×

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

बिहान ४ बजे नै निद्रा खुलेकोले नित्य कर्म सिध्याएर हाम्रो त्रिवेणी पाठ्यपुस्तकको ३ कक्षाको बाँकी काम गर्नतिर लागेँ । साथीहरूबाट आएका फाइलहरूमा करेक्सन गरेँ । यसपालिको मनलालको पाठमा अलि सुधार भए तापनि अरूको पाठलाई सुधार्न समय लाग्यो ।

७ बजेसम्म पनि कोठामा चिया आइनपुगेकोले म घर जानलाई तयारी भएँ । जेठान्नी दिदीसँग बिदा माग्दा खाना खाएर जानुहोला भन्नुभयो । खाना पाक्न कति समय लाग्ला भन्दा अझै २ घण्टा लाग्छ भनेकोले कुर्न गाह्रो भयो र घरतिर हानिएँ ।

बिनारामको घरतिर आउँदा गोविन्द बुढाका भाइ हेल्थअसिस्टेन्ट  बुढालाई बिनारामको घरतिर पस्दै गरेको देखेँ । उहाँलाई किन आउनुभयो भनी सोध्दा बिनाराम बिरामी भएको भने । म पनि बिनारामको घरमा पसेँ ।

बिनारामलाई हिजो रिङ्टा लागेर वान्ता भएछ । हिजैदेखि उनको उपचारको काम सुरू भएको रहेछ । राति मुराल हस्पिटल पनि पुगेछन् । उनको प्रेसरमा अस्वाभाविक घटबढ भएछ । हेल्थअसिस्टेन्टले यो चिन्ताको कारण भएको हुनसक्ने र चिन्ता नलिन सुझाव दिइरहेका थिए । मैले केही भन्न सकिन । जे आइपरे पनि सहनुको विकल्प हुँदैन । पीडाको घाउमा मलहल लगाउने सबैभन्दा उत्तम डाक्टर भनेको समय नै हो । समयलाई धैर्यतापूर्वक पर्खनुको विकल्प हामीसँग हुँदैन ।

बिहान बिनारामकै घरमा खाना खाएर घरमा आएँ र कपडा चेन्ज गरी परिशीलन कोषको छात्रवृत्ति वितरण गर्न सोलाबाङ स्कुलतिर हानिएँ । आफूसँग नगद नभएको हुँदा देवीलाई भनेको थिएँ । उनले खुद्रा मिलाएर ल्याइदिएकी रहिछन् । बिहानको प्रार्थना समयमा नै छात्रवृत्ति वितरणको कार्यक्रम मिलाइएकोले छात्रवृत्ति पाउने विद्यार्थीका अभिभावक र विद्यार्थीहरू आइसकेका थिए । व्यवस्थापन समितिका अध्यक्ष घमण्डबहादुर खडकाको पनि उपस्थिति रह्यो । प्रधानाध्यापक शिक्षक तथा कर्मचारीहरू अभिभावकहरु र सम्पूर्ण विद्यार्थीहरूको उपस्थितिमा सोलाबाङ विद्यालयका १ देखि १० कक्षासम्मका २० जना विद्यार्थीहरूलाई जनही ५०० को दरले रु १००००।०० को छात्रवृत्ति मेरै हातबाट वितरण भयो । यो छात्रवृत्ति रकम पढाइसँग सम्बन्धित कुराहरूमा बाहेक अरूमा खर्च नगर्नू भनी मैले मन्तव्य दिएँ ।

छात्रवृत्ति वितरण गरेर म घरमा आएँ । बेलुका नपुगेको निद्राले झ्याप्पै समात्यो र करिब १ घण्टा निदाएछु । देवकुमारीले मिस कल गरेपछि मैले कलब्याक गर्दा उठाइन् । पुरस्कार वितरण गर्दाको मेरो फोटो नभएको तर अरू शिक्षकहरूको मात्र फोटो पठाएको भनी गुनासो गरिन् ।

मैले निद्राबाट ब्युँझिएपछि घरको अगाडिको करेसामा बाँकी झारपातहरू उखेलेर खन्नखोस्री गरी हजारीको बिउ छरिदिएँ ।

कोठामा पसेर हाम्रो त्रिवेणीको कक्षा ३ का पाठहरूमा सर्सर्ती सम्पादन सकेँ र इमेल मनलाललाई पठाइदिनको लागि फेरि बिनारामको घरतिर हानिएँ । बिनाराम सुतिरहेका थिए । खाना खाए नखाएको औषधि खाए नखाएको सोधपुछ गरेँ र मनलाललाई इमेल पनि पठाएँ । देवकुमारीले त्यता पनि फोन गरिन् ।

घरमा आइपुगेपछि छात्रवृत्तिको पैसा कसले हालिदियो भनी सोधिन् । मैले स्कुलकै सर म्याडमहरूले हालिदिए भनेर घुमाउरो जवाफ दिएँ । उनले ढाँटेको भनी फोन काटिदिइन् । मैले यसपटक काठमाडौँबाट आएदेखि स्कुल गएको बेला मात्र सर म्याडमहरुसँग भेट भएको छ । अन्यथा आफ्नै कामले कि त सिम्रुतुतिरै कि आफ्नै घरको चारदिवार मात्र बसेको कुरा वरिपरिका छिमेकीलाई मात्र थाहा होला ।

हिजो दिउँसै गएको बत्तीको लाइन आज पनि आएको छैन । नेट चलाउन कि बजारतिर धाउनुपर्ने हुन्छ कि त अँध्यारोमै बस्नुपर्ने भयो आज पनि ।

बिहानै चिया खानको लागि दूध ल्याएको थिएँ तर खाना बिनारामकै घरमा खाएकोले दूधको प्रयोग भएको थिएन । दिउँसो खाजा नखाएकोले भोक लागिरहेको थियो । बिहान ल्याएकै दूधमा चामल हालेर खिरजस्तो बनाएँ र अर्नि र साँझको खर्च पनि त्यसैले काम चलाएँ ।

बत्तीको लाइन नहुँदा मोबाइल पनि स्विचअफ हुन थालेको छ । मोबाइलको बत्ती बाल्न पनि भएन । चार्ज सकिँदै गरेको मोबाइलमा देवकुमारीको समय समयमा फोन आइरहेको छ । इलेक्ट्रिक लाल्टिन पनि बिग्रिएछ । बिनाराम बिरामी भएदेखि म सुत्ने गरेको तल्लो कोठामा सुत्ने गरेका छन् । त्यता जान पनि अप्ठ्यारो लाग्यो । डम्बर र जेठानहरूको घर अलि टाढा भएकोले र भोलिपल्ट बिहानै काठमाडौँ योजना भएको तर झोला तयार नगरकोले अर्काको घरमा पनि जान सकिएन ।

पुरानो र एक्लो घर । रात पर्नेबित्तिकै मुसा र बिरालाको खेलहरू सुरु हुन्छ । अँध्यारोमा नदेखिए पनि पार्श्व सङ्गीत सुन्न सकिन्छ । भूतप्रेतको जमानामा नगएको भए भूतप्रेत नै पो नाच्दै छन् कि भन्ने भान पर्थ्यो होला । धन ठुल्दिदीले आफू बसिरहेको घरमा तर्साउने आएर घरी थारो हल्लाउने घरी भाँडा बजाउने, त घरी अनौठो स्वर निकालिरहन्छन् भन्नुहुन्छ । होइन होला भन्दा आँखैअगाडि देखिन्छन् भन्नुहुन्छ । नभन्दै आजकझ अँध्यारोमा मैले त्यो सबै अनुभूत गरेँ तर ती भूतप्रेत नभई मुसा र बिरालाका करामत भन्ने विश्वस्त भएकोले मुटुले ढयाङ्ग्रा बजाएन । शरीरका रौँ फुलेनन् । तर बत्तीको कुने विकल्प पनि उपलब्ध छैन भन्ने अत्यासले घेरिएको अन्धकार रात कटाउन भने सकसपूर्ण नै हुँदो रहेछ ।

Loading

Post Comment

You May Have Missed