×

२०८३ बैशाख २४ गते विहीवार

२०८३ बैशाख २४ गते विहीवार

सोलाबाङ रुकुम

बिहान उठेर करेसाबारीमा उम्रिएको झारपात उखेलेँ । अस्ति बाउरे लगाएर सिमी तथा बोडी लगाएको तल्लो पाटोको गोडमेल गरेको १ हप्ता नपुग्दै फेरि झार गाँजिएर आएको छ । दिनदिनै झारपात उखेल्नतिर लागे कृषि उत्पादन सम्भव रहेछ । आफ्नो छुट्टै कामको साथसाथै गरिने कृषि कर्मको अपेक्षित प्रतिफल आउने देखिएन । जोत्दा गोडमेल गर्दा मल बिउको समेत गरी करिब ३००० खर्च भइसकेको छ । तर झारले बुरेको सिमी खासै फल्लान् जस्तो लागेन । फलेका पनि झारले गर्दा कुहेर गल्न थालिकसकेका छन् ।

सिमी फल्दै गरेको देख्नेहरू नजिकै छन् । टिप्दै खाँदै नगर्लान् भन्न सकिन्न । आफ्नो परिश्रम लगानी समय र चिन्ताको परिणाम के हुने हो थाहा छैन ।

केही वर्षपहिलेदेखि इन्जिनियर परिशीलन ओली स्मृति प्रतिष्ठानको तर्फबाट सोलाबाङ स्कुलमा पढिरहेका गरीब तथा जेहेन्दारहरूलाई थोरै रकम छात्रवृत्ति बाँड्दै आएकोमा यसपालिको छात्रवृत्ति बाँड्न बाँकी रहेकोले त्यस सम्बन्धमा कुरा गर्न आज स्कुलमा गएँ ।

हेडसर लोकबहादुर खत्रीले आज व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थीका अभिभावकहरू नआउने हुँदा भोलि बिहान वितरण कार्यक्रम गर्ने भनेकोले म त्यहाँबाट माहिला जेठानको घरतिर लागेँ ।

जेठानले पेन्सनपट्टाको निम्ति कागजपत्र मिलाउँदै हुनुहुँदोरेहछ । वर्तमान हेडसर र व्यवस्थापन समिति अध्यक्ष घमण्ड कुमार खडकाले हालसम्मको विद्यालयको आर्थिक कारोबारको अडिट तथा सामाजिक लेखापरीक्षण गराएपछि मात्र बरबुझारथ गर्ने भनेको हुँदा बरबुझारथ प्रमाणपत्र दिएका रहेनछन् ।

आजसम्मको काम गरेको हरेक वर्षको दायित्व सधैँ आफैसँग हुनेभएकोले वर्तमान अवस्थामा जे छ त्यो मात्रको बरबुझारथ गरी पेन्सनपट्टा बनाउन मैले सुझाव दिएँ । हेयर कटिङ शैलुनमा पुगेर लामो हुन थालेको कपाल कटाएँ । मेहन्दी पनि बोकेर घरमा आएँ ।

दिउँसो १२ बजेतिर स्कुलमा गएको थिएँ फर्कँदा ४ बज्यो । आजको ४ घण्टालाई सदुपयोग गर्न नसक्दा मन खिन्न भयो । दिउँसो फेरि अलिअलि पानी पर्‍यो । अरु काम गर्न केही दिएन । कपालमा मेहन्दी लगाएर पखाल्दा पखाल्दै बेलुकाको ६ बज्यो । आज बेलुका साढे ७ बजेदेखि रविन्द्रनाथ ठाकुर बेलायतकी नारीवादी लेखिका एन्जेला कार्टर र बेलायती दार्शनिक डेभिड ह्युमको जन्मजयन्ती मनाउने कार्यक्रम थियो । घरमा नेटको पैसा नहालेकोले शेरबहादुर भाइ वा होम सम्धीमा गएर कार्यक्रम चलाउन सकिन्थ्यो तर आज दिउँसैदेखि बत्तीको स्थानीय लाइन नभएको हुँदा बजारतिर केन्द्रीय लाइनको विकल्प खोज्नुपर्ने भयो ।

माइला जेठान भक्तबहादुर खडकाको घरमा केन्द्रीय लाइन पनि जोडेकोले र आजसम्म माइतीको घरमा पाहुना बन्न नगएकोले आज त्यहीँ जाने सोच बनाएँ । उहाँको घरमा जाँदा साढे ७ बजिहाल्यो । कार्यक्रमको तयारी गर्दा गर्दै पौने ८ बज्यो । पौने ८ मा मनलाल ओली केशव शर्मा चन्द्रा ओली र अध्यक्ष भूपेन्द्रा मल्लको उपस्थितिमा कार्यक्रम सञ्चालन गरियो । भदैनी रोनिशाले रोटी तरकारी कोठामै पुर्‍याइदिइन् । कार्यक्रम सक्दा ९ बज्यो र अनौपचारिक कुरा गर्दागर्दै साढे ९ बज्यो ।

त्यसपछिको समय फेसबुकका अनावश्यक रिलहरू र टिकटकले खाइदिए । हेर्नुहेरिसकेपछि कार्यक्रम पश्चातको समय पनि खेर फालेकोमा पछुतोले भुतभुतिँदै १२ बजेतिर निद्रादेवीलाई गुहारेँ ।

Loading

Post Comment

You May Have Missed