चित्रीपाटनः विचित्र देशाटनसंस्मरण

चित्रीपाटनः विचित्र देशाटन (भाग-३)

तल्लुबगरबाट गोतामगाउँ हुँदै मगासम्म

सडक सुविधा हुँदाहुँदै पनि केही कहर र केही रहरको कारण पैदल यात्राद्वारा गोतामकोट उक्लने सर्वसम्मत् निर्णय लियौँ ।

तल्लुबगरको चारैतिर आकाश खुन्टिन तम्सिएका नाङ्गा पर्वतहरू देखिन्थे । स्थानीयवासीहरूले दक्षिण-पूर्वपट्टिको सबैभन्दा उच्च शिखरलाई औँल्याउँदै भनेः ऊ त्यही हो चित्रीपाटन । त्यहाँसम्म जान सक्नुहुन्छ त ?

‘यहाँसम्म आइपुगेपछि त्यहाँ नगई भो त ?’ उनीहरूले ‍औँल्याएको लेकतिर च्याउँदा मनलालको टोपी नै खस्यो ।

यात्रामा निस्किपछि अन्तिम गन्तव्यको आकर्षण त छँदै छ, बिचका सहायक गन्तव्य पनि कम महत्त्वपूर्ण हुँदैनन् । अन्तिम गन्तव्यको बारेमा सोधखोज गरिएको हुन्छ, फोटोहरू हेरिएको हुन्छ र मोटामोटी यस्तै होला भनी अनुमान गरिएको हुन्छ । तर बिच बिचका उपगन्तव्य भने पूर्वजानकारीमा आएका हुँदैनन् । तल्लुबगरबाट देखाइएको चित्रीपाटनभन्दा पनि अग्लो उत्तरपट्टिको नाङ्गो शिखर पनि कम आकर्षक थिएन । पूर्वपश्चिमपट्टिबाट लम्बाकार भएर सुतेको तल्लुबगरको सुन्दरता अलग थियो । घरका ढाँचाहरू अलग थिए । बगैँचामा लाइन मिलाएर रोपिएका जस्ता साजका रुखहरू अलग थिए । यत्ति हेरेर यात्रा रोकी वापस फर्किएको भएपनि खासै घाटा लाग्नेजस्तो थिएन ।

‘त्यो डाँडोको उतापट्टि गोतामकोट छ । यहाँसम्म आइपुगेर गोतामकोट नहेरी नफर्किनुहोला ।’ एकजना स्थानीय अरूभन्दा जाक्ता कहलिए । उनले औँल्याएको दिशातिर हेर्‍यौँ, अलिकति पाखेबारीबाहेक अरू केही देखिएन । कतै त्यही स्यानो पाखो मात्र त होइन गोतामकोट ? छाती कताकता चस्कियो ।

हामी तल्लुबगरबाट अघि बढ्यौँ । सडकमार्ग भएर अलिकति तल झरेपछि मैमत्त हान्ने राङोले हुँकारेजस्तै ठुलीभेरीले स्वाँऽऽऽऽऽ गरेर हुँकारिन् । सुतिरहेको अजिङ्गरलाई जिस्काइएसरि ठुलीभेरीले आफ्नो अस्तित्व र खतराको जनाउ दिइन् ।

‘ऐजेइऽऽऽ हान्छिन् कि ठुलीभेरीले ??’

बर्खामा उन्मत्त हुँदाखेरि आफ्नै किनारसँग समेत सिँगौरी खेल्न नसक्ने ठुलीभेरीले गर्मीयाममा आएर अक्किलयुक्त मन्सुतेको जातलाई के हान्दिहुन् ? ठुलीभेरीलाई चेपुवामा पारेर नदीकै माथिबाट गोतामकोट जोड्ने बेलिब्रिज हाल्दै गरिएको रहेछ । गाडी पार गराउन ठुलीभेरीको भुँडीमै दर्जनौँ हिमपाइपहरू घुसारेर नदीको छातीमै सडक बाटो बनाइएको रहेछ । १५/२० वर्ष पहिलेकी ठुलीभेरी भए देखी देखी आफ्नो पेटमा मन्सुतेको जातलाई हिमपाइप घुसार्न के दिँदी हुन् ? हामी ठुलीभेरीको गहनता र तिब्रतालाई नजिकैबाट चियाउँदै र क्यामेराले जिस्क्याउँदै बेलिब्रिजबाट पारि गयौँ । नदी किनारमा छँदा हामी समुन्द्री सतहबाट ११५० मिटर उचाइमा थियौँ ।

