा देखिएका कुर्थाहरू देखिएपछि देवकुमारीले हेरौँ न हेरौँ भन्न थालिहाल्थिन् । अझै पर राम्रो पसल छ भन्दै अगाडि बढाउँदै गरेँ । उनको इच्छालाई किन मारौँ भन्ने लाग्यो । अतः एउटा कुर्ता पसल भेटिँदा उनी भित्र छिरिहालिन् । मैले साथ दिनै पर्ने भयो । पसलका अधिकांश कुर्ताको मोल सोध्ने जिउमा टाँसेर हेर्ने तथा ड्रेसिङ रुममा गएर लगाएर यो फिट भयो भएन भन्ने सोधेपछि बल्लतल्ल निकै सस्तो र ठिकठिकैको कुर्तामा मन बसालिन् । कुर्ता सेटकै जम्मा १००० मात्र पर्दो रहेछ । टप्स त ५०० का पनि रहेछन् । उनलाई मन परेको कुर्ताको क्युआरबाट पैँसा तिरिदिएँ । अब उनका अनुहारमा अलि खुसी छायो र खुट्टाहरू पनि छिटो चल्न थाले । उनले अब कोठामा फर्किहालौँ भनेर प्रस्ताव राखिन् । सायद अरू कुर्ता देखिए पनि हेर्न मन लाग्छ भनेर हो वा पिपलचोकदेखि प्रचण्ड गर्मीमा लगभग डेढ घण्टासम्म पैदल मार्च गरेको थकानले हो वा कोठाको दायित्व पूरा गर्नलाई हो ।
यहाँसम्म आइसकेपछि आन्तरिक राजस्व कार्यालयमा कार्यरत भाइ युवराज खडका र सम्धीजुवाइँ पुण्यविक्रम खडकालाई पनि भेट्नुपर्छ भनेँ । भरतपुरको स्याउलीबजार पनि निकै लामो रहेछ । यातायात कार्यालयको छेउमा पुगेपछि फेरि पोलेका मकै किनेर खायौँ ।
त्यहाँबाट आन्तरिक राजस्व कार्यालयमा पुग्यौँ । मावली भाइ युवराज खडका र सम्धीका जुवाइँ पुण्यविक्रम खडकासँग भेट भयो । पारिवारिक तथा पेसागत कुराकानीहरू भए । पुण्यविक्रम खडका यस कार्यालयको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।
त्यहाँबाट अटो चढेर पिपल चोकको कोठामा आयौँ । अस्मिताहरू अस्पतालमा पुगेर डेलिभरीको लागि भर्ना भएर आए । सम्धी आफ्नो कार्यक्रममा जानुभएको राति पनि उतै बस्नुभयो ।
२०८३ असोज १४ गते बुधवार
भरतपुर चितवन
आज बिहानै उठेर अस्मिता र जुवाइँ भरतपुर अस्पतालमा गए । आज अस्मिताको नयाँ सन्तान पैदा हुँदै छ । हामी सबैको ध्यान त्यतैतिर तानिएको छ । ९ बजे शल्यक्रिया गर्ने कुरा भनेका छन् । म नजिकै रहेको चिसापानी स्थित शिवालय मन्दिरमा गएँ र सबै परिवारको सुरक्षा र सुस्वास्थ्यको कामना गरेँ । त्यहाँबाट धर्मचोकतिर ओर्लिएँ । धर्मचोकबाट सिधै पश्चिमतिर गएको थिइनँ । केही परसम्म पुगेर आउँछु भनेर मर्निङ वाकमा हिँडेका थुप्रै व्यक्ति सँगसँगै मुख्य सडक समातेर पश्चिमतिर गएँ । धर्मचोक भरतपुर नगरपालिकाको ४ नम्बर वडा अन्तर्गत पर्दो रहेछ । परैसम्मको बजारलाई धर्मचोक नै भनिँदो रहेछ । धर्मचोक सकिएपछि बैकुन्ठचोक नामको बजार सुरु भयो । केही पर पुगेपछि दक्षिणतिर रहेको कलात्मक मन्दिरले आँखा तान्यो । म त्यतैतिर मोडिएँ । नजिकै पुगेपछि थाहा भयो यस मन्दिरको पनि निकै ठुलो संरचना रहेछ । ठुलै परिसरमा विद्यापीठ पनि सञ्चालन भएको रहेछ ।
मन्दिरलाई भारतको अक्षरधामजस्तै कलात्मक बनाउन खोजिएको रहेछ । टाइल बिछ्याइएको प्राङ्गण पनि फराकिलो रहेछ । प्राङ्गणभरि सेतो वस्त्र पहिरेका सेता परेवाजस्तै बटुकहरू थिए । केही बटुक मन्दिरको भित्र बसेर स्वस्ति शान्ति, वाचन वा मन्त्रोच्चारणको तयारी गरिरहेका थिए । दायाँपट्टिको प्राङ्गणमा योगा सिक्नेहरू थुप्रै थिए । मन्दिरको अगाडि झुकेर यहाँ पनि पाठक परिवार र ओली परिवारको सुरक्षा र सुस्वास्थ्यको कामना गरेँ ।
त्यहाँबाट फर्केर सरासर कोठामा आइपुगेँ । सम्धी पनि आइपुग्नुभयो । खाना खाएर सम्धी सम्धिनी र म अस्पतालतिर गयौँ । देवकुमारी र सम्धिनीकी आमा भने प्रवीरलाई स्कुल पुर्याएर आउनको लागि कोठामै बसे । अस्मिताले पहिल्यै ३०२ नम्बरको क्याबिन रिजर्भ गरिसकेछन् । त्यहीँ गएर बस्यौँ ।
एकछिनपछि स्वास्थ्यकर्मी आएर अस्मितालाई अपरेशनको लागि लिएर गइन् । मन धुकचुक भयो । देवकुमारी आइपुगेकी थिइनन् । प्रवीर जन्मँदा अस्मिता अपरेशनमा जाँदा ओली परिवार र पाठक परिवारले संयुक्त फोटो खिचेका थियौँ ।
जुवाइँले सामान किन्न जाऊँ भनेकोले त्यहाँबाट भाटभटेनीमा पुग्यौँ । सबै सामानहरू एकै ठाउँमा पाइने हुँदा छिटोछरितो हुने सामानहरूको गुणस्तर पनि राम्रो हुने र बार्गेनिङ गर्नु पनि नपर्ने भएकोले अस्मिता र जुवाइँ सधैँ भाटभटेनीमै जान्छन् । तर यहाँ सामानको मूल्य भने अलि चर्कै पर्छ ।
शिशुको लागि झुलसहितको सानो बिछ्यौना शिशुलाई खुवाउने दुध तथा भाँडाकुँडीहरू तयार गर्दै थियौँ अस्पत्तालबाट देवकुमारीले नानी जन्मिसकी जुवाइँलाई खोजिरहेका छन् छिटो आउनुस् भनेर फोन गरिन् । हामीले थप अलमल नगरेर अस्पतालतिर दौडियौँ ।
हामी अस्पतालजाँदा नवजात नानीलाई एनआइसीयुमा लगेका रहेछन् । देवकुमारी आत्तिरहेकी थिइन् । एकै छिनपछि बच्चालाई हाम्रो हातमा ल्याइदिए । हामी खुसीले आल्हादित भयौँ ।
दिउँसोतिर जुवाइँले प्रवीरलाई ल्याउन जानुभयो । प्रवीरले स्कुलमा पनि मिठाई बाँड्छु भनेकोले मिठाई पनि लगिदिनुभयो । प्रवीरलाई लिएर आएपछि मैले नातिनी जन्मिएको उपलक्ष्यमा फेसबुक पोस्ट बनाएर शेयरगरिदिएँ । यस्तो पोस्ट बनाएको थिएँ :
आज हाम्रो परिवारमा (पाठक र ओली परिवार) फेरि एउटा नयाँ बिहानी उदाएको छ । घरमा झलमल्ल उज्यालो छाएको छ । शारदीय शोभा थपिएको छ ।
यो बिहानीसँगै एउटा सानो जीवनले लक्ष्मीको रूप धारण गरेर यस धरतीमा पाइला टेकेकी छन् ।
स्वागत छ, नयाँ बिहानीमा प्रवीर पाठककी नयाँ बहिनीलाई ! यिनी अस्मिता र प्रवीण पाठककी छोरी, प्रवीर र नक्षत्रकी बहिनी, डा. परीक्षित लगायतकी भान्जी,धेरैकी भतिजी, धेरैकी भदैनी र हाम्रो परिवारकी प्यारी नातिनीको भूमिकामा यो विशाल सम्बन्ध-संसारमा प्रवेश गरेकी छिन् ।
आजको यो खुसीमा एउटा सानो हृदय सबैभन्दा बढी उत्साहित छ । यिनका दाइ प्रवीर पाठकको मनमा बहिनी आउने खबरले कति ठूलो उत्सव मच्चिएको छ ! त्यो खुसीको उभार उनको अनुहारमा मात्र होइन, आज बिहानै उनको विद्यालयमा पनि देखियो ।
आफूलाई सबैभन्दा प्रिय लाग्ने खबर बोकेर उनी स्कुल दौडिए । साथीभाइ र शिक्षकहरूलाई मिठाई बाँडे । आफ्नी बहिनी जन्मिएको खुसी सुनाए र त्यो खुसीको मिठास सबैसँग साटेर विद्यालयबाट छुट्टी लिई आफ्नी सबैभन्दा पृय बहिनी भेट्न भरतपुर अस्पतालतर्फ कुदे ।
कति सुन्दर छ बालहृदय ! आफ्नो जीवनमा आएकी एउटी सानी बहिनीका लागि उनी आफू मात्र खुसी भएनन्, सबैलाई खुसी तुल्याए ।
सायद प्रवीरले अझै बुझेका छैनन् होला कि आजदेखि उनको जीवनमा ‘दाइ’ भन्ने शब्दले एउटा नयाँ अर्थ पाएको छ ।
अब उनले आफ्नो सानो हात समातेर हिँडाउने एउटी बहिनी पाएका छन्, आफ्ना खेलौना बाँड्ने एउटी साथी पाएका छन्, कहिले झगडा गर्ने, कहिले फकाउने र जीवनभर माया गरिरहने साथीको रूपमा आफ्नै मान्छे पाएका छन् ।
तिमी जीवनमा धेरै सम्बन्धहरूले घेरिएकी छौ तर तिम्रो एउटा सम्बन्ध सबैभन्दा विशेष छ । तिम्रो दाइ प्रवीर सधैं तिम्रो साथमा हुनेछन् ।
तिमी आउनुअघि नै तिम्रो दाइले तिमीलाई स्वागत गर्न आतुर थिए । तिम्रो आगमनको खुसीमा एउटा सानो हृदयले ठूलो ठाउँ सुरक्षित गरिसकेका छन् ।
तिम्रा पाइला शुभ होऊन्, तिम्रो जीवन आरोग्य र दीर्घायु होस् । तिम्रो बाल्यकाल खुसीले भरियोस्, परिवारको आजको यो खुसी सय वर्षतक कायम रहोस्।
तिम्रो आगमनसँगै हाम्रो परिवारमा थपिएको यो खुसियालीको अर्को दीपले तिम्रो जीवनभर उज्यालो दिइरहोस् ।
दीर्घायु भव !
आरोग्यं भव !
यशस्वी भव !
सुखी भव !
सदा शुभं भव !
छोरी अस्मिताको शीघ्र स्वास्थ्य लाभको कामना । सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्ने डा. सुनीलमणि पोखरेल, डा. गौरी घिमिरे लगायतका चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
हाम्री प्यारी नातिनी, यस धरतीमा तिमीलाई हार्दिक स्वागत छ ।
प्रवीरले बहिनीलाई म्वाइँ खाए । हातमा लिए । खेलाइरहे र हेरिरहे । पछि जुवाइँले प्रवीरलाई लिएर ट्युशनमा राखेर आउनुभयो ।
दिउँसोतिर अस्मितालाई अपरेशन वार्डबाट पोस्ट बर्थिङ वार्डमा सार्दा भेट भयो । त्यस बेला पनि मलाई आजभोलि नै काठमाडौँ नजानुहोला भनी । आज अस्मितालाई यही वार्डमा राख्दो रहेछ ।
दिउँसो सम्धी अफिसको काम पनि परेको र भोलि नै अस्मिताकी देउरानी रुपाको पत्थरीको अपरेशन भएकोले काठमाडौँ पनि जानुपर्ने भएकोले उहाँहरू हेटौँडातिर फर्कनुभयो । सँगै गएको भए मलाई पनि सम्धीसँगै काठमाडौँमा जान सहज हुनेथियो तर उपचाररत अस्मिताले नजानू भनेकोले जाने आँट गर्न सकिनँ ।
बेलुकातिर हामी खाना बनाउन र प्रवीरलाई होमवर्क गराएर सुताउनको लागि पिपलचोकस्थित डेरामा फर्कियौँ । फर्किँदै गर्दा देवकुमारीलाई भनेँ बिहान तिमी किन त्यसरी आक्रामक र अँध्यारी देखिएकी थियौ ? जे भए पनि अस्मिता पाठक परिवारकी बुहारी हो । हाम्रा नाति नातिनीलाई पाठक परिवारले आफ्नै सन्तान भन्छन् र बढी हक उनीहरूकै चल्छ भन्ने सोच्छन् ।
उनले मलाई पनि उसरी नै जवाफ दिइन्-
‘तपाईँ पनि मलाई बुझ्नुहुन्न । हिजो आउँदा आउँदै सम्धिनीका आमाछोरी बाहिरै बसिरहे । भान्छामा पस्ने त कता हो कता आफै बसेको कोठामा पनि पसेनन् । सम्धिनीकी आमाले एकछिन भित्र पसेको बेला तपाईँहरूले नाति बिगार्यौ भन्नुभयो । भान्छामा मैले पकाउँदा गरेका हरेक क्रियाकलापलाई यसो किन गरेको उसो किन गरेको भनेर खोट लगाइरहनुभयो । मलाई कतै खान नपाएर छोरीको कोठामा कोच्चिन आएकी मगन्तेजस्तै व्यवहार भयो ।
पाठक परिवारले मुखतिर लोकाचार मात्र पार्छन् । व्यवहारको सट्टा बढी औपचारिकता खोज्छन् । बुहारीलाई कजाउनुपर्छ भन्ने सोच नै छ । हामीले गरेको सहयोगलाई हरेक कोणबाट कमजोरीको रूपमा हेर्छन् । जुवाइँको ताल त्यस्तो छ । अस्पत्तालको इन्चार्ज भएर पनि साथमा कहिल्यै एक सुक्का पैँसा बच्दैन । तपाईँले त्यही सुख्खा तलब जोगाएर काठमाडौँमा घरघडेरी जोड्नुभयो तर उहाँले भोलिको लागि सोच्दै सोच्नुहुन्न । सन्तान बढ्दा आफ्नो भूमिका के होला भनेर सोच्नुहुन्न ।
छोरीलाई छोराजस्तै गरेर हुर्कायौँ बढायौँ । डाक्टर बनायौँ । विहे भइसकेपछि पनि एमडी र डीएममा नाम निकाल्दा मैले नै उसको पूर्ण रूपमा हेरचाह गरेँ । यसरी आफ्नै खुट्टामा उभिन तयार बनाइएकी छोरी हो । कसैको नोकर्नी बनाउन यो मिहिनेत गरेका होइनौँ ।
उनीहरूको भविष्यको लागि अझै चिन्ता लागिरहन्छ । छोरीलाई मुख हेरेर चित्त बुझाउने यिनै सन्तान हुन् । छोरीको जत्ति माया लाग्छ उति नै नातिनातिनीको माया लागिहाल्छ । उनीहरूको चिन्ता लागिहाल्छ । अनि कसरी हामीले बिगार्न सक्छौँ ? आफ्नी छोरीका सन्तानलाई बिगारेर हामीले के पाउँछौँ ? तपाईँचाहिँ केही चुइँक्क भन्न सक्नुहुन्न । उनीहरू हामी छोरीको नजिक भएको देखिसहन्नन् । आउँदा आउँदै अँध्यारिएका थिए । छोरीको आज अपरेशन छ । दोस्रोचोटिको अपरेशन भएकोले जोखिम पनि हुन्छ भनिरहन्थी छोरीले । यस्तो अवस्थामा उनीहरूको डरले हामी छोरीको कोठामा आउनै नपाउनू ?
सम्धिनीकी आमा पनि छोरीकै घरमा बसिरहनुभएको छ त । अन्तिम अवस्थामा पनि आफ्नो घरपरिवारले एक्ल्याउँदा छोरीकै आश्रय खोजिरहनुभएको छ त !
हामीचाँहि छोरीसँग एक हप्ता बस्दा पनि उहाँको यत्रो खिन्नता । यत्रो शत्रुता ? उहाँकी छोरी फरक र हाम्री छोरी कसरी फरक हुन्छन् ? सम्धिनीका तीन भाइ छोराहरू छन् । नवीन आफ्नो उज्ज्वल भविष्यको लागि अमेरिका गएका छन् । दुई छोरा यतै छन् । तर कान्छो छोराको लागि सम्धिनीका आँखाबाट आँसु बगिरहन्छन् । सम्धिनीका छोरा फरक र मेरी छोरी फरक कसरी हुन सक्छन् । सम्धिनीलाई आफ्नो सन्तानको माया लागेजस्तै हामीले हाम्रो सन्तानप्रति माया देखाउन पनि नपाउनू ? एउटा कमिलाले पनि बसाइँ सर्दा आफ्ना फुल बोकेर हिँड्छ । जुनसुकै जीवले पनि आफ्ना सन्तानलाई सकुन्जेल माया गर्छ । हामी त मान्छे हौँ । हामी त झन् संवेदनशील र विवेकशील प्राणी हौँ । हामीले आफ्नै सन्तानलाई माया गर्दा अरूलाई आपत्ति किन हुन्छ ? रिस किन हुन्छ ?
