×

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

सोलाबाङ रुकुम

हिजोअस्ति जस्तै आज पनि बिहानै अफिस खोलेर काममा लाग्यौँ ।

देवकुमारीले फोन गरेर आज अस्मिताको एनिभर्सरी भएको सम्झाइन् । मैले अस्मिता र जुवाइँलाई शुभकामना दिएँ । अस्मिताको घरबाट बाजे ससुरा उपचारको निम्ति चितवनमै आउनुभएको रहेछ । उहाँसँग पनि कुरा भयो ।

आज ३ कक्षाको पाठ्यसामग्रीहरुलाई सम्पादन गर्नुथियो । चन्द्रा टिकाराम र नरसिँहले आफ्नो जिम्मामा परेका पाठहरू पठाएका थिए । ती पाठहरूको सम्पादन गरेर एकीकृत गर्नुथियो । मैले चन्द्राले पठाएको पाठ हिजै सकेको थिएँ । आज टिकाराम र नरसिँहले पठाएको पाठ हेर्नुथियो । उहाँहरू आफ्नै स्कुलको काममा व्यस्त भएको हुँदा आलटाल गरेको जस्तो देखिन्थ्यो । १ कक्षा र ३ कक्षाको पाठमा केही फरक थिएन । मैले पहिल्यै भनेको थिएँ १ कक्षाको पाठ १०० शब्दभित्रको होओस् । २ कक्षाको पाठ १५० शब्ददेखि २०० शब्दभित्रको होओस् र ३ कक्षाको पाठ २०० देखि ३०० शब्दभित्रको होओस् । शब्द पनि अति सरलदेखि सरलतिर ढल्किएको होओस् । सूचना र तथ्य पनि थपिँदै जाओस् ।

तर उहाँहरुले पठाएका पाठहरूमा यी कुराहरूको विपरीत थियो । अभ्यास पनि चित्त बुझ्दा थिएनन् । तसर्थ आफैले तयार गरेको भए बरु अलि छिटो हुन्थ्यो होला उहाँहरूकै लेखमा शुद्धाशुद्धि वाक्य संरचना हेर्दा र सूचनाहरू थप्दा झन् अलमल भइरहेकोले ढिला भइरहेको थियो । हुन त आफूले तयार गरेको पाठ अरूले हेरेमा यस्तै ठान्दा हुन् ।

 नरसिँहले पठाएको पाठ पनि हेर्दै गएँ । १ घण्टाभन्दा बढी समय लगाएर । तर पछि एउटा पाठ नभेटिएपछि मनलालले थपेको छु भन्नुभयो । थपेको पाठ त्यसमा थिएन । पछि थाहा भयो मनलालले करेक्सन गरेको नभई पुरानै फाइल पठाइदिनुभएको रहेछ । हेर्नै नपर्ने फाइल हेरेर खाना खाएपछिको समय बिताइएछ । पछुतो जति माने पनि के गर्ने ।

बाँकी काम घरबाटै गर्ने भनेर खाजा खाएपछि मनलाल र म छुट्टियौँ । पेउघा जाने गाडी रहेछ ठाँटी बजारमै ओर्लिनुपर्‍यो । पानी पर्न सुरु गरेकोले टिनले बारेको एउटा होटेलको छेउमा ओत लागेँ । यस बजारमा अहिले आधा दर्जनभन्दा बढी पक्की घरहरू र टिनले बारेका थुप्रै कटेराहरू बनेका रहेछन् । म अतीतको ठाँटीबजारमा पुगेँ ।

सोलाबाङ भलाक्चा नयाँगाउँ र लहुँतिरको मुख्य पुरानो बजार हो ठाँटी बजार । साँखखोला र लहुँखोलाको सङ्गम स्थल । दुई खोला जोडिएपछि सानीभेरीको प्रमुख हँगालो मुग्लु खोला बन्छ । २ खोला मिसिएका अन्य केही ठाउँमा त्रिवेणी नाम दिइएको हुन्छ । अधिकांश ठाउँमा दोभान भनिन्छ । तर यस सङ्गमले दोभान र त्रिवेणी दुबै नाम पाएन । ठाँटीबजारकै नामले प्रख्यात भयो । धेरै पहिले कसैले यहाँ बटुवाको निम्ति ठाँटी बनाइदिएको भन्ने किम्बदन्ती छ ।

 १ दर्जनभन्दा कमै एकतले ढुङ्गाको छाना हालिएका कच्ची घरहरू थिए । बाटोमा पनि ढुङ्गाका पलेटा छापिएका थिए । उहिले हटारूहरू बास बस्न यहीँ आइपुग्थे । तीन चारवटा कपडाका पसलहरू थिए । बुद्धि भिनाजुले अन्य खिद्रिङमिद्रिङ पसल गर्नुहुन्थ्यो दुईतीन वटा होटेल थिए । ठुलाघरका साइँला मामा हिरासिँह हिमाल बाजे पारे माइला आदिले होटेल गरेका थिए त्यहाँ । रक्सी पसलहरू पनि थिए । जँड्याहा र रक्स्याहाहरू दिनभरि रक्सी खाएर मात्तिइरहेका हुन्थे । घोडा खच्चरहरू बान्ने भएकोले परैसम्म लिदी गन्हाउँथ्यो । रातिमा शिवलाल सन्यासीले जुवा खेलाउँथे । जुवा खेल्न टाढा टाढाका जुवाडेहरू आउँथे । लडाइझगडा परिरहन्थ्यो ।

बिहानपख र बेलुकाको सन्ध्यामा भने चिया खाने युवाहरूको चहलपहल हुन्थ्यो । ती युवाहरूले नजिकैका विद्यालयहरूमा पढाउँथे । स्कुल जानेआउने मुलबाटो यही हुन्थ्यो । उनीहरू चिया खान मात्र नभई एकै ठाउँमा बसेर रेडियो सुन्नको लागि आउँथे । बेलुकाको घटना र विचार र बिहानको  नबिराई सुन्थे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूको व्याख्या विश्लेषण गर्थे । राजनैतिक र वैचारिक बहस गर्थे । ती युवाहरुको अगुवाइ नयाँगाउँका मोहनलाल ओली गोपाल खडका लालबहादुर ओली तिलकराम ओली प्रवीर ओली आदिले गर्दथे । उनीहरूको कुरा सुन्न मेला जस्तै लाग्थ्यो ।

पछि सडक यहीँ भएर खलङ्गा उक्लियो । धेरै समयसम्म पुल बनेर । सडक तलतिर झरेकोले बजार पनि तलै झर्‍यो । खोला किनारमा धेरै घरहरू बने । एकचोटि जनयुद्धमा बजार नै उठ्यो ।

पुल बनेपछि यहाँको मुख्य बजार सोलाबाङमा सर्‍यो । सोलाबाङमा आधुनिक घरहरू बने र आधुनिक सहरको रूप धारण गर्‍यो । थुप्रै होलसेल र खुद्रा पसलहरू बने । यहाँ नपाइने कुनै सामान नै भएन । यो मुसीकोटकै मुख्य व्यापारिक केन्द्र बन्यो । ठाँटी बजार भने थला पर्‍यो ।

केही समय अतीतमा शयर गर्दा पानी पर्न केही रोकियो । यही मौका छोपी सडक सडक हिँड्दै ढिकमनिबाट गोरेटो बाटो समातेर घरमा आइपुगेँ ।

थकानले गर्दा एकछिन विश्राम गर्दा भुसुक्कै निदाएछु । बिनारामले फोन गरेपछि मात्र ब्युँझिएँ । बिनारामले खाना खान बोलाए । पानी वर्षातझैँ रिमझिम परिरहेको थियो । बाटो हिलैनाम भएको थियो । तर आफूले खाना बनाउने अल्छी मानेर बिनारामको घरतिर जाने तम्सिएँ । कमला बुहारीको घरमा मकै छर्ने सम्बन्धमा कुरा गर्न जाँदा उहाँले खाना यतै खानू भनेकोले खोजेजस्तै भयो । कमला बुहारीकै घरमा खाएर नेटको पहुँचमा गर्नुपर्ने कामहरू गरी घरमा गई सुतेँ ।

Loading

Post Comment

You May Have Missed