0%
Still working...

२०८३ बैशाख ३० गते बुधवार

दुवाकोट भक्तपुर

आज बिहानै उठेर कृष्णप्रसाद न्यौपानेको घर काँडाघारीतिर लागेँ । घरको लोकेसन उहाँका जेठा छोरा विपुल न्यौपानेले दिनुभएको थियो। उहाँको घरमा पुग्दा कृष्णप्रसादको दारुण अवस्था देखियो । प्यारालाइसिसले आधा जिउ नचल्ने भइसकेको रहेछ । पुस्तकको सम्बन्धमा कुरा गर्दा उहाँ धेरैचोटि रुनुभयो । धेरैचोटि भक्कानिनुभयो । छोरा विपुल पनि असाध्यै साधारण प्रकृतिको मान्छे हुनुहुँदो रहेछ। रेडक्रसमा काम गर्नुहुँदो रहेछ ।

उहाँले करिब १ लाख १० हजार शब्दको पाण्डुलिपि सम्पादनको लागि लेखनकुन्जमा पठाउनुभएको थियो । कमल ढकालजीले हेरिदिनको लागि मलाई जिम्मा दिनुभएको थियो । हेर्दै थिएँ तर यसै बिचमा सोलुको सल्लेरी र रुकुममा पनि जानुपर्ने भएकोले हेर्दा हेर्दै छोडेको थिएँ । अहिले यस्ते दुई तीनवटा काम सक्नको निम्ति काठमाडौँ आइपुगेको छु ।

पुस्तकमा राख्नुपर्ने र राख्न आवश्यक नभएका कुराहरूको बारेमा छलफल भयो । पछिल्लो समयमा भइरहेको राजनीतिक र सामाजिक परिवर्तनलाई पनि लेखले आत्मसाथ गर्नुपर्ने कुरा बताएँ । साथै पुरानो प्रचलनअनुसारका शब्दहरूको हिज्जे पनि धेरै परिवर्तन भएका उदाहरणहरू पनि दिएँ । शनिबारको दिनमा दिनभर बसेर फाइनल गर्ने कुरा भएको छ ।

काँडाघारीबाट फर्किएपछि देवकुमारीले दाँत असह्य दुखिरहेको बताएपछि सिमेन्ट भर्न दुवाकोट स्थित केएमसी अस्पत्तालमा पुग्यौँ । त्यहाँ सिमेन्ट भरेर आएपछि पनि देवकुमारीले दाँत दुखिरहेको बताएकी छिन् ।

बेलुकातिर देवकुमारीले अघिल्लो रात नक्कली दाँत तपाईँको टोपीमा राखेकी थिएँ । तपाईँको टोपी खै भनेर सोधिन् । कुन टोपी भनेर सोध्दा उनले खैरो टोपी भनिन् । म लाजले रातोपिरो भएँ ।

त्यो टोपी मैले लगाएर बिहानै काँडाघारी विपुल न्यौपानेको घरमा पुगेको थिएँ । त्यहाँ लगभग साढे २ घण्टा उठबस गरेको थिएँ । टोपीमाथि के छ भनी सबै परिवारले देखे होलान् । त्यहाँबाट गाडी चढेर पेप्सिकोला आएको थिएँ । म अघिल्लो सिटमा बसेको थिएँ भने अरुहरू मेरो छेउमा उभिएका थिए होलान् । ठाउँ ठाउँका यात्रीहरू थपिइरहेका थिए मेरो छेउमा उभिइरहेका थिए । कोही मेरो शिर हेर्दै झर्दै थिए । कोही मेरो शिर हेर्दै पछि सर्दै थिए ।

पेप्सीकोलाबाट पनि गाडीमै चढेर दुवाकोट मोडमा ओर्लिएँ । वनकार्यालय पुग्नेबित्तिकै अघिल्लो सिटमा खाली भएकोले बसेको थिएँ । रत्नपार्कतिरबाट आउने पुरानोठिमी रुटको गाडीमा सधैँ भिडभाड भइरहन्छ । बसहरूमा बढी भिडभाड हुने भनेकै ढोकानेर हुने हो ।

टाउकोमा केही चिज हल्लिरहेको जस्तो त बिहानैदेखि लागेको थियो । केही झुन्डियो कि भनेर टोपी नझिकेरै हातले झारझुर पारिरहेको थिएँ । पुरानोबाटो हुँदै भक्तपुर जाने बसको मेरो यात्रा भने दुवाकोट मोडमा टुङ्गिएकोले झरेँ र टोपीमा केही बसेझैँ लागेकोले झारेँ । झार्दा टाउकोबाट कृत्रिम दाँत खस्यो । म तर्सिएँ । कतै आफ्नै दाँत खस्यो कि भनेर मुखभित्र हात हालेँ । मेरो जसको तस थियो ।

