×

२०८२ फागुन २२ गते शुक्रवार

२०८२ फागुन २२ गते शुक्रवार

सोलाबाङ, रुकुम पश्चिम

हिजो रातिदेखि नै मतगणना सुरु भइसकेको थियो । यसपालिको नतिजा कस्तो होला भनी निकै कौतुहलता भएकोले बिहानै साढे ४ बजे उठेँ । मतगणना सुरु भएका १४ स्थानमध्ये ११ स्थानमा रास्वपाले अग्रता लिएको रहेछ । यही हिसाबले सबै निर्वाचन परिणाम आउँदासम्म रास्वपा दुईतिहाइ बहुमतको नजिक पुग्ने देखियो ।

दिनभर निर्वाचन अपडेटले तानिरह्यो । केपीलाई बालेनले उछिने। गगनलाई अमरेशकुमार सिँहले उछिने । प्रचण्डले बल्ल आफ्नो बिँडो थामे तर रेणु दाहाललाई सोविताले पछि पारिन् । रास्वपाका प्रायशः सबै नेताहरू निर्वाचित हुँदै छन् । अन्य दलका प्रमुख नेताहरू पराजित भइरहेका छन् ।

रुकुम पश्चिममा जनार्दन शर्मा झिनो मतले अग्रता लिएका छन् । ८००० मत ल्याउने आशा गरेको आठबीसकोटमा ३५०० मत आउन पनि मुस्किल भइरहेको छ । आठबीसकोट जनार्दनको पकेट क्षेत्र हो । बेलुका ९ बजेसम्मको परिणामअनुसार जम्मा मत गणना ८३४५ भएकोमा जनार्दन शर्माको आँखाले २८३८, गोपाल शर्माको ताराले २२७३, राजु केसीको रुखले १६७१र  मानवहादुर शाहीको घण्टीले ५३२ मत प्राप्त गरेको खबर प्राप्त भएको छ । मुसीकोट बाँफीकोट र चौरजहारीमा आँखा तारा र रुख चिन्हा ३ वटै उम्मेदवारले बराबर मत पाउने सम्भावना छ । सानीभेरी र त्रिवेणीमा भने ताराले धेरै मत पाउने सम्भावना छ । यस हिसाबले रुकुम पश्चिममा गोपाल शर्मा विजयी हुने सम्भावना बढेको छ ।

बिहानै प्रकाश काठमाडौँतिर फर्किएको खबर आयो ।

बिहान उठेर बारीमा काँक्राका बेर्नाहरू रोपियो । काँक्रालाई थाँक्रा हाल्नको निम्ति थाँक्राहरु खोजेर ल्याइयो । दिउँसो घारि करेसा सफाइ गरियो । निर्वाचन परिणाम हेर्ने सकसकले आज थप घरायसी कामहरू गर्न सकिएन ।

Loading

Post Comment

You May Have Missed