आज बिहानको कुरा के हो भने मलाई छोरीको अपरेशन सफल कसरी होला भनी चिन्ताले ग्रस्त थिएँ । छोरीकै चिन्ताले मेरा गह भरिएका थिए । तर उहाँहरूचाँहि हिजै आएर आजै फर्कने कुरा गर्दै हुनुहुन्थ्यो । दुबै आमाछोरीको गहमा आँसु भरिएको थियो । आँसु आँसुमा पनि किन यति फरक ? उहाँहरू केको लागि आउनुभयो र किन फर्कने कुरा गर्दै हुनुहुन्छ भनेर मलाई झनै पिर लाग्यो । अनि यस्तो अवस्थामा फर्कने कुरा नगर्नुहोस् भनेकी त थिएँ मैले । नातिनीको मात्र मुख हेरेर आखिर सम्धिनीको आमा त फर्किसक्नुभयो । मेरी छोरीको अपरेशन सफल भइसकेको थिएन । अस्पतालको बेडमा पिडाले छटपटाइरहेकी थिई । उहाँहरू भने पनातिनीको मुख हेर्न मात्र आउनुभएको रहेछ । सुत्केरीको घाउमा डुबेकी अस्मिताको मुख हेर्न एक दिन बस्ने आवश्यक ठान्नुभएन । हामी भने छोरी र नातिनी कसरी छिटो सन्चो होलान् भनेर पिरोलिएका थियौँ ।
यस्तो व्यवहारले मन अमिलियो । अनि मनको अमिलो फाल्न मैले आजै जाने कुरा नगर्नुहोस् भनेकी त हुँ । त्योभन्दा अरू केही भनेको जस्तो लाग्दैन । तपाईँ पनि मलाई नै गलत ठहर्याउनुहुन्छ र चित्त दुख्छ ।’
यति भनीसक्दा देवकुमारी आत्तिएकी थिइन् । उनलाई स्वाँस्वाँ भइरहेको थियो । देवकुमारीको बानी कस्तो छ भने आफ्नो मनको कुरा प्रस्ट राख्नुपरेमा उनी हड्बडाउँछिन् । आत्तिन्छिन् । स्वर लरबराउँछ । अनुहारमा चिटचिट पसिना आउँछ । यो उनको सानैदेखिको बानी हो । तर बाहिरका मान्छेहरूले आफूसँग रिसाएको भन्ठान्छन् । उनको तर्कपूर्ण जवाफमा मैले थप प्रश्न उठाउने ठाउँ पाइनँ । वास्तवमा कसैँ
बेलुका ट्युशनबाट प्रवीरलाई ल्याएर आएँ र होमवर्क गराएँ । जुवाइँ पनि आएर सम्धिनीलाई खाना लिएर जानुभयो ।
२०८३ असोज १५ गते विहीवार
भरतपुर चितवन
प्रवीरलाई खाना खुवाएर स्कुल पठाएपछि देवकुमारी र म अटो चढेर भरतपुर अस्पत्ताल पुग्यौँ । अस्मितालाई पोस्ट अपरेशन रुमबाट क्याबिनमा ल्याउने समय भएको रहेछ । जुवाइँले अस्मितालाई ह्विलचेयरमा ल्याउनुभयो । नव सन्तान नातिनीलाई पनि ठिकै रहेछ ।
जुवाइँका आमा छोरा खाना खान कोठातिर लागेपछि हामीहरूले अस्मिता र नानीको हेरचाहमा जुट्यौँ ।
दिउँसोतिर हेटौँडाबाट साहित्यकार रमेशमोहन अधिकारी चितवनकै साहित्यकार रमेश प्रभात र सन्तोष पाठक आइपुग्नुभयो । पारिवारिक कुराकानीपछि म पनि उहाँहरूसँगै नारायणघाट स्थित सम्पूर्ण पुस्तकमा पुगेँ । त्यहाँ पुस्तक पसलका प्रोप्राइटर र कविडाँडा साहित्य समाजका महासचिव लेखराम सापकोटासँग भेट भयो ।
साहित्यिक माहोलबिचमा बढीजसो पछिल्ला पुस्तकहरूकै चर्चा परिचर्चा भयो । रमेशमोहन अधिकारीले बेच्नका लागि यस पुस्तक पसलमा छोडिएका आफ्ना पुस्तकहरूको हिसाबकिताब गर्नुभयो । लेखरामजीले वेदहरू खरिद गरेमा हिसाबकिताब बराबर हुने बताउनुभयो । मैले पुस्तक पसलबाट फ्रान्ज काफ्काको मेटामोर्फसिसको नेपाली अनुवाद किनेर ल्याएँ । नारायणघाटबाट हामी छुट्टियौँ ।
अस्पत्तालमा आएर एकछिन बसेपछि प्रवीरसहित देवकुमारी र म कोठातिर लाग्यौँ ।
प्रवीरले पिपलचोकको एक पसलबाट हिजो खेलौना लगेका रहेछन् । तर बिग्रेको परेछ । त्यो फिर्ता गर्नको लागि पिपलचोकस्थित उक्त पसलमा गए । पसलेले खेलौना लगेर घरमै बिग्रिएको हुन सक्ने भनेर फिर्ता लिन नाइँनास्ती गरे । तर ७ वर्षीय प्रवीरले आफूले लगेर खेलौनासँग नखेलेको । खोल्दा नै यस्तै अवस्थामा भएको । बिग्रेको खेलौना आफूलाई नचाहिने भएकोले ल्याएर आएको । मिल्छ भने साटेर लैजाने र फेरि फेरि अरु सामान पनि किन्न यस पसलमा आइरहने । नमिल्ने भए खेलौना छोडेर जाने र फेरि यस पसलमा नआउने भनेर बडो रमाइलो र शान्तपूर्वक बताए । पसले बच्चाको तर्कले मोहित भएर खेलौना साटिदिए ।
प्रवीरले पसलमा कुनै पनि सामान किन्दा राम्रोसँग हेर्छन् । मूल्य सोध्छन् । अर्को सामानसँग दाँज्छन् । अभिभावकसँग पैँसा भए नभएको बुझ्छन् अनि मात्र किन्छन् । यति सानो बच्चाको व्यापारिक कौशलता देखेर म छक्क पर्छु । आफू पनि कति चोटि पसलेहरूबाट ठगिएको छु । आफू ठगिनुमा पसलेको चलाखी मात्र नभएर आफ्नो लापरवाही र हतारले पनि काम गरेको हुन्छ । तर यो बच्चा ठगिनुपरेको देखेको छैन । उसले आफै सामान जाँच्छ किन्छ । उसलाई पैसा दिनुपर्छ ।
२ वर्षअगाडि रुकुमकै आनन्द पुनले काठमाडौँमा उडान भन्ने टेलिशृङ्खलाको छायाङ्कन गरेका थिए । त्यसको टाइटल गीतको “चरी उड न…” शब्द रचना मैले नै गरेको थिएँ । उक्त गीत आनन्द पुनले मलाई शेयर गरिदिएका रहेछन् । सुनेँ । शब्दलाई मिठो स्वरमा ढालेपछि झनै मिठो लाग्दोरहेछ । उक्त गीत र उडानको शृङ्खला हाइटेक इन्टरटेनमेन्टले स्वामित्वमा लिएको रहेछ । सिरिज हेर्नको लागि भने पैँसा लाग्दो रहेछ ।
२०८३ असोज १६ गते शुक्रवार
भरतपुर चितवन
आज बिहानै उठेर हिजोको साहित्यकार साथीहरूसँग भेटघाटको प्रसङ्गलाई समेटेर फेसबुक पोस्ट बनाएर फेसबुकमा फोटोहरूसहित शेयर गरिदिएँ । पोस्ट यस्तो थियोः
साथी कमाउनु त यस्ता पो !!
देवकुमारीले भन्दै थिइन्,
‘राम, राम !
अब हामी त डुब्नै आँटेका घाम !
यो उमेरमा साथीहरूको के काम ?
बरु खुरुक्क परिवारलाई साथ दिँदै खाऔँ माम !’
उनको तर्क सोह्रै आना साँचो पनि थिएन र सोह्रै आना झुटो पनि थिएन ।
मैले साथीहरूको महत्त्वबारे देवकुमारीलाई बताउन थालेँ-
जीवनमा साथीहरू कति आउँदा रहेछन् । कति छुट्दा रहेछन् । समयको लामो यात्रापछि अन्ततः कस्ता साथीहरू मात्र मनसँग बाँकी रहन्छन्, यता सुनः
बाल्यकालमा अधोवस्त्र नलगाई भोटी मात्र लगाएका साथीहरूसँग असुराका डाँठका गाईबल्ल बनाएर कति खेलियो । कन्नेबल खेल्ने र भालेजुधाइमा साथ दिने दर्जनौँ साथीहरू थिए । सँगै खेलियो, सँगै हिँडियो, सँगै हाँसियो र सँगै रिसाइयो पनि । त्यतिबेला लाग्थ्योः यी साथीहरू सधैँ यस्तै रहिरहनेछन् । तर समयले सबैलाई आ-आफ्नै दिशातिर डोर्याउँदै लग्यो । अहिले तीमध्ये थोरै मात्र सम्पर्कमा छन् । ती पनि आफूजस्तै उमेरको उकालो चढिरहेका छन् ।
सबैको काँधमा पारिवारिक जिम्मेवारीका आ–आफ्नै गह्रुँगा भारी छन् । चाहँदैमा पहिलेझैँ एकअर्काको आँगनमा पुगेर घण्टौँ बस्न सकिँदैन । खोज्नेबित्तिकै भेटेर बाल्यकालका ती धुलाम्मे दिनका स्मृतिका पोका खोलौँ, पुराना हाँसो र बाल्यकालका उट्पट्याङ कुराहरू सम्झेर फेरि बालक बनौँ भन्ने मन त हुन्छ, तर जीवनले त्यो फुर्सद कहाँ दिन्छ र !
विद्यार्थीकालमा पनि सयौँ सहपाठी थिए । एउटै कक्षामा बसेका, एउटै बेन्चमा अटेका, एउटै गुरुका कुरा सुनेका, एउटै परीक्षाको डर बोकेका । तर आज तीमध्ये धेरैका नामसमेत स्मृतिको कुनामा धमिलिँदै गएका छन् । कुन गुरुले कहिले पढाउनुभयो, कुन विषयमा के पढियो, कुन पाठका कुन प्रसङ्गले त्यतिबेला मन छोयो, सबै कुरा समयको कुहिरोभित्र हराउँदै गएझैँ लाग्छ । कहिलेकाहीँ सम्झन खोज्दा नाम आउँदैन, अनुहार आउँदैन ! केवल कुनै पुरानो कक्षाकोठा, कालोपाटी र बेन्चहरूको धमिलो आकृति मात्र आँखाअघि आउँछ ।
कलेजका दिनमा पनि साथीहरूको कमी थिएन । सयौँसँगै पढियो, हाँसियो, बहस गरियो, भविष्यका सपना बाँडियो । आज फर्केर हेर्दा ती दिनका धेरै अनुहार अपरिचितझैँ लाग्छन् । कुन पाठका कुन विषयवस्तु सँगै पढियो, कसले के भन्यो, कससँग कस्तो मित्रता थियो ! खोतलौँ, खोतलौँजस्तो लाग्छ, तर स्मृतिको गहिराइमा पुग्दा हातमा केही लाग्दैन । समयले मान्छे मात्र होइन, मान्छेसँग जोडिएका कतिपय प्रसङ्ग पनि बिस्तारै बिर्साउँदै लैजाँदो रहेछ ।
शिक्षक भएर जागिरे जीवन सुरु गरेपछि हजारौँ विद्यार्थी पढाइयो । दर्जनौँ शिक्षक साथीहरूसँग एउटै विद्यालयमा सहशिक्षण गरियो । कति विद्यार्थी आए, कति गए ! कतिका अनुहार सम्झन सकिन्छ, कतिका नाम पनि सम्झन सकिँदैन । अझ अचम्म त के लाग्छ भने, तीमध्ये धेरैले आफूलाई चिन्दैनन् होला र आफूले पनि धेरैलाई चिन्दिनँ । कहिलेकाहीँ मनमा प्रश्न उठ्छ- मैले पढाएका ती बालबालिकाको जीवनमा मेरो शिक्षणको कुनै छाप बस्यो कि बसेन ? मैले दिएको कुनै एउटा वाक्य, कुनै एउटा पाठ, कुनै एउटा सानो हौसला कसैको जीवनमा कहिल्यै काम लाग्यो कि लागेन ? जान्न मन लाग्छ। तर समयको दूरी र जीवनका आ-आफ्नै व्यस्तताले त्यो उत्तर खोज्न कहाँ फुर्सद दिन्छ र ?
त्यसपछि आयो पच्चीस वर्षे लामो सरकारी जागिरे जीवन । प्रायः ठूलो सङ्ख्यामा कर्मचारी हुने केन्द्रीय अड्डाहरूमा काम गरियो । राष्ट्रको सेवाको लागि दिलोज्यानले काम गर्नुपर्छ, चीबीसै घण्टा सरकारी हो भन्दै दर्जनौँ हाकिम र सयौँ सहकर्मीसँग सहकार्य गरियो । एउटै कार्यालयका कोठा, एउटै फाइलका थुप्रा, एउटै कामका तनाव र एउटै लक्ष्यका दिनहरू सँगै बिताइयो ।
अहिले तीमध्ये कोही विदेशतिर लागे, कोही देशकै कुनाकाप्चामा पुगे, कोही आफ्नै संसारमा हराए । आक्कलझुक्कल बाटोमा भेट हुँदा चिनेर पनि नचिनेझैँ गरी बाटो काट्नेहरू पनि भेटिन्छन् । ऊर्जाशील उमेरमा बनेका सबै सम्बन्ध जीवनको उत्तरार्धमा उस्तै न्यानो भएर फर्कँदा रहेनछन् । कतिपय सम्बन्ध समयसँगै फिक्का हुँदै जाँदा रहेछन् ।
विद्यार्थीकालदेखि नै घर छोडियो । कहिल्यै आफ्नो हुन नसक्ने बिरानो ठाउँमा लामै समय बसियो । आफ्नै गाउँ फर्किंदा पनि कहिलेकाहीँ यस्तो लाग्छः न आफूले गाउँलाई पहिलेझैँ चिन्न सकिन्छ, न गाउँलेले आफूलाई । जीवनको लामो समय जहाँ बित्यो, ती ठाउँहरू पनि बिस्तारै पराइझैँ लाग्न थाले । जहाँ बसाइँ सरियो, त्यहाँ त झन् आफ्नोपनको खोजी झन् कठिन ।
सिम्टालोले कागको भाषा सिक्न खोज्दा आफ्नो भाषा पनि बिर्सियो, कागको भाषा पनि सिक्न सकेन । अनि बोल्छ ‘किर्किटीमिर्किटी’ बोली मात्र । जो अरू त अरू आफ्नै परिवारले पनि बुझ्दैन ।
आफ्नो ठाउँबाट टाढिँदै जाँदा कताकता आफू पनि आफ्नै ठाउँको अपरिचित मान्छे पो भएछु कि जस्तो लाग्छ।
तर साहित्यको बाटोमा पाइला राखेपछि भने जीवनको दृश्य नै फेरिएको अनुभव हुन्छ।
साहित्यको यात्राले मेरो बाटो साँघुरो होइन, झन् फराकिलो बनाइदिएको छ । यहाँ भेट हुने मान्छेले औपचारिक परिचयको पर्खाइ गर्दैनन् । पूर्व सहकर्मी हुनुपर्दैन । काम सारिदिएको वा सापटी दिएको हुनुपर्दैन । आफ्नै नामले परिचय दिइसक्छ । तीमध्ये केही बाटोमा भेटिन्छन्, सन्चोबिसन्चो सोध्छन्, मनको कुरा गर्छन् ।
कुराकानी गर्दै जाँदा आफ्ना सिर्जना, आफ्ना कृति, आफ्ना सन्तानझैँ प्रिय पुस्तक र लेखनका प्रसङ्गहरू एकअर्कासँग साटिन्छन् । साहित्यका कारण बनेको चिनजानमा एउटा अनौठो आत्मीयता हुँदो रहेछ । पहिलो भेटमै पनि कताकता पुरानै साथी भेटिएझैँ ।
सबैभन्दा सुन्दर कुरा त के भने, साहित्यिक मित्र बन्नका लागि पूर्वपरिचित हुनैपर्दैन । एउटै साहित्यिक रुचि, एउटै सिर्जनात्मक धुन र शब्दप्रतिको एउटै प्रेमले अपरिचितलाई पनि क्षणभरमै आत्मीय बनाइदिन्छ। इच्छा मात्र हुनुपर्छ, साहित्यिक मित्रहरू भेट्न, बोल्न, बस्न र आफ्नोपन बाँड्न तत्पर भइहाल्नुहुन्छ।
आज देशको जुनसुकै जिल्लामा पुग्दा पनि आफूलाई एक्लो लाग्दैन। हरेक ठाउँमा कोही न कोही साहित्यिक मित्र भेटिन्छन् । एक दुई जना होइन, दर्जनौँ ।
जीवनका अरू यात्रामा साथीहरू छुट्दै गए, कतिपय स्मृतिमा मात्र बाँकी रहे । तर साहित्यको यात्रामा भने हरेक नयाँ मोडले नयाँ साथी थप्दै गयो । यहाँ साथी भेटिनु मात्र होइन, शब्दले मान्छेलाई मान्छेसँग जोडिदिँदो रहेछ । अहिले पनि मेरो सम्पर्कमा बाल्यकालीन साथीहरू, कलेजकालीन साथीहरू, जागिरकालीन साथीहरू थुप्रै हुनुहुन्छ । तर उहाँहरू अन्य सम्बन्धले होइन साहित्यिक सम्बन्धले नै हृदयमा आसन जमाएर बस्नुभएको हो ।
त्यसैले हेर देवकुमारी, साथी हुनु मात्र धेरै हुनु ठूलो कुरा होइन रहेछ ! जीवनको यात्रामा जहाँ पुग्दा पनि एउटा आत्मीय मनले “आउनुस्, बसौँ” भन्न सक्नु पो ठूलो कुरा रहेछ ।
साथी कमाउनु त यस्ता पो !