मैले अनुमान गरेँ कि पक्का पनि मेरो छेउमा उभिएको कुनै मान्छेले खोक्दा मेरै टोपीमा खसाल्यो होला । मलाई यो सम्झेर साह्रै घिन लागेर आयो । वाकवाकी लाग्ला जस्तो भयो ।

२ वर्षपहिले मेरो परिवार र मनोहर लामिछानेको परिवार पुरस्कार थाप्ने क्रममा दाङतिर जाँदै थियौँ । नागढुङ्गाबाट गाडी ओरालो लागेपछि देवकुमारी र मनोहर सरकी म्याडमको वाक्कवाक्क गर्ने प्रतिष्पर्धा नै चल्यो । पछि नौबिसेभन्दा अगाडि गाडी रोकेरै दुबैले छाद्न थाले । छाद्दा छाद्दै मनोहरकी म्याडमको हालेको दाँत नै छादसँग निस्किए र झरेछ । उहाँले गाडीभित्र पसेपछि मात्र चाल पाउनुभयो । चलिसकेको गाडीलाई फर्काएर फेरि उहाँले दाँत खोज्न थाल्नुभयो र छादको खात कोट्याउँदा कृत्रिम दाँत भेटियो । उहाँ त खुसी हुनुभयो तर हामीहरू भने पेट मिचिमिची हाँस्न थाल्यौँ । त्यो घटना सम्झँदा अहले पनि वाकवाकी आउँछ ।

मलाई लाग्यो कसैले टोपीमै त छादेन ? टोपी फुकालेर हेरेँ । त्यस्तो लक्षण देखिएन । अर्कैको दाँत होला भनी मैले परवाह गरिनँ । झरेर फुटपाथमै अड्किएकोले मैले कसैको दाँत भनी चिनेको थिएँ ।

घरमा आएपछि देवकुमारीलाई भन्छु भनेको बिर्सिएछु । दिनभरि अन्य काममै व्यस्त भइयो । बेलुकापख मात्र देवकुमारीले तपाईँको टोपी खै भनेपछि झल्याँस्स भएँ । त्यो दाँतले मेरो बिहानभरको तमासा देखाएर दुवाकोटमोडबाट बिदा लिएको थियो । मैले सबै घटना बताइदिएँ । उनी आत्तिँदै अहिले भेटिन्छ कि छिटो खोज्न जानुहोस् भनिन् । म दुवाकोट मोडमा जहाँनेर दाँत खसेको थियो धुइँपत्ताल खोजेँ । तर भेटिएन ।

उनलाई दाँत हराएको पछुतो । मलाई भने टाउकोमा दाँत बोकेर बिहानभरि भक्तपुर र काँडाघारीको परिभ्रमण गर्दा अरू यात्रीले के भन्ठानेहोलान् भन्ने लाज । देवकुमारीले मेरो दाँत हराइदियौ भन्ने गुनासो । मलाई भने अन्त कतै नपाएर दाँत पनि मेरो टोपीमा राखिदिएर लाजमर्नु गरायौ भन्ने रिस । केहीबेरसम्म भनाभन भइरह्यो ।

बेलुका साढे ७ बजेदेखि नवौँ भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम थियो । कार्यक्रममा यस हप्तामा जन्मदिन पर्ने भारतीय समाज सुधारक र चिन्तक Gopal Krishna Gokhale (१८६६) को सम्बन्धमा केशव शर्माले  नोबेल पुरस्कार विजेता स्पेनी साहित्यकार Camilo José Cela (१९१६) को सम्बन्धमा मनलाल ओलीले भारतीय मूलका विश्वप्रसिद्ध आध्यात्मिक दार्शनिक जे कृष्णमूर्ति(१८९५) को सम्बन्धमा भूपेन्द्रा मल्लले र उर्दू साहित्यकी अत्यन्त सम्मानित कवयित्री, गीतकार तथा बौद्धिक व्यक्तित्व ज़हरा निगाहको सम्बन्धमा चन्द्रा ओलीले प्रकाश पार्नुभएको थियो । भूपेन्द्रा म्यामकै अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मैले गरेको थिएँ ।

यस कार्यक्रममा ओम केसी र मीनराज ओली पनि आउनुभएको थियो ।

Loading

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts