२०८२ चैत्र २० गते शुक्रवार
दुवाकोट भक्तपुर
हिजो भेटघाट मात्र बढी भएकोले लेखनकुञ्जको लक्ष्य तोकिएको कामअनुसार अघि बढ्न सकिएको थिएन । तसर्थ बिहान चिया समेत नखाई परीक्षितसँगै निस्किएँ । परीक्षितले कोटेश्वरसम्म पुर्याइदिएकोले त्यहाँबाट नेपाल यातायातको बस चढी थापागाउँतिर लागेँ । बाटोमा राजेश्वर कार्की सरलाई फोन लगाएँ । उहाँले २७ गते बिहान ६ बजे नै बबरमहलबाट सोलुखुम्बुतिर प्रस्थान गर्ने योजना रहेको र उता पानी पर्यो भने अत्यधिक जाडो हुने भएकोले न्याना कपडाहरू लैजान सुझाव दिनुभयो । यही यही चैत्र २८ गते सोलुखुम्बुमा हुने नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको कार्यक्रममा मलाई योगेश्वर वाङ्मय पुरस्कार दिने निर्णय अघिल्लो हप्ता नै भइसकेको छ ।
बिहान साढे ७ बजे नै लेखनकुञ्ज पुगेर हरिप्रसाद पाण्डेको पुस्तकको प्रारम्भिक पुनर्सम्पादनको काम सकेँ । उहाँहरूले त्यस पुस्तकमा केही कुराहरू छुटेको भन्नुभएकोले छुटेको कुराहरूको अडियो रेकर्ड गरी यथासम्भव छिटो पठाइदिन हरि पाण्डेका भान्जा महेश थपलियालाई फोनबाट अत्याएँ । क्याप्टेन डीआर निरौलालाई पनि दोस्रो संस्करणको डमी कति हेर्नुभयो भनी सोधेँ । उहाँले पर्सि आइतबार दिने बताउनुभयो ।
केपीएनको पुस्तकको चैत्रभित्रै सक्ने भनेको कामको एक तिहाइ मात्र काम सकिएकोले त्यतातिर लागेँ । चाहना बिरामी भएर पनि खोक्दै आइन् । सिर्जना आएर पनि गोविन्दराज जोशीको पुस्तक सम्पादनको निम्ति उनको घरतिर लागिहालिन् । मोहित सौरभ र अर्जुनहरू पनि आआफ्नो काममा लागे । रेणुदेवी शाहको पुस्तकको प्रकाशनको निम्ति उहाँकै निम्ति विभिन्न संस्थाहरूलाई आर्थिक सहयोग गरिदिने पत्र तयार गर्यौँ र पीडीएफ फाइल उहाँलाई नै पठाइदियौँ । आर्थिक कारोबारसँग मेरो संलग्नता नहुनेभए तापनि पत्रमा भने आर्थिक विभाग प्रमुखको रूपमा मैले नै सही गरिदिनुपर्ने कुरा आएकोले सही गरिदिएँ ।
कमल ढकाल सर भने आमाको उपचारको निम्ति अस्पत्तालतिर जानुपर्ने भएकोले अफिसमा नआउने खबर आयो ।
बिहान खाना नखाई आएकोले खानाको लागि कमल सरले नै भनिदिन अनुरोध गरेको थिएँ तर आज पनि विवशजीले केही सोध्नुभएन र मैले पनि खाना पकाइदेऊ भनिन । घरबाट ल्याएको खाजाले नै काम चलाएँ ।
साथीहरूले खाजा खाइसकेपछि क्यालेन्डरको डिजाइन गर्ने काममा सौरभ र म जुट्यौँ । नेपाली चाडपर्व नेपालका ख्यातिप्राप्त दिवंगत साहित्यकारहरूको जन्म जयन्ती र विश्व साहित्यकारहरूको जन्मजयन्ती राखेर १२ महिनाको डिजाइन गर्न हामीलाई बारबजायो । बल्लतल्ल बेलुका पौने ६ बजेतिर मोटामोटी काम सकिएकोले म अफिसबाट हिँड्दै गर्दा कमल ढकालजी आइपुग्नुभयो । उहाँलाई भेट्न अरु २ जना मान्छेहरू पनि आए । मलाई हतार भएकोले बिदा भई निस्कँदै गर्दा अर्जुन ढुङ्गानाले पनि साथ दिए । दुवाकोट जानुपर्ने मान्छे म अटो चढेर रत्नपार्कतिर लाग्न थालेको देखेर अर्जुनजीले आश्चर्य व्यक्त गरे । मैले सधैँ यसै गर्छु भनेँ ।
बाटोमा मनोहर लामिछाने सरको फोन आयो । उहाँले भन्नुभयोः भोलि १ बजेदेखि प्रदर्शनीमार्गस्थित एउटा कलेजमा लोकवार्ता परिषद्को साधारण सभा आयोजना गरिएको छ । तपाईँ आजीवन सदस्य भएकोले जसरी पनि आउनुहोला ।
हप्तामा एक दिन शनिवारको दिनमा पनि फुर्सद नमिल्नेभयो भनी म निराश भएँ । लेखनकुञ्जमा आफ्नै कामहरू पर्दाखेरि र शनिवारबाहेक सार्वजनिक विदाहरू मिल्दैनन् । देवकुमारीले अस्तिदेखि नै अस्पत्ताल जाऊँ भनिरहेकी छिन् । मैले कुनै प्राइभेट अस्पत्तालमा शनिवार जाउँला भनी थामेको छु ।
दुवाकोट पुग्दा राति पौने ८ बजिसकेको थियो । परीक्षित पनि आज अस्पत्तालबाट ढिलै आयो । खाना खाएर देवकुमारीसँग म इभिनिङवाकमा दुवाकोट हाइटतिर लाग्यौँ । मनोहर लामिछाने सरलाई मैले पुनः फोन लगाएर भोलिको कार्यक्रमको बारेमा देवकुमारीलाई सुनाएँ । उनले कुनै प्रतिक्रिया दिइनन् ।
फर्केर आएपछि अनलाइन समाचारहरू हेर्दा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उपत्यकाका चार यातायाता कार्यालयबाट ३२ बिचौलिया पक्राउ गरी हिरासतमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको खबर रहेछ । यातायात कार्यालय जस्तै वैदेशिक रोजगार विभाग, राहदानी विभागजस्ता कार्यालयहरुमा बिचौलियाहरुको बिगबिगी रहेको गुनासो छ । सेवाग्राहीलाई फास्ट ट्रायकमा काम गरिदिने बाहानामा अनावश्यक हैरानी,सास्ती र अवरोध सिर्जना गर्ने बिचौलियाहरुलाई नियन्त्रणमा लिने स्वीप अप्रेसन चलाइएको छ । त्यस्तै संसदमा रामबहादुर थापा बादलले बोलेको कुरालाई खण्डन गर्दै एमालेले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा ढिलै गरेर भए पनि बधाई दिएको छ ।
दिनभरको थकानले बेलुका दैनिकी लेख्ने पनि जाँगर चलेनन् र राति उठेर लेख्ने प्रतिज्ञा गर्दै दिनलाई बिट मारेँ ।
![]()
Post Comment