×

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

दुवाकोट भक्तपुर

आज शनिवार भएकोले केही हतार थिएन । ढिलै गरी उठियो । बिहान बिहान हिँड्दा घरकै कौशीबारीमा ध्यान पुगेको थिएन । गर्मीको समय दिनदिनै गमलाहरूमा पानी नराखे फूलका बेर्नाहरू ओइलाइहाल्छन् भनेर हेर्न छतमा उक्लिएँ । नभन्दै धेरैजसो बेर्नाहरू ओइलाउन थालेछन् । बाल्टिनहरूमा पानी भरेर पानी हालेँ । अङ्गुर योपालि राम्रैसँग फलेको छ । प्रत्येक हाङ्गामा फलका झुप्पाहरू अङ्कुरण हुन थालेको छ । यही अङ्गुर फलेको हेर्ने निहुँले पनि छतमा उक्लन्थेँ तर बिहान बिहान लेखनकुञ्ज जानुपर्ने कामले छतमा समेत उक्लन सकेको थिइन । चार पाँच बोट ड्रागनफ्रुटहरू र एउटा किबीको बेर्ना पनि लगाएको छु । तर हिउँदमा जम्मै पात झरेको किबी र पहेँलिन थालेका ड्रागनफ्रुटमा अझै टुसा पलाउन थालेको छैन । देवकुमारीले छतको अगाडिपट्टि लसुन लगाएकी छिन् भने गमलाहरूमा प्याजका गाना लगाएकी छिन् ।

पानी हालिसकेपछि म खाना खाएर भाँडा धुनतिर लागेँ । देवकुमारीले भर्‍याङमा पोछा लगाइन् । वासिङमेसिनमा हालेका लुगाहरू छतमा सुकाई लोकवार्ता परिषद्को साधारण सभामा जान भनी घरबाट निस्किएँ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापिठमा कार्यक्रम रहेछ । म पुग्दा अन्य विद्वानहरू आइसक्नुभएको थियो ।

पूर्वनिर्धारित समयमा अर्थात् दिनको १ बजे नै प्राडा भवेश्वर पंगेनीको अध्यक्षतामा लोकवार्ता परिषद् नेपालको साधारण सभाको सुरुवात भयो । कार्यक्रम सञ्चालन सचिव डा. प्रतिभा पुनले गर्नुभयो भने स्वागत मन्तव्य मनोहर लामिछानेले राख्नुभयो । महासचिव ध्रुवप्रसाद भट्टराईले साधारणसभाको कार्यपत्र प्रस्तुति गर्नुभयो ।

 उक्त अवसरमा प्रस्तुत कार्यपत्रमा परिषद्ले सङ्गोष्ठीमा प्रस्तुत गरिने कार्यपत्रहरू स्तरीय, नवीन र अनुसन्धानमूलक हुनुपर्ने कुरामा विशेष जोड दिएको छ। प्रकाशित सामग्रीका साथै अन्तर्वार्ता, गाथा, आख्यान, अभिलेख, वंशावली, तस्बिर आदि समेट्न सकिने ‘नेपाली विधि’ अवलम्बन गर्न सुझाव दिइएको छ, जसले अनुसन्धानकर्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

लोकवार्ता जनजीवनसँग सम्बन्धित ज्ञान, सीप, परम्परा, संस्कृति, लोकसाहित्य, लोकविश्वास, कला र प्रविधिको समष्टिगत अध्ययन हो, जसको क्षेत्र व्यापक र बहुआयामिक रहेको छ। परिषद्ले २०६८ सालदेखि राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्दै आएको छ, जसबाट विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरूलाई महत्वपूर्ण प्राज्ञिक सामग्री प्राप्त हुँदै आएको छ। २०७१ सालमा संस्था दर्ता भई परिषद्ले वैधानिकता प्राप्त गरेको हो।

परिषद्ले नेपाली समाजको समग्र संस्कृति र सभ्यताको अध्ययन गर्ने उद्देश्य राख्दै लोकवार्तासम्बन्धी विविध क्षेत्र—जस्तै लोकसाहित्य, प्रदर्शनकारी कला, अभौतिक सम्पदा, कृषि, वातावरण, सञ्चार, आध्यात्मिकता आदि—मा अनुसन्धानलाई प्राथमिकता दिएको छ। राष्ट्रिय सङ्गोष्ठी २०८२ साल असोजमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा आयोजना गरिएको सङ्गोष्ठी २०८३ सालको बैशाखमा पूर्वका खोटाङ सोलुखुम्बु उदयपुरलगायतका जिल्लाहरूमा गर्ने योजना रहेको छ।

साधारण सभामा प्रमुख संरक्षक डा. प्रेमकुमार खत्री, सल्लाहकारहरू प्राडा कपिलदेव लामिछाने, प्राडा माधवप्रसाद पोखरेल प्राडा कृष्णप्रसाद न्यौपाने तथा बमकुमारी बुढाको उपस्थिति रहेको थियो। यसै गरी उपाध्यक्ष ध्रुवकुमार घिमिरे, कोषाध्यक्ष अम्बादत्त भट्ट सदस्यहरू डा कुलराज निरौला, डा अर्चना, डा प्रेम चौलागाई, डा गणेश घिमिरे, ओम रिजाल, प्राज्ञ नर्वदेश्वरी सत्याल, विष्णुकुमारी देव पूर्ण ओली, प्रविण पुमा लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम दिउँसो ३ बजे सकिएपछि मनोहर लामिछाने सरकै बाइकमा सानोठिमीसम्म आएँ । उहाँको घरमा पुगेर म्याडम, प्रचण्ड र केटाकेटीहरूसँग भेट भयो । सानोठिमी आएको मौकामा निशालाई पनि भेट्छु भनेको थिएँ तर ऊ गोरखा गएकी रहिछ । सुशील पनि बाहिरै रहेको र केटाहरू पनि खेल्न बाहिर निस्किएकोले सुशीलको कोठातिर नगई बस चढेर दुवाकोट आएँ ।

अनलाइन समाचारहरू हेर्दा अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसरले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका खबर भाइरल भइरहेका थिए । अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोस श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउमा परेका छन् । । विभिन्न सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी नियन्त्रणको प्रयास पनि भइरहेको खबरहरू रहेछन् ।

बेलुका खाना खाएपछि फैढोकादेखि फसिङटारसम्म पुगियो । नयाँ बस्तीमा नयाँ नयाँ गगनचुम्बी महलहरू बनेको देखी हामी छक्क पर्‍यौँ ।

कोठामा फर्केर आजको दिनको बिट मारियो ।

Loading

Post Comment

You May Have Missed