चित्रीपाटनः विचित्र देशाटन (भाग-१)
काठमाडौँदेखि रुकुमसम्म
मैले मुख्य मुख्य कपडाहरू सानो झोलामा अटाउनेजति खाँदैँ र पठाओको मोटरसाइकल बोलाइहालेँ । नयाँ बसपार्क पुगेपछि बस काउन्टरमा पुगेर टिकटको लागि सोधपुछ गरेँ । काउन्टरवालाले तपाईँ त भाग्यमानी हुनुहुँदो रहेछ ड्राइभरको पछाडिको सबैभन्दा राम्रो फोल्डिङ सिट भेट्टाउनुभयो भनेर बधाई दिँदै टिकट हातमा थमाइदिए । भन्नेबित्तिकै पाइएको टिकटले म खुसी नहुने कुरै थिएन । बसभित्र छिरेर आफ्नो सिट देखेपछि थाहा भो कि त्यो सिट त छोटा खुट्टा पनि फैलाउन नमिल्ने, अलिकति ढल्किनसमेत नमिल्ने र पसेपछि सितिमिति निस्कनै नसकिने खालको पो रहेछ !
दिउँसोको १ बजेपछि बसले नयाँबसपार्क छोडेर आफ्नो बाटो तताउन थाल्यो । मेरो छेउको सिट खाली नै थियो । बसपार्कको प्रवेशद्वारमा पुग्नै आँटेको बखत सफेद आभुषणमा सजिएकी एक युवती मेरो छेउको सिटमा आएर बसिन् । म बढी जिम्मेवार हुनुपर्ने औचित्य ठानी झ्यालतिर कोच्चिएँ । गाडीभित्रको हल्लाखल्लालाई लाउडस्पिकरको चर्को गीतले उछिन्यो । ती युवतीलाई सोझै हेर्ने संकोच र झर्दै चढ्दै गरेका यात्रु तथा पुर्याउन आइरहेका यात्रुका आफन्तहरूको भिडभाडको उपदृश्यहरूले उनको अनुहार हेर्ने फुर्सद मिलेको थिएन ।
ट्राफिकजाम, यात्रु सङ्कलन, ठाउँठाउँमा यात्रुका सामान लोडलगायतका उपक्रमहरूबाट गुज्रिँदै करिब डेढ घण्टाको हाम्रो यात्रा थानकोट पुगेपछि रोकियो । गाडी मर्मतको लागि वर्कशपमा लगेर थन्क्याएर पार्टपूर्जाहरू फुकाल्न थालियो । गाडीका सबै यात्रुहरू बाहिर ओर्लिए र ती युवती पनि बसबाट झरिन् । म सिटबाट उठ्नै सकिनँ । म त कल्पनामै हराइरहेको थिएँ, के साँच्चिकै पुगिएला त चित्रीपाटन ?
अढाइतीन घण्टापछि गाडीको मर्मत पूरा भएको सङ्केत पाउनेबित्तिकै झरेका यात्रुहरू पुनः बसमा चढ्न थाले । युवती साविक सिटमा आएर बसिन् । बस चलेपछि कन्डक्टरले ती युवतीलाई पछाडिको ९ नम्बर सिटसँग साटफेर गराइदिन्छु भनी फकाउन थाले । उसको प्रस्ताव सुनेर गलत आशङ्काले म हतप्रभ भएँ । रिस पनि उठ्यो । म नै त्यस सिटमा गएर बस्छु नि त भन्न पनि सकिनँ । युवतीले उसको प्रस्ताव अस्वीकार गरिदिएपछि अलिकति हल्का भएँ । कन्डक्टर सर्वज्ञाता भएजस्तै यात्रुहरूसँग ठूलोठूलो स्वरमा कुरा गर्दै बाझिरहेका थिए । थोरै समयमा पनि उनको चकचकी र चकाचक धेरै बढी देखिइसकेको थियो । गाडीको लाउडस्पिकरको गीतसमेत उनको स्वरले फिका तुल्याइरहेको थियो ।
नागढुङ्गामा बाहिर जाने गाडी इन्ट्री गराउने क्रममा बस रोकिँदा पानी, मकै आदि बेच्नेको हुल बसभित्र छिर्यो । उनले एउटा मकै किनिन् । मैले पानी किनेँ । मैले नमान्दा नमान्दै पनि उनले मकै भाँचेर आधा मलाई दिइन् । उनीसँग खुल्न अब अलिकति सजिलो भएकोले जिज्ञासा पोख्न थालेँ । चित्रीपाटन रहेकै नगरपालिकाकी बासिन्दा र कारिन्दा पनि रहिछन् । आफ्नै जिल्लाभित्र पर्ने भएपनि मेरोलागि आठबीसकोट र चित्रीपाटन सर्वथा नौला थिए । यो यात्राभर यात्रासम्बन्धी हर जिज्ञासा राख्न पाइनेभयो भनी म औधी खुसी भइरहेको थिएँ ।
अँध्यारोले सत्ता हत्याउने कोशिस गर्दै थियो । अपरान्हले भने सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेको थियो । मैले राखेको एकदुई जिज्ञासाको जवाफसमेत नदिई सिट अप्ठ्यारो भएकोले पछि जान्छु भन्दै ती युवती सिटबाट उठिहालिन् ।
मान्छेलाई आफ्ना अतृप्त इच्छा पूर्ति गर्न झिनामसिना बहानाले पनि मद्दत गर्दछन् । मेरा मनमा अनेकौँ आशंकाहरू जन्मिए हुर्किए र एकएक गरी हराएर गए । मेरो छेउबाट ती युवती मात्र होइन कन्डक्टर पनि मेरो नजरबाट बेपत्ता भएका थिए । ती कन्डक्टरको काम अर्को सानो केटाले चलाउन थाल्यो ।
उनले छोडिदिएको सिटमा हात्तीसरह जिउ भएका एक यात्रु आएर बसे । उनी बस्नेबित्तिकै उनको बडेमानको जिउले म बेसरी पेलिएँ । केही छिनमा सम्पूर्ण जिउ मेरै जिउमा अडेस लगाएर उनी घुर्न थालिहाले । मैले न उनलाई धकेल्न सकेँ न त आफ्नो मर्म व्यक्त गर्न । सास नै बन्द होलाझैँ भयो । पूरै जिउ निदाएर झमझमाउन थाल्यो । झन् दमौलीबाट पोखरासम्मको उबडखाबड बाटोको कठिन यात्राको जम्मै भार मेरै जिउमा खनिएजस्तो भयो । म कोलमा तोरी पिसिएझैँ पिसिइरहेको थिएँ । लाग्नथाल्यो चित्रीपाटन होइन म रुकुममै नपुगेर सिद्धिने भएँ । हेम्जा पुगेपछि खाना खानको लागि बस रोकियो । मेरो छेउका बडेमानका यात्री उठे पनि म सितिमिति उठ्न सकिनँ । ठूलै ढुङ्गाले थिचेजस्तै गरी म अरर्रिसकेछु । बल्लतल्ल उठेँ र लत्रिँदै खाना खान झरेँ ।
म एउटा खाली टेबुलमा बसेर खाना खाँदै भएँ । तिनै युवती आएर मेरो छेउमा बसिन् र खाना खान थालिन् । पहिले संकोचले उनको अनुहार हेर्न सकेको थिइनँ अहिले घृणाले गर्दा उनलाई हेर्न सकिनँ । मैले खाना खाँदाखाँदैको थाली उठाएर अर्को टेबुलमा गई खाना खान थालेँ । खाइसकेपछि त्यस बसमा चढ्न पनि मन लागेन । अठोट गरिसकेको थिएँ, यसरी यात्रा गर्नुभन्दा कि त उभिएरै रातभरको यात्रा गर्छु कि पाए अर्को बसमा चढ्छु । नभन्दै रुकुम जाने अर्को बस पनि त्यहीँ आइपुगेर रोकियो । सबै यात्रीहरू पहिलो बसमा चढिसकेर बस पनि स्टार्ट भैसकेको थियो । मैले आफ्नो सामान झार्नको लागि बसभित्र पसेँ । मेरो छेउको सिट खाली नै देखेर मलाई हाइसन्चो भयो । सामान झार्ने निर्णय बदलेर आफ्नै सिटमा बसेँ ।
त्यो बडेमानको यात्रीलाई हेर्ने कौतुहलताले उठेर पछाडिबाट नजर सार्दै अगाडितिर डुलाएँ । त्यो यात्री त देखिएन तर सबैभन्दा अगाडिको ए साइडमा ती युवती पो बसेकी रहिछन् । उनी सँगैको सिटमा सेतै कपाल फुलेकी वृद्धा पनि थिइन् । मैले उनको चरित्रउपर उठाएको अनावश्यक शङ्काउपर घोर पश्चात्ताप हुन गयो ।
बस चल्नै आँट्दा ३ जना यात्रु हेम्जाबाट चढे । तीमध्ये एकजना वृद्धा थिइन्, एकजना २ वर्षजतिको बच्चा बोकेकी महिला थिइन् । कन्डक्टरले वृद्धालाई क्याबिनमा सिट मिलाइदिए । बच्चासहितकी महिला मेरो सिटसँगैको सिटमा बसिन् । मलाई अर्को आशङ्काले पोल्न थाल्यो । यो बच्चाले चिच्याकोहोलो गरेर रातभर मलाई सुत्न दिनेछैन । अर्कै बसमा चढिहालेको भए पनि हुने । तथापि अर्को बसमा पनि हाइसन्चो बस्न पाउने ग्यारेन्टी नै त कहाँ थियो र ?
