चित्रीपाटनः विचित्र देशाटन

चित्रीपाटनः विचित्र देशाटन (भाग-२)

मुसीकोटदेखि तल्लुबगरसम्म

यस यात्रामा साथ दिनको लागि सम्भावित साथीभाइलाई फकाउँदा चरालाई चारो छरेझैँ अनुमानित विवरणहरू जताततै छर्किएँ । कसैलाई चित्रीपाटन वलीहरूको उदगम स्थल एवम् पुण्य थलो भएकोले जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ हो भनेँ । कसैलाई नेपाल सरकारले नै पुग्नैपर्ने गन्तव्यमा राखेको प्राकृतिक मनोरमताको उत्कृष्ट स्थल हो हेर्न नछुटाऔँ भनेँ । कसैलाई धितमरून्जेल काफल खान पाइन्छ भनेँ । कसैलाई त्यस स्थलबाट अनेकौँ हिमालका शृङ्खलाहरूका साथै ९/१० जिल्ला (रुकुम पश्चिम र पूर्व, बाग्लुङ, म्याग्दी, गुल्मी, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, जुम्ला) का उच्च शिखर तथा बेँसी र सयौँ नदीनालाहरू एकैपटक देख्न सकिन्छ भनी फकाएँ । कसैलाई त्यहाँ यार्चागुम्बा पाइन सक्छ भनेँ । कसैलाई घोरल, झारल, मृग, बाघ, भालु, डाँफे, मुनाल आदिलगायत अनेकौँ पशुपन्छीसमेत देख्न सकिन्छ भनेँ । कसैलाई लेकाली सभ्यताको अध्ययन गर्न सकिन्छ भनेँ, कसैलाई कर्णाली लोकसाहित्यको अनुसन्धान गर्न सकिन्छ भनी फकाएँ । तर जस्तोसुकै मिठो र आकर्षक चारो छर्किए पनि टन्न अघाएका चराहरूजस्तै केही साथीभाइले चारोतिर च्याउँदै च्याएनन् । केहीले पुलुक्क हेरे मात्र, चारो नटिपेरै एकातिर पन्छिए ।

घर पुगेपछि पनि मेरो प्रयास जारी नै रह्यो । नातेदारहरू, साथीभाइहरू, साहित्यकारहरू, छरछिमेकहरू सबैलाई फोनबाट चित्रीपाटन हेर्न जाऔँ भनेर निरन्तर अनुनय विनय गरिरहेँ ।

बालाई भेट्न भनेर आएको छोरो घरभित्र नपस्दै निकटतम् यात्राको तयारीको लागि फोनमै व्यस्त रहँदा बाले दिकदार हुँदै भन्नुभयोः बालाई भेट्न आको हुँ भन्थिस् त । फेरि आजै कहाँ जाने कुरा गरिरहेको छस् ?

बालाई निराश तुल्याउँदै जवाफ दिनुपरेको थियोः हजुरलाई भेटिहालेँ । म त यही मौकामा हजुरका पनि बाजेबराजु उत्पत्ति भएको स्थल पनि पुग्छु भनेर आएको हुँ । भोलि त्यस ठाउँमा पनि पुग्छु ।

‘कहाँ हो र त्यस्तो ठाउँ ? उहिलेकाले हाम्रा पुर्खा उत्पत्ति भएको ठाउँ त सल्यान हो पो भन्थे त !’ बाले कौतुहलता व्यक्त गर्नुभयो ।

पहिलेकाले जे रटायो यताउता नहेरी त्यही भन्थे । अहिलेकाले सुनेको कुराको अलिकति अध्ययन अनुसन्धानबाट परीक्षण पनि गर्छन् र नयाँ तथ्य सार्वजनिक गर्छन् । म पुग्ने भनेको ठाउँ रुकुम जिल्लाकै गोतामकोटको धेरै माथि छ । उहिले बाटोघाटोको सुविधा नहुँदा त्यहाँ गई फर्कन दशबाह्र दिन लाग्ने भएकोले कसैले आँट्न सक्दैनथे । अहिले सडक यातायातले सजिलो भएको छ । तीन/चार दिनमै त्यहाँ पुगेर फर्कन सकिन्छ ।

बाले भन्नुभयोः ‘हुन्दे । तँसँग दुईचार दिन बसेर मनको दर्द बिसाउन मन छ । अर्को पटक आउँदासम्म म बाँच्छु कि बाँच्दिनँ ।’

अर्को आफन्तले सम्झाएः ‘बरू आएको बेला बालाई दुईमुठा गहुँ काटिदिए बाको मन कति खुसी होला । बल्लतल्ल बाको छेउमा आइपुगेका छौ । लेकतिर जाने कुरा नगर ।’

अर्को साथीले भनेः ‘गोतामकोट पुग्नै गारो छ । झन् त्याँभन्दा पनि निकै टाढा रैछ । जङ्गलमा बाघभालु लाग्छन् रे । एक्लैदुक्लै जान सम्भव छैन । यसपालि छोड्देऊ । धेरै साथीहरू जुटे भने जाउला बरू ।’

अर्कोले तर्सो हालेः ‘भोलि त रेडियोले पानी पर्ने सम्भावना भनेको छ । जङ्गलमा असिनापानीले चुटेर वा चट्याङ लागेर मर्नुपर्ला । एकदुई हप्ता पछि गए हुन्छ नि बरु ।’

धेरैजसोले भनेः त्याँ के होला र भिन्नै त्यस्तो ? यतै वरिपरि डाँडाकाँडा च्याएर फर्के भैगो त ।’

यसरी यो यात्रामा रातो बत्ती देखाउनेको लस्कर नै लाग्यो ।

पैदल यात्रा पनि शहरको सडक यात्राजस्तै हो । पाइला उठायो कि चोकचोकमा रातो बत्ती र हरियो बत्ती देखाउन थालिहाल्छन् । सडकयात्रामा सबैभन्दा नजिकको ट्राफिक बत्ती हेरेर गाडी रोक्नु वा कुदाउनुपर्छ । पैदलयात्रामा भने सबैभन्दा टाढाको बत्ती हेरेर शरीर कुदाउन जान्नुपर्छ । सन्मुखमा अनेकौँ राता बत्तीले झिमिकझिमिक गरिरहे पनि धेरै पर हेर्न जानियो भने कहिल्यै ननिभ्ने हरियो बत्ती बलिरहेको देख्न सकिन्छ ।

मैले पनि सबैभन्दा नजिकका राता बत्तीहरूको परवाह नगरेर धेरै टाढा बलिरहेको हरियो बत्ती देखेँ र बिहानै ५ बजे उठेर यात्रा प्रारम्भ गरेँ । म ढुक्क थिएँ कि मनलाल वलीले मात्र भए पनि साथ दिनेछन् । त्यति भए मेरो लक्ष्य पूरा हुनेछ । गन्तव्य अवश्य भेटिनेछ ।

सोलाबाङ स्कुलको छेउमा भदाहा सन्जीवले आफ्नो बाइकमा मलाई पर्खिबसेका रहेछन् । म पुग्नेबित्तिकै पछाडि राखेर ५ मिनेटमै छेरा हुँदै माच्छिमी पुर्‍याइदिए । गत वर्षसम्म यही सडकमा गाडी-यात्राबाट पनि र पैदल-यात्राबाट पनि बराबर करिब ४५ मिनेट नै लाग्दथ्यो । अहिले पिच भैसकेकोले गाडीयात्राबाट दुरी ९/१० गुणाले कम भैसकेको रहेछ ।