चितवनको छोटो बसाइको उद्देश्य बेग्ले भए पनि दिनदिनै साहित्यिक मित्रहरू भेटिँदै जानुभयो । को कता हुनुहुन्छ भनेर कमल ढकाल, राजेश्वर कार्की र मनोहर लामिछानेले काठमाडौँबाटै फोन गरेरै दिशा निर्देश गरिरहनुभयो । एक्लो महसुस गर्न दिनुभएन । कतिसँग फोटो खिच्ने अवसर मिल्यो कतिसँग फोटो नै खिचिएन ।
खाना खाएर प्रवीरलाई स्कुल पुर्याएपछि देवकुमारी र म अस्पत्ताल गयौँ । आज ल्यापटप र मेटामोर्फसिस दुबै लिएर गएको हुनाले अस्पत्तालमा समय कटाउन सजिलै थियो ।
अस्मितालाई अलि सुधार भएको रहेछ । नानीलाई पनि ठिकै छ । जुवाइँ र सम्धिनी खाना खान कोठातिर गएपछि म एक छिन पढेर बसेँ ।
बाहिर निस्कँदा अस्पत्तालको गेटमा बसिरहेका साहित्यकार अमर न्यौपानेसँग भेट भयो । उहाँको आफ्नो बाबुको अपरेसन रहेछ । उहाँसँग यसै अस्पतालका सर्जन डाक्टर प्रेक्षण रिमाल बसिरहनुभएको थियो । रिमालजीका बुवा पनि साहित्यकार नै हुनुहुँदो रहेछ । सामान्य चिनापर्चीपछि डाक्टरसाबले डेलिभरीपछि सुत्केरी महिलाले ख्याल गर्नुपर्ने कुराहरू भन्न थाल्नुभयो । मैले बिचमै काटेर मेरी छोरी नै स्त्रीरोग विशेषज्ञ हो । अहिले क्यान्सर रोगमा डीएम गर्दै छ भनेँ । उहाँले होइन साधारण महिलाहरू व्यावहारिक अनुभवले डाक्टरहरूभन्दा बढी जान्दछन् । पढेर भन्दा परेर बढी जानिन्छ । चिकित्सक भए पनि सिकाउन र सिक्नुपर्छ भनेर सम्झाउनुभयो ।
क्याबिनमा फर्किएपछि जुवाइँ र म नारायणघाट बजारतिर गयौँ । उहाँले साथीभाइ र डेलिभरीको अपरेशन गर्ने डाक्टरहरूलाई बाँड्नको लागि मिठाई किन्नुभयो । मैले मेरो पछिल्लो कृति ‘स्तब्ध शब्दहरू’ २ प्रति बोकेर हिँडेको थिएँ । सम्पूर्ण पुस्तकमा पुगेर एक प्रति रमेश प्रभातलाई दिएँ र अर्को प्रति लेखराम सापकोटाको लागि छोडिदिएँ ।
अस्पत्तालमा फर्किएपछि देवकुमारीले बाहिरतिर घुम्न जाऊँ भनिन् । अस्पताल अगाडि नै पिच उप्काएर पुनः सडक मर्मत गर्न थालिएकोले अस्पताल परिसर धुलाम्मे हुन्छ । मालपोत चोकको एउटा ब्युटी पार्लरमा उनी छिरिन् म भने समय कटाउनको लागि हिँड्दै जागृतिचोकसम्म पुगेर फर्किएँ ।
फर्किँदा केही बेर पानी पर्यो । बाहिरको धुलो भिजाएकोले सास फेर्न सजिलो भयो ।
अस्पत्ताल फर्किएपछि आज पनि देवकुमारी र म नै कोठामा जानेभयौँ । देवकुमारीको इन्सुलिन पनि सकिएको रहेछ । अस्पत्तालबाहिर किन्न खोज्दा १०० रुपैयाँ बढी लग्यो । एउटै सुईलाई करिब २००० मूल्यको महिनामा ३ वटा इन्सुलिन लगाउनुपर्छ र करिब २००० को मेटफर्मिन र अन्य औषधिहरू खानुपर्छ ।
कोठामा आएपछि देवकुमारीलाई खाना पकाउनमा सहयोग गरी एआइको अनलाइन क्लासमा बसेँ ।
२०८३ असोज १७ गते शनिवार
दुवाकोट भक्तपुर
आज बिहान ४ बजे नै निद्रा खुल्यो । पानी तताएर पिएँ । देवकुमारीसँग आज काठमाडौँ फर्कने बारे कुराकानी गरेँ । उनले हुन्छ जानुहोस् भनेकी छन् । सम्भवतः अस्मिताले पनि मानी भने आजै काठमाडौँ गइन्छ होला ।
आज रुकुमेली वाङमय अधिष्ठानको वार्षिक साधारण सभा आयोजना गर्ने पूर्व निर्णय थियो । तर म अस्मिताको डेलिभरीमा मुख्य अभिभावकको हैसियतले यता आउनुपर्ने भएकोले तयारी पुगेको थिएन । अस्ति कोषाध्यक्ष सिर्जना शर्माको बुवाको निधन भएको हुँदा झन् यो सभा गर्नुको औचित्य थिएन । अध्यक्ष भूपेन्द्रा म्याडमले त सभा स्थगन गरेको सूचना राखौँ भन्नुभएको थियो । तर कार्यक्रम हुने भन्दा नहुने भन्ने सूचनाले मान्छेले चियोचर्चाको विषय बनाउने भएको हुँदा मैले सूचना राख्नै पर्ने आवश्यकता देखिनँ । म्याडमले आफै सूचना बनाएजस्तो पनि लागेन ।
तर मनमा कार्यक्रम गर्न नसक्दाको ग्लानि भने भइरहेको थियो । यसै कार्यक्रममा सिँगारुको दोस्रो अङ्क पनि विमोचन गर्ने कार्यक्रम थियो । उक्त अङ्कको लागि रचनाहरू पनि प्राप्त भएर मैले सम्पादन पनि गरिसकेको थिएँ । तर प्रकाशन गर्ने स्रोत कतैबाट नजुटेकोले यत्तिकै अड्किएको छ ।
आज शनिवार भएकोले खाना खाइसकेपछि प्रवीरलाई लिएर अस्पत्तालमा पुग्यौँ । जुवाइँले अस्मिताको डिस्चार्जको प्रोसेस अगाडि बढाउँदै हुनुहुन्थ्यो । एकछिन पछि रविनको साथी कार लिएर आइपुगे । डिस्चार्जको प्रोसेस सकिएपछि अस्मिता र नवजात शिशुलाई लिएर कोठातिर फर्कियौँ ।
जुवाइँ प्रवीर र म भने जुवाइँकै बाइकमा गयौँ । जुवाइँको कोठामा खसीको मासु लिने इच्छा रहेछ । भरतपुरको बसपार्क पुग्यौँ । बसपार्कको नाम पारस बसपार्क राखिएको रहेछ । मेरो लागि यो ठाउँ नौलो थियो । मासु किनेपछि हामी हाकिमचोकतिर लाग्यौँ । क्यान्सर हस्पिटलको पूर्वपट्टि रहेको बुद्धचोकबाट पूर्वोत्तर हानिएको फराकिलो सडकलाई अस्ति भर्खरै पछ्याउँदै निकै माथिसम्म पुगेको थिएँ र बिचबाटै फर्केको थिएँ । त्यो फराकिलो बाटो कहाँ जोडिन्छ होला भन्ने कौतुहलता मेटिएको थिएन । आज हाकिमचोक पुगेपछि थाहा भयो कि त्यो फराकिलो सडक पूर्वपश्चिम लोकमार्गमा यहीँ आएर जोडिँदो रहेछ । चोक नजिकै रहेको बिगमार्टबाट प्रवीरले केही सामानहरू छानेर लगे । थोरै पैँसा भएको भए तिरिदिउँला भन्ने इच्छा थियो तर चामललगायतको सामान लिँदा बिल अलि बढी नै आयो । आधा तिर्छु भन्नुभएन । जुवाइँले नै बिल तिर्नुभयो ।
कोठामा आएपछि अस्मितालाई कुरा राखिहालेँ । अब कोठामा सबै छौ केही समस्या छैन म काठमाडौँतिर आजै जान्छु है अस्मिता भनेर । उसले सहर्ष स्वीकृति दिई । देवकुमारीलाई बिहानै मनाइसकेको थिएँ । अतः तरकारी चिउरा खाएर काठमाडौँ जाने तयारी गरेँ । एउटा सर्ट एउटा पाइन्ट र ल्यापटप मात्र लग्नु थियो । अस्ति भर्खरै सम्पूर्ण पुस्तक पसलबाट किनेको पातलो डायरी आकारको नोबेल पुरस्कार प्राप्त फ्रान्ज काफ्का मेटामोर्फसिस पुस्तक छानेँ । जुवाइँले नारायणघाट बजारसम्म पुर्याइदिनुभयो । गुल्मीतिर आएको एउटा ईभी गाडी भेटियो । यात्रीहरू ४ जना मात्र थिए । अघिल्तिरको सिट नै पाइयो । २ जनाको सिटमा एक सिटमा हलुका झोला र अर्को सिटमा म ढल्किएर बसेँ । सुते पनि मिल्ने खालको सिट थियो । अरू भए सुत्थे होलान् तर मैले डबल सिटलाई अध्ययनमा प्रयोग गरेँ । मेटामोर्फसिस पढ्न थालेँ । हाइसले सडकमा तानेको भन्दा बढी गतिले उपन्यासले तान्दै लग्यो । नारायणघाटबाट कुरिनटार नपुग्दै उपन्यास पढिसकियो । यस बिचमा कति वटा पहिरो खसेका थिए केही हेक्का भएन ।
मेटामोर्फसिस उपन्यासको बारेमा अधिकांश साहित्यकार जानकार नै हुनुहुन्छ । यस उपन्यासमा के लेखिएको छ भन्ने कुरा गौण हो । यो उपन्यास किन प्रसिद्ध छ भने एक जना व्यक्ति अकस्मात् कीरामा परिवर्तन हुन्छ । त्यो कीराले आफ्नो परिवारको भाषा बुझ्छ । व्यवहार बुझ्छ । सोच्न सक्छ । दुखी हुन्छ । खुसी हुन्छ । खालि बोल्न सक्दैन । मान्छे कीरामा रुपान्तरण भएपछि आफूलाई माया नगर्ने बाबु मात्र होन प्राणभन्दा प्यारो ठान्ने आमा र बहिनीले समेत उसको वेदना बुझ्न सक्दैनन् । मान्छेलाई कीराको जस्तै व्यवहार गरिन्छ । घरमा भोज चलिरहेको हुन्छ तर उसले अन्त्यमा चाँहि खाना नै पाउँदैन र एक दिन मर्छ । मर्छ नभनौँ मान्छेले मान्छेलाई नै गरेको दुर्व्यवहारको हतियारले ऊ मारिन्छ र परिवारले शान्तिको सास फेर्छ ।
मैले आफैसँग त्यस कीरालाई दाँज्छु । अलिकति उल्टोपाल्टो रूपमा । मलाई परिवारले माया गर्छ सम्मान गर्छ । तर मेरो शारीरिक संरचना देखेर समाज हाँस्छ । बाटोमा हिँड्नेहरू गिज्याउँदै हाँस्छन् । सायद मैले पहिल्यै लेखिसकेँ यस बारेमा । जस्तोसुकै चिथरा लुगा लगाएका मगन्तेहरू पनि हाँसोको पात्र बन्दैनन् । जस्तोसुकै उँचाइ भएका बामपुड्केहरू देखिँदा पनि कोही हाँस्दैनन् । जस्तोसुकै कुरूप व्यक्ति भए पनि मान्छे हाँस्दैनन् । तर मेरो शरीर कस्तो छ र म हाँसोको पात्र बन्दछु ? ऐना अगाडि उभिएर हेर्छु कि मेरो जिउमा अरूलाई हाँसो उठाउने के कुरा छ त्यस्तो भनेर ।
हाँसोको पात्र बनिरहने भएकोले म अरूसँग कुरा गर्न हिचकिचाउँछु । मञ्चमा उभिएर त झन् बोल्नै सक्दैन । बोली नै मान्छेको पहिचान हो तर मान्छेहरूले मलाई बोल्न नसक्ने बनाइरहेका हुन्छन् । विचार नै मान्छेको पहिचान हो तर मान्छेहरूले मलाई विचार राख्न रोकिरहेका हुन्छन् ।
फ्रान्ज काफ्काको कीराजस्तै म मान्छेको व्यवहारकै लठ्ठीले खिज्याइन्छु जिस्क्याइन्छु घोचिन्छु रोपिन्छु । मैले उनीहरू हाँसिरहेको अनुहार नदेखियोस् भनेर आफ्नो अनुहार र जिउ कतै लुकाउनुपर्छ । सकभर दिनभर अनुहार लुकाएर हिड्नुपर्छ ।
उनीहरूले नै भन्छन् फेरि- फलानो कार्यक्रममा त फलानो आएन । त्यो लाछी छ । ऊ आउनै पर्थ्यो । यसले समाजको लागि केही गर्दैन । समाजदेखि भागेर हिँड्छ । यो मान्छे सामाजिक सहयोगमा अघि सर्नुको सट्टा पछि सर्छ । यो मान्छे ठिक छैन । म सकुन्जेल त अघि सर्ने प्रयास गर्छु नै । तर कहिलेकाँही यति हाँसोको पात्र बन्दा यति पीडा हुन्छ कि पछाडि सर्ने बाध्यता नै हुन्छ ।
मान्छेको दुनियाँमा अर्को मान्छे कसरी हाँसोको पात्र बन्नसक्छ । कसैले मेरै बारेमा उपन्यास लेख्यो भने फ्रान्ज काफ्काको मेटामोर्फसिस उपन्यासभन्दा कारुणिक उपन्यासको पात्र बन्न सक्छु म ।
मैले नै बनाउन सक्थेँ तर मैले नै लेखेको उपन्यास पनि हाँसोको पात्र बन्न सक्छ । करुणा जगाउनको लागि लेखिएको उपन्यास हाँसो जगाउने भइदियो भने कति बिडम्बना होला । आफू त मरेर गइएला तर त्यो उपन्यास त मरेर नजाला ।
यस्तै सोचहरू जन्माइदियो यस उपन्यासले पनि ।
कृष्णभीरको पहिरो मर्मत भइसकेछ । यात्रा गर्दा सधैँ देखिने मलेखुभन्दा अगाडिका २ वटा पुलहरू रसुवा बाढीले बगाइदिएछ । मलेखुभन्दा माथितिर ठाउँ ठाउँमा सडकभन्दा माथि नै बाढी आएको देखिन्थ्यो । सडक किनारमा टेन्टहरू गाडिएका थिए । ती टेन्ट ठुला भवनका अगाडि राखिएका देखिन्थे । केही भवन क्षतिग्रस्त भए पनि अधिकांश भवनहरू क्षति भएका थिएनन् । सायद क्षति नभएका भवनका स्वामीले सरकारबाट राहत पाइन्छ कि भनेर गरेको प्रदर्शन त होइन कतै ? केही परिवारको हरिबिजोग भएको छ । तर नजिकैका छिमेकी भने बाँचुन्जेल कसरी अरूबाट प्राप्त हुने लाभ लिन सकिन्छ भनी नाटक गरिरहन्छ । आफैलाई नपरेसम्म कसले चेत्छ र ?
गाडी चालकले थाक्रेको कान्तिपुर होटेल अगाडिको रिचार्ज स्टेशनमा गाडी चार्जिङमा छोडे । यात्रीहरू पनि झरेर दिसापिसाब गर्ने र खाजा खाने जमर्को गरे ।
खानाको मोल सोध्दा पन्ध्र बीस वर्षपहिलेको यात्राको सम्झना आयो । १० रुपैयाँ जाने बिस्कुटको ३० रुपैयाँ । १५ रुपैयाँ जाने पानीको ५० रुपैयाँ । ३० रुपैयाँ जाने बासी चाउमिनको १५० रुपैयाँ रेट रहेछ । यसरी जानाजान होटलेलाई कमाउन दिनुभन्दा एकछिनको भोक थामेँ । तर गाडीहरू रोकिइरहेका थिए । वरिपरि अर्को होटेल छैन । यात्रीहरूले बाध्यतावश् केही न केही खानै पर्थ्यो नत्र गाडीले भोकै कहाँ पुर्याइदिने हो कुनै ठेगान हुँदैनथ्यो ।
त्यस होटेलले चलेको मूल्यभन्दा बढी मोल तोक्नुको खास कारण के छ । न त यहाँ ढुवानी खर्च बढी लाग्छ । न अन्यत्रको तुलनामा श्रमको मूल्य बढी छ । न इन्धन नै अन्यत्रको तुलनामा बढी छ । यहाँ त अन्यत्र भन्दा पनि अझै सस्तो हुनुपर्ने थियो खाजाको ।
तर ब्रह्मलुट चलिरहेको छ । कसले हेर्ने कसले कहाँ गएर भन्ने यो लुटको बारेमा । एक जना यात्रीलाई यही कुरा सुनाएँ । उनले भने यतातिर सबै यस्तै हो । डाइवर र होटले मिल्छन् । भोक र पिसाबले च्यापेका यात्रीलाई अर्को कुनै विकल्प हुँदैन । यही कमजोरीको फाइदा उठाएर रातारात कमाएर श्रीसम्पति बढाउने खेल हो ।
कसैले खाए । कसैले खाएनन् । करिब १ घण्टा चार्ज गरेपछि गाडीले हिड्ने सुर कस्यो । झर्नेबित्तिकै होटेलमा उक्लेर पिसाब फेरेको थिएँ तर गाडी हिँड्दा फेरि पिसाब आइसकेको थियो । तर होटेलमा उक्लिने साहस गरिनँ बरु पिसाब नै च्यापेर राखेँ ।
गाडी हिँडेपछि केही बेरमा सुरुङमार्गमा पुग्यो । सुरुङमार्ग सञ्चालनमा आइसकेछ । सुरुङभित्रको यात्रा ९ मिनेटको थियो । गाडीले भित्र ओभरटेक गर्न पाउँदा रहेनछन् । अगाडि स्लो गाडी परेकोले हाम्रो गाडीको गति पनि स्लो भयो । सायद सुरुङको यात्रा ५ मिनेटभन्दा बढीको थिएन तर सुरुङभित्र ५ मिनेट पनि ५० मिनेट बराबर लाग्ने । कुनै समुन्नत देशमा पो पुगेँ कि जस्तो लाग्ने ।
एकैछिनमा गाडी थानकोट पुग्यो । कलङ्कीमा ओर्लिएँ । भक्तपुरको बस पाइएन । चाबहिलतिर जाने गाडीमा चढेँ । कोटेश्वरमा ओर्लिँदा भाडा दिएँ । कलङ्की भन्ने नामै बिर्सिएछु बल्खुबाट भनेँ । उसले ग्वार्कु सुनेछ । ५० रुपैयाँ दिँदा २० रुपैयाँ फिर्ता दिएँ । मैले फेरि उसले फिर्ता दिएको पैँसा देखाउँदै बल्खुबाट आएको भनेँ । उसले ५ रुपैयाँ थपिदियो । गाडीवालाहरूको मनपरी भाडाबाट धेरैचोटि ठगिएको थिएँ । उसले सुन्नै नजानेर पैँसा फिर्ता गर्छ भने मैले ठगेको भएन भनेँ र चुपचाप ५ रुपैयाँ पनि लिएर कोटेश्वरबाट अर्को गाडी चढेर दुवाकोटस्थित निवासमा पुगेँ । पसलबाट दुध र रेडिमेड परौठा लिएर घरमा गई तताएर खाएँ ।
२०८३ असोज १८ गते आइतवार
बिहानै खाजा खाएर क्याप्टेन डीआर निरौलालाई भेट्न गौशालातिर लागेँ ।
स्मरण शक्ति क्षीण हुँदै गएको । आफैले भनेका कुराहरू पनि बिर्सने । खासगरी विगतका पात्रहरूको नाम पद र भूमिकाको धमिलो चित्र मात्र आउने । उहाँले भनेकै आधारमा तयार गरेको चेल्सीको नेपाल भ्रमण सम्बन्धमा उहाँ नै अलमल भएको देखिएको ।
क्याप्टेन डीआर निरौलाको आकाश यात्रा पुस्तकको दोस्रो संस्करण प्रकाशनको लागि उहाँले नै च्याप्टरहरू मिलाउने छोटा च्याप्टरलाई अलि बढाउने र उक्त पुस्तकको सम्बन्धमा पत्रपत्रिकामा प्रकाशित समीक्षाहरू पनि थप्ने जिम्मा दिनुभएको थियो । सोही अनुसार मैले भूमिका निभाएको थिएँ । तर आज छलफल गर्दा खास गरी चेल्सीको नेपाल भ्रमणको बारेमा थपिएका कुराहरूमा उहाँ नै स्पष्ट नभएको देखिएको ।
डीआर निरौलाको घरबाट लेखनकुञ्जतिर लागेँ । छोराहरूबाट केपीएन आत्मकथाको संशोधन थोरै थोरै गरेर आइरहेको छ । पछिल्लोचोटि कान्छो छोरा विनय न्यौपानेले क्यानाडाबाट पठाएको संशोधन अपडेट गरेँ । खाना लेखनकुञ्जमै खाएँ । कमलजी आइपुग्नुभयो । नीलकण्ठ उप्रेतीको हालसम्मको सम्पादन गरेको आत्मकथा सौरभलाई प्रिन्ट गर्न लगाएर कमल ढकालजीलाई दिएँ । उहाँले नीलकण्ठको नम्बर दिएर फोन गर्नुहोस् भन्नुभयो । नीलकण्ठले फोनमै कमल ढकाल र लेखनकुञ्जलाई नचिनेको बताउनुभयो । आफूले आत्मकथा सम्पादनको निम्ति कसैलाई नभनेको भनेर पनि बताउनुभयो ।
लगभग १ महिना समय लगाएर सम्पादन गरेको काममै प्रश्न उठ्यो । कमलजीलाई यही कुरा बताउँदा भर्खरै श्रीमती बितेकोले उनलाई पीडा र व्यावहारिक उल्झन छ । स्मरण शक्तिमा पनि समस्या होला । आफै कुरा गरौँला भन्नुभयो ।
मलाई नजिकै रहेको कर्णाली किचेनमा लगेर कफी खुवाउँदै गर्दा फेरि पनि लेखनकुञ्जलाई माथि उठाउनको निम्ति के के गर्न सकिन्छ भन्ने बारेमा विचार राख्न अनुरोध गर्नुभयो । उहाँलाई आफ्ना योजनाहरू बताएँ । उहाँले लेखनकुञ्जमा काम गरेको पारिश्रमिक कति लिन बाँकी छ । कति अपेक्षा गर्नुभएको छ भनेर पनि सोध्नुभयो । मैले केही बताउन सकिनँ । माघ १ गते लेखनकुञ्जमा काम गर्न थालेको थिएँ । करिब २ महिना नियमित काम गरेँ । चैत्रको अन्तिम हप्ता नेपाली कलासाहित्य प्रतिष्ठानले प्रदान गरेको योगेश्वर वाङ्मय पुरस्कार थाप्न सोलुखुम्बु जानुपर्यो । त्यहाँबाट फर्किए लगत्तै राप्ती साहित्य परिषद्ले प्रदान गरेको मुसीकोट नगर पुरस्कार थाप्न रुकुम जानुपर्यो । रुकुम पुगेपछि त्रिवेणी गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माणको निम्ति विज्ञको रूपमा काम दियो । मलाई सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएजस्तो लाग्यो । लगातार ३ महिना त्यसै कामको लागि खटिएँ । जितबहादुर शाह सरले कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तकको जिम्मा पनि थपिदिनुभयो । मैले भदौसम्म उतै बसेर काम गर्नुपर्ने भयो ।
तर लेखनकुञ्जको जिम्मेवारीबाट पनि मुक्त भएको थिएन । कुलप्रसाद न्यौपानेको १ लाख १० हजार शब्दभन्दा बढीको आत्मकथा सम्पादनको जिम्मा लिएको थिएँ । फुर्सदको समयमा त्यो काम पनि गरेँ । पहिल्यै जिम्मा लिएका क्याप्टेन डीआर निरौला र हरिप्रसाद पाण्डेका आत्मकथाहरू पनि प्रकाशित भइसकेका थिएनन् । उहाँहरूबाट पनि सुधारका सुझाव आइरहन्थे । मैले ती कामहरू पनि घरमै बसेर गरिरहेँ ।
पछिल्लोचोटि नीलकण्ठको आत्मकथा सम्पादनको जिम्मेवारी दिइएको थियो । यसमा पहिलोचोटि सम्पादन सकिएको थियो । नबुझेका कुराहरूमा स्पष्ट भएपछि र सम्पादनको ढाँचा देखाएपछि अन्तिम सम्पादन गरेर बुझाउन बाँकी थियो । तर नीलकण्ठले आत्मकथा प्रकाशनको लागि आफूले कसैलाई नभनेको भनेर मलाई सुनाइसकेका थिए ।
घरमै बसेर गरेको कामको कति पारिश्रमिक माग्ने म आफै रणभुल्ल थिएँ । तर समय र परिश्रम लगानी त भएकै थियो । त्यसको पारिश्रमिक त मैले पाउनु नै पर्थ्यो । अतः अहिल्यै निर्णय दिन हतार हुनेभएकोले मैले यस बारेमा कमल ढकालसँग केही भनिनँ ।
छोरी अस्मिताकी दउरान रुपाको पित्तको पत्थरीको अपरेशन भएको थियो । काठमाडौँ आएको बखत भेट्नु मानवीय धर्म नै हो । लेखनकुञ्जबाट लगनखेल पुगेँ । डेरामा रविन पाठक जुवाइँ र रुपा छोरी दुबैजनासँग भेट भयो । सन्चोबिसन्चोको कुरा भएपछि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाहिर निस्कन थाल्दा सम्धिनीकी आमाका माइती रामचन्द्र खडकाका बहिनी जुवाइँ रुपा र रविनलाई भेट्न आइपुग्नुभयो । उहाँका जुवाइँ म कोलेनिकामा पहिलोचोटि कार्यरत हुँदा जागिरको सिलसिलामा गाविस सचिवको रूपमा रुकुममै कार्यरत हुनुहुँदो रहेछ र मलाई राम्रोसँग चिन्नुहुँदो रहेछ । पुनः परिचय गरी म भक्तपुरतिर लागेँ ।
आज बेलुका एआइको चौथो दिनको क्लास थियो । ज्वाइन गरेँ ।
२०८३ असोज १९ गते सोमवार
दुवाकोट भक्तपुर
आज कतै जानु थिएन । बिहानपख कमलजीलाई पारिश्रमिकको सम्बन्धमा आफ्नो विचार मेसेज गरेँ । हाम्रो वार्तालाप यस्तो थियोः
‘Purna Oli: नमस्कार, शुभप्रभात सर । हिजो सरले पारिश्रमिकको बारेमा सोध्नुभएको थियो । खासमा मैले हिजो जे भनेको थिएँ त्यही नै मेरो हृदयदेखिकै अभिव्यक्ति हो । सरले पारिश्रमिक नदिँदैमा पनि चित्त दुखाउने मान्छे म होइन । सरले मलाई विश्वास गरिरहनुभएको छ यही नै मेरो व्यवहारको पुरस्कार ठान्दछु । पारिश्रमिक ठान्दछु । लेखनकुन्ज मेरो साहित्यिक जीवनको मातृभूमि पनि हो । आमाको दशधारा दुधको मोल नभएझैँ लेखनकुन्जले मलाई उपलब्ध गराएको प्लेटफर्मको के मोल खोजौँ भन्ने पनि लाग्छ । तर लेखनकुञ्जसँग जोडिनुको तात्पर्य आफ्नो क्यारियर पनि बनोस् धेरै साहित्यकारहरूसँग चिनजान र विश्वास आर्जन गर्न सकियोस् र समयको लगानी गरेवापत सँगसँगै आउनेजाने भाडा र दैनिक अत्यावश्यक खर्च व्यवस्थापन गर्न सकियोस् भन्ने लोभ पनि हो ।
मैले गत वर्षको माघदेखि काम गर्न थालेको हुँ । सुरुको २ महिना नियमित अफिसमा आउन सके पनि त्यसपछि आफ्नै थप जिम्मेवारीले नियमित हाजिर हुन सकेको छैन । सरले २ महिनाको पारिश्रमिक दिइसक्नुभएको छ ।
अन्त्यमा नै सक्ने गरी केपीएनको फाइल पनि पठाउनुभएको थियो । तर मेरो कार्य व्यस्तताले केही ढिला हुनपुग्यो । त्यो फाइल निकै ठुलो भएकोले पनि समयमा नसकिएको हो । झन्डै ४ वटा पुस्तक बन्ने फाइललाई एकचोटि सबै सम्पादन सकेर त्यसपछि बारम्बार केपीएनको घरमै पुगी त्यसलाई केही छोट्याउने र आवश्यक कुराहरू थप्ने कामहरू भए । जसको परिणाम अब निस्कँदै पनि छ ।
तर धेरै दुःख भने मलाई नीलकण्ठको फाइलमा गर्नुपरेको छ । जुन कुरा सरले मलाई सुरुमा पठाइदिएको फाइल र अहिलेको फाइल दाँजेर हेर्न सक्नुहुन्छ । अघिल्ला फाइलहरूमा वाक्य संरचनामा धेरै समस्या थिएन शुद्धाशुद्धी र वाक्यको संरचना र संगति हेर्दा पुग्थ्यो तर यस फाइलमा भने वाक्य संरचना र वाक्य संगतिमै धेरै समस्या थियो । शुद्धाशुद्धि त झन् कति हो कति । यसमा अलि धेरै मिहिनेत परेको थियो । तर यही फाइलका नीलकण्ठले अन्ट न सन्टका कुरा गरे । मेरो समय र मिहिनेत खेर गएको ठानेको छु । उनले छापुन् या नछापुन् सरले त्यो फाइल लिएर नीलकण्ठको घरमै छोडिदिनुहोला । उनले हामीले गरेको दुःख पनि महसुस गरून् ।
यो असफल कामको लागि म के पारिश्रमिक मागूँ सर ? आफै लज्जित छु । सुरुमै सोधेर मात्र काम अगाडि बढाएको भए हुन्थ्यो भन्ने पश्चात्ताप भएको छ ।
अतः सरले बारम्बार सोधेपछि मैले प्रस्ट त पारेँ भने सरलाई पनि सजिलो पर्छ । सरको चित्त पनि बुझ्छ । नत्र ओलीले के गर्न खोजेको हो भन्ने शङ्काको भूमरीमा म तानिन सक्छु ।
अतः सरले मलाई दिइरहेको पारिश्रमिककै दरले २ महिनाको पारिश्रमिक र अरूलाई दिने गरेको भए त्यसै दरले दशैँ खर्च हालिदिनुभयो भने म खुसीले बुर्लुक्कै उफ्रने छु । यसमा सरले घटाउने बढाउने जे निर्णय गर्दा पनि मेरो रत्तिभर गुनासो रहँदैन ।
Purna Oli: क्याप्टेन डीआरको काममा पनि दौडधुप भइरहेको छ । सबै सरलाई अवगत नै छ । म के भनौँ ?
