२०८३ भाद्र १ गते सोमवार
सोलाबाङ रुकुम
आज नागपञ्चमी । बिहान उज्यालो नबस्दै नाग टाँस्न र धार हाल्नको लागि दुध र गोबर ल्याउन ठुल्दाइको घरमा पुगेँ । मभन्दा पहिल्यै एक तन्नेरी आएर बसेका रहेछन् । उनले हातमा ढोक गरे । नयाँ युवक को होलान् भन्ने कौतुहलता जाग्यो तर तत्कालै सोध्न अप्ठ्यारो लाग्यो । म निकटतम् आफन्तजन र उनका सन्तानहरूलाई पनि प्रायशः चिन्दैन । गाउँका बुढा पुराना मानिसकहरू पनि नचिनिने भइसके । प्रायजसो तन्नेरीहरू वैदेशिक रोजगारी र सरकारी कर्मचारीको रूपमा विभिन्न जिल्लामा छन् । आफ्ना समकालीन साथीहरू किसानहरू छन् । उनीहरूसँग पनि आफ्नै कार्यव्यस्तताले भेट हुँदैन ।
उनी गएपछि सोधेँ । को तन्नेरी हुन् यिनी भनेर । भुपू प्रहरी टेकबहादुर खडकाका छोरा हुन् । उनी जीवित छउन्जेले सबैभन्दा बढी मैसँग मिल्थे । एक पटक आफ्नै घरमा रक्सी खाइरहेको बेला बाहिर निस्कँदा भर्याङबाट लोटेछन् । मुन्टो लोट्दा मुन्टो भाँचिएकोले तत्कालै निधन भएछ । उति बेला म काठमाडौँमै थिएँ । छोराको पनि स्वभाव काटीकुटी बाबुकै रहेछ ।
ठुल्दाइको घरबाट गोबर र गाईको दुध ल्याएर घरमा नाग टाँसेर दुधको धार हालिदिएँ । मन दिदीको घरमा पनि पुगेर नाग टाँसिदिएँ ।
आज डिग्रे साईकुमारी भगवतीको दर्शन र पूजाको लागि डिग्रेतिर जाने कार्यक्रम मिलाएका थियौँ । परीक्षित र देवकुमारी परीक्षितको बाइकमा गए । म अटो चढेर शीतलपोखरीसम्म गएँ । शीतलपोखरीबाट हिँड्दै जाँदा परीक्षितहरूले भेट्टाए र ठाराढुङ्गाबाट ३ जना परीक्षितको बाइकमा उक्लियौँ । सानोडिग्रेबाट उता बाटो अलि बिग्रिएकोले डिग्रेको गेटबाट म हिँड्दै गएँ । देवकुमारीलाई लिएर परीक्षित डिग्रे गयो । थर्पु पुगेपछि मलाई पनि लिन परीक्षित बाटोमा आइपुग्यो ।
३ जनाले डिग्रे साईकुमारी भगवती माईको दर्शन र पूजा अर्चना गर्यौँ । परीक्षित अस्पत्तालतिर लाग्यो । हामी सोलाबाङतिर झर्यौँ । डिग्रेबाट ठुल्दह नजिकै पर्ने भएकोले हेर्न जाऊँ भन्दा देवकुमारीले मानिनन् । घरमा आएर मकै भाँच्यौँ । ठुल्दिदीले मकै सोगर्ने र उधार्ने काममा सहयोग गर्नुभयो ।
बेलुका परीक्षितले देवीको घरबाट घ्यु ल्याएर आएकोले घियाँ सक्रान्तिको औपचारिकता पूरा गर्यौँ ।
सोलाबाङ रुकुम
काँचा मकैमा ढुसी पर्न थालेको । ३ दिनदेखि घामको दर्शन नपाइएको । मकै सोगर्ने र उधार्ने काम । कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तकको सफ्टकपि पठाइदिनको लागि जितबहादुर शाहको फोनबाट ताकेता । घरको काम सँगसँगै पाठहरूको पुनरावलोकन गर्दा देवकुमारीको गनगन । मनलाल ओलीलाई बिहानै सोलाबाङ बोलाएर हार्डड्राइभमा कक्षा १ देखि ८ सम्मकै फाइलहरू सारिदिएको ।
२०८३ भाद्र ३ गते बुधवार
मध्यपहाडी लोकमार्ग
बिहानै उठेर देवकुमारीको सुगर जाँच्न सोलाबाङ चुडामणिको मेडिकलमा । फास्टिङमा १४८ देखाएको । १००० एमजीको मेट्रोफर्मिन खाँदा खाँदै र बिहान बेलुका इन्सुलिन लगाउँदा लगाउँदै अझै बढ्नु चिन्ताजनक नै हो ।
आज सल्ले अस्पत्तालमै पुगेर सुगर जचाउने योजना थियो तर धेरै दिनदेखि घामको दर्शन नपाइएको अवस्थामा आज आकाश खुल्ला थियो । चारैतिर स्वच्छ वातावरण थियो । भाँचेका मकै र बोटमै भएका मकै निरन्तर वर्षातले कुहिने अवस्थामा पुगेका थिए । एक दिन घाम लागे हुन्थ्यो भनी कामना गरिरहेको अवस्थामा आज घाम लागेका थिए । घामको अवसरलाई छोडेर सल्ले जान किमार्थ सकिँदैनथ्यो ।
बिहान चिनी हालेको चिया अब खाँदिनँ भनेर कालो चिया खाइन् तर बाँकी रहेको चिनी हालेको चिया रोटीसँग खाइन् । आलु केरा आँप बिस्कुट भेटेपछि कुनै पनि छोड्दिनन् ।
यो हप्ता काठमाडौँ जानै पर्ने भएकोले डेबिट गौतमलाई फोन गरेर गाडी र बाटोको अवस्थाको जानकारी लिएँ । डेबिटले आजै जानेभए पनि सिट मिलाइदिन्छु भने । मैले देवकुमारीलाई १० गतेभन्दा पहिले काठमाण्डौ पुग्नु नै छ, आजै जाऊँ कि त भनेर सोधेँ । उनले आफू पनि बिरामी परिरहेको तपाईँ पहिल्यै गएपछि एक्लै आउन मलाई समस्या पर्छ तसर्थ आजै नजानुस् । घरको काम सकेपछि १ हप्तापछि सँगै जाउँला भनिन् । मैले आज मौसम पनि खुलेको छ ! एक हप्तामा घरको काम सबै सकिँदैन । म अफिसियल कामले जसरी पनि काठमाडौँ जानु नै छ भनेर फेरि जिद्दी गरेँ । देवकुमारीले तुरुन्तै काठमाडौँ जानैपर्ने तपाईँको काम के नै पो होला र आज नजानुस् भोलि बिहानै जानुहोला भनिन् ।
ढिपी गर्न थालेपछि मेरो नछोड्ने बानी छ । मैले अस्मितालाई लगिदिनको लागि हरिया मकै भाँच्न थालिहालेँ । आजै भाँचिएका हरिया मकै भोलिसम्म त बासी भइहाल्छन् । देवकुमारीलाई हुन्छ जानुस् भन्नुपर्ने बाध्य बनाएँ । देवकुमारीको मन दुखाई दुखाई नजाऊँ कि त भन्ने पनि लाग्यो । तर मन दरो गराएँ ।
एक दिन त सधैँको लागि छोडेर जानु नै छ । क्षणिक बिछोडको लागि मन दुखाउनेलाई के भन्नु र खोई । मन त आफ्नै पनि दुखिरहेकै थियो । तर सम्पत्ति विवरण समयमै बुझाउनुपर्ने काम पेन्सनको काम र खासगरी केपीएनको आत्मकथाको कामको जिम्मा लिएर त्यसलाई अन्तिम रूप दिन केपीएनका छोरा विपुलले मेरै उपस्थितिको पर्खाइमा हुनुहुन्थ्यो । उहाँलाई पटक पटक कमल ढकाललाई भन्नुहोस् त्यसै कामको लागि घोस्टराइटिङका कर्मचारीहरू थुप्रै छन् भनेँ । उहाँले सुरुदेखि तपाईँले नै हेरिदिएकोले अन्तिममा पनि तपाईँले नै हेरिदिँदा राम्रो हुन्छ । तपाईँ आउनै नसक्ने हो भने कमलजीलाई र कर्मचारीहरूलाई कुरा गरिदिनुस् भन्नुभयो । सौरभ सापकोटाले फोन नै उठाएनन् । मेरो आकस्मिक र लामो अनुपस्थितिले कमलजीलाई पनि राम्रो लागेको छैन । आफैले जिम्मा लिएको कामलाई अरूबाट गराइदिनुस् भनेर मैले कुरा गर्नसक्ने अवस्था नै छैन ।
केपीएन (कुलप्रसाद न्यौपाने) प्यारालाइसिसले थलिनुभएको छ । आफ्नो जीवनकालमै आफूले मिहिनेत गरेको कृति आफ्नै आँखाले हेरेर आफ्नै हातले वितरण गर्नपाए हुन्थ्यो भन्ने उहाँको उत्कट इच्छा मेरै कारणले अधुरो रहन्छ कि भन्ने मलाई ठुलो भय छ । तसर्थ पनि देवकुमारीको मन दुखाएरै भए पनि आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छु ।
डेबिटले ११ बजे नै शीतलपोखरी आइपुग्नुहोस् नत्र बस छुट्छ भनेर फोन गरिरहका छन् । सोलाबाङमै पौने ११ बजिसक्यो । देवकुमारीले अस्मितालाई लगिदिनको लागि दालहरू तयार गरिन् । मैले झोला सत्याएँ । ठिक ११ बजे हामी सोलाबाङ बजारमा पुग्यौँ । जानेबित्तिकै खलङ्गा जाने अटो भेटियो । देवकुमारीसँग सजल नेत्रले बिदा भएर म साढे ११ बजे शीतलपोखरी पुगेँ । काठमाडौँतिर जानको लागि खलङ्गाबाट छुटेका लगातार ५ वटा गाडीहरू आइपुगे र शीतलपोखरीबाट छुटे । कमलताल यातायात प्रालिको ३४६२ नम्बरको कमलताल डिलक्स नामको स्लिपर गाडी आइपुग्दा साढे १२ बज्यो । मलाई बी साइडको ७ नम्बर सिट दिइएको रहेछ । गाडी चढेपछि १ किलोमिटर पर रहेको पेट्रोल पम्पमा गाडी रोकियो । कारण बुझ्दा अरू यात्रीहरू पनि आउँदै गरेका रहेछन् । साढे १ घण्टा गाडीमै बसेर यात्राको प्रतीक्षा गरिरह्यौँ । थप २ जना यात्रीहरू चढेपछि २ बजेतिर काठमाडौँको यात्रा सुरु भयो । साँखको ऋणदह पुगेर ओरालो लागेपछि दृश्य फेरियो । केही तल पुगेपछि जिल्ला र प्रदेश पनि फेरियो । ३ बजे रुकुमकोट पुगियो । केही यात्रीहरू रुकुमकोटबाट पनि चढे । खाना खान खारबाङ बगरमा पुगियो । सँगै बसेका युवासँग यतिखेरसम्म कुनै बोलचाल भएको थिएन । खाजा खाएर गाडी चढेपछि कुराको पोयो खुल्यो । उनी मेरै विद्यार्थी तथा कोलेनिकाका लेखापाल सुधा केसीका भदाहा रहेछन् । यही निहुँमा सुधाजीसँग पनि फोनबाट कुराकानी भयो । छेउमा आफैले चिनेका मान्छे परेपछि यात्रा सहज लाग्न गयो ।
बुर्तीबाङ पुगेपछि कन्डक्टरले भाडा मागे । डेबिटले भाडा २५०० लाग्नेछ भनी पहिल्यै बताएका थिए । तर मैले मुग्लिन झर्ने बताएँ र खल्तीबाट २००० नोट झिकेर दिएँ । कन्डक्टरले २२०० लाग्ने बताए । मैले मसँग अरू पैँसा छैन त्यति हो २००० मात्र भाडा लिनुस् भनेँ । कन्डक्टरले उल्टै मलाई ८०० रुपैयाँ फिर्ता दिए । म अलमलमा परेँ । गोजीका सबै पैसा झिकेर हिसाब गरेँ । १००० का २ नोट दिएँ भनेको त ३ वटा नोट पो दिएछु । कन्डक्टर इमान्दार नै रहेछन् । उनले पैँसा फिर्ता नदिएको भए मैले बाटोमा हिसाब गर्ने थिइनँ । मुग्लिन झरेपछि अर्को गाडीलाई भाडा तिर्दा मात्र पत्ता लाग्ने थियो । मैले भगवानलाई धन्यवाद् टक्र्याएँ ।
खाना खान राति ९ बजे बाग्लुङको थाम टावरमा पुर्यायो । पोखरा बिहानको १ बजेतिर पुगियो । भर्खरै बनेको २ लेनको बाटो हुँदै मुग्लिन पुग्न २ घण्टा पनि लागेन । मुग्लिन झरेर केही छिन पर्खिएपछि सुनौली जाने रित्तो गाडी भेटियो । त्यसैमा नारायणघाट पुगेँ ।
२०८३ भाद्र ४ गते विहीवार
दुवाकोट भक्तपुर
एउटा भ्यानमा चढेर चौबिसकोठी पुगेँ । ४ पनि बजेको थिएन । बिहानै किन डिस्टब गर्ने भनेर झोलामाथि अस्मिताको लागि कोसेली तयार गरेको बोरा अड्याएर लकालक पिपलचोकतिर सोझिएँ । एउटा अटोले ५० रुपैयाँमै पिपलचोक पुर्याइदिन्छु भनेपछि भारीसँगको हिँडाइबाट मुक्ति पाएँ ।
अस्मिता उठिसकेकी थिई । बिस्तारै जुवाइँ र सम्धिनीको आमा पनि उठ्नुभयो । नातिराजा उठेर मसँगै आएर सुते । अस्मिता बिहान ८ बजे नै अस्पत्तालको ड्युटीमा गई । प्रवीरले आज हेटौँडा जाने जिद्दी कसे र आफ्नो स्कुल गएनन् ।
सम्धीहरू बुटवल जानुभएको रहेछ । उहाँहरूसँगै हेटौँडा जाने प्लान बनाएँ । रुपाको साइँलोबुवा वंशगोपाल मावि चौघडाका प्रअसहित ११ बजेतिर सम्धी आइपुग्नुभयो । खाना खाएपछि सम्धिनीको फुपूको छोरीको क्यान्सर हस्पिटलमा ट्युमरको अपरेशन भएको रहेछ । भेट्न गयौँ । अस्मिताको व्यस्तताको कारणले भेट हुन सकेन ।
अस्पत्तालबाट कोठामा फर्किनेबित्तिकै प्रविण बाबु र प्रवीर नातिसहित ७ जना हेटौँडातिर रवाना भयौँ । नेवारपानी भन्ने ठाउँमा विश्रामस्थल पेट्रोल स्टेशन रेस्टुँरालगायत विदेशी स्टाइलका सुविधाहरू रहेको नेवारपानी होटेल खुलेको रहेछ । हामीले पनि विश्रामको सुविधा उपभोग गर्यौँ ।
२ बजे सम्धीको घरमा पुगियो । बुवा सम्धी र सम्धिनीहरूले बाहिर बसेर मकै छोडाउँदै हुनुहुन्थ्यो । बुवा सम्धी स्वस्थ नै देखिनुभयो । झन्डै ८२ वर्ष पुगेका बुवा सम्धीको स्वास्थ्यमा समस्या आएर केही समयदेखि बिरामी हुनुहुन्थ्यो । हेटौँडा छोरीको घरमा नगएको लामो समय भइसकेको थियो । सम्धिनी पनि बिरामी परिरहनुभएको थियो । भेट्न जाने समय मिलेको थिएन । यसपालि अवसर मिल्यो । सुक्खदुक्खका कुराहरू भए । हेटौँडामै बस्ने राम पाठक र काठमाडौँको जोरपाटीमा बस्ने नारायण पाठक सम्धीहरू पनि बुवालाई भेट्न आउनुभयो ।
भोलि काठमाडौँमा सम्पत्ति विवरण दर्ता लगायतका कामहरू गर्नको लागि आजै काठमाडौँ फर्कने बताएँ । जुवाइँले टिकटको कुरा गरिदिनुभयो । साढे ४ बजे हेटौँडाबाट एउटा इभीमा चढेर काठमाडौँको यात्रा थालनी गरियो । जुवाइँ आफ्नो अफिस भीमफेदीतिर लाग्नुभयो ।
गाडीमा यात्रुका नाउँमा एकजना बच्चीसहित ३ जना मात्र थियौँ । चालक निकै गफाडी रहेछन् । हरेक कुरामा ‘माँ स्साला’ थेगो प्रयोग गर्ने । देउराली पुग्दासम्म यात्रु नपाइनुको गुनासो हामीसित पोखिरहे । देउरालीबाट एक हातले आफ्ना साथीहरूलाई फोन गर्ने र अर्को हातले स्टेरिङ घुमाउन थाले । अत्यन्तै साँगुरो बाटो बाक्ला गाडीहरू अँध्यारो बढ्दै गएको कारणले हाम्रो बिच बिचमा सातो पनि खाइरहे । हेभिबाट सिस्नेरीतिर लाग्ने भनेका फाखेलतिर लागे ।
सिस्नेरीतिरबाट जाने भनेको होइन र भनी सोधेको जवाफ पनि उनले दिने फुर्सद पाएनन् । साथीहरूसँग मच्चीमच्ची कुरा गर्थे । कतै रोष प्रकट गर्थे । जसलाई पनि गोद्नुपर्छ । सिध्याउनुपर्छ भन्ने बाहेक अर्को कुरा गर्दैनथे । कुनै कुनै बेला त स्टेरिङ नै छोडिदिएर मुड्कीसमेत कस्ने र गाडीमा बजार्नेसमेत गर्दथे ।
बच्चीबाहेक हामी २ जना मात्र यात्री । उनको बोलीबाटै तर्सिसकेका थियौँ । एउटासँग कुरा सकेको मौका पाउनेबित्तिकै मैले फेरि सोधिहालेँ बरु सजिलो त सिस्नेरीकै बाटो थियो होला ।
उनले फाखेलको बाटो नजिक भए पनि चिया खानेखालका होटेल समेत नपाइने गाडी बिग्रिएपछि बनाउने ठाउँ नै नभएको विश्राम गर्ने ठाउँ नै नभएको आफू पनि कहिल्यै यो बाटो नहिँडेको र आज छोटो पर्छ भनेर मात्र हिँडेको बताए ।
बल्खु पुग्दा ८ बज्यो । सातदोबाटो पुग्दा साढे ८ बज्यो । दुवाकोटस्थित घरमा आइपुग्दा साढे ९ बज्यो । धेरै दिनदेखि छोडेको घर लथालिङ्ग थियो । कौसीका गमलाहरू झारले ढाकिएका थिए । छानो हालेका गमलाका सबै फूलका बोटहरू सुकिसकेका थिए । एक जना त नियमित यतै बसे घरले स्याहार पाउँदो हो भन्ने लाग्यो ।
सरसफाइ गरेर खाना पकाएर खाँदा राति १२ बजिसकेको थियो ।
२०८३ भाद्र ५ गते शुक्रवार
दुवाकोट भक्तपुर
बिहान उठेर बरन्डा र छत पनि सफा गरेँ । ड्रागनफ्रुटमा हरिया फलहरू लागेका रहेछन् । छतका गमलाहरूबाट दुबोको झार बढेर छत पनि ढाकेको थियो । झारहरू सफा गरेँ । काँक्राका बोटहरूले थाँक्रो नपाएर रेलिङ हुँदै सानो छतमा झरेका थिए । छतभित्रका धेरैजसो फूलका बोटहरू सुकिसकेका थिए । ती बोटहरूलाई हटाएर पूरै सुकिनसकेका र पात झरेका बोटहरूलाई पानी हालिदिएँ । छतमा पातपतिङ्गर थुप्रिएर कुहिसकेका थिए । ती पातपतिङ्गरलाई पनि व्यवस्थापन गरेँ ।
यता आएको बखत रुकुमेली वाङ्मय अधिष्ठानको कार्य समितिको बैठक बसाल्ने सोच पलायो । अध्यक्ष भूपेन्द्रा मल्लको घर निर्माणको कार्य व्यस्तता र म सचिवको पनि रुकुमतिर व्यस्त रहेकोले कार्य समितिको बैठक नबसेको महिनौँ भइसकेको थियो । आइतवार वा सोमवार कुन दिन ठिक हुन्छ भनी मेसेन्जर ग्रुपमा सोधेँ । सहसचिव ज्ञानु बीसीले शनिवार नै ठिक हुन्छ भनेर प्रतिक्रिया लेख्नुभयो । एक छिनमै अध्यक्ष र सचिवलाई सोधपुछ विना नै रुकुमेली वाङमय अधिष्ठानको कार्य समितिको बैठक बस्ने सूचना भनेर भदौ ६ गते शनिवार दिउँसो १ बजे बैठक राखिएको बेहोरा मेसेन्जर ग्रुपमा हालिदिनुभयो । म छक्क परेँ । अधिष्ठानको भलाईकै लागि होला भनी म चुप्प रहेँ ।
खाना पकाएर खाँदा ११ बजिहाल्यो । हत्तपत्त पुरानो सम्पति विवरण खोजेँ । खाम भेटिएन । नयाँ फर्म थिएन । पुरानैलाई आर्थिक वर्ष सच्याएर झोलामा हाली हरिहरभवनतिर कुदेँ । हरिहरभवनमा अनसन बस्ने तराईवासीहरूले सडक जाम गरेर बसेका थिए । अनसनकारीले बालेनको फोटो र विदेशी केही व्यक्तिहरूको पनि फोटो राखेका थिए । के प्रयोजनको लागि अनसन बसेका थिए कसैलाई सोधिनँ ।
सम्पत्ति विवरण बुझाउने ठाउँ पशु सेवा विभागको परिसरमा रहेको निजामती किताबखानाको ३ नम्बर बिल्डिङमा रहेछ । सजिलै बुझाइयो । फर्किँदा बाटोमा केराको काइँयो नै बेचिरहेका रहेछन् । १ दर्जन ल्याएँ । लगनखेलमा २ जोर कट्टु किनेँ । ५०० भन्दै थियो । मैले अस्ति भर्खर १६० को दरले किनेको हुँ भनेँ । ५०० दिएँ । २०० फिर्ता दियो । सायद ती कट्टुलाई १०० भन्दा कमै पर्दो हो । व्यापारीले सुरुमै ठग्न खोजेकोले मैले पनि मौका पाएँ । तर १० रुपैयाँ मात्र ।
पुरानो बाटोको गाडी चढेर घरमा फर्किएँ । घरभित्र पस्दा मलाई देखेर छिमेकीहरू पेट मिचिमिची हाँसे । त्यो हाँसोले धेरै बेरसम्म मेरो जाँगर खाइदियो । एउटा अङ्गभङ्ग भएको कुरुपलाई देखेर पनि मान्छे हाँस्दैन । मेरो जिउ के त्यस्तो छ जसले मान्छेहरू हसाउँछ । ऐना हेर्छु तर हाँस्नुपर्ने रुप रङ कतै फेला पार्दैन । हाँसून् । मेरो कर्म वा सहयोगले हाँस्न नपाए पनि शरीरले भए पनि धेरै मान्छेलाई हसाउन पाएको छु । धन्य छ यो शरीरको हाँसउठ्दो संरचना बनाइदिने भगवानलाई ।
जितबहादुर शाह सरले कक्षा ६-८ मस्यौदा पाठ्यपुस्तकको ताकेता फेरि गर्नुभएको थियो ।
नजिकैको दुवाकोटमोडको बजारबाट फर्सीको मुन्टा र दुध ल्याएर आएको थिएँ । स्टोभमा बसालेर कक्षा ७ को पाठ्यपुस्तकको विपद् व्यवस्थापन पाठ परिमार्जनमा लागेँ । विपद् को परिभाषा विपदका प्रकारहरू विपदबाट जोगिने उपायहरू आदि पुनः सर्सर्ती हेरेँ । प्रसङ्ग आएकोले रुकुमकै घरमा रहेकी देवकुमारीलाई ग्यास निभाउन नबिर्सनु है भनेर सम्झाएँ ।
अनलाइन खबरहरू हेरेँ । सबैतिर बर्खाको विपदका घटनाका खबरहरू थिए । मनमनै सोचेँ विपद व्यवस्थापन र पूर्व तयारीको बारेमा जानकारी राख्नेहो भने धेरै विपदबाट जोगिन सकिन्छ ।
विपद् व्यवस्थापन पढ्न थालेको आजदेखि होइन । लोकसेवाको परीक्षाको लागि पन्ध्र बीस वर्षतक खुब घोकियो विपद् व्यवस्थापनका कुराहरू । तर प्रयोगमा आए पो ।
भान्छाबाट तरकारी डढेको जस्तो गन्ध आएकोले भान्छामा पसेँ । फर्सीको मुन्टा सबै जलिसकेछ । दुध उम्लेर ग्यास निभाएछ । ग्यास पनि गन्हाइरहेको थियो ।
म तर्सिएँ । ओहो केही बेर ढिला गरेको भए एकातिरको चुलोबाट निस्किएको ग्यास सल्कन बेर लाग्दो रहेनछ । जलेका फर्सीको मुन्टा देखेर मरीमरी हाँसेँ । भनेँ भातसित अब फर्सीको मुन्टाको यही सुकुटी खान्छु । के को सुकुटी बन्थ्यो । तितो बिख भएको रहेछ । सबै मुन्टा डस्टबिनमा हालेँ र मुन्टा पकाएर डढेको कराई धस्काई धस्काई माझेँ । कराई साविककै अवस्थामा आएपछि मनमनै हाँसे । यति गरेपछि देवकुमारीले सुइँको नै पाउनेछैनिन् ।
भात खाएँ र फेरि काममा लागेँ । एक मनले भन्यो फर्सीको मुन्टाको सुकुटीको बारेमा हास्यव्यङ्ग्य लेख पो लेख्ने कि ।
देवकुमारीले फेरि सोधिन् ग्यास बालेर छोड्नुहोला है । मैले भान्छामा हेरेँ दुधले ग्यास निभाइसकेको थियो । अतः दुध राम्रोसँग उम्लन पाएन कि । फेरि उमाल्नुपर्यो भनेर लो भोलुममा ग्यास बालेर काममा लागेँ । एकछिनमा हेर्न गएँ । उम्लन थालेको रहेनछ । फेरि ठुलो बनाएँ र काममा लागेँ ।
साहित्यकार साथीहरूसँग मेसेन्जरमा भलाकुसारी गरेँ । थकाइ लागेजस्तो भएकोले बैठक कोठाको बत्ती निभाएर सुत्ने कोठामा ओर्लिएँ । एकैछिनमा भुसुक्कै निदाइहालेछु ।
राति कुराउनीको बासना आयो । कोठा बस्नेहरूले ल्याए होलान् भन्ने लाग्यो । बास सुँघेर फेरि निदाएँ ।
राति पानी प्यास लाग्यो । भान्छाबाट जगमा पानी ल्याउनै बिर्सिएछु । एकपालि लाग्यो भान्छामा उक्लन्छु । तर फेरि मनलाई सम्झाएँ । एक रात पानी नपिएर कोही मरेका छैनन् । अनि भुसुक्कै निदाएछु ।
२०८३ भाद्र ६ गते शनिवार
दुवाकोट भक्तपुर
बिहान अलि अबेसम्मै सुतिएछ । पानी प्यास बढेकोले माथि उक्लिएँ । बैठककोठामा धुवाँ रङमङिएको थियो । बल्ल सम्झेँ कि बेलुका दुध तताउनको लागि ग्यास बालेको थिएँ । निभाउनै बिर्सिएँ कि
हत्तपत्त भान्छाको ढोका खोलेँ । ग्यास बलिरहेकै थियो । तर कराई भने विरूप भइसकेको थियो । कराईको पिँध आगोको फिलिङ्गो बनेको थियो । माथिल्लो भाग कराई सुकुटीमा परिवर्तन भएको थियो । म हाँसो कि रोऊँ भन्ने अवस्थामा पुगेँ ।
ग्यास अफ गर्न खोज्दा हात ग्यास निभाउने बटनले हात सलक्कै पोल्यो । ग्यास सिलिण्डरको रेगुलेटर निभाउने होस आएकोले हत्तपत्त निभाइदिएँ । बल्ल स्टोभको ग्यास निभ्यो । एकापट्टिको ग्यास चुलो अङ्गारजस्तो भइसकेको थियो । ग्यासको पाइप झोल्लिएको थियो ।
म ठुलो दुर्घटनाबाट धन्नले जोगिएछु भन्ने बल्ल लाग्यो । केही ढिला गरेको भए ग्यास पाइप पनि सल्कने थियो । ग्यास पाइप सल्कँदै ग्यास सिलिण्डरमै आगलागी हुनेथियो । भान्छामा काठका फर्निचर र र्याकहरू थिए आगो सल्कन बेर लाग्नेथिएन र घर नै आगलागी हुने जोखिम रौँप्रमाणले जोगिएको रहेछ । सायद अलिकति ढिला गरेको भए बिहानसम्म आफै सुकुटी बन्नपुग्थेँ होला । मान्छे नै जलेको जस्तो देखेर हाँस्नेहरू घरै जलेको देखेको भए के गर्दा हुन् ।
आफै शिक्षक आफै पाठ्यपुस्तक निर्माता अरूलाई सम्झाउने हैसियतको आफै बौद्धिक व्यक्तित्व । तर आफ्नै लापरवाहीले गर्दा भयानक दुर्घटनाको नजिक पुर्याएको रहेछु । आफ्नो कर्तुत सम्झेर आफैलाई ल्वाप्पा खुवाएँ ।
फर्सीको मुन्टाको सुकुटी खान तम्सिएर फर्सीकै सुकुटीको हास्यव्यङ्ग्य निबन्ध लेख्नेले अब के लेख्ने कराईको सुकुटी ?
