२०८३ बैशाख २२ गते मङ्गलवार
सिम्रुतु रुकुम पश्चिम
आज पनि बिहान ५ बजे उठेर पाठ्यपुस्तक निर्माणको लागि शिक्षाको अफिसतिर लाग्यौँ । चन्द्रा बहिनी पनि आउनुभयो । बत्ती अझै आएको थिएन । इन्भर्टरमा एक छिन काम गर्यौँ । गर्दा गर्दै इन्भर्टर पनि डाउन भयो ।
खाना खाएपछि चन्द्राले क्याम्पसमा सोलार प्यानल पनि छ र इन्भर्टर पनिको व्यवस्था छ । हप्तौँसम्म लाइनको बत्ती नआउँदा पनि सोलारले काम गर्छ भनेकोले चन्द्रासँगै सिम्रुतु क्याम्पसतिर लाग्यौँ । त्यहाँ भलिबल प्रतियोगिताको खेल भइरहेको रहेछ । प्युठान बनगाडलगायतका ठाउँबाट १० समूहको प्रतिष्पर्धा रहेछ । आज सेमि फाइनल र फाइनलको खेल भएकोले पनि खेलको प्रतिष्प्रधा रोचक हुने नै भयो । ढोकाहरु सबै बन्द गरे पनि हुटिङको स्वरले क्याम्पसको भित्ता फाल्लाझैँ भित्रै आइरहेको थियो । हामी घरी खेल हेर्दै त घरी काममा लाग्दै गरिरह्यौँ ।
हिजोदेखि माइला जेठान भक्तबहादुर खडका मावि सोलाबाङबाट अनिवार्य अवकाश पाउनुभएकोले बिदाई गरिएका फोटोहरू आजको फेसबुकमा भाइरल भइरहेका थिए । मैले पनि उहाँलाई फेसबुकबाटै निवृत्त जीवनको शुभकामना दिएँ ।
भक्तबहादुर खडकाको बाबालाई पहिले हामीले गारापारे बाजे भन्थ्यौँ । हाम्रो घर कइनपानीमा थियो । बिचमा पुरनलाहोरे र गाउँरा बाजेको घर थियो । त्यसको उतापट्टिको टोललाई साउनेपानी भनिन्थ्यो । गारापारे बाजेका ७ भाइबहिनी छोराछोरी थिए । अघिल्ला लोकबहादुर खडका र भक्तबहादुर खडका हाम्रै छाउँली थिए । मेरो २ दिदीहरू धन र मन तथा ठुल्दाइ कर्ण र म गरी ४ भाइबहिनी थियौँ । हामी ४ भाइना र उहाँहरू एकै दिन सोलाबाङको स्कुलमा १ कक्षामा भर्ना भएका थियौँ । कक्षा १ देखि ३ सम्म सोलाबाङमा पढेपछि नयाँ शिक्षा योजनाअनुसार ५ सम्ममा भएको स्कुल ३ मा झरेपछि हामी ४ कक्षामा पढ्न सेरिगाउँ जान थालेका थियौँ । ४ कक्षा पास गरेपछि घरमा आमाबा बिरामी भएर बम्बै गइरहनुपर्ने अवस्था सिर्जना भएकोले मेरा दुबै दिदीले पढ्न छाड्नुभयो । म ६ कक्षामा पुगेपछि मन दिदी फेरि ५ कक्षामा पढ्न थाल्नभयो तर धन दिदीले फेरि पढ्नुभएन । ठुल्दाइ ६ कक्षामा फेल हुनुभयो । पछि ९ पढ्दा पढ्दै छोडिदिनुभयो ।
हामीले सेरिगाउँ स्कुलमा ७ कक्षासम्म पढेपछि ८ कक्षादेखि खलङ्गा हाइस्कुलमा पढ्न थाल्यौँ । म ८ कक्षामा दोस्रो भएँ । ९ कक्षामा चौथोमा झरेँ र १० कक्षाको टेस्टमा प्रथम भएँ । रेगुलरबाटै लोकबहादुर खडका र मैले एसएलसी पास गर्यौँ । मेरा र भक्तबहादुर खडकाका अक्षर निकै बिग्रेका थिए तसर्थ मेरो एसएलसी त्यति राम्रो नम्बर आएन । भक्तबहादुर खडका अक्षरकै कारण फेल हुनुभयो । उहाँले अर्को वर्ष १० कक्षा दोहोर्याउनुभयो र अक्षरमा निकै सुधार गर्नुभयो । फलस्वरुप टेष्टमा पनि प्रथम हुनुभयो र एसएलसीमा पनि जिल्लामै राम्रो नम्बर ल्याउनुभयो ।
उहाँले एसएलसी दिनेबित्तिकै कैलदेउमा पढाउन थाल्नुभएको थियो । २०४१ सालमा दुबैजनाले शिक्षकमा स्थायी भयौँ । उसबेलाका मिल्ने साथी भएकाले गाउँका नजिक अरु स्कुल हुँदाहुँदै पनि मैले पनि पदस्थापनमा कैलदेउ रोजेको थिएँ । तर त्यहाँ पुगेपछि हेडमास्टर मलाई बनाउन खोजेकोले हामीबिचको सम्बन्ध चिसो हुन पुग्यो । जागिरीको सम्बन्ध चिसिए पनि घरको सम्बन्ध तातै थियो । फलस्वरूप मैले उहाँकी जेठी बहिनी बिहे गरेँ र उहाँ जेठान हुनुभयो ।