हामीले राडीबजार तरेदेखि नै जाजरकोटको भूभागमा मात्र यात्रा गरेका थियौँ । तल्लुबगर पनि जाजरकोटमै पर्दछ । बेलिब्रिज तरेपछि भने हामी फेरि रुकुम जिल्लामा प्रवेश गरेका थियौँ ।

हामीले समातेको गोरेटो ठारेबगरमा पुगेर तितरबितर भयो । सबैभन्दा मोटो गोरेटो ठम्याएर समात्यौँ, जुन बाटो डाँडाको धार हुँदै ठाडै माथि उक्लिएको थियो । सडकले प्रवेश नगरेको बखत यो गोरेटो बाटो निकै चाख्लो सरबाटो हुँदो हो । अहिले हिड्ने मान्छे नपाउँदा बिस्तुरिँदै गएको रहेछ । हामी पेटैभरि सडक खनिएको डाँडो चढ्न थाल्यौँ । दुईपाइला नचढ्दै स्वाँस्वाँ बढ्न थाल्यो । शरीरमा चिलचिल पसिना निस्कन थाल्यो । पाइताला पछिपछि सर्न थाले । शरीरले साथमा ल्याएका फलफूल र पानी चढाउने माग राख्न थाल्यो ।

हामी नआत्तिएर बिस्तारै उकालीमा पाइला सार्दै गयौँ । शरीरलाई नौलो गोरेटोसँग घुलमिल गराउँदै गयौँ । मनलाई नौलो वातावरणसँग घुलमिल गराउँदै गयौँ । शरीरलाई बिच्कन नदिन एउटा नियम बनायौँ । प्रत्येक ५० मिटर उक्लिएपछि विश्राम गर्ने । १०० मिटरजति माथि उक्लिएपछि तल्लुबगर सर्वाङ्ग देखियो । लाम्चो आकारमा रहेको तल्लुबगर विशाल प्रतीत भयो । नदी वारिपट्टिको उत्तरपूर्वपट्टि अर्को ठुलो समथर बस्ती देखियो । मुसीकोटको सोलाबाङ र माच्छिमी भनेजस्तै गोतामकोटको अन्नभण्डारको नामले चिनिने अनाहजिउला रहेछ त्यो गाउँ । जति जति माथि उक्लँदै जान्थ्यौँ, त्यति त्यति थप भूगोल प्रष्टिँदै जान्थ्यो । हाम्रो जिउ कालापानीको डाँडोमा कनीकुथी उक्लिरहेको भए तापनि हाम्रा आँखा र मन भने बतासिँदै धेरै परपरसम्म पुगिरहेका थिए । गाडीभित्र हुलिएर उक्लिएको भए यति धेरैथरि दृश्यहरू मनग्गे हेर्न कहाँ पाउनू ?

मानबहादुर काकाकी जेठी र कान्छी बुहारीको माइती पनि गोतामकोटमै छ । कान्छी बुहारीका भाइ कमल बीसीलाई मैले तल्लुबगरसम्म आइपुगेको सूचना दिइसकेको थिएँ । उहाँले बाइकमै तल्लुबगरबाट गोतामकोटको नयाँडाँडासम्म पुर्‍याइदिने वचन दिनुभएको थियो । तथापि उहाँको प्रस्तावमा म सहमत भइनँ । मलाई उकालो काट्नु मात्र थिएन पाइलापाइलाबाट चारैतिरको धितमरुन्जेल दृश्यपान पनि गर्नुथियो । साथीहरूलाई छोडेर एक्लै बाइकको यात्रा थाल्नु यात्राविधान उल्ल्ङ्घन गरेको ठहर्थ्यो ।

ठाडो उकालो चढुन्जेलसम्म कोही पनि मान्छे गोरेटोमा उक्लिएको वा ओर्लिएको देखिएन । सडक सुविधाले मान्छेहरूलाई निकै अल्छी बनाएको छ । दश मिनेटको यात्रा गर्न पनि मान्छे गाडीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्लान् तर पटक्कै खुट्टा दुखाउन चाहँदैनन् ।

