२०८२ चैत्र ५ गते विहीवार
दुवाकोट भक्तपुर
आज पनि उही रुटिन दोहोरियो । देवकुमारीले पकाएको खाना खायो, लोकल बस चढ्यो, लेखनकुञ्जमा पुगेर पुरानै काम गर्यो, अनि फर्क्यो ।
रुकुमबाट आएदेखि सुरु भएको रुघाखोकीले पेल्दै लिएको छ । तातोपानी बेसारपानी अदुवा र कालीमरिच हालेको चिया जे खाँदा पनि पटक्कै कम भएको छैन । बारम्बार सिँगान पुछ्दै र खोक्दै काम गर्नुको पीडा कहिनसक्नु हुन्छ । अब एलोपेथिक औषधिको सहारा लिनै पर्ने भएको छ । तथापि रुघाखोकीले आफ्नो साइकल पूरा नगरी छोड्दै छोड्दैन । यो त अनाहुत पाहुनाजस्तै रहेछ । लखेटेर पनि सितिमिती नलखेटिने । आरामसाथ हप्तौँ बास गर्ने र अनि मात्र बिदाई हुने । सम्झौता नगरी धरै छैन ।
सम्झौता त मनोहर लामिछाने सरसँग पनि गर्नुपर्ने भएको छ । भोलि एकातर्फ मध्यपश्चिमाञ्चल साहित्य परिषद्का महासचिव लालबहादुर खत्रीको छोराको बिहे छ । अर्कोतर्फ रुकुमेली वाङ्मय अधिष्ठानको कार्य समितिको बैठक पनि बोलाएको छु । अध्यक्ष भूपेन्द्रा मल्लको घर निर्माणको कामले धेरै लामो समयदेखि बैठक बस्न सकेको छैन । लेखनकुन्ज अफिसको काम उत्तिकै बाँकी छ । चैत्र महिनाभित्र सम्पादन गर्नुपर्ने १ लाख ९ हजार शब्दको एउटा फाइल तीन दिनमा जम्मा १२ हजार शब्द मात्र सम्पादन गर्न सकेको छु । यही हिसाबले चैत्रभित्र यो काम सम्पन्न गर्न मुस्किल छ ।
मनोहर सर भन्नुहुन्छ पहिले बिहे भोजमा जाम् । म भन्छु पहिले बैठक सिध्याम् । कुरा मिलिरहेको छैन । भोजमा जान एक्लै भन्दा साथी चाहिन्छ नै तर मलाई त यस्ता भोज पर्व तथा सामाजिक जमघटमा जानुपर्ने निमन्त्रणा नआइदिए हुन्थ्यो भन्ने लाग्दछ । हदै असामाजिक पनि हुन सकिँदैन । अतः मनोहर सरसँग सम्झौता गर्नुको विकल्प पनि छैन ।
दिउँसो सम्पादनको कामको अतिरिक्त फोटो खिचाउने काम पनि हुन्छ । पत्रिकामा लेखहरू छपाउँदो दिने खालको एउटै फोटो रहेनछ भन्दै कमल सरले गुनासो गर्नुभएको थियो । पछि खोज्न सजिलो होस् भनेर खिचिएका फोटाहरूलाई फेसबुकमा शेयर गरेको छु ।
बेलुका घरमा आइपुगेपछि हिजोको भेटघाट कार्यक्रम बारेमा पारिवारिक छलफल भयो । परीक्षितले जे भन्नुहुन्छ त्यही मान्छु भन्छ । देवकुमारीलाई भने मन परेको छैन । म भन्छु नयाँ विकल्प नभेटिएसम्म पुरानै विकल्पलाई स्वीकार गर्नुपर्छ । देवकुमारीलाई त कुर्ता किन्न पनि महिना दिन लाग्छ । झन् जीवनभरको निम्ति नयाँ सम्बन्ध जोड्ने जस्तो महत्त्वपूर्ण कामको निर्णय हतारमा के गर्न सक्दी हुन् । अरूले दिएको विकल्पमा पनि चित्त बुझाउँदिनन् । यसरी छिट्टै सक्नुपर्ने काममा विलम्ब हुन गइरहेको छ ।
![]()
Post Comment