अब हाम्रो प्रज्ञा सम्मेलन हुन नसके पनि देशभरि कति स्थानीय प्रज्ञा प्रतिष्ठान रहेछन् भन्ने कुराको अनुसन्धानमा म घरमै बसी बसी लाग्छु । करिब ७५३ वटा स्थानीय प्रज्ञा प्रतिष्ठानलाई पत्र पठाएर त्यसको रेस्पोन्स लिनुपर्ने हुन्छ । १५ दिनभन्दा बढी नै लाग्छ र सबैलाई फोन पनि गरेर विवरण टिप्दा खर्च पनि उत्तिकै लाग्छ । विवरण सङ्कलन गर्ने काम गरौँ कि नगरौँ सरले निर्णय गर्नुहोला ।
Kamal : धेरै धन्यवाद आभारी छु सर पैसाले धेरै सम्बन्ध प्वाल परेका छन् । म यस्तो नहोस् भन्ने चाहन्छु ।
यहाँप्रति आभारी छु । सर केपिएनको तीन लाखमा गरेको जम्मा अब छाप्न नै बढी लाग्ने भयो अब हेर्नु त । पैसा थप्न भनेपछि दाँतबाट पसिना छुटला मान्छेहरुको ।
नीलकण्ठको दुख भयो भोलि बोलाएका छन् कुरा गरौला हजुर । हस हजुरले भने बमोजिम पैसा हाल्छु म खुशीसाथ । अरु के गर्नु म भन्ने लागेर दुख लागिराछ । सर विवरण सङ्कलन गरौ । काम गर्नै पर्छ । नगर्ने हजार बहाना हुन्छ गर्ने एकै।बहाना हुन्छ यी र यत्रा किताब मर्न दिनु हुँदैन हजुर
🙏🙏🩷🙏
Purna : पालिकाहरूको नाम सङ्कलन गरेको छु । पहिले बनाएको चिठीको नमुना यस्तो थियो । केही परिवर्तन गर्नुपरेमा भन्नुहोला हजुर ।
Kamal : गजब हजुर 🙏
Purna : मासिक बुलेटिनले पनि लेखनकुञ्जको उचाइलाई बढाउनेछ । महिनाभरि गरिएका कामहरू अभिलेखबद्ध हुनेछन् । जजसले पुस्तक प्रकाशित गरेका छन् वा गर्दै छन् उनीहरूलाई तिमीहरूको पुस्तकको विज्ञापन बुलेटिनमा राखिदिन्छौँ । यो सतहत्तरै जिल्लामा पुग्ने भएकोले प्रचार प्रसार वा जानकारीको लागि विज्ञापन दिन चाहनुहुन्छ भने छापिदिन्छौँ भन्ने । कसैलाई पनि करकाप नगर्ने । विज्ञापन शुल्क पूरै पृष्ठको रु ३५,०००।- आधा पृष्ठको रु १८,०००।- एक चौथाइ पृष्ठको रु १०,०००।- १/८ पृष्ठको ७००० र १/१६ पृष्ठको रु ५,०००।- र १/३२ पृष्ठको रु ३,०००।- कायम गर्ने । धेरै पुस्तक हुनेले एकै चोटि विज्ञापन दिँदा पूरै पृष्ठ वा आधा पृष्ठको विज्ञापन दिन सक्छन् । अहिले आफू र आफन्तसँग मात्र सीमित रहेको पुस्तकको प्रचार बाहिरसम्म पुग्छ भन्ने जोसुकै लेखकलाई पनि लोभ हुन्छ नै । यसैबाट छपाई खर्च सम्पादन खर्च र व्यवस्थापन खर्च …
जनशक्तिमा प्रधान सम्पादक १ जना । सम्पादकहरू २ जना । सेटिङमा १ जना । कम्प्युटर अपरेटर १ जना । समाचार तथा सूचना सङ्कलक १ जना । बजार व्यवस्थापक १ जना राख्ने ।
छपाई र व्यवस्थापन खर्चबाट बचेको खुद आम्दानीमध्ये ७ जनालाई कामको बोझअनुसार पारितोषिकको रूपमा विभाजन गर्ने ।
Kamal : हजुर धेरै राम्रो कुरा ! अब गर्नुपर्छ यहाँ जस्तो उत्साह भर्ने मान्छे भए धेरै उर्जा भरिन्छ !
पत्रहरू ७५३ स्थानीय तहमा पुग्यो भने सम्बन्ध बढ्दै जान्छ । हाम्रो परिश्रम र उपलब्धि ग्रासरुट लेभलसम्मै पुग्ने बाटो खुल्छ । सुरु सुरमा डिजिटल बुलेटिन सबै सरकारी कार्यालय र स्थानीय तहलाई पठाइदिने । पछि विज्ञापन प्राप्त हुने सम्भावना बढ्छ । हाम्रा पुस्तकहरू स्थानीय तहका पुस्तकालयमा दराजमा पुग्छन् ।
Kamal : एकदम राम्रो ल गरौ हजुर
Purna : सरले नै पहल गर्ने हो । अरूले गर्न खोजेर हुँदैन ।
Kamal : Well plan garnu. Hajur editor baner garnu
Purna : सम्पादक २ जना राख्दा एउटाको अनुपस्थितिमा काम रोकिँदैन । काममा पनि सहयोग हुन्छ । प्रधान सम्पादक सर नै भइहाल्नुभयो ।
सेटिङ अर्जुन वा सौरभले गरिहाल्छन् । बजार व्यवस्थापन भन्नाले सबै ठाउँमा बुलेटिन पठाउने भूमिका पुष्पा वा चाहना वा सिर्जनाले गर्छन् ।
फोटोग्राफर पनि चाहिन्छ । फोटोको लागि हाम्रा विनोद सर हुँदै हुनुहुन्छ । छपाईमा नगेन्द्र । टङ्क वा सन्तोषले सम्पादकको भूमिका निभाउँछन् ।
यसको लागि सबै बसेर औपचारिक निर्णय गर्नुपर्छ । माथिका योजनाहरू र विज्ञापन दरहरू अनुमान मात्रै हो । सबै मिटिङमा बसेर बृहत छलफल गरेर आवश्यकताअनुसार योजनाहरू बनाउने र निर्णय लिन सकिन्छ ।
Kamal : Ekdum ramro la garne’
कुराकानी सकिएपछि १२ बजेसम्म खाना बनाएर बसेँ । अस्ति १७ गते गर्ने भनिएको रुकुमेली वाङमय अधिष्ठानको चौथो साधारण सभा मेरै कारणले रोकिएको थियो । छोरीको डेलिभरीमा देवकुमारीसँगै हेटौँडा र चितवन जानुपर्ने भएकोले तयारी पूर्व म काठमाडौँ रहन नसक्ने अवस्थामा थिएँ । तयारीका कामहरू गर्ने सचिव नै उपस्थित हुन नसकेपछि कार्यक्रम वृहत रूपमा गर्न नसके पनि औपचारिक उपस्थिति मात्र गर्ने भन्ने तयारी गरिएको थियो । तर १३ गते कोषाध्यक्ष सिर्जना शर्माको बुवा बितेपछि सो सम्भावना पनि समाप्त भएको थियो ।
तर असोजभित्र वार्षिक साधारणसभा नगरेमा वडा नगरपालिका कर कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट गरिने संस्था नवीकरणका कामहरू प्रभावित हुन सक्थे । त्यसैले वार्षिक साधारण सभाको उपस्थिति मात्र गराउने र त्यसको लागि माइन्युट तयार गर्नुपर्ने भएकोले म अध्यक्ष भूपेन्द्रा म्याडमको घरतिर लागेँ । गत बैशाखमा मुद्रण भएको मेरो कविता सङ्ग्रह स्तब्ध शब्दहरू वाङ्मय परिवारलाई बाँडेको थिइनँ । अतः हस्ताक्षर गर्न आउनेहरूलाई दिन हुन्छ भनेर १० प्रति जति बोकेर लिएँ ।
भूपेन्द्रा म्याडमको पुरानो वानेश्वरस्थित नयाँ घरमा पसेको थिइनँ । बाहिरदेखि नै विशाल संरचना मात्र देखेको त २ वर्षपहिलेदेखि नै हो । मिटिङ र अन्य भेटघाटको क्रममा जाँदा ग्राउन्डफ्लोरको चिया पसलमा बसेर फर्कन्थेँ । आज म्याडमले माथि नै बोलाउनुभयो ।
पहिलो तलामा चियाको प्याकेटिङको काम हुने रहेछ । दोस्रो तलामा स्कुल तथा खेलकुद ड्रेस निर्माणको काम हुँदो रहेछ । तेस्रो र चौथो तलामा म्याडमको परिवार बस्नुहुँदो रहेछ ।
भूपेन्द्रा म्याडम मेरो बाल कक्षाको गुरु हुनुहुन्छ । उहाँको जन्म रुकुमको सेरिगाउँ डाँडाखेतमा भई रुकुमकोटका ऋषेश्वर शर्मासँग भएको हो । ऋषेश्वर शर्मा सुरुमा शिक्षकको जागिरीको सिलसिलामा मुसीकोटमा आउनुभएको थियो । भूपेन्द्रा म्याडम पनि शिक्षिका हुनुहुन्थ्यो । ठकुरी र शर्मा थरका युवायुवतीको प्रेम बस्यो र त्यतिबेलाको अनमेल विवाह भयो ।
भूपेन्द्रा मल्लका बुवा होमजङ्ग मल्ल रुकुमका समाजसेवी एवम् शैक्षिक जागरणको संस्थापकको रूपमा चिनिनुहुन्थ्यो । उहाँका छोराछोरीमध्ये पहिलो श्रीमतीतर्फबाट नेपालकै प्रसिद्ध गायक एवम् गीतकार प्रेमप्रकाश मल्ल हुनुहुन्थ्यो । अर्को छोरा बामदेव मल्ल तथा बामदेव मल्लकी श्रीमती मिठु मल्ल हुनुहुन्छ । अर्की श्रीमतीतर्फबाट भूपेन्द्रा मल्ला बिना मल्ल लगायतका छोरीहरू र शेखरजङ्ग मल्ल समीरजङ्ग मल्लहरू हुनुहुन्छ । परिवारका सबै सदस्यहरू समाजका विभिन्न ओहदाहरूमा क्रियाशील हुनुहुन्छ । भूपेन्द्रा म्याडमहरू पनि रुकुम छोडेर काठमाडौँ आउनुभयो ।
नौ दश वर्षको सानै उमेरमा हामी सेरिगाउँको विद्यालयमा कक्षा ४ मा पढ्न सोलाबाङबाट चाँपातिर उक्लिरहेका हुन्थ्यौँ । उहाँ सेरिगाउँबाट सोलाबाङ झरिरहनुभएको हम्मेशा भेट हुन्थ्यो । उहाँ सालाबाङबाट बिदाई हुँदा हाम्रा पनि आँसु झरेका थिए । तर बिदाई भएर सेरिगाउँमै आउनुभयो र हाम्रै गुरुआमा बन्नुभयो ।
उसै बेला भूपेन्द्रा म्यामको एक जना सरसँग लभ छ भन्ने व्यापक हल्ला थियो । ती सर को हुनुहुन्थ्यो बालमस्तिष्कले खोजतलास गरेन । तर सेरिगाउँ स्कुलकै २ जना शिक्षकहरू एकाएक गायब भएपछि थाहा भयो गुरुआमाका प्रेमी त आफ्नै गुरु ऋषेश्वर शर्मा पो हुनुहुँदो रहेछ ।
ठकुरीकी छोरी बाहुनका पोइल गएपछि परिवारमा ठुलो हङ्गामा मच्चियो । त्यसपछि भूपेन्द्रा म्याडमलाई आफू जन्मी हुर्की बिताएको आफ्नो प्यारो माइतीघरमै आउन पनि कठिनाइ भएजस्तो लाग्छ ।
उहाँ पहिल्यैदेखि प्रगतिशील विचार राख्नुहुन्थ्यो । उति बेलाको नेकपा मशालको सांस्कृतिक संगठनमा रहेर पनि धेरै काम गर्नुभयो । रुकुमकोटका अहिलेका नेताहरू प्रायजसो भूपेन्द्रा म्याडमकै चेलाहरू हुनुहुन्छ ।
उति बेला हामीलाई पनि लाग्थ्यो एकजना सम्पन्न परिवारकी चेली बाहुनको पोइल गएर नकामै गर्नुभएको भनेर । तर अहिले उहाँको रहनसहन देख्दा लाग्छ । भूपेन्द्रा र ऋषेश्वरको जोडीले व्यापार व्यवसायमा पनि उल्लेखनीय प्रगति गरेको छ । छोराहरू एकजना चिकित्सक छन् भने अर्को व्यापारी । जेठी बुहारी समीक्षा बास्कोटा पहिले विवेकशील साझा पार्टीको अध्यक्षसम्म पुग्नुभयो । सोही पार्टीबाट काठमाडौँको मेयरमा चुनाव लड्नुभयो । अहिले रास्वपाको सांसद हुनुहुन्छ । भूपेन्द्रा र ऋषेश्वरको सन्तान भएर पनि होला बानी व्यवहार भने अत्यन्तै सरल छ । सबैको अगाडि नम्र भएर बोल्नुहुन्छ । सबैसँग नम्र व्यवहार गर्नुहुन्छ ।
भूपेन्द्रा म्यामको चारतले भवनमा उक्लँदै गर्दा यिनै कुराको स्मरण भयो । माथिल्लो तला पुगेपछि बैठक कोठामा छिरेँ । ऋषेश्वर सर सुत्नुभएको थियो । भूपेन्द्रा म्यामले माइन्युट ल्याइदिएपछि माइन्युट लेख्न थालेँ । जेठा छोरा पनि आइपुग्नुभयो । भूपेन्द्रा म्याम र एकजना कामदार बहिनी मिलेर खाजा तयार गर्नुभयो । खाजा खाएर काम सकी फर्किएँ । अधिष्ठानका साथीहरूलाई वितरण गर्नको लागि मेरो पछिल्लो कृति स्तब्ध शब्दहरू को १५ थान बोकेर लगेको थिएँ । उहाँलाई छोड्न नै बिर्सिएछु ।
लेखनकुञ्जबाट डीआर निरौलाको फाइनल सेटिङ हेर्न नगेन्द्र लामाले बोलाउनुभयो । तर मैले पानी परेको बहाना बनाई गएन । बेलुका ५ बजिसकेको थियो । आकाश अँध्यारिएको थियो र पानी झमझम पर्दै थियो । म भिज्दै गौशालासम्म आएँ र भक्तपुरको गाडी चढेर दुवाकोटस्थित घरमा आइपुगेँ ।
२०८३ असोज २० गते मङ्गलवार
दुवाकोट भक्तपुर
आज बिहानै शशिराम कार्की सर घरमै आइपुग्नुभयो । उहाँले एउटा बालउपन्यास लेख्नुभएको थियो त्यसलाई पढेर सुझाव दिनको लागि मलाई सुम्पनुभएको थियो । मैले पढेर आफ्नो नजरले देखेको आधारमा सुझाव दिइसकेको थिएँ । त्यसैको विषयमा छलफल गर्न र उहाँले लेखेको महाकाव्यलाई नाटकमा रुपान्तरण गरी काठमाडौँमा देखाऊँ भनी मैले नै उहाँलाई प्रस्ताव राखेकोले यी दुबै कामको छलफलको लागि आउनुभएको रहेछ ।
उहाँले लेखेको बाल उपन्यास वैज्ञानिक उपन्यास पनि हो । सुदुरपश्चिमका दुई बालबालिका गाउँबाट हराउँछन् र एउटा यानद्वारा पृथ्बीबाट अर्बौँ कोस टाढा रहेको लुका ग्रहमा पुग्छन् । त्यहाँ पुगेपछि त्यहाँको भूगोल, संस्कृति र समाज बुझ्छन् । त्यसपछि पृथ्वीमा फर्कँदा कसैले चिन्दैनन् । उल्टै जेलमा पुग्छन् र त्यहाँबाट पनि भाग्छन् । आफूलाई सङ्कट उत्पन्न गराउने परिवारका सदस्य र गाउँलेसँग बदला लिएर पृथ्वीमा बस्न योग्य नठानी पुनः लुकाग्रहमै फर्कन बाध्य हुन्छन् ।
शशिराम कार्कीको कल्पना शक्ति बेजोड नै हुन्छ । तथापि यानको माध्यमबाट खर्बौँ टाढाका खगोलीय पिण्डहरू चहार्न सक्षम लुकाग्रहको भूगोल संस्कृति र समाज भने अन्य ग्रहमा पुगेको अनुभूति नै हुँदैन । सुदुर पश्चिमकै एक गाउँबाट अर्को गाउँमा पुगेको जस्तो अनुभूति भयो । केही शुद्धाशुद्धि वाक्य संरचना र यसै कथानकको सम्बन्धमा मैले सुझाव दिएको थिएँ । छलफल गर्दा उहाँले आफैले लेखेको कुरा नै ठिक हो भनेजस्तो गरेर जिद्दी कसिरहनुभयो । सुझाव र छलफलको औचित्य नै रहेन । प्रायः सबै लेखक यस्तै जिद्दीवाल नै हुन्छन् । आफैले बुझेको र आफैले लेखेको मात्र ठिक हो भन्ने स्वभावकै हुन्छन् । त्यस्ता प्रवृत्ति ममा पनि हुनसक्छ । तर आम पाठकको अगाडि कसरी आफ्नो कृतिलाई स्थापित गराउने भन्ने विषयका मेरा सुझावहरू अनुचित थिएनन् जस्तो लाग्दछ ।
छलफलको अर्को विषय थियो उहाँले लेखेको देवरात महाकाव्यको नाटक तयार गरेर मञ्चन गर्ने सम्बन्धी । उहाँले सुरुमै लगानीका कुरा उठाउनुभयो र नाटकको आधा लगानी मैले नै बेहोर्नुपर्ने बताउनुभयो । म लगानी गर्न सक्दैन तर लगानी बाहेकका सबै सहयोगहरू म निशुल्क गर्छु भनेँ तर उहाँले आफ्नो ढिपी छोड्नुभएन । नाटकको स्कृप्ट पनि तयार गर्न मलाई अनुरोध गर्नुभयो । मैले स्कृप्टको जिम्मा लिने सहर्ष बताएँ ।
त्यसै सिलसिलामा लगानी गर्छन् कि भनेर आनन्द पुन कमल ढकाल र सम्राट बस्नेतलाई फोन गरेर आग्रह गरेँ । उहाँहरूले पनि नसक्ने भन्नुभयो । मैले कमल ढकाललाई फोन गरेर लेखनकुञ्जमै एक थियटर चलाइरहेका अनिल सुब्बालाई भेटाइदिन आग्रह गरेँ ।
कमलजीले लेखनकुञ्जबाट बुलेटिन निकाल्ने प्रयोजनको लागि सन्तोष आचार्यलाई समय दिइसकेकोले उक्त बैठकमा आउन र लेखनकुञ्जमा नै खाना पकाउन लगाउने बताउनुभयो । अतः म खाना नै नखाएर शशिराम सरसँगै घरबाट निस्किएँ । शशिराम सर आफ्नै वासस्थानतिर लागेपछि म लेखनकुञ्ज पुगेँ । कमल ढकाल र सन्तोष आचार्यले मलाई नै कुरेर बस्नुभएको रहेछ ।
खाना खाएपछि छलफल सुरु भयो । तर सन्तोषले बुझेको अर्कै रहेछ । उहाँले विश्वस्तरीय म्यागाजिन बनाउने योजना प्रस्तुत गर्न थाल्नुभयो । बुलेटिनको खर्चको लागि त लगानी गर्ने मान्छे नजुट्ने समयमा धेरै खर्च लाग्ने म्यागाजिनको लगानी कसले गरिदिने कसले किनिदिने स्तरीय म्यागाजिनको लागि स्तरीय जनशक्ति कहाँबाट खोजेर ल्याउने कठिन थियो । तर धेरै कुरामा जान्ने पल्टिँदा आफै फसिन्छ भनी म केही बोलिनँ ।
उहाँहरूसँग बिना निर्णय कुरा टुङ्गिएपछि मलाई भेट्न अनिल सुब्बा आइपुग्नुभयो । देवरात नाटक तयार गरेर मञ्चन गर्न कति खर्च लाग्छ भन्ने सम्बन्धमा छलफल भयो । उहाँले सबै शीर्षकहरुको हिसाब गरेर कम्तीमा ८ लाख लाग्ने बताउनुभयो । ४ लाख नै जुट्ने असम्भव भएको अवस्थामा कहाँबाट ८ लाख जुटाउने ? उहाँलाई पछि भेट्ने गरी बिदा दिइयो । डीआर निरौलाको अन्तिम सेटिङ हेर्नको लागि नगेन्द्र लामा आइपुग्नुपर्थ्यो तर उहाँ आइपुग्नुभएन ।
हिजो बोकेका पुस्तकहरू झोलामै थिए एक छिन बसेर मैले भूपेन्द्रा म्याडमलाई छोडिदिने विचार गरेँ । फेरि त्यता गए टाइम लाग्छ बरु रत्नपार्कमा पुगेर रत्न पुस्तक भण्डारमा छोडिदिन उपयुक्त हुने ठहर्याएँ । तर रत्न पुस्तक भण्डारले कविता कृति उति विक्री नहुने भएकोले नराख्ने बताउनुभयो । भुँडीपुराणतिर जाऊँ कि भन्ने लाग्यो तर त्यहाँ पनि आफ्नो प्रकाशन नभएकोले नराख्ने निहुँ नै बनाइयो भने चित्त मात्र फाट्छ भनेर भक्तपुरको गाडी चढी दुवाकोट आइपुगेँ ।
