संस्मरण

दुप्चेश्वरसँग वर

संयोग नै मान्नुपर्छ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुन्ड जाँदा विश्राम गरेको स्थल दुप्चेश्वरतिर म पनि जाँदै छु । त्यसो त हामीजस्ता नाङ्गाभेषी मनुवाहरूको जीवनमा पनि बेलाबखतमा समुन्द्र मन्थन भैरहन्छन् र जबर्जस्ती विष पिलाउनेहरूको सामना गरिरहनुपर्दछ । विषको प्रभावले रन्थनिएको जीउ शान्त पार्ने काइदाको स्थल रहेछ दुप्चेश्वर ।

विभिन्न प्रदुषणहरूले विषाक्त भएको उपत्यकालाई छोडेर टोखाको पाखापखेरातिर उक्लँदा उक्लँदै विषको प्रभाव घट्न थालिहाल्छ । उकालोतिर पर्ने झोर/ढोर झरना र बौडेश्वर गुफा हुँदै शिवपुरी राष्ट्रिय निकुन्ज प्रवेश गरेर नुवाकोटको गुर्जेभञ्ज्याङको ओरालो झर्न थालेपछि पारितिर हिउँका टोपी ढल्काएका उज्याला पर्वत श्रृङ्खलाहरूले जीउको आधा विष झारिहाल्छन् ।

त्यसपछि अलिकति प्यासले तिर्खाएको जिब्रो र अलिकति उकालो र ओरालोले गलाएका यात्रीहरूको जीउ सन्त्याउनेहिसाबले चिसो पाखोमा खोलिएका होटेल/रेष्टुँराको चिया र खाजाको स्वाद अनुपम लाग्दोरहेछ । प्रसिद्ध व्यङ्ग्य साहित्यकार पिँडालु पण्डित (वासुदेव गुराँगाई) का सालाको होटेल ‘सफल’ को दूधदही, चिया र खाजाको अनुपम स्वादले झारेको विषको बखानै गरिसकिँदैन ।

उहिले रुकुमबाट दाङतिर झर्दै गर्दा पहिलोचोटि गरीज्युलालाई देखेपछि ठाडीभाका फुरिहाल्थ्योः

स्यानो होइन गरीज्यूला छ मुरी बीउ जाने
नलाऊँ भने बाली पीमा लाउँ भने जीउ जाने ।।

लाग्छः छहरे ज्युलालाई देखेर यस्तै गीत रचेका होलान् नुवाकोटे गीतकारहरूले पनि । बिदुरतिर बेपत्तासँग बतासिएको सडकलाई पश्चिमपट्टि बेपत्तिन दिएर लिखु खोलाको पुल तर्छौँ । उत्तरतर्फ लागेपछि भेटिने गाँजिएका आलुबारी र पहेँलपुर तोरीका विशाल फाँटहरू/वेँशीहरू त कति हुन् कति । टारहरूका गीत लेखेर साध्य नै देखिनँ । चौघडा टार, बाहुनवेशी, खरानीटार हुँदै समुन्द्र टार कट्न नै डेढ घण्टा लाग्दो रहेछ ।

दुप्चेश्वरबाबाका भक्त वासुदेव गुरागाईँ सरले दुप्चेश्वरसम्म पुग्न कसरी जाने ? के हेर्दै जाने ? कहाँ खाने ? कहाँ कतिखेर पुगिन्छ भनी फोनबाट निरन्तर सूचना दिइरहनुभएकोले बिरानो लागेको छैन बाटो र गन्तव्य । यहाँका फाँट र वस्तीहरू परिचित हुँदै गएका छन् । उहाँका नातेदारहरू आफ्नैजस्ता चिरपरिचित हुँदै गएका छन् । यात्रा निकै अपेक्षाभन्दा निकै सहज भैरहेको छ ।

नेपालको इतिहासमा त्रयी शासन पनि अर्थपूर्ण रहेछ भन्ने कुरा लिखु खोला नतरी पत्तो लाग्ने देखिनँ मैले ।