अब मुख्य चुनौती थियो कराईको सुकुटीलाई कसरी व्यवस्थापन गर्ने । देवकुमारीले २ महिनापहिले ३५०० हालेर ल्याएको दुध तताउने कराई । छिटो उम्लने र राम्रोसँग पकाउने काममा आएको बताउँदै पाहुनलाहरूलाई पनि कराईको बखान गर्थिन् । अब के गर्ने ? यसको सट्टा नयाँ किनेर राखिदिऊँ कि । उनले कलेजी रङको खोजी खोजी ल्याएकी थिइन् ।
त्यति मात्र होइन । ग्यासको अभावको बेला लाइनमा लागेर बल्लतल्ल आधा सिलिण्डर भरेको ग्यास उचाल्दा सबै रातभर बलिसकेको छ । के भन्लिन् देवकुमारीले ?
खाना पकाएँ तर खान इच्छा भएन । आज अध्यक्ष भूपेन्द्रा मल्लको निवासमा रुकुमेली वाङमय अधिष्ठानको बैठक राखिएको थियो । तयार भएर त्यतातिर लागेँ ।
दुवाकोटमोडबाट गौशाला पुगेको भाडा बसको खलासीले ४५ रुपैयाँ ठटायो । सामान्यतया भाडा ३० रुपैयाँ थियो । पछि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धिको आधारमा बस चालकहरूले सरकारी निर्णय बेगर २० रुपैयाँको भाडालाई २५ रुपैयाँ पुर्याए । गौशालालाई ३५ थियो ।
नयाँ सरकार गठन भएदेखि सरकारले देखाएको जनपक्षीय कामहरूको तीब्रताले नयाँ सरकारप्रति निकै आडभरोसा जागेको थियो । तर पछिल्लो समयमा यस्तै लुटेराहरूले सरकारको साख समेत गिराइरहेका छन् । सरकार मुकदर्शक भएर बसेको छ । सरकारको अकर्मण्यताको भरपुर उपयोग गर्दै यस्तै लुटेराहरूले अझै लुट मच्चाउनेभए भन्ने कुराले मन खिन्न हुन पुग्यो ।
म बैठकस्थल पुग्दा उपाध्यक्ष अरूण शाह सर सल्लाहकारद्वय डा हरिप्रसाद भण्डारी र भरतकुमार शर्मा सर र सहसचिव ज्ञानु बीसी आइसक्नुभएको रहेछ । अनुमति बिना बैठक बोलाइएको सम्बन्धमा बैठकमा कुनै चर्चा भएन । पछि सदस्यहरू केशव शर्मा र सुमित्रा बुढा पनि आउनुभयो ।
छलफलबाट अधिष्ठानको नवीकरणको लागि अडिट गर्ने असोज १७ गते अधिष्ठानको वार्षिक साधारणसभा गर्ने र उक्त साधारणसभामा सिँगारू पत्रिकाको दोस्रो अङ्क तयार गरी विमोचन गर्ने निर्णय गरियो । मेरै सम्पादनमा दोस्रो अङ्क तयार भइसके तापनि अध्यक्षज्यूले आर्थिक स्रोतको सुनिश्चितता नगरी प्रकाशन नगर्ने भनेर रोक्नुभएको थियो । पछि मैले उहाँलाई उक्त प्रति पुनर्विचारको लागि पठाइदिएको थिएँ । सो सम्बन्धमा सोध्दा हेर्न नभ्याएको भनी जवाफ दिनुभयो ।
छलफल तथा निर्णयपछि उपस्थित सबैले आआफ्नो कला प्रस्तुत गर्यौँ । अध्यक्ष भूपेन्द्रा मल्लले स्व प्रेमप्रकाश मल्लको वनकी म चरी कठै गीत गाएर सुनाउनुभयो । डा हरिप्रसाद भण्डारीले आफ्नो लघुकथा सङ्ग्रहबाट शीर्षकको लघुकथा सुनाउनुभयो । भरतकुमार शर्माले चुट्किला सुनाउनुभयो । उपाध्यक्ष अरुणकुमार शाह र सुमित्रा बुढाले सुमधुर लयमा आफ्नै शब्दका तीज गीत सुनाउनुभयो । केशव शर्माले आधुनिक गीत सुनाउनुभयो । मैले ठाडीभाकाको २ गेडा गीत सुनाएँ । सहसचिव ज्ञानु बिसीले फोटोग्राफिको काम गर्नुभयो ।
बसको व्यवहारदेखि आजित भएकोले बेलुका याङ्गोमै जाने निर्णय गरेँ । भण्डारी सर र भरत सरलाई पनि गाडी चढ्ने झन्झटबाट मुक्ति । आफू पनि छिटो छरितो पुगिने । पैसा पनि धेरै परेन । उहाँ दुबैजनालाई गठ्ठाघरमा छोडेर घरमा आई विश्राम गरेँ ।
२०८३ भाद्र ७ गते आइतवार
दुवाकोट भक्तपुर
बिहानै ६ बजे उदय र अस्तको संयोग शीर्षकको आत्मकथाको अन्तिम तयारीमा पुगेका वयोवृद्ध व्यक्ति कुलप्रसाद न्यौपानेको घरतिर लागेँ । खास गरी यो पटक काठमाडौँमा आउनुपर्ने कारण यही नै थियो । भेटघाट र अन्तिम भुल सुधारको लागि मैले उहाँका छोरा बिपुल न्यौपानेसँग समय पहिल्यै लिइसकेको थिएँ । बैशाखदेखि नै मैले सम्पादन थालेको यस पुस्तकको सेटिङसमेत गरेर लेखनकुञ्जले उहाँलाई पुस्तकको डेमो पनि उपलब्ध गराइसकेको थियो । त्यसमा बिपुल लगायतका आफन्तजनहरूले विचार विमर्श गरी सच्याउनुपर्ने र थप्नुपर्ने कुराहरू थपिसक्नुभएको थियो । तर सुरुदेखि नै सम्पादन मैले गरेको हुँदा विपुलले अन्तिम रूपमा सच्याउनको लागि म नै काठमाडौँमा उपस्थति हुनुपर्ने शर्त जस्तै राख्नुभएको थियो ।
काँडाघारी स्थित उहाँको घरमा पुगेपछि विपुल न्यौपानेले डेमो देखाउँदै सुधार गर्नुपर्ने पक्षहरूलाई एकएक गरेर बुझाउन थाल्नुभयो । बुवा कुलप्रसाद न्यौपाने पनि एकजना सहयोगीको सहाराले मुस्किलले हामीमाझ आइपुग्नुभयो । नबुझेका कुराहरू पुनः उहाँबाटै प्रस्ट्याउने काम भयो । नपुगेका फोटोहरू थप्ने कुरा भयो । धेरै परिवर्तन गर्नुपर्ने केही थिएन । खाना विपुलजीकहाँ नै खाएर लेखनकुन्जमा पुगेँ । कमल ढकाल सर आउनुभएको रहेनछ । कमल ढकालको म्याम् सिर्जना ढकाल र लेखनकुन्जमा पनि काम गर्ने टङ्क पन्तलगायत सिर्जना चाहना सौरभ अर्जुन तथा २ जना अरू कर्मचारी थपिएका रहेछन् ।
मेरो लेखनकुन्जमा आउने कामचाँहि मनलाल सरको राधा स्मृति ग्रन्थको सेटिङमा समेत सच्याउनुपर्ने कुरा हेरिसकिएकोले त्यो अर्जुन ढुङ्गानालाई बुझाउनुथियो र अर्को मुख्य काम बिहान पुनरावलोकन सकिएको कुलप्रसाद न्यौपानेको उदय र अस्तको संयोग आत्मकथा सौरभलाई बुझाउनु थियो । सबै कर्मचारीहरू आआफ्नै काममा व्यस्त थिए । सौरभ काम परेर बाहिर गएका रहेछन् । मैले ती दुई पुस्तकको सच्याउने कुरा त्यहाँ भएकै कर्मचारीलाई बुझाउनुपर्ने थियो । अतः कुर्सी तानेर कर्मचारीहरूसँग बसी सच्याउनुपर्ने कुरामा छलफल गर्दै थिएँ टङ्क पन्त आइपुगेः हप्काउने शैलीमा मलाई किन बाटोमा बसेको हो भनी ठुलो स्वर गरे । मेरो झनक्क रिस उठ्यो । म बिनाकामै त्यहाँ बसेको थिएन । त्यहाँ कुनै राजमार्ग पनि थिएन टङ्क आउँदा सवारी खाली गर्नलाई ।
भन्ने हो भने दुबैजना लेखनकुन्जका उस्तै हैसियतका कर्मचारी थियौँ । अझ कमल ढकालले मलाई नै बढी विश्वास गर्नुहुन्थ्यो । मैले उनलाई हाकिम मानेर देख्नेबित्तिकै बाटो खाली गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । बरु उनले धेरै दिनसम्म उपस्थिति नदेखेपछि लामो समयसम्म कहाँ जानुभयो के काम थियो र कहिले आउनुभयो भनी सोधखबर गर्नुपर्थ्यो ।
सिर्जनाजीले बताएअनुसार एक पटक कमल ढकालको म्याडम र यिनै टङ्क पन्त मिलेर छपाईको अन्तिम टुङ्गोमा पुगेको क्यालेन्डरको विषय बनाएर मेरो कामको निकै आलोचना गरेछन् । टङ्कलाई म लेखनकुन्जमा गाँसिएको पटक्कै मन नपरेको छनक पहिल्यैदेखि पाइरहेको छु । अहिलेको खस्रो व्यवहार पनि त्यसैको प्रस्फुटन हुनुपर्छ भन्ने लाग्यो ।
भन्न त केही सकिनँ बस्न मन लागेन र जुरुक्क उठेर घरतिर हिँडिदिएँ । बसमा डा नवराज केसीको सकारात्मक चिन्तन विषयक पुस्तक पढ्दै भक्तपुरतिर लागेँ । तर मन अझै तनावग्रस्त थियो । राधेराधेमै ओर्लिएर भाटभटेनीको फिल्महलमा के के फिल्म चलिरहेका छन् भनी बुझेँ । गौँथली फिल्म अझै सकिएको रहेनछ । त्यही हेरेँ र बेलुका देवकुमारीको इन्सुलिन र सुगरका औषधिहरू बोकेर घरमा पुगेँ ।
२०८३ भाद्र ८ गते सोमवार
दुवाकोट भक्तपुर
बिहान उठेर अस्तिको कराई डढेको घटनालाई विषयवस्तु बनाएर हास्यव्यङ्ग्य निबन्ध लेखेर फित्कौलीलाई मेल गरिदिएँ । वासिङ मेसिनमा लुगा धोएर छतमा सुकाएँ ।
देवकुमारीको लागि अस्ति ल्याएका औषधिहरू कि त कसैको हातमा रुकुमस्थित घरमा पुर्याउनुपर्ने छ कि आफै लगेर जानुपर्ने अवस्था छ । उनीसँग भएका औषधिहरूले एक हप्ता मात्र धान्ने छन् भनेर किरण बहिनीलाई कोही मान्छे खोजिदिन आग्रह गरेँ । किरणले आश्वासन सहित यामबहादुर पुन भाइ आएको र उनलाई ८ वर्षअघिको खरिदको सम्बन्धमा मुद्दा परेकोले तनावग्रस्त रहेको समेत बताइन् । यस विषयमा मलाई थाहै थिएन । सुन्दा मलाई पनि नरमाइलो लाग्यो । यामबहादुर ऐनकानुन र खरिद प्रक्रिया पुर्याउनमा बाठा नै थिए । अरूभन्दा इमान्दार र स्वच्छ छविका कहलाउँथे । कसलाई कतिखेर के आइपर्छ केही भन्न नसकिनेभयो ।
खाना पकाई खाएपछि भक्तपुर खानेपानी कार्यालयमा गई पानीको बिल अस्वाभाविक बढी चढेको सम्बन्धमा सोधपुछ गरेँ बिल तिरेँ र काठमाडौँको बस चढी लेखनकुन्जतिर लागेँ । कमलजी आएर पनि निस्किसक्नुभएछ । अफिस कोठामा टङ्क र सिर्जना म्याडम थिए पस्न मन लागेन । कम्प्युटर तथा सम्पादन कक्षमा सौरभ सिर्जना चाहना अर्जुन सबैसँग भेट भयो । सौरभले आज पनि अर्की महिलाको सेटिङ सकेर आजै छापाखानामा पठाउनुपर्ने भएकोले मलाई समय दिन सकेनन् ।
लेखनकुन्जको सिर्जनात्मक कक्षाको दोस्रो ब्याचकी गङ्गा लामा आउनुभएको रहेछ । उहाँले छापाखानाका नगेन्द्र लामासँग आफ्नो दिवंगत बुवाको फोटोहरूको सङ्ग्रह गरेर एल्बम प्रकाशनको तयारीमा हुनुहुँदोरहेछ । एउटै ब्याचको नाताले कुराकानी भयो र उहाँको योजनामा केही सल्लाह सुझाव मैले पनि दिएँ ।
कुलप्रसाद न्यौपानेको डेमोमा रहेका भुलसुधारको लागि आज कर्मचारीहरू खाली नभएकोले लेखनकुन्जमा बसिरहन उपयुक्त ठानिनँ र खुसी प्रेसतिर लागेँ । त्यहाँका डिजाइनर प्रदीपसँग अधिष्ठानको बुलेटिन छपाई सम्बन्धमा जानकारी सङ्कलन गरेँ । यस विषयमा राजबहादुर कुँवर र नगेन्द्र लामाबाट पनि पहिल्यै जानकारी लिइसकेको थिएँ । यस विषयमा हरिप्रसाद भण्डारी सरसँग सल्लाह लिन खोज्दा तपाईँ कति भ्याउनुहुन्छ भनेर आश्चर्य प्रकट गर्नुभयो । मैले आर्थिक व्यवस्थापन गर्न सकिए सम्पादनको काम सजिलै गर्नसक्ने बताएँ ।
घर फर्किएपछि कार्पेट पसलमा पुगी एक सेट सोफा चकटी ल्याएर घरमा आएँ । खाना पकाएर खाँदा बेलुकाको साढे ९ बजिसकेको थियो ।
२०८३ भाद्र ९ गते मङ्गलवार
दुवाकोट भक्तपुर
आज बिहान ५ बजे नै उठेर कीर्तिपुरतिर लागेँ । भाइ प्रकाश ओलीले कीर्तिपुरको भत्क्यापाटी र छापको बिचमा जग्गा लिएर घर बनाउन थालेको करिब १ वर्ष भइसकेको छ । जग्गा किनेपछि हेर्न १ चोटी गए तापनि घर बनाउन थालेदेखि गएको थिइनँ । तल्लो तला तयार भएर उनीहरू सर्नको दिनमा निम्तो दिए तापनि पूजा कार्यक्रम बिहानैदेखि भएकोले भ्याएको थिएनँ । प्रकाशले अहिले डिल्लीबजार स्थित मालपोत कार्यालयमा नापी अधिकृतको जिम्मेवारी सम्हालेको छ भने बुहारी राधाले सडक विभाग बबरमहलमा काम गर्दै छिन् । छोरी दिपिशाले चितवन मेडिकल कलेजबाट एमबीबीएस फाइनल एअरको पढाइमा छे भने छोरा दिपेशले काठमाडौँबाटै इन्जिनियरिङ सकाउँदै छ ।
घरबाट ५ बजे नै हिँडे पनि सल्लाघारीसम्म पैदल त्यसपछि गाडी कुर्ने अनि कलङ्कीको बसमा बल्खु पुगुन्जेल सवा ६ बजिसकेको थियो । त्यहाँबाट भत्केपाटीको गाडी चढेर भत्क्यापाटीको प्रगतिनगरमा ओर्लिएर छाप पुग्दा सवा ७ बजिसकेको थियो । प्रकाश राधा र दिपेश घरमै थिए । प्रकाशको सासूससुरा पनि त्यतै हुनुहुन्थ्यो । प्रकाशको कान्छा सालाको छोरा पनि पढाइको सिलसिलामा त्यतै बस्दो रहेछ ।
तीनतले घरको बाहिरी संरचना तयार भइसकेको रहेछ । भित्री भागको सम्पूर्ण प्लास्टर र बाहिरी भागको आधा प्लास्टरको काम पनि सकिएको रहेछ । १२ आना जग्गा लिएर झन्डै ५ आना जग्गामा बनेको घर निकै फराकिलो देखिन्छ । तयार भइसकेपछि झन् विशाल देखिने नै होला ।
प्रकाश र राधाहरू अफिस ९ बजे नै पुग्नुपर्ने भएकोले ८ बजेभित्र खाना खानुपर्ने भएकोले उनीहरूको सँगै मैले पनि खाना खाएँ । त्यहीँ नजिकै पूर्व माननीय जनार्दन शर्माका भाइ ओपेन्द्र शर्माको घर पनि थियो । कीर्तिपुर पुगेपछि उहाँलाई पनि भेट्न मन लाग्यो ।
ओपेन्द्र र म क्याम्पसकालीन साथी । २०४० सालमा आइए पढ्नको निम्ति मुसीकोट खलङ्गा क्याम्पसमा पाइलो टेकेदेखि नै हामीहरू अभिन्न साथी बन्यौँ । उहाँका बुवा स्कन्द शर्मा मेरो ठुलोमामा खड्कबहादुर खड्काको यस्तै अभिन्न साथी हुनुहुँदोरहेछ । त्यसैले उहाँले मलाई भान्जा नाता परेर साँच्चिकै मावलीको व्यवहार गर्नुहुन्थ्यो । मैले यो सम्बन्ध नजिकबाट थाहा नहुनेहरूलाई जनार्दन शर्मा मेरा साख्खै मामाका छोरा भनेर चिनाउने गर्दछु । उहाँहरूको मप्रतिको व्यवहार आफ्नै मामाको छोराभन्दा भिन्न पनि छैन ।
आइए पढुन्जेल आआफ्नो घर थियो आआफ्नो बाटो थियो । क्याम्पसमा पनि भेट हुन्थ्यो र उहाँको घरमा पनि म गइ नै रहन्थेँ । जनार्दन दाइ पहिल्यै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो भन्ने गोप्य रूपमा थाहा पाएको थिएँ । तर कुन राजनीति र कुन स्तर भन्ने मलाई केही थाहा थिएन । रुकुममा राजाको सवारी हुँदा जनार्दनलाई पक्राउ गरिसकिएको हुन्थ्यो । सवारीको कार्यक्रम सकिएपछि छोडिन्थ्यो । पछि बहुदलीय सरकार आएपछि पनि मन्त्री र प्रधानमन्त्रीहरू रुकुम जाँदा जनार्दनलाई नै पहिले पक्राउ गरिन्थ्यो । हामीलाई राजनीतिशास्त्र पढाउने कृष्णप्रसाद शर्मा जसको उपनाम नै बहुदल राखिएको थियो । उहाँले पनि जनार्दनलाई प्रशिक्षित गरेजस्तो लाग्छ । पञ्चायत कालमै कृष्णप्रसाद चुनावमा लड्दा हामी विद्यार्थी थियौँ । दाइहरूको दबाबले भोट कृष्णप्रसाद शर्मालाई नै हालियो ।
त्यस बेला हेमन्तप्रकाश ओली लोकेन्द्र बिस्ट भीमप्रकाश शर्मा यज्ञश्वर शर्मालगायत चुन चौखाबाङतिरका विद्यार्थीहरू पनि जनार्दनको घरमा कोठा लिएर बस्थे । जितबहादुर शाह र पहल पुनसँग पनि बाक्लो उठबस हुन्थ्यो । उहाँहरू धर्मलाई विरोध गर्नुहुन्थ्यो । म भने धार्मिक स्वभावको थिएँ । बच्चैदेखि भगवानप्रति आस्थावान थिएँ । धर्मको बारेमा बताउने मान्छे कोही थिएन तर घरमा भएका रामायण महाभारतका पुस्तकहरूले मलाई धर्मतिर डोर्याएको हुनुपर्छ । मेरी आमाले उहिल्यैको जमानामा रामायण र महाभारत कण्ठ पार्नुभएको थियो । बच्चाहरूलाई रामायण र महाभारतका कथाहरू सुनाउनुहुन्थ्यो । यसैले पनि मेरो कच्चा दिमाग धर्मतिर आकर्षित भएको हुनुपर्छ । सायद कोही ऋषिमुनिहरूसँग भेट भएको भए म कट्टर अध्यात्मवादी बन्थेँ हुँला ।
तर साथ भयो कम्युनिस्ट विद्यार्थीहरूसँग । मेरो स्वभावले नै होला अन्य सङ्गठनका कुनै पनि विद्यार्थीले मलाई आफ्नो सङ्गठनमा लाग भनेर पनि प्रस्ताव गरेनन् । पछि कम्युनिस्ट सदस्यताको लागि फाराम पनि भरेँ र मलाई गाउँको कम्युनिस्टको नेता पनि बनाइयो । तथापि मेरो मनैदेखि गढेको धर्मलाई भनेँ म त्याग्नसक्ने अवस्थामा थिइनँ । यस विषयमा बहस चल्दा मैले धर्मकै पक्ष लिन्थेँ ।
आइए एकैचोटि पास गरेपछि ओपेन्द्र शर्मा दाइ र म पढ्न काठमाडौँ आयौँ । नमुनामच्छिन्द्र क्याम्पस लगनखेलमा बीकममा भर्ना भयौँ । सातदोबाटको एउटा कच्चीघरमा रु १५० प्रतिमहिना भाडामा डेरा लियौँ । त्यस कच्चीघर ४ कोठे थियो । हामी माथिल्लो तलामा बस्थ्यौँ । घरमालिक बुढीआमा एकजना मात्र हुनुहुन्थ्यो । अरू छोराछोरी भएजस्तो लाग्दैन । घरकै अगाडिको निकै साँघुरो बाटोबाट चाँपाँगाउँतिर जाने गाडी आक्कलझुक्कल मात्र चल्थे । बुढीआमाले सडकमै धान गहुँ र खुर्सानी सुकाउनुहुन्थ्यो । नजिकै निकै पुरानो इँटाको गारो भएको इनार थियो । त्यसमा मान्छेहरूको भीड लागिरहन्थ्यो । हामीले त्यसैको पानी पिउँथ्यौँ र भान्छाको प्रयोग र कपडा धुने काममा पनि प्रयोग गर्थ्यौँ ।
ओपेन्द्र दाइको र मेरो एउटै भान्छा थियो । एउटै खाट थियो । एउटै ओढ्नेओछ्याउने थिए । कापीकलम अलगअलग भए पनि एउटै किताबहरू थिए ।
दाइ अत्यन्तै अल्छी हुनुहुन्थ्यो । उहाँलाई खाना पकाउन र कपडा धुन जाँगर चल्दैनथ्यो । पढ्न झन् जाँगर चल्दैनथ्यो । बराबर नै पढ्नुपर्छ र बराबर जान्नुपर्छ भन्ने धारणा थियो । उहाँले आफ्ना साथी र नातेदारप्रति गर्ने व्यवहार पनि मैत्रीपूर्ण हुँदैनथ्यो । मान्छेलाई अनेक उपमा दिने । त्यही उपमाले गिज्याउने र हाँसोमा उडाइदिने गर्नुहुन्थ्यो । रुम पार्टनर भएको नाताले त्यसको अचानो बढी म नै हुनुपर्दथ्यो ।
तर म भने सानैदेखि पिन्चे स्वभावको । अलिकति होच्यायो गिज्यायो कि भन्न केही नसक्ने तर रोइहाल्ने । कोठामा यस्तै सानातिना कुरामा हाम्रो झगडा परिरहन्थ्यो । म रोइरहन्थेँ । रुकुमको जागिरी छोडेर खर्च गरी काठमाडौँ आइएको छ । रोएरै बिताउनु त भएन । अलिअलि पढ्नु पनि परिहाल्यो । ओपेन्द्र दाइ धेरै सुत्नुहुन्थ्यो । उहाँ सुतेको मौका छोपी म पढ्न थाल्थेँ । दाइ सुतेको बेला मैले पढ्नु झनै ठुलो अपराध ठहरिन्थ्यो । यसै विषयमा पनि झगडा परिहाल्थ्यो । म कक्षामा पनि अब्बल हुँदै गएको थिएँ । काठमाडौँका साथीहरूले मलाई घरमै बोलाएर सिक्न चाहन्थे तर ओपेन्द्र दाइलाई यो कुरा पनि मन पर्दैनथ्यो र तैँले मलाई सिकाउन छोडेर अरूलाई नै सिकाउँदै हिँड्छस् भनेर निहुँ खोजिहाल्नुहुन्थ्यो ।
कहिलेकाँही जनार्दन दाइहरू पनि रुकुमबाट डेरामा आउनुहुन्थ्यो । त्यस बेला भने ओपेन्द्र दाइ एकदमै सतर्क हुनुहुन्थ्यो । भान्छाको काम सबै आफै गर्नुहुन्थ्यो । हामी दुईबिच कहिल्यै कुनै कुरामा मनोमालिन्य नभएको जस्तो गर्नुहुन्थ्यो । मैले पनि त्यस्तै गर्नुपरिहाल्थ्यो ।
मेरो किशोरकालीन रिस भने बाँकी नै रहेछ । भइदियो के भने परीक्षा हुँदा सँगसँगै बस्थ्यौँ । दाइले निरीक्षकको आँखा छलेर बीकमका एकाउन्टलगायतका विषयहरूमा मेरो उत्तर सार्नुहुन्थ्यो । उहाँले अङ्ग्रेजी विषयको परीक्षामा सार्न सक्नुभएन । मैले रिस केमा पोखेँ भने अर्थशास्त्रको परीक्षा पनि अङ्ग्रेजी माध्यममै दिएँ । फलतः त्यो पनि सार्नसक्नुभएन । एउटै ओछ्यानमा सुतेका साथी मेरो त्यो व्यवहारले ओपेन्द्र दाइ भित्रैदेखि रिसाउनुभयो । मलाई केही भन्नु पनि भयो । त्यसै बेला मेरो ठुल्दिदीको लोग्ने भिनाजु भारतमा बिजुलीको शक लागेर बितेको खबर आयो । त्यो पीडा र डेराको पीडाले मैले ७ दिनसम्म रुँदै परीक्षा दिएको थिएँ ।
भइदियो के भने बीकम प्रथम वर्षमा म अर्थशास्त्रमा फेल भएँ । परीक्षा दिनकै दिनमा फेल हुने निश्चित भइसकेको थियो । नजानेर होइन कहिल्यै अङ्ग्रेजी माध्यमबाट परीक्षा दिन प्रयास नगरेको म मूर्ख विद्यार्थीले ओपेन्द्र दाइलाई रिस फेर्नको निम्ति अङ्ग्रेजी माध्यमबाट परीक्षा दिएको थिएँ । मैले त्यो रिस फेर्न नखोजेको भए मैले अर्थशास्त्र विषयमा पनि राम्रो अङ्क ल्याउँथेँ र मैले बीकम प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुन्थेँ ।
मैले आफ्नै दाइ आफ्नै रुमपार्टनरप्रति त्यसो किन गरेँहुँला भनेर मलाई अहिले पनि साह्रै आत्मग्लानि हुन्छ । उहाँसँग भेट भयो कि आफ्नो त्यही क्रुर व्यवहार सम्झन्छु । अहिले त कस्तो लाग्छ भने म आखिर उहाँको भाइ नै थिएँ डेराको खर्चपर्च जनार्दन दाइले बेहोरिहाल्नुहुन्थ्यो । डेरामा खाना पकाउने भाँडा माझ्ने तरकारी ल्याउने आदि सम्पूर्ण एक्लै गरेको भए पनि केही बिग्रँदैनथ्यो । त्यसो गर्न सकेको भए हाम्रो कोठाभित्रको सम्बन्ध सुमधुर भइरहन्थ्यो होला ।
एक पटक के भयो भने जनार्दन दाइले माछा ल्याएर आउनुभएको थियो । पकाउने जिम्मा मलाई लगाइयो । मैले कहिल्यै माछा पकाएको थिएन । पकाउँदा तरकारीजस्तै चलाइदिएँ । सबै धुलैधुलो भयो । दाइहरूले मलाई गाली गर्न थाल्नुभयो । म भने खानै नखाएर रोएर बसिदिएँ । अर्को वर्ष जनार्दन भीमप्रकाश र यज्ञश्वरहरूले पनि आइए पास गर्नुभयो र पढ्नको निम्ति काठमाडौँ आउनुभयो । भीमप्रकाश शर्माको भाइ कृष्ण शर्माले पनि इन्जिनियरिङ पढिरहनुभएको थियो । पहिले उहाँ अलग्गै बस्नुहुन्थ्यो आफ्नै दाइ भीमप्रकाश आएपछि सँगै बस्न थाल्नुभयो । ताराप्रसाद घर्ती मगरको घरमा फ्ल्याट लिएर छसात विद्यार्थीहरू सँगै बस्न थाल्यौँ । कृष्ण पनि बाहिरी साथीहरूसँग निकै नम्र हुनुहुन्थ्यो तर मसँगको व्यवहारमा भने ओपेन्द्र दाइभन्दा फरक हुनुहुन्थेन ।
एकचोटि भीमप्रकाश शर्माले घरबाट आलो घिउ ल्याएर आउनुभएको थियो । तर दिउँसो कसैले औँला चोबेर खाइहालेछ । ओपेन्द्र र कृष्णले त्यो काम मैले नै गरेको भनेर जनार्दन दाइहरूलाई कुरा लगाइदिए । मैले म होइन भनेर जति भने पनि कसैले पत्याएन । तर त्यो काम मलाई चिढ्याउनको लागि ओपेन्द्र दाइ वा कृष्ण मामाले नै गरेको हुनुपर्छ भन्ने लाग्दछ । दाइहरूको हप्काइमिश्रित गिज्याहटले त्यस बेला पनि म धेरै रोएँ । वास्तवमा म पहिलेदेखि नै त्यस्ता क्षुद्र काम गर्दैनथेँ ।
त्यही घटनाले मलाई सहीनसक्नु बनायो र कोठा छोडेर रुकुममा पुगी शिक्षण पेशामा जोडिएँ । डेरा जीवनबाट बाहिर आएपछि दाइहरूसँग पुनः सुमधुर सम्बन्ध गाँसिन पुग्यो । जसरी मैले ओपेन्द्र दाइलाई बदला लिन आफैलाई फेल गराएको अहिलेसम्म झलझली सम्झिरहन्छु त्यसरी दाइले पनि सम्झनुहुन्छ होला र यो मान्छे त यत्तिको हराम थियो भनेर खिन्न हुनुहुन्छ होला ।
म सिम्रुतु हाइस्कुलको हेडमास्टर भएपछि ओपेन्द्र दाइलाई सिम्रुतुमै लगेर एकाउन्ट शिक्षकमा नियुक्ति दिएँ । जनयुद्ध चर्किएपछि ५३ सालको अन्त्यमा दुबैले स्कुल छोड्यौँ । तर ओपेन्द्र दाइसँग त्यसपछि भेटघाट भएको थिएन । एकैचोटि ५६ सालतिर गठ्ठाघरमा बोर्डिङ चलाउने प्रस्ताव लिएर आउनुभयो । हाम्रो लगानी र परिश्रमको उपयोग गठ्ठाघरका टोपबहादुर श्रेष्ठले गरे । मैले पहिल्यै बोर्डिङ छोडिदिएँ र फेरि लोकसेवा पढ्ने हेतुले घरपरिवारबाहेक सबैसँग सम्पर्कविहीन भई बसेँ । नभन्दै मैले ५७ सालमा लोकसेवा पास गरेँ र निजामती राष्ट्रसेवकको जीवन सुरुवात भयो ।
६३ सालमा जनयुद्ध पनि समाप्त भयो । जनार्दन दाइ शान्ति मन्त्री हुँदै ऊर्जा, गृह र अर्थमन्त्रीसम्म पुग्नुभयो । ओपेन्द्र दाइले राससको महाप्रबन्धकमा नियुक्ति पाउनुभयो । तर मलाई न जनार्दन दाइले नजिक ल्याउन चाहनुभयो न म नै उहाँको नजिक पर्न चाहेँ । प्रत्येक पटक जनार्दन मन्त्री हुँदा पूर्णले उनको पिए हुन पाउँछहोला भनी जिल्ला र गाउँमा अड्कलबाजी चल्थ्यो । तर वास्तविकता अर्कै थियो । मलाई लाग्छः जनार्दन दाइले आफूलाई यसले सहयोग गर्ला भन्ने कहिल्यै विश्वास लागेन होला ।
अहिले त परिस्थिति धेरै परिवर्तन भइसकेको छ । उहाँले राजनीतिको अर्को धार परिवर्तन गरेर चुनाव लड्दासमेत मैले उहाँकै पक्ष लिन बाध्य भएँ । अपितु त्यसमा कुनै स्वार्थ थिएन । अब जनार्दनले कहिले आफूलाई विश्वास गर्लान् र कुनै राजनीतिक नियुक्ति पाउँला भन्ने मलाई पनि एकरत्ती विश्वास छैन ।
प्रकाशको घर गएको बखत पनि ओपेन्द्र दाइको घर जान तम्सिँदा यिनै कुराहरू सम्झिएँ । डेरामा बस्दा त ओपेन्द्र दाइलाई खोज्दै पटक पटक डेरामा पुगेको छु तर उहाँले कीर्तिपुरमा घर किनेर बसेको निकै वर्ष बितिसक्दा पनि उहाँको घर चिनेको छैन । कीर्तिपुर आएको बखत भेटिहालौँ न त भनी फोन गर्दा ओपेन्द्र दाइको फोन उठेन ।
प्रकाश र राधा अफिसतिर लागेपछि कीर्तिपुर यत्तिकै कता हल्लिनु भनेर म पनि रत्नपार्कतिर फर्किएँ । ९ नबज्दै अन्यत्र मेरो केही काम केही थिएन । मनोहर लामिछाने सरलाई भेटौँ भनेर त्रिपुरेश्वरमा ओर्लिएर माइतीघरमण्डलास्थित उहाँको ल फर्ममा पुगेँ । केही छिन उहाँसँग वार्तालाप भयो । फोटो पनि खिचाइयो । उहाँ साझा प्रकाशनको मिटिङतिर हिड्नुभयो भने म लेखनकुन्जतिर लागेँ । राजेश्वर कार्की सरसँग फोनबाटै कुरा भयो । उहाँ तेस्रो चरणको किमो लगाउन ११ गते दिल्ली जानुपर्ने भएकोले
लेखनकुन्जमा सौरभ सापकोटा दिल्लीतिर लागे पनि अर्जुन ढुङ्गानाको सहयोगले केपीएनको डमीबाट देखिएका सुधार्नुपर्ने कुराहरू सुधारियो । अब लगभग केपीएनको जिम्मेवारीबाट मुक्त भएँ भनेर हल्का भएँ । कमल ढकालले मलाई भेटौँला भनेर बोलाउनुभएको थियो तर आफै आउन सक्नुभएन ।
लेखनकुन्जबाट घरतिर फर्कँदै गर्दा हरिप्रसाद भण्डारी सरसँग फोनमा कुराकानी भयो । २०७१ सालतिर रुकुममा सँगै प्रशासनिक जिम्मेवारी सम्हालेका जिल्ला न्यायाधीश हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी, स्थानीय विकास अधिकारी भरतकुमार शर्मा र कोष प्रमुखको जिम्मेवारी सम्हालेको म समेत गरी ४ जनाले पुनर्मिलन कार्यक्रम गर्ने तयारीको लागि मलाई समनव्यकारी भूमिका दिइएकोले यसै सिलसिलामा भरत शर्मा हेमन्त रावल सबैलाई खबर गरेँ । भोलि नै बस्ने भनेर हरि सरले समय दिए पनि भरत सर अस्पत्तालमा उपचारको काममा व्यस्त रहेकोले अर्को दिन बस्ने भन्नुभयो ।
राप्ती साहित्य परिषद् रुकुम शाखाले गत पौष १ गतेदेखि नै नियमित रूपमा भर्चुअल रचना वाचन कार्यक्रम चलाउँदै आएको थियो ।
घरमा आइपुगेपछि फित्कौली डटकमका प्रमुख सम्पादक नरनाथ लुँइटेलको मेसेज आएको रहेछ । उहाँले मैले लेखेको लेख देवकुमारीको ढुकढुकी र कराईको सुकुटी प्रकाशित भएको जानकारी गराउनुभएको रहेछ । मैले आफ्नो फेसबुकमा शेयर गरेँ र फेरि पढ्न थालेँ ।
लेख पढ्दै जाँदा आफैलाई हाँसो उठिरहेको थियो त्यसै बेला देवकुमारीको भिडियोकल आयो । मैले आफ्नो गल्ती स्वीकार्न हाँसिरहेको थिएँ तर देवकुमारीले हाँसोको कारण नबुझेर केटी ल्याएर लुकाएका छौ कि भन्नेसम्म आशङ्का गर्न भ्याइन् । मैले उनकै विषयमा लेखिएको लेख आफैले हेरून् भनेर गोप्य नै राखेँ तर देवकुमारीलाई असह्य भएछ । निकै आक्रोश व्यक्त गर्न थालिन् । आफूलाई रुकुममा एक्लै छोडेर नानाभाँती गरेको गुनासो गरिन् । लेखनकुन्जमा पनि काम गर्न जान पाइँदैन भनेर प्रतिबन्ध लगाइन् । इन्सुलिन लगायत सुगरका सबै औषधिहरू सकिएकोले आफ्नो अवस्था चिन्ताजनक भएको पनि बताइन् । मलाई समयमै औषधिहरू पठाउन नसकेकोमा अपराधबोध भयो । मैले उनलाई बुझाउन सकिनँ उनी आफै बुझ्ने अवस्थामा थिइनन् ।
अस्तिदेखि खाना पकाएका र खाना खाएका भाँडाहरू बेसिनमा थुप्रिसकेका थिए । खाना पकाएर खाएपछि ११ बजेसम्म भाँडा माझेर बसेँ अनि सुतेँ ।
२०८३ भाद्र १० गते बुधवार
दुवाकोट भक्तपुर
मैले रुकुम फर्कने निर्णय गरेँ र झोला तयार पार्न थालेँ । परीक्षितले अस्पत्तालमा लगाउने लुगा पनि ल्याइदिनु भनेकोले लुगा खोजेँ । देवकुमारीले मलमले कुर्ता ल्याइदिनु भनिन् । कुर्ताको सल मात्र भेटियो । त्यो पनि झोलामा हालेँ । औषधिहरू पनि हालेँ । आफ्ना र परिवारका लुगालत्तले २ वटा झोला भरिए ।
निशाले खाना खान यतै आउनू भनी । सानोठिमी निशाको घरमा पुगेर खाना खाएँ । किरणले आमालाई औषधि पठाइदिनुछ भनेकी थिइन् । किरणको कोठामा पुगेर औषधि पनि लिएँ । देवकुमारीले १२ कक्षा पास गरेको सर्टिफिकेट प्राप्त गरेकी थिइनन् । मलाई सर्टिफिकेट पनि ल्याइदिनू भनेकोले सातदोबाटोस्थित प्रेरणा महिला माध्यमिक विद्यालयमा पुगेँ । सर्टिफिकेटहरू तयार नै रहेछन् । सर्टिफिकेट शुल्क रु ३००० रहेछ । अनलाइनबाट तिरेँ । झोलामा हाल्दा बाटोमा कुचिने च्यातिने सम्भावना भएकोले लेमिनेशन गर्ने सुझाव दिएकोले लेमिनेशन पनि गरेँ ।
त्यसपछि नयाँ बसपार्क जाने गाडी खोज्न सातदोबाटो बसस्टपमा पुगेँ । बस स्टपमा चक्रपथ परिक्रमा गर्ने थुप्रै गाडीहरू लामबद्ध थिए । अलि खाली बसमा चढ्छु भनेर पछिल्लो बसमा चढेँ । सिटमा बस्नेबित्तिकै जुवाइँ प्रवीण पाठकको फोन आयो । मैले रुकुमतिर लाग्न थालेको बताएँ । उहाँले रसुवामा ठुलो बाढी आएको छ । केही समयमा त्रिशुलीमा पनि आइपुग्ने भएकोले यात्रा नगर्न सुझाव दिनुभयो । म अलमल्ल परेँ । साउन महिना हो बाढी त आइहाल्छ नि । यतातिर पानी परेको पनि छैन । बाढी आफ्नै खोलामा हिँड्ला । सडक धेरै माथि छ । गाडीलाई के समस्या होला र भन्ने लाग्यो । तैपनि यस सम्बन्धमा बुझ्नको लागि किरणलाई नै भनेँ । उनले बसपार्क र कलङ्कीतिर बुझिछन् । टिकट पनि उनैले बुक गरिदिएकी थिइन् ।
एकछिन पछि किरणको पनि फोन आयोः हो रैछ दाइ । गाडीहरू सबै नागढुङ्गामै रोकिएका रहेछन् । आज यात्रा नगर्नुस् भन्ने कुरा आयो ।
मलाई के लाग्यो भने बेलुकासम्म त अवश्य खुल्ला । देकुमारीलाई पनि यही कुरा सुनाएँ । उनले पनि कसैले चलाएको हल्ला होला भनिन् । फेरि जुवाइँले भन्नुभयोः ड्याडी फर्कनुभयो भएन ? बाढीले रसुवाको टिमुरे र स्याँफ्रुबेँसीका सबै बजार बगायो रे । त्यो त्रिशुलीतिर अगाडि बढ्दै छ रे । आज यात्रा स्थगित गर्नुहोला ।
यति बेलासम्म बसका अरू यात्रीहरू बस चालक र सहचालकहरूलाई पनि रसुवा बाढीकै खबरहरू आइरहेका थिए । बसका यात्रीहरूले आफन्तहरूलाई पनि सोही खबर सुनाउन थाले । बसको माहोल नै अर्कै भयो । मैले यात्रा रद्द गरेर ओर्लने निर्णय गरेँ ।
उता देवकुमारीको इन्सुलिनको औषधि सकिँदै थियो । रुकुममा पाइँदैन । अब कसरी पठाउने होला भन्ने चिन्ता थपियो । जे भए पनि अब घरमै पुगेर टिभी र अनलाइन समाचारहरू हेर्नुपर्ला भनी भक्तपुरको गाडी चढेर दुवाकोटमोड स्थित घरमा आइपुगेँ । अनलाइन खबरहरूका भिडियो तस्बिरहरू हेर्दा आश्चर्यचकित भएँ । सपनामा वा कुनै फिल्ममा मात्र देखेको दृश्यहरू सबैले शेयर गरिरहेका थिए । प्रलयङ्कारी बाढीले नदी किनारका सबै घर बस्ती सडक र पुलहरू लुछ्दै अगाडि बढ्दै थियो । भाग्दा भाग्दैका मान्छेहरू बाढीमा परिरहेको हृदयविदारक भिडियोहरू आइरहेका थिए ।
मैले यसै सम्बन्धमा एउटा पोस्ट बनाएर फेसबुकमा राखेँ
विपत्तिको यो विषम घडीमा स्वार्थ होइन, मानवता रोजौँ !!
भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले हिजो देशलाई स्तब्ध बनाएको छ । रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत नदी तटीय क्षेत्रमा पुगेको मानवीय र भौतिक सम्पत्तिको अपार क्षतिको समाचारले मन भारी भएको छ । विकासका संरचना, घर–व्यवसाय र वर्षौँको मेहनत क्षणभरमै बगाएको दृश्य अकल्पनीय छ । केही रुकुमेलीहरू पनि उक्त बाढीको चपेटामा परेको आशङ्का गरिएको छ । काठमाडौँबाट रुकुम फर्किने मेरो योजना पनि बाटैबाट रद्द गर्नुपर्यो । तर यात्रा रोकिए पनि मन भने त्यहाँका पीडितहरूसँगै अडिएको छ । आँखा ओभाउन सकेका छैनन् ।
यस्तो विपत्तिको घडीमा राज्यका सबै संयन्त्र, राजनीतिक दल, सामाजिक संस्था र आम नागरिक एक भएर उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बेला हो ।
तर दुःखको कुरा, एउटाको सर्वस्व बगाएर नदी किनारमा मिल्काइएका धनसम्पत्तिसमेत आफ्नो बनाउन खोज्ने लुछाचुँडी, उद्धारमा कसले काम गर्यो, कसले सूचना दिएन भन्ने आरोप–प्रत्यारोप, गालीगलौज र यही दुःखद घटनालाई आ-आफ्नो चुलोमा पकाउन खोजिएको राजनीतिक खिँचडीले मन झन् दुखाएको छ । विपत्तिका बिच सोझ्याइएका दुनाहरू र थापिएका ढडियाहरू हास्यास्पद मात्र होइनन्, ती मानवीय संवेदनामाथिका गम्भीर खेलबाड हुन् ।
अहिले कसको गल्ती थियो भनेर हिसाब खोज्ने, जसरी हुन्छ आफ्नो पक्ष बलियो बनाउने वा विपत्तिलाई राजनीतिक स्वार्थको विषय बनाउने समय होइन । अहिले त संयमित भएर जसको घर बगेको छ, उसलाई घरजस्तै साथ दिने, जसले आफन्त गुमाएको छ, उसलाई सहारा दिने, जो घाइते छ, उसको उपचार गर्ने र जो एक्लिएको छ, उसको हात समाउने समय हो ।
आउनुहोस्, सबै मतभेद र स्वार्थलाई केही समय पर राखेर मानवताको पक्षमा एक भएर उभिऔँ । आफूले सकेको उद्धार गरौँ, राहत पुर्याऔँ र पीडितको आँसु पुछ्न तत्पर रहौँ ।
बाढीपहिरोलगायत विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
घाइते तथा अपाङ्ग हुनुभएका दाजुभाइ–दिदीबहिनीहरू, आफन्त गुमाएका परिवारजन तथा धनसम्पत्ति गुमाएर एक्लिएका सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना ।
दिउँसो मन दिदीको फोन आयो । मैले भेट्न चाहेको थिएँ भनेर बताएँ । दिदीले मन दुखाउनुभएजस्तो लाग्यो । दिदीको हर्नियाको अपरेशन भएको थियो । केही समय भक्तपुरमै उपचाररत रहनुभयो । तर मैले फोन गर्न समेत भ्याएको थिएन । काठमाडौँ आएपछि फोन गर्दा दिदीको फोन उठेन । आज गुनासोमिश्रित कुराकानी भयो ।
बेलुका कमल ढकाल सरलाईः कमल सरसँग भेट हुने लेखेर रहेछ कि आज रुकुमको लागि प्रस्थान गरेर पनि फेरि फर्केर दुवाकोटकै निवासमा आइपुगेँ भनेर मेसेज पठाएँ । उहाँले भोलि जसरी पनि लेखनकुन्ज आउनु भनेर जवाफ फर्काउनुभयो । मैले कुनै प्रतिक्रिया दिइनँ ।
दिनभर घरमै बसेर विनाशकारी बाढीको प्रत्यक्षदर्शी भइयो । खाना पनि कोठा बस्ने कविता नानीलाई पकाउन अह्राएँ ।
२०८३ भाद्र ११ गते विहीवार
दुवाकोट भक्तपुर
बिहानै फेसबुक मेसेन्जरमा कमल ढकाल सरको मेसेज आएको देखेँ :
Good morning hajur Aja hajur Kati bela palnu huncha ma kürer baschu
मैले केही जवाफ दिन सकिनँ । फेरि उहाँकै मेसेज आयोःTanka ko kam chaina kura Tyo kura pani Aja agenda ma parcha hajur sanga mero 11:00 baje bhetau Ma lajjjt bhaye kura suner Ma yaha lai dherai nai respect garchu Khushi din khojchu Yaha lai 100 barsa bachauna khojchu Tara k huncha kata afnai office ma Thaha nahune Mero dherai maya samman cha hai hajur
मैले बल्ल प्रतिक्रिया दिने मेसो झिकेँ : त्यस्तो केही कुरा मनमा लिएको छैन । कसैले गरेको र भनेको कुरालाई तत्कालै कतै राखेर हटाइहाल्छु । मेरो यात्रामा यस्ता झिनामसिना कुराले अड्काउँदैनन् सर । समस्या त्यो पटक्कै होइन । सुरुमा रुकुमकै त्रिवेणी गाउँपालिकाले कक्षा १-५ को पाठ्यपुस्तक निर्माण समितिमा राखिदियो । आफ्नै गाउँको पाठ्यपुस्तक बनाउन पाउनु भाग्यको कुरा सम्झेँ । त्यो असार १५ सम्म गर्नु थियो । पछि कक्षा ६-८ को पाठ्यपुस्तक निर्माणमा अर्को कन्सल्टेन्सीले जिम्मेवारी थपिदियो । नाइँ भन्न सकिनँ । त्यो काम पूर्ण रूपमा अझै सकिएको छैन । लगभग ९० प्रतिशत काम सकिएको होला । अन्तिम सेटिङ पनि हेर्नुपर्नेछ ।
यता भने सरको जतिसुकै आडभरोसा विश्वास भए पनि त्यो अपेक्षा अक्षरशः पूरा हुन सक्ने अवस्था देख्दिनँ । मैले सुरुकै दिन भनेको थिएँ मेरो कामको मूल्याङ्कन म आफैले गर्नेछु । सक्दिनँ जस्तो लागेमा म आफै अलग हुनेछु । अहिले अरू २ जना कर्मचारीहरू पनि थपिसक्नुभएको छ । जतिसुकै कुरा गरे पनि फ्रेसब्लड भाइबहिनीले मेरोभन्दा राम्रो काम गर्न सक्छन् । ममाथि सरको लगानी अनावश्यक मात्र हुन्छ । यत्तिकै सरलाई संस्था चलाउन धौधौ परिरहेको छ । झन् मजस्ता अनुत्पादक जनशक्ति थपेर काम छैन ।
उहाँले जवाफ दिनुभयोः हरे राम हरे शिव त्यस्तो हैन । कुरा गरौ आज ।
आफूलाई यतिविधि महत्त्व दिँदा पनि रेस्पोन्स नै नगर्नु भएन । आज कमल ढकाललाई भेट्न लेखनकुन्ज जाने निर्णय गरेँ ।
ठुल्दाइले मिसकल दिइरहनुभएको थियो । कलब्याक गरेँ । आज साउने चतुर्दशी रहेछ । पश्चिमका ओलीहरूको कुल पुजाइ । बराहलाई चित्रलेखि पिनालेखिको थानमा पुगर चल्ला र भेरा बलि दिने दिन । त्यसैको लागि पोखल र रोट लैजानको लागि दाइले फोन गर्नुभएको रहेछ । मैले काठमाडौँ आइसकेको बताएँ । माइलीलाई पठाइदेऊ भन्नुभयो । परीक्षीत र देवकुमारी पनि हिजैदेखि सल्लेमै थिए । उनलाई फोन गर्दा यता निकै ठुलो पानी परेको र सल्ले आएको बखत आज आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्ने भएकोले सोलाबाङ झर्न नसक्ने बाध्यता सुनाइन् । उनकै सल्लाहअनुसार हाम्रोतर्फबाट बराहलाई धजाहरू र पोखल लगिदिनको निम्ति वीरबहादुर ओली भाइलाई खबर गरेँ ।
हिजो तयार भएका औषधि र सामानहरू पठाइदिने व्यवस्थाको लागि किरणको कोठामा पुगेँ र औषधि र सामानको पोका जिम्मा लगाएँ । खाना पाक्दै रहेछ । किरणकी बहिनी पुनमका लोग्ने सचिन जादभ जुवाइँ अफिस जान थाल्नुभएको रहेछ । उहाँलाई एकछिन रोकेर किरणको कोठामा पाक्दै गरेको दाल र भात खाएँ र सचिनकै बाइकमा कोटेश्वर पुगेँ । कोटेश्वरबाट नेपाल यातायात चढी थापागाउँस्थित लेखनकुन्ज १० नबज्दै पुगेँ । सवा १० बजे कमलजी पनि आइपुग्नुभयो । आउनेबित्तिकै कम्पाउन्डभित्रै रहेको कर्णाली किचेनमा छिर्यौँ । कमलजीले मलाई सेतो र आफूलाई कालो कफी मगाएर कुराको सुरुवात गर्नुभयो ।
सुरुमा आफ्नो योजना लेखकीय योजना सुनाउनुभयो । अब लेखनकुन्जको जिम्मेवारी अरूमा सारेर आफूले दुई शृङ्खलामा उपन्यास लेख्ने । उपन्यासलाई बुकर प्राइजको लागि दर्ता गर्ने । त्यसको लागि मैले सहयोग गर्नुपर्ने । अर्को बुँदा थियो लेखनकुन्जलाई कम्पनीमा दर्ता गरेर प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र उक्त प्रज्ञा प्रतिष्ठानका शाखाहरू देशव्यापी रूपमा खोल्ने । तेस्रो थियो हामीले पहिले योजना बनाएको सबै जिल्लामा गठित प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको काठमाडौँमै देशव्यापी सम्मेलन गर्ने र त्यसको लागि मैले नै समन्वय गरिदिनुपर्ने । लेखनकुन्जले तयार गरी प्रकाशनको क्रममा अड्किएको क्यालेन्डर तुरुन्त छपाइ गर्ने । पाँचौ नम्बरमा मलाई दिने आर्थिक सेवा सुविधा बढाइदिने । त्यसको लागि मैले स्पष्ट शब्दमा माग गर्नुपर्ने । मैले सबै कुरामा सहयोग गरौँला तर मेरो बदला अरू कुनैलाई राख्नुभयो भने काम अझै प्रभावकारी हुने कुरामा दोहोर्याएँ । प्रज्ञा सभासदहरूको सम्मेलनको लागि समिति गठन गर्न र संयोजक जगतप्रसाद उपाध्यायलाई मनाउनको लागि पनि सिफारिस गरेँ । जगतलाई आजै भेट्न कमलजीले भनेकोले मैले उहाँसँग समय पनि लिएँ ।
यत्तिकैमा भूपेन्द्रा मल्ल म्याडमको फोन आयो । हिजोको बाढीबाट मृत्यु भएका व्यक्तिका आफन्तहरू र घाइतेहरूलाई भेट्न अस्पत्तालमा जानको लागि तुरुन्त आउनुहोस् भनेर खबर गर्नुभयो । मलाई कमल सरसँग बिदा हुने निहुँ पुग्यो । म भूपेन्द्रा म्याडमको घरमा पुगेँ । बाढी प्रकोपको सम्बन्धमा रुकुमेली वाङमय अधिष्ठानको तर्फबाट प्रेस विज्ञप्ति निकाल्ने भन्नुभएकोले चिया पसलमै बसेर मस्यौदा तयार गरेँ र कार्य समितिको मेसेन्जर ग्रुपमा राखिदिएँ । कार्य समितिका सबै पदाधिकारीहरूलाई सहयोगको लागि अपिल गरेँ । तर माधव थापा सरको ५००० मात्र आयो । भूपेन्द्रा म्यामले २५००० रुपैयाँ दिने घोषणा गर्नुभएको छ । मैले ६६६६।०० रुपैयाँ ट्रान्सफर गरिदिएँ । अरूहरूले मेसेन्जरको मेसेज हेरे पनि सहयोगको तत्परता देखाउनुभएन ।
भूपेन्द्रा मल्ल म्याडमले आफ्नो मोबाइलमा रुकुमेली सेवा समाजको मेसेन्जर ग्रुप देखाउनुभयो । जसमा महाराजगन्ज अस्पत्तालमामा हिजोको बाढीमा घाइते भएका रुकुमका नन्दलाल घर्तीलाई ल्याइएको खबर देखाउनुभयो । सो सम्बन्धमा स्पष्टताको लागि मैले धनवीर दाहाललाई फोन गरेँ । धनवीरले माननीय गोपाल शर्माका पिए ऐवीर बिस्टको नम्बर दिनुभयो । उहाँको समन्वयमा भूपेन्द्रा म्याडम र महाराजगन्ज हस्पिटलमा पुग्यौँ । त्यहाँ पुगेपछि के नन्दलाल घर्तीलाई नल्याइएको तर कोपिला केसीको लास ल्याइएको खबर प्राप्त भयो । उनका काठमाडौँमा हुनेजति आफन्तहरू जम्मा भएका थिए । लासको फोटो पनि खिचेर ल्याएका रहेछन् । हिजो लास प्राप्त भएको ठाउँको फोटो पनि खिचेका रहेछन् । उनका दाइले सबै हुलियाहरू मिलेको तर आफ्नी बहिनीको ७ महिना मात्र अगाडि पेट अपरेशन गरेर बच्चा झिकेकोले त्यो लास आफ्नै बहिनीको भएकोमा अन्यौलता सिर्जना भएको बताइरहेका थिए ।
परिवार नै अन्यौल भए त हामीले के गर्न सक्थ्यौँ र मैले सो सम्बन्धमा हाल गाइनेलोजीमा एमडी गरी हाल चितवनमा गाइनेतर्फको अन्कोलोजीमा डीएम गरिरहेकी छोरी अस्मितालाई बुझेँ । त्यहीँ काम गर्ने बहिनी सुमिता ओलीलाई फोन गर्दा फोन उठेन । जुवाइँ प्रवीण पाठकसँग पनि सल्लाह लिएँ र प्राप्त सल्लाह सुनाउँदै हामीले परिवारजनलाई समवेदना प्रकट गरेर भूपेन्द्रा म्याडम र म फर्कियौँ ।
बेलुका साहित्यकार जगतप्रसाद उपाध्यायलाई भेट्नु थियो । अतः भूपेन्द्रा म्याडम आफ्नो घरतिर लाग्नुभयो भने म बाल्मीकि क्याम्पसतिर लागेँ । जगत सर बोलाउनेबित्तिकै आइपुग्नुभयो । हामीले आधा घण्टामा गर्न सकिने जति छलफल गर्यौँ । कमल सरले प्रज्ञा प्रतिष्ठानका जिल्लास्थित पदाधिकारीहरूको सम्मेलन गर्ने तयारी भएकोले सहयोग गर्न अनुरोध गरेँ । उहाँले संस्थाको नाम सोध्नुभयो । कमलले अहिले गोप्य राख्नु भनेकोले उहाँलाई बताउन सकिनँ । जगत सरले जिल्लास्तरीय र केन्द्रकै पनि लघु संस्थाहरूको सल्लाहकार नबस्ने तर विश्वास लाग्दो संस्था भएमा सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
जगत सरसँग बिदा भएर म फेरि भूपेन्द्रा म्याडमको घरतिर लागेँ । प्रेस विज्ञप्तिलाई अन्तिम रूप दिएर प्रिन्ट गरेर आजै सामाजिक सञ्जालमा पोस्ट गर्ने भन्ने पहिल्यै सल्लाह भएको थियो ।
विज्ञप्ति यस्तो थियोः
रुकुमेली वाङमय अधिष्ठानको प्रेस विज्ञप्ति
मितिः २०८३।१०।११
भोटेकोसी नदीको विनाशकारी बाढीप्रति रुकुमेली वाङ्मय अधिष्ठानको गहिरो दुःख, समवेदना र ऐक्यबद्धता !
रसुवाको भोटेकोसी नदीमा गत १० गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, गोरखा, नुवाकोट, धादिङ, चितवन लगायतका नदी-तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिले रुकुमेली वाङ्मय अधिष्ठान, काठमाडौँलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको छ ।
अकल्पनीय रूपमा आएको यस बाढीले धेरै मानिसको ज्यान लिनुका साथै वर्षौंको मेहनतबाट निर्माण भएका घर, व्यवसाय, पुल, सडक, सार्वजनिक तथा निजी संरचना र जीविकाका आधारसमेत नष्ट गरेको छ । कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपय घाइते भएका छन् भने कतिपय क्षणभरमै सर्वस्व गुमाई विस्थापित हुन बाध्य भएका छन् । यस प्रलयंकारी बाढीको चपेटामा केही रुकुमेलीहरू समेत परेको खबर प्राप्त भएको छ । यो पीडा प्रभावित परिवारको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा पीडा हो ।
रुकुमेली वाङ्मय अधिष्ठान यस दुःखद् घडीमा बाढीबाट प्रभावित समस्त दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ । दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबार, व्यवसाय तथा धनसम्पत्ति गुमाई कठिन परिस्थितिमा पुगेका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछ ।
अधिष्ठान सरकारका सम्पूर्ण निकाय, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई सबै मतभेद र स्वार्थभन्दा माथि उठी खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनाको कार्यमा एकजुट हुन हार्दिक आह्वान गर्दछ ।
विपत्तिको यस घडीमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं :
१. खोज तथा उद्धार कार्यमा तीव्रता ल्याइयोस्
सम्पर्कविहीन तथा हराइरहेका नागरिकको खोजीलाई सर्वोच्च प्राथमिकतामा राखी उपलब्ध सम्पूर्ण राज्य संयन्त्र, सुरक्षा जनशक्ति, प्रविधि तथा स्रोतसाधन तत्काल परिचालन गरियोस् ।
२. घाइते तथा विस्थापित नागरिकको तत्काल व्यवस्थापन गरियोस्
घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार तथा विस्थापित परिवारका लागि सुरक्षित आश्रय, खाद्यान्न, खानेपानी, औषधि र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि आवश्यक विशेष सहयोगको व्यवस्था गरियोस् ।
३. पीडितको बाँकी सम्पत्तिको संरक्षण गरियोस्
बाढीले घर, पसल तथा अन्य संरचना बगाएपछि नदी किनार वा अन्यत्र छरिएका सामान तथा सम्पत्तिमा हुनसक्ने चोरी, लुटपाट वा जबर्जस्ती कब्जालाई कडाइका साथ रोकियोस् । विपत्तिबाट सर्वस्व गुमाएका नागरिकको बाँकी सम्पत्ति समेत असुरक्षित हुने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद र अमानवीय हुनेछ ।
४. दोषारोपण र राजनीतिक आरोप-प्रत्यारोपबाट टाढा रहौं
अहिले कसले पहिले सूचना दियो, कसले के गर्यो वा गरेन भन्ने विषयमा आरोप-प्रत्यारोप, गालीगलौज र राजनीतिक स्वार्थको खेल खेल्ने समय होइन । विपत्तिको यस तत्कालीन घडीमा एउटै प्राथमिकता हुनुपर्छ मानव जीवनको रक्षा । उद्धार र राहतको चरण पार भएपछि मात्र घटनाका कारण, पूर्वतयारी, कमजोरी र जिम्मेवारीका विषयमा तथ्यपरक समीक्षा र आवश्यक बहस गरिनुपर्छ ।
५. अफवाह र अपुष्ट सूचनाको प्रसार रोकियोस्
विपत्तिका बेला गलत सूचना र त्रास फैलाउने गतिविधिले उद्धार तथा राहत कार्यमा थप जटिलता उत्पन्न गर्न सक्छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्बन्धित सबैलाई आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न हार्दिक आग्रह गर्दछौं ।
६. विपद्पछिको पुनःस्थापनालाई दीर्घकालीन योजनासँग जोडियोस्
तत्कालीन राहतपछि प्रभावित बस्ती, सडक, पुल, विद्युत्, सञ्चार, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा जीविकोपार्जनका आधार पुनर्निर्माणका लागि स्पष्ट र दीर्घकालीन योजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् । साथै यस्ता आकस्मिक विपद्को पूर्वानुमान, पूर्वसूचना र जोखिम न्यूनीकरण प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक अध्ययन र लगानी गरियोस् ।
रुकुमेली वाङ्मय अधिष्ठान साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील संस्था भए तापनि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आफ्नो वाङ्मयिक दायित्वकै अभिन्न अङ्ग मान्दछ । तसर्थ, दुःखको यस घडीमा प्रभावित नागरिकको पीडासँग आफ्नो पीडा जोड्दै सम्पूर्ण देशवासीलाई आ-आफ्नो क्षमताअनुसार उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा सहभागी हुन हार्दिक आह्वान गर्दछ ।
- रुकुमेली वाङ्मय अधिष्ठान काठमाडौँ
भूपेन्द्रा म्यामको घरमा गएर यो देखाएपछि उहाँले अफिसमा काम गर्ने कर्मचारी बिदा भएर घरमा गइसकेकोले कतै प्रिन्ट गरेर ल्याउन भन्नुभयो । यति बेला बेलुका ६ बजिसकेको थियो । घरमा पुग्नै डेढ घण्टाभन्दा बढी लाग्थ्यो । अतः मैले ज्ञानु बीसीजी अफिसमै भए प्रिन्ट गरेर ल्याउनू भनेँ । भूपेन्द्रा म्याडमलाई पनि ज्ञानुजीले विज्ञप्ति तयार गरेर ल्याउनुहुन्छ भनी बताएर उहाँको घरबाट निस्किएँ । गौशाला जाँदा गाडीमा मान्छे खचाखच भरिएर आउने र म जस्तो होचो मान्छेलाई यात्रा निकै सकसपूर्ण हुनेभएकोले गौशालातिर नलागेर पुरानोबानेश्वरसम्म हिँड्दै गएर रत्नपार्क जाने टेम्पोमा चढी वीरअस्पपत्ताल अगाडिबाट बनेपाको गाडी चढेर दुवाकोटमोडतिर फर्किएँ । घरमा आइपुग्दा राति ९ बजिसकेकोले बाटोबाटै तलको कोठामा बस्ने कवितालाई खाना पकाउनु भनिसकेको थिएँ । पकाएको खाना माथि ल्याइदिएकोले खाना खाई दिनभरको दौडधुपबाट उत्पन्न अति थकानलाई विश्राम दिएँ ।
२०८३ भाद्र १२ गते शुक्रवार
दुवाकोट भक्तपुर
आज जनै पूर्णिमा थियो । बिहानै नुहाइधुवाइ गरेँ र घरभित्रको पूजा कोठामा र तुलसीमठमा बत्ती बालेँ ।
पोहोर साल यसै दिन मुसीकोटमा मेरै संयोजकत्वमा मुसीकोट हेरिटेज रन सम्पन्न भएको थियो । संयोजकत्व मात्र होइन थोरै मात्र साथीभाइलाई प्रयोग गरेर सम्पूर्ण कार्यक्रम आफै खटेर तयार गरी पूर्ण रूपमा सफल बनाएको थिएँ । यस वर्ष पनि कार्यक्रम गर्ने भनेको अपेक्षित उपलब्धि हासिल भएन । यसले मन दुखिरहेको थियो । त्यसै विषयलाई लिएर मुसीकोट मेयरलाई पत्र शैलीमा सुधार न्युजमा लेख पठाएको थिएँ । सुधार न्युजले आजै प्रकाशित गरेको रहेछ । उक्त अनलाइन पत्रिकाका सम्पादक अमरराज पुनले मलाई लिङ्क पठाइदिनुभयो र मैले फेसबुकमा शेयर गरेँ । मुसीकोट मेयरलाई पत्र भनेपछि सबैको ध्यान आकर्षित होला भन्ठानेको थिएँ तर भएन । मान्छेहरूले अहिले मैले जे राखे पनि उति हेर्दैनन् । अन्य पोस्टभन्दा फरक प्रतिक्रिया आएनन् ।
पत्रको बेहोरा यस्तो थियोः
मुसीकोट मेयरसाबलाई एउटा चिठी
मिति २०८३ भाद्र १२ गते
आदरणीय मेयरसाब,
सादर नमस्कार ।
आज यो चिठी लेख्न बस्दा मनमा धेरै कुरा छन् । तर सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौँ, यो पत्र तपाईंको आलोचना गर्न लेखेको होइन । तपाईंलाई सार्वजनिक रूपमा आरोप लगाउने मेरो कुनै उद्देश्य छैन । तपाईंलाई व्यक्तिगत रूपमा आलोचना गर्नुपर्ने कुनै त्यस्तो कारण पनि मसँग छैन ।
तर एउटा प्रश्न भने धेरै दिनदेखि मेरो पछाडि लागिरहेको छ: “मुसीकोट हेरिटेज रन यो वर्ष किन सञ्चालन भएन ?” जहाँ भेट्यो त्यहीँ मान्छेहरू सोध्छन् । कसैले फोन गरेर सोध्छ, कसैले मेसेन्जरमा सोध्छ, कसैले भेटेर सोध्छ । गत वर्ष कार्यक्रमको संयोजन गरेको नाताले मैले यसको उत्तर दिनुपर्ने अवस्था पनि स्वाभाविक नै लाग्दछ ।
तर मसँग स्पष्ट उत्तर छैन । त्यसैले यो प्रश्नको उत्तर खोज्दै यो चिठी तपाईंलाई लेखिरहेको छु ।
मेयरसाब,
मुसीकोट नगरपालिकाको अभिभावकत्व सम्हालेर सीमित स्रोतसाधनबाट असीमित अपेक्षा पूरा गर्नु सजिलो काम होइन । त्यसमा पनि जिल्लाको सदरमुकाम रहेको नगरपालिकाका नागरिकका अपेक्षा स्वाभाविक रूपमै धेरै हुन्छन् । सडक चाहिन्छ, खानेपानी चाहिन्छ, शिक्षा र स्वास्थ्य चाहिन्छ, खेलकुद चाहिन्छ, संस्कृति चाहिन्छ, पर्यटन चाहिन्छ । नगरपालिकाका काँधमा जिम्मेवारीको सूची निकै लामो छ ।
बजेट कसरी बन्छ, कार्यक्रम कसरी प्राथमिकतामा पर्छ, कसरी स्वीकृत हुन्छ, कसरी खर्च हुन्छ र त्यसको अनुगमन तथा मूल्याङ्कन कसरी गरिन्छ भन्ने कुरा मैले पनि आर्थिक प्रशासनको विद्यार्थी तथा लामो समय राष्ट्रसेवक भएर केही हदसम्म बुझेको छु । त्यसैले तपाईंलाई सीमित बजेटभित्र धेरै कुरा मिलाउनुपर्ने बाध्यता छ भन्ने कुरा मैले नबुझेको होइन ।
त्यसैले यो पत्र गुनासोभन्दा बढी एउटा सम्झना हो ।
मेयरसाब,
राप्ती साहित्य परिषद्का कार्यक्रमहरूमा तपाईंले विगतको भन्दा गर्नुभएको थप सहयोग हामीले बिर्सेका छैनौँ । त्यसका लागि तपाईंप्रति हाम्रो सकारात्मक धारणा नै छ ।
तर एउटा प्रसङ्ग अलि फरक छ ।
राप्ती साहित्य परिषद्ले खेलकुदमा हात हाल्नु कति शोभनीय थियो, त्यो छुट्टै बहसको विषय हुन सक्छ । हामी पनि खेलकुद संस्था होइनौँ । तर मुसीकोटका पर्यटकीय तथा ऐतिहासिक सम्पदालाई खेलकुदसँग जोडेर चिनाउने काममा अन्य क्षेत्रबाट खासै पहल नभएको अवस्थामा हामीले एउटा प्रयास गरौँ भन्ने सोच्यौँ ।
त्यसैबाट जन्मिएको थियोः मुसीकोट हेरिटेज रन ।
गत वर्ष हामीले इच्छुक चन्दादाता र सहयोगदाताका घरदैलोमा पुगेर, हातपाउ जोडेर स्रोत जुटायौँ । नगरपालिकाको बजेट प्रयोग भएन । तर तपाईं र नगरपालिका परिवार नै आफैँ कार्यक्रममा उपस्थित हुनुभयो । तपाईंको संस्थागत तथा व्यक्तिगत समर्थनले खेलाडी, आयोजक र सहयोगदाताको मनोबल बढायो । त्यसका लागि तपाईंलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ ।
कार्यक्रम सुरु हुनुभन्दा केही घण्टाअघि जिल्लाका क्रियाशील खेलकुद क्षेत्रका केही पदाधिकारीबाट “यो कार्यक्रम कसको समन्वयमा हुँदैछ ?” भन्ने गुनासोमिश्रित चेतावनीसमेत आएको थियो । तर ती सबै कुरा पार गर्दै कार्यक्रम सम्पन्न भयो ।
त्यो दिन हामीले एउटा कुरा अनुभव गर्यौँ, कहिलेकाहीँ एउटा सानो प्रयासले पनि ठूलो सम्भावनाको ढोका खोल्दो रहेछ ।
मेयरसाब,
यो वर्षको परिस्थिति गत वर्षजस्तै रहेन । गत वर्ष जसरी साथीभाइ र शुभेच्छुकसँग हात जोडेर मात्र स्रोत जुटाउने अवस्था रहेन । त्यसरी हरेक वर्ष कार्यक्रम चलाउन सम्भव पनि थिएन । त्यसैले नगरपालिकासँग सहयोग माग्यौँ । यही विश्वासका साथ गत साउन १५ गते तपाईंको संयोजकत्वमा नगरपालिकामा बैठक बस्यो । बैठकमा अबदेखि कार्यक्रमको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले नै लिने विषयमा छलफल भयो । तपाईंले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हामीले त्यसलाई स्वागत गर्यौँ ।
कार्यपालिकाको बैठकबाट पनि तपाईँको उक्त प्रतिबद्धताले औपचारिकता पायो । हामी अझै उत्साहित भयौँ । यसबाट हामीले एउटा अर्थ बुझेका थियौँ: अब यो कार्यक्रम राप्ती साहित्य परिषद्को मात्र होइन, मुसीकोट नगरपालिकाकै पनि कार्यक्रम बन्ने भयो ।
त्यसपछि हामीले दोस्रो मुसीकोट हेरिटेज म्याराथन–२०८३ सञ्चालनका लागि प्रस्ताव पेस गर्यौँ । अनुमानित लागत थियोः रु. २ लाख ५० हजार । हामीले नगरपालिकासँग जम्मा रु. २ लाख माग गरेका थियौँ र बाँकी रु. ५० हजार आफैँ जुटाउने प्रतिबद्धता गरेका थियौँ । कार्यक्रमको लक्ष्य, उद्देश्य, औचित्य, महत्त्व, कार्यक्रम तालिका, जिम्मेवारी आदि स्पष्ट गरिएको उक्त प्रस्तावमा कार्यक्रम भदौ १२ गते गर्ने भनिएको थियो । गत वर्षको दौड रुटलाई परिमार्जित गरेर खलङ्गाको बराह टाकुराबाट सुरु हुने दौड कालिका मन्दिर हुँदै सेरिगाउँ, पुरानो बाटोबाट चाँपा, मुसीकोट दरबार, शीतलपोखरी, ठाराढुङ्गा, डाङडुङ्गे, कानेबाङ, साँखदह, बयरीदह, ठुलदह, स्यानदह, खारादह, पोखरा, सातदुले–जुम्लेपोखरी, डँयरीचौर (प्रेमताल), पाथीहाल्ने, जन्ती ओलप्पेको लेक, घिमाने, डिग्रे साइकुमारी मन्दिर हुँदै पुनः खलङ्गामै आएर टुङ्गिने गरी फूल म्याराथन अर्थात् कुल दूरी—४२.१९५ किलोमिटर पुर्याउने भनेका थियौँ ।
कल्पना गर्नुहोस् मेयरसाब, दौडने खेलाडीहरू मुसीकोटका मात्र नभई देशभरिबाट ओइरिने थिए । दौडको केवल पदक जित्ने उद्देश्यले मात्र आउने थिएनन्; मुसीकोटका ती ठाउँहरूलाई आफ्ना खुट्टाले नाप्दै, आँखाले देख्दै, अनुभव गर्दै जाने थिए ।
हाम्रो चाहना थियोः मुसीकोटका सम्पदा नक्सामा मात्र होइन, देशभरका मानिसहरूको स्मृतिमा पुगून् ।
तपाईँलाई अवगत नै छ यस्तै दूरीको मौराखारा म्याराथन कार्यक्रम सञ्चालन गर्न २० लाखभन्दा बढी खर्च भइरहेको र गत वर्षदेखि सुरु भएको चित्रिपाटन म्याराथनको लागत पनि ५ लाखभन्दा बढी भएको खबर सुनिएको थियो ।
बैठकमा कार्यक्रम सञ्चालनका लागि प्रतिस्पर्धा गराएर ठेक्कामा दिने कुरा पनि उठेको थियो । त्यो पनि गलत हो भनेर म भन्न चाहन्नँ । नगरपालिकाका आफ्नै प्रक्रिया र विधि हुन्छन् । तर एउटा प्रश्न भने मनमा उठिरह्योः हेरिटेज रनको मूल उद्देश्य के हो ? केवल केही खेलाडीलाई दौडाउनु ? केवल एउटा खेलकुद कार्यक्रम सम्पन्न भएको औपचारिकता पूरा गर्नु ? कि मुसीकोटका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई खेलकुद तथा पर्यटनसँग जोडेर बाहिर चिनाउनु ?
यदि तेस्रो उद्देश्य हो भने, कार्यक्रम सञ्चालन गर्ने संस्था वा समूहले मुसीकोटको हेरिटेजलाई कति बुझेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । किनकि यो अरू खेलजस्तो मात्र खेल होइन । यसको उपलब्धि तुरुन्तै देखिँदैन । यसको प्रभावको हिसाब एउटा कार्यक्रमको खर्च र खेलाडीको सङ्ख्याबाट मात्र गर्न मिल्दैन । आज दौडिएको बाटो भोलि पर्यटकीय बाटो बन्न सक्छ । आज देखाइएको सम्पदा भोलि कसैको यात्राको गन्तव्य बन्न सक्छ । आज खिचिएको एउटा तस्बिर भोलि मुसीकोट चिनाउने सामग्री बन्न सक्छ । त्यसैले यसको महत्त्वको मूल्याङ्कन अलि लामो समयको आँखाले गर्नुपर्छ जस्तो लाग्छ ।
मेयरसाब,
तपाईंले त्यतिबेला एउटा कुरा बारम्बार भन्नुभएको सम्झन्छुः “वडास्तरीय, पालिकास्तरीय र जिल्लास्तरीय खेलकुदलाई पनि मैले प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।” तपाईंको कुरा आफ्नो ठाउँमा ठीक छ । तर मेरो आग्रह यति मात्र होः हेरिटेज रनलाई पनि त्यही दृष्टिले मात्र नहेर्नुहोस् । यो खेलकुदको कार्यक्रम हो, तर खेलकुद मात्र होइन । यो पर्यटनको कार्यक्रम हो, तर पर्यटन मात्र होइन । यो संस्कृति र सम्पदाको कार्यक्रम हो, तर संस्कृति मात्र होइन । यो त यी सबैलाई एउटै धागोमा गाँस्ने एउटा प्रयास हो ।
अब एउटा व्यावहारिक कुरा । नगरपालिकाले प्रतिबद्धता गरेको रु. १ लाखबाटै पनि कार्यक्रम सञ्चालन गर्न नसकिने थिएन । तर समस्या पैसामा मात्र सीमित थिएन । कार्यक्रम गर्ने भएपछि तयारी समिति कहाँ बस्ने ? कार्यालय कसरी चलाउने ? मसलन्द कसले दिने ? कम्तीमा केही सातासम्म खटिने जनशक्ति कहाँबाट ल्याउने ? ब्यानर कसले बनाउने ? कसले टाँस्ने ? निरन्तर प्रचारप्रसारको काम कसले गर्ने ? प्रमाणपत्र कसले तयार गर्ने ? रुट मार्किङ कसले गर्ने ? ट्र्याकिङ कसले गर्ने ? खेलाडी र अतिथिहरूलाई निमन्त्रणा कसले पठाउने ? निमन्त्रणा नपुगेकालाई फोन गरेर कसले खबर गर्ने ? कार्यक्रमको दिन स्वास्थ्य सेवा कसरी व्यवस्थापन गर्ने ? सुरक्षा कसरी मिलाउने ?
यी सबै काममा समन्वय, प्राविधिक सहयोग र प्रशासनिक साथ चाहिन्थ्यो । र सत्य कुरा के हो भने राप्ती साहित्य परिषद्सँग कार्यक्रम सम्पन्न गर्ने अदम्य उत्साह थियो, उत्कट इच्छा थियो, अनुभव थियो; तर यी सबै काम धान्न पुग्ने जनशक्ति थिएन ।
त्यसैले हामीले तपाईंलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्यौँ । प्रत्यक्ष होस् वा अप्रत्यक्ष । तर प्रस्तावित समयमा कार्यक्रम गर्न आवश्यक पर्ने गरी समन्वय हुन सकेन । समय बित्दै गयो । भदौ १२ नजिकिँदै गयो । अन्ततः त्यो मिति आयो र निष्परिणाम गयो । देशैभरिबाट म्याराथन धावकहरू यस दौडमा आउन भाग लिन आउन तम्तमाएका थिए । तर मुसीकोटको एउटा प्रबल सम्भावना भने त्यस दिन यत्तिकै चुपचाप खेर गयो ।
मेयरसाब,
यी कुराहरू अलि भावुक लाग्लान् । तर कुनै सानो देखिने कुराले पनि कहिलेकाहीँ ठूलो तरङ्ग पैदा गर्छ । र कुनै ठूलो देखिने कार्यक्रमको उपलब्धि पनि कहिलेकाहीँ शून्य हुन सक्छ । यसको फैसला हामीले आजै गर्नुपर्दैन । समयले आफैँ गरिदिन्छ । त्यसैले म तपाईंलाई दोष लगाउन खोजिरहेको छैन । बरु एउटा सम्भावनातिर ध्यानाकर्षण गराइरहेको छु । मुसीकोटका सम्पदाहरूको चिनारी र प्रवर्द्धनको लागि तपाईँकै पालामा सुरुवात गरिएको जस पाउनुहुने थियो ।
यो पत्र लेख्नुपर्ने बाध्यता किन पर्यो, सुरुमा नै मैले भनिसकेँ । गत वर्ष कार्यक्रम सफल तुल्याउने संयोजकको नाताले मलाई भित्र र बाहिरबाट निरन्तर सोधखोज भइरहेको छ । “यसपालि हेरिटेज रन किन भएन ? के कुराले अड्कियो यति महत्त्वपूर्ण कार्यक्रम ? कसले रोक्यो यो कार्यक्रम ?”
मसँग त्यसको पूरा उत्तर छैन । त्यसैले यो प्रश्नको जवाफ दिने एउटा हिस्सा तपाईंको काँधमा राखिदिएको हुँ । यदि यो पत्रका कुनै शब्दले तपाईंको मन दुखाए वा मानमा चोट पुगेको महसुस भयो भने सार्वजनिक रूपमा क्षमा चाहन्छु ।
मेरो उद्देश्य व्यक्ति होइन, विषय हो । व्यक्ति होइन, सम्भावना हो । म कहिल्यै व्यक्तिगत नाफाघाटा हेरेर काम गर्दिनँ ।
अझै एउटा कुरा बाँकी छ । भदौ १२ गते कार्यक्रम हुन सकेन भन्दैमा हेरिटेज रनको यात्रा सकिएको छैन । समय मिल्छ । यो वर्षका थुप्रै दिनहरू बाँकी नै छन् । अनुकूल परिस्थिति आउँछ । फेरि बैठक बस्न सकिन्छ । परिमार्जित रूपमै भए पनि मुसीकोट म्याराथन सफलतासाथ सम्पन्न गर्न सकिन्छ । तर त्यसका लागि नगरपालिकाको आर्थिक सहयोग मात्र पर्याप्त हुँदैन । आर्थिक सहयोगसँगै प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय सहयोग पनि चाहिन्छ ।
नगरपालिकाले अपनत्व लिएर एउटा सक्षम टिम बनाएर अघि बढ्यो भने मुसीकोट हेरिटेज रनलाई एउटा वर्षको कार्यक्रमबाट निरन्तर चल्ने पहिचान बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ । राप्ती साहित्य परिषद्ले गत वर्ष सुरुवात गरेको थियो । अब यसलाई नगरपालिकाले आफ्नो बनाउन सक्छ । अनि भोलि कुनै अर्को सक्षम संस्था वा समूहले अझ विस्तार गर्न सक्छ । सुरुवात कसले गर्यो भन्नेभन्दा पनि यात्रा कहाँ पुग्छ भन्ने कुरा ठूलो हो ।
मेयरसाब,
यो पत्र स्थानीय पत्रिकामार्फत सार्वजनिक गर्दैछु । तपाईँसमक्ष पुग्ने नै छ । मेरो कुरा तपाईंले आफ्नै विवेकले बुझ्नुहुनेछ भन्ने विश्वास छ ।
गत वर्ष डिग्रे साईकुमारी भगवती मन्दिरबाट दौड सुरु गर्दा हामीसँग धेरै कुरा थिएनन्—न पर्याप्त बजेट, न ठूलो जनशक्ति, न ठूलो संस्थागत संरचना ।
तर एउटा कुरा थियोः मुसीकोटलाई चिनाउन सकिन्छ भन्ने विश्वास । त्यही विश्वासले हामीलाई दौडायो । त्यही विश्वासले हामीले २६ जना धावकहरूलाई निर्बाध रूपमा दौडायौँ । यसपालि त्यो विश्वास अझै मरेको छैन ।
बरु तपाईंको नेतृत्वमा नगरपालिका स्वयं त्यस दौडको सहयात्री बनोस् भन्ने अपेक्षा मात्र हो । मुसीकोटका सम्पदाहरूले हामी पनि मुसीकोटलाई समृद्ध बनाउनसक्छौँ भन्दै हामीलाई बोलाइरहेका छन् । हामीले तिनीहरूलाई सुन्ने कि नसुन्ने ?
मेयरसाब
अन्तमा यो पत्रलाई हृदयङ्गम गरेर आवश्यक कदम चाल्नुहुनेछ विश्वासको साथ बिदा हुन चाहन्छु ।
- पूर्ण ओली
मुसीकोट, रुकुम पश्चिमको एक बासिन्दा
निशाले र किरणले खाना खान सानोठिमीमा बोलाइरहेका थिए । बिहानको कामहरू सकेर सानोठिमी पुगेँ । निशाकै घरमा जान उपयुक्त देखेँ । उसले बारम्बार फोन गरेर खाना पाकिसक्यो भनेर बोलाइरहेकी थिई । निशाको घरमा खाना र क्वाँटी खाएँ । एकछिन आराम गर्छु भनेको निदाइहालेछु । उठ्दा झमझम पानी परिरहेको थियो । निशा स्लाइन लगाउन सङ्गीताको कोठा गएकी रहिछ ।
म त्यहाँबाट फर्किएँ । दुवाकोट मोडमा आएपछि पूजा पसलमा गएर धागो किनेर हातमा लगाएँ । जनै फेरेँ ।
२०८३ भाद्र १३ गते शनिवार
दुवाकोट भक्तपुर
बिहान उठेर रुकुमेली वाङमय अधिष्ठानको तर्फबाट राहत उद्धारको लागि कति सहयोग जुट्यो भनेर हेरेँ । केही साथीहरूलाई फोन र मेसेन्जरमार्फत कुरा गरेर सहयोग गर्न अनुरोध गरेँ । केशव शर्माले रु ५५०० दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फेसबुक हेर्दा गत वर्षको मुसीकोट हेरिटेज रनको कार्यक्रम योर पास्ट मेमोरिज भनेर फेसबुकले देखाइरहेको रहेछ । प्रायशः देखाइरहने यस्ता पोस्टहरू परवाह गर्दैनथेँ तर यसलाई भने शेयर गर्न मन लाग्यो । उक्त पोस्टमा यस्तो लेखेको थिएँ :
मुसीकोट हेरिटेज रन २०८२ ! भयो पनि त्यस्तै !!
मुसीकोटको एक ऐतिहासिक काम सम्पन्न गर्न सकेकोमा गर्वानुभूति भएको छ । खेलको एउटै डोरीमा कला, पर्यटन, संस्कृति र साहित्यका सुन्दर थुङ्गाहरू उइनेर एउटा सुन्दर माला तयार गरी देखाउने प्रयास गरियो । यो प्रयास वर्तमान र भावी पुस्ताको लागि गहिरो सवक हो ।
यो कार्यक्रम सफल हुनेमा केहीको आशङ्का र अविश्वास थियो नै । त्यो भन्दा बढी शुभेच्छुकहरूको आशा र विश्वास थियो । भयो पनि त्यस्तै । कार्यक्रमलाई सफल तुल्याउन पूरै जिल्ला, प्रदेश र देश नै उत्रियो । मुसीकोट पूरै उत्रियो । राजनीति पूरै उत्रियो । पूरै प्रशासन उत्रियो । सञ्चार क्षेत्र पूरै उत्रियो । अध्यात्मदेखि भौतिक विश्वास सबैले विश्वास गर्यो । सबैले विश्वास गर्नु नै यो कार्यक्रम सफलताको प्रमुख मापदण्ड थियो । सबैको साथ र सहयोगले कार्यक्रम सफल भइछोड्यो ।
बिहानैदेखिको सिमसिमे पानीले चुनौती थपे तापनि प्रतियोगीहरू, अतिथिहरू र सहभागीहरूको व्यग्र उत्सुकताले ८ बजेभित्रै मन्दिरको प्रवेशद्वार खचाखच भरिइसकेको थियो । सबैको आशा थियो कि साढे नौ बजेसम्म झरी थामिनेछ ।भयो पनि त्यस्तै । कार्यक्रमलाई औपचारिकता दिएर दौड सुरुवातको सिठ्ठी फुक्दा ९ बजेर ३६ मिनेट गएको थियो ।
साईकुमारी भगवतीको काखबाट सुरु भएको यस कार्यक्रम पूर्णरुपेण सफल होस् भन्ने कामना गरिरहेको थिएँ । दुई दिनदेखिको वर्षातले लेकाली बाटो निकै चिप्लो भइसकेको थियो । पानीले धावन मार्ग निकै हिलाम्मे र जोखिमपूर्ण तुल्याएको थियो । प्रार्थना गरिरहेको थिएँ कुनै खेलाडीलाई पनि एउटा काँडाले पनि नकोरोस् । कतै हिलोमैलो र ठेससम्म नलागोस् । सबै धावकले सकुशल दौड पूरा गरून् । भयो पनि त्यस्तै । सामान्य हिँडाइमा पूरै दिनभर लाग्ने निकै लामो लेकाली मार्गमा सबै धावकहरूले सुरक्षितरूप दौड पूरा गरेर देखाइदिनुभयो । यति कठिनतम् खेलमा सबै खेलाडीहरूको उत्साहपूर्ण सहभागिता रह्यो। बिचमै कसैले छोड्नुभएन । सबै खेलाडीहरूले यो खेल जित्नुभयो । तसर्थ सबै खेलाडीहरू पुरस्कृत र सम्मानित हुनुभयो ।
दुर्गाजीकै भनाइअनुसार उहाँले ५०० भन्दा बढी प्रतिस्पर्धामा भाग लिएर ५०० भन्दा बढी पटक नै पुरस्कृत र सम्मानित भइसक्नुभएको छ । त्यस मानेमा उहाँको लागि यो खेल केही थिएन । तर उहाँले सबैभन्दा उत्कृष्ट मार्ग र सबैभन्दा व्यवस्थित दौड यही नै भएको अभिव्यक्ति दिनुभएको थियो । सबैको आँकलन यही थियो कि मुसीकोट साँखका दुर्गा बुढाले नै यो खेल जित्नेछन् । भयो पनि त्यस्तै । दुर्गा बुढाले नै यो खेल जिते ।
एक महिनासम्म दुर्गा बुढालाई कतै अघि त कति पछि लगाएर उहाँका साहस र गौरवका कथाहरू मात्र सुनिएन उहाँको आन्द्राभुँडी र नाडी पनि छामेकोले मैले पहिल्यै आँकलन गरिसकेको थिएँ कि प्रथम विजेताले यो दौड करिब १ घण्टा ४५ मिनेटमा पूरा गर्नेछन् । भयो पनि त्यस्तै । पूर्वआँकलनमा ७ मिनेट मात्र फरक पारेर दुर्गा बुढाले १ घण्टा ५२ मिनेट ४६ सेकेन्डमा दौड पूरा गरेर साई कुमारी मन्दिरको पहिलो चरण स्पर्श गर्नुभयो । दुर्गा बुढाको चुनौतीपूर्ण मिहिनेत र साहसलाई हृदयदेखि नै उच्च सम्मान गर्दछु ।
मान्छेको संरचना नै यस्तो छ कि अगाडिपट्टि मात्र आँखा भएकोले अगाडिकोलाई मात्र देख्छ । दुईवटा आँखा भए पनि एक आँखाले अर्को आँखाभन्दा थप एक बित्ता पनि पछाडि देख्दैन । देख्दैन होइन देख्ने कोसिस नै गर्दैन । यस दौडको विजेता बन्न तेह्रौँ प्रयास गरिरहेका दुर्गाको पछिपछि सिस्ने-४ रुकुम पूर्वका पन्चराम बुढा थिए । ११२ मिनेटको दौडमा ५ मिनेट मात्र फरक पर्नु एक निमेष बराबर हो । विश्व विजेता बन्न तम्सिरहेका दुर्गाजीलाई पछ्याउने मात्र होइन जित्नै आँटेका पन्चरामको साहस पनि कम सम्मानजनक कम स्वागतयोग्य थिएन । दुर्गा दौडिएका मात्र थिएनन् पन्चरामबाट धकेलिइरहेका थिए । त्यसैले दुर्गाको जितमा पन्चरामको पनि हात छ र दुबैजना प्रथम सम्मानयुक्त खेलाडी बने ।
पन्चरामलाई भुमे-३ रुकुम पूर्वका शक्तिराम रोकाले सन्निकटबाट लखेटिरहेका थिए । पन्चरामले १ घण्टा ५७ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दा ४ मिनेटको अन्तर पारेर शक्तिरामले २ घण्टा १ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेर विजेता बन्न पुगे । यसरी नै ४/४ मिनेटको फरकमा मुनपा-१ का भुवन केसीले २ घण्टा ६ मिनेट ३६ सेकेन्डमा र षडानन्द-४ भोजपुर विशाल तामाङले २ घण्टा १० मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर विजेता बने ।
यस्तै गरेर रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, बर्दिया, दैलेख, पाल्पा, भोजपुर गरी ९ वटा जिल्लाहरूका १८ वर्षदेखि ४८ वर्षसम्मका खेलाडीहरूको सहभागिता रह्यो ।
४३ वर्षमाथिका दीपक केसी, डिल्लीबहादुर ओली र बीरबहादुर केसीको सहभागिता र प्रतिष्पर्धाले युवाहरूमा भरपुर उमङ्ग र जोस थपिदियो । यसले खेल-मालालाई रङ्गीबिरङ्गी बनाएर विविध सुन्दरता थपिदिएको थियो । दीपक केसीजीले त ११ जना युवाहरूलाई समेत पछि पार्दै ११ औँ स्थानमा आइपुगे । डिल्ली ओलीले मुसीकोटको २८ किमिको दौड प्रारम्भ नगर्दै जिबाङको तमाकछरेबाट करिब १८ किमि दौडेरै पार गरिसकेका थिए । यस हिसाबले उनले ४६ किमिको दूरी पार गरेका थिए । कम अभ्यास र उमेर पनि तगारो बन्न थालेको अवस्थाका वीरबहादुर केसीले यो दौड बिचैमा छाड्नेछन् भन्ने धेरैको अनुमानको विपरीत करिब ४ घण्टामा पूरै दूरी पार गरेर सबैलाई अच्चम्भित तुल्याइदिए ।
जसरी एउटा मालामा पहिलो थुङ्गा दोस्रो थुङ्गा र तेस्रो थुङ्गा भनेर छुट्याइँदैन त्यसरी नै यो खेलको मालामा उनिएका खेलाडीहरूलाई प्रथम दोस्रो र तेस्रो भनेर छुट्याउनु युक्तिसङ्गत हुँदैन । तथापि सबैलाई जानकारी होस् भन्नेहेतुले यस प्रतियोगितामा भाग लिने खेलाडीहरूको नाम र दौड पूरा गरेको समय तल उल्लेख गरेको छुः
(१) दुर्गाराज बुढा (मुसीकोट-७, रुकुम पश्चिम) 1 घण्टा 52 मिनेट 47 सेकेन्ड
(२) पंचराम बुढा (सिस्ने-४, रुकुम पूर्व) 1 घण्टा 57 मिनेट 46 सेकेन्ड
(३) शक्तिराम रोका (भुमे-३, रुकुम पूर्व) 2 घण्टा 1 मिनेट 39 सेकेन्ड
(४) भुवन केसी (मुनपा-१, रुकुम पश्चिम) 2 घण्टा 6 मिनेट 36 सेकेन्ड
(५) विशाल तामाङ (षडानन्द-४, भोजपुर) 2 घण्टा 10 मिनेट 35 सेकेन्ड
(६) भुवन ओली (सानीभेरी-३, रुकुम पश्चिम) 2 घण्टा 15 मिनेट
(७) महेन्द्र शाही (बारेकोट-२ जाजरकोट) 2 घण्टा 16 मिनेट 15 सेकेन्ड
(८) धनबहादुर केसी (आठबीसकोट-९, रुकुम पश्चिम) 2 घण्टा 18 मिनेट 47 सेकेन्ड
(९) लोकेन्द्र बुढा मगर (सिस्ने-४, रुकुम पूर्व) 2 घण्टा 30 मिनेट 2 सेकेन्ड
(१०) किस्मत केसी (आठबीसकोट-९, रुकुम पश्चिम) 2 घण्टा 34 मिनेट 46 सेकेन्ड
(११) दीपक केसी (मुसीकोट-५, रुकुम पश्चिम) 2 घण्टा 35 मिनेट 35 सेकेन्ड
(१२) ऋषि पाठक (बगनासकाली-७, पाल्पा) 2 घण्टा 44 मिनेट 10 सेकेन्ड
(१३) यज्ञबहादुर राना (कुमाख-२, सल्यान) 2 घण्टा 44 मिनेट 30 सेकेन्ड
(१४) सिजन पुन मगर (मुनपा-११, रुकुम पश्चिम) 2 घण्टा 47 मिनेट 30 सेकेन्ड
(१५) गणेश खडका (सानीभेरी-३) 2 घण्टा 53 मिनेट 16 सेकेन्ड
(१६) डिल्लीबहादुर ओली (त्रिवेणी-५, रुकुम पश्चिम) 2 घण्टा 53 मिनेट 33 सेकेन्ड
(१७) हरिप्रसाद पुन (रुन्टीगढी-४, रोल्पा ), 3 घण्टा 8 मिनेट 18 सेकेन्ड
(१८) कमलराज राना (शारदा-१, सल्यान), 3 घण्टा 8 मिनेट 50 सेकेन्ड
१९) हिमालय केसी (मुनपा-१, रुकुम पश्चिम), 3 घण्टा 27 मिनेट 20 सेकेन्ड
(२०) तुल्सिराम केसी (शारदा-६, सल्यान), 3 घण्टा 30 मिनेट 5 सेकेन्ड
(२१) नगेन्द्र थारु (गेरुवा-६, बर्दिया), 3 घण्टा 38 मिनेट 30 सेकेन्ड
(२२) झलक दर्लामी (भगवतीमाइ गापा-६, दैलेख), 3 घण्टा 38 मिनेट 32 सेकेन्ड
(२३) वीरबहादुर केसी (त्रिवेणी-७, रुकुम पश्चिम), 4 घण्टा 14 मिनेट 15 सेकेन्ड
यो कार्यक्रममा केन्द्रदेखि स्थानीय सरकारहरूको उल्लेख्य सहभागिताको अपेक्षा गरिएको थियो । भयो पनि त्यस्तै । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको गरिमा र शोभा थप्न कर्णाली प्रदेशका वर्तमान सांसद कल्याणी खडका र कर्णाली प्रदेशका पूर्व मन्त्री तथा वर्तमान सांसद महेन्द्र केसी उपस्थित भइदिनुभयो र दुबैजना यस कार्यक्रमका प्रमुख अतिथि बन्नुभयो ।
जिल्ला समन्वय उपप्रमुख देवबहादुर बिक, स्थानीय सरकार प्रमुखहरू मुसीकोट नगर प्रमुख महेन्द्र केसी र उपप्रमुख बिमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा जिल्ला समन्वय अधिकारी मेघराज सोनी, जिल्ला प्रहरी प्रमुख प्रमेश विष्ट सशस्त्र बल प्रमुख, ग्रामीण सडक प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, शिक्षा समन्वय प्रमुख तारा पुनलगायत जिल्लाका कार्यालय प्रमुखहरूको विशेष आतिथ्यता रह्यो ।
यसै गरी शाईकुमारी भगवती मन्दिर व्यवस्थापन पर्यटन तथा वातावरण केन्द्रका अध्यक्ष लालबहादुर केसीलगायतका पदाधिकारीहरू, नेपाली काँग्रेसका प्रतिनिधि नन्दबहादुर विष्टलगायत सबै दलका प्रतिनिधिहरू, महेश केसी, मनिश खडका, घनश्याम खडका, भरत चन्द, विरस सुनारलगायतका सञ्चारकर्मीहरू, प्रथम पुरस्कार प्रायोजक प्रतिनिधि डिल्लीरमण महत, तृतीय पुरस्कारका प्रायोजक प्रतिनिधि जवाहर शर्मा, सान्त्वना पुरस्कारका प्रायोजक प्रेम ओली, विजयश्वरी स्कुलका सहायक प्रिन्सिपल खगेश्वर भण्डारी, एक्कबहादुर केसी, नरसिँह बुढा मगर लगायत पुरस्कारका प्रायोजकहरू दिलिपकुमार देवकोटालगायतका राप्ती साहित्य परिषद्का सदस्यहरूको बाक्लो उपस्थिति रह्यो ।
शाईकुमारी भगवती मन्दिर व्यवस्थापन पर्यटन तथा वातावरण केन्द्रका अध्यक्ष लालबहादुर केसीले कुशलतापूर्वक व्यवस्थापकीय जिम्मेवारी पूरा गर्नुभयो । मुसीकोटका कृषि पर्यटन र वातावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका चन्द्रबहादुर केसी चट्टानले यस कार्यक्रमलाई व्यवस्थित तुल्याउन सुरूदेखि नै सहयोग गर्दै आउनुभएको थियो । कार्यक्रमलाई सफल तुल्याउन उहाँको पूरै परिवार लाग्यो । उहाँ दुबैजना यस कार्यक्रमका धन्यवादका पात्र हुनुहुन्छ ।
प्रमुख अतिथि कल्याणी खडका, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी र भरतकुमार शर्माले धावकहरूलगायत कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार तथा सम्मानपत्रबाट सम्मानित गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई व्यवस्थित तथा मिठो शैलीमा सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सुरक्षित र मर्यादित ढङ्गले सम्पन्न गर्न स्वास्थ्यकर्मीहरू सुरक्षाकर्मीहरू र स्वयमसेवकहरू धावनमार्गका प्रमुख गन्तव्यहरूमा तयारी अवस्थामा परिचालन गरिएको थियो।यस कार्यमा मुसीकोट नगरपालिका सुरक्षा निकायहरू र स्वास्थ्य सेवा कार्यालयको महत्त्वपूर्ण सहयोग रह्यो ।
धावकहरूलाई स्वागत गर्नको लागि थर्पुको पन्चेबाजा समूहका साथै स्थानीयहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
यस ऐतिहासिक कार्यक्रमलाई आआफ्नो स्थानबाट सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
स्वागत मन्तव्यको अंशः
आदरणीय सभाध्यक्ष महोदय
प्रमुख अतिथिज्यू,
विशिष्ट अतिथिज्यूहरू,
यस कार्यक्रमलाई सफल तुल्याउन योगदान गर्ने पुरस्कारका प्रायोजक तथा आर्थिक प्राविधिक र जनशक्ति सहयोगदाताहरू
यस कार्यक्रममा समन्वय गर्ने साईकुमारी भगवती मन्दिर व्यवस्थापन पर्यटन तथा वातावरण केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरू
सहभागी धावक महानुभावहरू,
राप्ती साहित्य परिषद्का सदस्यहरू आयोजक समितिका पदाधिकारीहरू
स्थानीय समाजका अग्रजहरू, पत्रकार मित्रहरू, युवा स्वयंसेवक तथा यहाँ उपस्थित सम्पूर्ण जनसमुदाय,
हार्दिक अभिवादन ।
डिग्रे साईकुमारी मन्दिरको छत्रछायामा आजको यो अनुपम बिहान, प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो मुसीकोट नगरको ऐतिहासिक पृष्ठभूमिमा हामी “मुसीकोट हेरिटेज रन २०८२” नामक यस भव्य र अनुपम पर्वलाई सफल पार्न सबै एकै ठाउँमा भेला भएका छौँ। यस अवसरमा आयोजक समितिको तर्फबाट उपस्थित सम्पूर्ण अतिथिहरू र सहभागीहरूलाई हार्दिक स्वागत, अभिनन्दन र शुभकामना व्यक्त गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छु।
हिजो बेलुकादेखि निरन्तर परिरहेको पानीले बाटो सफा गरिदिएर मैलिएका प्राकृतिक सम्पदालाई धोई पखाली चिटिक्क पारेर, खाल्टाखुल्टी र तालहरू भरिदिएर, कुला र खोल्साहरूमा जल आयतन बढाइदिएर धावक र हामी सबैलाई स्वागत गरिरहेको छ । प्रकृतिको यस अनुपम देनलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
मुसीकोट केवल एउटा नगर मात्र होइन, यो हाम्रो गौरव, हाम्रो पहिचान, हाम्रो सांस्कृतिक सम्पदा हो। यहाँका प्रमुख सम्पदाहरू डिग्रे साईकुमारी मन्दिर, जन्तीलेक, सातदुले, खारादह, स्यान्दह, ठुल्दह, बयरीदह र साँखदहलगायतका सुन्दर तालहरू, थर्पू घिमाने पोखरा साँख कानेबाङ दबाङ काम्ले लगायतका सुन्दर लेकाली वस्तीहरू ती स्थानमा रहेका ऐतिहासिक मठमन्दिर, पुराना गोरेटोहरू र यो रुटभित्रका घना जङ्गलहरू लगायतका प्राकृतिक सौन्दर्यलाई एउटै सूत्रमा जोड्न सकेमा मात्र पर्यटन प्रवर्द्धनको आधार तयार हुनसक्छ । यी सम्पदाहरू केवल भौगोलिक दृश्य मात्र होइनन्, ती हाम्रो पुर्खाले दिएको सम्पदा हुन्, जसलाई संरक्षण गर्दै अघि बढ्नु हाम्रो साझा जिम्मेवारी हो। यस हेरिटेज रनमार्फत हामीले आज त्यही ऐतिहासिक धरोहरलाई उजागर गर्दै, हाम्रो गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महान् प्रयास गरेका छौँ।
आदरणीय उपस्थित महानुभावहरू, खेलकुद भनेको केवल शरीरलाई तन्दुरुस्त राख्ने साधन मात्र होइन, यो जीवनलाई अनुशासित बनाउने कला हो । दौडजस्तै साधारण देखिने खेलकुदमार्फत पनि हाम्रो मानसिक शक्ति, सहनशीलता र आत्मबल अभिवृद्धि हुन्छ। अझ यसपटकको दौड प्रतियोगिता केवल खेलमा सीमित छैन, यसले मुसीकोटको पर्यटन सम्भावना पनि उजागर गर्नेछ। यहाँका पुरातात्त्विक सम्पदा, प्राकृतिक सौन्दर्य, संस्कृतिको विविधता यी सबैलाई विश्वसामु चिनाउने माध्यम यस हेरिटेज रन बन्नेमा हामी विश्वस्त छौँ।
राप्ती साहित्य परिषद्ले खेलकूदको आयोजना गर्न लागेको देखेर आश्चर्य प्रकट गर्नेहरू पनि धेरै हुनुहुन्छ । मुसीकोटको प्राकृतिक र ऐतिहासिक सम्पदा विश्वसामु चिनाउन हाम्रो पहिचान, सांस्कृतिक कथा र इतिहासलाई शब्दमार्फत संरक्षित र प्रसारित गर्न आवश्यक छ । पछिल्लो समयमा खेलकूद नै सर्वपृय भएको परिप्रेक्ष्यमा यी सबै सम्पदाहरूलाई चिनाउँदै प्रवर्द्धन गर्नको लागि नै यो मिनि म्याराथनको परिकल्पना गरिएको हो । रविसमेत नपुगेको स्थलमा कविले सिर्जना गर्ने साहित्यले नै यी कुराहरूलाई संयोजन गर्दै प्रसारित गर्न सक्तछ ।
मुसीकोट केवल भौगोलिक स्थल होइन, यो इतिहासको धरोहर हो, यो साहित्यको प्रेरणा हो, र यो प्रकृतिको अनुपम काव्य हो। यहाँका हरेक डाँडाकाँडा, हरेक पुराना गोरेटो, प्रत्येक जलस्रोत यी सबै कुनै न कुनै कथाका शब्द हुन्। मुसीकोटले आफ्नै शैलीमा काव्य लेखिरहेको छ र हामी ती काव्यका पाठक र पात्र दुवै हौँ।
आजको दौड प्रतियोगिता केवल शरीरको फुर्तीलोपन देखाउने अवसर मात्र होइन; यो त मुसीकोटको इतिहासलाई पैतालासँग स्पर्श गर्ने र साहित्यलाई श्वाससँग मिसाउने अनुपम साधना हो। साहित्यले जीवनलाई अर्थ दिन्छ, खेलकूदले जीवनलाई ऊर्जा दिन्छ। साहित्यले हाम्रो संस्कृति बोकेको हुन्छ, खेलकूदले हाम्रो भविष्य तन्दुरुस्त बनाउँछ । आज हामीले पर्यटन खेलकूद र साहित्यिक अवयवहरूलाई एउटै मैदानमा ल्याएका छौँ । ु
हाम्रो मुसीकोट प्राचीन गढी, पुराना भग्नावशेष, पवित्र मठमन्दिर र रमणीय प्राकृतिक दृश्यले सम्पन्न छ। यी सम्पदाहरूलाई खेलकूदका पदचापमा पनि साहित्यिक सिर्जनामार्फत् चिनाउन सकियो भने मुसीकोट विश्वसामु उजागर हुनेछ। पर्यटन, साहित्य र खेलकूद यी तीन स्तम्भलाई एउटै मञ्चमा ल्याउनु नै हाम्रो आजको प्रयास हो।
हेरिटेज रन केवल आजको कार्यक्रम होइन, यो निरन्तर यात्राको सुरुवात हो। यसलाई हृदयङ्गम गर्न सके मुसीकोटलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सकिनेछ। यहाँको ऐतिहासिक गौरवलाई भावी पुस्तामा हस्तान्तरण गर्न सकिनेछ। खेलकूदमार्फत तन्दुरुस्ती, पर्यटनमार्फत रोजगारी र साहित्यमार्फत चेतना फैलाउन सकिनेछ।
हेरिटेज रनमा सहभागी हुन आएका आदरणीय धावक साथीहरू, तपाईंहरूको उत्साह र आत्मबल नै यस कार्यक्रमको प्राण हो। तपाईंहरूले धावनमार्फत खेल भावना, सहनशीलता, धैर्य र अनुशासनको सन्देश दिनुभएको छ। जित र हार खेलको सामान्य हिस्सा हुन्, तर वास्तविक जित भनेको तपाईंहरूको सहभागिता र प्रयास हो। आजको यो ऐतिहासिक धावनमार्फत तपाईंहरूले आफ्नो स्वास्थ्यमा लाभ लिनुहोस्, समाजमा सकारात्मक ऊर्जा फैलाउनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
हिजोदेखिको निरन्तर वर्षाले बाटो चिप्लो हुनसक्छ, हिलाम्मे हुनसक्छ । खाल्टाखुल्टीमा पानी भरिएको हुनसक्छ, जङ्गली काँडाहरूले लुगा र शरीरका अङ्गहरू च्यात्न सक्छन्, हाम्रो यो अभियान आँखा चिम्लेर अरूलाई उछिन्दै दौडेर जित्ने होइन । बिस्तारै हिँडेर प्राकृतिक सौन्दर्यलाई सकुन्जेल दृश्यपान गरेर त्यसलाई अभिव्यक्त गरेर जित्ने हो । वरिपरिको सुन्दर प्रकृतिलाई जसले बढी हेर्न सक्छ उही पुरस्कृत हुनेछ उही सम्मानित हुनेछ । तसर्थ दौडदा पटक्कै हतार नगर्नुहोला । खेलकूदका नियमहरूलाई अक्षरशः पालन गरिदिनुहोला ।
आदरणीय उपस्थित महानुभावहरू, मुसीकोट हेरिटेज रन केवल आज सम्पन्न भएर आजै अन्त्य हुने कार्यक्रम होइन । यो एउटा दीर्घकालीन अभियानको सुरुवात हो । आजको दिनले हामीलाई देखाएको बाटो हाम्रो सम्पदा संरक्षण, खेलकुदको प्रवर्द्धन, पर्यटनको विकास र सामाजिक एकताको दृढ संकल्प हो। यस अभियानलाई निरन्तरता दिन हामी सबैको साझा प्रतिबद्धता अपरिहार्य छ।
यस प्रतियोगिता केवल धावकहरूको मात्र नभई सम्पूर्ण समाजको संयुक्त अभियान हो। यस अवसरमा, यस कार्यक्रमलाई सफल बनाउन दिनरात खटिनुभएका आयोजक समिति, पुरस्कार प्रायोजकहरू सहयोगदाताहरू, संघसंस्था, स्थानीय सरकार, विभिन्न विद्यालय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी, युवा र स्वयंसेवक तथा सम्पूर्ण शुभचिन्तकहरू सबैको श्रम र सहयोगले आज हामी यो चरणमा पुगेका छौँ। यस अवसरमा म सबै सहयोगी हातहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु।
अन्त्यमा,
हेरिटेज रन केवल खेलकुद होइन, यो हाम्रो मुसीकोटको गौरवशाली इतिहासलाई बोक्ने सांस्कृतिक र साहित्यिक यात्रा हो। यो हाम्रो एकतालाई सुदृढ पार्ने सामाजिक पुल हो। यो हाम्रो पर्यटन सम्भावनालाई उजागर गर्ने आर्थिक अवसर हो। र यो हाम्रो स्वस्थ जीवनशैलीतर्फको प्रेरणादायी कदम हो।
यसै भावनासहित,पुनः सम्पूर्ण विशिष्ट अतिथिहरू, सहभागी धावक, र उपस्थित सम्पूर्ण दर्शकहरूलाई आयोजक समितिको तर्फबाट हार्दिक स्वागत गर्दछु।मुसीकोट हेरिटेज रन २०८२ को सम्पूर्ण कार्यसूची सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामनासहित,
मेरो मन्तव्य यहीँ समाप्त गर्दछु।
धन्यवाद ।
जय मुसीकोट !
आज शनिवारको दिन भएकोले भरतकुमार शर्मा न्यायाधीश हेमन्त रावल र हरिप्रसाद भण्डारीसँग उहाँकै घरमा भेटघाट मिलाउने भन्ने कुरा थियो तर हेमन्त रावललाई बारम्बार फोन गर्दा पनि उठाउनुभएन । भरत सरलाई यही कुरा अवगत गराउँदा बरु ढिलै बसौँला तर हेमन्त रावलसँग निकै लामो समयदेखि भेट नभएकोले उहाँकै उपस्थितिमा बस्ने सल्लाह दिनुभयो । हरिप्रसाद भण्डारीले भने यस विषयमा केही भन्नुभएन ।
दिनभर घरमै बसेर पाठ्यपुस्तकहरूको सेटिङमै व्यस्त भएँ ।
२०८३ भाद्र १४ गते आइतवार
दुवाकोट भक्तपुर
जीतबहादुर शाह सरले अस्ति फोनबाट कक्षा ६ देखि ८ सम्मको वर्ड फाइलहरूको पाठ व्यवस्थापन नमिलेको । बिचबाट शीर्षकहरू सुरु भएकोले सबैलाई मिलाएर पीडीएफ फाइल बनाएर पठाइदिनुहोस् भन्नुभएको थियो । बिहानैदेखि कक्षा ७ को पाठहरू हेर्न थालेँ । अझै धेरै कुराहरू थप्नुपर्ने देखेँ । मन आत्तियो । करिब १ वर्ष परिश्रम गर्नुपर्ने पाठहरू १ महिनामै कसरी तयार गर्न सकिनू । तैपनि जिम्मा लिएको काम त गर्नै पर्यो । कमलजीले कुनबेला आउनुहुन्छ । आज लेखनकुन्जमा आउनुहोस् भेट हुन्छ भनिरहनुभएको थियो । मैले एक दुई बजेतिर आउँला भनेँ ।
बिहान पाठ तयार गरी खाना पकाएर खाँदा दिउँसो १ बजिसकेको थियो । हतार हतार कमल सरलाई भेट्न वानेश्वर थापागाउँस्थित लेखनकुन्जतिर लागेँ ।
लेखनकुन्ज पुग्दा त्यहाँ खचाखच वयोवृद्ध मान्छेहरूले भरिएको रहेछ । कमल सर तिनै मान्छेहरूसँग स्वागत र कुराकानीमा व्यस्त हुनुहुन्थ्यो ।
कर्मचारी साथीहरूलाई सोधेँ आज लेखनकुन्जबाट प्रकाशित भूपू न्यायाधीश कृष्णबहादुर ऐरले लेखेको एक कृतिको विमोचन कार्यक्रम रहेछ । साथीहरूले यहाँ आइपुगेपछि विमोचन कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । म पनि लेखनकुन्जको नाटकघरको हलमा छिरेँ । सर्वोच्च अदालतका न्यायधीश् नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला अदालतका, पुनरावेदन र सर्वोच्चका बहालवाला र पूर्व श्रीमानहरु, वकिल, प्रोफेसर, डाक्टर, ईन्जिनियर, पत्रकार, लेखक, प्रशासन, व्यापारी, साहित्य, संगीत, अध्यात्म, कला लगायतका अनेक क्षेत्रका मान्छेहरूको पनि उपस्थिति थियो । अधिकांशतः न्यायाधीशहरू नै हुनुहुन्थ्यो । वैतडीका वर्तमान माननीय हरि प्रसाद भण्डारी, राष्ट्रिय सभाका माननीय खम्बबहादुर खाती र डाक्टर द्वारिकानाथ ढुङ्गेल लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो ।
कमल सरलाई भेट्न गएको मान्छे विमोचनको साक्षी हुनुपर्यो । कमल सर त यस कार्यक्रमको मञ्चमा अध्यक्षता गरिरहनुभएको थियो । कहाँ भेट्न पाउनु द्वारिकानाथ ढुङ्गेलको समीक्षा सुनिसकेपछि बाहिरिएँ । देवीले फोन गरेर आज गायत्री ओली डाँगीको काठमाडौँमै अपरेशन छ रे त्यहाँ पनि जानुहोला भनिन् । गायत्री मेरै सानीआमाकी छोरी । मेरी विद्यार्थी पनि । सहोदर बहिनीजत्तिकै मलाई माया गर्ने एक बहिनी । उनको अपरेशनमा जानै पर्ने थियो । आजै हरिप्रसाद भण्डारी सरको घरमा भरत शर्मा सर लगायतसँग भेटघाटको कार्यक्रम थियो । मिलेमा बेलुका जितबहादुर शाह सरको कोठामा पनि जाने विचार गरेको थिएँ । जुवाइँ डिल्ली डाँगीलाई फोन गरेँ । उहाँले यो दोस्रो अपरेशन भएको गायत्री महाराजगञ्जको मेरिडियन हस्पिटलमा भएको जानकारी दिनुभयो । तर आज आफनो काम भएकोले भोलि मात्र भेट्न जाने योजना बनाएँ ।
भरत सरलाई म त भण्डारी सरको घरतिर हिडेँ भनेर खबर गर्दा उहाँले भोलि नातिनीलाई अमेरिका पठाउने कार्यक्रम भएकोले आफू त्यतै व्यस्तु हुनुपरेको बताउनुभयो । त्यही कुरा भण्डारी सरलाई अवगत गराएर म ठिमीस्थित जितबहादुर शाह सरको कोठामा पुगेँ ।
पाठ्युपस्तक सम्बन्धी कुराहरू भए । मुख्य त अस्तिकै बाढीले मच्चाएको आकस्मिक वितण्डा बारे नै कुराहरू भए । बाढीको बिचमा बाँकी रहेको त्रिशुलीको एक घरलाई दैवी शक्तिले बचाएको भनी विभिन्न भिडियोहरू भाइरल भइरहेका थिए । त्यस घर लगायत पछिल्लो परिस्थितिको बारेमा कुराहरू भए । पाठ्यपुस्तक निर्माणको लागि मनलाल र मलाई दिन बाँकी पारिश्रमकि रु ६५००० पनि मेरो खातामा राखिदिनुभयो ।
जित सरकी छोरी प्रविधिले पकाउनुपर्ने रोटी बोकेर आएकी रहिछन् । रोटी खाएर म बेलुका घरतिर फर्किएँ ।
बेलुका ऐवीर बिष्टले बारम्बार फोन गरिरहनुभएको रहेछ । कलब्याक गर्दा उहाँले भन्नुभयो तपाईँले बाढी पीडितलाई सहयोग गर्ने भन्नुभएको थियो, नन्दलाल घर्ती र रामबहादुर विष्टहरू अस्पत्तालमा छन् छिटो आएर उहाहरूलाई सहयोग गर्नुपर्यो । घरमा फर्कने भाडा समेत छैन रे ।
मसँग भएको रुपैयाँ त मैले सहयोगको निम्ति भूपेन्द्रा म्याडमको खातामा राखिदिइसकेको थिएँ । भूपेन्द्रा म्याडम आजैदेखि १ हप्तासम्म मौनव्रतमा हुनुहुन्छ । रुकुमेली वाङमय अधिष्ठानको तर्फबाट करिब ५० हजार पुर्याउने जिम्मा मलाई दिनुभएको छ । गङ्गा बीसीले पनि २५०५ सहयोग गर्ने प्रतिबद्धता छ । ज्ञानुबीसीले १५५५ भूपेन्द्रा म्याडमको खातामा हालिदिनुभएको जानकारी आएको छ । त्यो सबै रकम भूपेन्द्रा म्याडमले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा हाल्ने भन्नुभएको छ । अरू साथीहरूले मान्ने हुन् कि होइनन् शङ्का नै छ । रुकुमेली वाङमयले त रुकुमकै बाढी पीडितलाई सहयोग गरेको भए पनि हुन्थ्यो । मैले आत्तिएर पहिल्यै उहाँको खातामा हालिसकेँ । अहिले मेरो तलब पनि आउँदैन । पेन्सन थोरै छ । यस्तो अवस्थामा म कसरी सहयोग गरूँ । यी कुराहरू मनमै खेले । ऐवीरजीलाई भन्न सकिनँ ।
२०८३ भाद्र १५ गते सोमवार
दुवाकोट भक्तपुर
बिहानै उठेर रुकुमेली वाङमय अधिष्ठानको फेसबुक ग्रुपमा सदस्य साथीहरूलाई पुनः सहयोगको लागि अपिल गरेँ । केही समयपछि जितबहादुर शाह सर आइपुग्नुभयो । चिया खाएर हामी मित्रवत गफतिर जोडियौँ । मुख्य काम त हाम्रो त्रिवेणी पाठ्यपुस्तकको फाइनल प्रति निकाल्नु थियो । तर हाम्रो कुराहरू भने अस्तिको बाढी र त्यसले पारेको प्रभावभन्दा यताउता जान सकेन । बाँकेकी उदीयमान साहित्यकार चरित्रा शाहजीसँग मैले र जितबहादुर शाह सरले कुरा गर्यौँ । उहाँको पत्रिकाको लागि निबन्ध माग्नुभएको छ । लेख्ने फुर्सद पो हुने हो कि होइन ।
देवकुमारीले भिडियो कल गरेकी थिइन् । मैले जितबहादुर शाह आउनुभएको बताएँ । उनले को जितबहादुर भनेपछि उहाँको संक्षेपमा परिचय सुनाइदिएँ ।
२०३९ सालको एसएलसी परीक्षा दिन जितबहादुर शाह शीतल मावि चौरजहारीबाट आउनुभएको थियो । विद्यालयको नाम शीतल भए पनि फागुनदेखि असोजसम्मै नेपालगन्जजस्तै गर्मी हुने ठाउँ । त्यति बेला नै उहाँको कपाल पूरै सेतो भएर फुलेको थियो । सबैका आँखा उनका कपालमा पर्थे । टाउको निकै ठुलो थियो र जिउ पातलो । कार्टुनका चित्रजस्तै बच्चाको शरीरमा हात्तीको टाउको जोडिदिएको जस्तो लाग्दथ्यो । उहाँ चौरजहारीको प्रथम नतिजा प्राप्त गर्ने विद्यार्थी हुनुहुन्थ्यो मैले खलङ्गा हाइस्कुलबाट १० कक्षाको टेस्ट परीक्षामा प्रथम स्थान हासिल गर्को थिएँ । यसै गरी बाँफिकोटबाट सुरेश शाह र रुकुमकोटबाट विवेककुमार गौतम प्रथम विद्यार्थी हुनुहुन्थ्यो । पहिलो परिचय प्रथम प्रथमबिचमै भएको थियो । जिल्लामा ४ वटा मात्र हाइस्कुल थोरै विद्यार्थी । तीमध्ये पनि पहिले जोसुकै विद्यार्थी वा शिक्षकले पनि फलानो विद्यालयको प्रथम विद्यार्थी को हो भन्दै सोधखोज गर्थे । मलाई भने लाज लाग्थ्यो ।
जितबहादुर शाहले अक्षर निकै राम्रो लेख्नुहुन्थ्यो । ठकुरीको छोरा भएर पनि निकै नम्र व्यवहार थियो । पढाइमा तेज । सानैदेखि बौद्धिक । साथीभाइसँग एकैछिनमा घुलमिल भइहाल्ने । परीक्षा दिन आएका शाह रुकुमकै विद्यालयहरूमा पढाउन थाल्नुभयो । जितबहादुर शाह प्रथम श्रेणीमा एसएलसी पास गर्नुभयो । मैले ४ नम्बर नपुगेर दोस्रो श्रेणीमा पास गरेँ ।
उहाँले एसएलसी पास गरेपछि पनि आफ्नो पेशागत जीवनको अभिन्न पाटो रुकुमलाई नै बनाउनुभयो । २०४१ सालमा दुबै जनाले शिक्षकको लोकसेवामा नाम निकाल्यौँ । मैले २०४६ सालमा स्थायी शिक्षकबाट राजिनामा दिएँ र प्रस्तावित मावि सिम्लीमा पढाउन थालेँ । त्यहाँबाट खलङ्गा चौरजहारी हुँदै सिम्रुतुमा पुगेँ र मलाई सिम्रुतु माविको प्रधानाध्यापकको जिम्मेवारी दिइयो ।
त्यति बेला जितबहादुर शाह निमावि तह रुँघामा पढाउँदै हुनुहुन्थ्यो । रुँघा क्षेत्रका शैक्षिक हस्तीहरू र हिराचन्द्र मल्ल र विश्वेश्वर पोख्रेलसँग सल्लाह गरेर जितबहादुर शाहलाई सिम्रुतुमा ल्याइयो । उहाँको सँगसँगै पहल पुन तथा गङ्गालाल ओलीलाई पनि सिम्रुतुमै ल्याइयो । पछि धनबहादुर ओली तथा छविलाल खडका मगर र छविलाल घर्ती मगरलाई पनि सिम्रुतुमा ल्याइयो ।
यसरी हामीहरू एउटै विद्यालयका शिक्षकहरू अर्थात् सहपाठी बन्न पुग्यौँ । तर यो साथ लामो समय रहेन । जितबहादुर शाह लोकसेवा आयोगको २०५० सालको विज्ञापनको विद्यालय निरीक्षक पद परीक्षामा उत्तीर्ण भई निजामती सेवाको जागिर सुरुवात गर्नुभयो भने म सिम्रुतुमा नै रहेँ ।
उहाँले विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी वहन गर्दै शैक्षिक ज्ञानलाई अझै तिखार्दै लानुभयो । म भने तत्कालीन राजनीतिक परिप्रेक्ष्यमा सबै नेताहरूले वक्रदृष्टिले हेर्ने सिम्रुतुमा नै बसेर पढाइरहेँ । २०५२ सालमा जनयुद्ध सुरु भयो । सिम्रुतुजस्तो तीव्र इतर राजनीति चलिरहेको ठाउँमा विशुद्ध शिक्षकको जागिर खान निकै कठिन महसुस भयो । २०५४ सालमा मैले पनि जागिर छोडेर काठमाडौँतिर हानिएँ ।
जितबहादुर शाह सरसँग कतै भेटघाट र सम्पर्क भएन । परीक्षा नियन्त्रण कार्यालयमा पुगेपछि भने धेरै शाखा अधिकृतहरूले जितबहादुर शाहको कुरा गर्नुहुन्थ्यो । मैले मेरै सहायक शिक्षक हुनुहुन्थ्यो भन्दा कसैले पत्याउँदैनथ्यो ।
पछि उहाँ २ वर्षपहिले नै अनिवार्य अवकाश पाएपछि उहाँले कर्णाली प्रदेश सरकारले योजना आयोगको सदस्यमा नियुक्ति दियो । सँगसँगै आफ्नो भाषिक तथा साहित्यिक महामार्गलाई पनि समात्नुभयो । म पनि पहिलेदेखि यही बाटोलाई प्यारो ठान्ने भइसकेको थिएँ । त्यसपछि भेटघाट बढ्न थाल्यो । गत वर्ष उहाँले स्थापना गर्नुभएको पशुपति शाह स्मृति साहित्य पुरस्कारमा मलाई नै छनौट गर्नुभयो ।
पछि उहाँले पाठ्यक्रम निर्माणतिर पनि हात हाल्नुभयो । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूको पाठ्यक्रम निर्माण गर्नुभयो र यसै सिलसिलामा त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको पनि पाठ्यक्रम निर्माण गर्नुभयो । त्यसै अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माणको जिम्मा मलाई गाउँपालिकाले दियो भने कक्षा ६ देखि ८ सम्मको जिम्मेवारी जितबहादुर शाह सरले दिनुभएको थियो । जुन काम अहिले अन्तिम चरणमा पुगेको छ । पाठ्यपुस्तक निर्माण वापत् राम्रै पारिश्रमिक पनि दिनुभएको छ भनी देवकुमारीलाई बताएँ ।
कविताले खाना पकाइदिइन् । खाइसकेपछि शाह सर आफ्नो कोठातिर लाग्नुभयो । म गायत्री बहिनीलाई भेट्न महाराजगञ्ज अस्पत्तालतिर लागेँ । बाटोमा डा नवराज केसीको स्वस्पर्श पढेँ । डिल्ली डाँगीले नम्बर दिनुभएको नम्बरमा छोरीले फोन उठाइनन् । गायत्रीको फोन स्वीचअफ थियो । सुमिताले फोन उठाइनन् । तर जुवाइँले गलत लोकेसेन दिनुभएको रहेछ । छोरीले फोन उठाएपछि मम्मीलाई अपरेशन गरेको अस्पत्ताल त ग्र्यान्डी इन्टरनेसनल नै हो भनेपछि फेरि बस चढेर सामाखुसीतिर लागेँ । सामाखुसीबाट टोखाको गाडी चढेर अस्पत्तालको गेटमा उत्रिएँ । भान्जी बाहिर गेटमै लिन आइन् । गायत्रीको अपरेशन भएर पनि सुधार भएको रहेछ । पारिवारिक कुराहरू भए । मैले स्वास्थ्य लाभको कामना गरेँ ।
भान्जीले नै पठाओ बोलाइदिइन् । पैसाँ पनि आफै तिरिदिन्छु भन्दै थिइन् मैले मानिनँ ।
लेखनकुन्जमा पुगेपछि कर्मचारीहरू नगेन्द्र लामा बौद्ध भिन्छु अर्जुन ढुङ्गानासँग मिठो चिया गफ भयो । यी साथीहरूले मलाई बौद्धिक व्यक्तित्व भनेर सम्मान गर्छन् र उत्तिकै माया पनि ।
कमल ढकाल बाहिरबाट आइपुगेपछि कमलको कार्यकक्षमा एकछिन कुराकानी भयो । एकजना महिलाको पुस्तक तयार गरेर छिट्टै विमोचन हुँदै रहेछ । धेरै समय उनैले लिइन् । वृद्धावस्थामा पुग्दासम्म ३ जना सन्तान र पति गुमाइसकेकी रहिछन् । तिनै अनुभूति समेटेर पुस्तक तयार गरिएको रहेछ । एकै छिनमा सामाजिक अभियन्ता दीक्षा चौलागाई र एकजना प्रौढ व्यक्ति आए । ती प्रौढ व्यक्तिले पनि आफ्नो आत्मवृत्तान्त लेखाउन चाहेका रहेछन् । उनीहरूसँग कमल लामै समय गफिन थालेपछि बाहिर निस्किएँ ।
मनलाल ओलीको राधा स्मृतिग्रन्थको सेटिङको लागि सिर्जनालाई जिम्मा लगाएको थिएँ । सेटिङको लागि जयदेव भट्टराईसँग पनि कुरा भएको थियो । उनले १०००० मै सेटिङ गरिदिने बताएका थिए । सिर्जनालाई सोधपुछ गर्दा आफूले १०००० भन्दा कमै रकममा सेटिङ गरिदिने बताएकी थिइन् । त्यहीअनुसार अर्जुन ढुङ्गाना र सिर्जनाले मिलेर उक्त ग्रन्थ तयार गरेका थिए । बिचमा समन्वय गर्न खोज्दा मलाई नै अप्ठ्यारो बनाइदिए । मनलालसँग कुरा हुँदा उहाँले अन्यत्र गरेको भए सेटिङको पैँसा नै लाग्दैनथ्यो । त्यहाँ राम्रो होला भनेर तपाईँलाई विश्वास गरेर पठाएँ तर छपाइ खर्च नै सेटिङमा लागेपछि झन् लागत बढ्नेभयो भन्ने गुनासो गर्नुभयो । म काँचा आन्द्रा खाएजस्तै भएँ ।
आज बेलुका राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिको भर्चुअल रचना वाचन कार्यक्रम थियो । रचना वाचक गणेश सिर्पाली थिए भने समीक्षक डा अमर शाहलाई भनिएको थियो । ग्रुप मेसेन्जरमा अमर सरले बाढी प्रकोपको यस विषम परिस्थितिमा कार्यक्रम नै नगरेको भए हुनेथियो भनेर सुझाव दिनुभएको रहेछ । त्यही कपि गरेर गणेश सिर्पालीले मलाई पठाइदिए । मैले अमर शाहलाई बुझ्दा मृतकलाई श्रद्धाञ्जली अर्पण र बाढी पीडितलाई समवेदना प्रकट गरेर कार्यक्रम सुरु गरे पनि हुन्छ भन्ने कुरा आयो । कार्यक्रम स्थगित गर्ने नगर्ने सम्बन्धमा अध्यक्ष मनलाल ओली र सचिव ओमबहादुर खत्री सरलाई सोध्दा उहाँहरूबाट पनि स्थगित नगर्दा राम्रो हुने भन्ने सुझाव आयो ।
तैपनि बेलुकाको उपस्थिति हेरेर निर्णय लिने कुरा जनाएँ ।
देवकुमारीको इन्सुलिनलगायतको औषधि रुकुम पठाइदिने भनेर किरणको कोठामा थन्किएको थियो । पहिले रसुवा बाढीले अवरुद्ध सडक हिजोदेखि धादिङमा सडक भासिएकोले झनै अवरूद्ध बनेको छ । भदौ १० गते यता धादिङ हुँदै जाने गाडीहरू चल्न सकेका छैनन् । सुर चल्ने बित्तिकै आफै पो रुकुम पुग्ने हो कि भनेर ती औषधिहरू लिनको लागि बेलुका सानोठिमीतिर लागेँ । लोकन्थली ओर्लिएर किरणको कोठा पुग्दासम्म निथ्रुक्क पानीले भिजियो । निशाले खाना तयार गरिसकेकी रहिछ त्यहीँ खाएर दुवाकोटस्थित घरमा आएँ ।
बेलुकाको ८ बज्न थालिसकेको थियो । हतार हतार ल्यापटप खोलेर भर्चुअल रचना वाचनको लागि गुगल मिट खोलेँ । यसको होस्ट म नै थिएँ । डा अमर शाहलगायत अतिथिहरू र आयोजकहरू धमाधम जोडिन थाल्नुभयो । अधिकांशतः गणेश सिर्पालीकै कविता सुन्ने साथीहरू आए । तर रचना वाचक गणेश सिर्पाली नै उपस्थित भएनन् । जसको लागि कार्यक्रम आयोजना गरिएको थियो उही व्यक्ति नआएपछि कार्यक्रम खल्लो हुने नै भयो । तर आज उपस्थित भएका व्यक्तिहरू सबै नयाँ अनुहार थिए र पहिलोचोटि जोडिँदै थिए । उनीहरूलाई निराश तुल्याउँदै कार्यक्रम स्थगित गर्न मनले मानेन ।
राप्ती साहित्य परिषद् रुकुम शाखाका सचिव ओमबहादुर खत्रीले कार्यक्रमलाई औपचारिकता दिन थाल्नुभयो । अध्यक्ष मनलाल ओली पहिले झुलुक्क देखिए पनि अध्यक्षताको आसन ग्रहण गराउँदा आउनुभएन । तैपनि कार्यक्रमलाई औपचारिकता दिइयो । आठबिसकोटका विवेककुमार शाहले एउटा कविता वाचन गर्नुभयो । गणेश सिर्पालीजीले पठाएका ६ वटा गद्य कविता र ३ वटा गजलमध्ये ३ वटा कविता मैले वाचन गरिदिएँ । गणेश सिर्पालीको कविता सुन्न होइन सिर्पालीको अनुहार हेर्न र स्वर सुन्न आएका उनकै साथीहरू मैले वाचन कविता गरी नसक्दै कार्यक्रमबाट बाहिरिए । गिरिप्रसाद बुढाले बाढीकै सम्बन्धमा एउटा गीत सुनाउनुभयो । डा अमर शाहले गणेश सिर्पालीका ९ वटै रचनाको सारगर्भित समीक्षा गरिदिनुभयो ।
यसरी रचना वाचक पनि नभएको र कार्यक्रमका अध्यक्ष पनि उपस्थित नभएको अवस्थामा पनि कार्यक्रम सुन्दर ढङ्गबाट सम्पन्न गरियो । औपचारिक कार्यक्रमपछि अनौपचारिक कुराकानीहरू भयो ।
१० बजेतिर कार्यक्रम सकिए तापनि कक्षा ७ को पेज सेटिङ मिलाउँदा मिलाउँदै रातको साढे ११ बज्यो । उक्त सेटिङको पीडीएफ तयार गरेर जितबहादुर शाह र मनलाल ओलीलाई मेल पठाई आजको दिनलाई बिट मारियो ।
२०८३ भाद्र १६ गते मङ्गलवार
दुवाकोट भक्तपुर
बिहान खाना खाएर सानोठिमीतिर लागेँ । अस्मिताले सुत्केरी बिदाको निम्ति सोध्न चिकित्सा शिक्षा आयोगमा लगाएकी थिई । त्यहाँ लोक सेवा आयोगमा २०६५ सालतिर जागिरको क्रमकी साथी मुक्ता केसीसँग भेट भयो । हामी उति बेला एउटै शाखामा काम गर्थ्यौँ । उहाँले प्रशासन शाखाका प्रमुख धनबहादुर श्रेष्ठकहाँ लिएर जानुभयो । धनबहादुर श्रेष्ठले बिदा सुविधा लगायतका सबै अधिकार सम्बन्धित संस्थालाई हुने भनेर जानकारी प्राप्त भयो ।
त्यहाँबाट म भतिजी सुष्मा ओली कार्यरत अफिस पाठ्यक्रम विकास केन्द्रमा पुगेँ । सुस्माले पाठ्यक्रम विकास केन्द्रका अधिकृत मनोहरसिँह धामीसँग भेट गराइदिई । मेरा पुस्तकहरू पाठ्यक्रम विकास केन्द्रको पुस्तकालयमा पनि राखिदिउँला भनेकोले पहिल्यै सुष्मालाई पुस्तकहरू दिइसकेको थिएँ ।
घरमा फर्केर हाम्रो त्रिवेणी ६ कक्षाको पाठ्यपुस्तकको डिजाइनिङ र हेरफेर सकेर पीडीएफ तयार गरी जितबहादुर शाह सरलाई पठाइदिएँ ।
२०८३ भाद्र १७ गते बुधवार
दुवाकोट भक्तपुर
बिहान राजबहादुर कुँवर सरले चिया खान दुवाकोट मोडमा बोलाउनुभयो । उहाँसँगै अर्को साथी कालीकोटका पनि आउनुभएको रहेछ । इच्छुकको स्मृतिमा कविहरूबाट कविताहरू संग्रह गरेर प्रकाशित भएको पुस्तक उहाँले मलाई हस्तान्तरण गर्नुभयो । सँगै बसेर भक्तपुरमा स्थानीय कविता अभियान चलाउने विषयमा पनि छलफल भयो । उक्त पुस्तक विक्री गरिदिने जिम्मा समेत दुभएङ्को लेबपिताराम । बुद्धि बस्नेत ।
२०८३ भाद्र १८ गते विहीवार
दुवाकोट भक्तपुर
आज योगमाया लोकसाहित्य पुरस्कारको लागि राखिएको कोष मुद्दती खातामा राख्नुपर्ने भएकोले सो कामको लागि बिहान खाना पकाई खाएर काठमाडौँतिर लागेँ । आमा योगमाया ओलीको स्वर्गारोहणपछि ३ वर्षपहिले नै मैले नै १ लाख १५ हजारको कोष स्थापना गरेको थिएँ । कोषको संरक्षणको लागि राप्ती साहित्य परिषद्का गिरिप्रसाद बुढा र मेरो नाममा कृषि विकास बैँक लिमिटेड रामशाहपथमा अक्षय कोष खाता खोलेका थियौँ । उक्त कोषबाट सुरुमा अरुणकुमार शाह त्यसपछि तिलक परियार र कमलमणि देवकोटालाई पुरस्कृत गरिइसकेको छ ।
रु ११५००० राखेर अहिले १४४००० पुगिसकेको रहेछ । ५ वर्षे मुद्दतीमा खातामा उक्त रकम राखेपछि गिरिप्रसाद बुढाले २१ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा चल्ने १२ मई शीर्षकको नाटकको लागि टिकट कटाउनुभयो र बिदा हुनुभयो । म पुरातत्व विभागमा छिरेँ । त्यहाँ सबै मित्रहरूसँग कुराकानी भयो ।
त्यहाँबाट मनोहर लामिछाने सरकहाँ गएँ । मनोहर सरकहाँ रुकुम चौरजहारीका बलवीर गोसाईँ आठबिसकोटका विजय शाह लगायतसँग पनि भेट भयो ।
फर्कँदै गर्दा राजेश्वर कार्की सरसँग कुराकानी भयो ।
भरत सरलाई फोन गरेँ । तर उहाँ फुर्सदमा हुनुहुँदोरहेनछ ।
फेरि पुरातत्व विभागमा आएँ । मलाई घर पुर्याइदिनको निम्ति चालक भुवन तामाङ अफिसमै आइपुग्नुभयो । फर्कँदा वानेश्वरदेखि पानीले भेटायो । दुबैसँग रेनकोट नभएकोले
२०८३ भाद्र १९ गते शुक्रवार
दुवाकोट भक्तपुर
आज कृष्ण जन्माष्टमी । सानैदेखि व्रत बस्ने गरेको थिएँ । यसपालि पनि व्रत बसेँ । बिहानभरि हाम्रो त्रिवेणी कक्षा १ को पाठ्युपस्तकको डिजाइनिङको काम गरेर पीडीएफ फाइल बनाई मनलाल र शिक्षा शाखा त्रिवेणीलाई पठाइदिएँ । अनि नुहाइधुवाइ गरेर चामल र दुध बसालेँ । भगवान कृष्णको निम्ति बत्ती बालेँ । पूजा सकेर खिर खाएँ अनि फेरि कक्षा २ को डिजाइनिङको काममा लागेँ ।
२०८३ भाद्र २० गते शनिवार
दुवाकोट भक्तपुर
दिनभरि घरमै बसेर हाम्रो त्रिवेणी कक्षा २ को डिजाइनिङको काम गरेँ । २ बजेतिर काम सकिएपछि मनलाल र शिक्षा शाखा त्रिवेणीलाई मेल पठाएँ । आज पनि २ बजेसम्म व्रत जस्तै केही नखाई काम गरियो । त्यसपछि दिमाग अत्यन्तै थाकेको महसुस भयो । काम गर्नुपर्ने त थुप्रै थिए तर कुनै काम गरिनँ । बिहान पकाएको खिँचडी खाएर सुतेँ ।
दुवाकोट भक्तपुर
हिजो बिहानै पकाएको खिँचडी खाएर लेखनकुन्जतिर लागेँ । लेखनकुन्जको नजिकै पुगेपछि मनोहर सरले फोन गर्नुभयो आफ्नो अफिस आएर जानुहोला भनेर तर म लेखनकुन्ज पुग्न थालिसकेकोले पछि आउँला भनेर लेखनकुन्ज पसेँ ।
क्याप्टेन डीआर निरौलाको आकाश यात्रा नामको पुस्तकको दोस्रो संस्करणको काम अझै सकिएको रहेनछ । सौरभ सापकोटालाई फाइल र सच्याइएको पुस्तक खोजिदिन आग्रह गर्दा भेटिएन । यताउता गर्दैमा समय यत्तिकै बित्यो । निलकण्ठ उप्रेतीको फाइल हेर्न थालेँ तर डिस्टर्ब भइरह्यो । हरिप्रसाद भण्डारी सरले आफूहरू आज प्रज्ञामा चल्ने १२ मई नाटक हेर्न ट्याक्सीमा आउँदै गरेकोले मलाई पनि लिएर जाने कुरा गर्नुभयो । तर मनोहर सरले जसरी पनि आफूकहाँ आएर मात्र जान अनुरोध गर्नुभयो ।
म मनोहर लामिछाने सरलाई भेट्न माइतीघरस्थित उहाँको ल फर्ममा पुगेँ । त्यहाँ एउटा मुद्दाको लागि परामर्श लिन रुकुमका मान्छेहरू आएका रहेछन् । चौरजहारीका बलवीर गोसाँइ आठबिसकोटका विजयबहादुर शाहलगायत छ सात जना चिनजान भयो । १ बजेदेखि नाटक चल्ने भनेको तर पौने १ यतै बजिसकेकोले पठाओ बुक गरेर प्रज्ञामा छिरेँ । गिरिप्रसाद बुढा टिकट वितरणमा नै व्यस्त हुनुहुन्थ्यो । मनोहर सरलाई १२ मई नाटक किनिदिएँ । नेता मोहन विक्रम सिँहजस्ता लाग्ने एक व्यक्ति एक्लै मुख्य प्रवेशद्वारको भित्रबाहिर गरिरहेको देखेकोले नमस्कार त टक्र्याएँ तर मोहनविक्रम होलान् भन्ने विश्वास लागेन ।
तर पछि गिरिप्रसाद बुढालाई सोध्दा मोहनविक्रम सिँह नै रहेछन् । मलाई उनको साधारण शैली देखेर अनौठो लाग्यो । अन्य पार्टीका नेता भइदिएको भए नेता कार्यकर्ता र अङ्गरक्षकहरूबाट घेरिएका हुन्थे होलान् । तर यिनको अघिपछि कोही पनि लागेको थिएन र उनी पनि सर्वसाधारण जस्तै उभिएर आउने व्यक्तिहरूलाई स्वागत गर्नमा तल्लीन थिए ।
१ बज्न थालेकोले म हलभित्र छिरेँ । अलि पर शशिराम कार्की र गणेशा कार्की पहिल्यै आएर सिटमा बसिसक्नुभएको रहेछ । म पनि कुराकानी गर्ने सहजताको लागि शशिराम कार्की सरकै छेउमा गएर बसेँ । कार्यक्रमको सञ्चालन रामप्रकाश पुरीले गरिरहनुभएको थियो ।
नाटक सुरु भयो । सिद्धहस्त कलाकारहरूबाट मञ्चन भएको रहेछ । प्रस्तुति बेजोड थियो । तर भारतीय भूमिमा नेपाली एकता समाजको संगठन विस्तार र आन्तरिक द्वन्द्व सम्बन्धित नाटक भएको हुँदा आम रूपमा सन्देशमूलक लागेन । शशिराम सरले बाल उपन्यास नौलो धरतीको पाण्डुलिपी मलाई हेरिदिनको लागि हात पार्नुभयो । बाहिर निस्कँदा हरिप्रसाद भण्डारीले फोन गर्नुभयो । उहाँका दम्पति आउनुभएको रहेछ । उहाँले रिजर्व गरेकै ट्याक्सीमा चढेर भण्डारी सरकै निवासमा पुग्यौँ । त्यहाँ चिया बिस्कुट खाएर आआफ्नो बाटो लाग्यौँ ।
देवकुमारीलाई मङ्गलबारको टिकटको लागि सल्ले एरपोर्टका हाकिम र सहायक सिडियो केशव ओलीलाई अनुरोध गरेँ । उहाँहरूले टिकट मिलाइदिन आश्वासन दिनुभयो ।
२०८३ भाद्र २२ गते सोमवार
दुवाकोट भक्तपुर
बिहानै सल्ले एरपोर्टका प्रमुख प्रेम ओलीले आज नेपालगन्जको प्लेन आउँदै छ म्याडमलाई त्यसैमा पठाइदिनुस् भनेर फोन गरे । देवकुमारीलाई फोन गर्दा उनले सितिमिती उठाइनन् । पछि होम सम्धीलाई फोन गरेर देवकुमारीलाई भन्न लगाएँ । तर देवकुमारीले भर्खरै आँगनमा गहुँ मकै सुकाइरहेकोले र सामान पनि तयार नभएकोले आउन नसक्ने बताइन् ।
खातामा पेन्सन जम्मा नभएको हुँदा हिजै पकाएको भात तताएर खाएपछि पुरानोठिमीस्थित बैँकतिर लागेँ । पेन्सन कोषको अनलाइन खाता नवीकरण गर्नुपर्ने रहेछ । राष्ट्रिय परिचयपत्र नभई नवीकरण नहुने भनेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत पूर्व सहकर्मी बद्धि बस्नेतलाई परिचयपत्र नम्बर खोजीदिन आग्रह गरेँ । उहाँले पठाइदिएपछि नवीकरणको प्रक्रियाहरू पूरा गरेपछि त्यहीँबाट लेखनकुञ्जतिर लागेँ । एकछिन लेखनकुञ्जको काम गरेर बेलुका सानोठिमीतिर लागेँ । निशाको घरमा खाना खाएर आफ्नो निवासतिर लागेँ ।
बेलुका कोठा बस्ने कविता भुजेलको कोठामा उसका साथीहरू आएकोले र अन्जु थापाको कोठामा पनि उसका दाइ र मामाहरू बसेको हुँदा पढ्ने डिस्टर्ब हुने कारण देखाउँदै माथि बैठक कोठामा बसेर पढ्ने अनुमति मागे । मैले हुन्न भन्न सकिनँ । बेलुका अन्जु र कविता माथिको कोठामा पुगे । अन्जुले पढ्न थाली कविताले मेसेज गर्न थाली । मलाई केही गोप्य कुरा भन्नुछ भनेर आग्रह गरिरहेकीले माथि मैले भन्नको लागि तलको हलमा बोलाएँ । आएपछि उसले भनेको कुराले मेरो रिङ्टा उठे । मैले उसलाई माथिकै कोठामा अन्जुकहाँ पुर्याइदिएँ ।
देवकुमारीले तलका कोठा बस्नेलाई कुनै हालतमा माथि नउकाल्नु । गेटमा ताल्चा लगाइरहनू भनेकी थिइन् । आफ्नो आफ्नै कार्य व्यस्तताले माथिल्लो छतमा र तल्लो छतमा सफा गर्न सकेको थिइनँ । आफ्नो काम घट्छ भनेर बढार्न लगाएको थिएँ । कविताले दुबै छत सफा गरिदिएकी थिई । ३ छाक खाना पनि पकाएर खुवाएकी थिई । खाना पकाएर खाएपछि ऊ तल आफ्नो कोठा झरिहाल्थी । कोठामा झरेर मेसेन्जरमा अनेकौँ कुराहरू लेख्थी । मैले पनि मनोविनोदको लागि सकेजति सिधा र बाङ्गो जवाफ दिने गरेको थिएँ ।
उसले यिनै कुराहरूलाई ब्ल्याकमेलको माध्यम बनाइछे । जो यस घरमा दुई तीन वर्षमा आश्रय लिएर बसेकी थिई उही हरियो सर्प बनेर ढुकेको के थाहा । देवकुमारीले भनेको मानेको भए यस्तो कुरा सुन्नुपर्दैनथ्यो । माथिको कोठा प्रवेश दिएकोमा निकै पछुतो भयो । तर पछुतो मानेर मात्र के गर्ने । उसले कमजोरीको फाइदा उठाएर खतरनाक योजना बुनिसकेकी रहिछ । सम्भवतः उसको पछाडि ब्ल्याकमेल गर्ने जमात पनि हुनसक्छ ।
एकातिर मान्छेलाई दुःख छ समस्या छ पीडा छ । पीडाबाट त्राण पाउन साथ सहयोग खोजिरहेको अवस्था छ । कोही पर कल्णाणको लागि आफ्नो जीवन नै समर्पित गरेका छन् । अर्को थरी लुटेराहरू अर्कालाई पासोमा थापेर दिनदहाडै लुकीछिपी लुट्न छोडेका छैनन् । यी पापीष्टहरूलाई पाप पनि लाग्ने रहेनछ ।
२०८३ भाद्र २३ गते मङ्गलवार
दुवाकोट भक्तपुर
आज देवकुमारी घरबाट आउने कार्यक्रम थियो । त्यसैले आज लेखनकुन्जतिर लागिनँ । बिहान साढे ९ बजेको प्लेन साढे ११ बज्दासम्म पनि उडेन । घरमा बस्न आत्तिएर म एरपोर्टतिर लागेँ । लोकन्थली पुग्दा समेत प्लेन नउडेको जानकारी पाएपछि लोकन्थलीमा बोर्डिङ चलाएर बस्नुभएका मध्यपश्चिमाञ्चल साहित्य परिषद्का अध्यक्ष समीर शाहको विद्यालय युनिक नेपाल एकेडेमीमा छिरेँ । समीर सरसँग मध्यपश्चिमाञ्चल साहित्यको सम्बन्धमा कुराकानीहरू भए । मध्यपश्चिमाञ्चल साहित्य परिषद्को यही २७ गते भनिएको साधारण सभाको तयारीको सम्बन्धमा पनि कुराकानीहरू भए ।
नेपालगन्जबाट रुकुमको लागि प्लेन उडेको खबर पाउनेबित्तिकै म एरपोर्टतिर लागेँ । एरपोर्टमा पुग्दा पनि रुकुममा प्लेन आइनपुगेको खबर पाएपछि एरपोर्टको क्यान्टिनभित्र खाजा मगाएर केही समय कटाएँ । प्लेन उडेको खबर पाएपछि डोमेस्टिक एराइभलमा पुगेर एउटा कुर्सीमा बसी समय कटाउन थालेँ । त्यसै बेला स्वयम्भू केसी नामका अपरिचित मित्र आएर चिनजान गरे । उनले मलाई पहिल्यैदेखि चिन्दा रहेछन् । मैले मात्र नचिनेको रहेछु । खलङ्गामा व्यापार व्यवसाय गरी बसेका पशुपति केसीका भाइ रहेछन् ।
एकछिन पर्खिएपछि देवकुमारीहरू नेपाल वायुसेवा निगमको गाडीबाट ओर्लिए । उनीहरू भित्र पस्नेबित्तिकै एरपोर्टको सामान क्यारियर यात्रीहरूको सामानहरू बोकेर घुम्न थालिहाल्यो । म रुकुमकै पत्रकार लक्ष्मण केसीसँग कुरा गर्दै थिएँ । देवकुमारी सामानहरू झार्न थालिसकिछन् । म उनलाई सहयोग गर्न जाँदा नेवासेनिका कर्मचारीले ट्याग हेरेर देवकुमारीलाई बुझाउँदै थिए । ४ वटा झोलाहरू लिएपछि पठाओ चढेर दुवाकोटतिर फर्कियौँ । देवीले आफ्नो छोरा सुदीपलाई पठाइदिएका स्याउ लिन सुदिप कोटेश्वर आएको थियो । उसलाई स्याउ दिएर घरमा पुग्यौँ ।
घरमा आउनेबित्तिकै देवीले फोन गरेर सुदीपलाई दिएका स्याउ फेरिएकोले खोजखन गरी आफूले ल्याएकै स्याउ बुझाइदिनु भन्दै गनगन गर्न थालिन् । देवकुमारीले अर्काको नासो ल्याउँदा यस्तै झन्ट बेहोर्नुपर्ने भन्दै गनगन गरिन् । मैले स्याउ फेरिएको भए पनि फेरिएको अर्को स्याउवालाले अवश्य पनि एरपोर्टमा कम्प्लेन गर्दा भोलि नै पत्ता लागिहाल्छ भन्दा पनि दुबै बहिनीहरूको गुनासो र आरोप प्रत्यारोप रोकिएन । बेलुका खाना मैले नै पकाइदिएँ ।
पानी पर्न थालेकोले छतमा सुकाइएका कपडाहरू एउटा बाटामा बटुलेर तल्लो छतको ओतमा राखिदिएँ र कवितालाई कपडा लैजाऊ भनेर मेसेज गरेँ । उसले मेसेजबाटै बदनियत राखेर केटीका कपडा उठाएको लगायत अनेकौँ आक्रोश र धम्कीको भाषा प्रयोग गरेर मेसेज फर्काई । म चकित परेँ । आफ्नै घरमा आश्रय दिइएकी केटीबाट यस प्रकारको जवाफ प्राप्त हुँदा सारै रिस उठ्यो तर यो कुरा देवकुमारीलाई बताइनँ । ब्ल्याकमेलको कसैले प्रयोग गरेको भए उसले योजनाअनुसार जे पनि भन्न सक्थी । गम्भीर आरोपहरू लगाउन सक्थी । उसले के के लेख्दै थिई मैले नेट अफ गरेर कुराकानी बन्द गरिदिएँ ।
तर अनपेक्षित रूपमा आइपरेको घाँडोले रातभर निदाउन सकिनँ । यो कुरा देवकुमारीलाई थाहा नै दिइनँ ।
२०८३ भाद्र २४ गते बुधवार
दुवाकोट भक्तपुर
भदौ १० गतेको रसुवा बाढीमा १९ जना परेको खबर आएको थियो । तीमध्ये दश एघार जना सम्पर्कमा आइसकेका थिए र बाँकी हराइरहेका थिए । तीमध्ये एक जना रुकुम रातामाटा निवासी हरिबहादुर खडका पनि थिए । उनले रसुवा भन्सारमा काम गर्दै रहेछन् । उनी हराएर सम्पर्कमा नआएको हुँदा कुसको लास बनाई पशुपति आर्यघाटमा अन्त्येष्टि कार्यक्रम सम्पन्न भइसकेको थियो ।
उनको परिवार कीर्तिपुरमा बस्ने जानकारी प्राप्त भएको थियो । बहिनी किरण खड्काले अस्ति नै जाऊँ भनेकी थिइन् तर आफ्नो कार्य व्यस्तताले जान समवेदना प्रकट गर्न जान सकिएको थिएन ।
यसै सिलसिलामा आज बिहानै उठेर कीर्तिपुरतिर लागेँ । किरणले दिएको लोकेसनअनुसार रारा हिल बोर्डिङ चोकको केही पर उनको घर रहेछ । घरमा पुग्दा कोलेनिका रुकुममा काम गर्दाका सहकर्मीहरू भीमा खडका र धनबहादुर खडकाहरू पनि त्यहाँ भेटिए । धनबहादुर खडकाका एक भाइ रहेछन् हरि खडका । घरमा रुकुमबाट आएका अन्य आफन्तजनहरूको पनि बाक्लो उपस्थिति थियो । हरिका दुई भाइ छोराहरू किरिया बसेका रहेछन् । किरियाकर्म गराउने पण्डित पनि रुकुम रातामाटाकै नारायणप्रसाद शर्माका छोरा बालकृष्ण शर्मा रहेछन् ।
म्याडमलाई शान्त्वना दिएर खाना समेत त्यहीँ खाई त्रिपुरेश्वरतिर फर्किएँ । बाटोमै परेकोले पेन्सन अफिसमा पसेँ । पेन्सन अफिसमा पेन्सनपट्टा मागियो तर मैले पेन्सनपट्टा बोक्न बिर्सिएछु । पछि देवकुमारीलाई फोन गरेर पेन्सन पट्टाको फोटो पठाउन पठाएँ । पेन्सन अफिसका कर्मचारीले नवीकरणको प्रक्रियामा रहेकोले ढिलाइ भएको बताए ।
त्यहाँबाट सरासर लेखनकुन्जमा आएँ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्का अध्यक्ष समीर शाह सरले लेखनकुञ्जमा मलाई नै पर्खिरहनुभएको रहेछ । लेखनकुञ्जमा भूपू अञ्चलाधीश सूर्यबहादुर सेन ओली पनि कमल ढकालसँग कुरा हुँदै रहेछ ।
समीर शाहको विद्यालयको पुस्तकालयको निम्ति लेखनकुञ्जबाट करिब ५० थान पुस्तकहरू निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएँ । दिउँसो नगेन्द्र लामासँग बसेर डीआर निरौलाको आकाश यात्रा पुस्तकको दोस्रो संस्करण प्रकाशनको निम्ति थपघट र परिवर्तन गर्नुपर्ने कुराहरू मिलाएँ र प्रिन्टेड कपि लिएर उहाँको निवासस्थल गौशालातिर लागेँ ।
बाटोमा भूपेन्द्रा मल्ल म्याडमको घर पर्ने भएकोले त्यहाँ पसेँ । भूपेन्द्रा म्यामसँग बाढी पीडितको लागि कार्य समितिका पदाधिकारीहरूले जम्मा गरेको रकम पठाइदिने बारेमा कुराकानी भयो । यसै गरी रुकुमेली वाङ्मय अधिष्ठानको आगामी वार्षिक साधारणसभा र सिँगारूको दोस्रो अङ्क प्रकाशनको लागि पनि कुराकानी तथा छलफल भयो ।
त्यहाँबाट क्याप्टेन डीआर निरौलाको गौशालास्थित घरमा पुगेँ । डीआर निरौला लठ्ठीको सहाराले मलाई लिन प्रवेशद्वारमै आइपुगे । उनको बैठककक्षमा पुगेर दोस्रो संस्करण प्रकाशनको लागि गरिएका परिवर्तन सुधार र थप लेखहरूको बारेमा सर्सर्ती ब्रिफिङ गरिदिएँ । उहाँले ठिक छ भन्नुभयो । मैले अझै केही सुधार गर्नुपर्ने भए भन्नुहोला भनेर प्रिन्टेड कपिहरू र पहिलो संस्करणवाला आकाश यात्रा पुस्तक उहाँलाई नै छोडिदिएर गौशाला बसस्टपमा पुगी बस चढेर नयाँबाटोको गाडीमा सल्लाघारीमा पुगेँ । बसबाट झर्दा निकै ठुलो पानी पर्न थाल्यो । हिँडेर दश पन्ध्र मिनेटमै घर पुग्न सकिनेभए पनि छाता नभएकोले दुवाकोटको गाडीमा चढेँ र घरमा आई विश्राम गरेँ ।
२०८३ भाद्र २५ गते विहीवार
दुवाकोट भक्तपुर
आज देवकुमारीले आफ्नो नियमित स्वास्थ्यको जाँचको लागि भक्पुर अस्पत्तालमा जाने कुरा राखिन् । मैले साथ दिने भएँ । अस्पत्ताल पुगेपछि मलाई पनि जचाउनु भनेर कर गरिन् । मेरो ब्लडप्रेसर अलि धेरै बढेको रहेछ । डाक्टरले मलाई विभिन्न जाँचको लागि सिफारिस गरे । देवकुमारीलाई पनि ल्याब जाँचको सिफारिस गरेकोले दुबैले रगत र पिसाब जाँचको लागि नमुना दियौँ । भक्तपुर अस्पत्तालमा बिरामीहरूको निकै भिडभाड हुने गर्दछ । आज पनि उल्लेख्य भिडभाड थियो तर बिरामीहरूले आज उति भिड नभएको बताइरहेका थिए । कहिलेकाँही त देवकुमारीको चेकजाँच गर्न एक हप्ता पनि लाग्ने गरेको थियो । आज पनि बिहान ८ बजेदेखि १२ बजेसम्म अस्पत्तालका विभिन्न रुम नम्बर धाउँदैमा ठिक्क भयो ।
रिपोर्ट भोलि मात्र आउनेभएकोले १२ बजेतिर हामी अस्पत्तालबाट निस्केर भक्तपुरको बजारतिर लाग्यौँ । देवकुमारीले कुर्ताहरू हेर्दै र छान्दै गइन् । तर आज पैँसा नबोकेकोले किन्ने काम भएन । ३ बजेतिर घरमा आइपुगेर अर्नी खाएपछि देवकुमारी डेन्टल क्लिनिकतिर लागिन् ।
आजै मैले त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा पढाएका भाइ शिव ओलीले संस्कृति विश्वविद्यालयबाट विद्यावारिधी हासिल गरेछन् । शिव ओली देवकुमारीका मावली भाइ पनि हुन् । उनलाई बधाई तथा शुभकामना दिँदै फेसबुकमा एउटा पोस्ट शेयर गरेँ ।
सिँचाइ डिभिजन रुपन्देहीका सहकर्मी लक्ष्मीप्रसाद पन्थीले प्रशासन अनलाइन पत्रिकामा प्रकाशित गोपी मैनालीको बिचरा बन्दै छ निजामती सेवा शीर्षकको शेयर गर्नुभएको रहेछ । मैले मेसेन्जरमै कमेन्टमै गरेँ : ‘जागिर छउन्जेल आफ्ना मातहतका कर्मचारीहरूलाई छानी छानी बिचरा बनायो । ज्ञानमा अब्बल तर व्यवहारमा निकृष्ट छ यो गोपी भनेर ।’ चित्त दुख्यो होला पन्थी सरको ।
मैले पन्थीजीलाई स्पष्टीकरण दिनुपर्ने भयो ।
म २०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीबाट सरुवा भएर कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानमा कार्यरत थिएँ । त्यस बेला मलाई दैनिक रूपमा रिङ्टा लाग्ने रोगले अत्यधिक पीडित थिएँ । सल्यानबाट मैले सरुवा मागेँ । सरुवा गर्दा महालेखा नियन्त्रक कार्यालयमा गोपी मैनाली महालेखा नियन्त्रक थिए । मेरो बसाइ दुवाकोट भक्तपुरमा भएकोले भक्तपुरस्थित जुनसुकै कार्यालयमा सरुवा गरिदिन अनुरोध गरेको थिएँ । तर मेरो सरुवा रेल विभाग विशालनगरमा भएछ । आफ्नो घरबाट अपायक पर्ने भएकोले मैले रेल विभागमा सरुवा नगरिदिनकोलागि पुनः विन्ती चढाएँ । तर मेरो सुनुवाइ भएन । बरु गुनासो राख्न गोपीको कोठामा छिर्दा उसले मलाई नै हप्काउँदै गाली गर्यो । कि राजीनामा दे हैन भने मै बर्खास्त गरिदिन्छु भनेर बम्कियो । उसको उग्र रिस र कुनै गाउँले महिलाको जस्तो व्यवहार देखेर म रित्तो हात उसको कोठाबाट बाहिरिएँ । एउटा कर्मचारीले आफ्नो गुनासो पोख्न उसको कोठामा पुगेको थियो । गोपीले गुनासो व्यवस्थापनका कैयौँ लेख पनि लेखेको होला । उसका लोक सेवाका गाइडहरूमा पनि यस बारेमा अब्बल लेखहरू पाइन्छन् । तर हाकिमको कुर्सीमा बसेको बखत यस्तो बडप्पन देखायो । एक जना निम्नस्तरको कर्मचारीले लोक सेवाका एक जना अधिकृतलाई सरुवाकै विषयमा पेपरवेटले हिर्काएर आँखामा चोट पुर्याएको घटना सम्झिएँ । तर मेरो साहस त्यस खालको थिएन ।
मलाई चिन्ने र बुझ्ने हाकिम र सहकर्मीहरूले अहिलेसम्म पनि मेरो कार्यकुशलताको प्रशंसा गर्दछन् । गोपी मैनाली मात्र यस्तो निजामती सेवक निस्कियो जो उसको कोठामा गुनासो राख्न जाने एकजना कर्मचारीलाई कानुनमै नभएको कुरा बर्खास्त दिने धम्की दियो ।
यस सम्बन्धमा मैले एउटा लेख पनि लेखेको थिएँ । तर उसको मान हानि किन गरौँ भनी प्रकाशन गरिनँ । उक्त लेख मसँग अझै सुरक्षित छ ।
देवकुमारी डेन्टल क्लिनिकबाट फर्किएपछि बजार घुम्न जाऊँ भनिन् । उनको इच्छाअनुसार निकोसेरातिर लाग्यौँ । निकोसेराको एक ब्युटीपार्लरमा पुगेर १२०० मा एउटा नक्कली कपाल ल्याइन् । केटाहरूको कपालको भने २० हजार रुपैयाँसम्म पर्दो रहेछ । त्यहाँबाट भाटभटेनीमा जाऊँ भनिन् । बाटोमै पानी दर्किएर पर्न थाल्यो । फर्कौँ भन्दा मानिनन् । निथ्रुक्क भिजिएको अवस्थामा भाटभटेनी पुग्यौँ । उनले कुर्तासुरुवाल भएको फ्लोरमा गएर एक एक कुर्ता छाम्दै र हेर्दै गइन् ।
हामीले कुनै फ्लोर बाँकी नराखेर सबै फ्लोरको सामानहरू अवलोकन गर्यौँ । सबैभन्दा माथिल्लो फ्लोरमा पुगेर कुन फिल्म लागेको छ भन्ने जानकारी लिन पनि बाँकी राखेनौँ । फेरि ग्राउन्ड फ्लोरमा झर्यौँ । सेल पनि बेच्न राखेको रहेछ । ओल्टाइपल्टाइ हेरिन् । नरम नरम खाऊँ खाऊँ लाग्ने रहेछन् भन्ने प्रतिक्रिया व्यक्त गरिन् । उनलाई सेल विशेष रूपमा मन पर्छ । ५ पुरिया सेल प्याक भएको प्लास्टिक बोकेर बाहिर निस्कँदै गर्दा अचारमा पनि आँखा पुग्यो । एउटा मिक्स अचार लियौँ । सबै किनमेल गरेर फर्कने समय ९ वटै पैँसा तिर्ने काउन्टरमा टोकरीहरू सामानले भरेका ग्राहकको निकै लामो लाइन थियो । हामी एउटा लाइनको पुछारमा गएर उभियौँ । एउटा सेलको पाकेट र अचार किन्न करिब आधा घण्टाभन्दा बढी नै समय लाग्यो । जे भए पनि सेल भएपछि घरमा पुगेर बेलुकाको खाना पकाउने टन्टा नहुनेभयो भन्ने कुरा दुबैजना ढुक्क थियौँ ।
बाहिर निस्किएपछि देवकुमारीले सोधिन् । मान्छेहरू आँखा चिम्लेर टोकरी भर्छन् र सामान लैजान्छन् । एउटै टोकरीका सामानहरू १० हजार देखि ५० हजारसम्म तिरेको देखेँ । कमाउँछन् कहाँबाट ? मैले देवकुमारीलाई दिने जवाफ केही थिएन । जे होस् नेपालीको क्रयशक्ति कति धेरै छ भन्ने कुरा यस्तै भाटभटेनी व्यापार मल बिग मार्ट तथा डिपार्टमेन्टल स्टोरको लाइनबाट पनि देख्न सकिन्छ ।
हामी ठिमीबाट हिँड्दै करिब पौनेघण्टामा दुवाकोट स्थित निवासमा आइपुग्यौँ । पहिले सेल नै चाख्ने कुरा भयो । तर सेल पटक्कै मिठो रहेनछ । दुईजनालाई एउटा सेल निबाज्न पनि गाह्रो भयो । देवकुमारीले टन्टै भए पनि भात पकाउने हिम्मत गरिन् । हिजो बेलुकाको दाल दही र तातो भात नै भोक लागेको बेला स्वादिष्ट भयो ।
२०८३ भाद्र २६ गते शुक्रवार
दुवाकोट भक्तपुर
आज देवकुमारीको चेकजाँचको लागि बिहानै भक्तपुर अस्पत्तालमा पुग्यौँ । रिपोर्टहरू सङ्कलन गरेर डाक्टरलाई देखायौँ । देवकुमारीलाई भिडियो एक्सरेको लागि २९ गते समय मिल्यो । मेरो भने ३० गते पालो पर्यो । देवकुमारीले बिमाबाट औषधि ल्याइन् । मेरो भने औषधिलाई मात्र १३०० पर्यो ।
घरमा आइपुगेपछि राजेश्वर कार्की सरले फोन गर्नुभयो । सन्चोबिसन्चोको कुराकानी भयो । उहाँलाई कलेजोमा क्यान्सर देखिएकोले केही महिना अघिदेखि किमो चढाइरहनुभएको छ । एक महिना दिल्लीमा र एक महिना नेपालमै किमो चढाउने व्यवस्था गरिएको रहेछ । उहाँले भारतमा गई क्यान्सरको किमो चढाउँदा एक पटकमा करिब ७ लाखको औषधिसहित कम्तीमा १० लाख खर्च भइरहेको बताउनुभयो । डाक्टरले १७ वटा किमो चढाएर क्यान्सर हट नहटेको हेर्नुपर्ने बताएका रहेछन् । उहाँको दारुण अवस्थाले मन साह्रै दुखायो । सामान्य व्यक्ति भए यस्तो खर्च कसरी बेहोर्न सक्थे होलान् । किमोले सर्लक्कै क्यान्सर हटे त ठिकै थियो तर धेरैजसोलाई एकातिर औषधोपचारमा कमाइ र जग्गाजमिन जति सबै सकिने र ज्यान पनि नबाँच्ने गरेका धेरै उदाहरणहरू देखेको छु । तर बिरामीको मनोबल उकास्नको लागि यस्तो कुरा गर्नु पनि भएन । ठिक भएन भने अझै कतिवटा किमो चढाउनुपर्ने हो । कति खर्च हुने हो कुनै निश्चितता थिएन ।
बेलुका बिनाराम सालाले मुद्दा जितिएको सुनाए । देवकुमारी निकै खुसी भइन् । बिनारामका पाँच छ महिना तनावै तनावमा बितेको थियो । चिन्ताले सुकेर जिउ धाइराको दाउरासरह हुँदै थियो । अब जिउ पलाउला ।
२०८३ भाद्र २७ गते शनिवार
दुवाकोट भक्तपुर
आज बाल्मीकि विद्यापीठमा मध्यपश्चिमाञ्चल साहित्य परिषद्को वार्षिक साधारण सभा तथा नवनियुक्त प्राज्ञहरूलाई बधाई ज्ञापन कार्यक्रम राखिएको थियो । बिहानै त्यतातिर लागेँ । परिषद्का अध्यक्ष समीर शाहको अध्यक्षता र वरिष्ठ साहित्यकार केशव सुवेदीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष मनोहर लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२ जना प्राज्ञहरू नवीन अभिलाषी र डा कृष्णराज सर्वहारी उपस्थित हुनुभएकोले उहाँहरूलाई रुद्राक्षको माला लगाएर बधाई दिएपछि उहाँहरूले पनि आफ्नो मन्तव्य राख्नुभयो । उहाँहरूलाई बधाई तथा शुभकामना दिँदै जगतप्रसाद उपाध्याय जीवेन्द्रदेव गिरी मधुसुदन गिरीले पनि आफ्ना प्राज्ञ अनुभवहरू सुनाउनुभयो । केशव सुवेदीले मध्यपश्चिमाञ्चल साहित्य परिषद्को स्थापनाकालदेखि अहिलेसम्मको विकासक्रम र अनुभवहरू सुनाउनुभयो ।
उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, जीवराज बुढाथोकी, अमर शाह, ओम रिजाल, विष्णुप्रभा उपाध्याय, हेम सुवेदी, भूपेन्द्रा मल्ल, खड्कबहादुर घर्ती लगायतको उपस्थिति थियो ।
कार्यक्रम समयमै समापन भएपछि रत्नपार्कमा पुगेर रु ३० को टिकट काटी पार्कभित्र छिरेँ । शशिराम कार्कीले बाल उपन्यास नौलो धरती हेरिदिनु भनेकोले पार्कभित्र बसेर सर्सर्ती हेरेँ । केही सुधार र सुझावहरू लेखेपछि नयाँबाटो हुँदै भक्तपुरतिर फर्किएँ ।
चारदोबाटोमा शशिराम कार्की सरलाई बोलाएर पाण्डुलिपि फिर्ता गरेँ । पानी दर्किरहेको थियो । सल्लाघारी पुग्दा फाट्यो । उज्यालै भएकोले सल्लाघारीबाट दुवाकोटमोडतिर नलागी च्वङ्गा गणेश मन्दिरमा उक्लिएँ । त्यताबाट भक्तपुरको बाटो हुँदै ब्यासीपट्टिबाट बारुदखाना चोक निस्किएँ । तरकारी र दुध किनेर घरमा आइपुगेँ । ढिला गरेकोमा देवकुमारीका रिसको पारो रनक्कै तातिएको थियो । मुख बन्द गरेर उनको रिस झारेँ ।
२०८३ भाद्र २८ गते आइतवार
दुवाकोट भक्तपुर
बिहान किरणले पठाइदिएको कान्छामामाको औषधि कृष्णलाई बुझाइदिएँ । लेखन कुन्जमा पुगेर अर्जुन ढुङ्गानासँग बसी कुलप्रसाद न्यौपानेको उदय र अस्तको संयोग आत्मकथाको सेटिङमा आवश्यक सुधारहरू गरियो । विपुलले पठाइदिएका थप फोटोहरू पनि राखियो ।
लेखनकुन्जबाटै आत्मकथा लेखाइरहेका हरिप्रसाद पाण्डेको भान्जा महेश थपलियालाई पनि डमी हेर्ने काम कहाँ पुग्यो भनेर ताकेता गरेँ ।
लेखनकुन्जबाट दिउँसोको खाजा खाई दिलमान चन्दको अफिसमा पुगेँ । तर उहाँ अफिसमा आउनुभएको रहेनछ । फोन गर्दा फोन पनि उठाइदिनुभएन । उनका कर्मचारीहरूसँग परिशीलन प्रतिष्ठानको अडिटको कुरा गरी फर्किएँ । त्यहाँबाट माइतीघरस्थित मनोहर लामिछाने सरको ल फर्ममा पुगेँ । उहाँको लागि गत २१ गते प्रज्ञा प्रतिष्ठानको नाटक कार्यक्रममा किनेको मोहनविक्रम सिँहद्वारा लिखित मई १२ शीर्षकको नाटकको पुस्तक मनोहर सरलाई बुझाएँ । राजबहादुर कुँवर सर त्यहीँ आउनुभएको रहेछ । भेट तथा कुराकानी भयो । त्यहाँबाट राजबहादुर र म दुबैजना राजबहादुर कुँवरको अफिसतिर लाग्यौँ । बाटोमा अनाम थियटरमा पसेर अशेष मल्लसँग कुराकानी भयो । रुकुममा अशेष मल्ललाई पुर्याएर नाटक प्रशिक्षण गराउने मेरो पुरानै धोको हो । अशेष मल्लको समय र बजेट व्यवस्थापनको कमीले यो लक्ष्य पूरा हुन सकेको छैन । अशेष मल्लले तयार गरिसकेको वीर गणेशमान नाटक प्रदर्शन गरेपछि जाने बताउनुभयो ।
बाटोमा महेश पौड्यालसँग फोनमा कुराकानी भयो । उहाँले असोज २ गते कमलपोखरी स्थित रसियन हाउसमा अन्तिम गीत नाटक प्रदर्शन हुन थालेको हुँदा आउनुहोला भनी निमन्त्रणा गर्नुभयो ।
त्यहाँबाट राजबहादुर कुँवरको अफिसमा पुगी इनडिजाइन सफ्टवेयर मेरो ल्यापटपमा इन्स्टल गर्न लगाएँ । हिरामणि दुखीसँग फोन वार्ता गरेर भेट्न चाहेको अवगत गराएँ । आरम्भ प्रकाशनबाट प्रकाशित मेरो कवितासङ्ग्रह स्तब्ध शब्दहरू ४० प्रति बोकेर घरमा ल्याएँ ।
२०८३ भाद्र २९ गते सोमवार
दुवाकोट भक्तपुर
बिहान ५ बजे नै राजबहादुर कुँवरको फोन आयो । उहाँले बिहानै चन्द्रप्रसाद न्यौपानेसँग ठिमीमा भेट्ने कार्यक्रम मिलाउनुभएको रहेछ । दुवाकोटमोडबाट राधेराधेसम्म हिँड्दै गएँ । तर राजबहादुर कुँवरहरू ठिमी पुगिसकेको जानकारी पाएकोले बसमा चढेर ठिमीचोकमा ओर्लिएँ । बिहानै ६ बजेको समयमा राजबहादुर कुँवर महाकविद्वय चन्द्रप्रसाद न्यौपाने र शशिराम कार्की तथा प्रगतिशील लेखक संघका सचिव कुशल बोगटीसँग भेटघाट गरेर ठिमीको एक चियापसलमा बसेर चिया पिउँदै साहित्यिक कुराकानीहरू भए ।
शशिराम सरले मैले सच्याएका पाण्डुलिपिमा नबुझेका कुराहरू सोध्नुभयो । मैले बताइदिएँ । केही कुरामा उहाँले आफ्नै कुराको अडान लिनुभयो । मैले सुझाव मागिएकोले सुझाव दिने मात्र काम मेरो हो । सुझाव मान्ने नमान्ने तपाईँकै हातमा छ भनी जवाफ दिएँ ।
यस अवसरमा आआफ्ना कृतिहरू साटफेरको काम पनि भयो ।
सबै साथीहरूले चिया खानुभयो तर मैले खाइनँ । आज भिडियो एक्सरे गर्नुपर्ने भएकोले नखाएको बताएँ । तर आज देवकुमारीको तीज र मेरो गणेश चौथीको व्रत एकै दिन परेको हुँदा दिउँसो बत्ती नबालुन्जेल व्रत बस्नुपर्ने थियो । मैले सानैदेखि गणेश चौथी ठुलो एकादशी व्रत र कृष्णाष्टमी व्रत निरन्तर बस्दै आएको छु । यहाँ यो कुरा गर्दा प्रसङ्ग अर्कैतिर मोडिने भएकोले मैले चाल गरिनँ ।
उहाँहरूसँग बिदाबारी भएपछि भक्तपुर अस्पत्ताल पुगेँ । देवकुमारीले अस्पत्तालको कार्ड हराएकोले कतै अस्पत्तालमै छुटेको छ कि भनी सोधपुछ गर्नुथियो । तर अस्पत्तालमा पनि उक्त कार्ड भेटिएन । त्यहाँबाट हिँड्दै घरमा आइपुगेँ ।
देवकुमारीको भिडियो एक्सरे गर्ने पालो परेकोले घरमा आएर देवकुमारीलाई लिएर फेरि भक्तपुर अस्पत्तालमा हिँड्दै गयौँ । देवकुमारीको पालो १८ नम्बरमा परेको थियो । हामी पुगेपछि केही छिनमै पालो आयो । भिडियो एक्सरेको रिपोर्ट नर्मल नै आयो ।
भिडियो एक्सरेको काम सकेर घरमा आइपुग्यौँ । बत्ती बालेर फलाहार तथा खिर बनाएर खायौँ । देवकुमारी दाँत बनाउन डेन्टल क्लिनिकतिर गइन् । बेलुका समीक्षाले पुलाउ बनाएर तीजव्रतलाई बिदा गरियो ।
२०८३ भाद्र ३० गते मङ्गलवार
दुवाकोट भक्तपुर
आज आफ्नै भिडियो एक्सरे गर्नु थियो । ४० नम्बरमा पालो भएकोले आत्तिनुपर्ने केही थिएन । खाना नै नखाएर जानुपर्ने भएकोले देवकुमारीले मात्र बासी त्यासी खाइन् र ९ बजेतिर घरबाट भक्तपुर अस्पत्तालतिर लाग्यौँ । बिस्तारै हिँडेर गए पनि साढे ९ नबज्दै अस्पत्तालमा पुग्यौँ । अस्तिको रगत जाँचले किड्नीमा समस्या देखाएकोले पुनः रगत जाँच गर्नुपर्ने भएकोले ल्याबमा रगत दिएँ ।
भिडियो एक्सरे कोठामा जाँदा बल्ल २६ जनाको मात्र पालो आएको रहेछ । मेरो पालो आउन अझै १४ जना बाँकी नै थिए । कता जानु भनेर त्यहीँ प्रतीक्षालयमा बसेर द्रौपदी उपन्यास पढ्दै समय कटाएँ । करिब पौने घण्टा पर्खिएर पालो हेर्न जाँदा जम्मा ३ जनाको सकिएछ । पौने घण्टासम्म पनि किन पालो सरेन भनेर बाहिर बसेकी कर्मचारीलाई सोध्दा उल्टै ऊ एउटै १ घण्टा पनि लाग्न सक्छ भन्दै हामीसँगै जङ्गिई ।
आफ्नो पालो आइपुग्न अरू २ घण्टा लाग्यो । पालो नसरेको गुनासोको बारेमा भित्र भिडियो एक्सरे गर्ने डाक्टरले पनि सुनेछन् । उनले गुनासो गरे ।
पेन्सनको पैँसा खातामा जम्मा नभएकोले देवकुमारीलाई तिमी खाना पकाउँदै गर म पुरानो ठिमीको बैँकमा सोधेर आउँछु भनेर गाडी चढेर पुरानो ठिमीतिर लागेँ । बैँकमा गएर सम्बन्धित शाखाका कर्मचारीलाई सोध्दा पैसा भदौ १८ गते नै जम्मा भइसकेको भनेर जङ्गिए । जम्मा भएको देखिँदैन भनेर सोध्दा स्टेटमेन्ट प्रिन्ट गरेर लैजाऊ भने । स्टेटमेन्ट प्रिन्ट गर्न जाँदा लाइनमा आऊ भनिन् । सुरक्षाकर्मीले लाइन मिलाउन आए तर स्टेटमेन्ट प्रिन्ट गर्ने अरू कोही रहेनछन् । म नै अगाडि लागेँ । रिसेप्सनकी कर्मचारीले काम गरिदिनुको सट्टा आँखा तरिरहिन् । बल्लतल्ल मेरो निवेदन लिइन् । अनि भनिन् अहिले नेटको लाइन छैन एकछिन प्रतीक्षालयमा बसेर कुर्दै गर्नुस् । उनले भनेअनुसार कुरिरहेँ । भिडियो एक्सरे गर्नुपर्ने भएकोले बिहानदेखि खाना केही खाएको थिइनँ । बजारमा किनेको बासी खाना मलाई पच्दैन ।
अतः दिइसकेको निवेदनलाई परवाह नै नगरेर घरतिर आएँ ।
२०८३ भाद्र ३१ गते बुधवार
दुवाकोट भक्तपुर
समीक्षाको आजै नेवानिको जहाजबाट रुकुम जाने कार्यक्रम रहेकोले बिहान ५ बजे नै एरपोर्ट गइन् ।
आज पनि बिहान खाना खाएर हिँड्दै भक्तपुर अस्पत्तालमा पुग्यौँ । हिजो भिडियो एक्सरे गरिए तापनि रगतको जाँचको रिपोर्ट आएको थिएन । अस्पत्ताल पुग्नेबित्तिकै दुबैजनाको रगत तथा अन्य जाँचको रिपोर्ट लियौँ । रिपोर्टमा सामान्य अवस्था देखाएको थियो । तैपनि रगत जाँचको रिपोर्ट र भिडियो एक्सरे दुबै देखाउनको लागि बिमाको ५ रुपैयाँको टिकट काटेर डाकटर देखाउने लाइनमा बस्यौँ । आज अलि ढिलो गरेकोले हाम्रो पालो आइपुग्दा धेरै बिरामीहरु फर्किसकेका थिए । तर एक्सरे कोठा बिलिङ काउन्टर र ल्याबमा भने उल्लेख्य भिडभाड थियो ।
डाक्टरले ३ महिनापछि फेरि सबै अङ्गको जाँच गर्नुपर्ने तर अहिले कुनै औषधि थप्नु नपर्ने बताए । भक्तपुर अस्पत्तालमा काम सकिएपछि खानेपानीको अफिसतिर पुग्यौँ । केही महिनापहिलेदेखि खानेपानीको अस्वाभाविक बिल उठिरहेकोले मिटर नै बिग्रिएको हो कि भनी बिहानै लक्ष्मण बाटीलाई धाराको मिटर खोल्न लगाएर बोकेर ल्याएको थिएँ । खानेपानीमा निवेदन दिँदा मेसिनमा खासै खराबी नआएको तर हावाले पनि मिटर घुम्ने र अन्य अवस्थामा पनि मिटर घुम्न सक्ने भएकोले पानी आउँदा मात्र मिटर खोल्ने बताए ।
त्यहाँबाट हामी सूर्यविनायक स्थित प्रभू बैँकमा पुग्यौँ । देवकुमारीले मेरो एटीएम हराएकोले त्यसलाई ब्लक गर्नु थियो । केही समयको लागि ब्लक गरेर त्यताबाट रत्नपार्कको गाडी चढ्यौँ । गाडीबाट ओर्लिएपछि देवकुमारीलाई निकै बान्ता भयो । गाडी चढ्यो कि उनलाई गाडी लाग्ने समस्या छ ।
न्युरोडस्थित विशाल बजारमा पसेर प्रवीर नातिलाई एक जोर लुगा किनिदियौँ । इन्द्रचोकमा पुगेर प्रेम केसीको पसलबाट मेरो लागि रु २०० का २ टोपी र जेठानलाई एउटा टोपी किन्यौँ । देवकुमारीले कुर्ता हेर्ने रहर गरेकोले गल्लीभित्र छिरेर एउटा पसलबाट रु ३००० का दरले २ वटा कुर्ता किनिन् । चाँदी पसलमा पुगेर नातिलाई रु ३००० को सानो औँठी किनिदियौँ ।
यति गर्दा अँध्यारो भइसकेको थियो । तर देवकुमारीको सामान किन्ने इच्छा पूरा भइसकेको थिएन । बागबजार आएर पुरानोबाटोको गाडी चढी दुवाकोटमोडमा ओर्लियौँ ।
आज मेरो जन्मदिन पनि थियो । देवकुमारीले मोडबाट केक लैजाऊँ भन्दै थिइन् तर मैले मानिनँ । घरमा पुगेपछि समीक्षा र देवकुमारीले सल्लाह गरेछन् । समीक्षाको प्लेन मौसम खराबीको कारण जनाएर आज क्यान्सेल गरेकोले फर्केर आइछन् । दुबै फुपू भदाहाले केक ल्याइछोडेछन् । औपचारिकता पूरा गर्नकै लागि भए पनि केक काटियो । साथीभाइले शुभकामना अस्तिदेखि नै दिइरहेका थिए तसर्थ उनीहरूलाई फेसबुकबाट धन्यवाद दिएँ ।
![]()