भोलि सोह्र श्राद्धको दुवादशी तिथि परेको छ । फागुन दुवादशी अर्थात् महाशिवरात्रिको अघिल्लो दिनमा द्वादशी तिथि परेको थियो । यसै दिन छोरा परिशीलनको बाइक दुर्घटनामा निधन भएको थियो । उति बेला अत्यन्तै ठुलो शोक र पीडाको घाउमा आफूले के गर्ने र के नगर्ने भन्ने केही सोच्न सकिएन । अरूले जे जे भन्छन् त्यसै त्यसै गरियो । पूर्वतिरका ब्राह्मणले व्रतबन्ध नगरेको व्यक्तिको १३ दिनसम्म किरिया गर्नुपर्दैन भने । पाँच दिनमै किरियाकाजको काम सकियो । बुवा आमा हुनेले किरिया बस्न मिल्दैन भनेकोले म किरियामा बसिनँ । बुवा बिरामी हुनुहुन्थ्यो उहाँ नै किरिया बस्नुभएकोले पनि छिटो किरियाको काम सक्नुपर्छ भन्ने थियो होला । आमा अस्पत्तालमा भर्ना हुनुहुभयो । देवकुमारी अस्मिता परीक्षित र म केटाकेटीले पढ्दै गरेको भैरहवातिर लाग्यौँ । देवकुमारी र मेरो आत्महत्या गर्ने सोच भइरहन्थ्यो । यो अत्यधिक पीडा चारपाँच वर्षसम्म घटेन र तिथिको कामहरू गर्नै सकिएन । पछि परिशीलनको तिथि पर्दा पशुपति गएर सामान्य दानदक्षिणा गर्ने काम गरिरहेको थिएँ ।
२०७९ सालमा आमा र २०८१ सालमा बुवाको निधन भएपश्चात् तिथिहरूको काम सकेर यो सोह्र श्राद्धमा आमाबुवाको श्राद्ध एकै दिन गर्नुपर्छ भनेर बुवाको तिथि त्रयोदशीमा श्राद्ध गर्ने भन्ने कुरा दाइभाइहरूबाट पनि भइरहेको थियो । धेरै वर्षसम्म तिथि पनि नगरिएकोले परिशीलनको तिथि वा श्राद्ध गर्ने नगर्ने कुनै स्पष्ट जानकारी थिएन । एकजना शिवहरि कोइराला भन्ने पण्डितले पितृ स्मरण किरियाकर्म र पूजाआजाहरू अदृश्य कानुनहरू भएको हुँदा विधि नपुर्याएर वा गर्नुपर्नेको नगरेको र नगर्नुपर्ने गरेको अवस्थामा अदृश्य कानुनको सजायको भागी हुनुपर्ने बताएर डर हालिदिनुभएको थियो । उहाँको भनाइअनुसार परिशीलनको व्रतबन्ध नभएको हुँदा स्मरण मात्र गर्ने हो तिथि गर्नुपर्दैन भन्ने भनाइ थियो ।
बुवाआमाको निधन भइसकेपछि भने तिथि गर्नुपर्ने हो कि वा बुवाआमाको श्राद्धसँगै पिण्ड दिनुपर्ने हो होइन स्पष्ट थिएनँ । चिनेजतिका पण्डितहरूलाई सोधपुछ गर्दा अरूहरूको शिवहरि कोइरालाको जस्तै धारणा पाइयो ।
भैरहवा सिँचाइ अफिसका सहकर्मी लक्ष्मीप्रसाद पन्थीले भने फरक धारणा राख्नुभयो । उहाँले पूर्वतिरको धर्मकर्म रीतिथिति पद्धति पश्चिमतिरको सँग नमिल्ने बताउनुभयो । पूर्वतिरकाले व्रतबन्ध गरेकाको मात्र काज किरिया हुन्छ भन्छन् तर पश्चिमतिर यो हुँदैन । पश्चिमतिर पछिल्लो समयमा व्रतबन्ध गर्ने प्रचलन बढ्दै गए तापनि अज्ञानता वा धार्मिक ग्रन्थहरूको उपलब्ध नहुँदा पहिले व्रतबन्ध गर्ने प्रचलन थिएन । कसै कसैको बिहेको दिनमा नै व्रतबन्ध हुन्थ्यो । धेरैजसोको भागी विवाह वा रक्छिने विवाह हुने गरेको र तिनीहरूले विभिन्न सामाजिक अवरोधका कारण बिहे र व्रतबन्ध आजन्म हुँदैनथ्यो । तिनीहरुका नाति पनाति र लामो वंश फैलिसकेको छ । उनीहरूको काजकिरिया हुन्छ ।
सामान्यतया महिलाको रजस्वला भएपछि र पुरुष १६ वर्ष नाघेपछि व्रतबन्ध नभए पनि किरियाकर्मका सबै विधि पूरा गरिन्छ र गर्नु पनि पर्छ भनेर लक्ष्मी पन्थीले धारणा सुनाउनुभयो । उहाँले सोह्र श्राद्धमा सबै पितृ अर्थात् निधन भएकाहरू सबैको स्मरण गरिने र पिण्ड दिनुपर्ने सुझाव दिनुभयो । मलाई यो कुरा स्वाभाविक पनि लाग्यो ।
२०८३ असोज २१ गते बुधवार
दुवाकोट भक्तपुर
बिहान उठेँ र आज पनि कमल ढकालले लेखनकुञ्ज बोलाउन सक्नुहुन्छ भन्ने हिसाबले बिहानै खाना तयार गरेँ । काम विशेषले सल्लाघारीतिर गएँ । पसलहरू खुलिनसकेको हुँदा फर्कन ढिला भयो ।
चिसो भइसकेको खाना खाएँ । वासिङ मेसिन धेरै समयमा नचलाउँदा जाम होला भनेर केही लुगाहरू वासिङ मेसिनमा राखेर धोएँ । भोलि बिहानै श्राद्ध गर्न जानुपर्ने र त्यसपछि चितवन फर्किहाल्ने योजना बनाएको थिएँ । ओत राखेको गमला स्ट्यान्डमा राखिएका अधिकांश फूलका बेर्नाहरू अस्ति काठमाडौँ फर्कँदा पानी नपाएर कुनै मरेका र कुनै मुर्झाएका हुँदा आजै गमलाहरूलाई बाहिरपट्टि सारेँ ।
कमल ढकालले नीलकण्ठ उप्रेतीलाई भेटेर फेरि भन्छु उहाँको प्रिन्टमा सोध्नुपर्ने कुराहरू के के छन् बताइदिनु भनेको हुँदा आत्मकथाको प्रिन्टमा नबुझेका कुराहरू रातो लगाएर बसेँ । बेलुकासम्म आधाभन्दा बढी काम त सकियो तर पूरा काम सकिएन ।
अस्ति नै भएको सल्लाहअनुसार नाटक स्कृप्ट तयारीको लागि दिउँसो शशिराम कार्की सर देवरात महाकाव्य दिनको लागि सल्लाघारी आउनुभयो र मलाई सल्लाघारीमै बोलाउनुभयो । उहाँको देवरात महाकाव्य लिएर म घर फर्किएँ ।
भोलि बुवाआमाको श्राद्ध । आज एकछक्की बस्नुपर्ने । खास गरी दिन बुरेदेखि खान हुँदैन भन्ने प्रचलन छ । अतः दिन नबुर्दै खाइसक्नको लागि २ बजेदेखि नै खाना पकाउन थालेँ । खाना पकाउन डेढ घण्टा लाग्यो । भोलि दिउँसो श्राद्धको काम सकिनेबित्तिकै चितवन फर्कने योजना बनाएकोले भोलिको लागि पनि खाना पकाएँ । देवकुमारीलाई इन्सुलिनको सुईको लागि दुवाकोटको केएमसी चोकतिर लागेँ । पाँच बजे खाइसकेर हेलमेट बोकेरै कपाल खौराउन नाइँकहाँ पुगेँ ।
कपाल काटिसकेपछि देवरातको नाटकको स्कृप्ट तयारीको लागि सोचाइ बनाउन थालेँ ।
२०८३ असोज २२ गते विहीवार
भरतपुर चितवन
बिहानै उठेर पठाओ बोलाई गोकर्णको उत्तरगयातिर लागेँ । बाइक ठिमीको बोडे हुँदा मुलपानी पुग्यो र त्यहाँबाट थली निस्किएर उकालो लाग्यो । ओरालो झर्ने ठाउँ कच्ची मात्र होइन । वर्षाले बाटो बगाएको हुँदा खाल्डाखुल्डी मात्र बाँकी रहेछ अर्को बाटो थाहा नभएकोले त्यसैलाई पार गर्दै अगाडि बढ्यौँ । बाग्मती खोला तरेपछि पारि पुग्यौँ । जङ्गल र नदीको छेउमै रहेको उत्तरगयाको मन्दिर माथिबाटै विशाल प्रतीत हुन्थ्यो ।
मन्दिरमा पुगेपछि बाइकलाई फिर्ता पठाएर प्रकाशलाई कता छौ भनेर फोन लगाएँ । उनीहरूले नदीको किनारपट्टि रहेको बताएर जाने बाटो सोधी अगाडि बढेँ ।
अलि परतिर बिचबाटोमा बाँदरको छाउनो ढलिरहेको थियो । केही बाँदरहरू वरिपरि जम्मा भएका थिए । छाउनो मरेको हुनुपर्छ । त्यो बाटो भएर अगाडि बढ्ने मान्छेहरू अगाडि जान नसकी फर्किरहेका रहेछन् । मृत छाउनोको नजिक जाने जोसुकैलाई बाँदरहरूले आक्रमण गर्न अगाडि बढ्दा रहेछन् । दयामाया नभएका पशु भनिए तापनि उनीहरूले आफ्नो परिवारको सदस्यको लागि देखाएको श्रद्धा अनौठो थियो ।
अर्को बाटो घुमेर नदी किनारपट्टि पुगेँ । किनारमा श्राद्ध गर्नेहरुको भीड थियो । सालका पातका टपरीहरू र नैवेद्य तथा फलफूलले भुइँ ढाकिएको थियो । धुपबत्तीले बासना फैलाइरहेको थियो । केही मान्छेहरू श्राद्ध गर्ने ठाउँको खोजीमा भौँतारिएका थिए । काम नपाएका पण्डितहरू त्यहाँ आइपुग्ने प्रत्येक व्यक्तिलाई सोधिरहेका थिए ।
यो ठाउँमा बाग्मती अलिकति उत्तरतिर बग्दिरहिछन् । वरिपरि श्राद्ध र पूजाको लागि मानवीय संरचना बनेको हुँदा पानी तालिएको हुँदा निकै विशाल र निलो देखिन्थ्यो । यहाँसम्म बाग्मतीको पानी सफा नै रहेछ ।
प्रकाश र राधा पूर्वपट्टिको कुनामा देखिए । श्राद्धको लागि रुकुम कोलटाकुराकै पण्डित वसन्त शर्मालाई बोलाइएको रहेछ । श्राद्धको सामग्रीहरू प्रकाशले नै तयार गरेर ल्याएका थिए । मैले केही ल्याउनुपरेन । श्राद्ध कार्य सुरु भयो । पण्डितले लामो समय लगाएर श्राद्ध सम्बन्धी प्रक्रिया सबै पूरा गरे । सबै पितृहरूलाई स्मरण गरियो । श्राद्ध खालि विधि पुर्याउने प्रक्रिया मात्र नभई आफ्ना सबै पितृलाई श्रद्धा अर्पण गर्ने कार्य पनि रहेछ भन्ने अनुभूति भयो । बिहान ७ बजे नै सुरु भएको श्राद्ध १० बजे सकियो ।
श्राद्ध सकेपछि प्रकाशकै पठाओ कारमा चढेर पुरानो वानेश्वरसम्म आएँ । बाटोमा राधाले पण्डितलाई दान दक्षिणाबाहेक ५००० रुपैयाँ पारिश्रमिक दिने गरेको बताइन् । मैले टीकादक्षिणाको लागि ५०० मात्र दिएको थिएँ । उनीहरूले श्राद्धको लागि ल्याएको सामानको कमी कतै देखिँदैनथ्यो । सायद ५००० भन्दा बढीको त सामान नै हुनुपर्छ । विभिन्न टपरीमा राखिने भेटी र टीका दक्षिणासहित १५००० सम्म बाहुनले लैजाँदा रहेछन् । घरमै गर्दा दुईचार हजारले नै सकिन्छ । गरीबगुरुवाले त दुईचार सयमै श्राद्ध गर्छन् होला ।
कति खर्च गर्न सकियो भन्दा पनि श्रद्धा प्रकट गर्नु ठुलो कुरा हो ।
भूपेन्द्रा मल्ल म्याडमकहाँ जाने काम थियो । प्रकाशलाई उनकै घरमा छोडिदेऊ भनेको थिएँ तर उनीहरूले ढिला भएको बताएपछि पुरानोवानेश्वरमै ओर्लिएँ र सूर्यविक्रम ज्ञवाली मार्गमा पुगेर उहाँको घरको तल्लो तलामा रहेको चियापसलमा मेरो पछिल्लो कृति (स्तब्ध शब्दहरू) वाङमय परिवारलाई बाँडिदिनको लागि छोडेँ । र त्यसको खबर भूपेन्द्रा म्याडमलाई फोनबाटै अवगत गराएँ ।
त्यहाँबाट थापागाउँस्थित लेखनकुञ्जमा पुगेर कमल ढकाललाई नीलकण्ठ प्रिन्टेड कपि बुझाएँ । आफू आजै चितवन फर्कन थालेको कुरा पनि बताएँ । उहाँले २ महिनाको पारिश्रमिक खातामा हालिदिनुभयो । मलाई निकै खुसी लाग्यो ।
त्यहाँबाट पठाओ चढेर दुवाकोट स्थित घरमा पुगेँ । खाना खाएर लुगालत्त मिलाउन थालेँ । देवकुमारीले रातो सुटकेशभित्र बच्चाका लुगाहरू भएको हुँदा ल्याइदिन आग्रह गरिन् । सुटकेशमा ताल्चा लगाइएको थियो । साँचो खोज्न निकै समय लाग्यो तर भेटिएन ।
खाद्य पसलेलाई ग्यास राखिदिन आग्रह गरेँ ।
साँचो नभेटिएकोले सुटकेश समेत बोकेर सवा २ बजेतिर चितवनको दुवाकोटबाट प्रस्थान गरेँ । छिटो कलङ्की पुग्ने हुटहुटी थियो तर जडीबुटीमा २५ मिनेटभन्दा बढी जाम भइदियो ।
कलङ्की पुग्दा साढे ३ बज्यो । कलङ्कीमा चितवनको पिप्ले जान तयार भएको हाइसमा चढेँ । केही पर पुगेपछि हावाको झोँक्काले हान्न थालेपछि थाहा भयो मेरो छेउको झ्यालमा त सिसा नै रहेनछ । घाम बाँकी नै रहे पनि हावा अत्यन्तै चिसो थियो । झोलाबाट देवरात झिकेर छेकेँ । पूरै त छेकिएन तर घरी छातीमा र घरी आँखामा हानिरहेको हावालाई अलिअलि छेक्न सफल भएँ ।
लाग्यो यात्रामा मलाई नै किन यसरी सङ्कटले पर्खिरहेको हुन्छ । किन अन्तिम यात्री म नै बन्न पुगेँ । किन यो झ्याल मेरै लागि राखियो । किन यो झ्यालको सिट मेरै पर्यो । गाडी सतुङ्गलभन्दा अगाडि पुगिसकेकोले झरेर अर्को गाडीमा चढ्न पनि जोखिम नै थियो । आफ्नै भाग्यलाई दोष दिएर बसेँ ।
यात्रामा देवरातको आधा भाग पढिसक्ने धोको थियो । तर पढ्नुपर्ने पुस्तक हावा छेक्नमा प्रयोग गर्नुपर्यो । झोलामा यो किताब नै नराखेको भए केले छेक्दो हुँ । उज्यालो छउन्जेल उघारिएको किताबका केही श्लोकहरू पढ्न पनि सकेँ । गुर्जुधारा पुगेपछि गाडी फराकिलो बाटोमा उत्तरतिर लाग्यो । अस्ति पनि यो बाटो आइसकेको र निर्माण हुँदै गर्दा थाहा भइसकेको थियो कि यो बाटो सुरुङमार्गतिर जाने बाटो हो । फेरि सुरुङको अनुभव गर्न पाइनेभयो भनेर खुसी लाग्यो ।
सुरुङ लामो नै हो । करिब २ किलोमिटर लम्बाइ होला तर सुरुङभित्रको यात्रा अलि लामो नै लाग्दो रहेछ । पूरै पार गर्न ५ मिनेट मात्र लाग्छ तर त्यो पाँच मिनेटमा ३०० सेकेन्ड लाग्छ । ३०० सेकेन्ड कटाउन ५०० चोटि सास फेर्नुपर्छ । प्लेनमा पनि ५ मिनेट कटाउन निकै समय लागेझैँ लाग्छ तर सुरुङभित्र अझै लामो लाग्दो रहेछ ५ मिनेटको समय । डर सर त्यस्तो केहीले होइन मानसिकताले हो या सुरुङको अँध्यारो बाहेक देख्ने कुरा अरू केही नभएर हो ।
मान्छे बिरामी पर्दा वा घोर चिन्तामा पर्दा वा वृद्धावस्थामा उक्लँदै गर्दा पनि यस्तै सुरुङ मार्ग पार गरेझैँ समय कटाउन निकै कठिन हुन्छ । धन्न मेरो बानी किताब पढ्ने र केही न केही लेख्नेतिर जाने भएकोले सुरुङ मार्गको अनुभूति गर्नुपरेको छैन ।
सुरुङको अँध्यारो सकिएपछि केही उज्यालो त भयो तर देब्रेपट्टिको सिट परेकोले अपेक्षित उज्यालो हुन सकेन । एक त फुटेको झ्यालतिर सिट झन् देब्रेतिरै सिट । मेरै भागमा यो किन पर्यो ।
धार्के झरेपछि आकाशबाट पानीका थोपा झर्न थाले । हावाका झोँक्काले त मलाई मात्र हानिरहेको थियो । म भन्दा अगाडि र दायाँतिर बस्नेहरूलाई शीतलता नै प्रदान गरेको थियो तर पानीका थोपाले भने उनीहरूलाई पनि हान्न थाल्यो । बल्ल उनीहरू कराउन थालेः यस्तो गाडीमा बसेर पानीमा भिजेर कसरी यात्रा गर्ने कि झ्यालमा सिसा राख्ने प्रबन्ध गर कि हाम्रो भाडा फिर्ता देऊ हामी यतै ओर्लिएर अर्को गाडीमा जान्छौँ ।
धार्केमा खाजा खान झार्यो । यो होटेल पनि यात्रीहरूलाई बासी खाजा खुवाएर चौबर मोल असुल्ने होटेल नै त होला भन्ने लागेको थियो तर खाजाको मोलहरू सोध्दा सामान्य नै लाग्यो । बाटोमा सबै ठगहरू हुँदा रहेनछन् भन्ने बुझेँ । बिस्कुट र दालमोट त आफ्नै झोलामा थियो तर झिक्न झन्झट लागेकोले बिस्कुट किनेर खाएँ ।
गाडीमा सिसा मिलाइसकेको रहेछ । चलाइनराख्नुहोला झर्यो भने फेरि हाल्न गाह्रो हुन्छ भन्यो कन्डक्टरले । चलाइरहनुपर्ने कारण पनि थिएन । उति गर्मी पनि थिएन भित्र । बाहिरको धुलोधुइरो खानुभन्दा झ्याल बन्द भएकै बेस थियो । केही अगाडि आफ्नै भाग्य फुटेको झैँ लागेको थियो अब भने भाग्य जोडिइसकेको थियो । सुविस्तापूर्ण यात्रा भयो । धैर्य गर्नुपर्छ समस्याले आफै निकास पाउँछन् ।
यही मौकामा देवरात पढ्न थाल्नुपर्यो भन्ने लाग्यो । पाना पल्टाउन थालेँ तर बाहिर अँध्यारो नपस्दै गाडीभित्र अँध्यारो पसिसकेको थियो । मधुरा अक्षरहरू तिर्मिराउन थालेकोले किताब झोलामै थन्क्याएँ ।
अस्तिको जस्तो बाटो बिग्रिएको अनुभूति पनि भएन ।
सवा ४ घण्टामै अर्थात् पौने ८ बजे चितवन भरतपुरको चौबीसकोठीमा झरी ठिक ८ बजे अस्मिताको कोठामा प्रवेश गरेँ । अस्मिताहरू दिउँसो २ बजे नै हेटौँडा गइसकेका रहेछन् । प्रवीर हेटौँडा जान नपाएकोमा ठुस्किएको थियो । खाना खाएर यात्रालाई विश्राम दिइयो ।
२०८३ असोज २३ गते शुक्रवार
भरतपुर चितवन
