0%
Still working...

२०८३ कात्तिकको दैनिकी

२०८३ कात्तिक १ गते आइतवार

सोलाबाङ रुकुम

आज बडादशैँको आठौँ दिन । बडा अष्टमी । हाम्रो गाउँघरको भाषामा बलेख्रा ।

बुवा छँदा बुवाले नै आजको दिनमा ५ वटा तरकारी तथा फलफूलको बलि दिनुहुन्थ्यो । त्यसमध्ये कुभिण्डो अनिवार्य हुन्थ्यो । पशु बलि दिएको मलाई थाहा छैन । बुवाबाट टाढा रहँदा र बुवा बित्नुभएपछि मैले त्यस संस्कारलाई पालना गरिरहेको छु ।

पहिले घरमै फल्थ्यो कुभिण्डो । कुभिण्डोको बरी बनाइन्थ्यो । तरकारी र तिहुनको रूपमा खाइन्थ्यो । कुभिण्डो नहुनेहरू बडाअष्टमीको दिनमा घरमा माग्न आउँथे । अहिले नयाँ नयाँ तरकारीहरूले ठाउँ लिइसकेको अवस्थामा कुभिण्डो लोप हुने अवस्थामा पुगेको छ ।

घरमा अहिले कुभिण्डो नफलेकोले बिनारामको घरमा छ कि भनेर सोधेँ । उनले यस सालमा कुभिण्डो नफलेको बताए । कमला बुहारीको घरमा पनि कुभिण्डो पाइएन । जेठा जेठान लोकबहादुर खडकालाई कुभिण्डोको विकल्पमा बलि के दिन सकिन्छ भनेर सोधेँ । उहाँले आफूहरूले उहिल्यैदेखि कुभिण्डोको बलि नदिएको र कुभिण्डोको सट्टा फर्सीको बलि दिने गरेको बताउनुभयो ।

पोहोर साल आफ्नै बारीमा दर्जनौँ फर्सी फलेका थिए । दिनदिनै फर्सीको तरकारी खान पुगेको थियो । आफ्नो मकै बारीमा यस पालि पनि फर्सी त लगाएका थियौँ तर फस्टाएनछ र एउटा फल पनि फलेको भेटिएन । केही फलेका थिए होलान् आफू घरमा नभएपछि चोरेर लिइएको पनि हुनसक्छ । फर्सी खोज्न टाढा जानुपरेन । मानबहादुर काकाले दिनुभयो ।

पोहोर साल घरमै फल्थे ५ प्रकारका बलि दिने तरकारी । तर यसपालि भने घिरौँला करेला र बोडी मात्र बारीमा भेटिए । बारीका घिरौलाहररु पनि चोरी भइसकेछन् । अग्ला रुखमा चढेर फली छिप्पिएका घिरौला मात्र भेटिए । बल्लतल्ल अलि जिनो घिरौला भेटियो । घरमा फलेको भान्टाको बलि भने दिन नमिल्दो रहेछ । यसलाई काली बियाँ मानिँदो रहेछ ।

५ प्रकारका बलि पुर्‍याउन अर्को तरकारी पनि बाहिरै खोज्नुपर्‍यो । मानबहादुर काकाकै घरमा फल्न थालेको लौँकाको छिउँ ल्याएर काम चलाइयो । आँगन गोबरमाटोले लिपपोत पारेर दुर्गा भगवतिलाई पञ्चबलि दिइयो ।

दर्मालीले भित्ताहरू त धुलो कलर लगाइदिएका थिए तर पुराना ढोकाहरू मैलो फुस्रा देखिए । बचेको र पानीमा घोलिसकेको कलरले ढोकाका खापाहरू कलर गर्न थालेँ ।

बलि दिएपछि घुम्न जाने कार्यक्रम थियो तर देवकुमारीले यसोउसो भन्दै टारिरहिन् र आफू पनि कलर लाउने काममा लागेकोले घुम्न जाने कार्यक्रम स्थगित भयो ।

ढोकाहरू कलर गरिसक्दा पनि केही कलर बचेकोले बार्दलीका सराहरूमा पनि कलर गर्न मन लाग्यो । हातले नपुगिने ठाउँमा लगभग १५० वटा सराहरूलाई कलर गर्न निकै समय र झन्झट भयो । तर सुरु गरेको काम बिचमै छोड्न पनि भएन । अँध्यारो भएर नदेखिने बेलासम्म कलर लगाउने काममा व्यस्त भए पनि केही भाग अझै बाँकी रह्यो ।

सपनाले निशालाई शुद्धेरीको लुगा किनिसकिछन् । सपनालाई पैँसा प्रकाशले हालिदिएछ । प्रकाशलाई सोध्दा ८००० हालिदिएको भन्यो । मैले आधा रकम अर्थात् ४००० प्रकाशलाई हालिदिएँ । बेलुका निशालाई लुगा प्राप्त भयो कि भएन भनेर सोधेँ । निशाले प्राप्त त भयो दाइ तर जति जना दाइभाइ छन् उतिवटा लुगा दिने चलन रहेछ भनी । प्रकाशलाई पैसा हालिदिएकोमा पछुतो लाग्यो । बरु निशाकै खातामा पठाइदिनुपर्ने रहेछ ।

परीक्षितले आफूलाई वीरबहादुर बाग्दुले अङ्कलले बोलाएकोले खाना खान उतै जान्छु भनेर गएपछि देवकुमारीले दुईजनालाई मात्र खाना बनाइन् । खाना खाइसकेपछि अस्ति स्थगित भएको भर्चुअल रचना वाचन कार्यक्रम सुरु भयो ।

मनलाल ओलीको अध्यक्षता तथा भरतकुमार शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन ओमबहादुर खत्रीले गर्नुभयो । रुँघाका कुबेर मल्लले ५ वटा रचना वाचन गर्नुभयो भने सो को समीक्षा शशिराम कार्कीले गरिदिनुभयो ।

कार्यक्रममा गणेशा कार्की रुपा आचार्य बालाराम ओली तथा गणेश सिर्पालीको उपस्थिति रह्यो । रचना वाचनको साथै दशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन भयो ।

कार्यक्रम सकिँदा सवा नौ बजिसकेको थियो । देवकुमारीले साहित्यकार साथीहरूलाई मात्र साथ दिने गरेको र आफूलाई साथ नदिएको भन्दै एकछिन ठुस्किइन् ।

२०८३ कात्तिक २ गते सोमवार

सोलाबाङ रुकुम

बिहान उठेर बार्दलीमा हिजो लगाउन बाँकी रहेको भागमा कलर लगाएँ । देवकुमारीले कपडा पेल्ने मान्छे बोलाएर ल्याऊ भन्दै थिइन् तर बजारतिर जाने जाँगर चलेनन् । बजार नगएकोमा देवकुमारीले गनगन गर्न थालिन् तर मैले परवाह गरिनँ ।

देवीलाई खलङ्गाबाट २ किलो खसीको मासु ल्याउन लगाएका थियौँ । परीक्षितले देवीको घरबाट मासु ल्याएर पकायो । आजदेखि खसीको मासु पनि चलाइयो । ११ वर्षसम्म नखाएको मासु खाँदा दिगमिग लाग्यो । देवकुमारीले त एक चोक्टा मात्र मासु चाखेर फालिदिइन् ।

लुगा पेल्नेहरू आए । देवकुमारीले पुराना बोरो र थैलोहरूमा कोचेर राखेका लुगाहरू खोज्न थालिन् र ६/७ बोरा लुगा आँगनमा ल्याएर छान्न थालिन् । छान्दा पेलिहाल्नुपर्ने जस्ता लुगाहरू एकदमै कमै देखिए । लगाउन नहुने नभए पनि लगाउनु नपर्ने लुगाहरू थैलोमा कोचेर राखिरहेर ठाउँ मात्र ओगट्न भन्दा पुरानै मानेर पठाइदिए हुन्छ भनेर मैले जिद्दी कसेपछि बल्ल ५ बोरा जति लुगा पेल्नेमा परे । २ बोरा अझै बाँकी नै छन् । अब बुढेस कालमा धेरै पैँसा खर्च गरेर बजारका लुगा ल्याएर लगाउनुभन्दा यिनी लगाए भैगो । बाहिर निस्कने कहिलेकाँही मात्र हो ।

लुगा पेल्नेहरूले ५ बोरा लुगाको तौल ५५ केजी निकाले । हामीले ४ वटा डसना र ४ वटा सिरानी बनाउन लगायौँ । प्रतिकिलो २०० रुपैयाँको दरले १० हजार रुपैयाँ पर्ने बताए । बार्गेनिङ गरेर ९००० मा कुरा मिल्यो ।

बार्दलीको रङ सकिएपछि माथिका ढोकाहरूको खाप पल्ला र भर्‍याङ तथा पहिले कलर गर्न छुटेका भित्री भागमा कलर गरेँ । दिनभरि लाग्यो ।

काठमाडौँबाट किरण आएकोले उनीसँग कुराकानी भयो । निशालाई फोन गरेर शुद्धेरी कार्य भए नभएको सोधेँ । बेलुका सकिने बताई । सिर्जनालाई फोन गर्न फोन उठेन ।

बेलुकातिर देवकुमारी र बजारतिर निस्कियौँ । डम्बरको घरमा बसिरहेकी सासूआमासँग भेट भयो । डम्बरको घरमा पनि सासूको बसाई काँडामा टेकेको जस्तो भएको थियो । अरू भाइबहिनीले त झन् आमा छन् कि छैनन् परवाह नै छैन । उनीहरूको घरतिर गएपछि अहिले हामी काममा व्यस्त छौँ । दशैँमा केटाकेटी र पाहुनाहरूले घर भरिएकोले सुत्ने ठाउँ पनि छैन भनेर आँगनबाटै फर्काइदिँदा रहेछन् । तसर्थ ७ भाइबहिनी छोराछोरीहरूमध्ये कान्छी छोरीले पटक पटक दाङ लगेर पालेकी छिन् । सोलाबाङ फर्किएपछि कता बसौँ भन्ने समस्या भइरहन्छ र अन्तिम विकल्प डम्बरको घर मात्र हुन्छ ।

बजारका अधिकांश पसलहरू बन्द भइसकेका थिए । बाँकी रहेका पसलबाट माइतीलाई कोसेलीको लागि भनेर फलफूलहरू खोज्न थालिन् । जुम्लाका स्याउहरू अहिले नेपालका धेरै जिल्लाहरू पाइन थालेका छन् । रसिला तथा मिठा हुन्छन् र प्रति केजी १२० देखि १८० सम्म  पनि पाइन्छन् । चक्लेटी स्याउ पनि २५० रुपैयाँ प्रति केजी पाइन्छन् । देवकुमारीले यी दुबै विकल्प छोडेर इन्डियाबाट आउने प्रतिकेजी ४०० मा २ केजी स्याउ किनिन् । अहिले सस्ता स्याउ घर घरमै पाइनसक्ने भएकोले किमति कोसेली लाने मनोविज्ञानले काम गरेको हुन सक्छ ।

दशैँको लागि खुद्रा नयाँ नोटको व्यवस्था पनि गरेका थिएनौँ ।  नविनको पसलमा पुग्यौँ । पसलमा छोरी मात्र रहिछन् । १ हजारका खुद्रा नोट बनाइदिन अनुरोध गर्दा छैनन् भनिन् । हामीले जति पुग्छन् त्यति बनाइदेऊ भन्यौँ । खोज्दै जाँदा सय सयका दशवटा नोट त पुगे तर जम्मै धुलिएका । अर्को विकल्प नहुँदा यिनै नोटले काम गर्छन् भन्ने चित्त बुझाउँदै फर्कियौँ ।

बजारबाट घरतिर फर्कँदै गर्दा देवकुमारीले आमाको विषयमा चिन्ता व्यक्त गरिन् । दुबैजनाले सासूकै विषयमा कुराकानी गर्दै अगाडि बढ्यौँ । आफ्नो घरमा ल्याएर राखिरहन पनि सकिएको छैन । सासूलाई आफ्नो घरमा अड्याइराख्न केही समस्या पनि छन् । एउटा समस्या उहाँलाई उठ्न बस्न गाह्रो भइरहन्छ । सुतिसकेपछि राति सोझिएको जिउलाई खुम्च्याउँदै उठ्न झनै गाह्रो हुँदो हो । राति बारम्बार पिसाब आइरहँदा ट्वाइलेट जाँदा नजाँदै जिउका लुगा र बिछ्यौना भिजाइसक्नुहुन्छ । आफै कपडा धोइरहन पनि सक्नुहुन्न । धोइदिने मान्छे पनि हुँदैनन् । जिउ नुहाउन पनि पटक्कै मान्नुहुन्न ।

उहाँ चुरोट खाइरहनुहुन्छ । दिनमा एउटादेखि दुइटा प्याकेट चुरोटसम्म सक्नुहुन्छ । चुरोट ल्याउन बजार जानुपर्ने हुन्छ । भेट्न आउने निकै दिलदार मान्छेले दुईचार खिल्ली चुरोट मात्र ल्याइदिन सक्छ । प्याकेटका प्याकेट चुरोट कसैले ल्याइदिँदैन । चुरोट नहुनेबित्तिकै तलतल भइरहन्छ ।

उहाँ चिनेजानेका मान्छेहरूलाई बोलाएर कुरा गरिरहन खोज्नुहुन्छ । वर्तमानमा कहाँ बसेकी छु कसले पालेको छ पटक्कै हेक्का रहँदैन । पुरानै कुरा गर्नुहुन्छ । परीक्षितले मान्छेमा सर्टटर्म मेमोरीर लङटम मेमोरी हुनेभएकोले वृद्धावस्थामा सर्टटर्म मेमोरी निकै कमजोर हुन्छ र लङटर्म मेमोरी बाँकी रहेको हुन्छ तसर्थ वृद्धहरूले पुराना कुराहरु मात्र सम्झन्छन् भन्ने तर्क दिन्छ । पुरानो समयका छोराछोरीहरूकै कुरा गर्नुहुन्छ । कसैले अरू छोराछोरीले किन पाल्दैनन् भनेर कुरा काट्दा छोरा छोरी पक्षपोषण गर्नुहुन्छ । अझ जसले आश्रय गरिरहेको छ उसले सम्झाइबुझाइ गर्नुपर्ने हुँदा त्यसलाई राम्रो मान्नुहुन्न । जसले छिछिदुरदुर गरिरहेको छ उसैलाई राम्रो भनिरहँदा पाल्नेको पनि चित्त दुखिरहेको हुन्छ ।

डम्बरले आमाले चन्द्रालाई पुरानो समयकी बुहारीकै रूपमा हेर्नुहुन्छ गाली गरिरहनुहुन्छ त्यसैले पनि आफूले पाल्ने समस्या छ भन्छन् । हामी आमालाई भेट्न पुग्दा पनि चन्द्राले केही बोल्नेबित्तिकै झम्टिएर हप्काउनुहुन्छ । आफ्नो लागि राम्रै कुरा गरिएको किन नहोस् । जेठानहरूको घरमा बसेको बखत पनि उहाँका नातिनातिनाहरूलाई हप्काएको कुराहरू सुनिन्थ्यो । आजभोलिका केटाकेटीलाई कसैले हप्काउने चलन छैन ।

अतः आमाले कसैले बोलाए बोल्ने नत्र नबोलेरै बस्ने । दिएको खाने । छुपुक्क बस्ने । गुनासो र गनगन केही नगर्ने भइदिए पाल्न कति सजिलो हुँदो हो भनेर आफ्नो भित्री भावना व्यक्त गरिन् ।

२०८३ कात्तिक ३ गते मङ्गलवार

सोलाबाङ रुकुम

बिहानै उठेर काइँयाखोलातिर मर्निङवाकमा निस्कियौँ । काँसपोखरीको पुलमा पुगेपछि उज्यालो भयो । देवकुमारीले टिकटक बनाइन् । फोटो भिडियोहरू खिचियो ।

माइला जेठानले फोन गरेर खाना खानको लागि निम्तो दिनुभयो । हामीले हुन्छ आउँछौँ भन्यौँ । नबोलाई जाँदा कहिले जेठानहरूसँग भेट नहुने कहिले बहिनी जुवाइँको उचित व्यवहार पनि नहुने भएकोले माइतीमा नबोलाएर नजाने गरेका थियौँ । जेठा जेठानले बोलाइरहनुहुन्थ्यो तर यसपालि भने बोलाउनुभएको छैन । एउटा कारण आमा आएर डम्बरको घरमा बसेकोले हुनसक्छ अर्को कारण घरमै आफ्नै छोरीजुवाइँ बुहारी र जुवाइँहरू आएर पाहुनाहरूले घर भरिएकोले पनि हुनसक्छ ।

कोसेलीको लागि हिजै बजारबाट केही स्याउ ल्याइसकेका थियौँ । मिस्याउनको लागि हिमालकी बुहारीबाट २ किलो हल्वावेद ल्याउने भनेपछि म तेर्छाबाटा हुँदै जाँदै थिएँ । होम सम्धीसँग भेट भयो । उहाँ ठुल्दाइले खारास्वाँराको जग्गामा पाटा बाँधेका गाईगोरुको हेरफेर गर्न जाँदै हुनुहुँदोरहेछ । म पनि सम्धीसँगै गएँ । पाटा बाँधेका गाईगोरुहरूलाई हिमालकी बुहारीले घाँस हालिदिने र पानीपिरो खुवाउने काम गरिरहेकी रहिछन् । फर्कँदा २ किलो हल्वावेद लिएर आएँ ।

घारि करेसामा कलर लाउन बाँकी थियो । कलर गरेँ ।

लुगा पेल्नेहरूले डसना र सिरानी ल्याइदिएर आइपुगे । हिजो तौलेर मात्र भुक्तानी दिने कुरा थियो तर उनीहरूले तौलिने मेसिन नल्याएको भनेर ढाँटढुट पारे । हाम्रो आवश्यकता पनि ४ वटा डसना र ४ सिरानीको थियो । फाल्नुपर्ने लुगाहरू पेलेर उपयोग गरिएको थियो । अतः तौलिरहन झन्झट पनि गरेनौँ । ६० किलो कपडाको सायद तीस पैँतीस किलोको मात्र डसना बनाइदिएका थिए होलान् । बरु हिजो ९००० दिने सम्झौता भएकोमा घटाइघुटाइ पारेर ८५०० मात्र भुक्तानी दियौँ ।

१० बजेतिर माइला जेठानको घरमा पुग्यौँ । पुलाउ तरकारीको मिठो खाना बनाउनुभएको रहेछ । परीक्षितले मासुसँग भात खायो । हामीले तरकारीसँग । हिजोदेखि मासु चलाए पनि बाहिर नखाने निधो गरेको हुँदा हामीले मासु खान थालेको कुरा बताएनौँ । हाम्रो जिब्रोले मासु माग्न पनि मागेन । हामी मासु नखाने बानी परिसकेका थियौँ ।

खाना खाएर जेठा जेठानको घरमा जाँदा जेठानको अनुहार अँध्यारिएको पायौँ । उहाँले हामीसँग कुरा गर्नुको सट्टा मोबाइलमै घोप्टिरहनुभयो । काठमाडौँबाट साधना बुहारी र दुई नातिहरू आएका रहेछन् । समीक्षाका लोग्ने र छोरा पनि आएका रहेछन् । अन्जुका छोराछोरीहरूलाई जेठानले दाङबाट अस्ति नै ल्याइसक्नुभएको रहेछ । सबैसँग हाम्रो पनि भेटघाट भयो । तन्नेरी हुन थालेका नाति नातिनाहरू आँगनमा थिए । जेठान यसैमा सन्तुष्ट हुनुहुन्थ्यो ।

घरमा आउँदा पानी थिएन । हिजोआज सिस्नेखोलातिरको पानी पाउन मुस्किल परिरहेको छ । त्यस पानीमा हाम्रो हक पनि लाग्दैन । अरूले लगाएको पानी भाँचेर ल्याउन कुरा भएन । देवीको घरबाट आउने पानी पनि सुकेको रहेछ । बाटोमा पाइप तन्किएर फुस्किरहन्छ । अतः अर्को पाइपका टुक्रा लिएर जोड्ने काम गरेँ ।

