२०८२ चैत्र ७ गते शनिवार
दुवाकोट भक्तपुर
हिजोको बर्खे झरीले जिउमा पनि तातो झरी खन्याएपछि बिहानपख अलि बिसेक भएजस्तो छ ।
अमेरिका र इजरायलले इरानको नामोनिशाना मेटाउन लागिपरेका छन् । खास गरी इरानमा रहेका आणविक भट्टी र हतियार कारखानाहरूमा बमबारी भइरहेको छ । इरानले भने आफ्नो सेनालाई झन् झन् मजबुत बनाइरहेको छ । इरानका प्रमुख नेतालाई मारेपछि सैनिक तथा प्रशासनिक पदाधिकारीहरू पनि मारिइरहेका छन् । हिजै इरानी प्रमुख प्रवक्ता पनि मारिएको खबर आएको छ । इरानले पनि अरबेयन देशहरूका तेल भण्डारमा आक्रमण गरेर आर्थिक रूपमा अमेरिका इजराइललगायत बाँकी विश्वमा पनि इन्धनको हाहाकार बनाएर अमेरिकालाई गलाउने दाउमा छ । उत्तर कोरिया र चीन त जमजमाएका होलान् तर प्रत्यक्ष रूपमा इरानको सहयोगमा उत्रिएका छैनन् ।
हिजो नेपालको मध्यभागमा कालो बादल र हावाहुरीले खुबै बमबारी मच्चायो । बिहानपख केही विश्राम गरेको देखिएको छ । तर हातहतियारसहितका वायुसेनाहरू आकाशलाई धुम्म पारेर पृथ्वीका प्राणीलाई तर्सो हालिरहेको छ । तर प्राकृतिक बमवर्षा भने बच्ने उपाय अपनाउने हो भने उति हानिकारक देखिँदैन ।सामान्यतया बलमिच्याइँ गरेर जसले प्राकृतिक चेतावनीलाई उल्लङ्घन गर्दै बाहिर निस्कन्छन् उनीहरू मात्र प्राकृतिक बमबारीको निशाना बन्छन् । त्यसो त कमजोर संरचना कमजोर प्राणीहरू नै हताहत हुने गरेका छन् । आज अपरान्हदेखि बादलसेनाहरू पूर्वतिर सरिसकेकोले उज्यालोको मुख देख्न पाइएको छ । बाहिर ननिस्किनहुने जीवहरू त झन् खुसियाली मनाइरहेका होलान् ।
मेरो शरीरमा पनि रुघाखोकीले हप्तादिन अघिदेखि बमबारी गरिरहेको छ । यो समयमा सकभर मुटु, फोक्सो र मृगौला बचाउनु नै बुद्धिमानी ठहर्याएको छु । तर रुघाखोकीले खोजी खोजी अन्य अङ्गहरूलाई शिथिल तुल्याइसकेको छ । मेरो शरीरको प्रतिरक्षा प्रणाली कमजोर भयो भने यो सामान्य ठानिएको रोगले निमोनिया बमद्वारा ताकी ताकी महत्त्वपूर्ण अङ्गहरूमा आक्रमण गर्ने नै छ ।
शरीरको प्रतिरक्षात्मक सेनाहरू अहिलेदेखि होइन मेरो नुनको सोझो गर्न थालेको । लगभग ५९ वर्ष अथवा ७०८ महिनासम्म अर्थात् २१ हजार दिनसम्म अनेकौँ रोगहरूसँग लड्दै आएका छन् र मेरो सीमानाहरू जोगाएकै छन् । धन्य छु यो प्रतिरक्षा प्रणालीदेखि । तर मेरो शरीर बुढिएसँगै यी सेनाहरू पनि कमजोर हुँदै जानेछन् र एक दिन मैले आत्मसमर्पण गर्नु नै छ । त्यसको लागि पनि म तयार नै छु । लागेको थियो कतै यही सामान्य ठानिएको रुघाखोकीबाटै परास्त हुन के बेर ?
तर त्यस्तो भएन । आज दिउँसोदेखि रुघाखोकीले मेरो शरीरमा युद्ध बिराम गरेको छ । उसले हातहतियार बिसाएपछि मैले पनि तातोपानी, बेसारपानी र कालीमरिचका हतियारहरू बिसाएको छु । तन र मन अलि हलुको भएको छ ।बिहानै रुघाले युद्धबिरामको घोषणा गरेको भए कम्तीमा ओम रिजालको पुस्तक विमोचनमा जान त पाइन्थ्यो भनेर पछुतो लागेको छ ।परिशीलन प्रतिष्ठानको नवीकरणको सिलसिलामा थप्नुपर्ने निर्णयहरूमा हस्ताक्षर गराउन प्रतिष्ठानका सदस्यहरूको घरघरै जाने योजना भने रद्द गर्नुपर्यो । देवकुमारीको गिँजा कोट्याएर खाडल बनाई हिजो झिकिएको दाँतको डोब आज असह्य दुखिरहेकोले उनी पीडाले छटपटाइरहेकी छिन् ।एकछिनमा कम हुन्छ भन्दै ढाढस दिनु र दुखाइ कम गर्ने ओखती खुवाउनुभन्दा अर्को विकल्प मसँग छैन ।
बेलुका मैले नै खाना पकाएँ ।दिउँसोतिर डा अमर शाह सरले बेलुका भर्चुअल माध्यमद्वारा आफ्नो कविता वाचन कार्यक्रम भएको जानकारी गराउँदै पासकोड दिनुभएको थियो ।बेलुका खाना पकाउँदा पकाउँदै ढिला भएकोले अलिकति अबेर जोडिएँ ।
कार्यक्रमको नाम Virtual Poetry- डा. अमर शाह साँझ भन्ने रहेछ । कार्यक्रम सञ्चालक शरद परासर मरहठ्ठा हुनुहुन्थ्यो भने अन्य सहभागीहरूमा डा नवराज देवकोटा, नम्रता, प्रद्युम्न, प्रदीपचन्द्र भट्टराई, गोविन्द बराल, मुक्ती गौतम नित्यानन्द खनाल, भरत श्रेष्ठ, हिमलाल श्रेष्ठ, पदमलाल भण्डारी, रामजी घिमिरे, पवित्रा अर्याल, गोविन्द शर्मा पदमकिरण राणा र जयमुकुन्द खनाललगायत बाइस तेइस जनाको सहभागितामा डा अमर शाहले कविता वाचन गर्दै हुनुहुन्थ्यो । कविता मिठा र सुन्दर थिए । कविता वाचनपछि प्रत्येक स्रोतालाई अमर शाह र उहाँका कविताहरूको बारेमा भन्न लगाइन्थ्यो । मेरो पनि पालो आइपुग्यो । अन्तिममा जयमुकुन्द खनालले धारणा राख्नुभयो ।
कार्यक्रम सकिएपछि कुरा गरौँला भनेर मेसेज पठाउनुभएको रहेछ क्यानाडामा सपरिवार रहनुभएका मुक्ति गौतम सरले । पछि उहाँ र म्याडम कमला रुपाखेतीसँग कुरा भयो । बुबाको आत्मकथा प्रकाशन गर्ने विषयमा छलफल भयो ।
सुत्दा ११ बजिसकेको थियो ।
![]()
Post Comment