हिजोको यात्राको थकाइले बिहान अलि ढिला नै उठियो । सम्धी बद्री पाठकले फोन गरेर निशा बहिनीकी सासू तथा जुवाइँ जनक भण्डारीकी आमाको हिजो बेलुका नै निधन भएको खबर गर्नुभयो । हिजोको यात्राको थकाइ मार्न सामाजिक सञ्जाल हेरिनछु । जुवाइँलाई फोन गर्दा भैरहवा अस्पत्तालमा आइसीयुमै राखेको अवस्थामा निधन भएको बताउनुभयो । उहाँ १०१ वर्ष पुगिसक्नुभएको रहेछ । निशालाई फोन गरेँ । निशा र उज्ज्व काठमाडौँबाट भैरहवातिर जाँदै रहेछन् । आफन्त हुनुको नाताले शोक सन्देश तयार गरेर फेसबुकमा पोस्ट गरेँ ।
निशाकी सासू भएको कारणले फुपू नाता थियो । दाङ भएर काठमाडौँ जाँदा वा फर्कँदा पनि निराको घरमा बास बसेर घर पुग्नै हतार हुन्थ्यो । दुई तीन चोटि दाङकै घरमा भेट भएको थियो । मेरो जागिरी भैरहवामा हुँदा जुवाइँको जागिर पनि त्यतै थियो । आमालाई त्यहीँ ल्याएर पाल्नुभएको थियो । त्यहाँ हुँदा नियमित भेट भइरहन्थ्यो । मनमा कुनै पनि चिन्ता नभएझैँ उज्यालो अनुहार बनाएर हाँस्दै कुरा गर्नुहुन्थ्यो । हामीहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो । एक पटक जुवाइँले काठमाडौँमै ल्याउनुभएको थियो तर उहाँले काठमाडौँ बस्ने मन गर्नुभएन ।
जुवाइँ कपिलवस्तु सरुवा भएपछि फेरि आमालाई कपिलवस्तुमै ल्याएर पाल्नुभएको थियो । जागिरको अलावा आमालाई कुनै दुःख कष्ट र चिन्ता नहुने गरी पालेर छोरो हुनुको कर्तव्य पालना गर्नुभयो । आमाको दशधार दुधको मूल्य तिर्न प्रयास गरिरहनुभयो ।
साढे नौ बजे प्रवीर बाबुलाई विद्यालयमा पुर्याएपछि कोठामा बसेर दिउँसो देवरात महाकाव्यबाट नाटकको स्कृप्ट लेख्ने कार्यको सुरुवात गरेँ । पहिलो काम त लाइन बाइ लाइन देवरात महाकाव्य पढ्नै पर्यो । ४०० पृष्ठभन्दा बाक्लो काव्यात्मक शैलीको लेखन कथा निबन्ध पढेजस्तो कुद्न सकिँदैन । तथापि जिम्मेवारी लिएपछि काम पनि सक्नै पर्यो । पहिले पनि यो महाकाव्य पढिसकेकोले त्यसपछि के हुन्छ भन्ने कौतुहलता पनि थिएन । यस पटकको पढाइबाट काव्यमा भएका संवादहरू नाटकमा कसरी रुपान्तरित गर्न सकिन्छ वा कुन लहर बढी प्रभावकारी छन् र ती लहरलाई जस्ताको तस्तै नाटकमा उतार्न सकिन्छ भनेर राम्रोसँग अध्ययन गर्नु आवश्यक थियो । त्यसै अनुसार अगाडि बढ्दै गएँ ।
दिउँसो मनोहर लामिछाने र राजेश्वर कार्कीसँग फोन वार्ता भयो । साथीभाइहरूबाट धेरै टाढा छैन भन्ने अनुभूति गराइदिनुभयो ।
बेलुका पिपलचोकबाट करिब साढे २ किलोमिटर दक्षिणतिर रहेको टाइगर चोकमा हाटबजार लागेकोले देवकुमारी र म हिँड्दै फलफूल तथा तरकारी लिन गयौँ । केही तरकारी र फलफूल लिई हिँड्दै करिब २ घण्टामा कोठामा फिर्ता भयौँ ।
२०८३ असोज २४ गते शनिवार
भरतपुर चितवन
आज जुवाइँ प्रवीण पाठकको जन्मदिन थियो । उहाँहरू हेटौँडातिरै भएकोले फोन गरेर र फेसबुकमा शुभकामना सन्देश राखेर शुभकामना दिएँ । आजै हेटौँडामा नातिनीको न्वारान पनि थियो । बद्री सम्धीले न्वारान कार्य सम्पन्न भएको र नातिनीको नाम लोचनकुमारी राखिएको बताउनुभयो ।
प्रवीरलाई विद्यालयमा पुर्याएपछि दिनभरि कोठामै बसेर देवरात महाकाव्यकै अध्ययन र स्कृप्ट लेख्ने कामलाई निरन्तरता दिएँ । नबुझेका कुराहरूमा शशिराम कार्कीसँग सोधपुछ गरेँ । गत २१ गते शशिराम कार्कीसँग भेट भएपछि महाकाव्यलाई नाटकमा रुपान्तरण गरेर प्रदर्शनसमेत गर्ने विषयमा छलफल भएको थियो । सोही प्रसङ्गलाई लिएर सामाजिक सञ्जालमा मैले महाकवि शशिराम कार्कीसँग महत्त्वपूर्ण विषयमा छलफल भई फेसबुकमा शेयर गरेको थिएँ । फेसबुक साथी धेरैको नजरमा पर्यो होला ।
मेरै फेसबुकमा शेयर गरेको पोस्टको महाकविको प्रसङ्गलाई लिएर भूपाल आचार्य (शिक्षक, दिपेन्द्र माध्यमिक विद्यालय मानपुर दाङ) ले आपत्ति जनाउँदै महाकाव्यकार कि ‘महाकवि’ ? महाकाव्य रचना गर्ने सबैलाई महाकवि भन्ने हो भने खण्डकाव्य रचना गर्नेलाई के भन्ने खण्डकवि ? महाकवि = महान्+कवि, यो त लोकले दिने सम्मान होला नि ? लोकले यो सम्मान् त देवकोटालाई मात्र दिएको छ क्यार ! भनेर प्रतिक्रिया दिनुभएको रहेछ ।
मेरा लेखहरू अलिकति बढाइचढाइ गरिएका हुन्छन् नै । महाकाव्य रचना गर्ने सबै महाकवि हुन पनि सक्दैनन् स्वाभाविक हो । तर कसैले महान कार्य गरेको ठानेर महाकवि भन्न पनि सक्छ । महाकविलाई लक्ष्मीप्रसादलाई महाकविबाट राष्ट्रिय सम्मान दिइए तापनि कसैलाई महाकवि भनिएको मन नपरेको हुन पनि सक्छ र उसले महाकवि भन्नै पर्छ भनेर करकाप गर्न पनि सकिँदैन । कुनै पद एउटैको लागि सदाकालको लागि हुनसक्छ भन्ने पनि होइन । अहिलेसम्म लक्ष्मीप्रसाद देवकोटालाई मात्र महाकवि भनिए तापनि भोलि कोही पनि महाकवि बन्न सक्दैनन् भन्ने कुरा पनि होइन । कुनै कुनै सम्बोधन समूह विशेषको लागि पनि हुनसक्छ राजनीतिक क्षेत्रमा बा अर्थात् केपि बा वा ओली बा भनेर खड्गप्रसाद ओलीलाई बुझिन्छ । उनलाई दिइएको सम्बोधन हो भनेर सबैले आफ्नो बाबुलाई बा भन्न पाइँदैन भन्न पनि भएन ।
आम रूपमा भूपालजीले गरेको तर्क ठिक हो तर व्यक्तिगत तवरमा भन्दा मैले गरेको तर्क पूरै गलत भन्न सकिँदैन । सबैको लागि गलत भए पनि मेरो लागि सही हुन सक्छ । यो जानीबुझी नै मैले शशिरामलाई महाकवि भनिदिएँ । रुकुम पश्चिमका साहित्यकार मुकुन्दप्रसाद शर्मालाई सार्वजनिक कार्यक्रमहरूमा नै रुकुमका महाकवि भनेर सम्बोधन गरिरहेको हुन्छु ।
एउटा गणित विज्ञान शिक्षकले जो संस्कृतका जानकार नै छैनन् । १७ वटा छन्दहरू प्रयोग गरेर देवरात महाकाव्य लेख्ने साहस गरेका छन् । उनका श्लोकहरू प्रसिद्ध छन्द कविका स्तरका अर्थात् उच्च साहित्यिक पाराक छैनन् तथापि महाकाव्यकार बन्नकै लागि महाकाव्य लेखेकाहरूको तुलनामा धेरै सुललित छन् । शब्द थुपारिएको छैन । आञ्चलिक शब्दहरूको प्रयोग गरिएको छ । छन्दको प्रयोग अत्यन्तै सरल र बोधगम्य छ ।
तसर्थ यस मानेमा मैले महाकाव्यकारको सट्टा महाकवि शब्द नै प्रयोग गरेँ । तर उहाँको प्रतिक्रियाले अरूले हेर्ने नजरमा पनि चस्मा लाग्न सक्छ भन्ने जोखिमले त्यो फेसबुक पोस्टलाई नै मैले प्राइभेट बनाइदिएँ ।
बेलुका देवकुमारी र म पिपलचोकबाट हिँड्दै गौतमचोकमा लाग्ने हाटबजारमा पुग्यौँ । तर हाटबजारतिर नछिरेर यो बाटो कहाँ पुग्दो रहेछ भन्ने कौतुहलताले अगाडि बढ्दै गयौँ । सिधै जाँदा केही बेरमै पूर्वपश्चिम राजमार्गको रिजालचोकमा पुग्यौँ । गन्तव्य जानकारी भएपछि सोही बाटो फिर्ता भयौँ । देवकुमारीलाई दिसा लागेछ । अटोमा बस्न पनि मानिनन् । बजारमा ट्वाइलेट पनि कतै भेटिएन । हाटबजारमै आएपछि ट्वाइलेट भेटियो र उनले पेटको समस्या बिसर्जन गरिन् ।
बजारमा त पस्यौँ तर दुबैजनाले नगद रकम बोकेका रहेनछौँ । हाटबजारमा खुद्रा पसल थापेका पसलेहरूसँग बैँक क्युआर नभएकोले हाटबजारबाट केही पनि नल्याई कोठामा फर्कियौँ ।
२०८३ असोज २५ गते आइतवार
भरतपुर चितवन
आज घटस्थापना । प्रवीरको बिदा थियो । तसर्थ परीक्षा दिन स्कुल गएनन् । दिउँसोतिर नारायणगढ नजिकै रहेको सीजी महलमा पुग्यौँ । उनले इलेक्ट्रोनिक टेनिसबल खेल्न चाहे । मैले साथ दिएँ । बजारमा पुगेपछि बच्चाहरूलाई सबैभन्दा बढी मन पर्ने खानेकुरा नै हो । उनलाई लिएर बजार पनि गएका थिएनौँ । आफ्नो इच्छाअनुसार माग गरोस् भनेर उनलाई सोध्दै गयौँ । पपकर्न खाए । आइसक्रिम खाए । फुच्चे कोक खाए र रमाए ।
खाएको कुरा पचोस् भनेर उनलाई हिँडाउँदै एरपोर्ट पछाडिसम्म पुग्यौँ । त्यहाँ जुस पसलमा जुस बनाइरहेको देखेर जुस पनि खान मन गरे । बिगार गर्छ कि भनेर म डराएँ । देवकुमारीले यति लामो बाटो हिँडिसके । मुख सुकेको होला । खाओस् भनिन् । पाइनापल जुस पनि खाए ।
त्यहाँबाट अटो चढेर कोठामा आयौँ । ट्युशन पढाउने मिसले प्रवीरलाई ट्युशन पठाइदिनु भनेर खबर गरेकोले ट्युशन छोडेँ ।
ट्युसनबाट फर्कँदा अलि ठुलो खालको Steamed Bun नाम गरेको खेलौना किन्न लगाए । मूल्य अलि चर्कै रहेछ । एउटाको ४५० रुपैयाँ । खेल्ने कुरा त्यस्तो केही थिएन । पिठोजस्तै हातले थिच्ने मात्र । देखिँदा ममको डल्लोजस्तै । थिच्दा थेप्चो लाम्चो पनि बन्ने थिच्न छोडे आफ्नै साइजमा आउने । यो बिनाकामको खेलौनाबाट बच्चालाई के फाइदा हुन्छ भनी सोधेँ । पछिल्लो समयका बच्चाको फेवरिट खेलौना हो यो । बच्चाहरूले मोबाइलतिर नहेरी यही खेलौना खेलिरहन्छन् भनेर सिफारिस गरे । पसलमा १०० रुपैयाँ आसपासका थुप्रै खेलौनाहरू पनि थिए तर प्रवीरको जिद्दी र पसलेको सिफारिसले नकिनी धरै पाइनँ ।
कोठामा पुगेपछि एकछिन थिचेजस्तो गरेर कुनातिर मिल्काई मोबाइलमै घोप्टो परेको । खाना खाएर प्रवीर देवकुमारी र म तीनैजना कटहरचोकदेखि २ नम्बर क्यान्सेर गेटसम्म बेलुकाको हिँडाइ सकेर आयौँ । प्रवीरलाई आजको हिँडाइले मिठो निद्रा लाग्यो ।
२०८३ असोज २६ गते सोमवार
भरतपुर चितवन
खाना खाएर प्रवीरलाई स्कुल पठाएपछि हामीहरू नगद रकम निकाल्न पैदलै नहर नहरै नारायणघाट बजारतिर लाग्यौँ । पेन्सन खाता रहेको राष्ट्रिय वाणिज्य बैँकको अनलाइन भुक्तानि प्रणालीमा समस्या देखाइरहेको र एटीएम पनि हराएको र प्रभु बैँकको चेक पनि काठमाडौँमै छुटेकोले नगद रकम निकाल्ने उपाय अर्को थिएन । प्रभु बैँकको लाइनचोकमा रहेछ प्रभु बैँक । कार्डलेस रकम झिक्न नागरिकता पनि चाहिँदो रहेछ । परीक्षितले नागरिकताको फोटोकपि मेसेन्जरमा पठाइदियो । त्यसलाई प्रिन्ट गरेर काउन्टरमा बुझायौँ । एक थान चेक प्राप्त भयो । हतार हतारमा चेक लेख्न खोज्दा रकम लेख्नुपर्ने ठाउँमा हस्ताक्षर गर्न पुगेछु । काउन्टरमा यो चेक अब चल्दैन भने रिसिप्सनकाले रकम लेखेर काटी सही गर्न लगाएर फेरि काउन्टरमा पठाइदिए । चेक स्वीकार भयो । पच्चीसहजार नगद निकालेँ ।
त्यहाँबाट हिँड्दै चौबीसकोठीस्थित रावावा बैँकमा पुग्यौँ । बैँकमा अत्यधिक भिडभाड थियो । सयौँजना मान्छेहरूको ठेलमठेल थियो । भित्र नअटाएर मान्छेहरू झ्याल झ्यालमा बरन्डामा र आँगनभरि पनि भरिएका थिए । कर्मारीहरूले गुनासो सुन्न सक्ने अवस्थामै थिएनन् । असिनपसिन थिए । तैपनि कोच्चिँदै समस्या समाधानको लागि एकदुई जना कर्मचारीलाई सोधेँ । एउटाले अर्कोलाई अर्कोले अर्कोलाई गर्दै घुमिरहने अवस्था आएपछि यो समस्या काठमाडौँमै वा रुकुममै समाधान गर्ने हेतुले फर्कियौँ ।
चौबीसकोठीबाट पनि हिँड्दै पिपलचोकस्थित डेरामा पुग्यौँ । देवकुमारीले सुगर जाँचको लागि रगत दिएकी थिइन् रिपोर्ट हेर्दा फास्टिङमा १२६ र पीपीमा भने २२६ पुगेको रहेछ । रिपोर्ट हेरेर दुबैजना चिन्तित भयौँ । सुगरका तीन थरी औषधि र इन्सुलिन समेत लगाउँदा लगाउँदै पनि यो स्तरमा पुग्नु राम्रो लक्षण होइन । तर खाने कुरामा देवकुमारी पटक्कै पर्वाह गर्दिनन् ।
प्रवीरलाई स्कुलबाट ल्याएर खाजा खुवाई फेरि ट्युसनमा पठायौँ । फुर्सदको समयमा मैले देवरात पढेँ । फुर्सद त के मिल्नु र फुर्सदमा देखेपछि देवकुमारीले आफूलाई सहयोग गर्न अह्राइहाल्छिन् ।
बेलुका दुबैजना प्रवीरलाई ल्याउन ट्युसन घरमा गयौँ । फर्केर आउँदा ताल्चा लगाइएको कब्जा फुस्किएको रहेछ । ढोका खुल्लै थियो । चोर पसेको आशङ्का गरियो । घरभेटी दिदीलाई भनेपछि उहाँले आफ्ना लोग्नेलाई बोलाउनुभयो । निकै हल्लीखल्ली भयो । भित्रबाहिर जताततै जाँच्यौँ । सामान हराएको भने केही देखिएन । सायद प्रवीरले ढोकामा धक्का दिँदा कमजोर कब्जा फुस्किएको थियो कि यसै भन्न सकिएन ।
हामी भोलि बिहानै रुकुमतिर हिँड्ने कुरा थियो । तसर्थ प्रवीरलाई लिनको लागि बिहानै हिँड्ने भनेका जुवाइँसाब ५ बजेतिर मात्र हिँडेको जानकारी गराउनुभयो । अनि बेलुका ७ बजेतिर भण्डाराको गाउँमा साथीसँगै अनुगमनमा जानुपर्ने भएकोले कोठामा आउन नसक्ने बताउनुभयो । जुवाइँलाई हरेक दिन एक न एक निहुँ बनाउनै पर्छ । उहाँको कुरा पत्याएनौँ ।
२०८३ असोज २७ गते मङगलवार
भरतपुर चितवन
बिहान । हिजो खुस्किएको मूल ढोकाको कब्जा मिलाउन कार्पेन्टर आए र लामा काँटी ठोकेर गए । प्रवीरको परीक्षा आज दिउँसो सकिनेभएकोले प्रवीरलाई हेटौँडा लिन जुवाइँ बिहान ८ बजे आइपुग्नुभयो ।
सुत्केरी अवस्था । पारिवारिक तनावलाई अस्मिताले बलपूर्वक दबाउनुपरेको छ । काठमाडौँ गएर रेस्ट गर्ने कि भन्ने सम्बन्धमा अस्मितासँग मेसेन्जर वार्ता भयो । उसले यतै ठिकै छ भनी । सम्धीसँग कुरा हुँदा निशाको सासूआमा बित्नुभएकोले आशौच अवधिमा निशालगायत सबै परिवारलाई भेट्ने इच्छा व्यक्त गर्नुभयो । उहाँकै गाडी जाने भयो । तसर्थ हामीहरू पनि उहाँसँगै भोलि नै दाङमा पुगेर निशालाई भेटी भण्डारी परिवारलाई समवेदना प्रकट गरेर रुकुम जाने सल्लाह भयो ।
रुकुम जाने निश्चित भएकोले देवकुमारीले रुकुम लाने लुगालत्त मिलाउन थालिन् ।
मेरो खाता स्थित राष्ट्रिय वाणिज्य बैँकको अनलाइन बैँकिङ सेवामा समस्या आएकोले जुवाइँले आफ्ना चिनेका साथीहरूलाई भनेर अर्को युजरनेम पासवर्ड र पिन नम्बर प्राप्त भयो । अनलाइन सेवा चल्न थाल्यो ।
जुवाइँ प्रवीर बाबुलाई स्कुल पुर्याएर उतैबाट बाहिर जानुभएछ । एकछिन पछि आफू नारायणघाटतिर पुगेकोले प्रवीरलाई ल्याइदिन अनुरोध गर्नुभयो । प्रवीरको एक्जाम दिउँसो हुनेगरेकोमा आज हेटौँडा जाने भनेर ११ बजे नै सकिदिएछन् । मैले प्रवीरलाई स्कुलबाट ल्याएँ तर जुवाइँ १२ बजेसम्म पनि आउनुभएन ।
१ बजेतिर जुवाइँ आइपुगेपछि प्रवीरलाई लिएर जुवाइँ हेटौँडा प्रस्थान गर्नुभयो ।
देवकुमारी र म पैदल क्यान्सरगेट बुद्धचोक हाकिमचोक पारस बसपार्क रिजालचोक एरपोर्ट हुँदै चौबीसकोठी पुग्यौँ । बाटोमा हिँड्दै गर्दा मन दिदीलाई जानकारी गरायौँ कि सम्धी पनि दाङ आउँदै हुनुहुन्छ । तपाईँहरूलाई पनि भेट्न खोज्न सक्नुहुन्छ ।
दिदीले आत्तिँदै भन्नुभयो । किरियापुत्रीसँग भेट गर्न आएका मान्छेहरूसँग मैले भेट गर्न मिल्दैन । पोहोर साल ठुलो भाइ आफ्ना ससुरा बाजे बित्दा उनको परिवारलाई भेट्न आउदा मेरो घरमा पनि आए । अनि म लोटेर घाइते भएँ । यो त सानो घटना भयो । परिवारमा ठुलै सङ्कट आउन सक्छ तसर्थ भेट्ने वातावरण नमिलाउनु । मलाई नेपालगन्ज गएकी छन् भनिदिनू ।