आमाबाले कइनपानीकै पानी ल्याएर खानुहुन्थ्यो । अहिले हाम्रो हकको पानीको स्रोत त्यही थियो । खानेपानीको अफिस र बजारबाट पाइपको व्यवस्था गरेर मैले नै कइनपानीको पानी घरसम्म ल्याउने व्यवस्था गरेको थिएँ । तर अहिले आफूले ल्याएको पानी हिमालको घरभन्दा यता आउँदैनथ्यो । अतः देवकुमारी र म गएर त्यसै पानी ल्याउने पहल गर्‍यौँ । पाइप हराएको भाँचिएको कतै थिएन । हिमालको घरमा छुटेको पानी हाम्रो घरतिर जोडिदिनुपर्थ्यो । बिच बिचमा पनि जोडिएका पाइपहरू फुस्किएका छन् कि भनी हेर्नुपर्थ्यो । त्यो जिम्मा पहिले बुवाको थियो । बुवा बितेपछि आफ्नै थातथलोको र आफैले व्यवस्था गरेको पाइपको पानी आफैले पिउन नपाइने अवस्था सिर्जना भएको थियो ।

कइनपानीबाट पाइप जोड्दै ल्याएपछि घरमै पानी आइपुग्यो । यति बेलासम्म देवीको घरको पानी पनि आइसकेको थियो । घरमा दुबैतिरको पानी आइपुग्दा देवकुमारी निकै खुसी भइन् । तर एक छिनमै कइनपानीको पानी भाँचियो । देवीको घरको पानी आइरहेकोले उति चिन्ता भएन ।

मैले घारि करेसा र टिनको ट्वाइलेटभित्र कलर लगाएर सिध्याएँ ।

बेलुका कोसेली लिएर जेठा जेठानको घरमा पुग्यौँ । जेठा र माइला जेठान पैँसेरी नाच्न बोरागाउँ जानुभएको रहेछ । फर्कन थाल्दा भेट भयो ।

फर्कँदा धिरन सिर्पालीको डेरीबाट दही ल्याउन पस्दा नयाँ नोटको व्यवस्था पनि भयो र चेक र एटीएम नभएर खातामा रहेका पैँसा झिक्न कठिनाइ भएको बखत धिरनकै खातामा अनलाइन पैसा हालिदिएपछि १०००० रुपैयाँ नगद निकाल्ने काममा पनि सहयोग भयो ।

हामी खुसी हुँदै घरतिर फर्कियौँ ।

२०८३ कात्तिक ४ गते बुधवार

सोलाबाङ रुकुम

आज बडा दशैँ । देवकुमारी ४ बजे नै उठिसकेकी छन् । उनी कपडा धोएर नुहाइधुवाइ गर्ने काममै लागिन् ।

धन दिदी आएपछि पानी लगाइदिन कइनपानी पठाएँ । पानी छिटो चाहिएको थियो तर ५ मिनेट लाग्ने बाटोमा दिदीले १ घण्टाभन्दा बढी उतै ढिला गर्नुभयो ।

देवकुमारीले दिदीलाई काम अह्राएको र घरमा उपस्थिति समेत निको मान्दिनन् । दशैँको समयमा छोरीबैनी घरमा आउने परम्परागत चलन नै हो । बुवाआमाको निधनपछि सबैभन्दा जेठी दिदी नै बाँकी हुनुहुन्छ । दशैँमा ठुलाबाट आशीष थाप्ने मान्यता रहेकोले दिदीसँग टिका थाप्न चाहनु मेरो चाहना पनि स्वाभाविक नै हो । यस्तो समयमा दशैँभर भए पनि दिदी घरमै भइदिए हुन्थ्यो भन्ने लागेको हो । तसर्थ दिदीलाई फकाइफुलाइ घरमा आउने वातावरण मिलाउन सक्दो कोसिस गरेको छु । तर देवकुमारीले भने आफूलाई जजसले नराम्रो मान्छन् उसैलाई तिमी राम्रो मान्छौ भनेर गनगन गरिरहन्छिन् ।

देवकुमारीको भनाइ पनि पूर्ण रूपमा असत्य होइन । दिदी आफ्नै छोराबुहारीसँग नअटाएर मन दिदीको घरमा आश्रय लिएर नाति नातिनीहरूको परवाह नगरेर एक्लो जीवन बिताइरहनुभएको छ । पहिले मेरै घरमा बस्नुहुन्थ्यो । घरको भुइँ ढलान गर्नुपर्ने भएकोले केही समय मन दिदीको घरमा बस्नुहोस् दिदी भनेर मैले नै फकाएर पठाएको हुँ । दिदीको बसाइ पनि पशुको भन्दा पनि गए गुज्रेको हुन्छ । ५० भन्दा बढी थैलामा के के हो सामान कोचेर त्यसै माथि सुत्नुहुन्छ । ओछ्यान पनि चाहिँदैन । बाटोमा हिँड्दा पनि च्यातिएका लुगाहरू लगाएर हिड्नुहुन्छ । खान लाउन नपुगेर पनि होइन । मेरो घरबाट पोकापन्तरा मन दिदीको घरमा सारेपछि माइलाभाइ र बुहारीले मलाई घरबाट लखेटे भन्दै गाउँमा कुरा सिक्दै हिड्नुभएको थियो । हामीलाई होच्याउन र दिदीलाई उचाल्नको लागि गाउँलेहरूलाई गज्जबको मसला बनाइदिनुभएको थियो ।

छोरा प्रदीप नापीमा काम गर्छ । दाङतिर जग्गा पनि जोड्दै छ । एकल महिला भत्ता र भाइबहिनीले दिएको दान दक्षिणा गरेर महिनामा पाँच दशहजारसम्म पैँसा हुन्छ । केही पैँसा बैँकमा पनि राख्नुभएको छ । हामी भाइपट्टि छुटाभिन्न हुँदा २ रोपनीजति खेत उहाँकै नाममा राखिदिनुभएको छ । त्यसबाट उब्जाउ भएको अन्न दिदी र दिदीको परिवारले बाँडचुँड गरेर खान्छन् । गाउँलेको घरमा गएर अलिअलि काम गरेर आउने अन्न र पारिश्रमिक थैलोमा कोचर राख्नुहुन्छ । आफू भने कसैले दिए खाने नत्र बिस्कुट पानी खाएर सुत्छु भन्नुहुन्छ ।

पछिल्लो समयमा उहाँलाई गाउँलेले चोरको आरोप पनि लगाउँछन् । कतैबाट पैसा झिकेको कतैबाट अन्न लुकाएको आरोप आउँछ । यसो नगर्नुहोस् दिदी भनेर जति सम्झाउँदा पनि मैले चोरी गरेकै होइन भनेर जिद्दी गर्नुहुन्छ ।

हामी काठमाडौँ जानुभन्दा पहिले दिदीलाई दुई पाथीजति चामल दिएका थियौँ । खाना खान पनि बोलाउने गर्थ्यौँ । एक दिन देवकुमारी खाना खान बोलाउन उहाँ बसेको कोठामै पुग्नुभएछ । त्यस दिनपछि दिदीले माइली बुहारीले मेरो घरको सामान चोरी पुलिस लगाइदेऊ भनेर होमसम्धीको घरमा जानुभएछ । दिदीले भन्नुभएको थियो थिएन वा होम सम्धीले नै थपथाप पारेर देवकुमारीलाई सुनाइदिएका थिए कि देवकुमारी त्यसै बेलादेखि आगो बनेकी थिइन् ।

काठमाडौँबाट फर्किएपछि बारीमा लगाएका करेला बोडी लौँका फर्सी र घिरौला एउटा पनि थिएनन् । फलका बिँडहरू मात्र थिए । कसैले दिदीले नै टिपेर लिएको भनेर देवकुमारीलाई सङ्केत गरिदिए । दिदीले पनि कुहेको तरका करेसाबारीमा फ्याँकेर बाटोभरि दुर्गन्धित भएको बाटो हिड्नेहरूले भन्न थाले ।

देवकुमारीले हाम्रो बारीमा लगाएको तरकारी सबै टिप्ने र तपाईँको करेसामा कुहिएको तरकारी फालिने कसरी भयो भनेर सोधिन् । दिदीले खारास्वाँराको आफ्नै तरकारी बारीको हो भनेर जिद्दी गर्नुभयो ।

घरेलु चोरहरूको एउटा समस्या के हुनसक्छ भने अर्काको घरमा केही सामान देखिए आफ्नै जस्तो लाग्छ । त्यस्तै सामान आफ्नो हराएको अवस्थामा चोरेर यहाँ पो ल्याइदिएछन् भनेर त्यो सामान सुटुक्क उठाइहाल्छन् । पछि आफ्नो घरमा हराएको सामान भेटियो भने पनि चोरको आरोप लाग्ला भनेर आफैले चोरेको सामान फिर्ता दिँदैनन् ।

एक पटक म एक्लै हुँदा दिदीलाई २ पाथी मकै पिसिल्याइदिन घट्ट पठाएँ । उहाँले पिसेर त ल्याउनुभयो तर १ पाथी मात्र । यो त कमै भयो त दिदी भन्दा उहाँले आजभोलि घट्टाल्नाले भारो पनि धेरै माग्छन् घट्टाल्नालाई दिएर उब्रिएको पिठो यति मात्र हो भन्नुभयो । मैले केही निधीखुदी गरिनँ ।

 हाल म बसेको घरमा पहिले आमा बुवा बस्नुहुन्थ्यो । आमाबुवा छँदा दिदी नै सर्वेसर्वा हुनुहुन्थ्यो । घरको तरकारी टिप्न अन्न लैजान कुनै रोकटोक हुँदैनथ्यो । देवकुमारीको शङ्काअनुसार त्यस बेला केही अन्न दिदीले ओसार्ने र केही माथितिर ओसार्ने गरिन्थ्यो । आफ्नो छोरीबुहारी हुन् भनेर आमाबुवा केही चाल गर्नुहुन्नथ्यो ।

अहिले पनि दिदीले मेरो भागमा परेको बारी आमाबुवाकै भन्ने ठानिरहेको हुनसक्छ । भाइ वा आमाबाको बारीबाट बाहिरकाले चोर्नभन्दा आफैले उपयोग गरेको राम्रो हो भन्ने पनि लाग्दो हो । उहाँले आफ्नै माइती ठानेर तरकारी टिप्नुभयो तर देवकुमारीलाई यो कुरा सह्य भएन ।

हाम्रो घरको परिवार पहिले उन्नाइसबिस जनाको थियो । त्यस बेला आल्मुनियमको चलन आइसकेको थिएन । काँसका बट्का र थालहरू थिए । तामाकै गाग्री र जगहरू थिए । त्यो सामान बुवाआमाकै जीवनमा कता सारियो केही पत्तो छैन । दिदीले केही काँसका बट्का र थालहरू दिदीकहाँ पनि देखिछन् । त्यस्तै थाल बटुका अन्यत्र जाँदा पनि चिनिछन् । आफ्नो घरमा एउटा पनि काँसका थालबट्का नहुनु र अरूको घरमा देखिने अवस्था हुँदा पनि डाहको अवस्था सिर्जना भएको हुनसक्छ । बिहे गरेदेखि १९ वर्षसम्म उनी घरमै बसेकोले आफूले प्रयोग गरेका भाँडाकुँडी स्पष्ट चिन्नसक्छु भन्छिन् ।

तर देवकुमारी बुहारी भएकोले उनको पराई दृष्टि र म भाइ परेकोले आफ्नो दृष्टिमा फरक पर्दो रहेछ । आमाबाले कमाएको सम्पति आफ्नै छोराछोरीभित्रै गयो भने के बिग्रियो र भन्ने सोच राख्ने खालको छु म ।

तसर्थ आमाबा विहीन दशैँमा दाजुहरू काठमाडौँमा जानु र हामी एक्लै यहाँ रहँदा आमाबाको ताजा झझल्को मैले मात्र बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । टिका लगाउन्जेल धन दिदीले निडरताका साथ घरमा आउने वातावरण मिलाउन र देवकुमारीलाई थामथुम पर्न निकै पापड बेल्नुपर्नेभएको छ ।

रातामाटा नविन खडकासँग फोन वार्ता भयो । उहाँले भोलिको लागि घरमै आउन निमन्त्रणा दिनुभयो ।

ठिक १०:२६ मा टिकाको साइत गरियो । दिदी पनि च्यातिएको मैले म्याक्सी कपडा फेरेर धोती र चोलीमा आउनुभयो । आमाबुवाको सन्तानमध्ये सबैभन्दा जेष्ठ सदस्य दिदीको हातबाट टीका थाप्न पाउने भाग्यमानी म मात्र भएको खुसी लाग्यो । मैले देवकुमारीलाई र परीक्षितलाई टिका लगाइदिएँ । देवकुमारीले परीक्षितलाई टिका लगाइदिइन् ।

घरमा टीका लगाइसकेपछि सासूआमासँग टिका लगाइमाग्न डम्बरको घरमा पुग्यौँ । डम्बर अधिशलाई ल्याउन सल्यानतिर लागिसकेका रहेछन् ।

सासूआमा भने जेठा छोरालाई टीका नलगाइदिई कसैलाई टीका लगाउँदिनँ भनेर अड्डी कसेर बस्नुभएको रहेछ । जेठा छोराको घरमा पुर्‍याउन पठाउँदा पनि बिच बाटोबाटै दुईतीन पटक फर्किसक्नुभएछ ।

हामीले सासूलाई मनायौँ । आमाको महत्त्व हुन्थ्यो भने जेठा छोराले टीकाको दिनभन्दा पहिल्यै आमालाई घरमा लिएर राख्नुपर्थ्यो । त्यो नसके पनि आमा कता छिन् भनेर सोधपुछ गर्नुपर्थ्यो वा आफै यहीँ आएर टीका थाप्नुपर्थ्यो । तपाईँको जिद्दीले अब हामीले पनि टीका लगाउन नपाउनेभयौँ भने र गुनासो गर्‍यौँ । देवकुमारीले पनि म पनि जेठी छोरी नै हुँ । मलाई जेठी छोरी मान्नुहुन्छ भने टीका लगाइदिनुहोस् नत्र हामी पनि फर्केर जान्छौँ भनेपछि छोरीलाई टीका लगाउन राजी हुनुभयो । मैले म पनि त जेठो जुवाइँ हुँ भनेपछि र परीक्षितले पनि म अहिले एक्लो छोरो भएकोले हामीलाई पनि टीका लगाइदिनुहोस् भनेपछि हामीलाई टीका लगाइदिन राजी हुनुभयो ।

त्यसपछि जेठा जेठानको घरमा टीका लगाउन गयौँ । जेठान टीका लगाइदिन आफ्ना सालाहरूको घरतिर जानुभएछ । त्यसपछि माइला जेठानको घरमा पुग्यौँ । माइला जेठानले पहिले ठुल्दाइकै हातबाट टीका लाइदिएपछि हामीलाई टीका लगाइदिने बताइदिनुभयो ।

जेठा जेठान पनि आफ्नो माइतीतिरबाट आइपुग्नुभयो । हामी जेठा जेठानकै घरमा पुगेर टीका ग्रहण गर्‍यौँ ।  माइला जेठान पनि टीका थाप्न ठुल्दाइको घरमा आउनुभयो । देवकुमारीले टीका थाप्दै गर्दा तपाईँहरू आमालाई पनि परवाह गर्नुहुन्न । उता जेठालाई टीका नलगाई खाना पनि खान्न र टीका पनि लगाउँदैन भनेर आमा अड्डी कसेर बस्नुभएको छ । तपाईँहरू भने आमासँग टीका थाप्न पनि जानुहुन्न भनेर गुनासो पोखिहालिन् । माइला जेठानले झनक्कै रिस उठाएर तिमीहरूले टीका लगाउनु हुन्छ कि हुन्न हामीलाई सिकाउने कुरा होइन । टीकाको महत्त्व ठान्नेले लगाउँछ महत्त्व नठान्नेले लगाउँदैन कसैले सुझाव दिनुपर्दैन भनेर जवाफ दिनुभयो ।

देवकुमारीले फेरि आमा दाङबाट आउनु नै हुनेथिएन । तपाईँहरूकै निम्ति आउनुभएको छ । किन बुझ्नुहुन्न भनेर अर्को प्रश्न उठाइन् । माइला जेठानले ज्यान फालेर टिका थाप्न कतै नजाने बताउनुभयो । देवकुमारीले यहाँबाट २ मिनेट पैदल दूरीमा रहेको साइँला भाइको घरमा पुगेर कसैको ज्यान जाँदैन भनेर फेरि जवाफ दिइहालिन् । जेठा जेठान भने मुसुमुसु हाँसेर बसिरहनुभयो । केही बोल्नुभएन ।

सुशीलका छोराहरू मामाघर गइसकेका थिए । हामीले समीक्षा समीक्षाका लोग्ने र बाँकी नातिनातिनालाई टीका लगाइदियौँ तर जेठी दिदीले भने हामीलाई टीका लगाइदिनुभएन ।

त्यहाँबाट माइला जेठानको घरमा टीका थाप्न गयौँ । माइला जेठानले मात्र टीका लगाइदिनुभयो माइली दिदीले लगाइदिनुभएन । सन्जीवहरू पनि माइतबाट आइसकेका थिए तर उनीहरू टीका लगाउने ठाउँमा आएनन् ।

त्यहाँबाट डम्बरको घरमा आएर डम्बर चन्द्रा र अधिशबाट टिका ग्रहण गर्‍यौँ । हामी निस्कँदै गर्दा माइला जेठानका सपरिवार नयाँ पोशाकमा सजिएर डम्बरको घरमा आइपुगे । अहिलेसम्म झोक्राएर बसेकी सासूआमा पनि तरोताजा देखिनुभयो । हाँस्दै बाहिर निस्कनुभयो । फोटो भिडियो बनाउन सबै छतमा उक्लिए । सीधा दुईपाइला चाल्न पनि कठिन मान्ने सासूआमा खुसीसाथ भर्‍याङ उक्लिनुभयो । दाइको परिवार आइपुगेकाले देवकुमारी उतै अल्झिइन् । म मामाघर जानुपर्ने भएकोले घरमा फर्किएँ ।। एकछिनमा देवकुमारी घरमा आइपुगिन् ।

स्याउ बेलाइँती र हल्वावेद कोसेली बोकेर म कान्छा मामाको घरमा पुगेँ । मामा पेटको बिरामीले झनै थलिनुभएको रहेछ । उपचारको लागि २ पल्ट नेपालगन्ज जानुभयो । डाक्टरले पेटको अपरेशन गर्नुपर्छ अपरेशन गरे पनि लामो समयसम्म फाइदा छैन । अब सन्चो हुँदैन भनिदिएछन् । अतः पेनकिलरको औषधि खाएर बसिरहनुभएको रहेछ । औषधिको प्रभाव कम हुनेबित्तिकै असह्य दुख्दो रहेछ । औषधि किन्न बजार जाने तयारी गर्नुभएको रहेछ । म र टीका थाप्न घरमा आइपुगेकोले मामा रोकिनुपर्‍यो । माइजु खेतमा पुगेर धान काट्दै हुनुहुन्थ्यो । किरण र कृष्णहरू पनि आइपुगेपछि माइजू पनि घरमा आइपुग्नुभयो । रक्सीले मातेर वसन्त भाइ पनि आइपुगे । उनले तिमी साउहरू म गरिब तिमीहरूसँग मेरो कुरा मिल्दैन । तिमीहरू मलाई टेर्दैनौ म तिमीहरूलाई टेर्दिनँ भनेर गुनासो गर्न थाले । रुकुममा आउँदा भाइ भनेर बोलाइरहन्छु । ऊ मलाई देखेर बाटो काटेर अर्कैतिर लाग्दा पनि म वसन्त भाइ कता हो भनी बोलाइहाल्छु । ऊ मेरो घरमा आउँदैन म उसको घरमा गइरहन भ्याउँदिनँ । मावली भाइलाई भाइको सम्मान दिएकै छु अरू टेर्ने नटेर्ने कुरा केही छैन ।

मामा र माइजूले टीका लगाइदिएपछि वसन्तले कृष्णसँग रक्सी खाने सल्लाह गरे । किरणले मानिनन् । भाइबहिनीको सवालजवाफ भयो ।

त्यहाँबाट ठुली माइजुको घरमा पुगेँ । किरणहरू पनि त्यहीँ आइपुगे  । भाइ दीपक र दीपकका छोरा पनि घरमा आएका रहेछन् । पोहोर साल तिहारको समयमा दीपकको देहान्त भएको थियो । त्यस बेलादेखि ठुलीमाइजू पुत्र पीडामा हुनुहुन्छ । ठुलामामा बितेको पनि एक दशकजति पुगिसक्यो ।

