२०८२ फागुन २४ गते आइतवार
सोलाबाङ, रुकुम पश्चिम
आज बिहान उठ्दा प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले २१६०९ मत ल्याई विजय भइसकेका रहेछन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६६६१ मत प्राप्त गरेछन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४३४६ र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४०७६ मत प्राप्त गरेछन् । आज ११ बजे विजय जुलुसको आयोजना गरिएको रहेछ ।
सासूआमाले राति बिछ्यौनामै पिसाब फेर्नुभएछ । देवकुमारीले आफ्नी आमाका सबै फोहोर लुगाहरू ४ बजे उठेर धुन थालिन् । लुगा चिसो बनाइदिएको भनी आमाले छोरीलाई कचकच गर्न थाल्नुभयो । छोरीले पनि बिछ्यौना भिजाएको भन्दै जवाफ लगाइन् । राति १२ सम्म बसेको थिएँ बिहानै ४ बजे उठ्नुपर्दा मेरो निद्रा नपुगेजस्तो भइरहेको थियो । फेरि निदाउन पनि सकिनँ ।
उज्यालो हुनेबित्तिकै तल्लोपाटोमा बोटेसिमी र अदुवा रोप्यौँ । मकै पनि छर्यौँ ।
राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाका अध्यक्ष मनलाल ओलीजीले बिहानैदेखि दिउँसो २ बजे मिटिङ राखिएकोले छिटो खलङ्गा उक्लन तारन्तार फोन गरिरहनुभएको थियो । आधा पाटो सिमी र अदुवा रोप्दा नै दिनको १२ बजिसकेको थियो । मैले हतार हतार गरी कपडा बदलेर गाडी चढ्न बजारतिर कुदेँ । खलङ्गा जान एउटा अटो तयार रहेछ । चढ्नेबित्तिकै खलङ्गातिर उक्लियो । चाँपा पुगेपछि मैले हिसाब गरेँ । यो अटो पक्का पनि सेरीगाउँ पुग्न १० मिनेट लगाउनेछ । सेरीगाउँको स्कुलमा झरेर मनलालको घरमा जान मलाई अरू ५ मिनेट लाग्नेछ । म चाँपाबाट पानेखोला झरी सेरीगाउँ उक्लिँदा १५ मिनेटभित्र अवश्य पुग्नेछु । बढी भाडा किन तिर्ने भनी म चाँपा ओर्लिएँ । चाँपाबाट पानाखोलाको पुलमा ओर्लिँदा ५०० पाइला दूरी रहेछ र ठिक ५ मिनेट लाग्यो । पानेखोलाबाट मनलालको घरमा पुग्न ६०० पाइला अर्थात् ठिक ६ मिनेट लाग्यो । अटोभन्दा छिटो पनि पुगियो र ५० रुपैयाँ पनि जोगाइयो ।
राप्ती साहित्य परिषद्को बन्दै गरेको २ तले भवन अन्तिम चरणमा पुगिसकेको रहेछ । मनलालजीले आफ्नी दिवंगत पत्नीको चिरस्मृतिको निम्ति करिब १०० वर्गमिटर जग्गा निशुल्क दान गर्नुभएको थियो । त्यही जग्गामा भवन निर्माणको निम्ति कर्णाली प्रदेश सरकारले बजेट उपलब्ध गराएको थियो । बजेट उपलब्ध गराउन राप्ती साहित्य परिषद्का महासचिव रमेश सुवेदीले उल्लेखनीय भूमिका खेल्नुभएको थियो ।
मिटिङ जन विकास पुस्तकालय खलङ्गामा राखिएको रहेछ । सेरीगाउँबाट मनलालजी र म खलङ्गा गयौँ । मिटिङमा राप्ती साहित्य परिषद्का साहित्यकारहरू मुकुन्द शर्मा ओमबहादुर खत्री नारायणप्रसाद शर्मा गिरिप्रसाद बुढा कमप्रसाद देवकोटा शशिरामघर्ती अनुषा रोकायलगायतको उपस्थिति भयो । राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाको वार्षिक साधारणसभा बैशाख ५ गते गर्ने र सोको तयारीको लागि विभिन्न उपसमिति गठन गर्ने निर्णय गरियो । बैठकमा वर्तमान चुनावले ल्याएको रास्वपाको लहर र सरकार गठन तथा कानुन निर्माणसम्बन्धी अनौपचारिक छलफल भयो । गठबन्धन तथा भागबण्डाको सरकारबाट बाहिर निस्कन कठिन भइरहेको अवस्थामा रास्वपाले दुईतिहाइ नजिक सिट जित्नु खुसीको कुरा भएको निष्कर्ष निक्लियो ।
मिटिङ सकिएपछि पुरानो अफिस कोलेनिकाका साथीहरूलाई पनि भेट्ने मन भयो र लेखापाल लक्ष्मण थापाको बाइकमा कोलेनिकामा पुगेँ । साथीहरू खानपिनमा लाग्नुभएको रहेछ । अफिसियल कुराकानीका अतिरिक्त चुनावको बारेमा पनि कुरा भयो । बालेनले काठमाडौँ महानगरपालिकामा मेयरले गर्नुपर्ने प्रशासनिक काम कुनै पनि नगरेको, मदिरापार्टीमा मात्र डुब्ने गरेको, रविले सहकारी डुबाएर अपराधीहरूलाई जेलबाट भगाएर, बाँकी जेल सजायबाट मुक्ति पाउनकै निम्ति रास्वपा गठन गरिएको र अब रविले कुनै पनि हालतमा बालेनलाई प्रधानमन्त्री बन्न नदिने भएकोले छिट्टै रास्वपा पनि टुक्रिने आँकलनहरू गरिए । मैले सुनिरहेँ कुनै प्रतिक्रिया जनाइनँ । किनभने पुरानाहरू पनि दूधले नुहाएका थिएनन् । नयाँले नयाँ काम गर्नसक्ने सम्भावना पनि भएको र त्यो हेर्नै बाँकी रहेको हुँदा प्रतिवाद गर्नुको अर्थ थिएन ।
बेलुका कोलेनिकाका साथी कविन्द्रजीले मलाई घरमा पुर्याइदिनेभए । खलङ्गाबाट तरकारीका बीउहरू खरिद गरी अबेरतिर घरमा आइपुगेँ । गाउँमा भेटिनेहरू सबैले विजय जुलुसमा पुगेर फर्किएको अड्कल गरे । मैले आफ्नै काम विशेषले गएको भन्दा पनि पत्याएनन् ।
अनलाइन पत्रिकाहरू हेर्दा निर्वाचनको हालसम्मको नतिजाअनुसार रास्वपाले १२२, काँग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रमसंस्कृतिले ३ सिटमा विजय हासिल गरेका रहेछन् । अब मत परिणाम आउन ६ सिटको मात्र बाँकी रहेछ । समानुपातिकमा भने करिब ६० लाख गणना हुँदा रास्वपाले २९ लाख मत प्राप्त गरेको रहेछ ।
![]()
Post Comment