दिदीको तर्कले हाँसो उठ्यो तर उहाँको दरो विश्वासमा मैले प्रश्न उठाउनु पनि भएन । संयोगवश् कुनै सानो ठुलो दुर्घटना भए यिनीहरू भेट्न आएकैले हो भन्न के बेर भन्दै देवकुमारी र मैले हाँसो गर्यौँ ।
चौबीसकोठीको औषधिपसलबाट देवकुमारीको लागि इन्सुलिन लगायत विभिन्न औषधिहरू किनमेल गर्यौँ । लगभग १० किमि पैदल हिँडेकोले देवकुमारी थकित भई थप हिड्न नसकिने भनेपछि अटो चढेर पिपलचोकस्थित कोठामा आइपुग्यौँ । खानपिनपछि म देवरातको नाटक स्कृप्ट तयार गर्न व्यस्त रहेँ ।
२०८३ असोज २८ गते बुधवार
चितवन-दाङ-रुकुम
बिहान ४ बजे नै उठेर रुकुमतिर जाने तयारी गर्न थाल्यौँ । निशालाई भेट्न सम्धी हेटौँडाबाट ५ बजे नै हिँडिसक्नुभएको थियो । हामीहरू ७ नबज्दै चौबीसकोठीमा पुग्यौँ । उहाँहरू ७ बजे आइपुगेपछि दाङतिरको यात्रा प्रारम्भ भयो । ९ बजे दाउन्नेमा खाजा खायौँ । बुटवलदेखि चन्द्रौटासम्मको सडक विस्तारको क्रममा रहेकोले यात्रामा अत्यधिक धुलोको सामना गर्नुपर्ने अवस्थाको साथै ढिला पनि उत्तिकै हुन्थ्यो । अतः हामी भुमही हुँदै भैरहवातिर लाग्यौँ । १० बजे भैरहवामा पुग्यौँ । फलफूल किनमेल गर्यौँ । तौलिहवा हुँदै गोरुसिँगे निस्कियौँ र धानखोलामा खाना खायौँ ।
सम्धीसँग बाटोमा व्यावसायिक गफगाफमा व्यस्त रहेकोले बाटो कटेको पत्तै भएन । सम्धीले मेरो पछिल्लो पेसागत गतिविधिबारे चासो व्यक्त गर्नुभयो ।
सरकारी सेवाबाट निवृत्त भएपछि पनि मैले लेखनकुञ्जमा पुस्तकहरूको सम्पादनको साथै लेखनकुञ्जलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सल्लाह सुझाव दिइरहेको बताएँ । सोवापत लेखन कुञ्जका अध्यक्ष कमल ढकालले मलाई अधिकृतसरह पारिश्रमिक दिइरहेकोले यस पेसाप्रति म पूर्ण रूपमा सन्तुष्ट रहेको बताएँ । नियमित लेखनकुञ्जमा आएर काम गर्ने र पार्टटाइम काम गर्ने कर्मचारीसहित १ दर्जन कर्मचारीहरुले काम गरिरहेको बताएँ ।
सम्धीले लेखनकुञ्जको आम्दानी र खर्चको पनि जिज्ञासा राखेपछि मैले हाल लेखनकुञ्ज रहेको स्थान मासिक रु ५ लाखमा भाडामा लिइएको र कर्मचारी पारिश्रमिक करिब ३ देखि ४ लाख रुपैयाँ (पार्टटाइम काम गर्नेको पारिश्रमिक उनीहरुको कामको आधारमा घटबढ भइरहने भएकोले ।) र मसलन्द तथा छपाई खर्च पनि थपिने बताएँ । आम्दानीतर्फ हाल हप्तामा सालाखाला एउटा पुस्तक प्रकाशन भइरहेको र पुस्तक प्रकाशनको लागि सम्पर्क लामो समय अन्तर्वार्ता अन्तर्वार्ताको ट्रान्स्क्राइब गर्ने सम्पादन गर्ने सेटिङ गर्ने र प्रकाशनसम्मका कामको लागि ठुलो जनशक्ति र लामो समय लाग्ने हुँदा प्रति पुस्तक लागत रु ३ लाख पर्ने बताएँ । हप्तामा एउटा पुस्तक प्रकाशन भएन भने लेखनकुञ्जले घाटा बेहोर्नुपर्ने अवस्था रहेको र कमल ढकालले पनि घाटामै काम गरिरहेको बताउनुभएको कुरा बताएँ ।
सोही सिलसिलामा पुस्तक सम्पादन भइसकेर छपाईको अन्तिम प्रक्रियामा पुगेको बखत लेखकहरूले पुस्तक प्रकाशन नगर्ने निर्णय गर्दा कुनै कुनै कामहरू फजुलमा पनि भइरहेको बताएँ । मैले नै सम्पादनको जिम्मेवारी लिएका डम्बर नेपालीको सम्पादन सकिसकेपछि उहाँले त्यो पुस्तक प्रकाशन नगर्ने बताउनुभएको र अहिले नीलकण्ठ उप्रेतीले पनि त्यस्तै कुरा गर्न थालेकोले त्यो प्रकृयागत घाटा कमलजीले बेहोरिरहेको बताएँ ।
यसै गरी हरिप्रसाद पाण्डेको आत्मकथा प्रकाशनको क्रममा उहाँको कान्छा भाइले नै उक्त आत्मकथामा असहमति रहेको बताएको पनि सुनाएँ ।
सम्धीले आश्चर्य व्यक्त गरेपछि मैले आफ्नै परिवारको उदाहरण दिएँ । आमा बित्नुभन्दा पहिले खातामा सवा ४ लाख राख्नुभएको थियो । ४५ औँ दिनको पुण्यतिथिमा आमाको चिर स्मरणको लागि ६ जना सन्तान बसेर उक्त रकममा १ लाख थपेर ५ लाखको योगमाया लोकसाहित्य पुरस्कार स्मृति कोष खडा गर्ने निर्णय भयो । उक्त समाचार राष्ट्रिय स्तरको पत्रपत्रिकामा पनि आयो । तर पछि उक्त निर्णयमा दाइको असहमति रह्यो । पछि बुवा बितेपछि किरिया खर्चमा आमाले बैँकमा राखेको सो रकम प्रयोग गरियो ।
यसै गरी केशवप्रसाद न्यौपानेको सुरु पाण्डुलिपि १ लाख १० हजार शब्दको भन्दा बढी रहेको र उक्त पुस्तकलाई एक तिहाइ घटाउनुपर्ने छोराहरूको जिद्दीको बारेमा पनि बताएँ । १५० पृष्ठको औसत पुस्तक करिब ३० हजार शब्दको मात्र हुने गर्दछ । यसै गरी सरिता शैलीले भियतनामबाट आएर पुस्तक प्रकाशन गर्न खोजेको र उहाँलाई २० दिन मात्र नेपाल बस्ने समय भएकोले सबै विमोचनसम्मका सबै काम २० दिनमै सक्न अनुरोध गर्नुभयो । सोहीअनुसार सम्पादन पनि गरेको बताएँ ।
सम्पादनकै क्रममा गणेशा विष्ट कार्कीको निबन्ध सङ्ग्रहको प्रसङ्ग पनि आयो । उहाँको वाक्य संरचना र शब्दको उपयुक्त प्रयोगमा समस्या हुने गर्दछ । अर्को लेखकको एक एक शब्द र एक एक वाक्य केलाउन थुप्रै समय र परिश्रमको खर्च हुन्छ । शुद्धाशुद्धिको जानकार लेखक शुद्धाशुद्धिमा जतिसुकै सतर्क भए पनि लेख्ने क्रममा धेरै ठाउँमा गल्ती भएको हुन्छ । त्यसलाई कति ठाउँमा सुधारियो भन्ने कुरा लेखकलाई थाहा नै हुँदैन । झन् शुद्धाशुद्धिको पटक्कै मतलब नगर्ने गणेशा म्यामको निबन्ध सङ्ग्रहको जिम्मा लिएपछि त्यसलाई सम्पादन गर्न पुरै २ महिना लाग्यो । त्यो काम गरेवापत गणेशा म्याडमले रु १०० पर्ने एउटा मन्जन मात्र दिनुभयो ।
सम्धीले यो कुरा सुनेर बेसरी हाँस्नुभयो । उहाँले हिजोआज सम्पादनको वा अन्य साहित्यिक क्षेत्रको के काम गर्दै हुनुहुन्छ भनेर सोध्नुभयो । मैले शशिराम कार्की सरबाट रचित देवरातको नाटकको स्कृप्ट तयार गर्ने जोखिम मोलेको बताएँ ।
उहाँले किन जोखिम भनेर सोध्नुभयो ।
मैले उहाँको बाल उपन्यासको सम्पादनदेखिको प्रसङ्गहरू सुनाउँदै भन्न थालेँ ।
पैसाको मामलामा शशिराम कार्की सर पनि अलि कडा नै हुनुभएको बेहोरेको छु । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले रुकुममा आयोजना गर्ने भनिएको वृहत सिर्जना उत्सवमा व्यक्तिगत रूपमा सहयोग जुटाइरहेको थिएँ । त्यसमा शशिराम कार्की सरले पनि सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँको नाममा प्रमाणपत्र पनि बन्यो तर पछि सो सहयोग प्राप्त भएन ।
त्योभन्दा पहिले शशिराम कार्की सरले रुकुमका गाउँखाने कथाहरू प्रकाशित गर्नुभयो । मलाई उक्त पुस्तक मन परेकोले रुकुममा लगेर बेचेर सहयोग गर्ने बताएँ । उहाँले केही पुस्तकहरू मलाई दिनुभयो । २० वटा पुस्तक जस्तो लाग्छ । प्याकिङमा आएकोले गनेर हेर्ने कुरा पनि भएन ।
रुकुम पुगेपछि केही साथीहरूलाई पुस्तक किनिदिन अनुरोध गरेँ । २ जनाले किन्नुभयो । १ जनाले पछि दिउँला भन्नुभयो । मेरा प्रकाशित पुस्तकहरू सँगै उपहारमा दिँदा सो पुस्तक पनि राखिएकोले दुई-तीन जना साथीहरूलाई उपहार दिँदा ती पुस्तक पनि परे । तर ककसलाई दिएँ त्यो पनि ख्याल भएन । मेरो क्वाटरको बाहिरपट्टिको दराजमा पुस्तकहरू राखिएको थियो । मलाई भेट्न साथीहरू आइरहन्थे र वेटिङ रुम त्यही थियो । मलाई पर्खिरहेका साथीहरूको नजर त्यस पुस्तकले तान्थ्यो । कसैले पछि फिर्ता दिउँला भनेर लगेका थिए कि त्यो पनि दिनदिनै गनिरहने कुरा पनि भएन ।
केही पुस्तकहरू कर्मचारी साथीहरूलाई कार्यालय प्रयोजनको लागि किन्न लगाइयो । सोको लागि बिल चाहिने तर कार्की सरको उक्त पुस्तकको लागि छुट्टै बिल नभएकोले रुकुमेली वाङमय अधिष्ठानको बिलबाट अधिष्ठानकै खातामा जम्मा भयो । कति साथीहरूले बिलको भुक्तानी गरे भन्ने कुराको निश्चित गर्न पुरानोवानेश्वरको नेबैँलिमा जानुपर्ने भयो । तर म रुकुममै कार्यरत भएकोले त्यहाँ जान पनि सकिएन ।
राप्ती साहित्य परिषद् रुकुम शाखाको वार्षिक साधारणसभामा उहाँ आइपुग्नुभयो र मैले ल्याएका २५ वटा पुस्तकहरूमध्ये विक्री नभएका पुस्तक फिर्ता दिन र विक्री भएका पुस्तकको पैँसा दिन भन्नुभयो । बाँकी पुस्तकहरू १७ वटा थिए । बाँकी ८ वटा पुस्तकको पैँसा दिनुहोला भन्नुभयो । रुकुमेली वाङमय अधिष्ठानको खातामा जम्मा भएको रकम र कसैले पैँसा दिन बाँकी भए सो पनि दिउँला भनेँ । मेरो गोजीमा त एकजनाले दिएको नगद रकम ३०० मात्र थियो । एउटा पुस्तकको मोल मात्र दिनुभन्दा सबै यकिन भएपछि दिने भन्दाभन्दै यकिन गर्ने समय नै भएन । उहाँले पनि सोध्नै छोड्नुभयो । ८ वटा पुस्तककै दिएको भए पनि २४०० दिनुपर्थ्यो । जबकि उहाँले वनबद्ध ५००० को सहयोग नै नदिएकोले उहाँभन्दा घाटामा म नै थिएँ ।
नाटकको स्कृप्ट तयार गर्ने जिम्मा लिँदा यो कुरा उठाऊँ कि जस्तो लागेको थियो तर कमजोरी आफ्नै देखिने डरले उठाउन सकिनँ । बरु स्कृप्ट नै तयार गरिदिने वचनबद्ध भएँ । तर स्कृप्ट तयार गरिदिन्छु त भनेँ तर उहाँले मेरो स्कृप्ट रुचाउनुहोला भन्ने पटक्कै लागेको छैन । उहाँको भावना मेरो कलमले ओकल्ने सम्भावना नै छैन । उहाँले ममाथि विश्वास गरेर पनि यो काम दिनुभएको होइन ।
मैले नै उहाँलाई सुझाव दिएको थिएँ तपाईँको देवरात उपन्यासको नाटक तयार गर्नुहोस् । किताब पढ्नेभन्दा दृश्य हेर्ने आजका मान्छेहरूले रुचाउँछन् । मेरो सुझाव उहाँलाई मनासिव नै लागेको हुनुपर्छ । नाटक देखाउन सकिएमा र त्यसमा सयौँ मान्छेहरूलाई आकर्षित गर्न सकिएमा शशिराम कार्कीले के विषयमा के लेखे भन्ने कुरा आम जनमानसमा जान्छ । त्यहाँ आएका दर्शकहरूमध्ये धेरैको देवरातप्रति आकर्षण र सोधखोज पनि बढ्छ । यो फाइदा उहाँलाई नै हुन्छ ।
यही कुरालाई बुझेर हुनुपर्छ उहाँले सोच्नुभयो होला मैले स्कृप्ट लेखिदिएर लगानी पनि गरिदिएँ भने नाटकमा दर्शकहरू आकर्षित गर्न मैले प्रचारप्रसार गर्नै पर्छ । आफूलाई विश्वास गर्नेहरूलाई नाटक देखाउन मैले मिहिनेत गर्नै पर्छ । जसले गर्दा नाटक तयारीमा लागेको उहाँको लगानी डुब्दैन र डुबिहाले पनि जति प्रतिशत लगानी हुन्छ त्यति मात्र डुब्छ पुरै त डुब्दैन । अर्थात् साप पनि मर्छ र लठ्ठी पनि भाँचिदैन ।
तर मेरो लागि भने नाटकको स्कृप्ट लेखिदिने सहयोगको अर्थ लगानीसम्म पुग्ने हो । नाटकीय क्षेत्रमा मजस्तो आलोकाँचो व्यक्तिले लगानी गर्नु भनेको जोखिम नै हो ।
तुल्सिपुर पुग्दा देवकुमारीलाई वान्ता भयो ।
साढे २ बजे तुल्सिपुरको गोलौरा स्थित निशाको घरमा पुगेर जुवाइँहरू र बहिनीहरूसँग भेटघाट गर्यौँ । समवेदना प्रकट गर्यौँ । सम्धीले हेटौँडाबाटै घिउ चामल मिश्री र फलफूल बोकेर ल्याउनुभएको रहेछ । पूर्वको चलनअनुसार त्यसो गर्नुभयो होला तर हामीले फलफूल मात्र ल्याएका थियौँ त्यही बाहिरको टोकरीमा राखिदियौँ । यस्तो समयमा भेट्न आउनेहरुको घुइँचो लागेको छ । कसले के ल्यायो पत्तै नहुने । देवकुमारीले निशालाई हात पार्ने भनेर सेतो स्याउ लोकल केरा ल्याइदिएकी थिइन् । हात पार्न नपाएर चुकचुकाइरहेकी थिइन् ।
सम्धीलाई हेटौँडा फर्कन हतार थियो । तसर्थ उहाँ एक छिनमै फर्कन खोज्नुभयो । घरमा लिनका लागि तयार गरेका कुटिराकुटिरीहरू पनि सम्धीकै गाडीमै थिए । झिकेर फेरि कता लाने । निराहरु अस्ति नै घर हिँडिसकेका छन् । मन दिदीले भेट्न नआउनु भनी सक्नुभएको छ । अतः दाङ बस्नु भन्दा रुकुम फर्कन नै उपयुक्त लागेकोले हामी पनि सम्धीसँगै तुल्सिपुरको वीरेन्द्रचोक आइपुग्यौँ र सवा ३ बजे सम्धीहरूलाई बिदाई गर्यौँ ।
हामीले रुकुम फर्कन थालेको १५२६ नम्बरको हाइस पायौँ । हाइस पुरै खालि थियो तर अघिल्लो सिटमा बस्न दिएन । हामीलाई अन्तिम सिटमा राखिदियो । अनि साढे ४ बजेसम्म यात्रु खोजिरह्यो । नजिकै झर्नेहरू र पछि चढ्नेहरूले अघिल्ला सिट पाए । हामी पहिल्यै चढ्नेहरू भने अघि बस्नबाट वञ्चित भयौँ ।
गाडीले ५ बजे गोठीखोलामा रोकेर चार्ज गर्न थाल्यो । चार्जिङ स्टेशनको नयाँ संरचना निर्माणाधीन थियो । यो समयको लागि नाफा भएको क्षेत्र इभी गाडीको चार्जिङ स्टेशन नै रहेछ । गाडी चार्जिङ गर्ने निहुँले होटेल खुल्छ । गाडीवालाले त्यही होटेलमा यात्री हुल्छ । चार्जिङ शुल्क भन्दा होटेलबाट निकै फाइदा हुन्छ । ऊ अर्बपति बन्छ र समाजको कुलीन व्यक्ति बन्छ ।
खलासीले यात्रा सुरु नै नहुँदै सबैबाट पैसा उठाइसकेको छ । सोलाबाङसम्मको ९०० भाडा लाग्नुपर्नेमा १००० झार्छ ।
केही समयपछि चार्जिङ स्टेशनको व्यापार पनि सुक्छ । अन्तिममा लगानी गर्नेहरू डुब्छन् र नयाँ लगानीको बाटो खुलिसक्छ ।
गाडी चलेपछि देवकुमारीलाई तारन्तार वान्ता हुन थाल्यो । पुरै आन्द्रा बाहिर निस्किएझैँ भयो भनेर रोइकराई गरिरहेकी छिन् । अगाडिको सिटमा बस्न देऊ भन्छिन् तर गाडीवाला सुन्दै सुन्दैन ।
६ बजे कपुरकोट पुग्छौँ । साढे ७ बजे सल्यानको श्रीनगर पुगेपछि चार्जिङ स्टेशनमा गाडी रोकिन्छ । खाना पाक्न आधा घण्टाभन्दा बढी लाग्छ । खाना खाइसकेपछि पनि गाडी हिँड्दैन । चार्ज गर्ने पालो नपाएकोले पर्खिरहेको रहेछ । पालो पाएपछि चार्ज सुरु गर्छ । पर्खाइको समयको सदुपयोग गर्दै देवकुमारीलाई औषधि किन्न म श्रीनगर बजारमा ओर्लन्छु । देवकुमारी कुर्सीहरू र बेन्च मिलाएर लमतन्न सुतेकी छिन् । औषधि खुवाएपछि देवकुमारीले अलि सन्चो भयो भन्छिन् ।
चार्जिङ पूरा भएपछि साढे ९ बजेतिर हाम्रो यात्रा सुरु हुन्छ । १२ बजे झुल्नेटा पुग्छौँ । गाडीको चालक साहु झुल्नेटामै ओर्लिन्छ । खलासीले गाडी चलाउन थाल्छ ।
झुल्नेटाको ओरालोमा पट्टा भाँचिएर गाडी बिग्रिन्छ । गाडीवालाले अनेकौँ प्रयास गर्दा पनि गाडी बन्ने सम्भावना छैन । एक एक गरेर यस गाडीका नजिकका यात्रुहरू अरू गाडीमा चढेर जान्छन् ।
हामी पनि जान खोज्दा कसैले सोलाबाङसम्मको भाडा एक हजार भन्छ कसैले सात सय कसैले आठसय । तर गोजीमा दुई सय मात्र बाँकी छ ।
झुल्नेटासम्मको भाडा काटेर तिरिसकेको भाडा फिर्ता गर् भन्दा सबै पैँसा साहुले लिइसक्यो भन्छ खलासीले । अन्त्यमा देवकुमारी र म तथा १ जना केटी यात्रु मात्र र गाडीका २ जना मान्छेहरू मात्र बाँकी रहन्छौँ । हामी मात्र ३ घण्टा झुल्नेटाको अत्यन्तै चिसो सिरेटो खाएर मुटु कँपाएर गाडी बन्ने आशामा पर्खिरहेका छौँ । बस आएपछि सोही बसमा चढेर सोलाबाङतिर लाग्छौँ । देवकुमारीले शङ्का गर्छिन् कतै ती केटीलाई दुर्व्यवहार गर्ने उद्देश्यले गाडी बिग्रिएको नाटक त गरेका होइनन् ती गाडीवालाहरूले ?
तुल्सिपुरदेखि सोलाबाङसम्मको चार घण्टाको बाटोमा रातिको १२ घण्टा लगाएर हामीहरू बिहान साढे तीन बजे सोलाबाङ पुग्छौँ । हामी आउने खबर पाएर परीक्षित सोलाबाङ आइसकेको छ । बिहानको ४ बजेतिर हाम्रो सुताइ लाग्छ ।
२०८३ असोज २९ गते विहीवार
सोलाबाङ रुकुम
बिहान ४ बजे सुते पनि निद्रा नपुग्दै ६ नबज्दै निराको फोनको घण्टीले निद्रा ब्युँझाइदियो । उठेर महिनौँ नबढारेको आँगन र करेसामा सरसफाइ गरेँ । बारीमा भएको तरकारी सङ्कलन गरेँ । आफू घरमा नहुँदा बारीको तरकारी कसैले टिपिसकेछन् ।
परीक्षितले खाना पकायो । आउनेबित्तिकै पानीको व्यवस्था गर्न सकिएन । अरूकै पानी मागेर चलाउनुपर्थ्यो । परीक्षितले १ महिना पहिलेको बासी पानीले खाना पकाएछ । परीक्षित खाना खाएर अफिसतिर लाग्यो ।
देवकुमारी १० बजेतिर उठेपछि खानपिन गरिन् ।
बहिनी निशाको शुद्धेरीको दिनमा दाइहरूले कपडा दिनुपर्ने रहेछ । कपडाको सम्बन्धमा निशा र प्रकाशसँग छलफल भयो । प्रदीपले दाङमा किनेर निशाको घरमा पुर्याइदिने र सो रकम क्युआर गरेर पठाइदिने सहमति भयो ।
दिउँसो शशिराम कार्कीको देवरातको नाटक स्कृप्ट तयार गर्नमा व्यस्त भइयो ।
बेलुका देवकुमारी र म सासूआमालाई भेट्न डम्बरको घरमा पुग्यौँ । फर्केर आएपछि खानपिन गरी विश्राम गर्यौँ ।
२०८३ असोज ३० गते शुक्रवार
सोलाबाङ रुकुम
बिहान ५ बजे नै निद्रा खुल्यो । आँगन सफा गरे पनि वर्षौँसम्म रङरोगन नगरिएको पुरानो घर उस्तै थियो । पहिले पहिले दशैँअगाडि कमेरो र रातोमाटोले घर लिपेर चिटिक्क पार्ने गरिन्थ्यो । कमेरो र रातो माटो लिपिएका घरहरूले गर्दा गाउँ नै धपक्क उज्यालो बलेजस्तो सुन्दर देखिन्थ्यो । अहिले अधिकाँशका सिमेन्टले बनेका घरहरू छन् । एक वर्ष इनामेल लगाएपछि वर्षौँ रङ लगाउनुपर्दैन । बाँकी रहेका पुराना घरहरूको भित्तामा माटो फालेर सिमेन्टले पोतेका छन् । उनीहरूले पनि इनामेल नै लगाउँछन् र वर्षौँ उज्याला भइरहन्छन् ।
तर मेरो भागमा परेको पुरानो घर भने जस्ताको तस्तै छ । कमेरो र रातोमाटोले नपोतेको पनि वर्षौँ भइसकेको छ । ४ वर्षपहिले आमाबा छँदै एकचोटि बजारबाट ल्याएर निलो धुलो कलर लगाएका थियौँ । तर त्यो वर्षाको पानीले पखालेर घर राङ्टेबाङ्टे भएर झनै कुरुप देखिँदो रहेछ ।
यसपालि दशैँमा घरमै भएकोले दर्माली टेकबहादुरले घर कलर गरिदिन्छन् कि भनेर सोधेँ । उनले फुर्सदमै भएको बताए । उनलाई बोलाएपछि आएर धुलो कलर भित्तामा पोत्न थाले ।
हिजो डम्बरको घरमा पुगेर सासूआमालाई हाम्रो घरमा ल्याइदिनू भनेका थियौँ । डम्बरले आमालाई ल्याएर खारास्वाँरासम्म आइपुगे । उनीहरूलाई छोराको माइती जान हतार भएकोले खारास्वाँरासम्म पुगेर सासूआमालाई घरमा ल्याइपुर्याएँ । उहाँ करिब ८१ वर्षको पुग्नुभएको छ । उहाँभन्दा जेठा मानबहादुर काकाले घरमा घाँस काट्ने भैँसीको मल सोहोर्ने र हेरफेर गर्ने बजार गएर छोराहरूको पसल हेरिदिने गर्नुहुन्छ । हातखुट्टा चलाइरहेकोले थला पर्नुभएको छैन ।
उहाँभन्दा कान्छी सासूआमा भने चार पाँच वर्षपहिले देखि आफ्नो पुरानो घरमा बस्न छोडिदिनुभएको छ र काम पनि गर्न छोड्नुभएको छ । काम नगर्ने आमालाई वृद्धावस्थामा सँगै राखेर पाल्न ७ भाइना छोराछोरीमध्ये कोही तयार छैनन् । कान्छी छोरी निराले भने आमालाई दाङ लगेर २ वर्षपहिलेदेखि स्याहारसुसार गरिरहेकी छिन् । निरा यसपालि दशैँमा घरमा आउनुपर्ने भएकोले आमालाई पनि ल्याएर आएकी छिन् ।
८१ वर्षीय सासूआमाको बालसुलभ व्यवहार छ । केही व्यवहार तन्नेरीको जस्तो र आधा व्यवहार वृद्धको जस्तो छ । वरिपरि भएका मान्छेले गर्न लागेको जुनसुकै काम देखेर यो काम किन गर्छौ नगरे के हुन्छ भन्दै जिज्ञासा राखिरहनुहुन्छ । कुरा गर्ने प्रकार भने तन्नेरीको जस्तै छ । आफ्नो तन्नेरी काल सम्झनुहुन्छ र मैले यसो गर्थेँ उसो गर्थेँ भन्दै धाक पनि लगाउनुहुन्छ । केही विस्मरणको कारणले केही बनावटी विस्मरणले गर्दा मान्छेहरू नचिनेको जस्तो पनि गर्नुहुन्छ ।
छोरी देवकुमारीलाई तेरा कति भाइना छोराछोरी छन् भनेर सोध्नुहुन्छ । ठुलो बाबु खै भनेर सोध्नुहुन्छ । परिशीलन बितेर खाटा बसिसकेको घाउ उप्काइदिँदा देवकुमारी छटपटाउँछिन् । चिन्तित देखिन्छिन् । सासूआमाले छोरी चिन्तित भएको देखेर एक दिन आएर एक गास पाहुना आएको देखेर किन अँध्यारो मुख लगाउँछौ भन्दै गुनासो गर्नुहुन्छ ।
अतः देवकुमारी आफ्नै आमादेखि भागी भागी हिँड्छिन् । आफूसँग कुराकानी गर्ने कोही नपाएर बाटोमा हिड्ने मान्छेहरूलाई को हौ कता जाँदै छौ भनेर सोध्नुहुन्छ । कुरा गर्न आऊ भनेर बोलाउनुहुन्छ । धेरैजसोले सुनेको नसुनेई गरेर बाटो काट्छन् । उहाँको अनुरोध स्वीकार गरेर भेट्न आउनेसँग घरायसी गुनासो पोख्नुहुन्छ ।
म नाटक स्कृप्टको पुनर्लेखनमै लाग्छु । मोटामोटी खेस्रा लेख्ने काम सम्पन्न हुन्छ । महाकाव्यलाई १७ दृश्यमा ढालेको छु । A4 साइजमा ६० पृष्ठ पुगेको छ । पुस्तक नै तयार गर्ने हो भने १०० पृष्ठभन्दा माथिको नै हुनसक्छ । २५ जना पात्र पुगेका छन् । काव्यमा भएका केही श्लोकहरूलाई नाटकमा जस्ताको तस्तै उतारेको छु भने अधिकांश संवादहरू काव्यकै आधारमा र केही भने दर्शकको रुचिअनुसार आफै थपिदिएको पनि छु । महाकाव्यमा भएका करिब २०० जना पात्रमध्ये २५ जना छानेर अनेकौँ कथा र विवरणमध्ये मुख्य मुख्य कथालाई समेट्ने झन्झटिलो काम सकेकोमा शान्तिको अनुभव हुन्छ । शशिराम सरलाई मेल पठाई काम सम्पन्न गरेको जानकारी पठाइदिन्छु । नाटकको पूर्व तयारीमा गर्नुपर्ने कामको लिस्ट पनि पठाइदिन्छु ।
शशिराम सरले मेसेन्जरमा हेरेको देखिए पनि कुनै प्रतिक्रिया दिनुभएको छैन । मैले लेखेको नाटकको स्कृप्ट वा सुझाव चित्त नबुझेर पनि हुनसक्छ वा पूरै हेर्न नभ्याएर पनि हुन सक्छ ।
सासूआमाको बुढ्यौलीको अर्को लक्षण पिसाब रोक्न सक्नुहुन्न । घरको बिच कोठामा उहाँलाई सुत्ने व्यवस्था मिलाइदिएका छौँ जहाँबाट चोरधेलामा वा भर्याङ झरेर तलको शौचालय प्रयोग गर्न सजिलो होस् भने हो । सासूले मलाई एक्लै सुत्न डर लाग्छ भनेर देवकुमारीलाई पनि सँगै सुत्न लगाउनुहुन्छ । धेरै दिनसम्म ननुहाएको शरीर र नधोएका लुगा गन्हाए भनेर देवकुमारी सँगै सुत्न सक्दिनन् । पिसाब फेरिदिएर ओढ्ने र ओछ्यान बिगारिदिनुहोला भनेर देवकुमारीलाई अर्को चिन्ता छ । तसर्थ बेलाबेला देवकुमारीले आमालाई उठाएर पिसाब फेर्न लगिरहन्छिन् । उता आमाले पनि छोरी आफूसँग नसुतेको थाहा पाउनेबित्तिकै कता गइस् छोरी छिटो आ भनेर बोलाइरहनुहुन्छ । आमाछोरीले एउटीलाई उठाउने क्रम जारी रहन्छ र रातभर आमाछोरी सुत्न सक्दैनन् । उनीहरूको रातभरको हल्लाखल्लाले परीक्षितलाई पनि बिउँझाइरहेको छ र म पनि सुत्न सकेको छैन ।
२०८३ असोज ३१ गते शनिवार
सोलाबाङ रुकुम
आज बडा दशैँको फूलपाती । उहिले बुवा छँदा दशैँ बलेख्राबाट मात्र सुरु हुन्थ्यो । विद्यार्थी वा शिक्षक छँदा घटस्थापनादेखि पाँचपूनीसम्म बिदा दिइन्थ्यो । १५ दिनसम्म दशैँ आउँथ्यो । कर्मचारी भएपछि फूलपातीदेखि द्वादशीसम्म मात्र बिदा दिइन्थ्यो र यिनै ६ दिनमा दशैँ बिदा मनाएर दशैँ सकिन्थ्यो ।
अहिले भने फूलपातीको दिनमा विभिन्न फलफूलहरू घरमा भित्र्याउने चलन आइसकेको छ । तर कुन कुन फलफूल भित्र्याउने भन्ने अन्यौल भने थियो । नेटमा सर्च गरे जति पनि भेटिने भए तापनि सोलाबाङमा बिहान ३ घण्टा बत्ती जान्छ । डाटा चल्दैन । बत्ती पर्खनुभन्दा मन दिदीलाई नै सोध्ने कुरा भयो ।
दिदीले भनेअनुसार ९ वटा फूलफल्लार बनाएर फूलपाती भित्र्याउनुपर्ने भनी मन दिदीको सुझाव । केराको पात, धानको बाला, बेलपत्रको हाँगो, आँपको हाँगो, बेसार र अदुवाको बोट, उखुको पात, फुलेको सयपत्री, अमिलोको हाँगो र रातो तुलसी मैले सङ्कलन गरेको । देवकुमारीले लाहुरे फूल र अन्य फूलहरू पनि थपिदिएकी । पूजा कोठामा लिपपोत गरी भित्र्यायौँ ।
शशिराम केसी सरले नाटकको स्कृप्टको फन्ट युनिकोड भएकोले भद्रगोल तरिकाले प्राप्त भएको बताउनुभयो ।
राप्ती साहित्य परिषद्को भर्चुअल रचना वाचनको लागि एक्कबहादुर केसी कुबेर मल्ल मनलाल ओली उपेन्द्रलाल कामीसँग फोन तथा मेसेन्जरबाट छलफल भयो । अस्ति नै रोकिएको कार्यक्रम कुबेर मल्लकै कविता सुन्ने र दशैँतिहार शुभकामना आदानप्रदान कार्यक्रम भोलि कात्तिक १ गते बेलुका सञ्चालन गर्ने निर्णय भएकोले सोहीअनुसार राप्ती साहित्य परिषदको मेसेन्जर ग्रुपमा लिङ्क सहितको जानकारीमूलक पोस्ट राखेँ ।
राजेश्वर कार्की सरले फोन गरेर नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले कलाश्री प्रकाशनको आगामी कात्तिक १९ गते काठमाडौँमा हुने विमोचन कार्यक्रममा निमन्त्रणा गर्नुभएको । उक्त पुस्तकमा मेरो निबन्ध पनि प्रकाशन भएको जनाउनुभयो । मैले उक्त कार्यक्रममा सकभर उपस्थित हुने बताएँ ।
कलर लगाउने काम अधिकांश भाग सकिएकोले २ दिनको ज्याला २४०० र खाजा खर्च २०० गरी २६०० रुपैयाँ दिएर दर्मालीलाई बिदा गरियो ।
बहिनी निशाको शुद्धेरीको दिनमा दाइहरूले दिनुपर्ने कपडाको सम्बन्धमा निशा र प्रकाशसँग फेरि छलफल भयो । प्रदीप रुकुम आएको भनेकोले अर्को विकल्पको खोजी गर्नुपर्यो । मन दिदीले नारायणको पसलबाट किनेर पठाइदेऊ भन्नुभयो । निशाले सो काम सपनालाई अह्राएको भनेर बताएपछि ढुक्क भयो ।
बेलुकातिर डम्बर र चन्द्रा आमालाई लिन हाम्रो घरमा आए । चन्द्रासँग भोलि जिबाङ जाने भनेर छलफल भयो ।
डम्बरहरू आफ्नो घरतिर लागेपछि बेलुका माइला जेठान र जेठा जेठानको घरमा गयौँ । भोलि कात्तिक महिना लाग्ने र माइत नगएको ३ महिना हुनेभएकोले असोजको दिन छँदै जानुपर्ने देवकुमारीले सम्झाइरहेकी थिइन् । ३ महिना र ९ महिनाको अन्तर पारेर आफन्तको घरमा जान नहुने परम्परा रहेछ ।
जेठानहरूको घरबाट फर्किएपछि केवलको पसलबाट पालाहरू किनमेल गर्यौँ । नयाँ र पुरानो गरी ४२०० रुपैयाँ भएको बताए । सबै हिसाब क्युआरबाट चुक्ता गरियो । सोलाबाङमा बिहान बेलुका चिसो बढिसकेकोले हाइनेक र सुरुवाल आवश्यक थियो । सोलाबाङ बजारकै अशोक शर्माको पसलबाट थर्माकोट खरिद गरेँ ।
मासु नखाँदा वृद्धावस्थामा नसासम्बन्धी विभिन्न रोगहरूले आक्रमण गर्ने भएकोले मासु खान निशा र परीक्षितले सुझाव एवम् दबाब दिइरहेका थिए । देवकुमारीको हेमोग्लोबिन रगत घट्दै गएको विभिन्न रिपोर्टले देखाइरहेका थिए । बेलुका अण्डा खाएर साढे १० वर्षको भेजेटेरियन जीवन शैलीको अन्त्य गरियो ।
सपनाले राति ४१०० को बिल पठाइदिएकी रहिछन् हेरिएन । राति १ बजे मात्र मेसेन्जर हेरेर थाहा भयो । भोलि क्युआर मागेर पठाइदिने सोच बनाएँ ।
![]()