दुवाकोट भक्तपुर
आज भाइ प्रकाशले घर सर्ने पूजामा निमन्त्रणा गरेको थियो । हिजै प्रकाशले फोन नउठाएपछि बुहारी राधालाई फोन गरेको थिएँ । उनले घर सर्ने कार्यक्रम बिहानै साढे ५ बजे भएको र ७ बजे सबै अफिसको लागि हिँडिसक्नुपर्ने भएकोले दिउँसो कोही हुँदैनन् । पूजा सामान्य हो । नभ्याउने भए नआए पनि हुन्छ भनेर रोकेकी थिइन् । तर हाम्रो भने रुकुमको घरजग्गाको बारेमा भाउजूले बारम्बार गुनासो गरिरहने भएकोले जग्गा छुट्याउनको लागि छलफल गर्नको लागि पनि यही निहुँले प्रकाशलाई भेट्नै पर्ने थियो । तर दुवाकोटबाट जति बिहान उठेर हिँडे पनि ७ बजेभित्र कीर्तिपुर पुग्ने सम्भावना थिएन । लोकल बसमा कीर्तिपुर पुग्न यहाँबाट २ घण्टाभन्दा बढी नै लाग्छ ।
बिहानै उठ्न सकिएमा कीर्तिपुर जाने निधो गरेर सुतेका थियौँ । उठ्दा ६ बजिसकेछ । उठेर प्रकाशलाई फोन गर्दा आफू मात्र अफिस जाने र राधा दिनभरि घरमै हुने बतायो । तथापि राधाले नआए पनि हुन्छ भनिसकेकोले कीर्तिपुर जाने कुरा माया मारेर घरमै बसियो । अस्ति केशवराज न्यौपानेको पुस्तकको फाइनल गर्न शनिवार बोलाएको हुँदा त्यो काम पनि सक्नै पर्ने भएको छ । १ लाख ९ हजार शब्दमध्ये १ महिनामा करिब ६० हजार शब्दको मात्र सम्पादन भएको छ । अब ३ दिनमा ५० हजार शब्द सम्पादन गर्नु ख्यालको कुरा होइन । कीर्तिपुरतिर लागे यो काम अधुरो रहन्छ । यसै कामको लागि मात्र म काठमाडौँ आइपुगेको छु ।
त्रिवेणीको स्थानीय पाठ्यक्रमको ५ कक्षासम्मको पाठ्यपुस्तकहरू सबै तयार भइसकेका छैनन् । जितबहादुर शाह सरले ६ देखि ८ सम्मको पाठ्यपुस्तकको पनि जिम्मा लगाउनुभएको छ । पाठ्यपुस्तक निर्माणको काम ५ कक्षासम्मको यही जेठ १४ गतेसम्म र ६-८ को असार पहिलो हप्ता जसरी पनि सक्नुपर्ने भन्ने छ ।
यी कामहरू थाँती नै रहेकोले आफन्तहरू भेट्ने काम मुटु मिरेर भए पनि कम गर्नु छ । कीर्तिपुर गएको भए काठमाडौँको काम १ दिन पछि सर्थ्यो । त्यसैले पनि कीर्तिपुर जाने इच्छा भने थिएन । तर राधाले त्यसो नभनेको भए भने घर सर्ने पूजामा जानै पर्थ्यो ।
दिनभरि केशवराज न्यौपानेको पुस्तक सम्पादनमै घोटिएँ ।
![]()