२०८२ साल चैत्र ८ गते आइतबार
दुवाकोट भक्तपुर
परिशीलन स्मृति प्रतिष्ठानको निम्ति जिल्ला प्रशासन कार्यालयले तोकेका थप कार्य तथा निर्णयहरूमा साधारण सदस्यहरूको छुट हस्ताक्षर गराउन परिक्षितसँग बिहानै सानोठिमी पुगेँ । ठुल्दाजुका छोराछोरीहरू सानोठिमीको मगरगाउँमा एउटै घर भाडामा लिएर बसिरहेकोले भुषण सङ्गीता सुषमा र सुमनलगायत उनीहरूको परिवारलाई एकैचोटि भेट्न पाइयो । पारिवारिक कुराहरू पनि आदानप्रदान भयो ।भुषणले निर्वाचन आयोगबाट काज फिर्ता भएकोले अब सरुवा भएको कार्यालय कञ्चनपुरमा जाने तयारी गरिरहेको बतायो । सुमनले नवलपरासी छोटी भन्सार कार्यालयबाट शिक्षा विभागमा सरुवा गराउनको निम्ति काठमाडौँमा आएको बतायो ।
मैले प्रतिष्ठानको नवीकरणको लागि कुरा राख्दा सुमनले प्रतिष्ठानका सबै गतिविधि झल्कने खालको वेबपेज नै तयार गरिदिने प्रस्ताव राख्यो । म असाध्यै खुसी भएँ । सुमनले नै मलाई बहिनी पुनमको कोठामा पुर्याइदियो । जुवाइँ सचिन जादभ अफिस जाने तयारी गर्न थाल्नुभएको रहेछ । पुनमले भने बेलायत जाँदा आफ्नो साविक जागिरबाट रिजाइन गरेकोले अर्को जागिरी खोज्ने क्रममा रहेको बताइन् । गत वर्ष अध्ययनको सिलसिलामा पुनम बेलायत गएकी थिइन् र नेपाल फर्केको १ महिनाजति भयो ।
कामकै सिलसिलामा बहिनी किरणको कोठामा पुगेँ ।कृष्ण भाइ पनि आएका रहेछन् । कृष्ण अहिले रुकुम पूर्वको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख छन् ।
मैले पुनमकै कोठामा पाकेको खाना खाएँ र सचिनसँगै स्कुटीमा कोटेश्वरसम्म गएँ । अफिस पुगेपछि सुमनले प्रतिष्ठानको वेबपेजको निम्ति कोड नम्बरहरू र अन्य जानकारी मागेअनुसार उपलब्ध गराउँदै गएँ ।प्रारम्भिक सूचनाहरू राखेर परिशीलनको प्रतिष्ठानको वेबपेज तयार गरेर सुमनले पठाइदियो ।अब प्रतिष्ठानसम्बन्धी सबै गतिविधिहरू यसै वेबसाइटमा राख्नेछु । तर यो फ्री भर्सन भएकोले जुनसुकै बखत डिज्याबल हुने सम्भावना भएकोले डाटाहरूको ब्याकअप राख्न सुझाव दिएको छ सुमनले ।सो वेबपेजको युजरनेम र पासवर्ड सुमनले मलाई उपलब्ध गराइदिएकोले मैले सक्ने सूचनाहरू मैले आफै थप्दै गएँ ।
लेखनकुञ्जको जिम्मेवारी लिएको भाषा सम्पादनको काम पनि गरेँ । आज करिब ५००० शब्दजति सम्पादन गरी कुल १९००० शब्दको सम्पादन गर्न सफल भएँ । अझै ९० हजार शब्दको सम्पादन गर्न बाँकी नै छ ।
फुर्सदको बेला लेखनकुन्जका कर्मचारीहरूसँग यस सृष्टिमा अद्भूत विशेषता बोकेको मानव जीवन र अन्य प्राणी जगतको बारेमा छलफल भयो । भौतिकवादले सबै कुराको रहस्य खोल्दै गए तापनि सृष्टिको सम्बन्धमा एउटा रौँसम्मको अध्ययन र निष्कर्ष वा अनुमान गरेको भन्ने कुराहरू भए ।
बेलुका घर फर्कँदै गर्दा जितबहादुर शाह सरले आफू पनि ठिमीमा रहेको बताउनुभयो । म ठिमीमा ओर्लिएँ । ठिमी चोकमा जित सरसँग भेट भएपछि कुरा गर्दै ठिमी स्थित उहाँकी छोरीको कोठामा पुग्यौँ । कुराकारीनमा खासगरी गएको चुनाव नेताहरूको चरित्र तथा अन्य साहित्यिक छलफल भए । त्यहाँबाट म नजिकै रहेको बहिनी गङ्गा खड्काको कोठामा पुगेँ । जुवाइँ तारा कुँवरसँग पनि भेट भयो । निकट भविष्यमा प्रकाशन गर्ने योजना राखिएको आमाबाको स्मृतिग्रन्थको निम्ति कुँवर परिवारको वंश वृक्षभित्रका केही नामहरू टिपेँ । त्यहाँबाट भदाहा टेकबहादुर खडकाको दधिकोटस्थित घरतिर लागेँ । टेकबहादुर भदाहा सुर्खेतस्थित नेपाल बैँक लिमिटेडका हाकिम छन् । अस्ति आफ्नो बुवाको ४५ औँ पुण्य तिथिको सिलसिलामा काठमाडौँ आएका रहेछन् तर आजै उनी आफ्नो अफिसतिर फर्किएको खबर पाएँ । उनको कोठामा भदैनी बुहारी सुष्मा गिरी उनका २ छोराछोरीहरू र भदाहा कमल पनि रहेछन् । अस्ति भर्खर सम्धी तारा खडकाको निधन भएकोले यो परिवार शोकमग्न अवस्थामा नै छ ।
टेकबहादुरको घरबाट निस्कँदा रात परिसकेको थियो तर नजिकै युवराज खडका भाइको घर भएकोले त्यतातिर लागेँ । युवराज पनि आजै चितवनस्थति आफ्नो कार्यालयतिर लागेछन् । सपना र उनका छोराछोरीहरूसँग भेट भयो । त्यहाँबाट याङ्गो बाइक बुक गरेर म दुवाकोटस्थित आफ्नो घरमा आइपुगेँ । याङ्गोले दधिकोटबाट दुवाकोटमोडसम्मको जम्मा ६० रुपैयाँ मात्र लियो ।देवकुमारी र परीक्षित खाना पर्खेर बसेका रहेछन् ।
बेलुका रुँघाका मनबहादुर केसीसँग भिडियोकल मार्फत् अस्तिको भेटघाटसम्बन्धी सङ्क्षिप्तमा कुराकानी भयो ।आफूहरू सकारात्मक रहेको बताएका छन् । देवकुमारीको मन उनीहरूप्रति थोरै सकारात्मक भएको छ ।
राति अबेरसम्म प्रतिष्ठानका कागजातहरू नयाँ वेबपेजमा अपलोड गर्ने काम गरेँ ।
![]()
Post Comment