धौलाबाङबाट पूर्व माओवादी नेता हेमन्तप्रकाश ओलीकी जेठी पत्नी र छोरी विपना पनि ठुली माइजूको घरमा आइपुगे । हेमन्त पत्नी माइजूको साख्खै दिदीकी छोरी रहिछन् । हेमन्तकी जेठी छोरीलाई द्वन्द्वकालमा स्कुलबाटै लिएर सुरक्षाकर्मीले हत्या गरिदिएका थिए । जेठी पत्नीबाट सहिद छोरी विपना र एकजना छोरा रहेछन् । हेमन्त दाइले पछि कान्छी पत्नी बिहे गर्नुभयो । उहाँबाट एकजना छोरी जन्मिएको विपनाले बताइन् ।

सबैसँग मिठो भेटघाटपछि म फर्केर घरमा आएँ । देवकुमारी चप्पल फेर्न भनेर दाजुहरूको घरमा जाने बताइन् । परीक्षितले आमालाई साथ दिने भयो । दिउँसो गइसकेकोले मेरा जाने जाँगर चलेनन् । मैले बासी भात भुटेर खाएँ । देवकुमारीहरू राति ९ बजे घरमा आइपुगे ।

२०८३ कात्तिक ५ गते विहीवार

सोलाबाङ रुकुम

आज बिहान ८ बजे नै रातामाटा नविन खडकाको घरमा निम्तो थियो । बिहान ४ बजे नै उठेर देवकुमारीले नविनको घरमा जाने तयारी गर्न थालिन् ।

केही फलफूल घरबाट तयार भयो । म कुनै गाडी वा अटोरिक्सा मिलेमा त्यसैमा जाने र परीक्षित र देवकुमारी परीक्षितको बाइकमा जाने भए । बजारमा धेरै बेर बस्दा पनि कुनै गाडी नपाइएकोले परीक्षित र देवकुमारी बाइकमा आइपुगेपछि तीनै जना परीक्षितकै बाइकमा चाँपासम्म गयौँ । चाँपाबाट पुरानो बाटो हिँड्दै म सेरीगाउँ पुगेँ । परीक्षित देवकुमारीलाई बागबजार छोडेर मलाई लिन सेरिगाउँ आइपुग्यो । तीनैजना खलङ्गा भेटिएपछि नविनको घरमा लिने कोसेलीको लागि खलङ्गा बजारमा  मिठाई र फलफूल किन्यौँ ।

बागबजारबाट म अटोमा माछिमीसम्म पुग्ने र परीक्षित र देवकुमारी बाइकमा जाने कुरा थियो तर माछिमीतिर जाने गाडी पनि नपाइएकोले देवकुमारीलाई सेरिगाउँमा छोडेर परीक्षित मलाई लिन बागबजारमै आइपुग्यो । सेरिगाउँबाट तीनैजना परीक्षितको बाइकमा मध्यपहाडीलोकमार्ग हुँदै माछिमीतिर झर्न थालेका थियौँ । कोल्टोमा ट्राफिक प्रहरी लुकेर बसेको परीक्षितले वरैबाट देख्यो । देवकुमारीलाई त्यहाँ झारेर परीक्षित र म फर्कियौँ । फर्कनुको कारण ३ जना एउटै बाइकमा चढेको ट्राफिकले देखेर बाइकको नम्बर नोट गरेका हुन सक्छन् भन्ने लागेछ । ८ बजेको निम्तो थियो तर सेरिगाउँमै ९ बजिसकेको थियो । हामीलाई त्यहाँ पुग्न हतार पनि थियो । परीक्षितलाई कोलटाकुराबाट मध्यपहाडीमा उक्लने बाटो पनि छ भनेर जानकारी दिएपछि ऊ त्यतैतिर लागेछ ।

मैले देवकुमारीलाई खोज्दै अगाडि बढेँ । उनी कोलटाकुराको नजिक पुगिसकिछन् । देवकुमारीलाई भेटाउनेबित्तिकै तलतिरबाट परीक्षित पनि आइपुग्यो । संयोगवश् अटो पनि आइपुग्यो । म अटोमा चढेँ र देवकुमारी र परीक्षित बाइकमा माछिमीतिर झर्‍यौँ । माछिमीको अलि माथि अटोबाट ओर्लिएँ । मध्यपहाडी लोकमार्ग छोडेर राउखेत हुँदै स्यार्पू र पूर्वी रुकुमतिर जाने जिटिजेडको बाटोमा अगाडि बढेँ । परीक्षितहरू अलि अगाडि राउखेत पुगिसकेछन् । तर नविन खडकाले जिटिजेडको बाटोबाट उकालो लाग्ने पहिलो मोडमा पर्खनुहोला छोरालाई पठाइदिन्छु  भन्नुभएको थियो । पहिलो मोड माथितिर लागेको देखेपछि म त्यतै रोकिएँ र नविनहरूलाई फोन लगाएँ । उहाँहरूले बाबु आइसकेको बताउनुभयो । परीक्षितहरूलाई राउखेतबाट फर्काएँ । नविनको छोरासँग भेट नभएकोले एकछिन पर्खाइमै अलमल भइरह्यो ।

यतिबेला कोहलपुर सानी फुपूको छोरा भरत केसी भाइको फोन आयो । उनी कोहलपुरबाट हाम्रो घरमा आइपुगेका रहेछन् । तर हामीले घरमा ताला लगाएर यता आएका थियौँ । उनलाई बेलुका फर्किने जानकारी गराएँ । नविन सरको छोरासँग पनि केही अलमलपछि भेट भयो । उहाँको घरमा जाने अलि माथिको अर्को मोड रहेछ ।

छोरासँग केही पैदल हिँडेर घरमा पुग्यौँ । घरमा हाम्रो भव्य स्वागत भयो । नविनका ४ दाजुभाइहरू दिदीहरू र अन्य आफन्त जम्मा हुनुभयो । छलफल भयो । भेटको उद्देश्य सकारात्मक भयो ।

नविनकै घरमा खानपिन गरी सेलरोटी र चामको कोसेली लिई सोलाबाङ फिर्ता भयौँ । घरमा सासूलाई लिएर भतिज अनिश आइपुगे । एकछिन पछि निरा पनि आइपुगिन् ।

कसासूको चुरोटको सकिएको रहेछ तलतल भइरह्यो । साइँलाको घरमा जान्छु कि जान्छु भनिरहनुभयो । पछि परीक्षितले चुरोट ल्याइदिएपछि अलि थामिनुभयो ।

निरा अनिश र सासू हाम्रो घरमै बस्नुभयो । खाना खाएपछि निरा र आमा तल्लो तलाको कोठामा सुते । हामी माथिल्लो तलाको कोठामा सुत्यौँ । आमाले निरासँग रातभर गनगन गरिरहेको माथिबाट सुनिइरहेको थियो । सासूलाई पिसाब फेराउन थामथुम पार्नको लागि निरा रातभर सुत्न सकिनन् ।

२०८३ कात्तिक ६ गते शुक्रवार

सोलाबाङ रुकुम

देवकुमारीले २ बजे नै ब्युँझाइन् । रातिदेखि नै तल्लो कोठामा आमा र निराको गन्थनको आवाज माथि नै आइरहेको थियो ।

बिहान उठेपछि निरा देवीको घरतिर लागिन् । अनिश बाबु यतै बस्यो । सासूआमाले घरी साइँलाको घरतिर जान्छु भन्नुहुन्थ्यो घरी बस्छु भनिरहनुभयो ।

खाना खाएपछि परीक्षित अफिसतिर लाग्यो । आज बिदा भए पनि बिरामीहरूले फोन गरेर परीक्षितलाई बोलाएका रहेछन् ।

दिउँसो निरा र देवीका तीन मामलौला आए । सासूले नीरा र अनिशलाई टीका लगाइदिनुभयो । मैले र देवकुमारीले देवी र नीरा तथा उनीहरूका छोराहरूलाई टीका लगाइदियौँ । देवकुमारीले सालीलाई दक्षिणा दिनुपर्दैन । नदिनुहोला भनेर पहिल्यै सम्झाएकोले नीरा र देवीले मबाट दक्षिणा पाएनन् । दशैँका केटाकेटीलाई पैसाको आशा हुन्छ र दक्षिणा पाए खुसी पनि हुन्छन् भनेर भतिजाहरू भए पनि अनीश आयुष र सुदीपलाई दक्षिणा दिएँ । दशैँमा कोसेलीपात पनि बोक्ने चलन हुने हुँदा कसैलाई दक्षिणा नदिएमा कोसेलीको पैँचो तिरिँदैन भन्ने मेरो मान्यता पनि हो ।

भाइ भरत केसीलाई फोन गर्दा पनि उठेन र आउन पनि आएनन् । हिजो बेलुका बिहान खाना खाने गरी आउँछु भनेका थिए । फोन न नउठाए त कसको के लाग्यो र ।

सासूआमा यतै आउनुभएको छ टीका थाप्ने भए आउनू भनेर बिनारामलाई खबर गरेँ । बिनाराम आए । आमाबाट टीका थापे । दिदीबहिनीसँग नाचे । सासूले ठाडीभाका गीत गाउनुभयो ।

मकै पिस्नुपर्नेभएकोले म घट्ट हेर्न गएँ । नजिकका घट्टहरूमा कुलाहरू भाँचिएका थिए । टाढा हेर्न गइनँ । घट्टबाट फर्कँदा निरा र आमाहरु गइसकेछन् ।

बेलुका मोहन र ठुलीमाइजूकहाँ कोसेली लिएर देवकुमारी परीक्षित र म तीनैजना गयौँ । हामी मामाघर आएको देखी ठुलीमाइजू निकै खुसी हुनुभयो । ठुलीमाइजूकहाँ रोटी तरकारी खायौँ । गत वर्ष दशैँ लगत्तै ठुलामामाको छोरा दीपकको निधन भएकोले ठुलीमाइजूलगायत निकट परिवार बरखीमै थिए । टीका लगाउन मिलेन ।

फर्कँदा ठुलीमाइजूले चिउरा कोसेली बेरेर पठाइदिनुभयो । उतैबाट देवकुमारी र परीक्षित देवीको घरमा गएर ड्रागन फ्रुटहरू ल्याउन गए र एकैछिनमा घरमा आइपुगे । बलुकअस्मिताहरूसँग भिडियो कल गरेर आफन्तजनको सन्चोबिसन्चो सोधपुछ भयो ।

भोलि जिबाङतिर जाने कुराको छलफल गर्‍यौँ । जिबाङमा घ्यु मह सिमी र भाङो पनि पाइने भएकोले ल्याउन जाऊँ भनेर देवकुमारीलाई कर गरेँ । उनी पनि जान इच्छुक भइन् । परीक्षितले दशैँ अघिदेखि नै कतै नजिकको ठाउँमा घुम्न जाऊँ भन्दै थियो । अवसर मिलेको थिएन । परीक्षित पनि कहिल्यै नगएको ठाउँ आमाको मावलीघर भएको गाउँ जिबाङतिर जान उत्सुकता देखायो ।

२०८३ कात्तिक ७ गते शनिवार

डल्सिँगे रोल्पा

जिलाधुरी जानको लागि बिहान ४ बजे नै उठेर तयारी थाल्यौँ । हिजो ठुलीमाइजूले कोसेली पठाएका चिउरा घिउमा भुटेर नुन चिनी हालेँ । देवकुमारीले फलफूलहरू तयार गरिन् ।

तयारी पूरा भएपछि ६ बजे नै सोलाबाङबाट पैदल यात्रा सुरु भयो । सडकमा दशैँका यात्रुहरूले भरिएका गाडीहरू त चलिरहेका थिए तर नजिकैको गन्तव्य सुनेर गाडी रोक्दैनथे । देवकुमारीलाई गाडी चढ्नै नहुने वान्ता भइहाल्ने । परीक्षित पनि बाइकमा बानी परेकोले गाडी चढ्न नखोज्ने मलाई हिड्न नै मन पर्ने र भाडा पनि जोगिने भएकोले हामी हिँड्दै बैरागीठाँटी हुँदै चोरकाटेसम्म हिँड्दै पुग्यौँ । काइँखोला पुगेपछि एउटा रित्तो हाइस आइपुग्यो । हात दिँदा हाइस रोकिएकोले त्यसैमा चढी सिम्रुतु पुग्यौँ ।

बाटोमा अध्यक्ष गणेश केसीसँग पुस्तक छपाइ बारे फोनमा छलफल भयो । असारमै छाप्न हतार गरेका थिए तर कात्तिक जान थाल्दा समेत पाठ्यपुस्तक छपाइको काम त्रिवेणी गाउँपालिकाले अगाडि बढाउन सकेको छैन । कक्षा १ देखि ५ पाठ्यपुस्तक मस्यौदा असार मसान्ततिर र कक्षा ६ देखि ८ को पाठ्यपसुतक मस्यौदा हतार हतार गरेर साउनमै गाउँपालिकालाई बुझाइसकेका थियौँ ।

त्रिवेणी गाउँपालिकाको भौगोलिक अवस्थितिको बारेमा पाठ्यपुस्तकमा पनि पाठ राखिएको छ । त्रिवेणीको सबैभन्दा होचो स्थान ११२५ मिटरदेखि अग्लो स्थान जिलाधुरीको उचाइ २६८२ मिटर रहेको भनेर सबै सरकारी तथा गैरसरकारी अभिलेखहरूम पाइन्छ । तर होचो स्थान सिम्रुतुलाई मानेर उचाइ लिइएको देखिन्छ । होचो स्थान सिम्रुतु नभई रातापहर स्थित मुसीकोट त्रिवेणीको गेट हो । जुन करिब १०८० मिटरको हाराहारी देखिन्छ । त्रिवेणीको उच्च स्थान २६८२ मिटर मान्दा जिलाधुरी समेटिँदैन । गाउँपालिकाले आधिकारिक नाप लिएर यसको छिनोफानो गरोस् भनेर बारम्बार मैले अध्यक्ष त्रिवेणीका गणेश केसीलाई भनेँ । प्रशासकीय अधिकृतलाई भनेँ । तर उनीहरूले यसलाई हल्का रूपमा लिइरहेका छन् । गाउँपालिकाले निर्णय नगर्दै पाठमा कुन नापलाई लिने भन्ने अन्यौलता हुन जान्छ । पाठ्यपुस्तकमा राख्ने कुरा गलत राख्न पनि भएन । कुनै आधार बिना अर्को मापन राख्न पनि भएन । यो कुरा निकाल्न खोज्दा गणेश केसीले हुन्छ हुन्छ मात्र भने । पुस्तक छपाइको बारेमा शिक्षा अधिकृत मानबहादुर बिकले सरुवाको लागि सुर्खेततिरै दौडधुप गरिरहेकोले छपाइ गर्न नसकिएको सतही जवाफ दिए ।

सिम्रुतुमा गाडीबाट ओर्लिएपछि हामी घोरनेटी हुँदै पैदल यात्रा सुरु गर्‍यौँ । बिहान ७ बजे पहिलो उकालोले नै पसिना छुटाएर भोक सम्झाइदिएकोले खानाको कतै व्यवस्था गर्नै पर्छ भन्ने भयो । मनलाललाई फोन गर्दा बाटोबाटै खाना खाएर आउनुहोला भन्नुभयो । अतः जिबाङ तलिगाउँ बस्ने सामान्य चिनजाकी बहिनी रमिता ओली घर्तीसँग खाना पकाइदिन अनुरोध गरेँ । उनले सहर्ष स्वीकार गरिन् ।

मावल जाँदा यही बाटो हिँडेको देवकुमारीको बाल्यकालीन स्मृति ताजा भइरहेको थियो । आमासँग जिबाङ जाँदाको किस्साहरू सुनाइरहिन् ।

घोरनेटीको ठाडो उकालो काटेपछि पिपल चौतारीमा एकछिन बिसायौँ । सहिद दौलतविक्रम घर्तीका भाइ खडकसिँह घर्तीको घरमा पुगेर पानी काँक्रो र चियापान गर्‍यौँ । सामान्य चिया गफ भयो । परीक्षित हाल हाडजोर्नी विशेषज्ञ रूपमा सल्ले अस्पत्तालमा कार्यरत रहेकोले आवश्यक परे भेट गर्नुहोला भनेर सँगै आएको परीक्षितसँग चिनजान गराइदिएँ ।

त्यहाँबाट केही माथि उक्लिएर रमिताको घरमा पुग्यौँ । खाना पाकिसकेको रहेछ । सिमीको तरकारी सिमीकै दाल भात र भाङोको चटनीसहितको खाना निकै मिठो थियो । रमिताले मकै पोलेर बाटोलाई अर्नी पनि बनाइदिइन् ।  रमिताकी छोरी समीक्षा पनि काठमाडौँबाट आएकी रहिछन् । रमिताको लोग्ने वैदेशिक रोजगारमा छन् । हामीले ल्याएका फलफूल र बिस्कुट रमितालाई दियौँ र फेरि यात्राको थालनी गर्‍यौँ ।

केही माथि उक्लिएपछि जिबाङको बाल विकास माविमा पुग्यौँ । जिबाङका डिल्ली वलीले लाइतमा खेलकुद चलिरहेकोले केही आर्थिक सहयोगसहित उपस्थित हुनको लागि अस्तिदेखि नै निमन्त्रणा गरिरहनुभएको थियो । उपस्थितिको सम्भावना नै नभएको हुँदा सहयोगको औचित्य पनि थिएन । तर आज देवकुमारी र परीक्षितलाई ल्याएर आएको थिएँ । तर देवकुमारी घिउ र सिमी खोज्ने लोभले आएकी थिइन् । परीक्षित भने हाइकिङको लागि आएको थियो ।  उनीहरूलाई खेल हेरौँ कि भनेर सोध्दा त्यतातिर लाग्न मानेनन् ।  कता जाने भन्ने एकछिन छलफल भएपछि जिबाङको अग्लो चुचुरो जिलाधुरी नै जाने निर्णय भएकोले लाइत जाने तेर्छो बाटो छोडेर फेरि उकालो लाग्यौँ ।

मनलाललाई बिचबिचबाट फोन भइरहेको थियो । मनलालले हिजो काठले खुट्टामा चोट लागेकोले आफू कतै जान नसक्ने बताइरहनुभएको थियो । हामीहरूलाई पनि जिलाधुरीमा छिटो पुग्नको लागि झारसाँधीसम्म गाडीमा जान सुझाइरहनुभएको थियो । मनलालले दिएको नम्बरका चालकलाई फोन गर्दा गाडीमा तेल सकिएकोले वडा कार्यालयबाट तेल ल्याइदिन हामीलाई शर्त राखिरहेका थिए । वडा कार्यालय नजिकका पसलहरू बन्द थिए । देवकुमारी र परीक्षितले जतिसुकै उकालो भए पनि गाडी नचढ्ने जिद्दी गरेकोले उनको गाडीवालाको शर्त मान्न आवश्यक पनि भएन ।

मैले पिपल चौतारीदेखि माथिको बाटो निकै ठाडो नभई अलि तेर्पायाँ तेर्पायाँ भएकोले  यात्रा सहज हुन्छ भनेको थिएँ । तर अपेक्षा विपरीत माथिगाउँ जिबाङको बाटो पनि उकालै उकालो देखेकोले परीक्षितले तेर्पायाँ बाटो कहिले आउँछ भनी सोध्दै थियो ।

उकालो देख्नेबित्तिकै देवकुमारीका पाइला ढिला भइहाल्थे । हामी वडा कार्यालयबाट सडक छोडी केही माथि पुगेपछि थुम्को माथिको गाउँ भेटियो । मैले यसको नाम बाघखोर हो भनी बताइदिएँ । बाघखोरमा फेरि तलतिरबाट माथितिर आएको सडक भेटियो । देवकुमारीले बाघखोरबाट तलतिर रहेको मावली गाउँको दर्शन गरिन् । अलि माथिबाट अझै तिम्रो मावली घर छर्लङ्गै देखिन्छ भनिदिएपछि देवकुमारीको थकान घट्यो । सडकै सडक बाघखोरबाट केही पर पुगेपछि पारिपट्टिको पाखोभरि विभिन्न रङका टिनको छानो भएका घरैघर भएको लाइत गाउँले सबैको नजर तान्यो ।

केही परबाट मोडिएर उकालो लागेपछि तमाकछरे विद्यालय भेटियो । सडक बाटो छोडेर हामी गोरेटो बाटोमा उकालियौँ । केही माथिबाट लाइतको सहिद मैदानमा खेल भइरहेको अवलोकन गर्‍यौँ ।

