२०८२ फागुन ३० गते शनिवार
भरतपुर, चितवन
आज दाङबाट चितवनतिरको यात्रा सुरु गर्नुपर्ने भएकोले बिहान ४ बजे अलार्म लगाएको थिएँ तर देवकुमारी साढे दुई बजे नै उठेर तयारी गर्न थालिन् । बत्तीको प्रकाशले गर्दा निद्रा नै लागेन । म पनि पोकापन्तरा तयारीमा लागेँ । साढे चार बजेपछि निराको सहयोगले हामी तुल्सीपुरको वीरेन्द्र चोकमा पुग्यौँ । ठिक ५ बजे बुक गरेको ५५३ नम्बरको गाडी आइपुग्यो । गाडीमा भनेअनुसारको सिट नपाइएला भन्ने डर थियो तर गाडी पूरै खाली नै आयो । श्रेष्ठ डिलक्स एसी लेखिएको गाडी नयाँ देखिन्थ्यो । बाहिरपट्टि मात्र नयाँ हो कि भनेको भित्र पनि छोए मैलेलान् जस्ता आरामदायी सोफाहरू थिए । हामीहरू रोजीबिनी ए साइडको ३ र ४ नं सिटमा बस्यौँ । हामीलाई हालेपछि गाडी घोराहीतिर कुद्यो । तुल्सीपुरमा धेरै बेर कुर्नुपरेन । भर्खर ५ बजेकोले बाहिर केही देखिँदैनथ्यो । तुल्सीपुरदेखि घोराहीसम्म पनि सडक विस्तारको कारण बाटो उबडखाबड थियो तर खासै फरक परेन । पौने ६ बजे घोराही पुग्यौँ । केही समय यात्रुहरू हालेर गाडी ठिक ६ बजे घोराहीबाट लमहीतिर हुँइकियो । मसोट पुगेपछि मात्र उज्यालो भयो । गाडीमा चढेका अधिकांश यात्रुहरू लमहीमै ओर्लिए । दुईतीन जना मात्र त्यहाँ चढे । ठिक ७ बजे लमहीबाट भालुबाङतिर लाग्यो ।
बाहिर यात्रुहरूले हात हल्लाएर रोक्न खोज्दथे तर गाडी रोकिँदैनथ्यो । मलाई ताजुब लागिरहेको थियो कि यात्रुहरू पाएर पनि यस गाडीले किन यात्रु चढाएको छैन । कालाकातेमा भने पाँच छ जना अधबैँसे यात्रुहरू देखिएकोले गाडी रोकियो । ती यात्रुहरू पनि टाढाका यात्रुहरू होइनन् भन्ने उनीहरू झोलाहरूबिना रित्तै चढेकोले बुझिन्थ्यो ।
धानखोलाबाट कन्डक्टरले भाडा उठाउन थाले । हामीले दुईजनाको २५०० रुपैयाँ तिर्यौँ । कालाकातेबाट चढेका यात्रुहरूलाई प्रति व्यक्ति ६० रुपैँयाँ भाडा मागे । ती यात्रुहरूले भाडा ६० होइन ५० रुपैयाँ मात्र हो । हामी ६० रुपैँयाँ तिर्दैनौँ भनेर कोचलो झिके । यो लङरुटको एसी गाडी भएकोले हाम्रो रेट नै यही हो भन्दा पनि उनीहरूले मान्दै मानेनन् । एक जनाको मात्र भए त छुट दिन्थे होलान् तर त्यहाँ ६ जना यात्रुहरू चढेका थिए र १० रुपैँयाको दरले कम उठाउँदा उसलाई ६० रुपैयाँ घाटा हुन जाने भएकोले लामै चर्काचर्की भयो । आखिर ती यात्रुहरू आफैले भनेबमोजिमको भाडा तिरेर ओर्लिए ।
त्यसभन्दा अगाडि लोकल यात्रुहरूको निम्ति गाडी रोकिएन । गाडी खाली नै कुदिरह्यो । मैले पहिलोचोटि यस्तो बिडम्बना देखेकोले छक्क परिरहेको थिएँ । ३ महिनापहिले यही बाटो काठमाडौँ नाइट बसमा आउनुपरेको थियो । हामीले पछिल्तिरका फोल्डिङ सिट नपाएकोले क्याबिनमा टिकट काट्यौँ । तर गाडी आइपुगेपछि क्याबिनमा खाली सिट थिएन । हामी लमहीसम्म कोचिएर बस्यौँ । तर लमहीमा कन्डक्टरले पछाडि खाली भयो पछाडि जाऊ भनेकोले क्याबिनबाट पछाडि सर्यौँ । त्यहाँ झन् यात्रुहरूको कोचाकोच थियो । रात्रिबसमा बुटवलसम्म उभिएरै यात्रा गरियो र बुटवलदेखि नारायणगढसम्म मुढामा निकै सकसपूर्ण यात्रा गर्नुपरेको थियो । यस बारेमा मेरो व्यङ्ग्यात्मक यात्रा संस्मरण फित्कौलीमा प्रकाशित भएको थियो । त्यो यात्रा सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छन् ।
तर यो भने ठिक विपरीत यात्रा भएको छ । अन्य एसी गाडीमा यात्रुलाई फसाउन मात्र एसी भनिन्थ्यो र सितिमिती एसी खोल्दैनथे वा एसी बिग्रिएका हुन्थे । तर यहाँ भने चार पाँच जना यात्रुको निम्ति चन्द्रौटादेखि नै एसी खोलिएको थियो । बाहिर उखुम गर्मी थियो तर भित्र भने चिसो वातावरण थियो ।
चन्द्रौटादेखि बुटवलसम्म सडक विस्तारको काम भइरहेकोले गाडीले गति लिन सकेन । बुटवल नारायगढको सडक विस्तारले झन्डै १० वर्ष यात्रुहरूलाई कष्ट दिइरहेको छ । तर यहाँ भने धमाधम काम भइरहेको देखियो । चार पाँच महिनाअघि विस्तारको कामै सुरु भएको थिएन अहिले भने ठाउँ ठाउँमा पुलहरू बनिसकेका रहेछन् । बाटोको विस्तार पनि त्यही रफ्तारमा थियो । काम गर्नको लागि समयभन्दा पनि ठेकेदारको सक्षमता र ठेक्का लगाउनेको चासोले भूमिका खेल्दछ ।
सुविधासम्पन्न गाडीमा पनि यात्रु नहुनुको कारण युवाहरूको विदेश पलायनले पनि भूमिका खेलेको हुनुपर्छ किनकि यात्रुहरू अधिकांश महिलाहरू र अधबैँसे नै थिए । विदेश जान नसकेकाले पनि कि मोटरसाइकल कि सवारी साधन किनिसकेका होलान् । बसको सिन्डिकेट र हाइस तथा अटोरिक्साको बढोत्तरीले पनि ठुला गाडीका यात्रुहरू घटेका हुनसक्छन् । यातायात व्यवसायीहरूले उहिल्यै कमाइसके । अहिले यो क्षेत्रमा लाग्नेहरूलाई खासै फाइदा भएको देखिँदैन । आज भन्दा दश पन्ध्र वर्षपहिले भक्तपुरबाट नयाँ बसपार्क जान ट्याक्सी भाडा १५०० सम्म उठ्थ्यो तर अहिले पठाओ र इन्ड्राइभहरूको सुविधाले गर्दा ५०० मै पुगिन्छ । ट्याक्सीचालकको मनोमानीले गर्दा मिटर जडान गर्ने र कुन ठाउँदेखि कुन ठाउँसम्मको भाडा कति लाग्छ भनी होर्डिङ बोर्ड नै राखियो तर मिटर बिगारेर यात्रुहरूको झनै शोषण गरियो ।
भूपेन्द्रा मल्ल म्यामले भन्दै हुनुहुन्थ्यो मैले त हुँदाखाँदाको गाडी थन्क्याएर याङ्गो नै चढिरहेकी छु । सबै हिसाबले यो सस्तो पर्छ ।
यस्तै कुराहरू मनमा खेलाउँदै गर्दा सुनवल आइपुग्यो । सुनवलको खाना पनि स्वादिष्ट नै थियो । पहिले त भातमा के के रसायन मिसाएर एक गासभन्दा बढी खान मन लाग्दैनथ्यो । यात्रुहरूले यही डरले हाफ खाना माग्थे तर होटलेले पैँसा लिँदा भने फुल खानाको १०० रुपैँया र हाफ खानाको पन्चानब्बे रुपैयाँ असुल्थे । नौबीसेतिरका होटलमा खाजा खान गाडी रोकिन्थ्यो र भोका यात्रीहरूले मोल नै नसोधी खाजा खान्थे । पैसा तिर्दा एक मुठी चनाको १५० रुपैयाँ तिर्नुपर्दा झसङ्ग हुन्थे । यस्तो लुटतन्त्र अहिले अलि कम भएको छ । तर अहिले पनि विभिन्न बहानाले ठग्नलायक देखे भने अनेक बहानाले एउटा ठग नेपालीले अर्को सोझो नेपालीलाई ठगिहाल्छ ।
खाना खाँदा यस्तै कुराको झझल्को आइरह्यो ।
सुनवलबाट बर्दघाटसम्म सडकको स्तरोन्नति भइसके पनि दाउन्नेतिरको भाग उस्तै रहेछ । गाडीहरू जाम परेर झन्डै १ घण्टा रोकिनुपर्यो । चोरमारासम्मै अवस्था यस्तै थियो। त्यसपछि भने भाते निन्द्रा लागेछ । गैँडाकोट पुगेपछि मात्र निद्रा खुल्यो। यताको बाटोको अवस्थाको कुनै जानकारी हुनसकेन ।
हामी भरतपुरको चौबीसकोठी भन्ने ठाउँमा गाडीबाट ओर्लियौँ र अटो भाडामा लिएर पीपलचोकस्थित अस्मिता छोरीको कोठामा पुग्यौँ । हामी आइपुगेको देखेर नाति प्रवीर पाठक अत्यन्तै खुसी भए । जुवाइँ प्रवीण पाठक पनि आउनुभएको रहेछ । सम्धिनीकी आमा पनि यतै हुनुहुन्छ । सबैसँग भेटघाट र पारिवारिक कुराकानी गर्दै रमाइलो वातावरणमा आजको दिनलाई बिट मारियो ।
![]()
Post Comment