पाखा र बारीहरूलाई सदाबहार तुल्याउने बडेमानका अनेकौँ खोलाहरू तर्दै तादी खोला (सूर्यकुण्डको मुहानबाट आएको हुँदा सूर्यमति पनि भनिँदो रहेछ) तरेपछि पत्थरिलो पहाडतिर नजर उचालेर च्याउँदा मनै उम्लिएर पोखिन खोज्दो रहेछ । मनमा भएका विषाक्त विचारहरू भष्म भैहाल्दा रहेछन् । विषले रन्थनिएका महादेव बुढा यहीँ साक्षात् भेटिएर तँ कताबाट आइपुगिस् नि माइला ? भनेर सोधे के जवाफ दिने होला ? भनी दुविधामा पर्छु ।

दुप्चेश्वर महादेव दर्शन गर्न आउनेहरूको भिड जुनसुकै बार जुनसुकै घडीमा लागिरहँदो रहेछ । भिड लाग्नुमा दुप्चेश्वरसामु राखेका कामनाहरू पूरा हुने अटल जनविश्वास रहेछ । बाबा दुप्चेश्वरसँग जे माग्यो त्यही पाइन्छ रे ।

यसभन्दा अघि मैले अनेकौँ शक्तपीठको अघि छाँद हाल्दै “एकचोटि कसैगरी भक्तपुरस्थित कुनै कार्यालयमा सरुवा गराइदेऊ हे देवीदेउतौ, हे भगवानौ !” भनी जति रोईकराई बिन्ती बिसाए पनि कहिल्यै पूरा भएन !

निकै ढिलागरी आइपुगेछु दुप्चेश्वर महादेवसमक्ष । उही जागिरे सरुवाको वर मागूँ भने पनि आफ्नो अब फेरि सरुवा हुने अवधि नै बाँकी छैन । दुख्देचोरले दिएको वरदान दुप्चेश्वरले उल्ट्याउने सम्भावना विरलै हुन्छ भन्छन् केही गैरधार्मिक जानकारहरू । दुप्चेश्वरमा पहिल्यै आइपुगेको भए केही पार लागिहाल्थ्यो कि भनी भष्मेइ पछुताउँछु र चुकचुकाउँछु ।

साथमा आउनुभएका प्रमुख कोष नियन्त्रक रुद्र भट्ट, सर उहाँको म्याडम उहाँको चालक गौतमजी र मेरो सहकर्मी सुनौलाले लामै समय अलमलिएर शक्तिदाता दुप्चेश्वरसँग धेरैथरी वर मागिरहनुभएको छ । जति थरी वर मागेपनि उहाँहरूको उमेर त अझै धेरै बाँकी छ । उहाँहरूले मागेका अनेकौँ वरहरू पूरा हुँदै जानेछन् भनी अनुमान गर्छु । उहाँहरूप्रति अलिकति ईर्ष्या उम्रन्छ । दुप्चेश्वर बाबाको प्रभावले तत्कालै त्यो ईर्ष्या पनि बिलाइहाल्छ । हामीलाई यहाँसम्म ल्याइपुर्‍याउने चालक दिलिप पितृशोकमा भएकोले मन्दिर क्षेत्रमा प्रवेश नगरी तलै पर्खिबसेका छन् ।

अब मनबाट विष स्वाट्टै झरिसकेको छ । भोक, प्यास, थकानको लेस पनि बाँकी छैन आङमा । धन्य दुप्चेश्वर बाबा ! त्यत्तिकै तिम्रो शरणमा आइपुग्दैनन् धर्मभीरूहरू !

परिवारजन र समस्त आफन्तजनको सुरक्षा, सुस्वास्थ र दीर्घायुको वर माग्दै दुप्चेश्वरसँग विदाबारी हुन्छौँ । फेरि फेरि फर्केर आउन मन लाग्छ दुप्चेश्वरमा । फर्कँदै गर्दा ठाडीभाकाको गेरो मुखमा आइहाल्छः

बाखरीलाई किलादाउँला भेरीलाई हुलौँला
होइजाऊँ साईए जोली सुवा लेखलेखै डुलौँला ।।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *