×

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

सोलाबाङ रुकुम

आज बिहानै उठी घरको अगाडि लगाइएको मेथी चना र सँगालेँ । बिहान हरिबहादुर मामा आएर घरको २ वटा घारमा माहुरी आएर बसेको जानकारी गराउनुभयो । मैले ख्याल गरेको थिइनँ । रित्ता घारहरूमा माहुरी राख्न पाए हुन्थ्यो भन्ने चाहना थियो । बरु पच्चीस सय तीन हजार हालेर भए पनि माहुरी पाल्ने शौख थियो । तर समय नमिल्दा र भन्नेबित्तिकै माहुरी नपाइएकोले मेरो इच्छा अधुरो नै थियो ।

माहुरी आफै आएर बसेको देखी अत्यन्तै खुसी लाग्यो । चाँडचाँडो देवकुमारीलाई खबर गरेँ । देवकुमारीले परीक्षित अस्मिता र हेटौँडा नातिलाई खबर गरिछन् ।

दिउँसो गहुँ र तोरीको बिस्कुन हालियो । दिनभर चर्को घाम लागेका थिए । गहुँले बेसरी सुक्न पाए । अरुको घरमा खान जाँदा समय मात्र बर्बाद हुनेभएकोले घरमै खाना पकाएँ । बिहान बेलुका पकाउन र भाँडा धुन थप समय नजाओस् भनी बिहान र बेलुकाको निम्ती एकैचोटि खाना पकाएँ । देवकुमारीले मास र मसुरो काठमाडौँबाट पठाइदिएकी थिइन् त्यसैको दाल पकाएँ । चामल पहिलेकै थियो । तल्लो पाटामा फुलिसकेको तोरी रहेछ । त्यसको साग पकाएको त काँडाको तरकारी पकाएजस्तै पो भएछ । सकी नसकी अलिअलि खाएँ ।

दिनभर यसोउसो गरी बिताइयो । सल्लेरीको कार्यक्रमको संस्मरण पूरा गरेँ । बोलाऊँ भने तिमीलाई शीर्षकको पत्र शैलीको कथाको पनि सुरुवात गरेँ ।

बेलुकापख बिस्कुन उठाएँ र ड्रममा राखेँ । काट्न बाँकी गहुँ काटेँ । रात परिसकेकोले बाँकी रहेको मेथी र चना सँगाल्न सकिएन । मनलाललाई यतै बास बस्न बोलाएको थिएँ उहाँ पनि आउनुभएन । बिहान पकाएकै खाना खाएर सुतेँ ।

Loading

Post Comment

You May Have Missed