×

२०८२ फागुन २७ गते बुधवार

२०८२ फागुन २७ गते बुधवार

सोलाबाङ, रुकुम पश्चिम

आज बिहान उठ्दा बालदारी पानीले भिजेको थियो । आँगनमा पानी जमेको थियो । पानी कसरी पोखियो भन्दा जवाफ कतैबाट आएन । खाराबाट आउनुभएको दिदी आफ्नो घरतिर फर्कनुभयो । सासूले ओछ्याएका लुगालत्त आँगनमा लगेर सुकाएँ ।

साइँला साला डम्बरले आमालाई आफ्नो घरमा पठाइदिनू भनेकोले आमालाई लिएर देवकुमारी बजारमा रहेको डम्बरको घरतिर लागिन् । म लौँकाको बीउ खोज्न जेठाजेठानको घरतिर लागेँ र बीउ पाएपछि बिजुलीको बिल तिर्न बिजुलीको अफिसतिर लागेँ । बिचमा नतिरेकोले ब्याज पनि लागेको रहेछ । मैले ब्याजबाट बच्न आगामी असारसम्मकै बिल तिरिदिन नरेशकुमार ओलीलाई पैसा हालिदिएँ ।

बजारबाट २ किलो अदुवाको बीउ किनेँ र डम्बरको घरतिर लागेँ । डम्बरकी बुहारी बनिस्पाले आमाको निम्ति तयार गरेको बिछ्यौना देखाइन् । बिचको तल्लाको उत्तरपट्टिको कोठामा फराकिलो खाटमा बाक्लो ओछ्यान लगाइएको थियो । छेउमा डम्बर सुत्ने खाट थियो । आमाको लागि बस्ने कोठाको व्यवस्थापन देखेर देवकुमारीले सन्तोषको सास फेरिन् । तर सासूआमा भने कोठामा नआएर बाहिर प्रवेशद्वारमै बसिरहनुभयो । डम्बर मुसीकोट क्याम्पसका क्याम्पस चिफको जिम्मेवारीमा भएकोले बिहानैदेखि दिनभरि क्याम्पसमै व्यस्त हुनुपर्थ्यो । चन्द्रा पनि सिम्रुतु क्याम्पसमा प्राध्यापन गरिरहेकोले बिहानदेखि दिउँसो उतै व्यस्त हुनुपर्ने । डम्बरको छोरा अधिश जाजरकोटमा रोजगारी गरिरहेकोले शुक्रबार मात्र आउने कुरा बनिस्पाले बताइन् ।

देवकुमारी र म आमालाई राम्रोसँग बस्नुहोला भनेर घरमा फर्कियौँ । मैले बारीमा अदुवा र लौँका रोप्न थालेँ । बिहान बालदारी भिज्नुको कारण देवकुमारीले बताइन् कि खाराकी दिदीले राति आमालाई पिसाब फेर्न बाहिर लिँदै गर्दा आमाको पिसाब बालदारीमै फुस्किएछ । त्यसलाई पखाल्नको निम्ति पानी खन्याएकी हुँ । आमाले जुवाइँले थाहा पाउनुभयो कि भन्ने शङ्का मान्नुभएको थियो । तपाईँले झन् लुगा निकालेर आँगनमा ल्याउँदा म डम्बरको घरमा जाँदै गर्दा जुवाइँले मेरा लुगा पनि बाहिर फालिदिए भनेर चित्त दुखाउनुभएको छ । पिसाब चुहिएका कपडाहरू भित्रै राख्दा झन् कोठा गन्हाउने भएकोले सुकाउनको निम्ति आँगनमा निकालिएको थियो ।

केही छिनपछि सासूआमा फर्केर हाम्रो घरमा आउनुभयो । किन फर्कनुभयो भन्दा डम्बरका घरका सबै ढोका लगाएकोले बस्ने कोठा नभेटेकोले फर्किएको जवाफ दिनुभयो । देवकुमारीले कोठा नभेटेर भन्दा पनि माथिल्लो तलामा उक्लँदै नउक्लिएर तलैबाट फर्किएको अनुमान लगाइन् । घरमा आएपछि सासूआमालाई अर्नी खुवायौँ । बिहान उठ्नेबित्तिकै चिया, त्यसपछि खाजा, १० बजेतिर खाना, २ बजे अर्नी र बेलुका खाना खुवाइरहेकोले आमाको स्वास्थ्यमा सुधार आएको जस्तो देखिन्थ्यो ।

भोलि काठमाडौँतिर प्रस्थान गर्ने कार्यक्रम रहेकोले सबै काम आजै सक्नु थियो । भतिजको बिहेमा जाने फुर्सद पनि मिलेको थिएन । आफ्नो भागको पारेकान्ला नगएको पनि धेरै भएको थियो । कसैले घाँस वा काठहरू काटे कि भनी हेर्न मुग्लुखोला तरेर पारेकाल्ना पुग्यौँ । ठुल्दाइ र प्रकाशको कान्लामा घाँस काटेको देखिँदैनथ्यो तर छानी छानी हाम्रै कान्लामा पुछारदेखि शिरसम्म घाँस मात्र नभई पोथ्राहरू काटिएको थियो । हामी रुकुमतिर उति नबस्ने चाल पाएर घाँसचोरहरूले उपद्रो मच्चाइहाल्छन् ।

कान्लाबाट फर्कँदासम्म सासूआमा घरमै हुनुहुन्थ्यो । उहाँलाई छोरीजुवाइँसँगै बस्न पाए हुन्थ्यो भन्ने थियो । तर हामीहरू भोलि नै काठमाडौँ फर्कनुपर्ने र आज बेलुका कइनपानीस्थित भतिजको बिहे घरमा जानुपर्ने भएकोले आमालाई फकाएर डम्बरको घरतिर फर्कायौँ र हामी बिहेमा भाइपट्टिले हाल्नुपर्ने चामल र दाल बोकेर कइनपानीतिर लाग्यौँ । बिहेघरमै भतेर खायौँ। बिहेको कार्यक्रम अबेरतिर सुरु भयो । बिहेमा आएका अधिकांश केटाहरूले रक्सी खाएर हल्लिरहेका थिए । कयनपानी कान्छो भाइ कालेले लाटाको बिरौटाको विषयमा कुरा उठाएकोले मोहन र काले भाइको हात हालाहाल नै भयो । त्यही सिलसिलामा मोहनले मलाई पनि कालेकै भाइ भएको भन्दै व्यङ्ग्य गर्‍यो । उनीहरूको झगडाले बिहे हेर्न आएका केही गाउँलेहरू फर्किए ।

हामी भने राति १० बजेसम्म बिहे घरमा नै बस्यौँ । भोलि काठमाडौँ जानको लागि झोलाहरू तयार नगरेकोले देवकुमारी र म घरमा फर्कियौँ र ११ बजेसम्म झोलाहरू तयार गर्दै बस्यौँ ।

Loading

Post Comment

You May Have Missed