तर मेरो आशङ्काविपरीत त्यो बच्चा आमाको काखमा छुपुक्क बसिरह्यो । बरू महिलाले भने सिटबाट हरघडी सर्याकसुरुक गरिरहिन् । जब बच्चा सुतेर ब्युँझन्थ्यो मलाई कोट्याउन थाल्दथ्यो । ती महिलाले बच्चालाई तानेर आफ्नै काखमा च्याप्न खोज्थिन् । मेरो शरीरसँग नछोइन उनले गरेको प्रयत्न हास्यास्पदभन्दा बढी दुःखदायी थियो । १ घण्टाजतिको यात्रापछि कुस्माबजार पुग्दा महिलाले सिट फेरिदिन कन्डक्टरलाई अनुरोध गरिन् । कन्डक्टरले महिलासँग उनीसँगै चढ्ने वृद्धाको सिट साटिदिए । ती वृद्धा (ती महिलाकै सासू होलिन्) ले बच्चालाई आफैसँग राखिन् । उनले आफू झ्यालतिर बस्न चाहिन् । मैले आफ्नो सिट छोडिदिएँ र बायाँपट्टिको सिटमा बसेँ ।
बायाँ सिटको आसनमुनिको डण्डी भाँचिएर बाङ्गिएको रहेछ र सिटको फोम पनि च्यातिइसकेको रहेछ । जसले गर्दा यात्रुलाई सिटमा अडिनै मुस्किल हुनेरहेछ । जिउ सिटमा नअडिएपछि बसको जोल्टिङसँगै मैले पनि सर्याकसुरुक गरिरहनुपर्यो । ती वृद्धाले बच्चालाई मसँग खेल्न रोकटोक गरिनन् । रातको लामो यात्रामा निदाउनु त कता हो कता जिउ अड्याउनै असमर्थ हुँदा त्यो बच्चासँगै खेलेर रात कटाएँ । अँध्यारोको समयमा कष्टप्रद यात्राको दुरी अत्याहटलाग्दो भए पनि त्यस बच्चाले सबै कष्ट बिर्साइदियो ।
बुर्तीबाङबाट केही अगाडिको शेराबजारमा बुटवल हुँदै आएका पन्ध्रबीस यात्री हाम्रो बसमा थपिएपछि छतसम्मै खाली ठाउँ रहेन । बाग्लुङ र रुकुमको सिमाना पाथीहाल्ने नेटामा पुग्दा मिर्मिरे उज्यालो भयो । रुकुमको काँक्री पुगेपछि मसँगैको बच्चासहितका महिलाहरू र धेरै यात्रीहरू ओर्लिए । म हत्तपत्त झ्यालतिरको साविककै सिटमा सरेँ । मेरो सिटमा एकजना रक्स्याहा आएर बस्यो । रक्सीले उन्मत्त उसका साथीहरू मेरो सिट पछाडिबाट हल्ला मच्चाउँदै थिए । उनीहरूको हल्लाले लाउडस्पिकर र कन्डक्टरको स्वरलाई उछिनिसकेका थिए । रक्सीको गन्ध र त्यो अनावश्यक हल्लीखल्लीले बसमा कहिल्यै बान्ता नगरेको मलाईसमेत बान्ता गराउने बाध्य पार्न थाल्यो । रुकुमकोट पुग्दा मुखबाट अमिलो पानी चुहिन थालिहाल्यो ।
संयोगवश् गाडी पुनः मर्मतको लागि वर्कशपमा पुर्याइयो । गाडीबाट ओर्लिएर शान्तिको सास फेर्ने अवसर मिल्यो ।
रुकुमकोट पुगेको बखत सम्झनै पर्ने धेरै दिलदार व्यक्तिहरू छन् । तीमध्ये अहिले जिल्लाकै प्रमुख पद सम्हालेर बसेका माधवप्रसाद शर्मा पनि छन् । पद र प्रतिष्ठाले उनी निकै माथि भए पनि उनले मसँग मित्रवत् व्यवहार गर्छन् र म पनि उसरी नै प्रस्तुत हुन्छु । झरेको मौका पारेर उनलाई फोन लगाइहालेँ । उनले खाना नखुवाई नपठाउने जिद्दी गर्न थाले । साढे नौबजेदेखि रुकुमकोट सडकमा सडक विस्तारको कामले गर्दा सडक यात्रा अवरुद्ध हुने र करिब साढे नौ बज्न थालिसकेकोले अब कट्न सम्भव छैन । ३ घण्टासम्म खाना खान र आनन्दले गफ गर्दै विश्राम गर्न सकिन्छ भन्ने उनको सुझाव थियो ।
माधव सरको सुझाव स्वाभाविकै भए पनि घरको आँगनमै पुग्न थाल्दा थप ३ घण्टा रोकिनुपर्ने अवस्थाले औधी पिरोल्न थाल्यो । मैले ३ घण्टा सडक अवरुद्ध हुने कुरा कन्डक्टरलाई अवगत गराएँ । ऊ राताराता आँखा पारेर मसँग उल्टै झोक्किँदै आक्रामक रूपमा प्रस्तुत भयोः ‘बाटोको कुरा सिडियोले जान्छ कि कन्डक्टरले ? हामीलाई चिन्ता हुँदैन ? हामीलाई समयमा पुग्नुपर्दैन ? अघिदेखि किचकिच किचकिच …. ….. ….. ।’ ऊसँग म बोलेकै थिएन, उसले किचकिच गरिरहेको ठानेछ । मूर्खदेखि दैव डरा भन्ने उखानले आफैलाई सन्त्याउनुको विकल्प थिएन ।
क्याबिनमा पस्ने बसको ढोकाको सिसा फुटेकोले कार्टुनको गातालाई टेपहरू टाँसेर अल्झाइएको थियो । मसँगै बसेर हल्ला मच्चाइरहेको मदमत्त यात्रुको हात त्यो कृत्रिम ढोकामा परिहालेछ । कागजको ध्यार्रै ढोका च्यातियो । यात्रीहरूसँग बाझिरहेका कन्डक्टरलाई यति निहुँ पाएपछि अरू के चाहियो ? दनादन त्यस यात्रुको गालामा बाघपन्जा बर्साउन थालिहाल्यो ।
प्रतिक्रियास्वरूप त्यस यात्रीले हाँकसम्म दियोः ‘पख्लास् । आउलास् हाम्रो चउरजारी ।’
‘के भनिस् रे ? तेरो मात्र हो चउरजहारी ??’ भन्दै कन्डक्टरले फेरि मुक्का र लात्ती बर्साउन थालिहाल्यो ।
मलगायत सबै यात्रु चुपचाप थियौँ । गल्ती सबैको थियो तसर्थ गल्ती कसैको पनि थिएन । मैले चित्रीपाटनको स्मृतिलाई नवराज विकको स्मृतिसँग एकएक गरी साट्न थालेँ ।
साढे नौ बज्नेबित्तिकै बसचालकले गाडी स्टार्ट गरेर ग्राभेलसमेत नमिलाएको कच्ची बाटोमा बेपत्तासँग कुदायो । बिचमा रहेका प्रहरीले सिटी फुक्दा पनि टेरेन । सडकको तलमाथि आँखा रिङ्ने भिर थियो । रेलोबाट ढुङ्गाहरू झरिरहेका थिए । डोजरहरूले भिर उधिनिरहेका थिए । यात्रीहरू त्राहीमाम् थिए । जति बलमिच्याइँ गरे पनि डोजरहरूले हाम्रो बसलाई बाटो छोडिदिएनन् ।
एकाध घण्टा भिरमा रोकिएर गाडी मुसीकोटको सेरीगाउँ पुग्यो । मैले झर्नलाई पहिल्यै सामान ठीक पारिसकेको थिएँ । बस रोकिनेबित्तिकै फुत्त झरिहालेँ । कालकोठरीबाट बाहिर निस्किएबराबर हाइसन्चो भयो । सोलाबाङ झर्ने विकल्पको रूपमा अटोरिक्साहरू तलमाथि लोभलाग्दो गरी कुदिरहेका थिए । सेरीगाउँको बजार दिउँसोको उन्मत्त बैँसमा ढल्किएको थियो । खलङ्गाबजार एकटकले सेरीगाउँतिर फर्किएर हेरिरहेको थियो । चारैतिर रमणीय वातावरण थियो । यात्राका सबै पीडा सकिएको अनुभूति भयो ।
एउटा रिक्सालाई हात उठाउनेबित्तिकै रोकियो ।
रिक्सामा पहिल्यै एकजोडी युवायुवती बसिसकेका रहेछन् । रङ्गढङ्ग हेर्दा लाग्दथ्यो युवकचाँहि वैदेशिक रोजगारबाट भर्खरै फर्किएको हुनुपर्छ । युवतीचाँहि व्यग्र पर्खाइपछि प्राप्त गरेको प्रेमरस पिउनमा निमग्न थिइन् ।
मैले पिठ्युँबाट गह्रुँगो झोला झिक्न पनि नपाउँदै युवकले मउपर व्यङ्ग्य कसिहालेः झोला क्यारियरमा राख्नुपर्छ भन्नेसमेत थाहा रहेनछ यो बुढालाई ।
युवती फितफिताइन्, “कहिल्यै अटो चढ्न पाएको भए पो थाहा होस् !”
युवकः यता टाँस्सिने होइन । अलि अछट्टै उतै बस्ने । मलाई बुढाबुढीको पसिनाको गन्ध आयो कि वाकवाकी लाग्छ ।
अटो नै उडाउने गरी अटोचालक हाँसे । काम अटो चलाउने भए पनि रोवरवाफ कुनै मन्त्रीको भन्दा कत्ति पनि कम देखिँदैनथ्यो । उनीहरूको कुराले थाहा हुन्थ्यो यात्री र चालक मामाभान्जा पर्दारहेछन् ।
पन्ध्र मिनेटजतिको सहज यात्रापछि सोलाबाङ पुगेर भाडा सोध्दा चालक बमझैँ पड्किएः “एकसय पचास !”
८ किलोमिटरको एक सय पचास ? म झाङ्गलझुङ्गल भएँ । प्रतिवाद नगरी गोजीबाट खुरुक्क एकसय पचास रुपैयाँ भाडा तिरेर घरतिर सोझिएँ । बाटामा उनीहरूको रोवरवाफको उल्कै झझल्काले सताइरह्यो । सरकारले पक्की सडकमा ८ किमिको २५ रुपैँया मात्र भाडा कायम गरिएजस्तो लाग्छ । यहाँ प्रति लिटर चार रुपैँयाभन्दा बढी इन्धनको मोल पनि पर्दैन । ज्याला तुलनात्मक रुपमा सस्तो छ । जुनसुकै लागत जोड्दा पनि ६ गुणा भाडा त नपर्नुपर्ने हो । । स्थानीय सरकारले भाडा कायम गर्दा आधार तय गरेकै होला भनेर चित्त बुझाएँ । तर हाम्रो समाजको सोच र व्यवहार कतातिर गइरहेको छ ? के हामीले परिवर्तन चाहेको यस्तै यस्तै कुरामा हो त ? यस मानेमा सानो चित्त बुझ्नै मानेन ।
चित्रीपाटनको यात्रा थाल्न त बाँकी नै छ । ककसले साथ देलान् यो यात्रामा ? व्यापक हल्लाखल्ला मच्चाउँदा पनि काठमाडौँबाट कसैले साथ दिएनन् । यहाँ पनि सम्भावित मित्रहरूको जाँगर नचल्ने पो हो कि ?
घर पुग्दा ९० वर्षीय मेरो बा म आउने बाटो हेरेर कुरिरहनुभएको रहेछ । म उहाँको खुट्टामा घप्लक्क परेँ । बाको मुखारविन्दबाट आशिषको खोलो अविरल बगिरह्यो । मेरो आँखाबाट हर्षाश्रु अविरल बगिरहे ।