हामी सिलपारीधारा उक्लिएपछि भूधरातल अलिअलि तेर्सो ढल्दै गयो । केही तेर्पायाँ हिँडेपछि भेटिएको सानचौरको चौतारीमा एकछिन बिसायौँ । बिस्तारै झन् झन् बाक्ला बस्तीहरू देखिन थाले । मान्छेहरूको बाक्लै ओहोरदोहोर देखिन थाल्यो ।

हामीले डेढ घण्टामा ५०० मिटर उचाइ जति उकालो काटिसकेका थियौँ । अब बाटो तेर्पायाँ लागेकोले अघि उकालो चढ्नै नमानेका पाइतालाहरू तेर्सोबाटोमा भने बुर्कुसी मार्न तम्सिए । मनलाल र खगेश्वरजीले स्थानीयसँग अन्तर्वार्ता लिँदै यहाँको ऐतिहासिकता र सामाजिक पक्षको जानकारी लिँदै हुनुहुन्थ्यो । एक्कबहादुर केसी र म भने एकै झाँकमा १७०० मिटर उचाइमा रहेको गोतामकोटको चौतारा गाउँको सामुन्ने आइपुगेका थियौँ ।

हामी उभिइरहेको स्थानबाट ढुंगाले छाएका र रातो माटो तथा कमेराले पोतिएका परम्परागत शैलीका सुन्दर घरका झुप्पाहरू सम्मुखबाट क्षितिजसम्मै फैलिएका देखिए । हामी सपनाबाट विपनामा उत्रिएझैँ वा कुनै चटकेले चटक देखाएझैँ एकैछिनमा भिराइलो भूगोलबाट समथर भूभागमा प्रवेश गरिसकेका थियौँ । यो अकल्पनीय भूभाग र गाउँ देख्दा मन नै चङ्गा बनेर फिरफिरफिरफिर गर्दै गोतामकोटको खुल्ला आकाशमा तलमाथि गर्न थाल्यो ।

चौतारामा सालाजी कमल बीसीसँग भेट भयो । उहाँले हामीलाई गोतामकोटका प्रत्येक गाउँका नामहरू र तिनका विशेषतासमेत बताइदिनुभयो । दक्षिण-पूर्वका गाउँहरू देखाउँदै उनले भनेः त्यो टिमुरगाउँ ! त्यो रोकायागाउँ ! त्यो रिम्कगाउँ ! त्यो मिग्री गाउँ ! फेरि उँभोतिर देखाउँदै भन्नुभयोः त्यो विष्टगाउँ ! त्यो पानीकोट अर्थात् गौतमथलो ! उत्तरतिरको समथर गाउँ देखाउँदै भन्नुभयोः त्योचाँहि गोतामगाउँ ! त्यो माथिको डाँडो मालिका ! त्यो माथिरीकोट ! त्यो सुपाकोट ! त्यो रिकोट ! त्यो मानाकोट ! उहाँले घुमीघुमी बताउँदै जानुभयोः त्यो कोटतिरुवा ! त्यो ठकुरीगाउँ ! त्यो आरुखोला ! त्यो बाहुनगाउँ ! त्यो टाँगे ! त्यो दमैबारा ! त्यो मानचौर ! त्यो काथिना ! त्यो सार्कीबारा ! त्यो भण्डारीगाउँ ! कतिवटा गाउँको नाम सम्झन सक्नू ? एकै ठाउँबाट सपाट देखिने गाउँहरू पनि कति हुन् कति !!

