संस्मरण

मपसाले नदेखेको एउटा कथा

हेनरी रेने अल्बर्ट गी द पासाँ (मापासाँ), जो आजभन्दा १३० वर्षअघिसम्म बाँचेका विश्वप्रसिद्ध फ्रान्सेली लेखक थिए, उनलाई विश्व वाङ्मयमा अग्रणी लघुकथाकारको रूपमा स्वीकारिएको छ । उनले मानव जीवन, जीवनका गन्तव्यहरू र सामाजिक शक्तिहरूलाई गञ्जागोल र अस्तव्यस्त देख्दथे । तिनै बिडम्बनाहरूलाई आफ्ना कथाहरूमा मार्मिक ढङ्गबाट चित्रण गर्थे। यसै कारणले कतिपय साहित्यकारले उनलाई निराशावादी साहित्यकारको बिल्ला भिराइदिएका छन् । साहित्यमा निराशावाद अक्षम्य त नभनौँ अस्वीकार्य भने ठानिन्छ । उनले भन्थे रेः ‘अधिकांश मान्छे मखुण्डोधारी छन्, मखुण्डो नभिर्ने वेश्या र किसान मात्र हुन्’। मोपासाँले लेखेको पहिलो कथाले नै उनलाई विश्वप्रसिद्ध कथाकारको रूपमा परिचित गराइदियो । जम्मा ४३ वर्ष मात्र बाँचेका मोपासाँले लघुकथाहरू नै २५ दर्जनभन्दा बढी लेखेका छन् । उनी फ्रान्सको सट्टा आजको जस्तो बिडम्बनापूर्ण नेपालमा जन्मेको भए उनले कति दर्जन व्यङ्ग्य कसिएका लघुकथाहरू रच्दा हुन् ?

मोपासाँले नदेखेको नेपालकै एउटा कथा हो यो । प्रसङ्ग हो मपसाको निर्वाचनको । (पृय पाठकवृन्द नझुक्किनुहोला है, मोपासाँको प्रसङ्ग माथि नै सकिइसकेको छ र अब मपसाको प्रसङ्ग विधिवत् प्रारम्भ भएको छ ।)

गत शनिबार मपसाको एउटा सभ्य र भव्य सभामा म पनि आमन्त्रित थिएँ । उद्घाटन सत्रमा एक दर्जनभन्दा बढी विशिष्ट साहित्यकारहरूलाई सम्मान गरियो । केही अतिथि र प्रमुख अतिथिको मन्तव्यपछि उद्घाटन सत्रको समापन गरियो ।

बन्द सत्र सुरू भइनसकेको खाली समयको मौका छोप्दै मैले सुप्रसिद्ध प्रगतिशील साहित्यकार अमर गिरीजीलाई भेटेँ । अमर गिरी जो आजभन्दा ३५ वर्षपहिले मेरै जिल्लाको सिम्रुतुस्थित विद्यालयमा अध्यापन गर्नुभएको थियो र मैले पनि लगत्तै सोही विद्यालयमा अध्यापन गरेको थिएँ । उहाँ सिम्रुतुबाट हिँडेपछिका उहाँका प्रत्येक गन्तव्य र बिसौनीसँग म परिचित नै थिएँ । दाङको रामपुरमा जन्मिएर कवि, चिन्तक तथा समालोचकको प्रसिद्धि कमाएका अमर गिरीले राप्ती साहित्य परिषद्को अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य, चलचित्र बिकास बोर्डको कार्यकारी अध्यक्ष र प्रगतिशील लेखक संघको अध्यक्षहुँदै हाल भाषा आयोगको सदस्य रही प्राज्ञिक कार्यमा सक्रिय रहेको कुराबाट म बेखबर थिएन । एकताका उहाँकै डोबमा अटेको मेरो पहिचान भने यति बेला उहाँको लागि शून्यप्रायः नै थियो । तथापि मैले उहाँलाई चिन्न सजिलो हुने गरी उहिलेदेखि अहिलेसम्मको अवधि र अवस्था समेट्ने गरी (कत्ति पनि नढाँटीकन) आफ्नो परिचय फुस्काएँ ।

अन्तमा कार्यक्रमबाट घर फर्कँदा सँगसँगै फर्किने प्रस्ताव पनि राखेँ । उहाँ सहमत हुनुभयो ।

मपसाको चालु सभामा ५ जना विशिष्टको अध्यक्ष मण्डल गठन भैसकेको थियो । अध्यक्ष मण्डलले माइकमार्फत् दोस्रो सत्र सुरू भएको जानकारी गरायो । हल लगभग खाली भैसकेको थियो । एउटा कलेजको ह्वाङ्गै परेको विशाल हल थियो त्यो । मंशिर मसान्तको सिरेठोले सहभागीहरूलाई हाकाहाकी चुनौती दिए पनि चुनावी सरगर्मी बढिसकेकोले सिरेठोको परवाह कसैले नगरेझैँ प्रतीत हुन्थ्यो ।

पहिलो सत्रको प्रारम्भ नहुँदै मैले भूपेन्द्रा म्यामलाई भेट्दा उहाँले मेरो कानमा साउती मार्दै भन्नुभएको थियोः “तपाईँलाई पनि कार्य समितिमा राख्ने कुरो छ ।” यो अनपेक्षित सूचनाले मेरो मनमा एकाएक खलबली मच्चाएको थियो । एक मनले भन्योः कार्य समितिमा बस्ने हैसियत अझै पुगिसकेको छैन तेरो । अग्रस्थानका व्यक्तित्वहरूले जिम्मेवारीको कसरत गर्ने थलोमा आफू पुच्छर बनेर झुन्डिनु किमार्थ उचित हुँदैन । अर्को मनले भन्योः भूपेन्द्रा म्यामले भनेजस्तै कार्य समितिमै बस्न पाइयो भने त काइदा भैहाल्यो नि । विशिष्ट व्यक्तित्वहरूसँग चिनजान बढ्छ । काम सिकिन्छ । आफूलाई तिखार्ने मौका पनि पाइन्छ । आफूमा विशिष्टहरूको रुप, रङ, गन्ध सबै सर्ला नि । फ्वाँसे पाएको अवसर किन यत्तिकै छोड्ने ?

अरुण शाह दाइसँग पनि कार्यक्रमको बिचबिचमा भेट भैरहेको थियो र प्रत्येक भेटमा उहाँले पनि भूपेन्द्रा म्यामकै सूचनालाई पुष्टि गरिरहनुभएको थियो ।

मनमा अनेक विचार उठिरहे तापनि सक्दो थामथुम पारिरहेको थिएँ । दिन घर्किँदै गइरहेको थियो । दोस्रो सत्रमा मसापको साँगठनिक तथा आर्थिक प्रतिवेदन पनि हाइसुक्खले श्रवण गरियो । भूपेन्द्रा म्यामको आश्वासनले लिसोझैँ प्लास्टिकको कुर्सीमै हलचल नगरी टाँसिएको थिएँ । सँगसँगै निवासमा फर्कने सम्झौता भइसकेकोले गिरी सर र म अगलबगलमा बसेका थियौँ ।

गिरी सरले भन्नुभयोः “सँगै जाने भए जाम् । अब हाम्रो यहाँ काम छैन । नयाँ कार्य समिति बन्ने न हो। के कस्तो बन्यो भोलि थाहा भैहाल्छ ।”

मैले अनकनाउँदै भनेँ, “सर एकछिन पर्खौँ । मलाई पनि नयाँ कार्य समितिमा राख्ने कुरो छ रे ।”

अमर सरका अनुहारमा आश्चर्यका रेखाहरू उम्रिए तर तुरुन्तै बिलाइहाले । उहाँले भाव परिवर्तन नगरेरै सोध्नुभयोः ‘उहाँहरूले (अध्यक्ष मण्डलले) तपाईँलाई राख्ने भन्नुभएको हो कि कार्य समितिमा बस्ने तपाईँको नै रहर हो  ?’

मैले जिब्रो चपाउँदै जवाफ दिएँ: ‘खासमा बस्ने रहर नै त थिएन । तर जिम्मेवारी दिइयो भने भागी हिड्ने कुरा पनि आएन ।’

अमर गिरी सरले मेरो पाइतालादेखि शिरसम्मै नियाल्नुभयो तर कुनै प्रतिक्रिया जनाउनुभएन । भावभङ्गीलाई स्वाभाविक तुल्याइराख्नुभयो ।

प्रतिवेदनहरू तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरूउपर दर्शकदीर्घाबाट ताली बजाएर अनुमोदन गर्दै साधारणसभाका सबै औपचारिकता पूरा गरियो ।

त्यसपछि नयाँ कार्य समितिको नाम सिफारिश गर्न अध्यक्ष मण्डलले होमवर्क थाल्यो ।

गिरी सरले मलाई सुझाव दिनुभयोः “कार्य समितिमा बस्ने रहर भए माथि गएर नाम टिपाउनु । हैन भने जाम् । अबेर भैसक्यो ।”

हुन पनि बिहान ११ बजेदेखि चिसो कोठामा थुनिएको ५ घण्टा बितिसकेको थियो ।

मैले निश्चयपूर्वक भनेँ “मैले नाम टिपाउनै पर्दैन सर । कुरा मिलिसकेको छ रे ।”

उहाँका अनुहारमा आश्चर्य विस्मय र करुणाका रेखाहरू देखिँदै र मेटिँदै गरिरहेका थिए ।

एक घण्टासम्म पनि अध्यक्षमण्डलले कार्य समितिमा रहने ११ जनाको नाम सिफारिश गर्न सकेन । अँध्यारोले कोठाभित्र छिरेर बिजुलीका बत्तीलाई हम्मे हम्मे पार्न थालिसकेको थियो । म अध्यक्ष मण्डलकै घोषणा पर्खेर प्लास्टिकको चिसो कुर्सीमा कुक्रुक्क बसिरहेँ ।

अमर गिरी सरले मलाई कोट्याउँदै सोध्नुभयोः “अध्यक्षमण्डलमा बसेका ५ जनामध्ये तपाईँ कति जनालाई चिन्नुहुन्छ ?”

उहाँको प्रश्न सुन्नलाई निकै सजिलो थियो तर जवाफ दिँदा भने दाँतबाट पसिना निस्किए । ढाँटू भने नाम भन त भनी सोधे के भन्ने ? नढाँटू,’चिन्दैन !’ भन्नु पनि भएन । भर्खरै घोषणा गरिएको अध्यक्षमण्डलको नाम स्मृतिपट्टलबाट सपाट मेटिइसकेको थियो । मैले तीमध्ये जिवेन्द्रदेव गिरी, मधुसुदन गिरी र दाङका केशव सुवेदीलाई मात्र राम्रोसँग चिन्दथेँ । उहाँलाई जवाफ दिएँ,”तीनजनालाई त प्रष्ट चिन्छु सर ।”

उहाँको अनुहारमा विस्मय भावको बदला करुणा भाव उम्रिरहेको प्रष्ट झल्कन्थ्यो । एकैछिनमा फेरि सोधिहाल्नुभयोः “त्यो त ठीक छ । अनि उनीहरूमध्ये कतिजनाले तपाईँलाई चिन्छन् ?”

उहाँको यस प्रश्नले मलाई झनै सकस पर्‍यो । मलाई हल्का चिन्ने त्यहाँ डाक्टर मधुसुदन गिरी मात्र हुनुहुन्थ्यो । उहाँले पनि पहिले आफ्नो परिचय दिएपश्चात् मात्र ठम्याउन सक्नुहुन्थ्यो ।

मैले गिरी सरको पछिल्लो प्रश्नको जवाफ नदिएरै बसेँ । कारण थियो एक त प्रश्न नै जवाफ दिन सकिने खालको थिएन, दोस्रो अब केही बेरमा घोषणा हुँदै गरेको परिणामले गिरी सरलाई जवाफ दिइहाल्नेछ मैले हतार गर्नै परेन । तैपनि शंका निवारण गर्न दर्शकहरूका टाउका गनेँ । आफूलाई नछुटाउँदा समेत ११ जना पनि पुगेनन् । सल्यानी कवि डाक्टर अमर शाह पनि मजस्तै व्यग्रतापूर्वक परिणाम पर्खिरहेको झैँ लाग्यो । मलाई अरू ढाढस मिल्यो ।

गिरी सरको मुखबाट अब हाँसो फुत्कला भन्ने डर त औधी थियो तर अध्यक्षमण्डलबाटै मेरो नाम सुनेर उनी आफै छक्क पर्नेछन् भनी म धैर्यवान भैरहेँ ।

हलबाहिर अँध्यारोको गाढापन बढ्दै थियो । होमवर्क जारी नै रहेकोले अध्यक्षमण्डलले सभाहलका सदस्यहरूलाई चिया खान बाहिर पठायो । यही मौकामा मैले बाहिर निस्केका अरुण दाइलाई कार्य समितिमा आफ्नो नाम परे नपरेको बारेमा फेरि सोधेँ । थप प्रष्ठीकरणको लागि मनोहर लामिछाने सरसँग पनि सोधेँ । उहाँले पनि भूपेन्द्रा म्यामकै कथनलाई पुष्टि गर्नुभन्दै भन्नुभयोः हो हो अमर शाह सर र तपाईँ दुवैजना नयाँ कार्य समितिमा पर्नुहुनेछ । मैले शंका निवारण गर्नलाई अमर गिरी सरले मलाई सोधेका मूलभूत प्रश्नहरू पनि उहाँहरूलाई सुनाएँ । उहाँहरूले अमर गिरी सरनै शंकालु हुनुहुन्छ भन्नेजस्तो भाव प्रकट गर्नुभयो ।

चिया पिएर भित्र पसिसकेपछि मेरो मन उथलपुथल भैसकेको थियो । गिरी सरका दुई भारी प्रश्नहरूले मुटु थिचिरहेका थिए । अध्यक्षमण्डलका उदघोषकको पनि छटपटी बढेको प्रष्ट देखिन्थ्यो । वातावरण जतिसुकै चिसो भए तापनि माहोल भने सरगर्मीले भकभकी उम्लिरहेको थियो ।

अध्यक्षमण्डल मध्येका एक मधुसुदन गिरी सर उठेर आफ्नो आसनमा बस्नुभयो र केही उदघोष गर्नका लागि घाँटी सफा गर्नुभयो । बल्लतल्ल तर्कसहितको २ वटा नाम सिफारिश गर्दै भन्नुभयोः उहाँहरू नेपाल सरकारका उपसचिवको ओहोदामा रहेको हुँदा उहाँहरूलाई कार्य समितिमा छुटाउनै मिल्दैन ।

बाँकी नाम सिफारिश गर्न उहाँलाई अझै सकस परिरहेको थियो । उहाँको तर्कले म भने झाँगलझुँगल भैसकेको थिएँ । मधुसुदन सर क्रान्तिकारी पार्टीको कोटाबाट प्रगतिशील लेखक संघको अध्यक्षमा बिराजमान हुनुहुन्थ्यो र त्यही कोटाबाट प्रज्ञा परिषद् सदस्यमा समेत चयन हुनुभएको थियो । उहाँजस्तो विद्यावारिधी हासिल गरेका बुद्धिजीवीले गर्ने तर्क भने मलाई पटक्कै चित्त बुझेन । विशुद्ध साहित्यिक समितिमा सदस्य छनौट गर्ने कहाँको कुरो सरकारी कर्मचारीहरू चुनिने कुरामा पो ठोक्कियो ! उहाँ स्वयम् दैलेखी हुनुहुन्थ्यो र उहाँको सिफारिशमा परेका दुवैजना दैलेखी नै थिए ।

साँच्चै भन्ने हो भने आफूले सरकारी सेवामा भोगिरहेको अधोगतिले झुकेको शिर लुकाउन यो साहित्यिक क्षेत्रमा टुपुल्किएको थिएँ म । अपितु यहीँ पनि उही औपचारिक पद र प्रतिष्ठा ले नै प्राथमिकता पाउँदो रहेछ । शिर लुकाउने पर्याप्त स्थान यहाँ पनि कहाँ रहेछ र ??

मधुसुदन सरले अरू नाम थप्न पुनः खोकखाक गर्नुभयो । मैले ठानेँ अब सायद विद्यावारिधी गरेकाले मात्र समितिमा बस्न पाउँछन् भन्ने घोषणा हुन के बेर ? थकित नजर यसो डुलाएँ । विद्यावारिधी उपाधि हासिल गरेका अमर शाह नजिकै कान ठाडो पारेर कुरिरहनु भएको थियो ।  लाग्यो, अब पालो उहाँकै आउनेछ ।

मधुसुदन सरले कार्यकुशलताको बखान गर्दै अरू दुईवटा नाम सिफारिश गर्नुभयो र अब बाँकी नाम थप्नलाई टण्टा साफ भएको जस्तो गरी आरामसँग सोफामा ढल्किनुभयो । उहाँको मुखारबिन्दबाट न त अमर शाहको निस्कियो न मेरो । अलिअलि चिन्ने भनेकै मधुसुदनकै मुखबाट नाम नआए अरूबाट के आउला र ? भनी अलिकति हडबडाएँ म । बाँकी रहेका चारजना अध्यक्षमण्डलले उदघोषकलाई नाम सुम्पेर अधैर्यपूर्वक सोफमा उठबस गरिरहेका थिए र बारम्बार हात मलिरहेका थिए ।

सँगै बसेका अमर गिरी सरले चोर आँखाले मेरो हेर्नलायक तमासा जाँच्नुहुन्थ्यो र मसँग आँखा जुध्दा मन्चतिरै हेरेको जस्तो गर्नुहुन्थ्यो ।

तथापि ममा झिनो आशा बाँकी नै थियो । अध्यक्षमण्डलका उदघोषकबाट बाँकी नामहरू पनि अकाट्य तर्कहरू पेश गर्दै घोषणा गरिएः ५, ६, ७, ८, ९, १०, ११ । प्रबुद्ध वर्गको साहित्यिक संस्थाले नयाँ नाम छान्न गरेका तानाबानाहरू हाँसउठ्दा र लाटोले पनि अड्कल गर्ने खालका थिए । उदघोषकबाट भट्ट्याइएका बाँकी नामहरूमा मेरो नाम त परेन परेन,  मैले अनुमान गरेको डाक्टर शाहको पनि परेन । सिफारिश गरिएका नामहरूउपर असन्तुष्टि जनाउने ठाउँ कतै छोडिएको थिएन । मैले पुलुक्क अमर शाह सरलाई चियाएँ । उहाँले पनि आफूलाई सामान्यीकरण गरिरहनु भएजस्तै लाग्यो ।

फोनमा यति रातिसम्म कहाँ हराएको भनी घरपरिवारबाट खोजपड्ताल भैरहेको थियो । खाना खाइसकेर सुत्न थालेको जानकारी प्रसारण भइरहेको थियो । तर मैले भोक र परवाह गरिरहेको थिएन ।

बरू मैले आफ्नै मनलाई थामथुम पार्न हाम्रा प्रधानमन्त्रीको उदाहरण कल्पिएँ । सरकार गठन विघटनको किस्सा सम्झिएँ । सत्ता साझेदार देउवा र प्रमुख प्रतिपक्षी ओलीको उदाहरण कल्पिएँ । अरू अरू राज्य संयन्त्रका एकएक इकाइहरूपनि कल्पिँदै गएँ । मेरो माउअड्डा मलेनिकासमेत सोधारण मनमस्तिष्कमा उपस्थित भयो । उनीहरूलाई चयनको अवसर दिँदा सबभन्दा पहिले कसको नाम सम्झँदा हुन् ? अनेकौँ बाधाविरोधको बाबजुद पनि उनीहरूले कसको नाम सिफारिश गर्लान् ? कसलाई शासन र शक्तिमा रजगज गर्ने स्थानमा तान्लान् ? के विधि प्रक्रिया तथा न्यायिकताले उनीहरूको ईच्छालाई रोक्ला ? आफंनो मनले गरेको  अनगिन्ती प्रश्नहरूको जवाफ आफैले दिँदै गएँ । मन बुझाउन निकै सहज भयो । चित्त छर्लङ्गै बुझ्यो । स्यानो पित्त पिरिनबाट जोगियो ।

मपसाको सट्टा मोपासाँ र उनका कथाहरू कल्पिएपछि त मलाई हाइसन्चो नै भयो ।

उता नयाँ चयन भएको कार्य समितिलाई बधाई ज्ञापन गर्ने र त्यसलगत्तै फोटोसेसन हुने उदघोष भैसकेको थियो ।

यतिखेर सँगै बसेका अमर गिरी सरलाई नै मैले भुसुक्कै बिर्सिसकेको रहेछु । सायद उहाँले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्ने काम पनि सभ्पन्न गरेर मलाई झकझक्याउँदै भन्नुभयोः “रातभर यतै बस्ने विचार हो कि अब घर जाने हो ? तपाईँ नजाने भए म त गएँ ।” उहाँ हलबाट फटाफट बाहिर निस्कनुभयो । मेरो पालो नयाँ कार्य समितिका पदाधिकारीहरूलाई बधाई दिनै नपाएर खोच्याउँदै उहाँको पछि पछि लागेँ । ८ घण्टा निरन्तर हलभित्रै बस्दा खुट्टा कुँजिएर निदाइसकेछन् । लतार्नै मुस्किल पर्‍यो ।

मलाई अमर गिरी सरको अगाडि मुख देखाउनु धौधौ परेको थियो । उहाँको नजरमा म पटमूर्ख सावित भैसकेको थिएँ ।

घरतिर फर्कँदै गर्दा बाटोमा उहाँले कार्य समितिमा नाम नपरेको विषयमा खोतल्नुहोला वा उल्टै शान्त्वना दिनपट्टि लाग्नुहोला कि भनी भयाक्रान्त थिएँ । तर त्यतातिर उहाँ प्रवेश नै गर्नुभएन । उहाँले अरू अरू कुराहरू सोध्दै जानुभयो । मैले सहज हुँदै सहज जवाफ दिँदै गएँ । बाटो कटेको पत्तै भएन । उहाँसँग विदाबारी हुँदासम्म म पूरै सहज अवस्थामा आइसकेको थिएँ ।

अब मलाई दिउँसो घटेको घटना सपनाजस्तै लाग्न थालिसकेको थियो । आधा दिनतक उब्जिएको अनावश्यक लालसालाई लोप्प्वा खुवाउँदै मरीमरी हाँस्न थालेँ । यस्तै अवस्थामा आफ्नो घरभित्रै पुगिसकेछु । मेरो तमाशा देखेर संशयमा डुबेकी घरमुलीले चाँदो ठोक्दै पो रहिछन्: “हे भगवान यो मान्छे बौलाउन बाँकी थियो, त्यो पनि यै आँखाले देख्नुपर्ने भयो ।”

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *