×

२०८२ चैत्र २६ गते विहीवार

२०८२ चैत्र २६ गते विहीवार

दुवाकोट भक्तपुर

भोलि नेपाली कलासाहित्य प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कार ग्रहण गर्नको निम्ति सोलुखुम्बु जानुपर्ने र त्यताबाट फर्किनेबित्तिकै रुकुम जाने कार्यक्रम भएको हुँदा आफ्ना निजी कामहरू आजै गर्ने उद्देश्यले लेखनकुञ्जमा बिदा लिएँ ।

पेन्सनको रकम हरेक महिनाको २० गतेभित्र आउँथ्यो तर यस महिनामा आजसम्म पनि नआएको हुँदा बुझ्न राष्ट्रिय वाणिज्य बैँकमा बुझ्न पुरानोठिमी गएँ । बैँकका कर्मचारीले पेन्सन अफिसले नै नहालेको भनेपछि त्यहाँबाट सम्धी बद्री पाठक हेटौँडाबाट अफिसियल कामले सानोठिमी आइपुगेको भन्ने जानकारी पाएकोले सानोठिमीतिर लागेँ । तर सम्धी भने मलाई भेट्न दुवाकोट पुग्नुभएछ । भेट भएन । सानोठिमी पुगेपछि मैले पुस्तक सम्पादन गर्दे गरेका लेखक केपीएन (कुलप्रसाद न्यौपाने) को घर पनि यतै हो भनिएकोले उहाँलाई नै भेट्ने योजना बनाएँ । तर उहाँको फोन पनि स्विचअफ भनिरह्यो ।

अतः त्यो पनि काम नभएपछि बहिनी निशालाई भेट्छु भनी शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अफिसमा पसेँ । निशा पनि उन्नयनलाई लिन स्कुल गएकी रहिछ । आउँदै छु भनी । त्यहाँका निर्देशक युवराज अधिकारीसँग कुराकानी गरेर निशालाई पर्खिएँ ।

निशा आएपछि उन्नयनको परीक्षा राम्रै भएको बताउँदै आमाको नाममा स्थापित योगमाया लोकसाहित्य पुरस्कारको निम्ति यो समयमा आफूले सहयोग गर्न नसक्ने बरु अर्कोपालि गर्ने भन्ने कुरा राखी । मैले त्यो कामको लागि नआएको र सन्चोबिसन्चो सोध्नको निम्ति मात्र आएको बताएँ ।

निशासँगको छोटो भेटपछि पैदलै म हरिप्रसाद भण्डारीको घरतिर पैदलै लागेँ । जता जाँदा पनि कहाँबाट कहाँसम्म पुग्न कति समय लाग्दोरहेछ भनी म छिटोछिटो हिँडेर पाइला गन्ने गर्दछु । समय हेरेको तुरुन्तै बिर्सन्छ तर पाइला गनेको सितिमिती बिर्सँदैन । यसै हिसाबले कहाँबाट कहाँसम्म जान समय कति लाग्छ भन्ने अनुमान गरिहाल्छु म । पाइलाले दुरी पनि कति छ भन्ने र्‍याङको ठ्याङ मिल्ने गर्दछ । सानोठिमीबाट भण्डारी सरको घरमा पुग्न ठ्याक्कै २००० पाइला लाग्दोरहेछ । त्यो भनेको ठिक २ किमि दुरी हो र २० मिनेट समय हो । नबिसाई छिटोछिटो हिँड्दा १०० पाइला पार गर्दा १ मिनेट लाग्दछ जुन १०० मिटर नै हो । यो नापको हिसाब सबैसँग मिल्न सक्दछ । मैले रुकुममा र काठमाडौँमा पुगेका सबै गाउँठाउँको दुरी र पुग्ने अनुमानित समय ठ्याक्कै भनिदिनसक्छु । कतै कतै दाङमा पनि दुरी नापेको छु ।

भण्डारी सरको भर्खरै प्रकाशित कृति सपना र समय प्राप्त गरेपछि हिँड्दै नयाँठिमीसम्म पुगेँ । गठ्ठाघरबाट त्यहाँ पुग्न ठ्याक्कै १००० पाइला लाग्यो । प्रभू बैँकमा पुगेर एटीएमको लागि फाराम भरेँ । महाशिवरात्रीको मेलामा गएको बखत देवकुमारीले बोकेको झोलाबाट नगर रुपैँया एटीएम र अन्य महत्त्वपूर्ण कागजातहरू लुटेराले लुटेर लगेदेखि एटीएम ब्लक गरिएकोले नगद पैसाको काराबारमा समस्या भइरहेको थियो । एटीएम बन्न ७ देखि १० दिन लाग्ने बैँकका कर्मचारीले बताएका छन् ।

फाराम भरेर बसमा चढी म भक्तपुरतिर लागेँ । देवकुमारीले पानीको बिल पनि तिर्नुछ म पनि आउँछु भनेकोले दुधपाटीमा ओर्लिएँ । देवकुमारी आएपछि पानीको बिलबारे सोधपुछ गर्‍यौँ । त्यताबाट दरबार स्क्वायरतिर लाग्यौँ । पर्यटकहरुको ठुलो घुइँचो थियो । त्यताबाट ५ तले मन्दिरतिर झर्‍यौँ । मन्दिर परिसर मेलाले भरिएको रहेछ । मन्दिरको सिँढीहरूमा पञ्चेबाजा बजाउनेको ठुलो समूह थियो । आज नेवारहरूको बिस्का जात्रा रहेछ । भक्तपुर बसेर पनि यो जात्रा पहिलोचोटि हेर्न पायौँ ।

त्यहाँबाट दुवाकोटमोड स्थित घरमा फर्किन थाल्दा चोंगा गणेश मन्दिर छेउमै छिमेकी आशाराम फाँजुकी पत्नीले बोलाइन् । उनीहरूले नेवाः ननी भन्ने पार्टी प्यालेस स्टाइलको रेष्टुँरा खोलेका रहेछन् । बारा बनाउन लगाएर खाई घरमा आएर भोलि सोलुखुम्बु जाने तयारी गर्न थालेँ ।

अनलाइन समाचार हेर्दा प्रम बालेनले आफ्नो मन्त्रिले आफ्नी पत्नीलाई जागिर लगाइदिन खोजेकोले बर्खास्त गरेका रहेछन् । संसदको सभामुखमा यस अघि नै डीपी अर्याल निर्वाचित भइसकेका छन् । उपसभापतिमा रास्वपाले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको रहेछ ।

Loading

Post Comment

You May Have Missed