×

२०८२ फागुन २८ गते विहीवार

२०८२ फागुन २८ गते विहीवार

तुल्सीपुर, दाङ

आज काठमाडौँ प्रस्थानको लागि बिहान ३ बजे नै उठ्यौँ । भतिजको नवदम्पतिलाई टीका लगाइदिएर शुभकामना दिनुथियो तसर्थ घरबाट कइनपानीतिर लाग्यौँ । बिहेको पूजा भर्खरै सकिएर जन्ती र दुलाहादुलही सुतिसकेका रहेछन् । हामीले उठाएर टीकाटालो गरिदियौँ ।

घर फर्किनेबित्तिकै देवीले गाडी आइसकेको भनेर खबर गरिन् । आमालाई गाडीमा चढाइछन् । हामी आलुको बोरा पिठोलगायतका पोकापन्तरा बोकेर काप्रीवास झरेर ईभी गाडी चढ्यौँ । तुलसीपुरको यात्रा सुरु भयो । ठाँटीबजारबाट खाराका प्रेम खडका भदाहा पनि चढे । मलाई कुराकानी गर्ने साथीको आवश्यकता पूरा भयो । उनी पनि चुनावको सिलसिलामा आँखाको प्रचारको लागि काठमाडौँबाट आएका रहेछन् । बाटोभरि रुकुमको निर्वाचन र बदलिँदो पछिल्लो परिस्थितिको बारेमा लामो कुराकानी भयो ।

सासूआमा भने गाडी चढेदेखि झर्नको लागि आत्तिरहनुभएको थियो । होसमै रहेर हो बेहोसी अवस्थामा हो अनर्गल कुराकानी गरिरहनुभएको थियो । घरी खलङ्गा कुन बेला आइपुग्छ भन्नुहुन्थ्यो घरी दाङ कति दिनमा पुगिन्छ बाटोमा कता बास बस्ने हो भन्ने जस्ता कुराहरू गरिरहनुभएको थियो ।

चुनावका अतिरिक्त पेशा व्यवसायका कुराहरू पनि भए । वृद्धावस्था र बिरामीले असक्त भएकी सासूआमालाई दाङतिर किन लगिरहनुभएको छ ? छोराहरूको घरमा किन राख्नुभएन वा छोराहरू उपचार गराउन किन आएनन् भनी जिज्ञासा राखेकोले मैले केही कुरा नलुकाई सबै भनेँ । उनले शिक्षित परिवारका छोराहरूले यतिसम्म पनि गर्दा रहेछन् भन्दै जिब्रो टोके ।

गाडीले शीतलपाटीमा खाना खुवायो । सासूआमाले भात छुनु मात्र भयो र नखाएको खानाको पैसा तिर्नुपर्ने भयो । निराले घरी घरी फोन गरिरहेकी थिइन् । आफ्नो घरमा फागुन महिनामा ९ महिना पुगेकोले आमालाई कता बसाल्ने भनी सोधखोज गरिरहेकी थिइन् । पहिले घोराहीस्थित भदैनी अन्जुको घरमा राख्ने कुरा गरेको भनिन् । केही बेरपछि खाराका डिल्ली दाइकहाँ कुरा गरेको भनिन् । मन दिदीलाई पनि फोन गरिछन् । दिदीले कहाँ आइपुग्यौ आमा पनि आउनुभएको छ भनी निराले कुरा गरेकी थिइन् भन्दै हामीलाई सोधपुछ गर्नुभयो ।

अन्तमा तीन चार दिनको लागि रक्षाचौरस्थित डिल्ली दाइकै घरमा राख्ने कुरा भयो । डिल्ली दाइको श्रीमती सासूआमालाई लिन गोठीखोला आउनुभयो । हामीले उहाँको हातमा लगाई तुल्सीपुरतिर हानियौँ ।

खासमा लमही नगरपालिकाको ओ एण्ड एमको लागि डाटा सङ्कलन गर्ने जिम्मा मलाई लगाइएकोले हामी लमही पुग्नुपर्ने थियो । लमहीमा खाराकै शिव ओली भाइको घर भएकोले कुरा उहाँकै घरमा आउने भनी कुरा पनि भइसकेको थियो । तर देवकुमारीले बहिनी निराकै घरमा सजिलो हुने बरु लमहीको कामको लागि तुल्सीपुरबाटै जानेआउने भन्ने कुरा भएकोले हामी २ बजेतिर तुल्सीपुरमा ओर्लियौँ र निराको घरतिर लाग्यौँ । अशोक भाइ कामको सिलसिलामा मुसीकोटमै हुनुहुन्थ्यो । निरा शिक्षणको सिलसिलामा स्कुलतिर थिइन् । भतिज अनिश एसईईको जाँचको तयारी गरिरहेकोले स्कुलतिरै थियो । हामी कोही नभएको घरमा एकछिन बाहिरै बस्यौँ । निराले साँचो घरमै छ भनेकोले खोजखन गरी ढोका खोलेर भित्र पस्यौँ । यात्राको अत्यन्त थकानले गर्दा आराम गर्ने भनी बिछ्यौनामा ढल्किनेबित्तिकै निद्राले छोपिहाल्यो । बेलुका ६ बजेतिर मात्र बिउँझियौँ । अनिश र निरा आइपुगे । पारिवारिक कुराहरू भए । बेलुकातिर देवकुमारी र म तुल्सीपुर बजारलाई एक फन्को लगायौँ ।

तुल्सीपुरमा बसिरहेका रामबहादुर खडका र मनबहादुर केसीसँग फोनमार्फत् कुरा भयो । खाना खाई पुनः निद्रादेवीको शरणमा पर्‍यौँ ।

Loading

Post Comment

You May Have Missed