२०८३ जेठ १ गते शुक्रवार
दुवाकोट भक्तपुर
आज दाङबाट साढुभाइ अशोक र भतिज अनिश काठमाडौँ आउने कार्यक्रम थियो । म सम्पादनकै काममा घोटिइरहेँ । उहाँहरू ११ बजेतिर आइपुग्नुभयो ।
बिनारामल पनि आजै काठमाडौँ आइपुगेको जानकारी गराए । तर आफूलाई सुनधारातिरबाट काम गर्न सजिलो हुनेभएकोले भक्तपुरतिर नआउने जानकारी गराए ।
विपुल न्यौपानेले शनिवार प्रोजेक्टरको माध्यमबाट छलफल गर्दा प्रभावकारी हुनेभएकोले प्रोजेक्टर खोज्नुहोला भन्नुभएको थियो । लेखनकुन्जमा जानकारी गराउँदा सौरभले हाम्रो प्रोजेक्टर गह्रौँ भएकोले यताउता लान गाह्रो छ भने भने कमल ढकाल सरले बिग्रिएको छ भन्नुभयो । निशालाई अफिसमा छ कि भनी सोध्दा आज हाकिम नभएकोले पाउन गाह्रो छ भनी । विपुललाई समस्या बताउँदा आफूले नै खोजिसकेको बताउनुभयो ।
म सम्पादनकै काममा जोतिइरहेँ । खाना पकाउने र खबर आदानप्रदान कार्यक्रममा अशोक भाइ र देवकुमारी लागिरहे । दिउँसो दाँत दुख्छ भनी ठारठार गरे पनि बेलुका भने गफगाफको लागि उनी तम्तयार भइहालिन् ।
बेलुका राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको भर्चुअल रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न भयो । यो भर्चुअल रचना वाचन तथा समीक्षा कार्यक्रमको एघारौँ शृङ्खला थियो । आजको कार्यक्रममा लघुकथाकार श्री छविलाल खडका मगरले ४ वटा लघुकथाहरू वाचन गर्नुभयो भने प्रमुख अतिथि तथा समीक्षक वरिष्ठ साहित्यकार डाक्टर हरिप्रसाद भण्डारीले उक्त लघुकथाहरूउपर गहन समीक्षा प्रस्तुत गर्नुभयो । कार्यक्रम सञ्चालन गर्दै आउनुभएका ओम केसी सल्यानको बाटोबाट जोडिनुपर्ने भएकोले उहाँको नेटले काम नगर्दा मैले नै कार्यक्रम सञ्चालन गरेँ । मनलाल ओलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा खगेश्वर भण्डारी, मुकुन्दप्रसाद शर्मा, तुलसी केसी, शान्ति दाहालको पनि उपस्थिति रहेको थियो ।
२०८३ जेठ २ गते शनिवार
दुवाकोट भक्तपुर
आज बिहानै उठेर नित्य कर्म सिध्याएपछि याङ्गो बाइक बुक गरेर काँडाघारीतिर लागेँ । पाहुनाहरू साढुभाइ अशोक अनिश घरमै थिए । मलाई सबैको शनिवार बिदाको कारण आजै समय दिइएको भनी बताएको थिएँ । यताउता जाँदा छेकिरहने देवकुमारीले आज चाल गरिनन् । मेरो इच्छालाई सम्मान गरेको पाउँदा खुसी लाग्यो ।
केपीएनको प्रकाशोन्मुख बुकमा रहेका कुराहरू के कति घटाउने के थप्ने र नबुझेका कुराहरू स्पष्ट हुनको निम्ति बिपुल न्यौपानेले घरमै बोलाउनुभएको थियो ।
उहाँको घरमा आज माइलो छोरा विभव न्यौपाने पनि हुनुहुन्थ्यो । बुहारीहरू र नाति नातिना सबै थिए । म पुगेपछि स्ट्रोकले जिउ अरमठ्ठ परेका कुलप्रसाद न्यौपानेलाई उहाँको श्रीमती छोरा र कामदार मिलेर शयककक्षबाट मुस्किलले डोर्याउँदै बैठक कक्षमा ल्याउनुभयो ।
बिपुलले प्रोजेक्टरको व्यवस्था गरिसक्नुभएको रहेछ । प्रोजेक्टरको माध्यमबाट कुलप्रसादले लेखेका आत्मपरक लेखहरूले भित्तामा ठुलो अक्षरमा देखाउँदा कुलप्रसाद पटक पटक भक्कानिनुभयो । सम्भव भएसम्म लाइन लाइन र कतै कतै मात्र लाइन फड्केर हेर्दै गयौँ ।
घरमा छोरी बुहारीहरू नाति नातिनाहरु पनि बेला बेलामा बैठक कक्षमा आएर हेर्थे । उनीहरूको सुसंस्कार गज्जब लाग्यो ।
पुस्तकको आकार घटाउनुपर्ने दबाब भए पनि लेखिसकेकोलाई हटाउने कुरामा बिपुल र विभवलाई गाह्रो नै भएको देखिन्थ्यो । दिउँसोतिर कुलप्रसादका नजिकका दाजुभाइ र अन्य पाहुनाहरू आइरहे । पुस्तकमा पढिसकेका पाहुनाहरू साक्षात्कार हुँदा पहिले बारम्बार भेटिसकेको जस्तो अनुभूति हुन्थ्यो । कुलप्रसादका जेठा दाइ वेणीमाधव पनि आउनुभयो । उहाँले पनि २ वटा पुस्तक प्रकाशित गरिसक्नुभएको रहेछ ।
माइली बुहारी बन्दनामा पनि साहित्यिक अभिरुचि रहेछ । रामायण र महाभारतका श्लोकहरू लगायत लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेका कृतिहरूका श्लोक समेतमा जानकारी रहेछ । बिचबिचमा छलफल पनि हुन्थ्यो ।
बिहानको खाना पनि भयो । दिनभर चिया र विभिन्न प्रकारका फलफूल र खाजाहरू पनि वितरण भइरह्यो । पुस्तक सम्पादनको क्रममा यस प्रकारको जमघट मेरो लागि नौलो थियो ।
दिनभरको प्रयासले पनि जम्मा ९ हजार शब्द मात्र घटाउन सकियो । पुस्तकमा १ लाख शब्दहरू बाँकी नै रहे ।
पुनर्खण्डीकरण लेखकीय फोटो प्रमाणपत्रहरू राख्ने काम बाँकी राखेर म बेलुका ७ बजे काँडाघारीबाट घरमा फर्किएँ ।
२०८३ जेठ ३ गते आइतवार
दुवाकोट भक्तपुर
सम्पादनको कामको एक चरण सकिएकोले आज हल्का महसुस भएको थियो । बिहान उठेर माइतीघरस्थित मनोहर लामिछानेकहाँ पुगेँ । बिनारामलाई त्यतै बोलाएँ । मनोहरसँग विभिन्न विषयमा कुराकानी र सम्बन्ध अपडेट भयो ।
त्यहाँबाट लेखनकुञ्जमा पुगेँ । कमलजी र लेखनकुञ्जका अन्य कर्मचारीहरू सिर्जना चाहना सौरभ त्यहीँ थिए । पुगेपछि आफूले जिम्मा लिएका कामहरूको प्रगति विवरण सुनाएँ । कमलजीले सम्पादनका काम अलमल भएको र बुढा मान्छेहरूको मरनबाँचनको भर नहुने भएकोले छिटो सक्नुपर्ने भनी घचघच्याउनुभयो ।
कमलजीले लेखनकुञ्जलाई प्रज्ञा प्रतिष्ठान बनाउने कुरामा र मोफसलका प्रज्ञाका पदाधिकारीहरूलाई आमन्त्रण गरेर प्रज्ञा सभा गर्नको लागि काम अगाडि बढाउन अनुरोध गर्नुभयो । मैले प्रज्ञा सभाको लागत करिब १७ लाख लाग्ने अनुमान बताएँ । उहाँले स्रोत जुटाउने कुरा गर्नुभयो ।
दिउँसोतिर राजेश्वर कार्की एक जना साथी लिएर मलाई भेट्न लेखकुन्जमै आइपुग्नुभयो । उहाँमा लिभरमा क्यान्सरको लक्षण देखिएकोले यसअघि दिल्ली जानुभएको थियो । किमोको सुई लगाइरहेकोले स्वर झन् सानो भएको रहेछ । पहिल्यै बिस्तारै बोल्ने मान्छे झन् स्वर सानो हुँदा अड्की अड्की बोल्नुहुन्थ्यो । कुरा गर्दा उहाँको पीडाको सकस आफैले भोगे बराबर भयो । उहाँले सन्चो भए अर्को वर्ष बलि ल्याएर आइपुग्ने भाकलसहित रुकुमको डिग्रे शाईकुमारी भगवतीलाई धजा र दक्षिणा लगिदिनको लागि ल्याउनुभएको रहेछ । मलाई चढाइदिनको लागि दिनुभयो ।
त्यसपछि जुन कुरा नहोस् भन्ने लागेको थिएँ त्यही कुराको सुरुवात भएको थियो । मैले त्यो कुरा राजेश्वर र मोमिलालाई जानकारी नभए हुन्थ्यो भन्ने लागिरहेको थियो । उहाँले पहिले बाह्रखरीमा प्रकाशित सल्लेरीको यात्रा संस्मरणको बारेमा कुरा उठाउनुभयो । लेखाइ राम्रो भएको बताउनुभयो । लेख प्रकाशित भएको कुरा दिल्लीमा जानकारी भएको पनि बताउनुभयो ।
त्यसपछि सेतोपाटीमै प्रकाशित कथाको कुरा उप्काउनुभयो । त्यो लेख प्रकाशित भएपछि कुमारी लामाले दिल्लीमै मोमिलालाई बारम्बार अडियो तथा भिडियो कलहरू गरेर नारी अस्मिता र अधिकारको धज्जी उडाउँदै प्रकाशित भएको लेखले गम्भीर प्रश्न खडा गरेको भनी लेख हटाउन र लेखकलाई कारवाही गर्न अनुरोध गरेको पनि बताउनुभयो ।
उहाँले यसो भनिरहँदा मेरा ओठमुख सुक्दै गएका थिए । तर उहाँको निष्कर्ष मोडियो । त्यस लेखमा त्यस्ता कुराहरू नभएको आफूहरूले पाएको बताउनुभयो । यसले मैले शान्तिको सास फेर्ने मौका पाएँ । मैले त्यस सम्बन्धमा आफ्नो मनासय त्यस्तो हुँदै नभएको र महेश पौड्याललाई त्यसको स्पष्टीकरण लेखी पठाएको बताएँ । महेशजीले त्यो स्पष्टीकरण मोमिलालाई देखाउनुभएको रहेनछ । मैले उहाँलाई लेखेको कुरा नै मोमिलालाई फर्वार्ड गरिदिएँ ।
त्यहाँबाट राजेश्वर बिदा हुनुभयो म राजबहादुर कुँवरलाई भेट्न डिल्लीबजारतिर लागेँ । संयोगवश राजबहादुर कुँवरसँग भेट हुनुभयो । बारम्बार फोन गर्दा पनि नउठाउने राजबहादुरले आफू अकस्मात् पुगेको देखेपछि उहाँको मुखाकृति असामान्य रूपमा बदलियो र यथास्थानमा आइपुग्न केही समय लाग्यो । मैले उहाँको अवस्था बुझेर आफूलाई पुस्तक प्रकाशनमा भएको ढिलाइ र मुसीकोटमा कार्यक्रम राखिसक्दा पनि पुस्तक नपुगेकोमा कुनै गुनासो गरिनँ । उहाँले नै मुद्रणको जिम्मा लिएको मेरो नवीनतम कृति स्तब्ध शब्दहरूको एक प्रति उहाँसँगै रहेछ । त्यही दिनुभयो र अरू प्रति आजै बेलुका घरमा ल्याइदिने बताउनुभयो । मलाई आफ्नो सन्तानसँग साक्षात्कार गर्न पाउँदा हर्षले आल्हादित भएँ । त्यही १ प्रतिमा चित्त बुझाएर उहाँसँग बिदाबारी भई रत्नपार्कतिर लागेँ । ट्रमा सेन्टरमा होमबहादुर खडका सम्धीसँग भेट भयो । बिनारामजी भेट्न त्यहीँ आए । एकछिन कुरा गरेपछि म र बिनाराम सुनधारातिर लाग्यौँ । पहिल्यै दुब्लापात्ला बिनाराम पछिल्लो परिस्थितिको कारण चिन्ताले सुकेर धाइराको काठ बराबर भएका छन् । यस्तो बेला आफन्तलाई ढाढस दिनुपनि ठुलो सहयोग हो भन्ठानी यस्तो सबैलाई पर्छ भन्दै सम्झाउँदै आएँ । सुनधारामै एक होटेलको सातौँ तल्लामा बिनारामको कोठा रहेछ । त्यहीँ बसेर कुराकानी भयो र थकान पनि मेटियो । एकछिन निदाएछु पनि ।
त्यहाँ पर्खिनुको कारण लोकेन्द्र रावललाई भेट्ने कार्यक्रम थियो । दिउँसोमा एक कार्याक्रममा जानेभएकोले बेलुकीपख मात्रै भेटिने बताउनुभएको थियो । तर बेलुका उहाँले आफू नागदह पुग्नुपरेकोले भेट नहुने बताएपछि म राति आफ्नै घर दवाकोटमा फर्किएँ ।
२०८३ जेठ ४ गते सोमवार
दुवाकोट भक्तपुर
आजदेखि परीक्षितको एमडीको फाइनल परीक्षा सुरु भएकोले बिहानै पाटनतिर लाग्यो । अशोक भाइ र अनिश पनि ११ कक्षाको इन्ट्रान्सको फर्म भर्न कलेजहरूतिर लागे ।
देवकुमारीले बिहानैदेखि खुट्टा चलाउन नमिल्ने भयो । दाँत र जिउ जम्मै दुख्न थाल्यो भनेर रोइरहेकी थिइन् । खाना खाएर उनलाई जँचाउन दुवकोटकै केएमसी अस्पत्ताल पुग्यौँ । त्यहाँ डेन्टिस्टले कि त दाँतमा सिमेन्ट भर्नुपर्ने तर आरसिटि गरेमा दीर्घकालीन समाधान हुने बताए । आरसिटि गर्न १० हजार लाग्दो रहेछ । काम चल्छ कि भनेर सिमेन्ट भर्ने काम भयो । केएमसीले हरेक उपचारमा ५० प्रतिशत छुट दिएको रहेछ । सिमेन्ट भरेको ७०० मात्र शुल्क लाग्यो ।
त्रिवेणीको पाठ्यपुस्तक निर्माणको काम पनि अगाडि बढ्न सकेको थिएन । यही जेठ पहिलो हप्ता सकेर बुझाउनुपर्ने थियो । त्यसको अन्तिम सम्पादनको जिम्मा मैले लिएको थिएँ । केही फुर्सद मिलेकोले ४ कक्षाका पाठहरू सम्पादनको सुरुवात गरेँ ।
४ र ५ कक्षाका पाठहरूको खेस्रा तयार गर्न मनलाल चन्द्रा नरसिँह टीकारामलाई पनि कार्यविभाजन गरिएको थियो । उहाँहरूले पठाएका मस्यौदा डाउनलोड गरेँ । उहाँहरूका पाठहरू सबै अपूरा र अव्यवस्थित थिए । अभ्यासहरू झारा टार्ने खालका मात्र थिए । सम्पादन गर्न हम्मे हम्मे पर्यो । दिनभर त्यसैमा जोतिएँ ।
राजबहादुरले पुर्याइदिने भनेका मेरा पुस्तकहरू अझै आइपुगेका थिएनन् । मैले केही भनिनँ मिच मारेर बसेँ ।
२०८३ जेठ ५ गते मङ्गलवार
दुवाकोट भक्तपुर
देवकुमारीको दाँतको दुखाइ सिमेन्ट भरेर पनि कम भएको थिएन । म बिहानै उठेर त्रिवेणी पाठ्यपुस्तक सम्पादनमै लागेँ ।
५ गते नै पाठ्यपुस्तक निर्माण र घरायसी कामको लागि रुकुम पुग्ने कार्यक्रम थियो तर देवकुमारीको स्वास्थ्य ठिक नभएकोले सन्चो भएपछि र परीक्षितको परीक्षा सकिएपछि मात्र जाने योजना बनाएका थियौँ ।
शिवरात्रिको दिनमा एटीएम चोरी भएकोले फेरि बनाउन निवेदन त दिएको थिएँ तर लिन जान नपाउँदा घरमा नगदको समस्या पनि बढिरहेको थियो । दिउँसोतिर ठिमी पुगेर एटीएम ल्याएँ र पुनः सम्पादनमै लागेँ ।
२०८३ जेठ ६ गते बुधवार
दुवाकोट भक्तपुर
बिहान उठेर पुस्तक सम्पादनकै काममा लागेँ र दिनभर अविराम काम गरिरहेँ ।
बेलुकापख आत्मकथाको सम्पादनको क्रममा रहेका हरिप्रसाद पाण्डेका भान्जा महेश थपलिया मेरो घरमै आइपुग्नुभयो ।
फेमिली ट्रीको सम्बन्धमा करिब २ घण्टा छलफल गरेर टिपोट गरियो । अब नातेदारहरूबाट हरिप्रसादको सम्बन्धमा संस्मरणात्मक लेखहरू आउन बाँकी थियो । त्यो पनि छिटो दिन महेशजीलाई अनुरोध गरेँ ।
२०८३ जेठ ७ गते विहीवार
दुवाकोट भक्तपुर
आज घरमै बसेर दिनभरि पाठ्यपुस्तक निर्माणकै काममा लागेँ । दिउँसोतिर देवकुमारीको दाँतको दुखाइ बढिरहेकोले उपचारको निम्ति दुवाकोट मोडमा स्थित डेन्टल क्लिनकमा गयौँ ।
क्लिनक बन्द भएकोले त्यसैको मुनि रहेको ह्यान्बो भन्ने संस्थामा के रहेछ भनी छिर्यौँ । विभिन्न व्यायामको साथै खाटमा उनीहरूकै बिछ्यौना लगाएर जिउलाई न्यानो पारी उपचार गर्ने पद्धति रहेछ । व्यायामहरू र उपचार निशुल्क भए पनि सिरक र बिछ्यौना भन्ने किन्नुपर्दोरहेछ । एकछिन व्यायाममा सहभागी भयौँ । डेन्टलका मान्छेले क्लिनिक खुलेको जानकारी गराएपछि त्यहाँ पस्यौँ ।
सस्तो सुविधासम्पन्न सरकारी हस्पिटलको उपचारले चित्त नबुझेकोले क्लिनिकमा गएका थियौँ । क्लिनकमा प्रशान्त भन्ने डाक्टरसाबले केएमसीका दाँतका डाक्टरहरू सबै विद्यार्थीहरू भएकोले नजानेर झनै बिगारिदिएको आरोप लगाए । देवकुमारीले त्यसैमा विश्वास गरिन् । उनले आरसीटीको ५००० लाग्ने बताए । केएमसीमा १०००० लाग्ने बताएको थियो । शुल्क पनि सस्तो नै लाग्यो । आरसिटि नै गर्ने निर्णय भएकोले उपचार थालियो ।
नदुख्ने औषधिहरू लगाएपछि दाँत मात्र होइन देवकुमारीको जिउको सबै दुखाइ कम भयो ।
बेलुका पख राजबहादुर कुँवरले मेरो पाँचौँ नवीनतम् कृतिका ८० थान ल्याएर आफै घरमा आउनुभयो । साह्रै खुसी लाग्यो ।
अनिश भतिजले ट्रिनिटी केएमसी र किस्टको इन्ट्रान्समा पास भए पनि ट्रिनिटीमा भर्ना भएको बताएका छन् । अब ट्रिनिटीको आसपासमा कोठा खोज्ने काममा भाइ अशोक लाग्नुभएको छ । बिहान खाना खाएर कोठा खोज्न जानुहुन्छ र बेलुका अबेर खाना पकाउने बेलामाघरमा आइपुग्नुहुन्छ ।
भाइ अशोकको आगमनले देवकुमारीलाई सहयोग पुगेको छ । खाना बनाउने काममा र कहिलेकाँही भाँडा माझ्ने काममा पनि सहयोग गर्नुहुन्छ । मेरो सधैँको आफ्नै कार्य व्यस्तताले देवकुमारीसँग बोल्नै फुर्सद पाउँदैन । सँगै हुँदा पनि पारिवारिक कुराकानीमा पनि साथ नदिने नगरेकोमा देवकुमारीको गुनासो पनि सुनिरहनुपर्छ । अशोक भाइ आएपछि पारिवारिक कुराकानी गर्ने देवकुमारीको इच्छा पनि पूरा भएको छ । म बैठक कक्षामै सम्पादनको काममा व्यस्त हुन्छु । अशोक भाइ र देवकुमारी खाना पकाउँदै गफमा व्यस्त हुन्छन् । खाना पाकेपछि बोलाउँछन् । सँगै बसेर खाना खान्छौँ । देवकुमारीको हकमा भने यही कुरा आपत्तिजनक हुन्छ । उनले मेरो मुखमा देवी नाम पनि उच्चारण गरेको सहन्नन् । उनको उपस्थितिमा उनका बहिनीहरू मात्र होइन आफ्नै भाइबहिनीसँग पनि कुरा गरेको मन पराउँदिनन् ।
२०८३ जेठ ८ गते शुक्रवार
दुवाकोट भक्तपुर
दिनभर कक्षा ४ को हाम्रो त्रिवेणी पाठ्यपुस्तक सम्पादनकै काममा लागियो । बेलुका ४ कक्षाको सम्पादनको पहिलो चरणको काम सकिएकोले केही डिजाइन समेत थपेर मनलाल ओली र त्रिवेणीका शिक्षा अधिकृत मानबहादुर विश्वकर्मालाई इमेलमा पठाइदिएँ ।
आज परीक्षितको एमडीको फाइनल परीक्षा पनि सकिएकोले आज साथीहरूसँग छलफल गरेर बेलुका अबेरतिर मात्र घरमा आउने भनी खबर गर्यो ।
मानबहादुर विश्वकर्माले पाठ्यक्रमको सम्पादनको काम छिटो सकाउन बारम्बार अनुरोध गरिरहनुभएको छ । सम्पादन असाध्यै मसिनो कुरा हो । कति मिहिनेत परेको छ भन्ने सम्पादकलाई मात्र थाहा हुन्छ । खेस्रामा लेखिएको कुरामा अनजानमा अनेकौँ गल्ती भएका हुन्छन् । वाक्यमा नै त्रुटि हुन्छ । शब्द शब्दमा त्रुटि हुन्छ । कत ह्रस्व हुनुपर्ने दीर्घ र कति दीर्घ हुनुपर्ने ह्रस्व भएका हुन्छन् । कति स श भएका हुन्छन् । कति व ब भएका हुन्छन् । लेख्नेलाई नै थाहा हुँदैन । यी कुरा सुधारिएको भन्ने समेत थाहा हुँदैन ।
मानबहादुरजीलाई सोमबारसम्म ५ कक्षाको पनि सम्पादन सकेर पठाउने कबोल गरेँ ।
२०८३ जेठ ९ गते शनिवार
दुवाकोट भक्तपुर
बिहानै उठेर नित्यकर्म सिध्याएर हाम्रो त्रिवेणी कक्षा ५ को पाठ्यपुस्तकको सम्पादनको काम सुरु गरेँ । मनलाल चन्द्रा नरसिँह र टीकारामले पठाएका आफ्नो जिम्माका खेस्रा कपिहरु डाउनलोड गर्छु । चन्द्राको र टीकारामको खेस्रा युनिकोड अक्षरमा आएको हुन्छ । उनीहरूको खेस्रालाई सुरूमा प्रीतिमा कन्भर्ट गर्नुपर्छ । अहिले कन्भर्ट गर्ने विभिन्न एपहरू आइसकेका छन् खासै गाह्रो छैन ।
५ कक्षाको पाठ्यपुस्तकमा ६ वटा एकाइ र झन्डै ३६ वटा पाठहरू रहेका छन् । प्रत्येकलाई अलग अलग एकाइको जिम्मा दिइएको छ । सम्पादनको काम सुरु चन्द्राकै खेस्राबाट सुरु हुन्छ । सुरुको एकाइ त्रिवेणीको परिचय उहाँकै भागमा परेको थियो । चन्द्रा सिम्रुतु क्याम्पसकी नेपाली शिक्षिका पनि हुन् । भाषिक तथा शाब्दिक त्रुटि केही कम भए पनि तथ्य संकलनमा अलि अल्छी गरेको देखिन्छ । केही कुराहरू कक्षा ४ र ५ का दुरुस्तै मिल्छन् । फरक बनाउनको लागि थप सूचना खोज्न विभिन्न स्रोतको खोजी गर्नुपर्ने हुन्छ ।
दिउँसोतिर देवकुमारी दाँतको उपचारको लागि डेन्टिस्टतिर लाग्छिन् । मैले साथ दिनुपर्थ्यो तर ५ कक्षाको सम्पादन सक्न ४ दिनको म्याद पाएकोले मिनेट मिनेटको महत्त्व छ ।
देवकुमारीले अघिपछि मैले ल्यापटप खोलेको देख्दा नै उनको रिस उठ्थ्यो । अहिले रिस कम गर्न कोसिस गरिरहेकी हुन्छिन् । काम गर्न दिने भए मात्र यता बस्छु नत्र रुकुम जान्छु भन्ने मैले सर्त तेर्स्याएकोले उनी मेरो समस्या बुझ्न थालेकी छिन् । त्यति मात्र नभएर जागिरबाट रिटायर भएपछि आम्दानीको वैकल्पिक स्रोत पनि यही ल्यापटप भएको बुझेकोले पनि उनले गुनासोको भारी मन भित्रै गुम्स्याउन थालेकी छिन् । मसँग खन्याउन नपाएको गुनासो अशोक भाइसँग पनि पोख्दी हुन् । मैले आँखा र कान बन्द गरेर सम्पादनकै काम सक्नुपरेकोले मलाई पनि हाइसुक्ख भएको छ ।
आज बेलुका साढे ७ बजेदेखि रुकुमेली वाङमय अधिष्ठानको शुभकामना आदान प्रदान तथा जन्मजयन्ती मनाउने कार्यक्रमको दशौँ भर्चुअल शृङ्खला रूपमा सम्पन्न गर्नु छ । आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको साथै यो हप्ताभरि जन्मदिन परेका विश्व साहित्यकारहरु बर्टान्ड रसेल (मे-१८), गिरिश कर्नाड (मे-१९), हनर डि बाल्जाक (मे-२०) र प्लेटो (मे-२१) को परिचय योगदानको परिचर्चा गर्नुको साथै यो हप्ता जन्मदिन परेका फेसबुक मित्रहरू उपस्थित भइदिनुभयो भने उहाँको जन्मदिन पनि मनाउनेछौँ । साहित्यकार/विचारकको परिचर्चाको जिम्मेवारीमा युगकवि सिद्धिचरण श्रेष्ठकोः भूपेन्द्रा मल्लले बर्टान्ड रसेलकोः चन्द्रा ओलीले गिरिश कर्नाडकोः मीनराज ओलीले हनर डि बाल्जाककोः केशव शर्माले र प्लेटोको मनलाल ओलीले परिचर्चा गर्ने कार्यक्रम रहेको छ । भर्चुअल कार्यक्रम गुगल मिटबाट सम्पन्न भइरहेको छ । गुगल मिटमा जति पनि उपस्थित हुनसक्ने टाइम लिमिट नहुने र होस्टले एडमिट गरेर अफ भए पनि मिटिङ चलिरहने सुविधा हुँदा रहेछन् ।
यस पटकको कार्यक्रममा चन्द्राले दिउँसै आफ्नो कार्य व्यस्तताले भ्याउँदिनँ भनिसकेकी छिन् । भूपेन्द्रा म्यामले पनि आफ्नो जिम्माको काम तपाइँ नै गरिदिनुहोला भन्ने मेसेज पठाउनुभएको रहेछ । बेलुका मात्र थाहा पाएँ ।
आफ्नो सम्पादनको काम नै प्राथमिकतामा परेकोले छिट्टै सुरुवात गरेर छिट्टै सक्ने विचार थियो तर चन्द्राको र भूपेन्द्रा म्यामलाई दिइएको जिम्मेवारी पनि आफैले बोक्नुपर्यो । तसर्थ एकदमै संक्षिप्तमा सिद्धिचरण र बर्टान्ड रसेलको जीवनी खोजखाज गरी तयार पारेँ ।
कार्यक्रम समयमै सुरु भयो । भूपेन्द्रा म्याडम समयमै आउनुभयो । मनलाल मीनराज र केशव पनि समयमै आउनुभयो । कार्यक्रमको अन्त्यतिर ओम केसी पनि आउनुभयो । मैले सञ्चालनको क्रममा छोटकरीमा सिद्धिचरण श्रेष्ठ र बर्टान्ड रसेलको जीवनी सुनाएँ । मीनराजले कर्नाड गिरिशको जीवनी र योगदान मिहिन रूपले प्रकाश पार्नुभयो । केशव भाइले पनि हनर डि बाल्जाकको जीवनी सुनाएर उनको प्रेम प्रसङ्गमा भने गहिराइमा लगेर कार्यक्रम अविस्मरणीय बनाइदिनुभयो । प्लेटोका जीवनीको अन्तरकुन्तर खोतल्नमा मनलाल पनि पछि पर्नुभएन । मैले मात्र झारा टारेछु भनी पछुतो लाग्यो ।
२०८३ जेठ १० गते आइतवार
दुवाकोट भक्तपुर
हिजो दिनभर चन्द्राकै खेस्रा पाठ सम्पादनमा दिन बित्यो । बिहानै उठेर नरसिँहले पठाएको खेस्रा पाठ हेर्न थालेँ । नरसिँहका पाठहरू पनि अत्यन्त छोटा छन् । चन्द्रा नरसिँह र टीकारामले प्रस्तुत गरेका पाठका अभ्यासहरू अझै झारा टार्ने खालका मात्र हुन्छन् । मेरो भने पाठको सम्पादनको भूमिका मात्र नभई अभ्यासहरू पनि थपथाप र उपयुक्त बनाउनुपर्ने जिम्मेवारी पनि छ । भोलि पुस्तक प्रकाशित भएपछि अरूको भन्दा बढी दोषको भागीदार बन्ने पनि आफैले होला भन्ने डर पनि छ मलाई । कक्षा ४ को पाठहरूमा म पनि सक्छु, यदि म भइदिएको भए, यसो भए कसो हुन्थ्यो ? भन्ने कौतुहलमूलक प्रश्नहरू बनाएर हरेक पाठमा थपी पठाएँ । कक्षा ५ मा भने सिर्जनाको चौतारी वायुपङ्खी मन र भोलिको त्रिवेणी शीर्षक दिएर विद्यार्थीहरूलाई कौतुहल जगाउने खालका जिज्ञासाहरू थपिदिएको छु ।
सिर्जनाको चौतारीमा विद्यार्थीलाई मौलिक सिर्जना गर्न उत्प्रेरित गर्ने प्रयास गरेको छु । वायुपङ्खी मनमा विगत र आजको अवस्थालाई तुलना गरेर यदि यो परिस्थितिको सट्टा अर्को परिस्थिति भएको भए के हुन्थ्यो भन्ने खालका जिज्ञासाहरू छन् । भोलिको त्रिवेणीमा आजभन्दा १० वर्षपछाडि यदि गर्न सक्ने हो भने त्रिवेणीको विकास र समाज कहाँ पुग्नेछ भन्ने जिज्ञासाहरू राखिएको छ ।
बेलुकातिर देवकुमारीले मिल्छ भने रुकुम पुगेर आऊँ न त भनी आफै प्रस्ताव राखिन् । मलाई निकै खुसी लाग्यो । तिमीलाई जाने मन छ भने जाऊँ न त भनेर म पनि तयार भइहालेँ । परीक्षितले पनि जान मन भए जानुहोस् भन्यो । मैले पूर्वी रुकुम हुँदै माथिल्लो बाटो जाऊँ भनेँ तर देवकुमारीले आमासँग पनि भेट हुन्छ एकैदिन लामो यात्रा पनि पर्दैन तसर्थ दाङ भएरै जाऊँ भनिन् । मैले टिकट सोधपुछ गरेर अनलाइन बुक गरेँ । देवकुमारीले भोलि रुकुम जानको लागि कपडालत्त धुने झोला खोजेर आवश्यक कुराहरू राख्ने काम गर्न थालिन् । म भने सम्पादनकै काममा लागिरहेँ ।
रुकुमतिर जाने उत्सुकता हो या किन हो देवकुमारी रातभरि सुतिनन् । उनले उठबसर गरिरहेपछि मलाई निद्रा लाग्ने कुरै भएन ।
२०८३ जेठ ११ गते सोमवार
दुवाकोट भक्तपुर
आधाराति नै उठेर रुकुम जाने तयारी गरियो । उठ्नु पनि के भन्नु राम्रोसँग सुतेकै थिएनौँ । सम्पादनको कामले नभ्याएकोले कौशीका फूलका बेर्नाहरू र तरकारीका बेर्ना ओइलाइसकेका थिए । हामी रुकुम गएपछि झन् पानी हाल्ने कोही हुँदैन भनेर राति साढे दुई बजेदेखि नै मैले पानी हाल्न थालेँ । आफ्नो झोला तयार पारेको थिइनँ । आवश्यक लुगालत्त झोलामा खाँदखुद पारेँ । देवकुमारीले त हिजै तयार गरिसकेकी थिइन् । बान्ता नहुने औषधि ग्यास्टिकको औषधि र दुखाइ कम गर्ने औषधि उनले सम्झी सम्झी खाइन् ।
ट्याक्सी बोलाएको भए सात आठ सय लाग्थ्यो । त्यति पैसाले त बाटामा खाजा खान सकिन्छ भनी ट्याक्सी बोलाएनौँ । परीक्षित र अशोक भाइसँग बिदाबारी भई साढे ४ बजे घरबाट रुकुम जाने पैदल यात्रा सुरु भयो । सल्लाघारी पुगेर बस कुरुन्जेल ५ नै बज्यो । धन्न कलङ्कीकै गाडी आइपुग्यो । हामी कलङ्कीमा ६ बजे पुग्यौँ । अस्ति त बसले डेढ घण्टाभन्दा बढी लगाइदिएको थियो ।
बुक गरेको साढे ६ बजे आइपुग्यो । अस्ति जुन गाडीमा आएको थिएँ यो उही हरियो रङको इभि हाइस थियो । देवकुमारीलाई बाहिरको रङ र भित्रको रङको परिचय गराएँ र अस्ति लमहीमा गाडी हराएको कुरा सम्झाएँ । देवकुमारी मरीमरी हाँसिन् । नैकाप नपुग्दै गाडीको ढोका फुस्किएकोले मर्मत गर्न थाल्यो । मर्मत सकेर नागढुङ्गा पुग्दा साढे ७ बजिसकेको थियो । बान्ता रोक्ने र दुखाइ कम गर्ने औषधिले देवकुमारीलाई निद्रामा पारिदियो । मेरो कुम र छातीको आडमा यात्रा सुरु भयो । उनको जिउ बोक्न निकै भारी त भएको थियो तर क्यार्नु । आफ्नै श्रीमती । यसरी बोक्न पाउनु त भाग्य हो भनी चित्त बुझाएँ ।
मलेखुमा खाजा खुवाउने र चार्ज गर्ने काम गर्यो र फेरि यात्रा सुरु भयो । अस्तिको यात्रामा बाटोमा राम्रै खाजा खाना पाइएको थियो र बाटोको अवस्था सुध्रिएको झैँ लागेको थियो । तर आज चना अर्डर गरेका थियौँ । कुहेको बासी चना रहेछ । मुखमा लिँदा ह्वास्सै गन्हायो ।
अरू चना खानेहरूले के गर्दै छन् भनी हेरेँ सबैले खेलाई खेलाई खाइरहेका थिए । चना फाल्ने हो भने पनि पैसा परिहाल्छ र पेटले नफाल् पनि भनिरहेको छ । गन्हायो भन्ने हो भने होटलेले साजी नै हो भनेर प्रमाणको थुप्रो भिडाइहाल्छ के गर्ने । गन्हायो भनेर फालेर पैँसा तिरे त इज्जत नै बच्थ्यो तर पेटले यो उपाय ठिक मान्दैन । अरु यात्रीहरूलाई पनि यही समस्या परेको थियो होला । उनीहरूले केही नभन्ने आफू मात्र किन भद्र ठहरिन खोज्दा मूर्ख बन्ने भनेर सकीनसकी कपाकप खाइदिएँ ।
सुरुमा काठमाडौँ आउँदा त्रिशुलीको किनारमा भिरैभिर र जङ्गलै जङ्गल मात्र देखिन्थ्यो । पछि बजारै बजार मात्र देखिन थाल्यो । आज झ्यालतिर नबसेकोले हो या मन नै उदास भएर हो भिरैभिर बाहेक अरुथोक केही देखिनँ ।
गाडीको स्पिड बढी नै थियो । ११ बजे नै नारायणघाट आइपुग्यौँ । गैँडाकोटमा खाना खुवायो र गाडी रिचार्जमा छोडिदियो । गैँडाकोटमा जेठको गर्मी चर्चा गर्नै नपर्ने थियो । झन् प्रचण्ड गर्मीमा अड्याएको गाडीमा देवकुमारी भने निद्रामै थिइन् । बल्लतल्ल निद्रामा बिउँझाएर उनलाई खाना खुवाइयो । यहाँको होटेल अत्याधुनिक भए पनि खाना भने चिल्लो पिरो र नुनको फाँक मात्र भएकोले किली किली खानुपर्यो । त्यहाँबाट हिँड्दा १२ बजिसकेको थियो । देवकुमारीले आफ्नो जिउको जम्मै भारी मलाई नै बोकाएर आफू फेरि घुर्न थालिहालिन् । गर्मी उखर्माउलो नै थियो र गाडीमा एसी अन गरे पनि वातावरणको तातोलाई जित्न असफल भइरहेको थियो ।
बाटोको काम सबैजसो पूरा भइसकेको थियो र पूर्णतया पिच भइसकेको थियो । बुटलव पुग्दा २ मात्र बज्यो । खुसी लाग्यो बर्खाले र लोड गाडीहरूले बाटो बिगारेनन् भने अबका केही वर्षसम्म हाम्रा छोराछोरीले बुटवलदेखि नारायणघाटसम्मको यात्रा सुबिस्तापूर्वक गर्न पाउने भए ।
बुटवलमा फेरि गाडी रिचार्ज गर्नुपर्ने भयो । मावली खाजाघरको अगाडि गाडी रिचार्जमा छोडेर चालकहरू हाङंताबाङ्ता लागे । उनीहरूले यहाँ २ घण्टा लाग्ने भएकोले कतै बसेर आराम गर्न यात्रीलाई सुझाइसकेका थिए । यात्रीहरू पनि तितरबितर भए । हाम्रो गाडीका यात्री नै कति थियौँ र आधा गाडी खाली थियो । अघिल्ला सिटमा आठ नौजना मात्र थियौँ ।
देवुकुमारी अझै बिउँझिएकी थिइनन् । उनको टाउकोलाई सिटमा अड्याइदिएर आफ्नो जिउ देवकुमारीको बाहुपासबाट फुत्क्याएँ । बाहिर निस्क्यौँ भन्दा उनले मानिनन् । गाडी चार्ज गरेको आसपासमा प्रचण्ड गर्मी नै थियो र उसले निरीह प्राणीहरूमा आफ्नो करामत देखाइरहेको थियो । आसपासका मानिसहरू पसिनाले निथ्रुक्क थिए र छिटोछिटो सास फेरिरहेका थिए ।
म मौवा होटेलको चिया खोज्दै भित्रै भित्र पसेँ । निकै भित्र रहेछ खाजा खाने ठाउँ । अरूले मही पिउँदै गरेको देखेर मैले पनि मही मागेँ । होटेलवाला र ग्राहकहरू मेरो माग देखेर हाँसे । होटलेले मही होइन लस्सी हो भनेपछि बल्ल म बुटवलमै छु भनी आफूलाई सम्झाएँ । गुलियो मही खाएर बाहिर निस्कँदा देवकुमारी उठिसकेकी रहिछन् । उनलाई पनि मही खुवाउन फेरि भित्र पसेँ । उनलाई पनि गुलियो मही मिठै लाग्यो । पानी थपी थपी खाइन् ।
बुटवलबाट हिँड्दा ४ बजिसकेको थियो । बुटवलदेखि चन्द्रौटासम्म बाटो बिस्तारको क्रममा रहेकोले धुलैधुलो थियो र उखडखाबड बाटोले गाडीको गति नियन्त्रण गरिदिएको थियो । लमहीमा आइपुग्दा रात परिसकेको थियो । लमही र घोराही बिचको खोलामा भर्खरै गाडी दुर्घटना परेको रहेछ । कल्याङमल्याङ थियो ।
घोराही पुगेपछि देवकुमारीले अन्जुकै कोठातिर बसौँ भन्न थालिन् । यता बसे त भोलि फेरि सासूआमालाई भेट्दा अरू समय जान्छ भनी मैले मानिन । मन दिदी पनि दाङमै हुनुहुन्थ्यो तर उहाँ बिरामी परेकोले र घरमा अरू कोही नभएकोले दुक्ख दिन उचित ठानिनँ । देवकुमारीले भने काठमाडौँबाट निराकै घरमा बस्ने भनी यात्रा सुरु गरे पनि खै किन हो अहिले भने निराको घरमा जान मानिरहेकी थिइनन् ।
तुल्सिपुर ओर्लिँदा सवा नौ बजिसकेको थियो । निरालाई खबर गरेकोले उनी बाइक ल्याएर पृथ्बी चोकमा आइसकेकी थिइन् । पालैपालो घरसम्म सारिन् । खाना खाएर सुत्दा राति ११ बजिसकेको थियो ।
२०८३ जेठ १२ गते मङ्गलवार
सोलाबाङ रुकुम
आज बिहानै उठेर काठमाडौँबाट ल्याएका मेरो नवीनतम कविता सङ्ग्रह स्तब्ध शब्दहरूका १५ थान तुल्सिपुरस्थित न्यू सिस्ने बुक सेन्टरका प्रोप्राइटर मानबहादुर ओलीलाई छोडिदिएँ । यस किताब पसलमा मेरा यसभन्दा पहिलेका कृतिहरू पनि विक्रीको लागि छोड्ने गरेको थिएँ । मानबहादुरजीले विक्री भएका पुस्तकहरूको इमान्दारितापूर्वक हिसाब पनि गरिरहनुभएकोले र दाङका पाठकहरू समक्ष आफ्नो कृति पुगोस् भन्ने हेतु हो मेरो ।
आज रुकुम जाने कार्यक्रम भएको निराको घरमा आएर खानपिन खाई तयारी भएर बस्यौँ । रुकुमकै हरिशङ्कर रावलको हाइसमा जाने भनेर बिहानै कुरा भइसकेको छ । उनले घोराहीबाट ९ बजे आइपुग्ने बताएका छन् । सासूआमाले भने आज १ दिन दाङमै बस भनेर छोरीलाई फकाइरहनुभएको छ । उहाँलाई रुकुम जान त मन छ तर सबै कसको घरमा बस्ने भन्ने समस्या उस्तै भएकोले जान हिम्मत गर्नसक्नुभएको छैन ।
९ बजेपछि हाइसलाई फोन गर्दा बुटवलबाट मान्छेहरू आइरहेकोले १ घण्टा पछि आइपुग्ने बताउँछन् । ९ बजेसम्म गाडी आइनपुगेपछि फेरि फोन गर्छु फेरि १ घण्टा सार्छन् । १० बजेपछि सामान्यतया गाडी रुकुम जाने डे गाडी पाइँदैनन् । कि ६ बजेसम्म पर्खेर नाइट गाडीमा जानुपर्छ । नाइट गाडीमा जान देवकुमारीले मान्दिनन् । बिनाकामै अर्को एक दिन तुल्सीपुरमै बस्नुपर्ने भयो भनेर मन खिन्न भएको छ । निराले यसअघि पनि तुल्सिपुर जाने गाडीले यात्री पुगेपछि जाने नत्र यात्री पर्खाएर बारम्बार धोखा दिएकोले जाने गाडीलाई कन्फर्म गर्नुहोला भनी बिहानै सुझाव दिएर स्कुल गएकी थिइन् ।
१२ बजेपछि हरिशङ्करले नारायणपुर आइपुगेकोले तयार भएर बस्नुहोला भन्छन्। गाडी आउँदै छ भनेपछि मन प्रफुल्लित हुने नै भयो। सासूआमासँग बिदाबारी भएर बाहिर निस्कन्छौँ । गाडी चढ्ने लोकेसन दिँदा चालकले घरमै आउने आश्वासन दिन्छन् । नभन्दै साढे १२ बजेतिर हाइस गाडी हामीले डेरा जमाएको निराको घरको गेटमै आइपुग्छ । हाम्रोलागि अघिल्लो सिट नै रोकेर राखेका रहेछन् । सिट आरामदायी नै छ । यात्रीहरू पनि धेरै छैनन् । भान्जी पुष्पा खडका गणेश सन्यासीका दम्पति र अरू चार पाँच जना मात्र छन् । गाडीवाला बाग्दुले बाजेका जुवाइँ हरिशङ्कर रावलले कन्डक्टरको काम गरेका छन् । हिमाल साइँलाबाकी छोरी माइलीको छोरा अर्थात् मेरो भान्जा नाता पर्नेले गाडी चलाउने काम गरिरहेका छन् ।
यस पटकको यात्रामा देवकुमारीले काठमाडौँबाट दाङसम्म आउँदा वान्ता गरेकी थिइनन् । यो विरलै हुने अनुभव हो । दाङबाट रुकुम जाँदा उनले औषधि खाएकी थिइनन् । मलाई डर थियो अवश्य यिनले बान्ता गर्नेछिन् । यतातिर सद्दे बाँकी रहेको कतै कतै मात्र देख्न पाइन्छ । बाटो उबडखाबड भएकोले र मोडैमोड पर्नेभएकोले कहिल्यै बान्ता नहुनेलाई पनि बान्ता हुन सक्छ । झन् देवकुमारी त गाडी देख्यो कि बान्ता भइहाल्ने ।
तर उनलाई कपुरकोट पुग्दासम्म पनि बान्ताको लक्षण देखिएन । अगाडि बसेकी पुष्पासँग गफमा भुलेर पनि हुनसक्छ । कपुरकोटमा काफल किनेर खायौँ । शीतलपाटीमा गाडी रिचार्ज गर्दै गर्दा पुरानै केसी होटेलमा पुगेर पुरी तरकारी र समोसा छोइला खायौँ ।
बाङ्गे लाँखुरीमा लोकल यात्रीहरू चढेपछि गाडी भरियो । ती यात्रीहरू सीमाखोलीमा झरे र फेरि गाडी खाली भयो । जलेखर्कको उकालोमा केही बच्चाहरूले पानी भरेका गाग्रीहरू बोकेको देखेर देवकुमारी अनौठो मानेर हाँसिन् । एकजना लोकल यात्रीले भने कि जलेखर्कमा अहिलेसम्म खानेपानीको धारा आइपुगेको छैन । ल्याउने प्रयास भइरहेको छ ।
खौलामा एकजना वृद्ध यात्रीले गाडी रोक्न प्रयास गर्दै थिए । अलिक गतिमा भएको गाडीले देखेन वा चढाउन आवश्यक ठानेन । झुल्नेटामा पनि गाडी रोकिएन । खाराको डाँडाबाट सिम्रुतुतिर झर्न थालेपछि हामीहरूले चालक भान्जालाई प्रशंसा गर्यौँ । यात्रामा कतै पनि कुनै समस्या आएन । केही झन्झट बेहोर्नुपरेन । यात्री खोज्नको लागि न त गाडी रोकेको रोकेई गरे, न छिटो गन्तव्यमा पुग्ने उद्देश्यले गाडीको गति बढाए । अपोजिटतिर बाट आइरहेका गाडीलाई वरैबाट हर्न दिनेभएकोले साँगुरो बाटोमा ठोक्किएर दुर्घटना हुने कुरै भएन बरु चौरिलो ठाउँमा पहिल्यै गाडी रोकिने भएकोले गाडी ब्याक पनि गर्नुपरेन । हामी सुविस्तापूर्वक बैरागीठाँटी पुग्यौँ । मैले हरिशङ्करलाई भाडा कति हो भनेर सोधेँ उनले मिलाएर दिनुहोस् न भनेर भने । भाडाको लागि किचकिच पनि गर्नुपरेन । उनले हामीलाई विश्वास गरेपछि उनलाई मर्का पर्ने गरेर भाडा दिनु पनि भएन । आफैले रिजर्भ गरेको गाडी जस्तो भएको थियो हाम्रो लागि । ९०० को दरले भाडा दिएर सबैसँग बिदाबारी भई हामी ढिकमनि ओर्लियौँ । देवकुमारीले भनिन् म अगाडि लागेको यात्राको साइत सधैँ सप्रिन्छ ।
कतै पनि नरोकिएर करिब ५ घण्टामा हामी तुल्सिपुरबाट आफ्नो गन्तव्यमा आइपुगेका थियौँ । ।
१ महिनापहिले देखि हातखुट्टा बाँधेर मुखमै ताल्चा मारिएको घरले छिटो मुख खोलिदेऊ । मलाई बोल्न देऊ । हातले स्वागत गर्न देऊ भनेजस्तै लाग्यो । हत्तपत्त ढोका खोलिदियौँ । घरले मुक्तिको लामो सास फेरेझैँ लाग्यो । हामीले छोडिदिएपछि मुसाको अधिकार जम्छ यस घरमा । रजाइँ गरे पनि अति भने गरेको रहेनछ यसपालि ।
बाहिर मकैका बोटहरू भर्खरै तातेताते गर्न लागेका जस्ता भएका थिए । आँगनमा फर्सीको लहराले यता जाऊँ कि उता जाऊँ भनी दोधारमा परेको देखियो । आँगनमा लगाइएका फूलका बेर्नाहरू हलक्क बढेका रहेछन् । हावाहुरीले आँगन सफा गरिदिएको रहेछ । वरिपरि उम्रेका झारहरू झटपट उखेलेर फाल्न थालेँ । देवकुमारीले बारीमा फन्का मारी मारी हेरिन् ।
जेठानहरुले खाना खान बोलाउँदै हुनुहुन्थ्यो तर भर्खरै खोलेको घरको मुखमा फेरि ताल्चा मार्न मन लागेन । चामल पिठो दाल घरमै थियो । करेसाबारीभरि लट्टेको साग बुच्का लागेको थियो । काँचै टोकौँजस्ता फर्सीका कलिला मुन्टाहरू बारीभरि थिए । खाना बनाउने झन्झट मानेनौँ ।
धन दिदी पनि बुहारीसँग झगडा परेर मन दिदीकै घरमा बसिरहनुभएको रहेछ । हामीलाई आएको देखेर खुसी हुँदै हाम्रो घरमा आउनुभयो ।
देवकुमारी यता नआएको त २ महिना भइसकेको थियो । २ महिनापछिको अर्गानिक खानाको स्वाद बेहद मिठो लाग्यो । थकानलाई छिट्टै विश्रान्ति दियौँ ।
२०८३ जेठ १३ गते बुधवार
सोलाबाङ रुकुम
आज दिनभर कक्षा ५ को हाम्रो त्रिवेणी पाठ्यपुस्तक सम्पादन र पाठहरू निर्माणमै व्यस्त भइयो । बेलुकातिर मकै गोड्ने कामको सुरुवात भयो । बेलुका साढे ७ बजेदेखि रुकुमेली वाङमय अधिष्ठानको शुभकामना आदा प्रदान र जन्मजयन्ती मनाउने कार्यक्रमको बाह्रौँ शृङ्खलामा कवि कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाउने कार्यक्रम राखिएकोले गुगल मिट अन गर्छु । प्रमुख अतिथि इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि घिमिरे र प्रज्ञासभा सदस्य खगेश्वर भण्डारी र दुईचार जना जोडिएपछि बत्तीको केन्द्रीय लाइन र स्थानीय लाइन दुबै गएकोले सम्पर्क विच्छेद भइन्छ । बत्ती आएपछि कार्यक्रम ढिला गरी साढे ८ बजे सुरु हुन्छ । यो कार्यक्रमको प्रारम्भ भएदेखि मैले सञ्चालन गरिरहेकोमा आज बत्तीको समस्या भएकोले आफ्नो जिम्मेवारी ओमबहादुर खत्रीलाई दिन्छु । फेरि लाइन झ्याप्प जान्छ । गुगल मिटमा होस्टले एडमिट गरिसकेपछि कार्यक्रम सुचारू नै हुने अप्सन राम्रो रहेछ । फोनबाट कुरा बुझ्दा कार्यक्रम भइरहेको साथीहरूले बताउनुहुन्छ ।
होस्ट बनेको म आफैले नेटको समस्या भोग्नुपरेकोले आज उपस्थित हुन्छौँ भनेका धेरै साथीहरूले जोडिन खोज्नुभयो होला तर मैले एडमिट गर्न नसक्दा उहाँहरू सहभागिताबाट वञ्चित हुनुपर्यो त सभाध्यक्ष भूपेन्द्रा मल्ल प्रमुख अतिथि हिरामणि दुखी विशेष अतिथि खगेश्वर भण्डारी कार्यक्रम सञ्चालक ओमबहादुर खत्रीका अतिरिक्त मनलाल ओली मुकुन्द प्रसाद शर्मा र मीनराज ओली समेत कार्यक्रममा जोडिनुभयो ।
इच्छुकको जन्मदिन कार्त्तिक ३ गते भए पनि उहाँलाई मारिएको सप्ताहलाई स्मृति दिवसको रूपमा मनाउँदै आइएको रहेछ ।
कार्यक्रममा इच्छुक प्रतिष्ठानबाट प्रमुख अतिथि र विशेष अतिथिका रूपमा पाल्नुभएका साथीहरूले कार्यक्रमलाई राजनीतिक हिसाबले व्याख्या विश्लेषण गर्नुभयो होला। वर्तमान सरकारको चर्को आलोचना गर्नुभयो होला । नेट आएपछि जोडिँदा प्रमुख अतिथिको मन्तव्य समाप्त भइसकेको थियो । सहभागीको तर्फबाटको जिज्ञासामा प्रमुख अतिथिले भन्नुभएको थियो कि जसले इच्छुकलाई कठोर यातना दिएर तड्पाई तड्पाई मार्यो उही माओवादी सरकारमा बढुवा भयो । अहिले त सेवा निवृत्त भएर सरकारको दलको सांसद नै बनेको छ । कारवाही गरिनुपर्ने व्यक्ति पुरस्कृत हुने बिडम्बनापूर्ण स्थिति छ नेपालमा ।
अध्यक्षको मन्तव्यमा भूपेन्द्रा मल्लले रुकुमले वाङमय अधिष्ठानले इच्छुकलाई साहित्यकारको रूपमा मात्र चिन्छ । उहाँ महान साहित्यकार हुनुहुन्थ्यो । उहाँ मारिनुहुँदैनथ्यो । नमारिएको भए नेपाली साहित्य भण्डारमा उहाँको अमूल्य योगदान थपिन्थ्यो । मारिकएकोमा हामीलाई खेद र पश्चात्ताप छ । तथापि हाम्रो यो संस्था दर्ता हुँदा नै राजनीतिक पूर्वाग्रहबाट अलग रहने घोषणा गरेको हुँदा हामी राजनीतिक हिसाबले उहाँको योगदानलाई कित्ताकाट गर्न सक्दैनौँ ।
कार्यक्रम सकिँदा करिब १० बजिसकेको थियो । हाम्रो यो कार्यक्रम नेटको समस्याको बाबजुद पनि पूर्ण रूफमा सफल भएको थियो ।
२०८३ जेठ १४ गते विहीवार
सोलाबाङ रुकुम
बिहानै उठेर मकै गोड्ने काममा लागियो । बत्ती आएपछि कक्षा ५ को हाम्रो त्रिवेणी पाठ्यपुस्तक सम्पादन र पाठहरू निर्माणमै जुटेँ । देवकुमारीले मकै गोडिरहिन् । मकैमा बोटेकीराका लार्भाले स्वाहा पारेकोले दिउँसोतिर होम सम्धीलाई विषादि ल्याउन लगाइयो । स्प्रे मेसिनबाट उहाँले नै छरिदिनुभयो । विषादि छरेकोले मकै गोड्ने काम स्थगित भयो । बेलुकातिर हावाहुरीसहितको असिनापानी पर्यो । विषादि बगायो ।
आएपछि कक्षा ५ को हाम्रो त्रिवेणी पाठ्यपुस्तक सम्पादन र पाठहरू निर्माणमै मोटामोटी काम सकेर मनलाल ओली र मानबहादुर विश्वकर्मालाई पठाइदिएँ । १४ गतेभित्र पठाउने शर्त समयमै पूरा गर्न सकेकोमा आत्मसन्तुष्टि पनि मिल्यो । भोलि १५ गतेबाट सुरु हुने मुसीकोट मल्टिडिसिप्लिनरी कन्फेरेन्सको लागि ठाडी भाकामा कार्यपत्र पावरप्वाइन्टबाट निर्माणको काम सकेँ । सकभर भर्चुअल विधिबाटै कार्यपत्र प्रस्तुत गर्छु भनेर डम्बरलाई आश्वासन दिएको छु ।
२०८३ जेठ १५ गते शुक्रवार
सोलाबाङ रुकुम
हिजो बेलुकाको मुसलधारे वर्षा र बारीमा विषादि पनि हालेकोले हाम्रो मकै गोड्ने काम स्थगित भएको थियो । मकै गोड्दा भार परेर हो या गिट्टी कुटेझैँ सम्पादनको काममा निरन्तर ल्यापटपका किबोर्ड कुटेर हो कुइना र नाडीमा असह्य दुखाइ बढिरहेकोले काठमाडौँबाट ल्याएको जाइफल र एन्टी इन्फ्लामेसन जेलले कुइना र नाडीमा मालिस गरेँ तर दुखाइ बिसको उन्नाइस भएन ।
आँगनभन्दा तल्लो पाटोमा पहिले आँगन बनाउँदा फालिएका ढुङ्गाहरू असरल्ल परेर झारको जङ्गलले ढाकेको थियो । यसलाई सफा गर्नु थियो । एक्लै गर्न सम्भव नदेखेकोले शालिग्राम ओली भाइलाई बोलाएँ । दुईभाइ लागेर केही ढुङ्गाले बारीको ढिक लगायौँ केही ढुङ्गा घरपछाडिको खाल्डामा राख्यौँ ।
दिउँसको अर्नि खाएपछि शालिकरामले मकै गोड्न थाले । नाडी दुख्दा दुख्दै पनि म भने सम्पादनको काममा लागेँ ।
कमल ढकाल सरले काठमाडौँबाट केशवप्रसाद न्यौपाने र हरिप्रसाद पाण्डेको काम छिटो सकिदिन अत्याइरहनुभएको थियो । अतः पहिले केशवप्रसाद न्यौपानेकै पुस्तक सक्ने उद्देश्यले पुस्तकको पुनर्वर्गीकरण लेखकीय र केशवप्रसादको परिचयको काममा लागेँ ।
आज बेलुका राप्ती साहित्य परिषद्को बाह्रौँ रचना वाचन तथा समीक्षाको भर्चुअल कार्यक्रममा जोडिनुपर्ने भएकोले सो समय पहिले नै जसरी पनि केशव न्यौपानेको काम सक्नुपर्ने थियो । म आफ्नै ध्याउन्नमा हुँदा देवकुमारी घरअगाडिको नहरमा चिप्लिएर लडिछिन् । पिठ्युँ नहरको डिलमा बज्रिएकोले उनी सहयोग माग्दै चिच्याइछिन् उठ्न नसकेर ढली ढली मलाई र कमला बुहारीलाई बोलाइछन् ।
म अति व्यस्ततामा डुबेकोले थाहै पाइनँ । पछि रुँदै खोच्याउँदै भित्र पसेपछि मात्र होस खुले । उनलाई तेल मालिस गरिदिएँ । आइरन तताएर पिठ्युँ सेकिदिएँ । अनि हत्तपत्त केशव न्यौपानेको काम लटरपटर सकेर जानकारीको लागि कमल ढकाल विपुल न्यौपाने र सौरभ सापकोटालाई डमी बनाउको लागि मेल गरिदिएँ ।
यस्तैमा साढे ७ पनि बजिहाल्यो । तर बत्ती झ्याप्प आउने र जाने गरिरहेकोले कार्यक्रम सुरु हुने समस्या भइरह्यो । मेरो बत्ती आउनेबित्तिकै सहभागिताको पर्खाइमा रहेका साथीहरूलाई एडमिट गरेँ । मनलाल ओलीको अध्यक्षतामा र भरतकुमार शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रमको सञ्चालन मैले नै गर्नुपर्ने भयो । किनकि यसअघिका ओमबहादुर खत्री सर आजका रचना वाचक हुनुहुन्थ्यो । समीक्षक कमप्रसाद देवकोटा हुनुहुन्थ्यो । केशव शर्मा र मीनराज ओलीको अतिरिक्त सहभागिता रहेको थियो ।
बत्ती आउँदै जाँदै गर्दा नेट पनि बारम्बार अवरूद्ध भयो । देवकुमारीको ऐया ऐयालाई पनि परवाह नगरी कार्यक्रमले भने निरन्तरता पायो । गुगल मिटको विशेषता नै कार्यक्रम फ्राइन्ड्ली रहेछ । ओम खत्रीले लोकतन्त्र वर्तमान समाज रुकुमेली उखानहरू निर्वाचनको महत्त्वका कविताको साथै विभिन्न लोकगीतहरु पनि प्रस्तुत गर्नुभयो । कवितात्मकता नभए पनि सबै कुरा समेटिएकोले रचना वाचन निकै आकर्षक बन्यो । कमप्रसाद देवकोटाले रचनाहरूको रौँचिरा विश्लेषण गर्नुभयो । प्रमुख अतिथिले सहभागिता अझै बढाउनुपर्ने कुरा राख्नुभयो ।
कार्यक्रम सकिएपछि म फेरि देवकुमारीलाई तेल मालिस गर्न र लडेर सुन्निएको ठाउँमा आइरनले तातो दिन थालेँ । सुत्दा निकै अबेर भइसकेको थियो ।
२०८३ जेठ १६ गते शनिवार
सोलाबाङ रुकुम
हिजो बेलुकादेखि नै मुसीकोट क्याम्पसबाट आयोजित बहुविषय राष्ट्रिय गोष्ठीमा सहभागी भएका साथीहरूले आफ्नो प्रस्तुति र प्रमाणपत्र बुझ्दै गरेका फोटोहरू राखेर मन लोभ्याइरहेका थिए । मेरो पनि रुकुमेली ठाडीभाकाको कार्यपत्र थियो तर खलङ्गा जान जाँगर नचलेकोले भर्चुअल माध्यमबाट जोडिने निर्णय गरेको थिएँ ।
हिजो जुममा जोडिन खोजे तापनि भर्चुअल कार्यपत्र प्रस्तुतिको कार्यक्रम सुरु नभएको र सहभागिता पनि दुई तीनजना मात्र देखेकोले म निराश भइरहेको थिएँ । बेलुकीपखको बत्तीको समस्याले गर्दा मैले भर्चुअलबाट जोडिने गलत निर्णय गरेछु भनी पछुतो लागिसकेको थियो ।
अतः आज बिहान फिजिकल रूपमै कार्यपत्र प्रस्तुत गर्नको लागि तयारी गरेँ । देवकुमारीको दुखाइ केही कम भएछ । मैले एक्सरे पनि गरौँला र मेरो काम पनि सिध्याउँला भनेँ तर उनले खलङ्गा जान मानिनन् । मलाई जान अनुमति दिइन् । एक काज दो पन्थ भनेझैँ मैले मेरो नवीनतम् कृति स्तब्ध शब्दहरूका केही प्रति पनि झोलामा राखेँ र चिया समेत नपिई अटो चढेर क्याम्पस पुगेँ ।
मेरो नाम फिजिकल प्रस्तुतिमै राखिएको रहेछ । कार्यक्रमको व्यवस्थापन गरिरहेका क्याम्पस प्रमुख डम्बर खडका बुद्धिप्रसाद गौतम र मुकुन्दप्रसाद शर्माले हिजै आउनुपर्ने थियो भन्दा म झसङ्ग भएँ । भर्चुअल रुपमा कार्यपत्र प्रस्तुत गर्न पाइने होइन कि भनी डराएँ । तर उहाँहरूले मेरो नाम भर्चुअलमा सारिदिनुभयो । पालो आउन झन्डै १२ बज्यो । बिहान ८ बजेदेखि १२ बजेसम्म अरूकै कार्यपत्र सुनेर बसेँ । काठमाडौँ नुवाकोट गोरखा सर्लाही बुटवल दैलेखआदि ठाउँका प्रस्तोताका अधिकांश कार्यपत्रहरू अङ्ग्रेजी भाषामा प्रस्तुत भएका थिए । भर्चुअल मिटिङ मध्यपश्चिमाञ्चल विश्व विद्यालयबाट भइरहेको थियो।
मेरो पालो आएपछि पावरप्वाइन्टमा बनाइएका ठाडी भाकासम्बन्धी आफ्ना स्लाइडहरू देखाउँदै प्रस्तुतीकरण दिएँ ।
क्याम्पसका सहप्राध्यापकहरू धेरैसँग भेट भयो । डिल्ली डाँगी हरिबहादुर ओली शेरबहादुर खडका जसवीर रोका टीकाराम बिस्टलगायतसँग सम्बन्ध नवीकरण भयो । प्रस्तुतीकरणको प्रमाणपत्र मध्य पश्चिमाञ्चल विश्वविद्यालयका डिनबाट पाएँ । मेरा केही थान कविता सङ्ग्रहक प्रतिहरू डम्बरलाई दिएर म खाना खानको निम्ति बागबजारस्थित लुक एट मी होटेलमा एक्लै पुगेँ । पनीर चिल्ली सहितको भेज खाना मिठै थियो । नयाँ खोलेको होटेलको साजसज्जा राम्रै रहेछ ।
केही किताबहरू बागबजारस्थित मदिरापसल गरिरहेका रुकुमेली साहित्यकार वीरबहादुर केसीलाई पनि छोड्नु थियो । उहाँलाई पुस्तक छोड्दा राष्ट्रिय वाणिज्य बैँकका कर्मचारी लक्ष्मी गुप्ताले पनि हेर्नको निम्ति मेरो पुस्तक माग्नुभयो । मलाई खुसी लाग्यो । कोलेनिकाका साथीहरू एक्कबहादुर केसी कविन्द्र पुन नरसिँह बुढा र मलाई सम्झने साथीहरूको निम्ति केही थान पुस्तकहरू वीरबहादुर केसीलाई राखिदिन अनुरोध गरेर म सेरिगाउँतिर झरेँ ।
सेरिगाउँमा भरतकुमार शर्माको घरमा पुगेर उहाँको आत्मकथा लेखनको लागि उत्प्रेरित गरेँ । आत्मकथाको लागि ढाँचा पनि उपलब्ध गराएँ । यति गर्दा पानी सिमसिम पर्न थालिसकेको थियो । तर म भिज्दै चाँपासम्म हिँडेर पुगेँ र त्यहाँबाट अटो चढेर सोलाबाङ झर्को लागि अटो पर्खिएँ । करिब आधा घण्टा पर्खिँदा पनि अटो आएन । पर्खाइको क्रममा मलाई बालककालमा शिक्षा दिने गुरु डिल्लीबहादुर मल्ल र पातेमैयाँ फुपूका लोग्नेसँग विगतका कुराहरू सुनेर समय काट्न सजिलो भयो ।
म फेरि भिज्दै कोटतिर लागेँ । त्यहाँ २ वटा बाइक रोकेर ४ जना मान्छे ओत लागेर बसेका रहेछन् । एकजना त भाइ घमण्ड खडका पो रहेछन् । म पनि तपाईँकै बाइकमा सोलाबाङ जानुपर्ने बाध्यता आइपर्यो भनेँ । उनले ३ जना चढ्दा गाह्रो हुने हो कि भन्दै लहुँतिरका एकजना व्यक्तिका अतिरिक्त मलाई पनि लिफ्ट दिए ।
देवकुमारीलाई खलङ्गाबाट दुखाइमा मालिस गर्ने औषधि ल्याइदिने वाचा गरेको थिएँ भुलेछु । सोलाबाङको मेडिकलबाट किनेर घरमा आएँ ।
देवकुमारीलाई अलि बिसेक भएको देखी खुसी लाग्यो । खाना खाएर बेलुका बिनारामको घरमा गयौँ । एकछिन कुरा भयो । राति घरमै फर्कियौँ ।
२०८३ जेठ १७ गते आइतवार
सोलाबाङ रुकुम
दुबै कुहिना र तल्लो पेट दुखेकोले बारीमा काम गर्न जान सकिएन । देवकुमारीको पनि कम्मरमा चोट लागेकोले उठ्न बस्न समेत गाह्रो थियो । दिनभरि घरमै बस्यौँ । हरिप्रसाद पाण्डेको आत्मकथाको लागि उहाँका परिवारजनको स्मृति र शुभकामनासम्बन्धी लेखहरू उहाँ भान्जा महेशकुमार थपलियाले पठाइरहनुभएको थियो । सबै गरी १७ वटा लेखहरू आएका थिए । तीमध्ये ६ वटा अडियो र भिडियो मात्र थिए । ट्रान्सक्राइब गर्नुथियो तर लेखनकुन्जका सौरभलाई भनेको उनी घरायसी कामले घरतिर लागेछन् । यताबाट छिटो सकिदिन ताकेता आइरहेको थियो । अतः च्याट जिपिटीबाटै ट्रान्सक्राइब गरेँ । अडियो र भिडियो स्पष्ट नभएको हुँदा च्याटजिपिटीले पनि हुबहु उतार्न सकेन । दुबैको परिश्रम र विवेक प्रयोग गरेर ट्रान्सक्राइब पनि गरियो। बाँकी लेखहरूको सम्पादन गरिदिएँ र बेलुका कमल ढकाल र सौरभ सापकोटालाई पठाइदिएँ ।
२०८३ जेठ १८ गते सोमवार
सोलाबाङ रुकुम
आज हाम्रो त्रिवेणी विषयको स्थानीय पाठ्यपुस्तकलाई अन्तिम रूप दिन बिहानै सिम्रुतु जाने कार्यक्रम थियो । चिया मात्र पिएर सिम्रुतु गएँ । केही बेरमा मनलाल चन्द्रा नरसिँह र टीकाराम पनि आइपुग्नुभयो ।
मैले निकै मिहिनेत गरेर पाठ र अभ्यासहरूमा राखिएका आइकनहरू शिक्षा अधिकृत मानबहादुर विश्वकर्माले हटाइदिनुभएछ । व्याकरणकै नियमअनुसार सम्पादन गरिएको पाठका संयुक्त क्रियापदहरूलाई अलग अलग पारिदिनुभएछ । मलाई आश्चर्य लाग्यो । अहिलेका बच्चाबच्चीहरूको बोल्न नजान्दै हातमा मोबाइल हुन्छ । उनीहरूले विभिन्न प्रोग्रामहरू हेरेर शिक्षकको भन्दा धेरै ज्ञान लिएका हुन्छन् । तर हामी भने उनीहरूको रुचिलाई बेवास्ता गरेर पुरानै ढर्रा अँगाल्न खोज्छौँ । आफूले बुझेको कुरा मात्र ठिक ठान्छौँ । आफूले जानेको कुरा ठिक हो कि होइन भनी व्याकरण र आधिकारिक लेखहरू हेर्दैनौँ । सरकारी कार्यालयहरूबाट लेखिने औपचारिक पत्र र प्रतिवेदनहरूको बारेमा केही वर्षपहिले प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयले नियमहरू बनाइदिएको थियो । त्यस सम्बन्धमा सर्वोच्च अदालतमा पुनरावेदन पर्दा अदालतले स्थापित शब्दकोश र व्याकरणअनुसार नै गर्नुपर्ने भनी फैसला गरेको थियो ।
अधिकांशले के बुझ्छन् भने नेपाली विषयमा मात्र शुद्धाशुद्धि र व्याकरणअनुसार गरे पुग्छ अन्य विषयमा आवश्यक छैन । यस्तो सोचाइले हाम्रो मानक भाषामा समस्या आइरहेको हुन्छ र आफै पनि शुद्ध लेखाइबाट पछिपछि परिरहेका हुन्छौँ ।
पाठ्यपुस्तक निर्माण समितिका सबै सदस्यहरू आइपुगेपछि साविकमा कार्य विभाजन गरेअनुसार सबैले आआफ्नो एकाइको पाठ र अभ्यासमा भएका गल्ती कमजोरीहरू सच्याइ पेस गर्न अह्राएँ । अनि कक्षा १ को सम्पूर्ण पाठ र अभ्यास हेर्न टीकारम खडकालाई २ कक्षाको चन्द्रा ओलीलाई ३ कक्षाको नरसिंह ओलीलाई ४ कक्षाको म आफैले र ५ कक्षाको सम्पूर्ण पाठ र अभ्यास हेर्न मनलाल ओलीलाई जिम्मा दिएँ ।
सबैले पर्सिसम्म सच्याइएको पाठहरू पेस गरेपछि मूल कपिमा सच्याएर विहीवारसम्म अन्तिम रूप दिने सल्लाह गरियो ।
बेलुका नरसिँह ओलीको बाइकमा सोलाबाङ आएँ । खलङ्गा कालिकाथानमा अर्गानिक पसल चलाइरहेका रविन्द्रकुमार विष्टले कालो धान र फापरको बीउ मह तथा हिमाली जडीबुटी चिया मिलन एग्रोभेटमा पठाइदिएका रहेछन् । पैँसा तिरेर सबै लिएँ ।
घरमा पुगेपछि बेलुका साढे ७ बजेदेखि हामीले रुकुमेली वाङमय अधिष्ठानको शुभकामना आदानप्रदान तथा विश्वविख्यात साहित्यकार/विचारक/दार्शनिकहरूको जन्मजयन्ती मनाउने कार्यक्रमको बाह्रौँ भर्चुअल शृङ्खला अन्तर्गत यो हप्तामा जन्मदिन पर्ने आज १३–१४ औँ शताब्दीका इटलीका महाकाव्यकार दाँते आलिघियेरी, १९ औँ शताब्दीकाअमेरिकाका कवि वाल्ट ह्विटम्यान, २० औँ शताब्दी नेपालका गद्य तथा क्रान्तिकारी कवि गोपाल प्रसाद रिमाल, २१ औँ शताब्दीका इजिप्टका उपन्यासकार अला अल-अस्वानीको जन्मजयन्ती मनाइयो । कार्यक्रममा भूपेन्द्रा मल्ल मनलाल ओली ओम केसी चन्द्रा ओली मीनराज ओलीको सहभागिता रह्यो ।
२०८३ जेठ १९ गते मङ्गलवार
सोलाबाङ रुकुम
आज खाना खाएर सिम्रुतु गएँ । अरू साथीहरूलाई बोलाएपछि मात्र आउनुहोला भनेको थिएँ । हिजो साथीहरूले हेरेर बुझाएका पाठ्यपुस्तकका प्रिन्ट कपिहरूबाट सुझाव दिएअनुसारको पुनर्सम्पादनको काम भयो । नरसिँह ओलीले पेउघाका समाजसेवी यज्ञबहादुर खडकाको हस्तलिखित ६ पानाको जीवनीलाई टाइप गरेर पाठयोग्य बनाएँ र अभ्यासहरू पनि बनाएँ । पहिले ३ कक्षाको एकाइ २ मा हिराचन्द्र मल्लको र ४ कक्षाकोमा विश्वेश्वर पोख्रेलको जीवनी राखिएको थियो । त्रिवेणी गाउँपालिकाले निर्णय गरेर ४ कक्षामा यज्ञबहादुर खडकाको ५ कक्षामा हिराचन्द्र मल्लको ६ कक्षामा टीकाराम पुनको ७ कक्षामा विश्वेश्वर पोख्रेलको र ८ कक्षाकोमा दौलथ घर्ती विजयको जीवनी राख्ने भनी निर्णय गरेकोले सोही अनुसार गर्नुहोला भनी अध्यक्ष गणेश कुमार केसीले भन्नुभएको थियो ।
३ कक्षाबाट हिराचन्द्र मल्लको झिक्दा ३ कक्षामा नयाँ पाठ थप्नुपर्ने भएकोले सो पाठ पनि आफै तयार गरेँ ।
विश्वेश्वर पोख्रेलको जीवनी झिकेर पछि ७ कक्षामा राख्ने गरी जगेडा पाठमा राखेको छु ।
बेलुका घर जान थालेको बेला शिक्षा अधिकृत मानबहादुर विश्वकर्मा सुर्खेतबाट आइपुग्नुभएकोले उहाँलाई प्रगति विवरण सुनाएँ ।
बेलुका पुरानो बाटो हुँदै लहुँ उक्लेर पैदलै घरमा फर्किएँ । फोटो भिडियो खिच्दै पुरानो स्मृतिलाई कोट्याउँदै अगाडि बढ्दा डेढ घण्टा बितेको पत्तै भएन ।
बेलुका खाना खाएपछि म पाठ्यपुस्तक निर्माणकै क्रममा लागेँ देवकुमारी गफगाफ गर्न कमला बुहारीको घरमा गइन् । साढे ८ बजेतिर नुहाएर चिसै खुट्टासँग भित्र पसिन् । कोठामा लगाइएको प्लास्टिकको कार्पेटमा उनको चिसो खुट्टा चिप्लिएछ । जिउ खाटतिर उत्तानो पर्यो भने टाउको ढोकाको सँघारमा परेछ । म उठाउन जाँदा टाउकोबाट ह्वाल्ह्वाल्ती रगत बग्न थाल्यो । मैले के गर्ने कसो गर्ने केही सोच्न सकिनँ । रगत थाम्नको लागि टाउकोमा बेसरी थिचिरहेँ । उनी एकछिन बेहोस भइन् र केही बेरमा होस आइन् । उनले आफ्नै हातले टाउकाको घाउ थिचिन् । मैले अस्मिता परीक्षित र देवीलाई खबर गरेँ । रगतमा मुछिएको लामो कपालले घाउ नदेखिएकोले कपाल बाँध्न सजिलो होस् भनेर कमला बुहारीलाई बोलाएर ल्याएँ । सोलाबाङमा मेडिकल चलाइरहेका हेल्थ असिस्टन्ट चुडामणिलाई बोलाउँदा उनी खलङ्गा छु खलङ्गै ल्याउनुहोस् भने । तर राति खलङ्गा जान पनि सहज थिएन ।
देवी पनि आफ्ना नन्दे भाइलाई ल्याएर आइपुगिन् । साथमा पन्जा, ब्यान्डेज घाउमा लगाउने औषधि पनि ल्याइदिइन् । आफै औषधि लगाइदिएर ब्यान्डेज बाँधिदियौँ । ब्यान्डेज लगाएकोले आत्तिनुपर्दैन भोलि बिहानै अस्पत्ताल जानू भनेर परीक्षित र अस्मिताले भनेकोले आएकाहरू घर घरमा फर्किए ।
देवकुमारीको टाउकोको घाउको साथै जिउमा पनि नदेखिने चोट लागेछ । सुत्न र उठ्न नै महामुस्किल भयो । सुताउन र उठाउन मैले नै सहयोग गर्नुपर्ने भयो । तर मेरो पनि दुबै हातको कुइना र नाडी दुखिरहेकोले उनलाई उठाउन र सुताउन मलाई पनि निकै कठिन भयो ।
देवकुमारी रातभरि ऐया ऐया गरिरहिन् । कुनै बेला उठेँ कुनै बेला म निदाएछु ।
२०८३ जेठ २० गते बुधवार
सोलाबाङ रुकुम
बिहान उठेपछि अस्पताल जाने कि नजाने भन्ने बारेमा देवकुमारी दोधारमा परिरहेकी थिइन् । आफैले गरेको ब्यान्डेजले ठिक होला कि भन्ने आशा थियो । तर परीक्षित र अस्मिताले घरमा छोरा छोरी डाक्टर आमा भने गम्भीर घाइते हुँदा पनि अस्पतालमा नजाने ? घाउमा इन्फेक्सन हुन सक्छ । हड्डीमा चोट लागेको वा भाँचिएको हुनसक्छ तुरुन्त अस्पताल जानूस् भनी ताकेता गरेकोले हामीहरू खाना खाएर अस्पताल जान तयार भयौँ । अटो बोलाएर सल्ले अस्पतालमा पुग्यौँ ।
पाठ्यपुस्तक निर्माणको लागि अन्तिम रूप दिन आज बिहान ७ बजेदेखि नै पाठ्यक्रम निर्माणमा लागेका सर म्याडमहरूलाई बोलाइएको थियो । सम्पादनको मुख्य काम मेरै हातबाट हुनेभएकोले मबिना उहाँहरू अलमलमा पर्ने पक्का थियो । तर म भने अस्पतालतिर जानुपर्यो ।
अस्पत्तालमा फार्मेसिस्टको काम गर्ने भदाहा कल्पनाले निकै सहयोग गरिन् । स्वास्थ्यकर्मी रजकले पनि प्राथमिकतामा राखेर हेरविचार गरे । देवकुमारीको टाउकोमा लगाएको घाउ सफा गरिदिएर ब्यान्डेज लगाइदिए । त्यसपछि एक्सरे गर्न सिफारिस गरे ।
एक्सरे गर्दा हड्डीमा चोट नलागेको रिपोर्ट आएकोले हामी खुसी भयौँ । कल्पनाले सहयोग नगरेको भए कम्तीमा ३००० सम्म खर्च हुन्थ्यो होला ।
उपचार सकेर हामी सोलाबाङ झर्यौँ । म सिम्रतु गएँ । देवकुमारी घरमा गइन् ।
बेलुका खारातिर ठुलो पानी पर्यो र खारा खोलामा निकै ठुलो भेल आयो । हामीले प्राकृतिक विपद् शीर्षकमा राख्नको लागि फोटो र भिडियो खिच्यौँ । फर्कँदा गाडी नपाइएकोले रातापहरसम्म भेल हेर्दै मनलाल सर र म खलङ्गातिर लाग्यौँ । रातापहर नजिक पुगेपछि गाडी चढ्यौँ र ठाँटी बजारमा झर्यौँ । सिम्रुतुमा १ घण्टा पहिल्यै आएको भेल काइँयाखोलासम्म आइपुगेको थिएन । मनलाल खलङ्गातिर उक्लनुभयो । म कपडा फेरेर खाजा खाएर आउँदै गरेको भेल हेर्न ठाँटीतिर झरेँ । भेटिनेहरूलाई पनि भल आउँदै छ हेर्न जाऊँ भनेँ तर कसैले पत्याएनन् ।
एकछिन पर्खिएपछि सङ्लो लहुँखोला धमिलियो । तर सिम्रुतुको जस्तो भयानक रूप थिएन । साँख खोलासँग मिसिएपछि त झनै फिका हुन पुग्यो । भेलको पनि समय र परिस्थितिअनुसार रङ बदल्दो रहेछ ।
देवकुमारी बिरामी भएकोले खाना पकाइदिन भदैनी समीक्षा आएकी थिइन् । उही तरकारी उही मसला हुँदा पनि हातको सिपअनुसार खानाको स्वादमा फरक पर्दो रहेछ ।
२०८३ जेठ २१ गते विहीवार
सोलाबाङ रुकुम
बिहानै उठेर सिम्रुतु जाने तयारी गरियो । आज ७ बजेतिर नरसिँह ओलीकै बाइकमा जाने कुरा थियो । म भने साढे ६ बजे नै घरबाट निस्केँ र बिस्तारै हिँड्दै ठाँटी काटेँ । काइँयाखोला पुग्दा ७ बजिसकेको थियो । नरसिँहले त्यतै बस्नुहोस् म यहाँबाट हिँडिसकेँ भन्नुभयो । मैले पितीबाङ खोलामा पर्खने बताएँ । तर पितिबाङको पुलमा नपुग्दै मनलाल चढेको हाइस आइपुग्यो । उहाँले मलाई देखेर गाडी रोक्न लगाउनुभयो । तर मैले नरसिँह आउँदै गरेकोले उहाँसँग आउँछु भनेर मनलाल चढेको गाडीमा चढिनँ ।
दाङतिर जाने हाइसहरू र अटोहरू आए र जाने हो भन्दै एक एक गरी सोधे । नरसिँह आउने भनेपछि मैले ती गाडी जाने कुरै थिएन । पितिबाङको पुलबाट हिजोको भल मिसिएको खोला हेरेर केही बेर बिताएँ । नरसिँहलाई फोन गर्दा फोन लागेन । अलिकति हिँड्छु भनेर पितीबाङसम्म पुगेँ र नरसिँहलाई फोन लगाएँ । उहाँले त बिरामी भेटिएकोले ढिला भयो अझै नुवाकोटतिरै छु भन्नुभयो । आज छिटो सिम्रुतु पुग्ने लक्ष्य हिँड्दा हिँड्दै बितिरहेको थियो । अब त भएन गाडी चढ्नै पर्ने भयो भन्ने लागेकोले अटो वा गाडीहरू पर्खिएँ तर खोजेको बेला कुनै गाडी पनि आएनन् । हिँड्दै स्याउली बजार पुग्न थालेपछि बल्ल हाइस आइपुग्यो र म त्यसैमा चढेर सिम्रुतु पुगेँ । भाडा सोलाबाङबाट चढे बराबर नै तिर्नुपर्यो । समय पनि बर्बाद भयो ।
केही साथीहरू अफिसमा आइसक्नुभएको थियो केही पछि आउनुभयो । दिनभरि लागेर १ देखि ४ कक्षासम्मको पुनर्सम्पादनको काम सकियो ।
बेलुका नरसिँहको बाइकमा मनलाल र रामलाल गौतमको बाइकमा म चढेर ठाँटीबजार पुग्यौँ । मनलाल रेडियो साहित्यमालाको कार्यक्रम तयार गर्न खलङ्गातिर उक्लनुभयो भने म घरमा । बेलुका देवकुमारीको घाउ सफा गरेर ब्यान्डेज गरिदिएँ । उठ्न बस्न समस्या नै थियो ।
२०८३ जेठ २२ गते शुक्रवार
सोलाबाङ रुकुम
बिहान सेरीगाउँबाट मनलाल सर आइपुग्नुभयो । उहाँ आज राप्ती साहित्य परिषद्को ४९ औँ वार्षिकोत्सवको सिलसिलामा दाङ जाने तयारी साथ आउनुभएको छ । देवकुमारी नलोटेको भए म पनि सँगै जाने कार्यक्रम थियो । तर देवकुमारीलाई हरेक दिन बिहान बेलुका घाउ सफा गरिदिनुपर्ने र उठाउन बसाउन आड दिने मान्छे कोही नहुँदा म जान नपाउने नै भएँ ।
मनलाल सरले अस्ति आफैले तयार गरिदिएको मौरीको घार हेर्नुभयो । दुइटै घारमा मौरी थिएन । अनौठो मान्नुभयो । मह लगाउने बेलामा त मौरी छैन के भयो भनेर सोध्नुभयो । मैले करेसाभरि मरेका पुतली फट्याङ्ग्रा र किराहरू देखाउँदै भनेँ अगाडि पछाडि जम्मै तरकारी र मकै बारीमा विषादिको प्रयोग हुन्छ । मह बटुल्न गएका मौरी सबै विषादिले भुटकुट भए । उहाँले खिन्न अनुहार लगाएर थै मात्रै भन्नुभयो ।
घारमा आफै मौरी बस्न आउँदा देवकुमारीलाई खबर गरेको थिएँ । उनी साह्रै खुसी भएर छोरा छोरी र नातिहरूलाई हाम्रो घरमा मौरी बस्न आयो भन्दै प्रचार प्रसारमा लागेकी थिइन् । उनको खुसी २ महिना पनि टिक्न पाएन ।
मनलाल र मैले चिया खाएर सिम्रुतुतिर लाग्यौँ । आज अरू साथीहरूलाई बोलाइएको थिएन । खाना खाने बेलासम्म राप्ती साहित्य परिषद्को प्रतिवेदन र कक्षा ५ को पाठ्यपुस्तकको दोस्रो सम्पादनको काममा जुट्यौँ । खाना खाएपछि उहाँ एक्लै दाङतिर जानुभयो । म पाठ्यपुस्तककै काममा लागेँ ।
लेखनकुन्जबाट केशवप्रसाद न्यौपानेको बुक सेटिङमा समस्या आएको खबर आयो । मैले भोलि गरेर पठाइदिन्छु भनेँ उहाँहरूले आजै चाहिन्छ भन्नुभयो । मैले आज त यतैको नुन पिरो खाएकोले यताको नुन खाएर त्यताको काम गर्दिनँ । आज शुक्रबार भएकोले आजै त्यहाँ तपाईँहरू काम सक्नुहुन्न । बरू जरुरी हरिप्रसाद पाण्डेको छ उहाँको सबै काम सकेर पठाएको छु उहाँकै काम पहिले गर्नुहोला भनेँ । उताबाट केही जवाफ आएन ।
२ बजेतिर हावाहुरीसँगको मुसलधारे बर्साद भयो । खारा रुँघा र मुरू खोला धमिलिए । सबैले भेल हेर्न प्रतीक्षामा खोलाको किनारतिर दौडिए । आजै बिमैचाका एक जना मान्छेको मृत्यु भएको रहेछ । मलामीहरू पनि त्रिवेणीको किनारमा भरिए । म भने ५ कक्षाको दोस्रो सम्पादन जसरी पनि आजै सक्नुपर्ने भएकोले त्यसैमा लागेँ ।
५ कक्षाको पनि दोस्रो सम्पादनको काम सकिएपछि कार्यालयका कर्मचारीहरूसँग बिदाबारी भई खाजा खाएर उतैबाट घर फर्कने हिसाबले निस्किएँ । माया होटेलमा खाजा पाक्न ढिला हुने भएकोले फुर्सदमा लेखनकुन्जकै काम गर्छु भनेर ल्यापटप झिकी विषयसूची मिलानतिर लागेँ । करिब १ घण्टामा २ खण्डको काम सकियो । काम गर्दै छु भन्ने जानकारी दिनको लागि लेखनकुञ्जका सौरभ सापकोटालाई खबर गरेँ । उता पनि त्यही काम सुरु गरिसकेछन् । मैले गरेको काम खेर गएकोमा पछुताएँ । तर २ दिन लगाएर उताबाट भइरहेको काम मैले पनि गरेको भए के हुन्थ्यो भन्ने सोची चित्त बुझाएँ ।
खाजा खाएर सोलाबाङ आएँ । बजारमा कपाल काटेँ । घरमा आएर कपालमा मेहन्दी लगाएँ । उत्तरपट्टिको करेसामा हजारीका बेर्नाहरू सारेँ । ठुल्दाइ र भाउजूले अगाडिपट्टि प्रकाशको जग्गामा धानको बीउ राख्दै थिए ।
देवकुमारीले कान्छाले पास गरेछ भन्दै खुसी बाँड्न करेसामा आइपुगिन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षितले एमडी पढिसकेर अघिल्लो हप्ता जाँच दिएको थियो । सरासर पास गरेछ । खुसी लाग्यो । बेलुका फेसबुक पोस्टमा र भिडियो कलमा सम्पर्क गरेर बधाई तथा शुभकामना दिएँ ।
देवकुमारीको टाउकाको घाउ सफा गरी औषधी लगाइदिएपछि आजको दिनलाई विश्राम दिइयो ।
२०८३ जेठ २३ गते शनिवार
सोलाबाङ रुकुम
असारको पहिलो हप्तामै कक्षा ६ देखि ८ कक्षासम्मको स्थानीय पाठ्य पुस्तकको पाठहरू निर्माणको काम सक्ने जिम्मा पनि लिएको थिएँ । यसको लागि जितबहादुर शाह सरले मलाई एकाइ एक र दुईको जिम्मा लगाउनुभएको थियो । आफ्नो नाम पनि रहने काममा पनि व्यस्त भइने र जागिरी नभएको अवस्थामा घरखर्च चलाउन दुईचार पैँसा आउने भएकोले गर्दिन भन्न सकेको थिइनँ ।
अतः बिहानै उठेर ५ बजेदेखि नै पाठ्यक्रममा आधारित भएर विषय सूची निर्माण गर्नतिर लागेँ । कक्षा ६ को हाम्रो त्रिवेणी विषय अन्तर्गत पहिलो एकाइमा त्रिवेणी गाउँपालिकाको इतिहास, मानचित्रमा त्रिवेणी गाउँपालिका, त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या, निर्वाचित जनप्रतिनिधिहरू र तिनका जिम्मेवारी, वडा कार्यालयका सामाजिक विकास कार्यक्रमहरू तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा र तिनलाई प्रभावकारी बनाउने उपायहरू समावेश गरिएका छन्। दोस्रो एकाइ हाम्रा मौलिक कला, संस्कृति र सम्पदाहरू अन्तर्गत हाम्रो भौगोलिक बनावट र जल सम्पदा, हाम्रो परम्परागत चिकित्सा र आयुर्वेद उपचार, हाम्रो कला, संस्कृति र साहित्य, बाल सिर्जना, हाम्रा मौलिक सङ्क्रान्ति पर्वहरू, हाम्रा धार्मिक एवं सांस्कृतिक सम्पदाहरू तथा हाम्रा समाजसेवी तथा सहिदहरू सम्बन्धी विषयवस्तु समेटिएका छन्।
कक्षा ७ को हाम्रो त्रिवेणी विषयमा त्रिवेणी गाउँपालिकाको प्रशासनिक संरचना, रुकुम पश्चिमको मानचित्रमा त्रिवेणी गाउँपालिका, गाउँपालिकाको जग्गाको किसिम, त्रिवेणीको समग्र शैक्षिक अवस्था, त्रिवेणीले प्रदान गर्ने मुख्य सेवा–सुविधा र तिनको प्रभावकारिता तथा त्रिवेणीका सामाजिक विकास कार्यक्रमहरू समावेश गरिएका छन्। यसैगरी दोस्रो एकाइ हाम्रा कला, संस्कृति र सम्पदाहरू अन्तर्गत त्रिवेणीका पर्यटकीय स्थलहरू, प्रमुख जातजातिका चाडपर्व, भेषभूषा, भाषा र आपसी सम्बन्ध, हाम्रा जडीबुटी तथा तिनको प्रयोग र संरक्षणका उपायहरू, बाल सिर्जना तथा हाम्रो मानव संसाधन सम्बन्धी विषयहरू समेटिएका छन्।
कक्षा ८ को हाम्रो त्रिवेणी विषयमा त्रिवेणीको भौगोलिक, राजनीतिक तथा प्रशासनिक संरचना, कर्णाली प्रदेशको मानचित्रमा त्रिवेणी गाउँपालिका, गाउँसभाको गठन तथा काम, कर्तव्य र अधिकार, स्थानीय सरकारका अङ्गहरूको भूमिका, गाउँसभाको कानुन निर्माण प्रक्रिया, त्रिवेणी गाउँपालिकाका ऐन–कानुनहरू तथा त्रिवेणीका गौरवका आयोजनाहरू समावेश गरिएका छन्। दोस्रो एकाइ हाम्रा कला, संस्कृति र सम्पदाहरू अन्तर्गत त्रिवेणीका जातजातिबीचको सामाजिक सद्भाव, त्रिवेणीको कला, साहित्य र पर्यटन विकास, त्रिवेणीका पर्यटकीय स्थलहरू, गाउँपालिका स्तरीय मेयर कप खेलकुद प्रतियोगिता, त्रिवेणीमा वैकल्पिक ऊर्जा, त्रिवेणीका ‘५ ज’ तथा त्रिवेणीको शैक्षिक अवस्था र मानव संसाधनसम्बन्धी विषयवस्तुहरू समावेश गरिएका छन्।
दिउँसो केशवप्रसाद न्यौपानेका जेठा छोराबाट उहाँका बुवाको आत्मकथामा राख्न छुट भएको उहाँकी सानीआमाको लेख मागेर सम्पादन गरी लेखनकुन्जका सौरभ सापकोटालाई पठाइदिएँ । सुरूमा कम्प्युटर टाइप गरिदिने व्यक्तिलाई धन्यवाद ज्ञापनका शब्दहरू पनि थप्ने कुरा भएकोले सो सूचना सङ्कलन गरेर पनि सौरभजीलाई पठाइदिएँ ।
आज दिनभर घरमै भएकोले बिहान दिउँसो र बेलुका देवकुमारीको घाउ ड्रेसिङ गरेर औषधि लगाउने काम भयो ।
२०८३ जेठ २४ गते आइतवार
सोलाबाङ रुकुम
कक्षा ६ का पाठहरू निर्माणको लागि बिहानैदेखि काम थालेँ । कक्षा ६ को पहिलो पाठमा त्रिवेणी गाउँपालिकाको इतिहास पाठ समावेश गर्नुपर्ने थियो । गाउँपालिकाको इतिहास राज्य शक्ति विकेन्द्रीकरणसँग सम्बन्धित छ । यसको इतिहास देशकै प्रशासनिक इतिहाससँग जोडिन्छ । मैले राणाकालमा ३७ जिल्ला भएको र १८ सालमा ७५ जिल्लामा विभाजन भएको सुनेको थिएँ । गाउँ पञ्चायतहरू त्यसै बेला विभाजन भए होलान् । रुकुमका पञ्चायतहरूमा पहिले त्रिवेणी क्षेत्रका रुँघा खारा मुरु पेउघा र नुवाकोट पर्दैनथे । रुँघा खारा रोल्पा जिल्लाबाट र मुरु पेउघा र नुवाकोट सल्यान जिल्लाबाट ल्याइएको हो भन्ने सुनेको थिएँ तर वास्तविक इतिहास थाहा थिएन । अतः त्यो इतिहास भेटिन्छ कि भनेर गुगल सर्च गरेँ । खासै तथ्यहरू फेला परेन । च्याट जीपीटीलाई सोधेँ । कि पुराना मान्छेसँग सोध्नुपर्ने कि रुकुम जिल्ला पञ्चायतको अभिलेख हेर्नुपर्ने सुझाव दियो । १० वर्ष अगाडिका कागजात नभेटिने जिल्ला प्रशासन र जिल्ला समन्वयमा ५० वर्ष पहिलेका कागजात फेला पर्लान् भन्ने मैले पत्याइनँ । यो इतिहास थाहा पाउने पुराना मान्छेहरू पनि अब कोही फेला पर्लान् र बताइदेलान् भन्ने कुरामा विश्वास लागेन । बल्लतल्ल बालाराम घर्तीले लेखेको रोल्पाको इतिहासमा सल्यान जिल्लाबाट मुरु पेउघा र नुवाकोटलाई रोल्पामा गाभ्नको लागि तत्कालीन सीमा निर्धारण आयोगमा काम गरिरहेका हर्क गुरुङलाई बालाराम घर्तीले सिफारिस गरेको भन्ने कुरा पत्ता लाग्यो ।
मैले फेरि यही कुरा च्याट जीपीटीलाई सोधेँ । उसले हर्क गुरुङको अध्यक्षतामा गठन भएको सीमा निर्धारण आयोगका कागजातहरू खोज भन्यो । खोज्दा गाउँ पञ्चायत सार्ने सम्बन्धमा कुनै तथ्य फेला पर्न सकेन । फेरि जीपीटीलाई सोधेँ । उसले पुराना राजपत्रहरू खोज भन्यो । मैले वेबसाइटमा पुराना राजपत्रहरू उधिन्न थालेँ । उसबेलाका टाइपराइटरले टाइप गरेका राजपत्रलाई फोटो खिचेर राखिएको थियो । सर्च गरेर भेटिने कुरै थिएन । विभिन्न सर्च विधि प्रयोग गरेर खोज्दा खोज्दा ३२ सालमा बाग्लुङका मैकोट तकसेरा पञ्चायतलाई रुकुममा गाभ्ने निर्णय भएको राजपत्र भेटियो। यसले मलाई हालका त्रिवेणीका क्षेत्रहरू रुकुममा गाभ्ने निर्णय भएको राजपत्र पनि भेटिन्छ भन्ने आशा पलायो । खोज्दै जाँदा २०३५ पुस १ गतेको राजपत्रमा मुरू प्यौघा र नुवाकोटलाई सल्यानबाट र रुँघा र खारालाई रोल्पा जिल्लाबाट रुकुममा गाभ्ने निर्णय भएको भेटियो । मलाई पाइथागोरसले सुनको गुणस्तरीयता जाँच्ने विधि पत्ता लागेर युरेका युरेका भन्दै बजारमा दौडिएझैँ खुसी मिल्यो । त्यसपछि गाउँपञ्चायत गठन जिल्ला विकास समिति गठन र हाल त्रिवेणी गाउँपालिका गठनसम्मका सूचनाहरू जम्मा गरेर पाठ तयार गर्न सजिलो भयो । जे भेटिएको थियो त्यसलाई एकीकृत गरेर करिब ६५० शब्दको पाठ बनाएँ । पाठसँगै अभ्यासहरू पनि राखेँ । अन्य पाठ्यपुस्तकमा नपाइने तर विद्यार्थीको कल्पनाशीलता बढाउने खालका कौतुहलमूलक प्रश्नहरू राखिएको सिर्जना चौतारी कति फाइदा कति बेफाइदा यस्तो किन भयो भोलिको त्रिवेणी शीर्षकमा समेटेर छुट्टै खण्ड पनि बनाएँ । राति १२ बजेतिर आफूले गरेको खोज अनुसन्धान ताततातै थाहा होस् भनेर जितबहादुर शाहलाई तयार गरेको पाठको खेस्रा मेल गरिदिएँ र आजको दिनलाई विश्राम दिएँ ।
२०८३ जेठ २५ गते सोमवार
सोलाबाङ रुकुम
दशबाह्र दिनभित्रै तयार गर्नुपर्ने करिब ४० वटा पाठमध्ये दिनभरि लगाएर एउटा पाठ तयार गर्न सकेको खुसियाली छँदै थियो बिहानै उठेर बाँकी पाठको लागि सूचनाहरू खोज्न थालेँ । कक्षा १ देखि ८ सम्म नै त्रिवेणीको भौगोलिक अवस्था गाउँ बाटोघाटो पर्यटकीय स्थल आदि नक्साबाट सिकाउने भन्ने परेको छ । कक्षा १ देखि ५ सम्मका पाठहरूमा नक्सामा देखाइएका सबै कुराहरू हालिसकिएको छ अब के हाल्ने दिमागले केही काम नै गरेन । च्याट जीपीटीले अनावश्यक कुरा पनि सिफारिस गर्छ । कसलाई सोध्ने कसले भनिदिने ।
हिजो पठाएको त्रिवेणीको इतिहासको बारेको पाठ कस्तो लाग्यो भनी जितबहादुर शाहलाई फोन गरेर सोधेँ । उहाँले मेल हेर्नु नै भएको रहेनछ । सबै तयार गर्दै जानुस् एकैचोटि हेरौँला भन्नुभयो। उहाँ पनि बाँकी ४ युनिटमा लागेकोले अरू हेर्न के फुर्सद हुन्थ्यो र । मैले पाठको फर्म्याट पनि आफूलाई थाहा भयो भने अरू पाठहरू पनि त्यसै ढाँचामा राख्न सजिलो हुनेभएकोले आजै मेल हेरिदिनुस् भनी कर गरेँ ।
कक्षा ५ सम्मको लागि तयार गरिएका नमुना पाठ्यपुस्तकको बारेमा त्रिवेणीभरिका प्रअहरूलाई बोलाएर मात्र उनीहरूबाट सुझाव सङ्कलन गरेर सोही आधारमा पाठ्यपुस्तकलाई अन्तिम रूप दिने मेरो प्रस्ताव बल्लतल्ल शिक्षाका साथीहरूलाई मनाएको थिएँ । कक्षा १ देखि ५ सम्ममा प्रत्येकका ६ एकाइका दरले ३० वटा एकाइमध्ये २/२ वटा एकाइ छुट्याएर त्रिवेणीका ४५ वटा विद्यालयहरूका प्रअहरूलाई १५ समूहमा विभाजन गरी छलफल गराउने कुरा अस्ति नै टुङ्गो लागेको थियो तर शिक्षा अधिकृत मानबहादुर विक जिल्लाबाहिर जानुपर्ने भएकोले कहिले गर्ने भन्ने निश्चित थिएन । अतः मानबहादुर आइसकेकोले उहाँलाई छलफलको लागि प्रअहरूलाई बोलाइदिन अनुरोध गरेँ । २८ गते छलफल गर्ने कार्यक्रम तय भयो ।
६ कक्षाका अधिकांश पाठहरुको सूचना मात्र सङ्कलन गर्ने काम भयो । पाठ र अभ्यासहरू तयार गर्ने काम पछि गर्ने भनेर थान्को लगाएँ ।
घरमा स्थानीय लाइनमा दिउँसैदेखि बत्ती थिएन । ल्यापटप बोकेर बेलुका जेठा जेठान लोकबहादुर खडकाको घरमा खाना खान गयौँ । जेठा जेठानको घरमा पनि केन्द्रीय लाइन रहेनछ । माइला जेठान काठमाडौँबाट भर्खरै आउनुभएकोले डिस्टर्ब गर्न नजाने भन्ने भयो । राति घरमै फर्कियौँ ।
२०८३ जेठ २६ गते मङ्गलवार
सोलाबाङ रुकुम
बिहानै उठेर ७ कक्षाको पाठहरूको लागि सूचना सङ्कलन गर्ने तयारी गरेँ । तर करिब करिब सबै पाठहरू स्थानीय स्थलमै पुगेर सूचना प्राप्त गर्नुपर्ने जस्ता थिए । त्रिवेणीका अध्यक्ष गणेश कुमार केसीलाई पाठको सूचनाको निम्ति खारानेटामै आउँछु भनेँ तर उहाँको खलङ्गा जाने काम रहेछ अर्को दिन आउनुहोला भन्नुभयो ।
मनलाल सरलाई दाङबाट देवकुमारीको लागि इन्सुलिन र औषधि ल्याउन पठाएका थियौँ । उहाँले औषधि सोलाबाङको प्रहरी चेक पोस्टमा हिजै छोडिदिनुभएको रहेछ । घरमा बत्ती नभएको बखत बिहान गएर ल्याएँ । अस्पत्तालबाट ल्याएको मलहमले देवकुमारीको घाउ सन्चो नभई पाक्न थालेकोले परीक्षितलाई अर्को औषधि लेख्न लगाएको थिएँ । घमा बत्ती नभएको मौका पारी मेडिकलबाट किनेर ल्याएँ ।
दिउँसो फेरि थप पाठहरूको लागि सूचनाहरू सङ्कलन गर्दा गर्दै ल्यापटपको चार्ज पनि सकियो । केन्द्रीय लाइन आएको छ कि भनी सोध्दा हिजोको आँधीघुइँटोले गर्दा केन्द्रीय लाइनको बत्ती पनि आएको रहेनछ ।
अतः पाठ निर्माणको काम छोडेर घरायसी काममा लागेँ ।
२०८३ जेठ २७ गते बुधवार
सिम्रुतु रुकुम
बिहान ५ बजे नै उठेर नित्य कर्म सकेर कक्षा ८ मा राख्ने निर्णय भएका सहिद दौलथराम घर्तीको पाठहरूको लागि पारिवारिक सूचनाहरू सङ्कलन गर्न जिबाङ तलिगाउँस्थित उहाँको माइलो भाइ खडकबहादुर घर्तीको घरमा जाने तयारी गरेँ । साथै घर र बजारमा समेत पनि बत्तीको विकल्प नभएकोले मनलाल सरले पढाउने गरेको जिबाङ स्कुलमा सोलार बत्तीबाट काम गर्न सकिने भएकोले जिबाङ जाने योजना बनाएँ ।
भोलिको प्रअ बैठकमा बाँडिने पाठहरूको थप तयारीको लागि पनि आज पाठहरूको सेटिङ मिलाउनुथियो । बत्तीबिना सम्भव थिएन । अतः जिबाङ जानै पर्ने भयो । हिजो बेलुका बाँकी रहेको बासी भात मात्र खाएर जाने तयारी गर्दा देवकुमारीले र्याल्ने रोटा पनि तयार गरिदिइन् । जिबाङमा दिउँसो खाने व्यवस्था नभए पनि टेक्न सक्ने खुराक खाएर सिम्रुतुतिर लागेँ ।
बाटोबाटै खड्कबहादुरलाई म आउँदै छु भनेर फोन लगाएँ । अटोबाट सिम्रुतु ओर्लिएँ बेलुका यतै बास बस्ने भनी झोलामा राखिएका लुगालत्त माया होटेलमा छोडिदिएँ । बाटोमा नै त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष गणेश केसीको कोठा पर्ने भएकोले उहाँको कोठामा छिरेँ र पाठमा समावेश गर्नुपर्ने कुराहरू उपलब्ध गराइदिन पुनः अनुरोध गरेँ । उहाँले आफूसँग कोठामा भएका डकुमेन्टहरू देखाउनुभयो । केही टिपेँ केही फोटो खिचेँ र सानासाना डकुमेन्ट पछि फिर्ता गर्ने गरी झोलामा राखेँ । पाठ्यपुस्तक निर्माणमा आजसम्म भएका प्रगतिहरू सुनाएँ । भोलि प्रअको छलफल बैठकमा उपस्थितिको लागि अनुरोध गरेर घोरनेटी भएर जिबाङतिर पैदल उक्लिएँ । घोरनेटी पुग्दैमा स्वाँस्वाँ हुन सुरु भइसकेको थियो । करिब १ घण्टाको ठाडो उकालो चढेर पिपल चौतारीमा पुगी एकछिन सुस्ताएँ । उकालो चढ्दा छुटेका पसिनाको धारोले जिउका लुगाहरू जम्मै भिजिसकेका थिए ।
एकैछिनमा जिउको पसिना ओभाउने कुरै थिएन । चौतारीबाट दुई तीन गरा माथि उक्लँदै गएँ । पानीले धुलोमैलो बगाएकोले वारिपारिको दृश्य सफा र सुन्दर देखिएको थियो । बाटोमा रक्सी लागेर ढलेका २ जना स्थानीय व्यक्तिहरू भेटिए । उनीहरूतिर नलागी केही पाइला अगाडि बढाउनेबित्तिकै खड्कबहादुरको घर आइपुग्यो । संयोगले दौलथका समकालीन खड्क महर पनि त्यहीँ आइपुगेका रहेछन् । खड्कबहादुर द्वयबाट सहिद दौलथका उपलब्ध भएजतिका सूचनाहरू सङ्कलन गरेँ । धेरै कुराहरू उहाँहरूको स्मृतिबाट लोप भइसकेछन् ।
सूचना सङ्कलनपछि खड्कबहादुरकै घरमा खाना खाएर जिबाङको हाइस्कुलतिर उक्लिएँ । दिनभर स्कुलमा बसेर पाठहरूमा शिक्षण सिकाइ उपलब्धि राख्ने र आइकन राख्ने काम भयो । स्कुल बिदा भएपछि मनलाल र म सिम्रुतुतिर झर्यौँ । मनलाल सरले बाटोमा रमिता ओली घर्ती बहिनीकहाँ पसौँ भन्नुभयो । मैले अर्कोचोटि जाउँला भन्दा पनि नमानेकोले बहिनी रमिताको घरमा पुग्यौँ । उनकी छोरी समीक्षा घर्ती जसले मैले निर्देशन गरेको मान्छेको माया नाटकको नायिकाको कुशल अभिनय गरेकी थिइन् उनको विषयमा पनि कुरा भयो । ११ कक्षा पढ्न काठमाडा गएकी रहिछन् ।
रमिताले दिउँसै खाना पकाई ठिक्क पारेकी रहिछन् । लेकाली च्याउको तिहुनसँग निकै स्वादिष्ट खाना खुवाइन् र कोसेली स्वरूप पाँच पाँच किलो जति लेकाली आलु पनि झोलामा राखेर दिइन् । आफ्नो जिउ नै बोक्न गाह्रो भएको बखत आलुको कोसेलीले हलुका बनायो ।
त्यहाँबाट बिदाबारी भई ओरालो लाग्दा एकैसाथ हावाहुरीसहितको पानीले घेर्यो । सिम्रुतु छिटो पुग्नुपर्ने भएकोले हामी कतै ओत नलागेर चिप्लो बाटोमा झर्दै गयौँ । बाटोमा वन आगलागी भएको रहेछ । मनलालले फोटो लिनुभयो । निभाउनलाई लेक लेकबाट पानीको फोहोरा झर्दै थिए । घोरनेटी पुग्दा ओत नलागी नहुने भयो । एकछिन ओत लागेर पानी पर्दा पर्दै झर्न थाल्यौँ । एकै छिनमा पानी बिद्दियो ।
सिम्रुतुमा नरसिँह ओली भाइले पर्खिरहनुभएको रहेछ । मानबहादुरलाई फोन गर्दा घर नजिकै भएकोले घरमै जानुहोस् भन्नुभयो । तर रात पनि पर्न थालिसकेको पानी पनि झन् बढ्दै गएको गाडी पनि नपाइएको र घर जाँदा भोलिको तयारी पनि नपुग्ने भएकोले हामीहरू होटेलमै बस्यौँ । राति १२ बजेसम्म पाठहरू मिलाउने काम भयो ।
२०८३ जेठ २८ गते विहीबार
सोलाबाङ रुकुम
बिहान ४ बजे नै उठेर नित्य कर्म सिध्याई ५ बजे नै शिक्षा शाखामा पुग्यौँ । मानबहादुर बिक लगायत शिक्षाका साथीहरू पनि आइपुग्नुभयो ।
आज पाठ्यपुस्तकमा अन्तिम सुझाव सङ्कलनको लागि प्रअ बैठक बोलाइएको थियो । उनीहरूलाई सबै कक्षाको प्रिन्ट उपलब्ध गराउनुथियो । अस्तिदेखि केन्द्रीय लाइनको बत्ती अवरुद्ध हुँदा प्रिन्ट हुन सकेको थिएन । केही एकाइको सेटिङ नै गर्न बाँकी थियो ।
सकिएजति प्रिन्ट गर्न लगाइयो र बाँकीलाई सेटिङ गर्दै प्रिन्टमा पठाउँदै गर्ने काम द्रुत गतिमा चलिरह्यो । त्रिवेणीका विभिन्न विद्यालयका प्रअहरू ७ बजेदेखि नै आउन थाल्नुभयो । गाउँपालिका अध्यक्ष गणेश केसी पनि आइपुग्नुभयो । करिब ३५ विद्यालयका प्रअ तथा शिक्षकहरू उपस्थित भएपछि ठिक ८ बजे छलफल कार्यक्रम सुरु भयो । गणेश केसीले पाठयपुस्तक निर्माणको उद्देश्यलाई गहन तरिकाबाट व्याख्या विश्लेषण गर्नुभयो । कार्यक्रम उद्घाटन गरेर उहाँ आफ्नो कार्यक्रमतिर लाग्नुभयो । प्रअ तथा शिक्षकहरूले आफूलाई दिइएको विभिन्न कक्षाका पाठ्यपुस्तकको एकाइको अध्ययन गर्ने काम भयो । चिया खाना तथा खाजा शिक्षा कार्यालय नै खुवायो ।
१ बजेदेखि प्रअ तथा शिक्षकहरूले आफ्ना सुझावहरूको प्रस्तुति दिन थाल्नुभयो । केही महत्त्वपूर्ण सुझावहरू प्राप्त भए भने केही पाठ्यपुस्तकको विषय पाठ्यक्रमको उद्देश्य नबुझेरै पनि सतही सुझावहरु प्राप्त भए । प्रअ मित्रहरूले राखेका जिज्ञासा तथा सुझावको सम्बन्धमा मैले बोल्नुपर्ने भयो । प्रविधिको कारणले हामीभन्दा बच्चाहरू धेरै अगाडि पुगेकोले उनीहरूको मनोविज्ञान फेरिएको अवस्थामा यस पाठ्यपुस्तकको उद्देश्य पहिलेझैँ पाठ रटाउने नभई प्रयोगात्मक र अवलोकनात्मक शैलीमा पठनपाठन पनि सोही अनुसार गर्नुपर्ने मन्तव्य राखेँ ।
छलफल कार्यक्रम करिब ३ बजे सकियो । उनीहरूले दिएका सुझावहरूलाई आवश्यकताअनुसार पाठ्यपुस्तकमा (कक्षा २ र ५) को समेट्दा बेलुका ५ बज्यो । बाँकी कक्षाहरू १ र ३ को मनलालले र ४ को मैले घरमै हेर्ने सल्लाह गरी घरमा फर्कियौँ । तर घरमा आइपुगेपछि मात्र थाहा भयो सुझावहरू उल्टोपाल्टो अर्थात् मनलालको भागको मलाई र मेरो भागको मनलाललाई परेछ । मनलाललाई युनिकोड टाइपिङमा कठिनाइ हुनेभएकोले ४ कक्षाको पनि मैले नै हेर्ने भन्ने कुरा भयो । बत्ती बेलुका मात्र आएकोले ७ बजेदेखि पाठ्यपुस्तकको पुनर्सम्पादनमा लागेँ र रातको करिब ११ बजेसम्म काम गरेँ ।
२०८३ जेठ २९ गते शुक्रवार
सोलाबाङ रुकुम
बिहानै उठेर सुझावअनुसार तथा अन्य नमिलेका पाठहरू मिलाउन थालेँ । मनलाल सरले छोरी कविता मार्फत् साटिएको कक्षा ४ को प्रिन्ट पनि पठाइदिनुभयो । ३ कक्षासम्मको हेर्न पनि मलाई दिनभरि लाग्यो ।
दिउँसो जितबहादुर शाह सरले फोन गरेर छलफल बैठक कस्तो भयो भनी सोध्नुभयो । मैले राम्रो भएको प्रतिक्रिया दिएँ । यस पाठ्यपुस्तकको पाठ्यक्रम निर्माता नै जितबहादुर शाह सर हुनुभएकोले उहाँलाई छलफल बैठकमा उपस्थित गराउनको लागि मैले अध्यक्ष गणेश केसी र शिक्षा अधिकृत मानबहादुर विकलाई घचघच्याइरहेको थिएँ । तर उहाँहरूलाई शाह सरलाई उपस्थित गराउन खबर नै गर्नुभएनछ ।
शाह सरले कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक तयार गर्दा पनि पाठ्यक्रमलाई पूर्ण रूपमा आधार लिनुपर्ने बताउनुभयो । पाठ्यक्रममा केही विषयमा बढी विस्तार भएको कतै उही कुरा दोहोरिएको र केही कुरा छुटेको हुँदा पाठ्यपुस्तक तयार गर्दा ती कुराहरू पनि समेट्न आवश्यक थियो । अतः मैले उहाँको निर्देशनमा उहाँकै काम गर्नुपर्ने भएकोले टाउको हल्लाउनुबाहेक अर्को उपाय थिएन ।
शाह सरको कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक करिब १२० पृष्ठको हाराहारी हुनुपर्ने र कक्षा ४ देखि ८ सम्मको पाठ्यपुस्तक १५० पृष्ठभित्रको हुनुपर्ने बताइरहनुभएको थियो । तर कक्षा बढ्दै जाँदा विषयवस्तु सिकाइ स्तर ज्ञान बढाउँदा पाठ अभ्यास र परियोजना कार्यहरू पनि बढाउनै पर्ने हुन्थ्यो । कक्षा ५ को नै १७५ पृष्ठ हाराहारीको भइसकेको थियो भने उही क्षेत्रमा उही विद्यालयमा पढाइने कक्षा ६ देखि ८ सम्मको पुस्तक त्यो भन्दा सानो हुनै -सक्दैनथ्यो । यसको लागि कक्षा ३ देखि ५ सम्मका पाठहरू घटाउनुपर्दथ्यो र पुनः कक्षा १ देखि ५ कै पाठ्यपुस्तकमा समय दिँदा असार १५ भित्र कक्षा ६ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माणमा समय दिने फुर्सद नै हुँदैनथ्यो ।
शाह सरसँग कुराकानी पछि फेरि सम्पादनमै लागेँ । दिउँसो साढुभाइ अशोक भेटघाट गर्न आउनुभयो । तर मैले उहाँलाई भन्दा पाठ्यपुस्तक पुनर्सम्पादनमै प्राथमिकता दिनुपर्ने बाध्यता भएकोले मैले उहाँसँग कुरा गर्दै आफ्नो काम गरिरहेँ । उहाँ एकछिन बसेर फर्कनुभयो ।
बेलुका ४ बजेतिर कक्षा १ देखि ५ का सबै कक्षाका पाठ्यपुस्तकको पुनर्सम्पादनपछि मेल गर्न खोज्दा बत्ती थिएन । ६ बजेतिर बत्ती आएकोले सबै पाठ्यपुस्तक मनलाल सरलाई मेल गरिदिएँ ।
आज बेलुका साढे ७ बजेदेखि रुकुमेली वाङ्मय अधिष्ठानको तेह्रौँ भर्चुअल शुभकामना तथा जन्मजयन्ती मनाउने कार्यक्रम थियो । आजकै दिन नेपाली साहित्यकारहरू मवीवी शाह र सूर्यविक्रम ज्ञवालीको जन्मदिवस परेकोले उहाँहरूको बारेमा भूपेन्द्रा मल्ल र मनलाल ओली सरले परिचय र योगदानको परिचर्चा गर्ने कार्यक्रम थियो । तर बारम्बारको बत्ती अवरोधले साढे ७ बजे कार्यक्रम सुरु हुन सकेन । लगत्तैपछि बत्ती आए पनि फेसबुक तथा मेसेन्जर नचलेकोले साथीहरू जोडिन सक्नुभएन । ८ बजे मात्र भूपेन्द्रा म्याडमसँग कुरा भयो । आज कोही नआएको हुँदा कार्यक्रम स्थगित गरी यो कार्यक्रम भोलि सञ्चालन कुरा भएकोले मैले गुगल मिट बन्द गरी कक्षा ६- ८ को विषयवस्तु अध्ययनतिर लागेँ । राति ११ बजे देवकुमारीलाई औषधि खुवाएपछि आजको दिनलाई बिट मारियो ।
२०८३ जेठ ३० गते शनिवार
सोलाबाङ रुकुम
५ बजे नै उठेर पुनः कक्षा ६-८ को पाठ निर्माण गर्न सूचनाहरू सङ्कलन गर्नतिर लागेँ । स्थानीय लाइन ७ बजेदेखि ९ बजेसम्म जाने गरेकोमा आज ६ बजे नै बत्ती गयो ।
बत्ती नभएको मौका छोपेर नुन तेल साबुन ल्याउन बजारतिर लागेँ । घरमा फिल्टरको प्रयोग नगरेर फालेको वर्षौँ भइसकेको थियो । फिल्टरलाई पुनः प्रयोगमा ल्याउनको लागि फिल्टरका क्यान्डलहरू ल्याएँ । काठमाडौँबाट काम गर्न आएकाहरूले सोलाबाङका विभिन्न ठाउँमा काम गरिरहेका थिए । उनीहरूले काम छिटोछरितो र राम्रोसँग गर्ने भएकोले घरको आँगन र भित्तामा स्कर्टिङ गर्न उनीहरूलाई सम्पर्क गर्नू भनेर देवीले भनेकी थिइन् । गत वर्ष खड्कबहादुर रावललाई आँगन बनाउन लगाउँदा खाल्टाखुल्टी भई पानी परेपछि आँगन जलाम्मे हुने अवस्था थियो । त्यसैको समाधान खोजिरहेको थिएँ । गाउँमा काम गर्न जान्ने मिस्त्रीहरूलाई फुर्सद हुँदैनथ्यो । जसलाई फुर्सद हुन्थ्यो उनीहरूले मिहिन तरिकाले काम गर्न जान्दैनथे र झन् बिगारिदिन्थे ।
अतः बजारमा गएको बेला उनीहरूको खोजी गरेँ । उनीहरुले घरमै आएर काम हेरफेर गरी पर्सिदेखि काम सुरु गर्ने वचन दिए । कामको लागि गिट्टी त घरमै प्रशस्त थियो । तर बालुवा थोरै भएकोले पुग्देन भने । मसिनो बालुवाको खोजी गर्दा धिरन सिर्पाली बालुवा आफूले दिने तर बोक्ने मान्छे खोज्न अनुरोध गरे ।
६ बजे गएको बत्ती १२ बजेसम्म आएन । त्यस बेलासम्म सङ्कलित डकुमेन्ट अध्ययन गर्नतिर लागेँ ।
दिउँसो केशव प्रसाद न्यौपानेको पुस्तकको निम्ति उहाँका छोरा विपुल न्यौपानेले फोनबाट सोधपुछ गर्नुभयो । मैले अस्तिकै आइतबार डमी बनाउने काम सकिएको हुनुपर्ने बताएँ । विपुलले अझै प्राप्त नभएको गुनासो गर्नुभयो । सौरभ सापकोटालाई बुझ्न खोज्दा उहाँको फोन पनि उठेन र कलब्याक पनि भएन । कमल ढकालको मोबाइल नै स्विच अफ थियो ।
बत्ती आएपछि कक्षा ६ ८ को पाठ निर्माणतिर लागेँ । दिउँसो देवी आएकी थिइन् । देवकुमारी र देवीले हरिया मकै उसिनेर ल्याइदिए । घरमा फलेको काँक्रो ल्याइदिए । तर मैले उनीहरूसँग कुरा गर्ने फुर्सद निकाल्न सकिनँ । १५ दिनपहिले मकै गोड्दा दुख्न थालेका हातका कुइनाहरू अझै दुखिरहेका छन् । अस्तिदेखि ढाड पनि बेसरी दुख्न थालेको छ । सायद कम्प्युटरमा घोप्टिएर गिट्टी कुटेझैँ किबोर्ड थिचिरहनुपर्ने कामले होला । हड्डी दुखाइलाई कम गराउने भनी किनिएका इन्फ्ला, जाइफलको तेल, सन्चो, नवरत्न तेलको प्रभाव पनि फिक्का हुँदै गइरहेको छ ।
मनलाललाई फोन गर्दा कक्षा १-५ को मैले पठाएको मेल नखुलेको बताउनुभयो । आफू पनि बारीमा काम गर्दा ढुङ्गाले खुट्टामा चोट लागेर घाइते भएको बताउनुभयो । दौलथरामको सम्बन्धमा परिवारले धेरै तथ्यहरू उपलब्ध गराउन नसकेको हुँदा मनलाल सरले केही कुरा आफूलाई जानकारी भएको बताउनुभएको थियो । मैले उहाँलाई दौलथरामको विषयमा सूचना दिन बारम्बार अनुरोध गरेँ । तर उहाँले अझै दिनसक्नुभएको छैन । सायद उहाँ अर्कै काममा लागेकोले हुनुपर्छ ।
देवकुमारी र देवी बाहिरतिर घुम्न निस्किए । म पाठ निर्माणकै काममा घोत्लिएँ । बेलुका देवकुमारीले चिन्ताराम दाइको घरबाट ताततातो खिर बोकेर आइन् । उनले उतै खाइछन् । असाध्यै मिठो खिरले खाजा र बेलुकाको खाना दुबैको काम गर्यो । घरमा खाना पकाउनुपरेन ।
दिनभरमा करिब ३ ४ वटा पाठको खेस्रा निर्माणपछि बेलुका हिजै स्थगित गरिएको कार्यक्रमलाई गुगल मिटबाट सञ्चालन गरेँ । आज भूपेन्द्रा म्याम मनलाल सर र म गरी ३ जना मात्र उपस्थित थियौँ । मनलाल सरले सूर्यविक्रम ज्ञवालीको बारेमा प्रस्तुत गर्नुभयो । भूपेन्द्रा म्याडमले मवीवी शाहको बारेमा बताउनुभयो । मविवि शाह राजनीतिकर्मी मात्र नभई अनगिन्ती सामाजिक आर्थिक विकास र साहित्यको उन्नयनमा पनि भूमिका रहेको प्रज्ञा प्रतिष्ठानको स्थापना भौतिक व्यवस्थापन विश्वविद्यालयको स्थापना सामान्य काम नभएको तर अहिले उनको उपेक्षा गरिएकोमा चिन्ता र रोष प्रकट गर्नुभयो ।
हाम्रो यस कार्यक्रममा सहभागिता घट्दै गएकोले आगामी दिनमा नचलाउने कि भन्ने कुरा पनि चल्यो तर मनलाल सरले यति महत्त्वपूर्ण कार्यक्रम २ जना मात्र हुँदा पनि चलाउनुपर्ने सुझाव दिएर आँट थपिदिनुभयो ।
गुगल मिट सकिएपछि म पुनः कक्षा ६ ८ को पाठहरूको सूचना सङ्कलन र खेस्रा पाठ निर्माणतिरै लागेँ । राति ११ बजे देवकुमारीको घाउ ड्रेसिङ गरेर औषधि खुवाएपछि दुखिरहेको हात र ढाडलाई विश्रामको मौका दिइयो ।
२०८३ जेठ ३१ गते आइतवार
सोलाबाङ रुकुम
बत्ती आएको मौका छोपी बिहानै उठेर हाम्रो त्रिवेणी विषयका केही पाठहरू निर्माण र केही सूचनाहरू सङ्कलन गरियो । चिन्ताराम जेठानले आजबाट दुध ल्याउन सुरु गर्नुभएको थियो र बहिनीसँग तल कुरा गर्दै हुनुहुन्थ्यो तर मैले बत्तीको अवसर छोप्नलाई तल झरिनँ । तल झर्दा गफसफ गर्दा गर्दै यत्तिकै आधा घण्टा बित्ला भन्ने डर थियो ।
सधैँ साढे ६ बजे जाने बत्ती आज सवा ७ बजेसम्म गएन । हप्तौँदेखि बत्ती नआएकोले उपभोक्तालाई सहुलियत दिन अब बिहान बत्ती नजाने भयो कि भनी मन खुसी पनि भयो । तर अपेक्षा विपरीत सवा ७ बजे झ्याप्प बत्ती गयो । साढे ६ बजेदेखि सेभ नगरेका केही डकुमेन्ट यही विश्वासले गर्दा उड्न पुगे । करिब ४५ मिनेटको मिहिनेत खेर गयो ।
बत्ती गएपछि साढे नौ बजे वा ढिलोमा १० बजेसम्म आउँछ भन्ने पुनर्विश्वास गरी देवकुमारीलाई खाना पकाउन सहयोग गरेँ । बारीमा तरुल लगाएँ । कमला बुहारीले पानीको मुहानमै गएर बढाएको पानीले देवकुमारीलाई छ्याल्लब्याल्ल गर्न पनि पुग्यो ।
साढे नौ बजे त बत्ती आइहाल्छ भनेर नौ नबज्दै खाना पनि खाइसकियो । तर साढे नौ बजे बत्ती आएन दश बजेसम्म त आउला भनी पर्खँदा १० बजे पनि आएन हुँदा हुँदा ११ बजेसम्म आएन । केही दिनदेखि कपालमा मेहन्दी लगाएको थिइनँ बत्ती नआएको उपयोग मेहन्दी लगाउनमा गरियो । मेहन्दी सुकाएर बस्नुभन्दा छिटो धोइयो भने बत्ती आउनेबित्तिकै काम गर्न पाइन्छ भनेर हतार हतार धोइयो । लगाएको मेहन्दी खेर मात्रै गयो १२ बजेसम्म पनि बत्ती आएन । देवकुमारी पनि आज अलि जिउ अस्वस्थ छ भनेर खाटमै सुतिरहिन् । दुबैका हात खुट्टा दुख्ने बिरामीले धुन बाँकी लुगाहरू खेरखार पारी धुने काम गर्दा २ बज्यो । २ बजेसम्म पनि बत्ती आएन ।
भान्छामा नुन तेल सकिएको थियो । लुगा धुने र नुहाउने साबुनहरू पनि सकिएका थिए । देवकुमारीले बजार गएर ल्याउनुहोस् भनी अत्याइरहेकी थिइन् । तर बत्ती आयो भने यत्तिकै १ घण्टा जान्छ भनेर साँझ जाने प्रतिज्ञा गर्दै आलटाल गरेर दिन कटाइयो । बत्ती नआएको मौका मनलाल लगायतका सरहरूलाई फोन गर्नमा सदुपयोग गरियो । सदुपयोग के भन्नु मनलाल सरले जति पटक फोन गर्दा पनि तपाईँले पठाएको फाइल खुल्दै खुलेन मात्रै भन्नुहुन्थ्यो । तिलक परियार जय देवकोटाहरूलाई रुकुममा भएका कला संस्कृतिका कामहरू उपलब्ध गराइदिन अनुरोध गरेँ । तिलक परियारले किरणबाबु पुनले ध्वस्त पार्यो भन्नुभयो । किरणबाबु पुनलाई सांस्कृतिक संस्थानको महाप्रबन्धक बनाउनुमा जनार्दन दाइकै हात थियो । सायद तिलक परियार किरणबाबु भन्दा अनुभवी थिए होलान् तर अरू कुनै सुविधाको कारण तिलकले किरणलाई छोडिदिए होलान् । दाइले पार्टी छोडेकोले तिलकलाई पनि घाटा लागेको महसुस भयो ।
बत्ती नआएको कारण सोध्छु भनी नरेशकुमार ओलीलाई फोन गरेँ उनले फोन उठाएनन् । बेलुकातिर जेठा जेठानले फोन उठाउनुभयो र दलाखेत जाने बाटो निर्माणको क्रममा बत्ती अफ गरिएको हो ६ बजे आउँछ भनेर आश्वासन दिनुभयो ।
तर दिनभरि गएको बत्ती साँझ के आउला र भनी विश्वास गरिएन । छिटै बजार जाने योजनाले देवकुमारीले साढे ५ बजे नै खाना बनाइसकिन् । वरिपरि लट्टे जति पनि थियो । टिपेर साग बनाइयो । बिहानको दुध केही बाँकी नै थियो । दुधसँग साग र रोटी खाइयो । ६ बजे बजार जाने तयारी गर्दा गर्दै नभन्दै बत्ती आयो । बत्ती छोड्ने कि बजार छोड्ने । भान्छाको नुनतेल सकिएकोले देवकुमारीले बजार जानैपर्ने अड्डी कसिन् । सोलाबाङ बजारमा गएर किनमेल गर्यौँ । बजारसम्म आइपुगेपछि दाइहरूको घरतिर पनि जाऊँ भन्न थालिन् । खाना खाएकै थियौँ खाना पकाउन झन्झट दिनुपर्ने थिएन । म माइला जेठानको घरमा गएँ । देवकुमारी जेठाकोमा । माइला जेठानको घरमा खाना खाइसक्नुभएको थियो । जेठान सुतिसक्नुभएछ । अनुशा सन्जिबहरूसँग कुरा गरेर एकछिन बसियो । जेठा जेठानको घरमा जाँदा एकछिन बस्न कर गर्नुभयो । काँक्रो र मेवा काट्ने कुरा भयो । हामीले मानेनौँ । बरू केरा र मेवा लिएर घरमा आयौँ । घरमा पुग्दा १० बजिसकेको थियो । दिनभरको बत्तीको क्षतिपूर्ति आएको बखत गर्नै पर्यो । साढे १२ बजेसम्म काम गरेर मात्र जेठ महिनालाई बिदा दिइयो ।
![]()