२०८३ बैशाख ७ गते सोमवार
सिम्रुतु रुकुम
आज स्थानीय पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउन बिहान ८ बजे नै सिम्रुतु पुग्ने कार्यक्रम थियो । सिम्रुतु सँगसँगै जानको लागि मनलाल सर सेरीगाउँबाट झर्दै हुनुहुन्थ्यो । घरको काम सबै अधूरो नै थियो । तसर्थ बिहानै उठेँ र बजार पुगी दूध ल्याएँ । अस्ति नै गहुँ छाँट्दा निकालिएको भुस अलि परको खेतमा लगेर थुपारेँ । अलिअलि बारीको चना र मेथीको बोट संकलन गरेँ । छुटेका गहुँका बालाहरू खेरेँ ।
सवा ७ बजेतिर मनलाल सर आइपुग्नुभयो । उहाँलाई मौरी बसेको घार टाल्न लगाएँ । मैले दूधको चिया पकाएर दुबैजनाले खायौँ । तयारी गरेर घरबाट निस्कँदा ८ बजिसकेको थियो । सिम्रुतुबाट तारन्तार फोन आइरहेको थियो । सडक पुगेर हाइसहरू रोक्न खोज्दा कुनै पनि रोकिएनन् र अटो पनि आएनन् । बैरागी ठाउँसम्म हिँडेर एकछिन पर्खियौँ तर पनि गाडी पाइएन ।
यहीँ पर्खिरहनुभन्दा हिँड्दै जाऊँ जता गाडी भेटिएलान् त्यहीँ चढौँला भन्ने मेरो रायलाई मनलाल सरले स्वीकृत गरेपछि दुबैजना हिँड्दै पितीबाङसम्म पुग्यौँ । बल्ल एउटा गाडीले रोक्यो । सिम्रुतु पुग्दा ९ बजिसकेको थियो । पाठ्यक्रम निर्माणको लागि व्यवस्थापन गरिएको त्रिवेणी गाउँपालिकाको सिम्रुतुस्थित शिक्षा शाखाको हलमा पस्यौँ ।
त्रिवेणी गाउँपालिकाका सुरेश पुनको समन्वयमा जितबहादुर शाह सरले इमेलमा पठाएको पाठ्यक्रमअनुसार कक्षा १ को पाठ्यपुस्तकको धारणा बनाउन थाल्यौँ । पाठ्यपुस्तक तयार गर्ने विज्ञ समूहमा मनलाल सर चन्द्रा वली बहिनी नुवाकोट विद्यालयका हेडसर नरसिंह ओली झुल्नेटा विद्यालयका हेडसर टीकाराम खडकासहित म थियौँ । कार्यालयको तर्फबाट विद्यालय निरीक्षक र प्राविधिक सहायक सुरेशजी हुनुहुन्थ्यो । हामीहरूले पहिले विषयसूची तयार गर्यौँ । अनि विषयसूची र पाठको ढाँचाबमोजिम पाठ्य सामग्रीहरू तयार गर्यौँ ।
खाजा नास्ता र खाना खाने तथा बस्ने व्यवस्था माया होटेलमा मिलाइएको थियो । लगातार १२ घण्टा काम गरेर अबेरतिर होटेलमा आयौँ र विश्राम लियौँ ।
आजदेखि ५ दिनसम्ममा कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक तयार गर्ने लक्ष्य भए तापनि पहिलो दिनमा कक्षा १ को पाठ्यपुस्तकको आधा काम मात्र सकियो । यही आधारमा ५ दिनमा कक्षा ३ सम्म मात्रको पाठ्यपुस्तकको प्रारुप तयार गर्न सकिने देखिन्छ ।
![]()
Post Comment