माच्छिमी पुगेपछि मनलाललाई फोन लगाएँ । उहाँहरू सडकमा उक्लेर गाडी कुरिरहेको खबर गर्नुभयो । विजयश्वरी स्कुलका शिक्षक तथा राप्ती साहित्य परिषदका सदस्य खगेश्वर भण्डारी, राप्ती साहित्य परिषद् रुकुम शाखाका सदस्य एक्कबहादुर केसी र अध्यक्ष मनलाल वलीले यात्रामा साथ दिने पक्का भएको खबरले खुसी तुल्यायो । उहाँहरू आइपुगुन्जेल समय बचेको हुँदा म माच्छिमी जिउलाको समथर फाँटमा एक्लै ओहोरदोहोर गर्न थालेँ । माच्छिमी एउटा गाउँ हो तर सडक सञ्जाल हेर्दा भने कुनै सहरको जङ्सनझैँ प्रतीत हुन्थ्यो । चारैतिर सडकहरूले एकआपसमा काटेर गएका देखिन्थे । सडक सञ्जाल विस्तार गर्नमा लागिपरेका सरोकारवालालाई धन्यवाद दिन मन लाग्यो ।

आजभन्दा झन्डै साढे तीन दशकपहिले म यसरी नै माच्छिमीमा दिनदिनै ओहोरदोहोर गर्थेँ । त्यति बेला म सिम्लीमा पढाउँथेँ । सिम्ली मेरो गाउँबाट झन्डै पच्चीस किलोमिटर दुरीमा रहेको छ । मैले सिम्लिमा पढाउने क्रममा हरेक दिन बिहानबेलुका गरी झन्डै ५० किलोमिटर पैदल पार गर्दा यो बाटोका ढुङ्गा, माटो, बोटबिरुवा, नदी किनार, बिसौनी र चौताराहरू सबैसँग नाता जोडिएकोले मलाई प्रष्टै चिन्थे र मैले पनि तिनीहरू सबैलाई एकएक चिन्थेँ । पैदल यात्रामा ५० किलोमिटर भनेको चानचुने दुरी होइन । काठमाडौँबाट झन्डै गल्छी पुगेजति वा दोलालघाट पुगे जति हो । त्यो ढुङ्गामाटो, ती बोटबिरुवा र चौकाचौताराहरू मासेर अहिले सडक बनाइएको छ । अहिले न त यात्रीले आफ्नै वरपरका गाउँ, ठाउँ चिन्छन् न गाउँ-ठाउँले यात्री । बसका चालक वा सहचालकले फलानो ठाउँ आयो है भनेपछि मात्र यात्रीले आफ्नो गन्तव्य आइपुगेको चाल पाउँछन् । नभनिदिए वा नसुने त जानै नपर्ने अर्कै गाउँमा पुगिसक्छन् ।

त्यो बेला अर्कै थियो । समय अर्कै थियो । प्रकृति अर्कै थियो । मानवीय सम्बन्ध अर्कै थियो । रुकुमबाट साथीहरूसँग म्याराथुन दौडे झैँ दौडेर बाटोभरिका घोडा खच्चरहरू उछिन्दै डेढ दुई दिनमै दाङको तुलसीपुर पुगिन्थ्यो । त्यस बेलाका चिलढाले, स्यानीखाल, अत्तरकाँरा, फलाबाङ, धनबाङका रम्च्याइलाग्दा कण्ठस्थ उकाली-ओराली र भूगोल अबका पुस्ताले थाहै पाउनेछैनन् । चौरजहारीमा मात्र एरपोर्ट छँदा पनि यही बाटो हुँदै सिम्ली, फुक्रु, आमडाँडा, जोगीनेटा, सर्केना, खोलागाउँ हुँदै चौरजहारी पुग्दाको रोमाञ्चकता अवर्णनीय हुन्थ्यो । उति बेला पैदल यात्राको रोमाञ्चकता अहिले गाडी यात्राको रोमाञ्चकतासँग कदापि साटफेर हुन सक्दैन ।

म खाली समयको सदुपयोग गर्दै कल्पनामा पनि बतासिएर ओहोरदोहोर गरिरहेको थिएँ । यति बेलासम्म चौरजहारीतिर, मुसीकोटतिर र बाँफिकोटतिर हुँइकिरहेका गाडीहरूले कतिले बोलाए कतिले छोडेर गए हेक्कै भएन । एउटा बोलेरो गाडीका कन्डक्टरले भने सडकमा हिँडिरहेको मलाई च्याप्पै समातेर गाडीभित्र हुले । त्यही गाडीमा मनलालसहितका साथीहरू अनुहार नै हेर्न नमिल्ने गरी खाँदिएका रहेछन् । मलाई लागेको थियो बसमा आउँदै होलान् साथीहरू ।

गुड्ने भएकोले गाडी भनिएको होला नत्र त यसलाई राङ्ङे धोक्रो भने बढी उपयुक्त हुने । त्यसमा जे खाँदे पनि भयो, जति खाँदे पनि भयो, जता खाँदे पनि भयो । सडकले भर्खरै रुकुम प्रवेश गर्दा ताकाको जस्तै यात्रा नियम भने अहिले पनि जोगाइएकै रहेछ । चेकपोष्ट आयो भने अलिकति वरै छतका यात्रीहरू उतारिँदो रहेछ र चेकपोष्ट कट्नेबित्तिकै फेरि उसरी नै कोचिँदो रहेछ ।

‘यति सानो गाडीमा कति धेरै यात्रु ?’ भनेर मैले आश्चर्य व्यक्त गरेपछि मनलालले जवाफ दिएः ‘अहिलेसम्म १२ सिटे गाडीमा २४ जना मात्र छौँ । यो त मस्तै होलो हो । यसमा त ३६ जनासम्म कोच्न मिल्छ । कर्रो त आँजै पर्ला । कतै भड्खालामा जाकिएन भने आफूलाई भाग्यमानी ठान्नुपर्छ । भड्खालामा जाकिएपछि मात्र नेताहरू र सरोकारवालाहरूको ध्यानाकर्षण हुन्छ र हार्दिक श्रद्धाञ्जली शिघ्र स्वास्थ्यलाभको कामना र हार्दिक समवेदनाका सन्देशले सामाजिक सञ्जाल रङ्गिन्छन् । नत्र त काग कराइरहन्छ पिना सुकिरहन्छ ।’ धन्य नियम निर्माता, धन्य अनुगमनकर्ता, धन्य कार्यान्वयनकर्ता !

आफूलाई उहिले हिँडेको पाइलापाइलाको गोरेटो र गाउँ हेर्न मन थियो । मनग्गे फोटो लिन मन थियो । गाउँ ठाउँ साथीहरूलाई देखाउन र चिनाउन मन थियो । तर बाहिर देखिने वा हात झिक्न सकिनु त कता हो सास फेर्ने ठाउँसमेत भए पो । सानचौर, चौतारा, लोरीबाङ, हाँसीबाङ, सिम्लीका गाउँहरूतिर च्याउनै नपाई चालक र सहचालककै सूचनाको भरमा एकैचोटि पुगिएछ गराइला ।

सहचालकभन्दा मनलाल बल्ल सूचना दिन जाक्ता ठहरिएः ‘हामीले अब सानीभेरी नदी तर्‍यौँ । मध्यपहाडी लोकमार्गको पक्की सडक छोडेर कच्ची सडकमा प्रवेश गरेका छौँ । अब हाम्रो बाँकी यात्रा यस्तै कच्ची सडकमा मात्र हुनेछ ।’

गाडी रोकिएको मौका पारेर मैले कछुवाले आफ्नै खबटाबाट टाउको निकाले झैँ यात्रीका दर्जनौँ टाउकाहरूबिचबाट अलिक माथि टाउको तानेर वारिपारि हेरेँ । खै सानीभेरी ? खै त्यो विशाल बगर ? उहिले गडगडाहटपूर्ण सानीभेरीको छेउमा पुग्दा जसलाई पनि निस्स्याहट लाग्थ्यो । सानीभेरीलाई सिधा हेर्दा जसका पनि आँखा रिङ्थे । पौडीवाजहरूलाई पनि सानीभेरी तर्न चिन्नाहरूको लाइफज्याकेट आवश्यक पर्थ्यो । अहिले त साँच्चिकै सानी खोल्सीतुल्य भैसकिछन् सानीभेरी । चार/पाँच वर्षको बच्चाले पनि सजिलै तरिदेलाजस्तो । अबको २०/२५ वर्षमा त सानीभेरी शून्यभेरीमा परिवर्तन नहोलिन् भन्न सकिएन ।

हामी अहिलेसम्म सानीभेरीलाई दायाँ पारेर पश्चिमतिर हानिइरहेका थियौँ । सानीभेरी तरेपछि भने सानीभेरी बायाँपट्टि परेकी थिइन् । कच्ची सडकमा यात्राको सास्ती अझै बढ्यो । गाडीबाट झर्नेहरूभन्दा चढ्नेहरू नै थपिइरहे । हामी गराइला, झिन्चौर, गारछाला, बलिबाङ, मेघाका साना साना गाउँ छिचोल्दै डोल्पा हुँदै आएको ठुलीभेरी नदी र रुकुमको बिचबाट बग्ने सानीभेरीको सङ्गम स्थल रिम्नामा पुग्यौँ । उति बेलाको रिम्नाको महत्त्व बेग्लै थियो । अहिले त दुईवटा नहर मिसिएजस्तो मात्र देखियो । रिम्ना आयो, रिम्ना आयो, फुस्सा भनेझैँ भयो ।

गराइलादेखि पश्चिमका गाउँहरूमा गत कार्त्तिकमा भूकम्पले मच्चाएको वितण्डाको अवशेष बाक्लिँदै गए । अझै राम्रोसँग तङ्ग्रिसकेका रहेनछन् यी बस्ती । रिम्नादेखि यात्री र यात्रीका भारीहरू ओरालिन थाले । अब यात्रा मुख्तोचाख्लो हुँदै गयो तर भूगोल भने साँघुरिँदै गयो । कतै कतै सुन्दर फराकिला बस्ती देखिन्थे भने अधिकांश साँघुरा खोँचहरू भेटिए । पारिपट्टि झन्डै सानीभेरी बराबरको नलगाड देखियो । कर्णालीमार्ग नलगाडपट्टिको पक्की पुल तरेर पारिपट्टि लाग्यो । पारिपट्टि जाजरकोटको बाक्लो बस्ती दल्ली पर्दो रहेछ । हामी भने वारिपट्टिबाटै आठबीसतिर लाग्यौँ । रिम्नाबाट करिब १ घण्टामा हामी आठबीसकोट नगरपालिकाको सदरमुकाम राडीबजार पुग्यौँ र कुनै उदेक नमानी छ/छ सय भाडा तिर्‍यौँ । यति बेला बिहानको साढे नौ बज्दै थियो । राडीबजार व्यस्त बजार रहेछ । शिक्षा स्वास्थ्यको अतिरिक्ति यहाँ ठूलाठूला सुविधायुक्त होटेलहरू, डिपार्टमेन्टल स्टोरहरु र बैँकहरू समेत बजारभरि खुलिसकेको देखेर खुसी लाग्यो ।

राडीबजारमा पुराना मित्र कमल रिजाल भेटिए । उनलाई हामी घुम्ने प्रयोजनको लागि गोतामकोट पुग्दै छौँ भन्ने विश्वास दिलाउनै महामुस्किल पर्‍यो । उनका कुराबाट बुझिन्थ्यो कि यतातिर विनाकामै घुम्न सितिमित कोही पनि आउँदैनन् ।

राडीबजारमा खाना खाइसकेपछि हामी झोलुङ्गे पुल तरेर पारिपट्टि बगरा भन्ने बजारमा पुग्यौँ । पारिपट्टि कर्णाली लोकमार्ग विस्तारित हुने क्रममा थियो । रात्री बस, टेम्पो र बोलेरोहरू यात्री ढुकेर बसेका जस्ता देखिन्थे । हाम्रो यात्रा फेरि बोलेरोमा हुने भयो । गाडीवालासँग ४ हजार रुपैँया भाडामा गाडी पुग्ने अन्तिम बिन्दु नयाँडाँडा पुर्‍याइदिने करारनामा गराएपछि हाम्रो यात्रा फेरि सुरू भयो ।

अघिल्ला सिटहरू भरिइसकेकोले हामी तीनजना पछाडिको दायाँबायाँ फर्किएका सिटमा बस्नुपर्ने भयो । सिङ्गै एक-एकवटा सिट भेटिएकोले यात्रा सजिलै होला भन्ने हाम्रो अनुमान त्यस बेला झुठ्ठा सावित भयो जब पछिल्ला एक-एक भनिएका सिटमा पनि तीन तीनजनाको दरले यात्रु र यात्रुका सामान कोचियो । यात्रु कोच्न सजिलो होस् भनेर सिट झिकेर बिच भाग प्वाल पारिएको रहेछ । प्वाल परेको सिटमा बिचको यात्रु खौलामा परेझैँ तल पर्दो रहेछ । अनि वरिपरिका दुईजना भने एक-एकवटा डण्डीमा तल्लो जिउ थमाएर मुस्किलले अड्किनुपर्दो रहेछ ।

यस प्रकारको यात्रा कठिनतम भए पनि चारैजना विनोदपृय थियौँ । उट्पट्याङ र व्यङ्ग्यमिश्रित प्रसङ्गहरू निकालेर यात्रीहरूलाई बाटोभरि हसाउँदै गयौँ । रमाउँदै गयौँ ।

ठुलीभेरीको किनारै किनार कतै मैदे, मालुवातरा, तातरागाड, चौखा, भितानगाउँजस्ता सुन्दर फराकिला फाँटहरूको अलावा अधिकांश उस्तै उच्चाटलाग्दो साँघुरो भूगोल र भिरको भित्ता खोपेर बनाइएको सडक पार गरेर हामी भेरी किनारमा रहेको फराकिलो फाँट तल्लुबगरमा पुगेका थियौँ । २० किलोमिटरको यात्रा तय गर्न हामीलाई अढाइ घण्टा लागेको थियो र यति वेला दिनको साढे एक बजेको थियो ।

सबै यात्रीहरू गाडीबाट ओर्लिएपछि अब भने खाली सिट पाइयो भनी खुसी हुँदै हामीहरू अघिल्ला सिटमा सर्‍यौँ । तर गाडीवालाले उकालोतिर जानै मानेन । यदि माथि जानु नै पर्नेभए गाडी रिजर्भ गर्नुपर्ने र यहाँबाट नयाँडाँडासम्मको रिजर्भको ७ हजार रुपैयाँ लाग्ने अड्डी कस्यो ।

जाबो १३/१४ किलोमिटरको यात्राको लागि ७ हजार तिर्न हामी सक्षम थिएनौँ । २० किलोमिटरको यात्राको लागि प्रतिव्यक्ति रु. ५००/- का दरले भाडा बुझाइसकेका थियौँ । हामी वाल्ल परेर एकअर्कालाई सजल नेत्रले हेर्दै गाडीबाट ओर्लिन बाध्य भयौँ । यसरी हाम्रो गाडीको यात्रा तल्लुबगरमा टुङ्गिन पुगेको थियो ।

क्रमशः

All reactions:

148You, Harka Singh K C, Nira Khadkakc and 145 others

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *