मिति २०८२ साउन ९ गते । आजको गन्तव्य थियो—रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पर्ने गोतामकोट, गौतम वंशको उद्गमस्थल भनेर चिनिने एउटा ऐतिहासिक बस्ती। यात्रीहरू थियौँ कविन्द्र पुन, एक्कबहादुर केसी, पूर्ण ओली, अनिल केसी, गणेश रेग्मी र चालक भुवन कुसारी ।
बिहानको उज्यालोसँगै हामी मुसीकोटबाट निस्कियौँ। मध्य वर्षादको समय । प्रकृति र सानीभेरी यौवनले मदमस्त देखिन्थे । प्रकृति जताततै हरियो आभूषणमा बेरिएकी थिइन् । हल्का खैरो सारीमा सुसज्जित सानीभेरीले हाम्रो हात पक्रेर कहिले उकालो, कहिले ओरालो, कहिले पहाडका काख चुम्दै अघि बढ्दै रिम्नासम्म साथ दिइन् र गाढा खैरो सारी पहिरेकी ठुलीभेरीको जिम्मा लगाइदिइन् ।
हामीले अब ठुलीभेरीको आँचल पक्रेर कर्नाली करिडर हुँदै राडीज्युला पुग्यौँ । राडीज्युलामा ईश्वर खडका र खिममान घर्ती पनि थपिनुभयो । राडीज्युला पछाडि छोडेपछि बाटोभरि झरिरहेका निर्झर झरनाहरू र नदी किनारका सुन्दर वनबाटिका हुँदै कर्नाली कोरिडरको चट्टाने भित्तामा झुन्डिएको सडकमा गाडी कुद्न थाल्यो ।
हामी तल्लुबगरबाट कर्नाली करिडर छोडेर दायाँ मोडियौँ । केही समयपछि गाडी एउटा खुला थुम्कोमा पुगेर रोकियो। चालकले मुस्कुराउँदै भने, “आइपुग्यौँ, यही हो गोतामकोट।”
गाडीबाट ओर्लिएर चारैतिर हेर्दा मन केही क्षण निःशब्द भयो। ढुङ्गाका छानाले ढाकिएका परम्परागत घरहरू, टलक्क टल्केका आँगन मकैबारीले भरिएका खेतका गरा, वरिपरि हरिया डाँडाहरू र माथि निलो आकाश—सबै मिलेर एउटा जीवन्त चित्र बनेका थिए। यहाँको हावा पनि अरू ठाउँको भन्दा फरक लाग्थ्यो—शान्त, स्वच्छ र आत्मीय।
पश्चिम नेपालको कर्णाली प्रदेशस्थित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं ४ र ५ मा फैलिएको गोतामकोट प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक आस्था र सांस्कृतिक विविधताको अनुपम संगम हो। विकट पहाडी भूगोलका बीच अवस्थित यो क्षेत्र पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ। यहाँ पुग्ने जो–कोहीलाई हरिया डाँडाहरू, ढुङ्गाले छाएका परम्परागत घर, उर्वर फाँट, स्वच्छ वातावरण र आत्मीय ग्रामीण जीवनले सहजै मोहित बनाउँछ।
गोतामकोटलाई विशेष बनाउने अर्को पक्ष यसको ऐतिहासिक पहिचान हो। जनविश्वासअनुसार यही क्षेत्र गौतम वंशको आश्रय स्थल हो। सात सय वर्षभन्दा अघिदेखि गौतमहरूको बसोबास रहेको इतिहास पाइन्छ। आज पनि पानीकोटमा रहेका गौतम परिवारहरूले आफ्नो पुर्खाको स्मृति जोगाइरहेका छन्। त्यसैले देशका विभिन्न भागबाट गौतम थरका व्यक्तिहरू आफ्नो पुर्खाको थलो हेर्न यहाँ आउने गरेका छन्। गाउँ पुग्ने बित्तिकै उनीहरू आफन्त भेटेजस्तै आत्मीय व्यवहार पाउँछन्। यही आत्मीयताले गोतामकोटलाई केवल एउटा गाउँ नभई एउटा सांस्कृतिक परिवारको साझा थलो बनाएको छ।
गोतामकोट अनेक गाउँहरूको सुन्दर समूह हो। पानीकोट, मानचौर, टाँगे, बागा, आरुखोला, भण्डारी गाउँ, टिमुरगाउँ थापागाउँ छहरेखोला, सिगाउँ, मिश्रीगाउँ लगायतका बस्तीहरूले यस क्षेत्रलाई अझ जीवन्त बनाएका छन्। फरक–फरक जातजातिका समुदायले परम्परागत सद्भावका साथ बसोबास गर्ने भएकाले यहाँ सामाजिक सहिष्णुता र सांस्कृतिक विविधता दुवै देख्न सकिन्छ।
गोतामकोट वरपरको प्राकृतिक वातावरण पनि उत्तिकै मनमोहक छ। सुपाकोट, रिकोट, पानीकोट र मानाकोटका डाँडाहरूले घेरिएको यो भूभागबाट नागबेली पार्दै बगेको ठूलोभेरी नदीको दृश्य अत्यन्त रमणीय देखिन्छ। गाउँका बीचबाट बग्ने पट्टेखोलामा आज पनि सामुदायिक रूपमा सञ्चालन हुने पानीघट्टले स्थानीय जीवनशैलीको मौलिकता झल्काउँछ। पालैपालो अन्न पिस्ने परम्परा आजसम्म जीवित हुनु आफैंमा एउटा सांस्कृतिक सम्पदा हो।
गोतामकोटबाट केही दूरीमा अवस्थित नौधारी झरना यस क्षेत्रको अर्को अनुपम प्राकृतिक आकर्षण हो। अग्लो चट्टानबाट एकैसाथ नौ धारामा झरेको पानीले सिर्जना गर्ने दृश्य अत्यन्त लोभलाग्दो हुन्छ। वर्षायाममा यसको गर्जन र पानीको फिँजले वरिपरिको वातावरण नै शीतल र रोमाञ्चक बनाइदिन्छ। झरनाको फेदमा उभिँदा प्रकृतिले आफ्नै सङ्गीत सुनाइरहेझैँ अनुभूति हुन्छ। यही कारण धेरै पर्यटक यहाँ पुगेर लामो समय बिताउन चाहन्छन्।
गोतामकोटको सबैभन्दा प्रसिद्ध गन्तव्य भने चित्रीपाटन हो। समुद्री सतहबाट करिब ४,६३० मिटर उचाइमा रहेको यो विशाल हिमाली मैदान सिस्ने, घाग्रे र चित्री हिमालको फेदीमा फैलिएको छ। यहाँ स्थायी मानव बस्ती छैन। हिउँदमा बाक्लो हिउँले सेताम्मे हुने यो क्षेत्र वर्षायाममा हरियालीले ढाकिन्छ। यही समयमा स्थानीयहरूले गाई, भैँसी, घोडा र भेडा चराउन महिनौँसम्म यहाँ ल्याउने गर्छन्। चित्रीपाटन यार्सागुम्बा पाइने क्षेत्र पनि हो। कस्तुरी, ब्वाँसो, जङ्गली कुकुर, हरिण, थारजस्ता वन्यजन्तु तथा डाँफे र मुनालजस्ता दुर्लभ चराचुरुङ्गीका कारण यसको जैविक विविधता अत्यन्त समृद्ध मानिन्छ। यही विशेषताका आधारमा चित्रीपाटन नेपालका एक सय प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये पनि सूचीकृत भएको छ।
चित्रीपाटनको महत्त्व प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। यसको ऐतिहासिक र धार्मिक पक्ष झन् रोचक छ। जनविश्वासअनुसार यही स्थान वली थरका कुलदेवता चित्रलेखीको उत्पत्तिस्थल हो। किंवदन्तीले भन्छ—भगवान श्रीकृष्ण राधा, नारद तथा भक्तजनसहित महादेवको दर्शन गर्न यस पवित्र भूमिमा आउने गर्दथे। उनीहरू यहाँ आइपुग्नुअघि तीन दिनसम्म नुन र अन्न त्यागेर व्रत बस्ने चलन थियो। यही तीर्थयात्राका क्रममा निःसन्तान दम्पतीले श्रीकृष्णसँग सन्तानको वरदान मागे। राधाले दिएको काँस र कुशबाट नारदले दुई पुत्ला बनाए, श्रीकृष्णले ती पुत्लामा प्राण प्रतिष्ठा गरी दुई बालकका रूपमा वरदान दिए। तीमध्ये जेठो बालकको नाम चित्रलेखी र कान्छाको नाम विभूति राखियो। उनीहरू अलौकिक रूपमा जन्मिएकाले नारदले ‘वली‘ थर प्रदान गरेको किंवदन्ती सुनाइन्छ। चित्रलेखीको जन्म यही पाटनमा भएको विश्वासका कारण यस स्थानको नाम चित्रीपाटन रहन गएको जनविश्वास छ। आज पनि साउन, भदौ, कार्तिक र माघ पूर्णिमामा स्थानीय भक्तजन तथा वली थरका मानिसहरू यहाँ तीर्थयात्रा गर्न पुग्छन्।
गोतामकोट क्षेत्रको धार्मिक सम्पदामा मालिका मन्दिर र अत्रि ऋषिको आश्रम पनि विशेष महत्त्वका छन्। स्थानीय विश्वासअनुसार अत्रि ऋषिको मन्दिरमा गाईको दूध, चामल र फूलपाती मात्र चढाइन्छ। मन्दिर वरपरको वन अत्यन्त पवित्र मानिने भएकाले त्यहाँका रुखबिरुवा काट्ने चलन छैन। खडेरी परेको बेला यहाँ पूजा गरे वर्षा हुने जनविश्वास पनि रहेको छ।
भविष्यमा कृषि पर्यटन, होमस्टे, फलफूल खेती तथा स्थानीय परिकारसँग जोडेर यस क्षेत्रलाई अझ आकर्षक पर्यटकीय गन्तव्य बनाउन जरुरी देखिन्छ ।
प्राकृतिक सम्पदा, ऐतिहासिक विरासत, धार्मिक आस्था, सांस्कृतिक विविधता र आत्मीय ग्रामीण जीवनको अनुपम संगमका रूपमा रहेको गोतामकोट, नौधारी झरना र चित्रीपाटन कर्णालीको सभ्यता, संस्कृति र प्रकृतिलाई नजिकबाट अनुभूति गर्ने जीवित संग्रहालय हुन्। यिनको संरक्षण, प्रवर्द्धन र दिगो विकास गर्न सके यस क्षेत्रले नेपालको पर्यटन नक्सामा अझ उज्यालो पहिचान बनाउन सक्ने सम्भावना अत्यन्त प्रबल छ।
![]()