मैले यिनै कुराहरू झझल्क्याउने गरी जेठान भक्तबहादुर खडकाको अनिवार्य अवकाशको सिलसिलामा शुभकामना पोस्ट राखेको थिएँ ।
बेलुकातिर फर्किँदा सिम्रुतुको पुरानो बजार हुँदै गयौँ । विश्वेश्वर पोख्रेलको घरको भित्तामा सिमेन्ट पोतेको अवस्थाबाहेक अरू केही परिवर्तन देखिएन । आजभन्दा ३५ वर्षपहिलेका संरचना दुरुस्तै उस्तै रहेछ । कर्णबहादुर बोहराकै भाइ छत्रबहादुर बोहराले विश्वेश्वर पोख्रेलको घरको तल्लो तलामा औषधि पसल राखेका रहेछन् । औषधिहरू राख्ने र्याक उही थिए । भित्ता उही थिए । टेबुल उही थियो । विश्वेश्वरकै दम्पत्ति औषधि बेच्दै छन् जस्तो झझल्को आयो । घर पनि छत्रबहादुरले नै किनेका रहेछन् ।
विश्वेश्वर पोख्रेलको घरको ठिक अगाडि अमर होटेल थियो । मुरुका अमर पुनले होटेल गर्दथे । त्यो घर पनि दुरुस्तै उस्तै अझ जिर्ण अवस्थामा रहेछ । अमर पहिल्यै भिरबाट लडेर बितिसकेछन् ।
यी दुई घरहरुबाहेक अन्य घरहरू भने सबै पक्की थिए । असनभित्रको गल्लीको झझल्को दिने गल्ली थियो । वारिपारिबाट हेर्दा यो गल्लीको सुइँपत्तो नै हुँदैन । शिवप्रसाद पुनको घर पनि फेरिएछ । उनले घर बेचिसकेछन् ।
बजारको भित्रपट्टि २ वटा अँध्यारा गल्ली बनेका रहेछन् । अहिले त खारा खोलाको किनारै किनार पनि ठुलठुला भवन बनेर नयाँ सडक भइसकेको छ । यसै गरी मुरु खोलाको किनार नै ढाकेर अर्को नयाँ बजार बनेको रहेछ । भित्र पसेर हेर्दा अनौठो लाग्ने ।
माया होटेलमा पुग्दा आज पनि होटेलमा नेट बनाएका रहेनछन् । बत्ती भने दिउँसैबाट आउन थालिसकेछ । आज अरबियन साहित्यकार अख्तर सिरानी र फिलिपिन्सका साहित्यकार जोक्विनको जन्मदिन हिजो र कार्ल मार्क्सके जन्मदिन आजै परेको हुँदा आज बेलुका पनि भर्चुअल शुभजन्मोत्सव शुभकामना आदाप्रदान कार्यक्रम राखिएको थियो । हामी बस्ने ठाउँमा नेट नभएकोले शिक्षाको अफिस खोल्न लगाई उतै गएर बाँकी काम र भर्चुअल कार्यक्रमको तयारीमा लागेँ ।
गुगल मिटबाट सञ्चालन गरिएको कार्यक्रममा गापा अध्यक्ष गणेश केसी र पूर्व सांसद नारायण शर्मा झुलुक्क देखिएर अलप भए । भूपेन्द्रा मल्ल १० मिनेट ढिला गरेर आउनुभयो । भूपेन्द्राको अध्यक्षतामा डम्बर चन्द्रा र मनलालको उपस्थितिमा कार्यक्रम सञ्चालन गरेँ । सबैले छोटो छोटो मन्तव्य दिए । मैले पनि महान साहित्यकार एवम् दार्शनिकहरुको पूर्व सङ्कलन गरिएको परिचय दिएँ । परिचय यस्तो थियोः
आज हामी उर्दू साहित्यका एक मधुर र रोमाञ्चक कवि अख्तर शिरानीको जन्मजयन्ती मनाउन यहाँ एकत्रित भएका छौँ ।
अख्तर शिरानीलाई “रूमानी कविताका सम्राट” भनेर चिनिन्छ । उनका कविताहरूमा प्रेम केवल भावना होइन, जीवनको सौन्दर्य र संवेदनाको अभिव्यक्ति हो । उनले प्रेमलाई पवित्रता, कोमलता र कल्पनाको रंगले सजाए । उनका शब्दहरूमा एक प्रकारको संगीत छ—जसले पाठकलाई केवल पढ्न मात्र होइन, अनुभूति गर्न बाध्य बनाउँछ ।
उनको काव्यमा प्रकृति, प्रेम र युवा मनको कम्पन स्पष्ट देखिन्छ । उनले प्रेमलाई कुनै सीमामा बाँधेनन्, बरु स्वतन्त्र आकाशमा उड्ने चराझैँ चित्रण गरे । आजको युगमा, जहाँ सम्बन्धहरू यान्त्रिक बन्दै गएका छन्, अख्तर शिरानीको कविता हामीलाई पुनः संवेदनशील बन्न सिकाउँछ ।
हामीले उहाँबाट सिक्नुपर्ने कुरा के हो भने—साहित्य केवल शब्दहरूको संयोजन होइन, यो आत्माको आवाज हो । यदि हामीले आफ्नो लेखनमा सच्चा भावना र मानवता राख्न सक्यौँ भने, हाम्रो सिर्जना पनि अमर बन्न सक्छ ।
अन्त्यमा, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँका कृतिहरूबाट प्रेरणा लिएर हामी पनि साहित्यलाई अझ समृद्ध बनाऔँ भन्ने कामना गर्दछु ।
यसै गरी आज हामी विश्व इतिहासका एक महान चिन्तक, दार्शनिक तथा अर्थशास्त्री कार्ल मार्क्सको जन्मजयन्ती मनाइरहेका छौँ ।
कार्ल मार्क्स केवल एक व्यक्ति होइनन्, एक विचारधारा हुन् । उनले समाजमा विद्यमान असमानता, शोषण र वर्ग विभाजनको गहिरो विश्लेषण गरे । उनको प्रसिद्ध सिद्धान्तले हामीलाई सिकायो कि समाजको विकास आर्थिक संरचनासँग गहिरो रूपमा जोडिएको हुन्छ ।
उनले श्रमिक वर्गको अधिकारका लागि आवाज उठाए । “विश्वका मजदुरहरू एक हौ!” भन्ने उनको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । विश्वभरि भएका धेरै सामाजिक परिवर्तनहरूमा मार्क्सको विचारले गहिरो प्रभाव पारेको छ ।
हामी आजको सन्दर्भमा हेर्दा पनि आर्थिक असमानता, बेरोजगारी र श्रमिक समस्याहरू अझै समाधान हुन बाँकी छन् । यस्तो अवस्थामा मार्क्सका विचारहरू केवल इतिहास होइनन्, वर्तमानका लागि पनि मार्गदर्शक बन्न सक्छन् ।
तर, हामीले उहाँका विचारलाई अन्ध रूपमा होइन, आलोचनात्मक रूपमा बुझ्नुपर्छ । समाजको सन्तुलित विकासका लागि उनका सिद्धान्तहरूलाई समयानुकूल ढंगले प्रयोग गर्नु आवश्यक छ ।
अन्त्यमा, कार्ल मार्क्सप्रति श्रद्धाञ्जली अर्पण गर्दै, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ हामी सबै लागौँ भन्ने कामना गर्दछु ।
यसै गरी आज हामी फिलिपिन्सका महान साहित्यकार निक जोक्विनको जन्मजयन्तीको अवसरमा उहाँको स्मरण गर्न यहाँ उपस्थित भएका छौँ ।
निक जोक्विन एक बहुआयामिक प्रतिभा थिए—उनी कथाकार, निबन्धकार, नाटककार र पत्रकार पनि थिए । उनका कृतिहरूमा फिलिपिन्सको इतिहास, संस्कृति र पहिचानको गहिरो छाप पाइन्छ ।
उनले आफ्नो लेखनमार्फत उपनिवेशवादको प्रभाव, सांस्कृतिक द्वन्द्व र राष्ट्रिय पहिचानको खोजीलाई उजागर गरे । उनका कथाहरू केवल मनोरञ्जन होइनन्, इतिहास र समाजको गहिरो अध्ययन पनि हुन् ।
आजको विश्वमा, जहाँ सांस्कृतिक पहिचान संकटमा परेको देखिन्छ, निक जोक्विनका कृतिहरूले हामीलाई आफ्नो मौलिकता जोगाउन प्रेरित गर्छन् । उनले देखाए कि साहित्य समाजको दर्पण मात्र होइन, परिवर्तनको माध्यम पनि हो ।
हामीले उहाँबाट सिक्नुपर्ने कुरा के हो भने आफ्नो माटो, आफ्नो इतिहास र आफ्नो संस्कृतिप्रति गर्व गर्नुपर्छ । यही नै साँचो साहित्यको आधार हो ।
अन्त्यमा, निक जोक्विनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँका कृतिहरूबाट प्रेरणा लिएर हामी पनि आफ्नो पहिचानलाई सम्मान गरौँ भन्ने कामना गर्दछु ।
कार्यक्रम सकिएपछि होटेलमा आएर खाना खाई सुत्यौँ ।
![]()
Post Comment