एकै ठाउँबाट यति धेरै गाउँहरू एकै नजरमा देख्न सकिने नेपालको ठाउँ सायद गोतामकोट मात्र होला । गोतामकोटमै मात्र आठबीसकोट नगरपालिकाका ३ वटा वडाहरू पर्दा रहेछन् । पहाडी भेकको एउटै वडा भौगोलिक क्षेत्रफलको आधारमा काठमाडौँ उपत्यकाभन्दा ठूलो हुन्छ ।

हामी चौतारामा धेरै बेरसम्म पर्खँदा पनि मनलाल र खगेश्वर नआएपछि मनलाललाई फोन लगाएँ । उहाँले मन्दिरको छेउमा पुगिसकेको जानकारी दिनुभयो । मन्दिर कता पर्छ भनी कमलजीलाई सोध्दा मन्दिर त उत्तरपश्चिमपट्टि यहाँबाट झन्डै आधा घण्टाको दुरीमा पर्ने बताउनुभयो । चौताराबाटै नयाँडाँडा उक्लने हो बाटो धेरै छोटो पर्ने भए पनि मालिका मन्दिर छुट्दो रहेछ । मन्दिर पनि हेर्ने इच्छाले हामी मनलाललाई तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ पर्खिनुस् भनेर दुवैजना कमलजीकै बाइकमा चढेर जतातिरबाट आएका थियौँ उतै फर्कियौँ ।

मनलालजीहरूसँग भेट भएपछि हामी दुवैतर्फ फलामे रेलिङ राखिएको नवनिर्मित् ढुङ्गे सिँढीबाट मन्दिरतिर उक्लिन थाल्यौँ । अलिकति उचाइबाट अर्को समथर गाउँ देखियो । गोतामकोट नाउँको गाउँ यही रहेछ । चौतारा गाउँबाटै उँभो लागेको भए यति सुन्दर गाउँ नजिकैबाट हेर्न छुट्दो रहेछ । ६१३ वटा खुड्किला रहेको सिँढी चढिसकेर (स्वयम्भूभन्दा ५ गुणा अग्लो) मालिका भन्ने ठाउँमा पुग्यौँ । ढुङ्गे पर्खालले घेरिएको टाकुरामा थानको आकारको अत्रि ऋषिको आश्रम तथा मन्दिर रहेछ । मन्दिर परिसरमा थप संरचना पनि धमाधम बन्दै रहेछन् । अत्रि गोत्रका गौतमहरूको उद्गम स्थल यसैलाई मान्दा रहेछन् ।

गोतामकोटलाई नाङ्गा आँखाले हेर्दा लाग्दथ्यो, यो कुनै आदिम मानव सभ्यताको ज्युँदो इतिहास हो । बिचबिचमा खोलाहरू, माथि घना जङ्गल, कतै समथर त कतै दम्सिला फाँटहरू ! यो गौतमहरूको मात्र होइन, धेरै जातिहरूको उदगम स्थल हुनुपर्छ । त्यो सभ्यता प्रागऐतिहासक गर्तमा पुरिएको होला । पुरातत्त्वविदहरू तथा मानव सभ्यताका अन्वेषकहरू यहाँ आएर उत्खननमा लाग्ने हो भने चिताउँदै नचिताएका धेरै कुराहरू उजागर हुनेछन् ।

हामीले मालिकालाई एक फन्को लगाएर गोरेटो बाटो पछ्याउँदै तेर्सो लाग्यौँ । यहाँबाट माथितिर लागेको भए सम्पेचौर भेटिन्थ्यो । सम्पेचौर मुसीकोटको ठूल्दहजस्तै सुन्दर पर्यटकीय स्थल हो । तर समय निकै घर्किसकेको हुँदा हामीले सम्पेचौर अवलोकन गर्ने अवसर छुटायौँ । हामीले समातेको गोरेटो बाटो घाँस काट्न जाने वा गाई चराउन जाने प्रयोजनको लागि बनेको थियो होला । एउटा खोल्सामा पुगेपछि त्यो गोरेटो बिलायो ।

हाम्रो योजना नयाँडाँडामा बास बस्न पुग्ने थियो । कमल बीसीले नयाँडाँडास्थित एक होटेलवालाको नम्बर हामीलाई टिपाउनुभएको थियो । ती होटेलवालालाई सम्पर्क गर्दा नयाँडाँडाका सबै होटेलवालाहरू नयाँ वर्ष मनाउन तल झरिसकेको हुँदा नयाँडाँडामा बास बस्ने व्यवस्था नभएको तर्सो हालिदिए । हाम्रो गन्तव्य अझै वर सर्ने पक्का भयो । हिँड्दा हिँड्दा थकित भैसकेकाले गन्तव्य वर सर्दा रमाउनुपर्ने थियो, तर हामी झन् आत्तियौँ । किनकि गन्तव्य वर सरेको परिणाम हुन्थ्यो भोलि थप हिँडाइको मारमा पर्नु ।

छहरेखोला गाउँको पाखोमा पुगेर हामीले नास्तापानी गर्‍यौँ । मनलालले आलु उसिनेर ल्याउनुभएको रहेछ । भोकाएको वेला मुस्ताङको स्याउजस्तै मिठो लाग्यो । साथमा ल्याइएको चाउचाउ र चिउरा बुकाउँदै फेरि उकालो चढ्न थाल्यौँ । निरन्तरको पैदल यात्राले गर्दा हामी अत्यधिक थकानले चुर भैसकेका थियौँ । तथापि बास बस्नःलायक गाउँ भेटाउनै पर्ने थियो । छहरेखोलाको थाप्लामा रहेका फाट्टफुट्ट घरहरू सबै रित्ता देखिन्थे । हामी सबैको मनमा चिसो पसेको थियो कि गासबास पाउनलायक घर फेला नै नपरे के गर्ने होला ?

हामी जता सोझिएका थियौँ त्यता जङ्गलै-जङ्गल मात्र देखिन्थ्यो । आसपासमा गाउँ छिट्टै भेटिएला भन्ने आशा मुर्झाउँदै थियो । तथापि तलकै गाउँलेले सुझाएअनुसार नयाँडाँडा नपुगे पनि हामी गैरीपातल वा मगा गाउँ भेटाउने लक्ष्यका साथ शरीरको पूरै ऊर्जा खर्च गरेर नाक ठोक्किने उकालो कनीकुथी उक्लिरह्यौँ । नेटामा पुग्नेबित्तिकै अर्को अनपेक्षित समथर भूभाग भेटियो । एकदमै चिसो हावाको झोँक्काले हाम्रो भव्य स्वागत गर्‍यो । यही रहेछः मगा गाउँ । त्यहाँबाट मगा मात्र होइन तल चौतारा गाउँबाट नदेखिएका गोतामकोटका थप गाउँका झुप्पाहरू चारैतिर देखिएः ती थप गाउँहरू थिएः गैरीपातल, थापागाउँ, दहगाउँ, टोटमाझ आदि ।

सन्ध्या भेरी किनारबाट उँभो लागेर आसपासका स्थानहरूलाई आफ्नो पोल्टामा हाल्दै नजिकिइरहेकी थिइन् । हामीले उनी आइनपुग्दै (रात नपर्दै) बासको ठेगान लगाइसक्नु थियो । प्रायः घरहरू रित्ता नै देखिन्थे । हामी विकल्पहीन हुँदै गयौँ । यसै वेला एउटा घरको आँगनबाट एक जनाले हामीलाई ईशाराले बोलाए । सन्ध्याले हामीलाई च्याप्पै समातेर आफ्नो पोल्टामा हाल्नु र हामी उनको घरमा बास बस्न पुग्नु एकैचोटि भयो । ती दयालु व्यक्ति थिए मगागाउँका साठी बर्षीय रुपे भण्डारी ।

हामी समुन्द्री सतहबाट २१५० मिटरको उचाइमा आइपुगेका थियौँ भने आज दिनभर जम्मा १००० मिटरको उचाइ मात्र चढ्न सफल भएका थियौँ । चित्रीपाटन पुग्न अझै २००० मिटरको उचाइ चढ्न बाँकी नै थियो । चढ्ने मात्र होइन निर्जन तथा अनकन्टार स्थल भएको हुँदा त्यति उचाइ बराबरको ओरालो सोही दिन झरिसक्नु थियो । एकैदिनमा ४००० मिटरको आरोह-अवरोह ख्यालको कुरा थिएन । यो उचाइ भनेको धुन्चेबाट एकै दिनमा गोसाइँकुण्ड पुगी सोही दिनमा धुन्चे फर्किए बराबरको दुरी थियो ।

अतः अहिलेसम्म हामीले रनवेमा ‘रनिङ’ मात्र गरेका थियौँ । अब रोमाञ्चक ‘टेकअफ’ गर्नुथियो ।

क्रमशः

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *