×

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

तुलसीपुर दाङ

बिहान ५ बजे नै निद्रा खुल्यो । कोठाभित्र पसेको झिसमिसे उज्यालोको उपयोग गर्दै काठमाडौँ जाने तयारी स्वरुप कपडाहरू झोलामा कोचेँ । काठमाडौँमा लगेको पोहोरकै मेथी प्रयोग भइनसकेकोले यसपालिको मेथी अस्मितालाई चितवनमा लगिदिनको लागि प्लास्टिकमा राखेँ । नकेलाएका गहुँ पनि २ पाथीजति काठमाडौँ लिनलाई तयार गरेँ । हिजोको जुठा भाँडाहरू धस्काएँ । भान्छाका सामानहरु मिलाएँ । सुत्ने कोठाका ओछ्यानलत्त मिलाएँ । ढोका झ्यालमा भित्रपट्टिबाट गराला र खुटी लगाएँ । बाहिरपट्टिबाट ताल्चा मारेँ र बाहिर निस्कँदै गर्दा बस काउन्टरका टेकबहादुर नेपालीलाई टिकटको लागि फोन लगाएँ ।

कताबाट जाने हो सर माथिल्लो बाटो कि तल्लो बाटो भनेपछि झस्किएँ । कताबाट जाने भन्ने त सोचेकै रहेनछु मैले । चितवन त दाङबाट गए पनि भयो वा बाग्लुङपट्टिबाट गएर मुग्लिङ झरे पनि भयो । छिटो त माथिल्लो बाटोबाटै हुन्छ । दाङमा कान्छी छोरीसँग बसिरहेकी सासूलाई फोन लगाउँदा गाह्रो हुँदै गएको बताउनुभयो । निराले पनि बाबुलाई काठमाडौँ पठाउने बारे सल्लाह गरौँला दाङकै बाटो आउनुहोस् भनिन् ।

पछि के हुन्छ कसो हुन्छ । बाटो पर्दा भेट्नु कर्तव्य हो जस्तो लाग्यो । अनायासै टेकबहादुरलाई दाङकै टिकट मिलाइदिन खबर गरेँ । उनले गाडी छुट्नै लागेको छ छिटो आउनुहोस् भने । झोला पिठ्युँमा र गहुँको बोरा काँधमा बसालेर हुत्तिँदै सोलाबाङको बस काउन्टरमा पुगेँ । नभन्दै हाइस गाडी मलाई नै कुरेर बसेको रहेछ । गाडी ठाँटीबजारतिर लाग्यो । अर्को बाटोतिर लागेको यात्राले फेरि झस्किएँ । आफैलाई सम्झाएँ । मैले आफै दाङकै टिकट काटिदिनू भनेको हुँ भन्दै ।

गाडीमा अरू कोही पनि यात्रु थिएनन् । हिजोआज रुकुमका विभिन्न ठाउँबाट २५ वटाभन्दा बढी गाडी दाङतिर जाँदारहेछन् । कुनै कुनै गाडी मात्र प्याक हुन्छन् । अधिकांश गाडी यस्तै खाली ओहोरदोहोर गर्दछन् ।

बसको यात्राभन्दा माइक्रो बसकै यात्रा सुविधापूर्ण हुन्छ । गाडीमा सामान कोचेर बस्ने सिट हुँदैन । काठमाडौँबाट आउँदाको सकसपूर्ण यात्रा अझै भुलेको छैन । यो पटक भने बारीमा सबैले मकै छरिरहेका थिए । तर निरन्तर वर्षाद्मा मकै छरे जिलौटाले मकै उम्रने नदिने भनेकोले पानी फाट्न पर्खिएको थिएँ । पानी सितिमिती नफाटेको र काठमाडौँ छिटो जानुपर्ने भएकोले कमला बुहारीलाई पानी फाटेपछि मकै छरिदिनू भनी मकैको बिउ र ५ केजी डीएपी मल छोडिदिएको थिएँ । घरमा भई भईकन पनि आफ्नो बारीमा आफै मकै छर्न नपाउँदा कता कता पछुतोले गाँजिरहेको थियो । आकाश हेरिरहेँ । कालो बादलले आकाश त ढाकिएको छ तर पानी बर्साउने खालको छैन ।

सिम्रुतुबाट १ जना यात्री थपिए । सिम्रुतुबाट चढेका झुल्नेटा ओर्लिए र म फेरि एक्लो यात्री बनेँ । झुल्नेटाबाट ३ जना यात्री थपिए । यसरी स्थानीय यात्रीहरू यात्राभर चढ्ने ओर्लने गरिरहे । बाटो बन्नेबित्तिकै पिच भएको बाटो अब नामोनिशान मात्र बाँकी छ । यात्राको त्यो सुविधा कल्पनामा मात्र बाँकी छ । लगातारको वर्षाद्ले बाटो हिलाम्मे छ । हिलो नभएको ठाउँमा धूलो मात्र छ ।

गाडीले खाना खान श्रीनगरमा पुर्‍यायो । इभि गाडी भएकोले गाडीलाई चार्जिङमा छोडेर हामीले खाना खायौँ । खाना खाइसकेपछि केही बेर पर्खनुपर्‍यो । चार्जिङबाट नोजल छुटाउँदा छुट्दै छुटेन । निकै टाइम लाग्यो । केही यात्रीले कार्त्तिकका कुकुरहरूसँग तुलना गर्न भ्याए ।

निकै प्रयासपछि छुट्यो । खाना खानेबित्तिकै निद्राले छोपेछ । अरिङ्गालेफेदी पुगेपछि मात्र निद्रा खुल्यो । यता पनि बाटो बिस्तार भइरहेको रहेछ । आकाशमा बादल पूरै फाटिसकेकोले धूलो, जाम, घाम बढ्दै गयो । बाटोको छेउछाउ काफल बेच्नेहरु उभिएका छन् यस वर्षको काफल चाख्ने लोभले गाडी रोक भने पनि चालकले रोक्दैनन् ।

बाटोमा उभिने ट्राफिकहरूले यो फुच्चे केटो को हो भनी सोध्छन् । चालकले झुल्नेटाबाट दाङ जानलाई मलाई जिम्मा लगाएर पठाएका हुन् भनेर जवाफ दिन्छन् । औपचारिकता पूरा हुन्छ । करिब १० वर्षको फुच्चे हाम्रो गाडीको खलासी छ । तर निकै बाठो छ । यात्रुहरू हेरी कसैबाट अलिकति बढी भाडा पनि मागिहाल्छ र कसैलाई कमै भाडा भन्छ । फुच्चेले बढी भाडा माग्दा चालक मरीमरी हाँस्छन् र कम भाडा उठाउँदा हप्काउँदै यसले डुबाउने भयो भन्छन् ।

कपुरकोटबाट ओरालो झर्न थालेपछि खलासीले यात्रुहरूबाट भाडा उठाउँछन् । यात्रुहरूले भाडा बढी असुल गरेकोमा आक्रोश पोख्छन् । चालकले इन्धनको मोल बढेकोले भाडा बढेको हो भन्छन् । मलाई थाहा छ यो इलेक्ट्रिक गाडी हो । इलेक्ट्रिसिटीको मोल बढेको छैन । इन्धन गाडीले भाडा बढाएको मौका छोपेर इभि गाडीहरूले पनि भाडा बढाएको बारे राज्य बेखबर नहुनुपर्ने हो । मलाई पनि भाडा मागिन्छ । सोलाबाङबाट तुल्सीपुरको भाडा ९०० रुपैयाँ मात्र भए पनि १००० लिन्छन् । म निर्विवाद तिर्छु । १०० को लागि कति कचकच गर्नु । सबैबाट बढी भाडा उठाइसकेपछि मलाई पनि छोड्दैनन् भन्ने मानसिकताले मलाई गाँजेकोले मबाट भाडा असुल्द कचकच हुँदैन । हाइसुक्ख हुन्छ खलासी ।

कपुरकोटदेखि राम्रीसँग बाटो विस्तार भएर पनि पिच भइसकेको रहेछ । राम्रीभन्दा तल भने बाटो विस्तारको क्रम जारी रहेकोले केही समय पर्खनुपर्ने हुन्छ । २ बजे तुल्सीपुर पुगेर निराको घरतिर लाग्छु । सासूसँग भेट हुन्छ । रुकुमको बसाइभन्दा दाङको बसाइ सासूलाई सुविधाजनक छ । रुकुम छँदा छोराहरुको घरमा नअटेर दिनदिनै यताउता भौँतारिनुपरेको थियो ।

अशोक भाइ रुकुममै हुनुहुँदोरहेछ । अनिश भतिज एसइइको रिजल्ट पर्खेर बसेका छन् । भोलि वा पर्सि रिजल्ट हुने सम्भावना छ । रिजल्ट भएपछि उच्च शिक्षा पढ्न काठमाडौँ जाने तयारी गरेका रहेछन् । निराको आज बिदा भएकोले घरमै छिन् । भोलि आइतबार अन्य विद्यालयहरुमा बिदा दिने गरेको भए तापनि उनले पढाउने श्रीगाउँको स्कुलमा भने बिदा नभएकोले आज मात्र घरायसी काम गर्ने फुर्सद हुने बताउँछिन् ।

सासू पायल्स रोगबाट पनि ग्रसित हुनुहुँदोरहेछ । शरीरको अधिकांश रगत बगेर जाँदा शरीरको रगतको मात्रा घटिरहनेरहेछ । आफू यतै आएको बखत रगतको अवस्था बुझ्न अस्पत्ताल शनिबारमामा नखुल्ने भएकोले अस्पत्ताल बाहिरको मेडिकलमा लैजान्छौँ र रगतको जाँच गराउँछौँ । रगत घटेर ७.१ भएको रहेछ । अस्पत्तालमा सोध्दा सोमबार मात्र रगत चढाउने सुझाव दिएकोले मेडिकलबाट फर्कन्छौँ ।

बाह्रखरीले कलासाहित्य यात्रा सल्लेरीको मेरो यात्रा संस्मरण प्रकाशन गरिदिएको रहेछ । बेलुकीपख शेयर गरेँ ।

 खाना खाएपछि अनिशबाबुको कोठा मलाई दिइयो । अनिश आफ्ना बाबुआमा सुत्ने कोठामा सुते । निरा र सासू पछाडिको कोठामा सुत्नुभयो ।

 आजको यात्राको थकानले आजको दिनलाई विश्राम गराउन हतार गर्‍यो ।

Loading

Post Comment

You May Have Missed