नाक ठोक्किने सानो उकालो चढेपछि एक हुल केटाहरू तलतिर झर्दै गरेको भेटिए । एक जना मनलाल ओलीकै छोरा जीवन रहेछन् । उनले आफू खेल हेर्न लाइतको सहिद पार्कतिर ओर्लिरहेको बताए र आफ्नो घर अलिकति मात्र माथि भएको बताए  । मैले घिउ र सिमीको लागि तमाकछरे स्कुलका प्रधानाध्यापक कमानसिँह ओलीलाई पनि फोन गरेर अनुरोध गरेँ । घिउ पाइने सम्भावना देखिएपछि देवकुमारीका खुट्टा केही छरिता भए ।

१० मिनेटजतिको उकालो चढेपछि ढुङ्गे छाना र जीर्ण भित्ता भएका दुई तीन घर भेटिए । यही हो तमाकछरेको मनलाल सरको घर भनेपछि देवकुमारी आँगनमा पुगेर थचक्क बसिन् । त्यहाँ मनलालकी छोरीहरूसँग सेरिगाउँ जाने तयारी गर्दै थिए ।

तमाकछरेबाट उत्तरतिरका सिस्नेका हिमशृङ्खला र उच्च लेक र दूर वस्तीहरूको सपाट दृश्य देखिँदा देवकुमारीहरू रोमाञ्चित भइरहेका थिए ।

मध्यान्हको १२ बज्न थालेको समय भए पनि २००० मिटर उचाइमा रहेकोले घाम न्याना थिए ।  देवकुमारीले घरबाट ल्याएका फलफूलहरू झिकिन् र काटेर बाँडचुँड गरी खायौँ । मनलालले हरियो काँक्रो र हरियो खुर्सानीसहितको नुन दिनुभयो । काँक्रो पनि खाएपछि देवकुमारीले अब एक पाइला पनि उकालो उक्लन सक्दिन भनेर गुन्द्रीमा लमतन्न परेर सुतिन् ।

हामीले ५ घण्टामा करिब आधा उचाइ मात्र पार गरेका थियौँ । अब २७३० मिटरको जिलाधुरी पुग्न अझै आधा उकालो बाँकी नै थियो । मनलाल सर त्रिवेणी क्षेत्रका नेता मोहनकिशोर ओलीको बुवा बितेकोले काठ हाल्न सिम्रतु मलामी जाने तयारी गर्नुभएको रहेछ । उहाँको घरमै गएर भेट्नु राम्रो हो भनेर मैले हाम्रो यात्रामा साथ दिन जिद्दी गरेँ । आखिर मनलाल सर हामीलाई साथ दिन राजी हुनुभयो । मनलाल सरको घरमा आधा घण्टाभन्दा बढी विश्राम गरेर सवा १२ बजेतिर फेरि जिलाधुरीतिरको हाम्रो यात्रा सुरु भयो । हामी उठेपछि देवकुमारीले पनि म पनि जान्छु भन्दै जर्‍याकजुरुक उठिन् ।

त्यहाँबाट केही माथि उक्लिएपछि सुँगुरपोखरी भन्ने ठाउँ आइपुग्यो । मनलाल सरले यसै ठाउँमा पहिले ठुलो पोखरी थियो । त्यसैमा पौडिएर मैले पौडी खेल्न सिकेको हुँ तर अहिले सडक बनाउँदा केही बाँकी रहेन भन्दै औँल्याउनुभयो । यसमाथि साहित्यकार बालाराम ओलीको घर भएको बताउनुभयो । केही तेर्सो लागेपछि हाइरु गाउँ देखियो । त्यहाँबाट अझै अगाडि बढ्दा आँसीउध्याउने टोल आइपुग्यो । अलि पर एउटा थुम्को देखिइरहेको थियो । देवकुमारीका मावलीहरूले गोठ ल्याउने ठाउँ त्यही झारसाँधी हो भनिदिएपछि  देवकुमारीले भिडियो बनाउन थालिन् । अहिले हामी २२०० मिटर उचाइमा आइपुगेका थियौँ ।

यहाँभन्दा माथि पानी नपाइने भएकोले झारसाँधीबाट पानी लैजानुपर्ने बताउनुभयो । एउटा गोठको नजिकै पुरानो जर्किन फेला परेकोले मनलालले पखालेर  पानी भर्नुभयो । एक जना बहिनीले जर्किन धेरै फोहोर होला माथि लैजान पनि गाह्रो हुन्छ भनेर कोकको बोत्तल दिइन् । मनलालले जर्किन फालेर कोकको बोतलमा पानी भर्नुभयो । ती बहिनी देवकुमारीको मावली पर्ने रहिछन् । देवकुमारी उकालो चढ्न बिर्सिएर उनीसँग एकछिन कुराकानीमा भुलिन् ।

त्यहाँबाट निकै ठाडो उकालो सुरु भयो ।  खर्सु रयाँजको बाक्लो वन थियो । अलिकति माथि गौँरा भन्ने चट्टाने उकालोमा उक्लन झनै मुस्किल पर्‍यो । त्योभन्दा पारेगोठ नामको घरी नाउँको बुट्यानले ढाकिएको सानो समथर जग्गा भेटियो । त्यहाँ एकछिन विश्राम गर्‍यौँ । अहिले हामी २३०० मिटरको उचाइमा थियौँ ।

फेरि उकालो चढेर बराहथान भन्ने ठाउँमा पुग्यौँ । जेठ पूर्णीमामा भेडा लिएर रोल्पाको जलजलामा चढाउन जाने चलन थियो । त्यहाँ पुग्न नसक्नेलाई सहज होस् भनेर यहीँ बराह थान बनाइएको रहेछ । ३ वटा बराहका मन्दिर र प्रतीक्षालय पनि बनेको रहेछ । यहाँबाट अघि लागेर मनलाल बेपत्ता हुनुभयो । देवकुमारी परीक्षित र म मात्र अघिपछि हुँदै ठाडो उकालोको सामना गरिरह्यौँ ।

धेरै लामो उकालो काटेपछि अर्को समथर ठाउँ आइपुग्यो । यसलाई डोब्की भनिँदो रहेछ । करिब २६०० मिटर उचाइको । मनलाल सरले जिउभरि रुखका झ्याउ भिरेर जोगीको रुपमा तपस्या गरिरहेको अभिनयमा भेटिनुभयो । बसेर एक छिन फोटो तथा भिडियोहरू बनायौँ ।

त्यहाँबाट केही उकालो चढेपछि धुपीसल्लाका अग्ला अग्ला रुखले ढाकिएको डाँडोको नेटो आइपुग्यो । त्यहाँबाट रोल्पाका बाँफुखोला पाखापानी इरिबाङ राङकोट राँक जिनाबाङ राङ्सी कुरेली लगायत अधिकांश ठाउँहरू देखिए । जुम्लेधुपी २६३० मिटरको उचाइमा थियो ।   अब हामी रुकुमको त्रिवेणी गाउँपालिका र रोल्पाको गङ्गादेव गाउँपालिकाको सिमाना मात्र नभई लुम्बिनी र कर्णाली प्रदेश सिमानामा थियौँ । चितवनपछिको दाउन्नेदेखि यहाँसम्म लुम्बिनी प्रदेश पर्छ भन्ने सुनेपछि देवकुमारीले आश्चर्यले जिब्रो टोकिन् ।

त्यहाँबाट केही तेर्सिएपछि रोल्पाको सुकीदह आइपुग्यो । सुकेको दह भएकोले घाँसे मैदान बनेको थियो । त्यहाँ सबै जना ढलेर घरबाट ल्याएका भुटेका चिउरा चपाउन थाल्यौँ । मनलाल सरले उत्तरपट्टिको डाँडो देखाउँदै त्रिवेणीको सबैभन्दा उच्च टाकुरो त्यही हो भनी जानकारी दिनुभयो । यहाँ पुग्दा बेलुकाको ४ बजिसकेको थियो । हाम्रो गन्तव्य रातामाटे टावर अझै आइपुगेको थिएन । तर टेलिकम टावरका संरचना भने नजिकै देखिइरहेको थियो ।

त्यहाँबाट फेरि उक्लिएपछि टावरको तारबार गरिएको परिसर आइपुग्यो । टावरका सुरक्षाकर्मीबाट अनुमति लिएर भित्र छिर्‍यौँ र टावर रहेको सबैभन्दा उच्च स्थानमा पुग्यौँ । यहाँबाट धेरै परपरका चारैतिरका स्थानहरू छर्लङ्गै देखिए । हल्का बादल लागेकोले धौलागिरि शृङ्खला भने स्पष्ट देख्न सकिएन । सबैजनाले  वरिपरिको विहङ्गम दृश्यको अवलोकन गर्‍यौँ । बादलले उत्तरपट्टिका अधिकांश चुचुरा ढाकेको थियो । तथापि परीक्षित र देवकुमारी मन्त्रमुग्ध भइरहेका थिए । मनलाल सरले चारैतिर औँल्याउँदै गनेरै १७ जिल्ला पुर्‍याउनुभयो । हामी यतिखेर २७३० मिटरको उचाइको सिरसिरे बताससँग पौँठेजोरी खेल्दै थियौँ ।

हेरेर मन अघाएको थिएन तर समय घर्कँदै थियो । झमक्क रात पर्न अब १ घण्टा मात्र बाँकी थियो । नजिकमा कतै पनि मानव बस्ती थिएन । अतः टावरबाट बाहिर निस्किएर चहुरमा बसी घरबाट ल्याएका बाँकी खाजा खान थाल्यौँ । बाँकी रहेको पानी चिउरा सबै सुरक्षाकर्मीलाई दियौँ र फेरि सुकीदह ओर्लिएर सडकसडकै फिर्ता यात्रा चलायौँ । झारसाँधीबाट यहाँ आइपुग्न हामीलाई ४ घण्टा लागेको थियो । त्यही बाटो फर्कँदा रात पर्ने भएकोले कठिन ओरालो झर्ने जोखिम बेसाएनौँ र सडकलाई पनि छोडेनौँ । अहिल सबैका पाइला छरिता भइरहेका थिए । चारैतिर अँध्यारोको साम्राज्य फैलँदै थियो ।  करिब १ घण्टाको हिँडाइपछि रोल्पाको रातामाटा भन्ने गाउँ अलि तल देखियो । तर त्यो हाम्रो बाटोमा पर्दैनथ्यो ।

करिब ५ किलोमिटरको सडक पार गरेपछि बल्ल एउटा पातीहाल्ना भन्ने सानो बजार आइपुग्यो । मनलाल सरले गासबासको सोधपुछ गर्नुभयो तर पाइएन । लाममेलामा पुग्दा निकै अँध्यारो भइसकेको थियो । त्यहाँ पनि बास पाउने आश हरायो । अलिकति पर पुगेर मनलाल सरले तपाईँहरू डल्सिँगे पुगेर बस्नुहोला भन्दै आफू भने तमाकछरेस्थित घरतिर लाग्नुभयो । घरतिर लाग्नुको मुख्य कारण छोरा जीवनलाई एक्लो नपार्ने भन्ने बताए पनि पानीको रित्तो बोतल फर्काउने पनि हुँदो हो ।

अँध्यारोमा मोबाइलका टर्च बालेर हिँडेपछि ७ बजे डल्सिँगे आइपुग्यो । यहाँ रहेको एक मात्र होटेलमा खाना र बास पाइने भयो ।

बास बस्नको लागि देखाइएको कोठाको अवस्था निकै गएगुज्रेको थियो । होचाअग्ला फ्ल्याक जोडेर बनाइएका खाटमा  पातला च्यादर ओछ्याइएको थियो भने फ्याङ्ला परेको ओढ्ने दिइएको थियो । फ्ल्याकले छुट्याएका कोठाहरू भएकोले एउटा कोठाको गतिविधि जम्मै अर्को कोठाबाट देखिन्थ्यो । भुइँतलाको चिसो सरेर आधा भित्ता ढाडिएको देखिन्थ्यो । घरको पल्लो छेउमा रहेको चर्पी झनै फोहोर र दुर्गन्धित थियो । अलिकति फोहोरले पनि तर्सिएर दशचोटि जिउ धुने देवकुमारी झनै घिनाइरहेकी थिइन् ।

हामी पुगेको केही समयपछि एउटा बस आइपुग्यो र होटेलमा यात्रुहरूको हल्लाखल्ला थपियो ।

बाहिर भने मुसीकोटलगायत त्रिवेणीका अधिकांश गाउँहरूको बिजुलीको झिलिमिलीले मनै हरेको थियो । आकाशका ताराहरू जम्मै धरतीमा ओइरिएको जस्तो दृश्यले बसाइको दुःख सबै बिर्सायो । मुसीकोटको झिलिमिली आफ्नो नजिकै देखेर देवकुमारीले धेरै टाढा त पुगेका रहेनछौँ भन्दै खुसी देखिइन् ।

लेकको चिसो कठिन सुताइ र यात्रुहरूको हल्लीखल्लीले घण्टा घण्टामा निद्राबाट ब्युँझिइरह्यौँ र पटक पटक पिसाब फेर्न निस्केर रात काटिरह्यौँ ।

२०८३ कात्तिक ८ गते आइतवार

सोलाबाङ रुकुम

कठिन सुताइले गर्दा बिहान ३ बजे नै निद्रा खुलिसकेको थियो र फेरि निद्रा पर्ने छाँट थिएन । हामीले अबको यात्रा कतातिर हुने भन्ने विषयमा छलफल गर्न थाल्यौँ । साढे चार बजे गासबासको पैसा बुझाउन होटेलवालाको खोजी गरेँ । होटेलका ढोकाहरू जम्मै ढक्ढक्याएर साउजी साउजी भन्दै कराएँ तर कतैबाट प्रतिक्रिया प्राप्त भएन । बरु सँगै अर्को कोठामा सुत्नेहरूले निद्रा खल्बलियो भनेर हप्काउँदै थिए । समय काट्न सजिलो होस् भनेर ३ पटकसम्म डल्सिँगेको बजारको पूर्वदेखि पश्चिमसम्म ओहोरदोहोर गरिरहेँ ।

६ बजेपछि चारैतिर प्रभातका किरणहरू छरिन थाले । तर डल्सिँगे बजार अझै निद्रामा मस्त थियो । घाम झुल्किउन्जेल सुत्ने बजार पहिलोपल्ट देखेर म छक्क थिएँ । पैँसा नतिरेर यात्रा गर्नु पनि भएन । तर ५ बजे नै यात्रा सुरु गरेर बिहानै घर पुग्ने योजना होटेलवालाकै कारण तुहिरहेको थियो । घाम नजिकै आइसकेपछि मात्र होटल्ने साउनी उठिन् । हत्तपत्त हिसाबकिताब गरेर पैदल यात्रा सुरु गर्‍यौँ ।

यात्रा सुरु गर्न ढिला पनि भइसकेको र खौला बजार धेरै टाढा पर्ने भएको तथा खौला पुग्दा सिम्रुतु नै पुगिने बताइएकोले खौलातिरको यात्रा रद्द गरी ओरालोतिर लाग्यौँ ।

हिजोसम्मको हाम्रो योजना डल्सिँगेबाट गोरिल्ला पदमार्गमा पैदल यात्रा गर्दै रुकुमको सुकीदह हुँदै खौला पुग्ने र खौलाबाट गाडी चढेर झुल्नेटा गई सहिद स्मृति पार्क अवलोकन गर्ने तथा झुल्नेटामा घिउ तथा सिमी लगायत फलफूल किनमेल गर्ने इच्छा यत्तिकै तुहियो ।

हामीले अब खौला नगई खुम्चेरी हुँदै सिम्रुतु झर्ने निर्णय गरेका थियौँ ।

हामी कच्ची सडकै सडक अगाडि बढेकोले यात्रा कठिन थिएन । बिहानीको समयमा चारैतिर मौसम सफा थियो । सिस्ने चाखुरे र धौलागिरिका हिमशृङ्खलाहरू लगायत पारिका चुचुराहरू छर्लङ्ग देखिएका थिए । हामीले रोकिई रोकिई दृश्यावलोकन सहित मनग्गे फोटो र भिडियो लियौँ ।

केही तल झरेर खुम्चेरीमा कोही आफन्त हुनुहुन्छ कि भनी सोध्दा जेठा जेठानले इन्जिनियर केशवकी श्रीमती झुन्डिएको खबर सुनाउनुभयो र खुम्चेरीको तल पुरानो खारा दब्रुङमा फुपूको घर भएको बताउनुभयो र फुपूका छोरा बलबहादुर ओलीको फोन नम्बर पनि दिनुभयो ।

दाइ बलबहादुरलाई फोन गरेपछि खुम्चेरीबाट आफ्नो घर आउने बाटोको बारेमा बताइदिनुभयो । खुम्चेरी स्कुलबाट सर्टकट हुँदै तल झर्‍यौँ । साँगुरो र चिप्लो बाटो झर्दा लामो यात्रामा नदुखेका घुँडाहरू दुख्न थाले । बाटोमा सुन्तलाका घारीहरू देखिँदै थिए । एक जना परियारको घरमा विश्राम गरेर सुन्तला किन्यौँ । बाटोमा जितबहादुर शाहसँग पुस्तक छपाइ लगायत साहित्यिक गतिविधि बारेमा फोनवार्ता भयो ।

निकै तल झरेपछि पुरानाखाराको तल्लो पाखामा रहेको दब्रुङ गाउँ भेटियो । देवकुमारीकी फुपूको छोरा बलबहादुर ओलीको घर यहीँ रहेको जानकारी पाएका थियौँ । उहाँको घरमा पुगेपछि राम्रो स्वागत गर्नुभयो । खोरबाट लोकल कुखुरा लिएर दाइ भान्छातिर लाग्नुभयो ।

पहिले भाले समातेर किन लिनुभयो भनेर वास्ता गरिएन । पछि कतै हाम्रै लागि पो हो कि भनेर देवकुमारीलाई हेर्न र नकाटेको भए हामीले नखाने भएकोले नकाट्नुस् भनेर भान्छातिर पठाएँ । तर भन्नुपहिल्यै दाइले भाले काटिसक्नुभएछ ।

कहिलेकाँही घरमा ल्याएर मासु खाए पनि बाहिर नखाने सल्लाह गरेका थियौँ । अब पाहुनाको स्वागतको लागि खुसी भएर तयार गरेको मासु खाने कि नखाने भनेर दुविधा उत्पन्न भयो । खाऊँ भने खासै खान पनि मन नलाग्ने र खाएको कुरा पनि जेठानहरू मार्फत् तुरुन्त पत्तो लाग्ने नखाऊँ भने ३ किलोभन्दा बढीको भाले पाहुनाकै लागि काटेको र दाइभाउजू र परीक्षित बाहेक अरू कोही नभएकोले चौपट मात्र हुने । अतः अलिअलि चाख्ने निर्णय भयो ।

खाना पाकिरहँदा लोकबहादुर जेठानका छोरा चरणहरू तथा ठुलीभाउजूको माइतीगाउँ र भक्त जेठानको माइती डिल्ली तथा होमबहादुरहरूको घर सिकाइदिनुभयो ।

खाना पाकेपछि लोकल कुखुराको मासुभात अघाउन्जेल खायौँ । दिदीले सिमी र कलासहितको कोसेली दिएर बिदाई गर्नुभयो ।

बाटो भुलेर झर्दा डोरेटो समेत नभएको शीतको पाखामा चिप्लिँदै झर्नुपर्‍यो । जिउभरि अथिङ्ग्रे सल्कियो । सडकमा पुगेपछि यात्रा सहज भयो । केही पर पुगेपछि ज्यालङ्गा गाउँ भेटियो । त्यहाँ आफूले पढाएका चेलाहरू बागसिँह टीका लगायतको घर थियो । बागसिँहसँग फोनवार्ता हुँदा उनी जागिरको सिलसिलामा दाङ झरेको खबर पाइयो । टीकाको फोन लागेन । बाटोमा सुन्तला लटरम्म फलेको देखेर देवकुमारीको सुन्तला मोह बढ्यो र फेरि सुन्तला किनिन् । त्यहाँबाट झोलुङ्गे पुल तरेर पारिपट्टिको सडकमा पुग्यौँ । सिम्रतु आइसक्यो भन्दा भन्दै तीन चारवटा कोल्टा पार गरेपछि मात्र सिम्रुतु भेटियो ।

सिम्रुतु बजारमा चेला आनन्द पुनसँग भेट भयो । उनी सोलाबाङतिर जाँदै रहेछने । हाम्रै लागि तयारी गरेजस्तो भयो । उनकै बाइकमा म सोलाबाङ पुगेँ । पछि देवकुमारी र परीक्षित पनि अरू गाडी फेला नपरेकोले आनन्दकै बाइकमा सोलाबाङ आइपुगे ।

मानबहादुर काकाको घरमा काकीको तिथि रहेछ । देवकुमारीले तिथिको प्रसाद ल्याइन् र बाँडेर खायौँ ।

एकछिन आराम गरेर केशवको घरमा पुगेँ । मान्छेहरूको भिडभाड थियो । आँगनमा केशवकी पत्नी लास सुताइएको थियो । भिडमा विभिन्न अड्कलबाजी भइरहेको थियो । कसैले घर नजिकै रहेको झुन्डिएको स्थान हेरिरहेका थिए । केशवको बुवा टङ्कको कुरा सुनिरहेका होमसम्धी र पुस्कर गौतमको छेउमा पुगेर मैले पनि केही कुरा सुनेँ । टङ्क पत्थरीको अपरेशनको लागि काठमाडौँ पुगेका रहेछन् । हिजो ७ बजेदेखि नै केशवकी पत्नी हराएको र १० बजे मात्र झुन्डिएको अवस्थामा फेला परेकी रहिछन् । केशवलाई सोधपुछको लागि हिरासतमा लिइएको रहेछ । माइतीहरू अनाहकमा छोरी गुमाउनुपरेकोमा इष्ट पक्षलाई दोष लगाउँदै फर्किसकेका रहेछन् ।

ठुल्दाइहरू दशैँमा काठमाडौँ जानुभएकोले उहाँसँग टीका थाप्न पाइएको थिएन । उहाँहरू काठमाडौँबाट  घरमा आएको खबर पाएपछि म पनि घरमा फिर्ता भएँ । देवकुमारी परीक्षीत र मैले ठुल्दाइ र भाउजूबाट टीका ग्रहण गर्‍यौँ । दाजुभाउजूले खानपिन यतै गर्नुभयो । ठुल्दाइले आफ्ना माइतीहरूसँग भिडियोकल गरेकोले हामीले पनि उहाँहरूसँग कुराकानी गर्‍यौँ ।

ठुल्दाइहरू घरतिर लागेपछि घरायसी प्रयोजनको लागि पानी ल्याउने प्रयास गरियो । सिस्नेखोलाको पानी ल्याएर राति १२ बजेसम्म गाग्री तथा ड्रमहरू भरेर सुत्यौँ ।

२०८३ कात्तिक ९ गते सोमवार

सोलाबाङ रुकुम

बिहान केशवको पत्नीको मलामी जानको लागि केशवको घरतिर लागेँ । मलामीहरू कोही घरमा त  कोही घरको तल्लो पाटामा घाम तापेर बसिरहेका थिए । पछिल्ला अपराधिक घटना हुनुमा सबैले मोबाइलकै दुरुपयोग भएको बताइरहेका थिए । केशवको घरबाट तलसम्म सेतो कपडालाई बाँसको घसेटामा बाँधेर बाट बनाइएको थियो ।

एकै छिनमा उल्टो दमाहा बजे । मलामीहरू सलबलाए । सबैले बाट समात भन्ने आवाज आयो । सबै अगाडि बढ्दा म पनि बाटतिर बढेँ । तर दायाँ हात दुख्ने र विश्राम नगरेर अरूसँग बाट समातेर दौड्नुपर्ने भएकोले आफू असमर्थ भइएला भन्ने होस आयो र बाट छोडेर माथितर उक्लिएँ । जेठा जेठान भेटिनुभएकोले उहाँकै पछि लागेँ । अघि अघि बाट समातेका मलामीहरू लागे । त्यसपछि उल्टो दमाहा बजाउँदै दमाईहरु लागे । त्यसपछि शङ्ख फुक्दै रामप्रसाद र कौछेका बाहुनहरू लागे । त्यसपछि रातोपहेँलो कपडाले बेरिएको बाँसको चौखटमा लास राखी आफन्तहरू अगाडि लागे । पर्शराम कोरा कपडामा बेरिएर पातीले लास हम्कँदै पछिपछि लागे । टोपी झिकेका आफन्तहरू कसैले लास बोके भने कोही वरिपरि लागे । त्यसपछि कोही काठ बोकेका र कोही खाली हातका मलामीहरू लागे ।

पुलिसचौकीको तल पुगेपछि जेठानले बाइक झिक्नुभयो । म उहाँको पछाडि बसेँ । हामी मलामीको पछिपछि हुँदै अगाडि बढ्यौँ ।

जेठानसँग पारिवारिक र समसामयिक विषयमा गफगाफ भए । हिजो फुपूको घरमा केके खुवाए भनेर सोध्नुभयो । लुकाउनुभएन स्पष्ट बताएँ । मलामीहरू छेराबाट बाहुनटाकुराको तलतिर लागेपछि हामी सडकै सडक सानीभेरी किनारमा पुग्यौँ । एकछिन पछि खोलैखोल आएका मलामीहरू आइपुगे । लासलाई पिपलको रुख वरिपरि ३ फन्को घुमाइयो । मुग्लुखोला र सानीभेरीको किनारमा लास जलाउने काठको व्यवस्थापनमा केही मलामीहरू पहिलेदेखि नै लागिसकेका थिए । त्यहाँ काले कान्छो भाइ पनि देखियो । काठको चाङ मिलाएर चिता तयार गरेपछि लास व्यवस्थापनमा होमबहादुर खडका वीरबहादुर खडकालगायत लागे । परम्परालाई पछ्याउँदै गरेका शृङ्लावद्ध कामहरू देख्दा लाग्यो जुन काममा पनि अनुभवले नै कुशलता बढाउँछ । पर्शराम किरियापुत्रीको रूपमा थिए । टङ्क अकस्मात आइलागेको सङ्कटले किँकर्तव्यविमुढ देखिन्थ्यो ।

वरपरका मलामीहरू थपिँदै गए । नेपाली काँग्रेस रुकुम पश्चिमका नेता प्रेमप्रकाश ओली मेयर महेन्द्र केसी प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाको ठुलो कर्मचारी समूहको पनि उपस्थिति थियो ।

मेयर महेन्द्र केसीसँग जम्काभेट भयो । उहाँले मलाई देखेर मुन्टो भाँच्नुभयो । मैले पनि मलामी आएको बखत उनलाई नमस्कार टक्र्याएर सन्चोबिसन्चोको औपचारिकता कायम गर्न आवश्यकता देखिनँ । मलामी आएको बखत र किरिया अवधिभर भेटघाट हुनेसँग यो औपचारिकता पूरा गर्नुनपर्ने प्रचलन छ ।

तर मेयर महेन्द्रसँग मुन्टो भाँचाभाँच गर्नुपर्ने स्थिति मलामी आएकोले मात्र होइन । अस्ति खलङ्गामा भेट्दा पनि उनले मलाई देखेर मुन्टो भाँच्नुभएको थियो । हुन त यो उहाँको स्वभाव पनि हुनसक्छ तर त्यसपछिको केही सम्भाव्य कारणहरू पनि छन् ।

गत वर्ष सुरुवात भएको मुसीकोट हेरिटेज रन सफल पार्नको लागि नगरपालिकाबाट बजेट मागिएको थियो । मेयरले १ लाखसम्म दिन सहमत पनि हुनुभएको थियो । तर प्रशासनिक र व्यवस्थापनका केही कुरा पनि नगरपालिकाले गर्नुपर्ने थियो र त्यसको लागि छलफल गर्न बाँकी नै थियो । त्यसको लागि उनलाई भेट्न प्रयास गरियो तर उहाँ यसको लागि छलफल नगरी काठमाडौँतिर लागे । उहाँको जनशक्ति त नगरपालिकामै थियो तर उनीहरूले मेयरको आदेशबिना सिन्को पनि भाँच्न सक्दैनथे ।

मेयरलाई बारम्बार फोन गरियो तर उहाँले मेरो फोन नै उठाउनुभएन । यस्तैमा म्याराथन सञ्चालन गर्ने भएको मिति गुज्रियो । गत वर्ष सुरुवात गरेर अहिले किन म्याराथनको निरन्तरता दिइएन भनेर मलाई नै सरोकारवालाले सोधिरहेका थिए । यसको लागि एक एकलाई जवाफ दिनुभन्दा मेयरलाई पत्र लेखेको शैलीमा सोको जानकारी मैले एक पत्रिकामा प्रकाशित गरेको थिएँ । त्यसमा मेयरलाई दोष दिनुभन्दा पनि एक्लै कार्यक्रम सञ्चालन गर्नुपर्दाका अप्ठ्याराहरू उल्लेख गरिएको थियो । आफ्नै आत्मालोचना गरिएको थियो । त्यो पत्र मेयरले राम्रोसँग अध्ययन नगरी चित्त दुखाएको पनि हुनसक्छ ।

गत वर्ष काठमाडौँका २५ जनाभन्दा बढी लब्धप्रतिष्ठित साहित्यकारहरूलाई उपस्थित गराएर सिर्जना उत्सव सञ्चालन गर्दा पनि नगरपालिकाले बजेट उपलब्ध गराएको थियो । त्यसको गुण स्वरूप मैले मेयरकै होटेलमा पाहुनाहरूलाई राखेर नगरपालिकाको बजेटबाट बिल भुक्तानी गरी क्षतिपूर्ति दिलाएको थिएँ । तसर्थ मेरो नियत खराब होइन भनेर मेयरले बुझ्नुपर्ने हो ।

जे होस् यस बारेमा मेरो गुनासो केही छैन । मलामीको रूपमा आएका नेताजीको वरिपरि अरौटेभरौटेहरूको उपस्थिति छँदै छ । मेरो निकटताको खाँचो कसैलाई छैन र मेरो पनि कसैसँग आस र विश्वास नभएकोले निकट भइरहनुपर्ने खाँचो छैन ।

मसँग चिन्ताराम जेठान पनि उभिएर लास व्यवस्थापन हेर्दै हुनुहुँदो रहेछ । सबैलाई चितामा आगोसहितको काठ दिएर फर्कन हतार भएजस्तो थियो । चिन्ताराम जेठानले दशैँमा टीका थाप्न नगएको गुनासो गर्नुभयो । मैले व्यस्तताले गर्दा नगएको भनी स्पष्टीकरण पेश गरेँ ।

चिता तयार भएपछि माइती पक्ष आएर अलापबिलाप गर्दै छोरीलाई दागबत्ती दिए । दागबत्ती दिँदै गर्दा इष्ट पक्षलाई गाली पनि गरे । केही मलामीहरू दोहोरो झडप हुनसक्छ भनेर टाढै उभिएका थिए । पहिले यस्तो हुने गर्थ्यो । तर अहिले जमाना धेरै संयमित भएको देखियो ।

दागबत्ती दिइएपछि मलामीहरुले काठ हाल्ने धकेलाधकेल सुरु भयो । काठ हाल्ने काम सकिएपछि जेठानकै बाइकमा फिर्ता भयौँ ।

खडक रावलले आज पाँचपुनी मेलामा नाच लिएर जानुपर्ने प्रस्ताव गर्नुभयो । देवकुमारीको पनि पाँचुपुनी मेला जाने अस्तिदेखिकै चाहना थियो । चिन्ताराम जेठानलाई कोसेली तयार गरी उहाँको घरमा पुग्यौँ । जेठान आइपुग्नुभएको रहेनछ । दिदीलाई टीका थाप्न बेलुका आउने सल्लाह गर्‍यौँ । साला प्रेमप्रकाशको घरमा पनि कोसेली पुर्‍याउन खोज्दा घरमा तालाबन्द भएकोले कोसेली सिँढीमै झुन्ड्याएर मेलातिर उक्लियौँ ।

सडकको कइनपानी मोडमा खडक रावल र माइलावनका नातिसँग भेट भयो । हिँड्दै दाउरी काट्नेसम्म पुग्यौँ । बस आएपछि बसमा शीतलपोखरीसम्म गयौँ ।

शीतलपोखरीमा वसन्त पुन र ठाराढुङ्गाको पञ्चेबाजा समूहसँग भेट भयो । मादल र दमाहा ठोक्दै पैदल खलङ्गा बराहटाकुरा पुग्यौँ । मलाई पनि पैँसेरी नाच्न प्रस्ताव गरियो र मैले अस्वीकार गर्न सकिनँ ।

मेलामा विभिन्न परम्परागत नाचहरू पैँसेरी मयुरनाच सिँगारु सोरठी नृत्यको साथै विभिन्न खेलहरू आयोजना गरिएको थियो । मेलारुहरू पीपलको रुखसँगै बनाएको दर्शक स्थलमा बसेका थिए । चहुरमा कमै थिए । भएका पनि केटीहरूको मयुरनाचमा झुम्मिएका थिए । आफै नाचमा संलग्न भएकोले अरुको  नाच हेर्न पाइएन ।

साढे ४ बजे नाच छोडेर सुन्तला र बदम किनी पीपलनेटा काट्याढुङ्गा हुँदै सोलाबाङ झर्यौँ । चिन्ताराम जेठानको घरमा टीका र दक्षिणा ग्रहण गरी खाना पनि त्यतै खायौँ ।

घरमा आउँदा घरको पेटीमा कुर्मी नाग बेरिएर बसेको रहेछ । सलबलाएपछि मात्र साप भन्ने थाहा भयो । शेरबहादुर भाइलाई बोलाएर मार्न लगायौँ । भाइले मारेको सापलाई बिरालाले खान्छ भनेर घरको करेसामा छोडिदिए । गँड्याला देख्दा पनि तर्सने देवकुमारी करेसामै साप झुन्डिएको देखेर सिरिङसिरिङ गरिरहिन् ।

बेलुकाको खाना चिन्ताराम जेठानको घरमा भइसकेकोले घरमा पकाउनुपरेन ।

 २०८३ कात्तिक १० गते मङ्गलवार

सोलाबाङ रुकुम

बिहान उठेर दूधदही र सासूलाई ल्याउन सोलाबाङ बजारतिर गएँ । घरमा दाउराले पकाउने सानो चुलो भएको र जाडोमा आगो ताप्न पर्याप्त नभएको हुँदा आगो ताप्ने चुलो पनि पाइन्छ कि भनेर बजारका भाँडा पसलहरूमा खोजी गरेँ । तर पाइएन ।

सासूलाई घरमा लैजानको लागि डम्बरको घरमा पसेँ । चन्द्रा बहिनीले छतमा धानको व्यवस्थापन गर्दै थिइन् । सासू तल्लो छतमा बसेर वारिपारि हेरिरहनुभएको थियो । मैले हाम्रो घरमा जाऊँ भनेँ । फकाएँ । हात समातेर उठाउन खोजेँ । तर सासूले उठ्नै सक्दिनँ भनेर जिद्दी गर्नुभयो । घरमा आउन मान्नुभएन ।

तमाकछरेका डिल्ली वलीले ताजा घिउ दिने कुरा पोहोरदेखिकै वाचा हो । उनको घिउ बजारको तुलनामा सस्तो मात्र नभएर ताजा पनि हुने भएकोले र चिनजानको कारणले घिउ चाहिँदा उनलाई नै भन्ने गरेको छु । तर पोहोरदेखि नै घिउ पठाइदिएका छैनन् । अस्ति देवकुमारीलाई लिएर आफैले घिउ ल्याउन तमाकछरे पुग्यौँ । फर्कँदा ल्याउने कुरा थियो तर डल्सिँगे जानुपर्‍यो । मनलाल सरलाई सेरिगाउँ आउँदा ल्याइदिनुहोला भनेको थिएँ । तर उहाँ पनि नल्याएर आउनुभएछ ।

डिल्लीलाई फेरि फोन गरेको थिएँ । उनले सिताके च्याउ पनि राखिदिनुहोला भनेर सर्त राखेका थिए । च्याउ ल्याएर लाइततिरको मान्छे आएको बताएका थिए । बजारमा पुगेको बेला उनै मनोज वलीले आउँदै छु भनेर फोन गरे तर घिउ भने नल्याएको बताए ।

बजारबाट धुप र डेरीबाट दूधदही ल्याएर घर फर्कँदै गर्दा सिताके च्याउ आइपुगेको जानकारी पाएकोले एकछि बजारमा पर्खिएर च्याउ ल्याएर घरमा आएँ ।

बिहानदेखि देब्रेपट्टिको अण्डकोष दुख्न थालेको थियो । मकैको डाँठ जिलाउने काममा लागेँ । तर अण्डकोष धेरै दुखेकोले कोठामा आराम गरेँ ।

देवकुमारीले मकै पिस्नको लागि घट्ट जानुपर्ने भनी सोलाबाङ आएदेखि नै भन्न थालेकी थिइन् । तर जाने समय मिलेको थिएन । हामीले पहिलेदेखि नै बग्र साइँलाको घट्टमा पिस्ने गरेका थियौँ । तर अरूहरूले बग्र साइँलाको घट्टमा पिसेका पिठोको रोटी मिठो नहुने र नसक्सने भएकोले बाहुनडेराको घट्ट वा पानेखोलाको घट्ट जान सुझाइरहेका थिए ।

आज फुर्सद मिलेकोले देवकुमारीले २ पाथी जति मकै तयार गरिन् । ओरालोमा मलाई नै मकै बोकाइन् । अण्डकोषको दुखाइ बढ्दै गयो र दुखाइ माथितिर सर्न थाल्यो । म बिस्तारै ओर्लिएँ । खोलामा पुगेपछि शङ्करको घट्टतिर जाने भन्ने भयो । शङ्करको घट्ट मसानघाटको नजिकै रहेछ । गन्नेमान्ने व्यक्तिहरूको निधन हुँदा नदी लैजाने चलन छ । तर गरिबगुरुवाहरूको निधन हुँदा सोलाबाङको मुन्तिर लाटा बिरौटाको पश्चिमपट्टि र तल्लो सोलाबाङको पूर्वपट्टि रहेको यही ठाउँमा ल्याएर लास जलाउने गर्दछन् ।

हाम्रा बुराबाजेका तीन भाइ छोराहरूमध्ये कान्छालाई लाटा थिए रे । कान्छाको भागमा यही ठाउँ अंश दिइएको रहेछ । लाटाले पाएको अंश भएकोले लाटा बिरौटा भन्न थालिएको रहेछ । लाटा बाजे बितेपछि त्यो जमिन भने टाठाबाठाहरूले आफूखुसी भागबण्डा लगाएछन् । माथिल्लो भागपट्टि अहिले आफ्नै माइतीखलक गारापारेका छोराहरूको नाममा दर्ता भएको छ भने तलतिर मावलीखलकको नाममा दर्ता भएको छ । बुवाले त्यो जग्गा आफ्नै हो । अहिले अरूले हत्याएका छन् भन्नुहुन्थ्यो ।

त्यति मात्र नभई कोरीपाखा नजिकैको खोप्याढुङ्गा केशवीरहरूले र अहिले आर्मी बसेको जग्गा पनि पहिले आफ्नै भएको तर पछि आफूले नबेची उनीहरूले आफ्नो नाममा दर्ता गरेको कुरा सुनाउनुहुन्थ्यो ।

ठाँटी बजारदेखि तल्लो सोलाबाङको पुछारसम्म नै निकै अग्लो चट्टाने भित्तो छ । यही भित्ताले मुग्लुखोलालाई किनार भत्काउन दिएको छैन । भित्ताको तल्लो भागमा कतै कतै ओढारहरू पनि रहेका छन् । ओढारमा भुत बस्ने कुरा देवकुमारीले सानैदेखि सुनेकी हुनुपर्छ ।

बेलुका ४ बजेतिर खोलाको किनारै किनार हामी शङ्करको घट्टतिर अगाडि बढ्यौँ । खोलामा घाम बुरेर पहिल्यै उकालो लागिसकेका थियो । अपरान्ह ४ बजे पनि अँध्यारो हुन खोजेको थियो । खेतमा काम गर्नेहरू घरतिर फर्किसकेकोले खोलाको कलकल बाहेक अरू केही सुनिन्नथ्यो । ओढारको नजिकै रहेको सिमलको रुखमा चराहरूको चिरबिर सुनिए पनि तिनले पनि सन्नाटा फैलाएको जस्तो प्रतीत हुन्थ्यो । देवकुमारी डराइरहेकी थिइन् ।

घट्टसम्म पुग्यौँ । घट्टको ढोका नै रहेनछ । घट्टभित्र झन् अँध्यारो थियो ।  घट्टको पाथर घुमाउने प्रशस्त कुलो पनि रहेनछ । कुलो नजिकै कतै भाँचिएको छ कि भनेर मैले केही माथिसम्म हेरेँ तर माथिबाटै सानो कुलो आएको रहेछ ।

कुलो नै नभएपछि फर्कनै पर्‍यो । देवकुमारी हाम फाल्दै अघि अघि लागिन् म मकैको कुम्लो बोकेर पछि पछि लागेँ । तल्लो पेट असाध्यै दुख्न थाल्यो । दुखाइ सर्दै नाइटोसम्म आयो । असह्य दुखाइलाई सहँदै अगाडि बढिरहेँ । मकैको कुम्लो तिमी बोक भनेर देवकुमारीलाई भन्न पनि सकिनँ ।

पहिले ओर्लिएको ठाउँसम्म आएपछि अगाडि हामीले तरेकै ठाउँमा घट्टको कुलो भाँचिएको रहेछ । कुलो लगाएर घट्ट फर्किऔँ भनेँ । अब घरमा फर्किहालौँ भोलि बिहान पिस्न आउँला अहिले रात परिसक्यो भनेर देवकुमारीले जिद्दी गर्न थालिन् । मैले बग्र साइँलाको घट्ट पनि हेरौँ न त बल्लतल्ल समय मिलाएर खोलासम्म ओर्लिसकेका छौँ । फेरि समय नमिल्ला भनेर जिद्दी गरेँ । आखिर उनी बग्र साइँलाको घट्ट हेर्न सहमत भइन् । उनी अघि अघि लागिन् । म दुखाइले हिड्नै नसक्ने भएँ ।  

अलिकति माथि थ्रेसर मेसिनले धान चुटिरहेको थियो । मलाई सानैदेखि माया गर्ने नयाँगाउँका दाइ भीमबहादुर ओली मेसिनको नजिकै उभिनुभएको थियो । मलाई देख्नेबित्तिकै जहाँ भेटे पनि उहाँले मलाई रोकेर सन्चो बिसन्चो सोधिहाल्नुहुन्थ्यो । तर अहिले उहाँ मेसिनपट्टि फर्किरहनुभएको थियो । मैले देखेर पनि बोलाउन सकिनँ किनकि म अत्यन्तै दुखाइको पीडाले छटपटाइरहेको थिएँ र जतिसक्दो छिटो घट्टमा पुगेर विश्राम गर्नुपर्ने आवश्यक थियो ।

बग्र साइँलाको घट्ट खाली नै रहेछ । म नपुग्दै देवकुमारीले घट्ट लगाइसकिछन् । म पुग्नेबित्तिकै मकै खोलेर हातैले मकैको ओइरो हालिन् । अनि घट्टको ठुइँलोमा मकै खन्याइन् । ठुइँलो नमिलेकोले मकै बाहिर ओइरियो । डोरी कसकास पारेर उनले मिलाउन थालिन् ।

तलको घट्ट भन्दा साँख खोला र लहुँ खोलाको दोभानमा रहेको यो घट्ट अलि फराकिलो ठाउँमा भएकोले उज्यालो नै रहेछ । घट्टकै छेउमा बग्र साइँलाका जुवाइँले सुँगुरपालन गरेकोले मान्छेहरू र सुँगुरहरूको कल्याङमल्याङ भइरहन्छ । नजिकै नगरपालिकाले बनाउन थालेको निर्माणाधीन नगर अस्पत्ताल छ । माथितिर सडक छ र गाडीमोटरहरू चलिरहेकोले खोलाको निरवतालाई जितेका छन् । सुँगुरकोको खोर नजिकै दुई तीनवटा घरहरू पनि छन् । नजिकै पक्की पुल छ र पारिपट्टिको ठाँटी बजारको कल्याङमल्याङ नजिकै सुनिन्छ । उत्तरपट्टि बोरागाउँतिर र पूर्वपट्टि कौछेको डाँडामा घाम उक्लिरहेकोले घामको परावर्तन यस ठाउँमा पर्नेभएकोले पनि होला अँध्यारो हुन धेरै समय बाँकी नै देखी अहिले भने देवकुमारी उज्यालिएकी छिन् ।

म भने घट्टको बाहिरपट्टि ढलेर पेट दुखाइको पीडाले छट्पटाउन थालेँ । मेरो अवस्था देखेर उनी निकै आत्तिइन् । यस्तो दुखाइ हुँदा पनि किन नभनेको भनेर मसँग गुनासो गरिन् । मलाई घर जानुहोस् भनिन् । तर म त पटक्कै नचल्ने भइसकेको थिएँ । भुतले समात्यो कि भनेर उनी डराइहोलिन् । मकै फर्काएर लैजाऊँ भन्न थालिन् ।

उनलाई घरमा गएर छिटो डोलोपार ल्याएर आऊ म घट्ट हेर्छु भनेँ । उनी कुद्दै घरतिर लागिन् । एकछिन पछि घट्टवाली श्यामा भतिजी आइन् र पिसान हेरिदिइन् ।

एकैछिनमा देवकुमारी डोलोपार ल्याएर आइपुगिन् । डोलोपार खाएको केही समयपछि दुखाइ अलिअलि घट्यो । पिस्ने काम सकिँदा ६ बजिसकेको थियो र झमक्कै अँध्यारो भइसकेको थियो । हामी सडकसडकै अँध्यारोमा घरतिर लाग्यौँ । घरमा पुगेर मकैको रोटी र दूध खाएर औषधि ल्याउन सोलाबाङ बजारको मेडिकलमा पुग्यौँ । चुडामणि बुढाको मेडिकल बन्द भइसकेको रहेछ । चुडामणि घरमै बस्ने भएकोले बोलाउन लगायौँ । उनी तल झरे । परीक्षित आज अस्पत्तालमै थियो । उसलाई फोनबाट समस्या बतायौँ । परीक्षितले औषधिको नाम मेसेज गरिदियो । केही एन्टिबायोटिक र दुखाइ कम गर्ने औषधि ल्याएर घरमा आयौँ ।

औषधि खाएपछि दुखाइ कम भयो र मजासँग निद्रा लाग्यो ।

२०८३ कात्तिक ११ गते बुधवार

सल्ले, रुकुम

बिहान उठ्दा पेटको दुखाइ अलि कम भइसकेको थियो । देवकुमारीले तपाईँ बिरामी हुनुभएकोले ओछ्यानमै आराम गर्नुहोस् घरको काम जम्मै म गर्छु भनिन् । मलाई के खोज्छस् काना आँखो भनेझैँ भयो । ओछ्यानमै सुती सुती विभिन्न कारणले लेख्न छुटेका दैनिकीहरु लेख्न थालेँ । बिहान बत्ती नभएकोले ल्यापटपको चार्ज पनि सकियो र दैनिकी पूरै लेखी भ्याइएन । तसर्थ उठेर बारीका मकैका डाँठहरू खेरेर आगो लगाउन थालेँ । रेडियोले बङ्गालको खाडीमा उत्पन्न भएको अर्णव आँधीले नेपाल पनि प्रभावित हुनसक्ने बताइरहेको थियो । केही गरी पानी परिहालेमा मकैका डाँठ भिजे भने केही समय छर्ने रोप्ने काम पनि प्रभावित हुनसक्छ भन्ने डर थियो ।

नजिककै ठुल्दाको खेतमा दाइभाउजूले बाउरेहरू लगाएर धान काटेर चुट्दै थिए । देवकुमारी पनि एकछिन दाइको धान काटिलागेको । म भने हातको कुइनो पनि दुख्ने र आज अण्डकोष दुख्ने समस्याले गर्दा कठिनाइ र लाजको कारणवश् दाइलाई सहयोग गर्न जान सकिनँ । दाइको साला नन्दराम देवकोटा र अरू बाउरेहरूले दाइको काम चटारोमा भाइ नै सहयोग गर्न किन आएनन् भनेर देवकुमारीलाई सोध्दै थिए रे ।

आज परीक्षितको डेरा सार्ने काम थियो । बिहान खानेबित्तिकै जाने भने तापनि देवकुमारीले घरको ढल्योफर्क्यो गरिरहेकोले भनेको समयमा उक्लन सकेनौँ । मेरो दुखाइको लागि पनि सल्ले अस्पत्ताल जानु थियो । मनलाल सरले राप्ती साहित्य परिषद्को भवनको सम्झौता र साहित्यिक कार्यक्रमको प्रस्ताव नगरपालिकामा पेश गर्ने काममा सहयोग गर्न आउनुहोस् भनेर सेरिगाउँ बोलाइरहनुभएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले सञ्चालन गर्दै आएको यही कात्तिक १५ गतेको पाक्षिक रचना वाचनको लागि रुकुम थर्पु निवासी एक्कबहादुर केसीलाई मनाएको थिएँ । उहाँले वाचनको लागि कविताहरू पनि पठाइसक्नुभएको थियो । तर समीक्षक कसलाई खोज्ने भन्ने समस्या भयो । टीकाराम उदासीको समीक्षा निकै राम्रो हुनेभएकोले उहाँलालाई अनुरोध गरेँ । तर उहाँले आफ्नो फुर्सद नभएकोले साहित्यकार पुष्कर रिजाललाई भन्न सिफारिसक गर्नुभयो । उहाँलाई अनुरोध गर्दा उहाँले पनि नभ्याउने जानकारी दिनुभयो । तसर्थ राजबहादुर कुँवरलाई अनुरोध गर्दा उहाँले जुम्लाका भाषाविद् प्रेम चौलागाईको नाम सिफारिस गर्नुभयो । उहाँसँग कुरा हुँदा आफू कविताको समालोचक नभए समीक्षा भने गरिदिने स्वीकार गर्नुभयो । मैले एक्कजीले मलाई ह्वाट्सएपमा पठाएका कविताहरू प्रेम चौलागाईलाई फर्वार्ड गरिदिएँ ।

देवकुमारीले घरको काम सकेपछि दिउँसो ३ बजे मात्र अटो चढेर सल्ले पुग्यौँ । परीक्षितले सल्ले विमानस्थल नजिकै रहेको अर्जुन पुनको घरमा २ कोठा लिएर बसिरहेको थियो । साविकको अर्थोपेडिक्स सर्जनको करारको म्याद थप नभएकोले उनले लिएको डेरा छोडेर फर्केका रहेछन् । उनी बसिरहेको क्वाटर खाली भएकोले सोही काम गरिरहेको परीक्षितले सो क्वाटर पाउनेभएछ । अर्जुन पुनको घरबाट परीक्षितको सामानहरू प्याक गरी अस्पत्ताल भित्रकै क्वाटरमा डेरा सार्न हामीले मद्दत गर्‍यौँ । डेरा सार्न सल्ले अस्पत्तालमै काम गर्ने मुगु निवासी डा टेक योगीले ठुलो सहयोग गरे । कोठामा पनि सामान व्यवस्थापनमा सहयोग गरे ।

परीक्षितले पाएको क्वाटरका २ वटा ठुला कोठाहरूसहित बैठक कोठा किचेन कोठा र ट्वाइलेट समेत भएको डेरा रहेछ । ओढ्ने ओछ्याउने कपडाहरू पहिल्यै किनेकोले पुरानो डेराबाट यहाँ सारेका थियौँ तर भाँडाकुँडीहरू नभएकोले क्वाटरमा खाना पाकेन । डा टेक योगीसँगै ४ जनाले क्यान्टिनमा बेलुकाको खाना खायौँ र ३ जना क्वाटरमा आई सुत्यौँ ।

२०८३ कात्तिक १२ गते विहीवार

सल्ले, रुकुम

यथा समयमा उठी नित्यकर्महरू सिध्याएँ ।

अस्पत्तालमा जानुभन्दा पहिले परीक्षितले मलाई सोध्योः पहिलेको दाइले अपरेशन कोठामा आवश्यक विभिन्न सामान रहेको भनी देखाएको तर त्यस कोठामा किनेका भनिएका कुनै सामान नरहेकोले यस्तो अवस्थामा के हुन्छ

मैले भनेँ, सामान बुझेको पत्रमा हस्ताक्षर गरेको छ कि छैन । परीक्षितले भन्योः दाइले आफूले मात्र हस्ताक्षर गरेको तर मैले सामान छोडेको थाहा पनि पाइनँ र कुनै पत्रमा हस्ताक्षर पनि गरेको छैन ।

मैले परीक्षितलाई भनेँ उसोभए सुरुमै मेसु र स्टोरकिपरलाई जानकारी गराइहाल्नू । सामान फेरि माग्दा उनीहरूले पनि अनुगमन र निरीक्षण गरेर आवश्यक निर्णय लेलान् ।

यही कात्तिक १५ गते राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको भर्चुअल रचनावाचन कार्यक्रममा एक्कबहादुर केसीले कविता वाचन गर्ने र डा प्रेमप्रसाद चौलागाईले समीक्षा गर्ने भनी पहिल्यै तय भइसकेको थियो । सो को लागि समीक्षक र रचनावाचकको आवश्यक विवरण माग गरेँ । दुबैले संक्षिप्त विवरण उपलब्ध गराएपछि कार्यक्रम हुने भनी सूचना बनाएर राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको मेसेन्जर ग्रुपमा राखिदिएँ ।

क्यान्टिनमा गएर खाना खाइसकेपछि क्वाटरको लागि खाना पकाउने सामानहरू ल्याउन खलङ्गा बजारतिर लाग्यौँ । परीक्षितलाई क्वाटरको लागि आवश्यक केही सामान अफिसबाट मागे पनि हुन्छ भनेको थिएँ तर ऊ मभन्दा पनि झन् सोझो परेकोले भैगो आफै किनौँ र यहाँबाट सरुवा हुँदा आफ्ना सामानहरू आफै लिउँला भनेर अफिसलाई भन्न मानेन ।

एमबीबीस पढ्दा भैरहवामा पनि परीक्षितले बाहिरै कोठा लिएर बसेको थियो । त्यहाँ खाट दराज कुर्सी ओढ्ने ग्यास सिलिण्डर तथा स्टोभलगायत खाना पकाउन र बस्नको लागि कोठामा आवश्यक पर्ने धेरै सामानहरू आफै किनेको थियो तर डेरा छोड्दा साथीहरूलाई नै छोडेर आएछ । आफ्नै गाडी भएको बखत गाडीमा हालेर ल्याऊँ भन्दा पनि मानेन । पछि गाडी रिजर्व गरेर आफ्नै सामानहरू ल्याउन पनि मिलेन । यहाँ पनि परीक्षितले आफूले किनेका सामानहरू पछि फिर्ता लैजाला भन्ने कुनै भर छैन भनेर मैले देवकुमारीले मलाई गुनासो गरिन् । मैलेआफ्नो उपयोगको लागि काम आउने सामानहरू भएकोले उपयोगपछि फिर्ता लिए लेला नलिए पनि उपयोग भइसकेका सामानहरूको लागि केको चित्त दुखाइ भनी देवकुमारीलाई सम्झाएँ ।

हामी सल्ले विमानस्थलको छेउछेवै खलङ्गाबजारतिर लाग्यौँ । मठको झोलुङ्गे पुल तरेर पारि गयौँ । बाटोमा जङ्गी आइरन उद्योग पर्ने भएकोले उद्योगभित्र गएर आगो ताप्ने चुलो सम्बन्धी जानकारी लियौँ र आफ्नो आवश्यकताअनुसारको चारैतिर बसेर आगो ताप्न पनि मिल्ने र चुलोमा खाना पनि पकाउन मिल्ने खालको चुलो बनाइदिन निर्देशन दियौँ ।

जङ्गी आइरन उद्योग अगाडि नै रहेको कोलेनिका अफिसभित्र छिर्‍यौँ । यस अफिसमा गत वर्ष १ वर्ष र ६९-७० मा अढाइ वर्ष गरेर २ वर्ष मैले कोष नियन्त्रकको रूपमा काम गरिसकेको थिएँ । यहाँ आफूले चिनेका कर्मचारीहरू अहिले पनि छन् र अहिलेका कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी सँगै लोकसेवा परीक्षाको लेखा अधिकृत पास गरेका साथी पनि हुन् ।

भेटघाटको लागि हामी पसेको देखेर कोलेनिकाका कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी लेखापालद्वय कविन्द्र पुन र एक्कबहादुर केसी तथा जिल्ला प्रशासनका लेखापाल अन्जु घर्तीसँग भेटघाट भयो । मैले आगामी शनिवार र आइतवारको बिदाको दिनको सदुपयोग गर्न मैकोट तथा पेल्मा जाने प्रस्ताव गरेँ । उहाँहरूले सहर्ष स्वीकार गर्नुभयो तर गाडीको उपयोगको सम्बन्धमा समस्या रहेको र यही कात्तिक १२ देखि १४ सम्म बङ्गालको खाडीको अर्णव चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएकोले यात्रा गर्न कठिन हुने बताउनुभयो । मैले मौसम हेरेर यात्रा गरौँला भन्ने कुरा राखी कोलेनिकाबाट फर्कियौँ ।

खलङ्गाको तल्लो बजारको बिचतिर रहेको भाँडा पसलबाट इन्डक्सन चुलो कुकर कराई थाल बटुकाहरूलगायत १४६५० का भाँडाहरू किन्यौँ । पसलेको क्युआरमा परीक्षितले पैसा पठाइदियो । देवकुमारीले जाडोको लागि स्विटर र भान्छामा लगाउने जुत्ता पनि किनिन् ।

खलङ्गा बजारबाट सामान ल्याउन कोलेनिकाबाट गाडी पनि मागेका थियौँ तर अटोमा १०० रुपैयाँ तिरे अस्पत्तालको गेटभित्रै लगिदिने भएकोले जाबो १०० रुपैयाँको लागि किन अफिसियल गाडी प्रयोग गरौँ भन्ने भएकोले अटोमै सल्लेतिर लाग्यौँ ।

सामान क्वाटरमा सारेपछि सल्लेकै तरकारी पसलबाट २५०० को तरकारी मसला र हर्लिक्स किन्यौँ ।

क्वाटरमै खाना पाक्यो ।

२०८३ कात्तिक १३ गते शुक्रवार

सल्ले, रुकुम

बिहानै उठेर मनलाल ओलीलाई भेट्न सेरिगाउँ जान खोज्दा उहाँले आजै त्रिवेणी प्रज्ञा प्रतिष्ठानको मिटिङ भएकोले हिड्न थालेको जानकारी गराउनुभएकोले सेरिगाउँ जाने मेरो कार्यक्रम स्थगित भयो ।

आज सोलाबाङ जाने कार्यक्रम थियो तर देवकुमारीले परीक्षितलाई खाना पकाइदिएर जाऔँला भनिन् ।

इन्डक्सन चुलोमा तरकारी त पाक्यो तर इन्डक्सनमा भात पकाउन खोज्दा कुकरले काम नै गरेन । सयौँचोटि प्रयास गरियो तर भएन । च्याट जीपीटीसँग सोधपुछ गर्दा प्रश्नमाथि प्रश्न र जिज्ञासा मात्र थप्यो । कुकरलाई घिसार्दा घिसार्दा बल्लतल्ल इन्डक्सनमा लाग्यो । खाना पकाउन ढिला भयो ।

खाना पकाएर भान्छा सफा गरिसक्दा १२ बज्यो । देवकुमारीले अब बेलुका खाना पकाइदिएर सोलाबाङ जाउँला भनिन् । सोलाबाङ झर्ने कार्यक्रम पनि स्थगित भयो ।

भान्छाको केही सामान ल्याउन बाँकी थियो त्यसको लागि फेरि खलङ्गा बजारतिर लाग्यौँ । सल्ले अस्पत्ताल परिसरबाट बाहिर निस्कँद गर्दा रुकुम पश्चिमका पर्यटनकर्मी चन्द्रबहादुर केसी चट्टानसँग भेट भयो । उहाँले सल्ले स्थित आफ्नो घरमा लैजानुभयो । उहाँले मुसीकोटको घिमानेमा आठबीसकोटको स्याँलामा र सिस्नेको चारगाउँलगायत विभिन्न ठाउँको गरेको स्याउ किबी ड्रागनफ्रुट र अन्य फलफूल र मसला खेतीबारे जानकारी गराउनुभयो । एक पटक सिस्ने चारगाउँमा हामीलाई पुर्‍याउन लक्ष्य रहेको पनि बताउनुभयो । फर्कँदा किबी उपहार दिनुभयो र आफ्नो तालिमप्राप्त घाइते कुकुरलाई पशु अस्पतालमा उपचारको लागि सल्लेको विमानस्थल पछाडिसम्म पैदल यात्रामा साथ पनि दिनुभयो ।

हामी त्यहाँबाट हिँड्दै तलतिर झर्‍यौँ र खलङ्गाको भाइरल पुल तरेर बराहटाकुरा पुग्यौँ । बराहटाकुरामा फुटबल खेल प्रतियोगिता सञ्चालन भइरहेको रहेछ । पत्रकार मनिष खडकासँग भेट भयो । उहाँले मञ्चमा रहेका कुर्सी छोडिदिनुभयो । देवकुमारी र मैले फुटबल खेल केही बेर अवलोकन गर्‍यौँ ।

त्यहाँबाट खलङ्गा बजारतिर लाग्यौँ । खिमबहादुर ओलीको पसलबाट देवकुमारीको मोबाइल ग्लास, सानो थर्मस र चार्जेबल इलेक्ट्रिकल बत्ती किनमेल गर्‍यौँ । मुसीकोटमा पनि चक्रवातको प्रभाव देखिन थालिसकेको थियो । सिमसिम पानी पर्ने र रोकिने गर्न थाल्यो । आकाशमा बादलले धुम्म ढाकेको थियो ।

हिजो किनेकै भाँडा पसलमा पुगेर थप भाँडाहरू र प्लास्टिकका भाँडाहरू किन्यौँ । फर्कँदै गर्दा निशाकी जेठानी दिदी पदमा भण्डारीसँग भेट भयो ।

कोठामा आएपछि निशा बहिनीसँग फोनमा कुराकानी भयो । साहित्यकार सरिता शैलीसँग पुस्तक प्रकाशन र शैली फाउन्डेसनको भावी कार्यदिशा बारे छलफल भयो । सुप्रसिद्ध लघुकथाकार वासुदेव गुरागाईँसँग पनि रुकुमका साहित्यिक तथा पारिवारिक गतिविधिको सम्बन्धमा फोनवार्ता भयो ।

आज बत्तीको लाइन अनियमित थियो । कोठामा खाना पाक्दैन कि भन्ने डर थियो । इन्डक्सन कुकर बिग्रेको परेकोले भात नपाक्ने डर पनि थियो । बत्ती आए पनि कुकरको इन्डक्सनले फेरि पनि काम गरेन । रगडरागड पारेपछि बल्ल काम गर्‍यो ।

२०८३ कात्तिक १४ गते शनिवार

सल्ले, रुकुम

बिहान निरन्तर झरी

नातिनी १ महिना पुगेको उपलक्ष्यमा शुभकामना सन्देश

हाम्रो परिवारकी सानी लक्ष्मी लोचना पाठकलाई पहिलो महिनाको शुभआशीर्वाद !

हाम्रा प्यारा नाति प्रवीर पाठककी सानी बहिनीले यस धर्तीमा पाइला टेकेको १ महिना पूरा गरेकी छिन‍् । नयाँ सदस्यको आगमनले हाम्रो परिवारको खुसी विश्वास र आशा दोब्बर भएको छ भने प्रवीरकी अभिन्न साथी भएदेखि प्रवीरको खुसी पनि दिन दुगुणा र रात चौगुणाको दरले बढ्दै गएको छ।

प्यारी नातिनी ! तिमी सधैँ स्वस्थ, खुसी र हँसिली रहनू । धेरै पढ्नू, असल मान्छे बन्नू र आफ्ना सुन्दर सपनाहरू पूरा गर्नू । तिम्रो हरेक पाइला सफलतातर्फ अघि बढून् तिमीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको धेरै धेरै शुभआशीर्वाद छ ।

तिमी जेन बिटा पुस्ताकी प्रतिनिधि ! हाम्रो परिवारको पाँच पुस्ताकी तिमी सबैभन्दा अर्वाचीन सदस्य पनि ! जन्मँदा गोठका भित्ताहरू मात्र देखेका हाम्रा यी आँखाले अहिले नै स्मार्टफोन, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, रोबोट र आकाशीय पिण्डको उत्खनन र सम्भावना देखिसकेका छन् । हाम्रो पुस्ता र तिमीहरूको पुस्ताबीच प्रविधि, ज्ञान, जीवनशैली र सामाजिक सम्बन्धमा कति ठूलो अन्तर होला ? तिमी कस्तो संसारमा हुर्कौली र कस्तो संसार बनाउली ? कल्पना गर्दा पनि म रोमाञ्चित हुन्छु ।

अहिले तिम्रो साथमा करिब ८०-८५ वर्षका जिजुहजुरबा/आमा हुनुहुन्छ । जसलाई साइलेन्ट जेनेरेसन (Silent Generation) भनी वर्गीकरण गर्ने गरिन्छ । जो गोठाले जीवन, अभाव र परम्परागत जीवनशैलीको अनुभव बोकेको पुस्ता हो ।

अनि करिब ६० वर्ष आसपासका तिम्रा हजुरबा/आमा जेनेरेसन एक्स (Generation X) वर्गीकरणमा पर्नुहुन्छ । यो पुस्ता परम्परागत जीवनबाट आधुनिक प्रविधितर्फको सङ्क्रमण अनुभव गरेको पुस्ता हो । यस पुस्ताले जेन गामाको आगमन तथा अझै कल्पनातीत परिवर्तन र विकासहरू देख्न सक्नेछ ।

करिब ३५ वर्ष आसपासका तिम्रा ड्याडीममी, मामा र काकाकाकीहरू जो मिलेनियल्स/जेनजी (Millennials/Gen Y/Z) पुस्ताका छन् । यो पुस्ता इन्टरनेट, मोबाइल र डिजिटल प्रविधिको विकाससँगै हुर्किएको पुस्ता हो । यो पुस्ता नै तिमीलाई अत्याधुनिक युगमा समायोजन हुन सक्षम बनाउने जिम्मेवार पुस्ता हो । यसै पुस्ताले आफूभन्दा पहिलेको पुस्ताको आशा र अपेक्षालाई हृदयङ्गम गर्दै तिम्रो भविष्यको स्पष्ट मार्गचित्र कोर्नुपर्छ । अलिकति लापरवाहीले पनि आफ्नै सन्तान अति प्रतिष्पर्धाको त्यो अर्वाचीन युगमा कमजोर सावित हुनसक्छ ।

तिमीलाई सदैव साथ दिने तिम्रा दाइहरू प्रवीर र नक्षत्र जेन अल्फा (Generation Alpha) का प्रतिनिधि हुन् । तिनीहरू नै तिम्रो जेन बिटा पुस्ताका जीवनभरको साथी र रक्षक बन्न तम्तयार छन् ।

पाँच पुस्ताको एउटै परिवारमा आफू आफूले देखेका स्वर्णिम युगहरू र अनुभूतिको असीमित सँगालो छन् । सबै आआफ्नो ठाउँमा महत्त्वपूर्ण छन् । तर पुरानो पुस्ताले नयाँ पुस्ताको सीमा कोर्न पनि सक्दैन ।

हामी चारै पुस्ताको तर्फबाट तिमीलाई अथाह माया र अनन्त आशीर्वाद !

खलङ्गाबाट परीक्षितले खसीको मासु ल्याएर पकायो । देवकुमारी र मलाई खासै मिठो लागेन ।

एक्कबहादुर केसीसँग भोलिको भर्चुअल रचना वाचन कार्यक्रमको बारे छलफल गरियो । समयमै उपस्थित हुन र बाँकी रहेको कविता पठाउन पुनः अनुरोध गरेँ ।

सम्धी बद्री पाठक र सम्धिनी कान्छा छोरा नवीनको यही मंशिर २६ गते बिहेको लागि अमेरिका सामान पठाउन काठमाडौँ जानुभएको रहेछ । उहाँले फोनमार्फत् जानकारी गराउनुभयो ।

दिउँसोदेखि पानी पर्न रोकिएर घाम समेत लागिसकेका थिए । काठमाडौँमा भने पानी परिरहेको तथा हेटौँडा जाने बाटो पहिरोले अवरुद्ध भएको जानकारी सम्धीले गराउनुभयो । असोजको पहिलो हप्ताको जस्तो ठुलो पानी परेन र कतै पनि जनधनको क्षति भएको समाचार सुन्नुपरेन । यही नै खुसीको कुरा थियो ।

सोलाबाङ ओर्लिने भन्दा भन्दै दिनभर क्वाटरमै बितायौँ । अपरान्ह ४ बजेतिर सोलाबाङ झर्ने भनी हिँड्दै मठसम्म पुग्यौँ । जङ्गी आइरनबाट आगो ताप्ने चुलो लिएर दुईजनाले समातर कनीकुथी मठको ओरालो झर्दै थियौँ । भाग्यवश् सोलाबाङ जाने अटो पाइयो । भाडामा बार्गेनिङ नगरी सोलाबाङ झर्‍यौँ ।

देवकुमारी आमालाई भेट्न र फलफूल दिन डम्बरको घरतिर लागिन् । म आफ्नो घरतिर लागेँ । दुग्ध सहकारीबाट दुध र दही किनेँ । चुलो एक्लै समात्न गाह्रो भयो । देवकुमारी आएपछि दुबैजनाले वरिपरि समातेर चुलो घरमा पुर्‍यायौँ । नयाँ चुलोमा मकैको रोटी पकाई आगो ताप्दै खायौँ ।

२०८३ कात्तिक १५ गते आइतवार

सोलाबाङ, रुकुम

बिहानै उठेर देवकुमारीले मकैका रोटी पकाइदिइन् । दुधसँग रोटी खाएँ । केशवकी पत्नी बितेको ९ दिन भइसकेको थियो । भात खुवाउन जाने फुर्सद मिलेको थिए । रोटी खाएर ८ बजेतिर कइनपानीतिर लागेँ । गाउँमा जिउँदा जन्ती र मर्दा मलामी भन्ने उखान छ । समाजको सदस्य भएको नाताले जन्ती र मलामी जानै पर्ने नियम छ ।  निम्तो नगरी मलाम जानू । निम्तो गरेमा पूजामा जानू भन्ने उखान पनि छ । गाउँमा कोही बित्दा मलामी मात्र होइन किरिया काजको अवधिसम्म आफूले सकेको सहयोग गर्न जाने चलन छ ।

किरिया अवधिमा किरियापुत्रीसँग नदी किनार वा खोला वा धाराको छेउमा किरियाकर्म गर्ने ठाउँमा जाने कामलाई भात खुवाउन जाने भन्ने गरिन्छ । किरियापुत्रीले ३ देखि १३ दिनसम्म मरेका व्यक्तिको सम्झनामा पिण्ड दिन्छन् । गरुड पुराणका अनुसार मरेको व्यक्तिको आत्माले सशरीर स्वर्ग प्राप्ती नगरुन्जेल १३ दिनसम्म विभिन्न भयावह नरकमा यात्रा गर्छ । सो अवधिमा ऊसँग खानेकुरा नहुने भएकोले पिण्ड दिनुपर्छ भनिन्छ ।

मलामीपछि यो भात खुवाउने संस्कृति पनि अनिवार्यजस्तै बनेको छ । पहिले यस्तो दुःखमा कुलभित्रका र छिमेकी मात्र उपस्थित हुन्थे । अहिले टाढाटाढाबाट पनि आउँछन् । राजनैतिक दलका स्थानीय नेताहरूले संवेदना प्रकट गर्न भन्दा पनि संवेदना बटुल्न यस्तो ठाउँमा अनिवार्य जाने गर्दछन् ।

केशवकी दिवंगत पत्नीको किरियास्थल कइनपानी धाराको छेउमा छ भन्ने जानकारी पाएको थिएँ । किरियापुत्री स्थलको लागि नगरपालिकाले गाउँगाउँमा टिनको छाप्रो बनाइदिएको छ ।

म कइनपानी जानको लागि घरदेखि केही पर पुगेको बेला बजारबाट आउँदै गरेका होम सम्धीसँग भेट भयो । उहाँले बिहानैको यात्राको उद्देश्य सोधेपछि मैले भात खुवाउन जान थालेको बताएँ । उहाँले भर्खर ८ बज्दै छ सेरिगाउँबाट बाहुन आउनुपर्ने भएकोले उनी ९ नबजी आइपुग्दैनन् १ घण्टा पछि जानुहोला । अहिले फर्किहाल्नुस् भन्नुभयो ।

यस्तो काममा जानको लागि हिँडिसकेको मान्छेले घरमा फर्कन हुँदैन भन्ने चलन पनि छ । यस कुरामा देवकुमारी अझै कडा छिन् । मैले फर्कन भन्दा कइनपानी नै उक्लने विचार गरेँ । कइनपानीको केही तल घरमा भाउजूले पनि किरियापुत्रीहरू अलि पछि नै आउने जानकारी जानकारी गराउनुभयो । माथितिरको गाउँमा राम्रोसँग घाम पनि पसिसकेका थिएनन् । बाटोभरि शीत परेको थियो । शीतले पाइन्टका बाउला भिजिसकेका थिए । १ घण्टातक पर्खन पनि गाह्रो नै होला भन्ने लागेकोले बजारतिर ओर्लिएँ र केरा तथा चिनी किनेर केशवको घरमै पुगेँ ।

केशव अझै हिरासतमै रहेछन् । अनुसन्धानको प्रकृयामा होलान् । लास पोस्टमार्टमको रिपोर्टले मृतकले आत्महत्या नै गरेको देखिएको भनी गाउँमा हल्ला फिँजिएको छ ।

आँगनमा लहरै कुर्सीहरू राखिएका छन् । चारपाँच जना अलि बिहानै आएर कुर्सी ओगटिसकेका छन् । एउटा कुर्सीमा म बस्छु । यस्तो अवस्थामा नमस्कार वा अभिवादन नगर्ने चलन छ । पहिले आइपुगेकाहरू केही चिनेका र केही नचिनेकाहरू छन् । रामप्रसाद शर्मा बाहुनका जेठा छोरा किरिया गर्न आएका रहेछन् । एउटा कुर्सीमा मृतक दुर्गा खडकाको सानो फोटो राखिएको छ । फोटोअगाडि अबिर र केही आगन्तुकले चढाएका खुद्रा नोटहरू छन् ।

मृतकको घरमा हुने शान्त र स्वाभाविक चहलपहल छ । बाबुआमाको अनुहारमा विषादको चिन्ह देखिन्छ । अकस्मात खनिएको भाउँतो एकातिर र अर्कोतिर आफ्नो जेठा छोरा हिरासतमै रहनुले पीडा थपेको होला । अरूहरूमा स्वाभाविक चहलपहल छ ।

सोलाबाङका अतिरिक्त जुम्लाबाङ काउलेचौर माछिमी धैरेनीचौरलगायतका ठाउँहरूबाट भात खुवाउने मान्छे आइरहेका छन् ।

भात खुवाउने सरसामग्री जुटेपछि किरियापुत्री पण्डित र भात खुवाउनेहरू लामवद्ध भई कइनपानीतिर लाग्छन् । बिचतिर म लाग्छु । माछ्मीबाट आएका लालबहादुर केसीले बिचरा यही असक्त वृद्ध व्यक्तिले किरिया बस्नुपरेकोमा चिन्ता व्यक्त गर्छन् । किरियापुत्रीको उमेर सोध्छौँ ६४ वर्षका मात्र रहेछन् । तर अहिल्यै पनाति जन्मिसकेका छन् । जनातिसम्म देख्ने प्रबल सम्भावना छ । किरियापुत्रीभन्दा उमेर सोध्ने लालबहादुर केसी नै चारपाँच वर्ष जेठा रहेछन् ।

पाँच सात मिनेटमै हामी कइनपानी पुग्छौँ । धाराबाट निकै तलसम्मको गराहरू ढाकेर बडेमानको पिपलको रुख ढलेको छ । यो रुख ढलेको चार पाँच महिना भइसक्यो । व्यवस्थापन अझै भएको रहेनछ । सायद हाँगाबिँगा काट्न वन कार्यालयले अनुमति दिनुपर्ने होला ।

हामी सानै छँदा पनि यो रुख ठुलै थियो । तिजमा यसको हाँगामा पिङको डोरी बाँधेर पिङ खेलिन्थ्यो । हामी पङ्ङै भन्थ्यौँ । बुवाले आफ्नो बाजेले यो पिपलको बेर्ना लगाएको भन्नुहुन्थ्यो । धाराको  दायाँ बायाँ २ वटा रुखहरू थिए । यो रुखभन्दा पूर्वपट्टिको रुख अलि पछि लगाएको जस्तो कमलो देखिन्थ्यो । यो रुखका फलहरू मिठा थिए । काग र चराहरूको आश्रयस्थल थियो । बच्चाहरू पनि खसेका पिपलका फल टिपेर खान जान्थ्यौँ । अर्को पिपलचाँहि आक्चे थियो । पाकेर खान मिल्नेलाई पाक्चे र नपाक्ने तथा खान नमिल्ने फललाई आक्चे भन्थ्यौँ । पिपलका माथिपट्टि गोलाइँची बाँस र अन्य रुखहरू थिए । बिचमा पानीको मुहान थियो र अहिले पनि छ । छेवैमा उत्तर पूर्व र दक्षिणपट्टि घेरिएको गाईवस्तु हिँडाउने गोरेटो थियो । तलपट्टि पोखरी थियो ।

मुहानबाट बग्ने पानीलाई व्यवस्थित गर्न आमाको अध्यक्षतामा गठन भएको आमा समूहले पक्की धारा निर्माण गरेका थिए । धाराको माथिपट्टि पुरातत्त्व विभागले बनाउँदै गरेको निर्माणाधीन शिवालय मन्दिर छ र निर्माण अझै सकिएको छैन । उति बेला पुरातत्त्व विभागमा लेखा अधिकृत म नै थिएँ । सोलाबाङमा कुनै पनि मन्दिर नभएको हुँदा एउटा शिवालय मन्दिर आवश्यक देखिएकोले मैले नै यसको लागि पहल गरेको थिएँ । सुरुमा ४० लाखले २ तले मन्दिर बनाउने प्रस्ताव गरिएको थियो । तर सम्बन्धित मन्त्रालयले काटेर २० लाख मात्र बनाइदियो । ठेक्का खोल्दा भ्याट सहित १३ लाख मात्र प्रस्ताव छनौटमा पर्‍यो । सुरुमा स्थानीय उपभोक्ता समितिबाट यो मन्दिर बनाउने प्रस्ताव गरिएकोमा उपभोक्ता समितिबाट काम गराउन पुरातत्त्व विभाग राजी भएन । उपभोक्ता समितिबाट बनाइएका मन्दिर तथा पुरातात्विक सम्पदाहरू गुणस्तरीय पनि नहुने र विभिन्न अड्चन भएको अवस्था रहेछ ।

ठेकेदारले मन्दिर निर्माण थालेपछि महिला समूहले चरण चरणमा निहुँ झिके । फलस्वरुप ठेकेदारले भनेबमोजिम पूरा काम गर्न सकेन । जति काम गर्‍यो त्यति मात्र भुक्तानी पायो ।

पछिल्लो वर्ष बाँकी रहेको निर्माण कार्य पूरा गर्न बजेट नै परेन । अर्को वर्ष बजेट परे पनि उपभोक्ता समितिले काम गर्न नदिएकोले काम भएन । यसले मन्दिर नै निर्माण नहुने अवस्था सिर्जना भयो ।

मैले पुरातत्व विभागमा पुगेर पुनः अवस्था अवगत गराएपछि गत वर्ष ६ लाखको बजेटको काम भयो भने अहिले ९ लाखको बजेट पारेको छु । ९ लाखले मन्दिरको संरचना निर्माणको साथै अहिले पिपलले भत्काएको किनारा भाग र रेलिङ समेत राखिदिन अनुरोध गरेको छु ।

त्यस ठाउँमा पहिले जिल्ला विकास समितिको रुकुमबाट ५ लाखको योजना पारेको थिएँ । त्यसबाट सानो मन्दिर (डेढ फिट लम्बाइ डेढ फिट चौडाइ र डेढ फिट उचाइ अर्थात् ७ फिट आयतनको) र छेउमा महिला समूह बैठक बस्ने लामो छाप्रो बनाइएको थियो । अहिले ४ फिट लम्बाइ चौडाइ तथा १० फिट उचाइ अर्थात् १६० घनफिटको मन्दिर बन्दै छ । यस हिसाबले पहिलेको भन्दा झन्डै २० गुणा ठुलो मन्दिर हो यो । बैठक र कार्यक्रमको लागि पक्की छाप्रो बनाइए पनि अहिले यो प्रयोजनविहीन अवस्थामा छ ।

पहिले गाईवस्तुले पानी खाने पोखरी भएको स्थानमा अहिले पानी ट्याङ्की बनाइएको छ ।

धाराको पूर्वपट्टि अर्को नयाँ संरचना किरियापुत्री छाप्रो र पक्की आँगन बनाइएको छ ।

यस पिपलका मोटा मोटा जराहरू तलतिर फैलिएका थिए थिए । तर तलतिर बनाइएका पक्की संरचनाले केही जराहरू काटियो र केही जरा चोट परेर कुहिएकोले यो कइनपानी मात्र नभई सम्पूर्ण सोलाबाङको इतिहास बनेको पिपलको रुख अकस्मात ढल्न पुग्यो । नत्र पिपलको २०० वर्षभन्दा बढी आयु हुने मानिन्छ । मेरो बुरा बाजेले पिपल लगाएको भए यो रुख १२५ वर्षभन्दा बढी उमेरको थिएन ।

भात खुवाउने ठाउँमा भात खुवाउन आउनेहरू थपिँदै गएका थिए । सुरुका दश पन्ध्रबाट पच्चीस तीसजना पुगिसकेका थिए । यस्तै भात खुवाउने अन्य ठाउँमा आगन्तुकहरू सय नाघ्थे । तर यो दुर्घटनालाई चारैतिरबाट शङ्का र उपेक्षाको दृष्टिले हेरिएकोले भात खुवाउन आउनेहरू कमै रहेको अड्कल गर्न सकिन्छ ।

किरियापुत्रीले दाउरा सामा गर्नुपर्ने अवस्था देखाई पिण्ड पकाउन र भात पकाउन निकै ढिला गरिरहेका छन् । पुरेतले भनेअनुसार भात नपकाई काज किरिया किरियापुत्रीको अडान रहेकोले किरियाकर्म अघि बढ्न सकेको छैन । किरियापुत्री पर्शराम खडका मिहिनेती कृषक र गोठाला पनि हुन् । यिनले डाँरामाथिको गोठ भन्ने ठाउँको आसपासको जङ्गलसहितको जग्गा आफ्नो नाममा कायम गरेका छन् भन्ने सुनिन्छ । जङ्गलमा गाईवस्तु चराउने र अक्सर गरी जङ्गली काठबाट दाउरा र दारहरू बनाउँदै आएको गाउँलेहरू बताउँछन् । अतः उनलाई किरियाको लागि दाउरा सामा गर्नुपर्ने अवस्था त होइन । तर उनको अडान पनि अच्चम्मको देखिन्छ ।

भात खुवाउन आएकाहरूले तास खेल्न थाल्छन् । मृतकको घरमा बसिलाग्न जाने र भात खुवाउन जानेहरूको प्रमुख काम तास खेल्ने नै हुन्छ । यो धेरै पहिलेदेखिको प्रचलन हो । केही मान्छेहरू त तास खेल्नकै लागि पनि भात खुवाउन वा बसिलाग्न जाने कर्तव्य निभाउँछन् ।

तास खेल्ने र हेर्नेहरूको हाँसोले यहाँ शोक होइन मेला छ भन्ने छनक देखिन्छ । पीडाको लेस कतै पनि देखिँदैन । पीडितको घरमा पीडाले ठाउँ लिएको हुन्छ तर भात खुवाउनेहरूले भने त्यो बिर्सन्छन् र मनोरञ्जन स्थल बनाउँछन् ।

यस्तो ठाउँमा गाउँका लाटालाटीहरू जसको घरमा त्यति काम पाउँदैनन् उनीहरू पनि नियमित रूपमा जम्मा भएका हुन्छन् । आज पनि छानेघरको सेते लाटो, कइनपानीको साइँलो, ढेप्री साइँलो आएका छन् ।  हिमाला लाटा, बाखा हिमाल, झाँक्रीको लाटो पनि आउने गर्थे तर उनीहरू उमेरले असक्त हुँदै गएपछि अरूले ठाउँ लिएका छन् । जहाँ पनि पुग्ने गैराघरको लाटा आएका छैनन् । गहुँ छर्ने काममा व्यस्त हुनुपर्दा उनी नआएका होलान् । उनीहरू आफैँ थाहा पाएर आउँछन् वा घरमा यिनीहरूको खासै जिम्मेवारी र काम नहुने भएकोले यस्तो काममा पठाउँछन् सम्बन्धित परिवारले जानून् ।

भात खुवाउने ठाउँ तासको हल्लीखल्लीका अतिरिक्त यस्तै लाटाहरूलाई जिस्काउनको लागि केन्द्रित हुन्छ । आफूलाई जिस्क्याइँदा लाटाहरूले पनि बाठाहरूलाई मनपरी भन्ने गर्दछन् । यस्तो ठाउँमा महिलाहरूको उपस्थिति नहुने हुँदा यस्ता भनाभनमा व्यङ्ग्य, मर्यादाहीन र अश्लील वाच्य प्रयोग गरिन्छन् । तास खेल्नेहरूको हाँसोलाई यस हाँसोले मिचिदिन्छ । पुरेत किरियापुत्रीले पनि यतै हेरिरहेका हुन्छन् । तर लाज शरम हुनेहरू भने आँखा चिम्लन बाध्य हुन्छन् ।

पुरेत किरियाकर्ममा नभई कतै मेलामा जान ठाँट परेका जस्ता देखिन्छन् । टाउकोमा क्याप छ र गलामा गलबन्दी । जिउमा बाक्लो ज्याकेट र तल जिन्स पाइन्ट लगाएका छन् । जुत्तामोजासहित उभिई उभिई किरियाकर्मको विधि पुर्‍याइरहेका छन् । किरियापुत्रीले पनि त्यसरी नै अत्यन्तै उपेक्षात्मक भावमा किरिया गर्दै गरेका देखिन्छन् । पहिले किरियापुत्री पर्शरामले बेलुकातिर रक्सी खाएर मात्तिने गर्थे र गाउँलेलाई भए नभएको गाली फलाक्दै हिँड्थे । अहिले कसैको मुखमा हेर्न नसक्ने भएका छन् । यस अकल्पनीय दुर्घटनालाई उनले कसरी हेरेका होलान् उनैले जानून् ।

२ घण्टापछि । किरियापुत्रीले सिल्पटको बटुकामा पिण्ड पकाएर पिण्ड चराउँछन् । पित्तलको सानो ताउलीमा आफैले पकाएको भात खाएर  किरियामा प्रयोग भएका पात दुना टपरी सुख्खा खोलामा मिल्काएपछि भात खुवाउने काम सम्पन्न हुन्छ ।

यस्तै किरिया मृतक दुर्गा खडकाको माइतीमा पनि भइरहेको कुरा कसैले सुनाउँछ । बच्चालाई हुर्काई बढाई लेखाई पढाई छोरीको सुख देख्न पाइएला भन्दा यस्तो घटना भएपछि मृतकका आमाबा र माइतीतिरका आफन्तहरूलाई कति पीडा भएको होला । घर कति पीडाले आक्रान्त छ होला । कति सुनोसुनो छ होला उनको माइतीघर । उनको माइतीमा जानको लागि इष्टपक्षका गाउँलेहरू डराइरहेको स्थिति छ ।

भात खुवाउने काम सकिएपछि ठुल्दाइको घर हुँदै आफ्नो घरतिर फर्कन्छु । भाउजूले तरकारी टिपिदिएर राखिदिनुभएको रहेछ । ल्याउँछु ।

घरमा दिनभरि मकै जिलाउने काम गर्छु । आज सासूआमा हाम्रो घरमा आउनुभएको छ । धन दिदी पनि आएर कुराकानी गर्नुहुन्छ । सासूआमालाई असक्तावस्थामा यस्तै कुरा गर्ने मान्छे आफ्नो नजिक आइदेओस् भन्ने चाहना धन दिदीले पूरा गरिदिने भएकोले दिदीलाई देखेपछि सासू खुसी हुनुहुन्छ । चुरोट सकिएछन् क्यारे सासूलाई तलतल हुन्छ । एक दिनमा १ प्याकेट चुरोट पिएर सक्नुहुन्छ । चुरोट सकिएकोले दिदीले नै बजार पुगेर चुरोट ल्याइदिनुहुन्छ । दिदीको भनाइअनुसार सासूले ४० रुपैयाँ दिनुभएको छ । त्यति धेरै पैँसा दिएर यति मात्र चुरोट किन आयो भनेर सासूले गनगन गर्न थाल्नुहुन्छ ।

बेलुकाको भर्चुअल रचना वाचन कार्यक्रमको तयारी गर्छु । भर्चुअल कार्यक्रममा आउन चाहनेलाई मात्र लिङ्क शेयर गर्दछु ।

अपरान्हतिर फेरि मकैको डाँठ जिलाउने काम गर्न थाल्छु । एउटा बलियो खालको मकैको नल्ठा भाँच्नखोज्दा चोइटिएर बुढीऔँला गहिरो गरेर काट्छ । काम रोकिन्छ । तेलबेसार लगाएर टालोले बुढऔँला बान्छु । फुर्सदको बेला ल्यापटप समातेर किबोर्डको स्पेसबार हान्ने बुढीऔँला थला पर्दा अरू औँलाहरूलाई पनि पीडा थपिन्छ । ल्यापटपमा काम गर्न नसक्दा छट्पटी भइरहन्छ ।

सासू घरतिर जानुहुन्छ । देवकुमारी शोक परेका केशवको घरतिर जान्छिन्  । फर्किएपछि खाना पकाउने काम उनले नै गर्नुपर्ने हुन्छ । म कार्यक्रमको तयारीमै लाग्नुपर्ने हुन्छ ।

बेलुका साढे ७ बजे अठारौँ रचनावाचन कार्यक्रम सुरु हुन्छ । मनलाल ओलीको अध्यक्षतामा र प्रेम चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु हुन्छ । आजको रचना वाचक  एक्कबहादुर केसी हुनुहुन्छ । स्रोतामा कविन्द्र पुन गणेशा कार्की प्रेमा सिर्पाली भीम बुढाथोकी कमानसिँह विष्ट पुष्पा आचार्य अर्जुन कुमार ओली शशिराम घर्ती बालाराम ओली आदि लगायत १४ जना उपस्थित हुनुहुन्छ । एक्कका कविताहरू दमदार छन् । प्रेम चौलागाईले गहन समीक्षा गर्नुहुन्छ । कार्यक्रम सक्दा रातको साढे नौ बजिसक्छ ।

२०८३ कात्तिक १६ गते सोमवार

सोलाबाङ, रुकुम

बुढीऔँलामा घाउ भएर टालो बाँधे पनि गहुँ छर्ने काम छिटै गर्नुछ । भोलि कमला बुहारीले ट्याक्टरले जोतिदिने कुरा छ । नल्ठा जिलाएपछि मल बोक्नु छ । अतः घाइते औँलाले बिहानैदेखि घोगा नल्ठा जिलाउन थाल्छु ।

धन दिदी आँगनमा आइपुग्नुभएको छ । एकछिन पछि कान्छी आमा (दोकाने कान्छी) पनि आउनुहुन्छ । दिदीले मन दिदीको घरमा एक्लै बस्नुका विभिन्न समस्याहरू भन्न थाल्नुहुन्छ । भुतले बारम्बार तर्साइरहेको चोरले सताइरहेको बदमाश मान्छेले ढोका हान्ने गरेको आदि आदि । कान्छी आमाले यही घरको पहिलेको कोठामा बसाल आफ्नै दिदी हो । आमाबाको पालादेखि बसिरहेकीलाई तिमीहरूले लखेट्यौ भनेर मसित गुनासो गरिरहन्छे । मान्छेले बाहिरका मान्छेलाई बास दिन्छन् तिमीहरूले आफ्नै दिदीलाई पनि किन पाल्न सक्दैनौ भनेर रिसाएर प्रश्न गर्नुहुन्छ ।

यो घरमा राख्दा पनि तपाईँलाई सुक्ख हुँदैन । हरेक दिन हामीलाई मेरो सामान हरायो । ताल्चा फेरियो । ताल्चा खुलेन । तिमीहरूले नै चलायौ होला भनेर सामान चोरेको आरोप लगाइरहनुहुन्छ । तपाईँलाई अन्तै बसिरहँदा बुढेसकालमा झन् आपत पर्न सक्छ । सुटुक्क घरमा गएर छोराबुहारीसँग मिलेर नातिनातिनाहरू हेर्नुहोस् भनेर देवकुमारीले सुझाव दिन्छिन् ।

दिदीले छोराबुहारीकहाँ  त मरेकाटे जान्न भन्नुहुन्छ ।

म नल्ठा भाँच्दा भाँच्दै आँगनमा जान्छु र दिदीलाई सम्झाउँछु । कान्छीआमाको घरको भान्छा खुलै हुन्छ । मानबहादुर काकाको घरको ढोकाहरू पनि बन्द हुँदैनन् । त्यहाँ कोही पस्दैन । कसैले चोर्दैन । तपाईँकहाँ आउने भुत किन हामीकहाँ आइपुग्दैन ?  कि छोराबुहारी कहाँ जानुहोस् कि वृद्ध भत्ता ल्याउनकै दिनमा दाल चामल किनेर ल्याउनुहोस् । हामीलाई आधा रोपनीमा लगाएको अन्न ६ महिना खान पुग्छ । तपाईँ एक्लीलाई आमाबाले नै दिएको २ रोपनी जग्गाको अन्न वर्षदिन पुग्नुपर्ने हो । थैलामा कोचेर किन कुहाउनुहुन्छ ? पैँसा र अन्न साँचेर भोलि खुत्रुक्क भइयो भने अरूले नै खाने हुन् भनेर सम्झाउँदा दिदी भागेर जानुहुन्छ । दिदीलाई भनेर पकाएको खाना खान पनि आउनुहुन्न । सिफारिस गर्न आएकी कान्छीआमा अँध्यारो मुख लगाएर फर्कनुहुन्छ ।

देवकुमारीले कान्छीआमाको पिठपछि भन्छिन् उहाँ पनि त एक्लै बस्नुभएको छ । उहाँका छोरीजुवाइँले आमालाई घरमा आउन दिँदैनन् । बरु हामीलाई सम्झाउनुभन्दा आफ्नै छोरीजुवाइँलाई सम्झाए हुने ।

मृत्यु संस्कारप्रतिको देवकुमारीको एलर्जी छ । उनी मलामीलाई हेर्न सक्दिनन् । लासलाई हेर्न सक्दिनन् । कसैको मृत्यु हुँदा अहिले हरेक घरका पुरुषहरू मलामी जान्छन् र महिलाहरू मृतकको लुगा जलाउन जाने गर्दछन् । तर उनी आजसम्म पनि कसैको मृत्यु हुँदा लुगा जलाउन गएकी छैनन् । सकभर मलाई पनि मलामी जानबाट रोक्न खोज्छिन् । मलामी गइसकेपछि नुहाइधुवाइ गरेपछि मात्र घरभित्र पस्न दिन्छिन् ।

केशवको परिवारलाई ठुलाघरको मेल भनिन्छ । ठुलाघरको मेलमा होमबहादुर सम्धी पनि पर्नुहुन्छ । बिहान उहाँ घरअगाडि देखिँदा मैले नमस्कार टक्र्याएँ तर जुठो परेकोलाई ढोक गरेको देवकुमारीले आपत्ती जनाइन् । जुठो परेकाहरूसँग छोइन नहुने  उनीहरूले दिएको लिन वा खान नहुने जुठो परेको घरमा वा किरिया स्थलमा गएर शुभकार्य सम्बन्धी कुरा गर्न नहुने भनेर उनले सुझाव दिइन् ।

बारीमा हाल्नको लागि भैँसीको मल दिन कमला बुहारी राजी भइन् । दिनभर मल बोक्ने काम भयो । घर नजिकैबाट मल पाएकोले थोरै समयमा धेरै डोका मल बोकियो । देवकुमारीले डोकोमा मल जगाइन् । मैले बोक्ने काम गरेँ । थकाइ पनि उति लागेन । जिलाएर थुपारिएका नल्ठामा आगो लगाउने काम पनि भयो ।

नल्ठा जलाउँदा अस्ति आँसी हराएको थियो । धन दिदीले पाउनुभएछ । यो आँसी कसको हो भनेर नजिकै दाइँको तयारी गरिरहेका दाजुभाउजूलाई सोध्नुभएछ । भाउजूले आफ्नै हो भन्नुभएछ र आफैले लिनुभएछ । देवकुमारीले आफ्नो आँसीलाई अर्कैले आफ्नो भनी लगेकोमा गनगन गरिरहिन् ।

दिउँसो राजेश्वर कार्की सरसँग फोनवार्ता भयो । कात्तिक १९ गते नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट प्रकाशित हुने कलाश्रीको विमोचन तथा रचना वाचन कार्यक्रम राखिएको र सो कार्यक्रममा जसरी पनि उपस्थित हुन पुनः सम्झाउनुभयो । मैले सकभर उपस्थित हुने आश्वासन दिएँ ।

बिहान घरमा देवकुमारीले रोटी पकाउँदे थिइन् । धन दिदी र कान्छीआमा आएर रोटी पकाइरहेको बखत लामै समय बसे । कान्छीआमाले दिदीलाई रोटी देऊ भनेर सिफारिस गर्नुभयो । तर देवकुमारीले रोटीको लागि किन अरूको सिफारिस चाहियो भनेर झन् उल्टै रोटी पकाउँदै राख्दै गरिरहिन् । दिदीलाई सम्झाउँदा भागेर गएकोले उहाँको लागि पकाएका रोटी बाँकी नै थिए ।

मैले यसरी बासी राख्नुभन्दा  एउटा रोटी दिएको भए पनि हुने । कुकुरलाई पनि रोटी दिइन्छ । यिनी त मान्छे हुन् । आफ्नी साख्खै दिदी हुन् भनेर देवकुमारीलाई सम्झाएँ । तर देवकुमारीले कुकुरले कलो दिएपछि गुण मान्छ । आशा गर्छ । अरूलाई भुकिदिन्छ । घरको रखवारी गरिदिन्छ । तर धन दिदीलाई खुवाएको न त गुण छ खाएर निस्कने बित्तिकै गाली गर्न थाल्नुहुन्छ । घरको सिन्को भाँच्ने काममा पनि अघि सर्नुहुन्न भनेर मलाई नै सम्झाउन खोजिन् ।

बेलुका देवकुमारी आमालाई भेट्न डम्बरको घरमा गइन् । फर्किएर सरफमा भिजाएका कपडामा पानी हालेको । बिछ्यौना नमिलाएको । खाना नछोपेको । यता राख्नुपर्ने सामान उता राखेको । लुगा अर्को लगाएको । जथाभावी लुगा फालेको भनेर गनगन गर्न सुरु गरिन् ।

घोस्टराइटिङका अध्यक्ष कमल ढकालले रेणु यादवको आत्मकथाको सम्पादनको जिम्मा दिनुभएको थियो । आजदेखि सम्पादनको काम सुरु गरेँ । सिर्जनाले ट्रान्सक्राइब गर्नुभएको रहेछ । अशुद्धि निकै कम थिए । सो सम्बन्धमा सौरभ सापकोटासँग फोनवार्ता भयो । नगेन्द्र लामाले डीआर निरौलाको आत्मकथा आकाश यात्राको दोस्रो संशोधनको बारेमा सोधपुछ गर्नुभयो । मैले आफूले गरेको कामको बारेमा फेरि बताइदिएँ ।

आज किरण बहिनी काठमाडौँबाट आएकी रहिछन् । हामीलाई भेट्न आइपुगिन् ।

बेलुका नुहाइधुवाइ गरी आराम गरियो । राति जितबहादुर शाहसँग फोन वार्ता भयो । खास गरी जितबहादुर शाहले मेरो कृति स्तब्ध शब्दहरूको समीक्षा प्रकाशित भएपछि सो लेखमा मेरो कुनै कमेन्ट नआएकोले फोन गरेको हुनुपर्छ । मैले कमेन्ट लेखिदिएँ । शशिराम कार्कीसँग पनि फोन वार्ता भयो । देवरात महाकाव्यलाई नाटकमा रुपान्तरण गरी प्रदर्शन गर्ने सम्बन्धमा थप कुराहरू भए ।

Loading

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts