0%
Still working...

२०८३ असारको दैनिकी

२०८३ असार १ गते  सोमवार

सोलाबाङ रुकुम

आज पनि बिहानै उठेर दिनभर हाम्रो त्रिवेणी विषयको कक्षा ६ ८ को पाठ्यपुस्तको पाठहरू तयार गर्ने काममै लागियो । स्थानीय जलबिद्युतको लाइन जाँदै आउँदै गरिरह्यो ।

आज असार १ गते बेलुका राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको तेह्रौँ भर्चुअल रचना वाचन गर्ने पालो मेरै थियो । मेरा रचनाहरूको समीक्षा गर्ने जिम्मा साहित्यकार भेषराज रिजाल सरलाई जिम्मा दिएको थिएँ । उहाँको फोन दिनभरि उठेन तर सवा ५ बजेपछि उठ्यो र समीक्षाको लागि तयारै रहेको बताउनुभयो ।

सधैँजसो साढे ७ बजे कार्यक्रम सुरु हुने गरेकोमा साढे ७ बजे उज्यालै हुने र धेरैजसो साथीहरूको काम नसिद्धिने भएकोले ८ बजेदेखि सुरु गर्ने कार्यक्रम थियो । ८ बजेसम्म त बत्ती थियो तर ८ बज्नेबित्तिकै स्थानीय लाइन गयो । कार्यक्रमका अध्यक्ष मनलाल ओली र सचिव ओमबहादुर खत्रीलाई आफ्नो अवस्था अवगत गराउँदा केन्द्रीय लाइनको बत्ती पनि गइसकेको जानकारी गराउनुभयो । यता समीक्षक भेषराज रिजाल सरलाई फोन गरेर बत्ती आउनेबित्तिकै कार्यक्रम हुने आश्वासन दिएर सम्पर्कमै रहन अनुरोध गरेँ ।

करिब आधा घण्टापछि स्थानीय लाइनको बत्ती आयो र म नै कार्यक्रमको होस्ट भएकोले गुगल मिट खोलेँ । मिटमा डा अमर शाह, एक्कबहादुर केसी, कुबेर ओली खगेश्वर भण्डारीहरू जोडिनुभयो तर अध्यक्ष र कार्यक्रम सञ्चालक नै अफलाइन भएको हुँदा कार्यक्रम सुरु हुने कुरै भएन ।

नौ बज्न थाल्दा अध्यक्ष र सचिव जोडिनुभयो तर खगेश्वर भण्डारी र कुबेर ओली जोडिन सक्नुभएन । मनलाल ओलीको अध्यक्षता र भेषराज रिजालको प्रमुख आतिथ्यतामा सचिव ओमबहादुर खत्रीले कार्यक्रम सुरु गरेपछि मैले कविता वाचन सुरु गरेँ । मैले दलबहादुर घर फर्क र  जात्तेरो भोगवान् शीर्षकका २ गद्य कविता  तस्बीर खिच्दै छु म र नदी शीर्षकका २ छन्द कविता एउटा गजल र एउटा गीत प्रस्तुत गरेँ । डा अमर शाहले ओलीका कविताभन्दा लेख निबन्ध तथा कथा नै राम्रा हुने प्रतिक्रिया दिनुभयो । भेषराज रिजालले कविताहरूको रौँचिरा विश्लेषण गर्नुभयो ।

कार्यक्रम सकिँदा साढे १० बजिसकेको थियो । कार्यक्रम सकिएपछि खाना खाएर आराम गरेँ ।

२०८३ असार २ गते  मङ्गलवार

सोलाबाङ रुकुम

आज बिहानै जेठा जेठानसँग मुरुको राजकोट, झुल्नेटा तथा खाराका केही पर्यटकीय स्थलहरू अवलोकन गर्न जाने योजना बनेको थियो । तर बिहान उठ्दा थाहा भयो, जेठान त कागमारातिर जानुभएछ । उहाँ नजानुहोला भन्ने ठानेर मैले एक्लै जाने तयारी थालेँ र बिहानै खाना पकाउन लगाएँ ।

केहीबेरपछि जेठानको फोन आयो । “सँगै जाने भए एघार–बाह्र बज्न सक्छ,” उहाँले खबर गर्नुभयो । लोकल गाडी चढेर वा पैदल यात्रा गरेर एकै दिनमा धेरै ठाउँ हेर्न सम्भव नहुने देखिएकाले मैले उहाँलाई नै पर्खने निर्णय गरेँ ।

करिब १० बजेतिर हामी जेठानको मोटरसाइकलमा सोलाबाङबाट हिँड्यौँ । ठाँटीबाट चौरजहारीतर्फ जाने बाटो समात्यौँ । बाटो कालोपत्रे गर्ने तयारी भइरहेको रहेछ । कतै उखडखाबड, कतै हिलाम्मे, कतै पिचका लागि गिट्टी बिछ्याइएको र कतै कालोपत्रे भइसकेको सडक हुँदै हामी पेदीखेत पुग्यौँ । त्यहाँबाट निर्माणाधीन मुख्य सडक छोडेर नुवाकोट खोला तरेर पेउघातर्फ उकालो लाग्यौँ ।

पेउघाबाट मुरुतर्फ चढ्दै जाँदा बाटोछेउका गाउँबस्ती, डाँडाकाँडा र पुराना घटनाका कथा जेठानले सुनाउँदै जानुभयो । उहाँले वर्षौँसम्म मुरुमा अध्यापन गर्नुभएको हुनाले यस क्षेत्रको भूगोल, इतिहास र सामाजिक परिवेशसँग राम्रै परिचित हुनुहुन्थ्यो । वास्तवमा उहाँसँग यात्रा गर्न चाहनुको एउटा मुख्य कारण पनि यही थियो—स्थानसँग जोडिएका जीवित अनुभवहरू सुन्न पाउनु ।

बाटोमै मुरुका भूपू शिक्षक पूर्णबहादुर खडका सरलाई फोन गरेर हाम्रो आगमनबारे जानकारी दियौँ । तर उहाँ एकजना शिक्षिकाका बुवाको निधन भएकाले भानिपोले गाउँतर्फ भात खुवाउन हिँडिसक्नुभएको रहेछ । उहाँले आधा बाटो पार गरिसक्नुभएकोले फर्किन नसक्ने बताउनुभयो र राजकोटको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको सिद्धभूमि अवश्य अवलोकन गर्न आग्रह गर्नुभयो ।

यता जेठानलाई भने निरन्तर खोकीले सताइरहेको थियो । केहीबेरपछि उहाँले मुस्कुराउँदै भन्नुभयो, “तपाईंलाई पटक–पटक नाइँ भन्न नसकेर आएको हो । बिरामी भएको बेला अरू कोही भए आउँदैनथेँ ।”

उहाँको अवस्था देखेर मलाई अलिकति ग्लानि पनि लाग्यो । धेरै कर नगरेको भए हुन्थ्यो कि जस्तो महसुस भयो ।

तलबाट हेर्दा डाँडामाथि रहेको मुरु गाउँ निकै नजिक देखिए पनि त्यहाँ पुग्न असंख्य घुम्तीहरू पार गर्नुपर्‍यो । मुरु पुगेपछि दक्षिणतर्फ झुल्नेटा र खाराका गाउँहरू देखिए । पूर्वतर्फ रुँघा र उत्तरतर्फ मुसीकोट बजार फैलिएको थियो ।

हामी साधारण माध्यमिक विद्यालय मुरुडाँडाको परिसरमा पुग्यौँ । त्यतिबेला जेठानलाई निकै गाह्रो भइरहेको थियो । उहाँले दुवै हातले टाउको समातेर टेबुलमा अड्याउनुभयो र लगातार खोकिरहनुभयो । करकापमा परेर उहाँलाई यात्रा गराएको जस्तो लागेर मन खिन्न भयो ।

यसबीच म भने विद्यालयका शिक्षक भिम बुढाथोकी सरसँग विद्यालयको छतमा उक्लिएँ । त्यहाँबाट देखिने लेक, खोला, गाउँबस्ती र वनजङ्गलको दृश्य मनमोहक थियो । भिम सरले देखिने अधिकांश ठाउँका नाम बताइदिनुभयो, म भने ती नाम टिप्दै र दृश्यका तस्बिर तथा भिडियो खिच्दै गएँ ।

छतबाट फर्किएर चिया पिएपछि मैले भिम सरलाई अनुरोध गरेँ, “जेठानलाई गाह्रो भएको छ । उहाँ यतै बस्नुहुन्छ भने मलाई लाछीकोटसम्म पुग्ने व्यवस्था मिलाइदिनुहोस् ।”

उहाँले मुस्कुराउँदै भन्नुभयो, “कोसिस गरौँला ।”

त्यसैबीच जेठानका लागि मर्चा हालेको तातो चिया आयो । हामी सबैले चिया पियौँ । केहीबेर आराम गरेपछि जेठान आफैँले भन्नुभयो, “अब ज्वाइँलाई म नै पुर्‍याउँछु । राजकोट त म पनि कहिल्यै गएको छैन ।”

त्यसपछि भिम सरसँग बिदा भएर हामी राजकोटतर्फको यात्रामा अगाडि बढ्यौँ ।

बाटोमा अघि बढ्दै जाँदा मेलचौरको चहुरमा जनयुद्धकालीन सहिदहरूको तस्बिर राखिएको एउटा स्मृति पार्क देखियो । हामीले चहुरमा उक्लिएर अवलोकन गर्‍यौँ । त्यहाँ राखिएका फोटोहरूमध्ये मुरुडाँडा विद्यालयका २ जना २ जना कलिला नानीहरू पनि रहिछन् । जेठानले आफूले पढाउँदै गर्दा सुरक्षाकर्मीले ती नानीहरूलाई समातेर खारा ब्यारेकमा लगेको र बेलुका हत्या गरिएको खबर आउँदा विद्यालय परिवार र समस्त गाउँ शोकमा डुबेको स्मरण गर्नुभयो ।

त्यहाँबाट केही अगाडि बढेपछि प्राचीन भगवती मन्दिर र नवनिर्मित भए पनि संरक्षणको अभावमा पुरानो बन्दै गएको शिव मन्दिर पनि रहेछ । शिवरात्रिको समयमा यस क्षेत्रमा ठूलो मेला लाग्ने गरेको जानकारी पाइयो । यसबारे थप जानकारी लिन नजिकै घर भएका वडा अध्यक्ष धनबहादुर खडकालाई खोज्यौँ, तर उहाँ भेटिनुभएन ।

हामी आउने खबर पाएर लाछीकोट विद्यालयका शिक्षक–शिक्षिकाहरू विद्यालय परिसरमै प्रतीक्षारत हुनुहुँदो रहेछ । प्रधानाध्यापक टीकाराम खड्काले हाम्रो पथप्रदर्शक बन्ने जिम्मा लिनुभयो । मोटरसाइकल पूर्णबहादुर खडका सरको घरनजिकै राखेर हामी टीकाराम सरसँग राजकोटतर्फ उकालो लाग्यौँ ।

बाटोमा डाँडाबाट तलतिर झरेका स्टिलका मोटामसिना पाइपहरू देखिन्थे । ती पाइपहरू मुरुमा सञ्चालन गरिएको लिफ्ट खानेपानी योजनाका रहेछन् । उकालो चढ्दै जाँदा मुरुको फराकिलो भू–दृश्य विस्तारै खुल्दै गयो । पूर्वतर्फ टाँसिएको लाछीकोट पनि निकै ठूलो बस्तीका रूपमा देखियो ।

मुरुमा वर्षौँ अध्यापन गरेका जेठानका स्मृतिका ढोका यस क्रममा खुल्दै गए । उहाँ कहिले पुराना विद्यार्थीहरूको कुरा सम्झिनुहुन्थ्यो, कहिले नयाँ संरचनाबारे जिज्ञासा राख्नुहुन्थ्यो । बाटोभरि घरपरिवार, गाउँका मानिस र पुराना घटनाहरूका बारेमा टीकाराम सरसँग सोध्दै जानुभयो । लाछीकोटमै हुर्किएका टीकाराम सरले पनि एकपछि अर्को जानकारी थप्दै जानुभयो । कुराकानीका क्रममा उहाँले द्वन्द्वकालमा शिक्षक भएर काम गर्दाका अनुभव सुनाउनुभयो भने जेठानले पनि जोखिम र चुनौतीका बीच बिताएका आफ्ना संघर्षपूर्ण दिनहरूको सम्झना गर्नुभयो ।

म भने स्थानीय भूगोल र पर्यटकीय सम्पदाको जानकारीको खोजीमा थिएँ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा समेटिएका स्थलहरूबारे जिज्ञासा राख्दै गएँ । टीकाराम सरले नुवाकोटडाँडा, झारपोखरा, निपाने, टोड्के लगायतका लेकहरू औँल्याउँदै चिनाइदिनुभयो । त्यसै क्रममा राजकोटको तलपट्टि जोडिएको एउटा लेकलाई बल्लेजुरा भनिने जानकारी पनि दिनुभयो ।

यो सुनेपछि म केही बेर अलमलिएँ । मैले अहिलेसम्म सुन्दै आएको बल्लेजुरा त्रिवेणी–१ रुँघामाथिको प्रसिद्ध लेक थियो । त्रिवेणी परिक्रमा भ्रमणका क्रममा लाम्पाटाका एक स्थानीय व्यक्तिले झारपोखरा आसपासमा पनि बल्लेजुरी रहेको बताउनुएको थियो जुन यहाँबाट पश्चिमपट्टि पर्दथ्यो । तर टीकाराम सरले भने उत्तरपट्टि नजिकै रहेको डाँडालाई देखाउँदै भन्दै हुनुहुन्थ्यो, “त्रिवेणीको बल्लेजुरा यही हो, अर्को छैन ।”

यसरी कुराकानी गर्दै करिब बिस–पच्चिस मिनेट जति डोरेटोमा झरेका सल्ली कुसुममा चिप्लिँदै सल्लेरीमा पाखो उक्लिएपछि हामी राजकोटको पहिलो मन्दिर परिसरमा पुग्यौँ । यो गणेश मन्दिर रहेछ । मन्दिरको ढोकाअगाडि गणेशको प्राचीन मूर्ति स्थापित थियो । मन्दिरको पछाडिपट्टि लिफ्ट खानेपानी योजनाको ठूलो ट्याङ्की थियो । पूर्वतर्फ खुला घाँसे चहुर फैलिएको थियो भने छेउमा भर्खरै निर्माण गरिएको पाटी जस्तो संरचना देखिन्थ्यो । सल्ला र अन्य रुखहरूले घेरिएको त्यो शान्त वातावरणले स्थानलाई कुनै प्राचीन तपोभूमिको झल्को दिन्थ्यो ।

चहुरभरि चुच्चे ढुङ्गाहरू गाडिएका थिए । तीमध्ये धेरैजसो ढुङ्गाको बीच भागमा गोलाकार प्वाल परेका थिए । टीकाराम सरका अनुसार अहिलेको लाछीकोटभन्दा तल जिरेल राजाबाट शासित जिरेल समुदायको बस्ती थियो, जसलाई आज पनि ‘जरेल्ठाना’ भनिन्छ । स्थानीय पूर्णबहादुर खड्काको अनुसार भने यो ठाउँ २०१४ सालसम्म जाजरकोट राज्य अन्तर्गत नै रहेको र जाजरकोटीलाई जरेल पनि भनिने भएकोले जरेल्ठाना नामाकरण भएको बताउनुभयो ।

स्थानीय जनश्रुतिअनुसार धेरै पहिले रुकुमे राजा यही राजकोटलाई किल्ला बनाएर युद्धको तयारी गरे । जाजरकोट राज्यले हालको जरेल्ठानामा ठाना बनाई युद्धको प्रतिरोध गर्ने तयारी गरे । रुकुमे राज्य र जाजरकोटी राज्यको घमासान युद्ध भयो । रुकुमे राजा जरेल राज्यका सिपाहीहरूसँग हारी जुम्लाबाङ हुँदै भागे भन्ने किम्बदन्ती रहेको छ ।

भनिन्छ त्यस युद्धको अवशेषहरू राजकोटको चुचुरोभरि छन् । प्वाल परेका ढुङ्गाहरूलाई कतिपयले युद्धकालीन रक्षाकवचका अवशेष मान्ने गरेका छन् । कसैले उताबाट आएका गोलीहरूबाट बच्न ढुङ्गामा प्वाल पारिएको भन्छन् भने कसैले गोली लागेर प्वाल बनेको अनुमान गर्छन् । तर यो व्याख्या मलाई त्यति विश्वसनीय लागेन । त्यति तलबाट प्रहार गरिएको भरुवा बन्दुकको गोली यति माथिसम्म आइपुग्ने कुरै थिएन, आइपुगेको भए ढुङ्गाहरूलाई धुलोपिठो पार्नसक्थ्यो । गोलीले ढुङ्गामा सानो प्वाल पारेर छिर्ने कुरा अपत्यारिलो थियो ।

त्यहाँबाट हामी अर्को टाकुरातर्फ लाग्यौँ ।  दश-बाह्र जना मानिस एकैपटक ओहोरदोहोर गर्न सकिने करिब बीस फिट अग्लो र पन्ध्र फिट जति चौडा ढुङ्गे सिँढी देख्दा आश्चर्य लाग्यो । ती सिँढी चढेर माथि पुग्दा अर्को पुरानो मन्दिर भेटियो ।

मन्दिरको ठिक बीचभागमा धुपी–सल्लाको विशाल पुरानो रुख गजुरजस्तै ठडिएको थियो । छेउछाउमा दरबारका भग्नावशेष झल्काउने बुट्टा कुँदिएका काठ र चौकोसहरू छरिएका थिए । यो स्थान समुद्री सतहदेखि करिब १९०० मिटर उचाइमा रहेकोले यहाँबाट सिस्ने र पुथा हिमाल समेत देखिने टीकाराम सरले बताउनुभयो । दुर्भाग्यवश उत्तरतर्फ बाक्लो बादल लागेकाले हामीले हिमालको दर्शन गर्न पाएनौँ ।

मन्दिरअगाडि एउटा विशाल संरचना निर्माण गरिएको रहेछ । फेद आयताकार थियो र धेरै फराकिलो थियो । माथि चुच्चो पर्दै गएको थियो । माटो–ढुङ्गाबाट निर्मित त्यो अग्लो स्तम्भ आकर्षक देखिन्थ्यो । स्तम्भको चारैतिर चार पाँच तहसम्म यात्रुहरू बस्न मिल्ने गरी सिँढीहरू बनाइएका थिए । पश्चिम रुकुममा यस्तो शैलीको संरचना मैले पहिलोपटक देखेको थिएँ । वरिपरि ढुङ्गाका चौडा स्लेट बिछ्याइएका कारण चहुर झन् आकर्षक बनेको थियो ।

दक्षिणपट्टि सल्लाका रुखहरू थिए भने उत्तरपट्टि बाक्लो हरियो वन फैलिएको थियो । यस स्तम्भलाई ‘अमर स्तम्भ’ नाम दिइएको रहेछ । टीकाराम सरले रमाइलो पाराले भन्नुभयो, “पूर्ण सर र हाम्रा बाजेको नाम अमरबहादुर खडका भएकाले यसको नाम अमर स्तम्भ नाम राखिएको हुनसक्छ !”

स्तम्भभन्दा अझ पूर्वतिर तल बराह मन्दिर पनि रहेछ । बराह पूजाका अवसरमा त्यहाँ मेला लाग्ने जानकारी पाइयो । तर समय अभावले हामी त्यतासम्म पुग्न सकेनौँ ।

राजकोटबाट लाछीकोट झरेपछि विद्यालयमै तयार गरिएको चना र चियाले हाम्रो स्वागत गरियो । फर्किने बेला टीकाराम सरले कोसेलीस्वरूप एक झोला मकैको पिठो हात पारिदिनुभयो । विद्यालयकै अर्का शिक्षक कुबेर खडकाले पनि चिया–खाजाको समयमा स्थानीय इतिहास, पुराना घटना र गाउँका अनेक रोचक प्रसङ्गहरू बेलिबिस्तार लगाउनुभयो । हामीले उहाँहरूको आत्मीयता र सद्भावलाई मनभरि साँच्दै उहाँहरूलाई धन्यवाद ज्ञापन गर्दै मायाको कोसेली बोकेर बिदाबारी भयौँ ।

आजकै दिन झुल्नेटा, धुमभिर सङ्ग्रहालय, दबाङ खेलमैदान, खारा ब्यारेक लगायतका अन्य स्थलहरू पनि अवलोकन गर्ने योजना थियो । तर समय निकै घर्किसकेको थियो र र यात्रा तथा उकालो–ओरालोको थकानले पनि शरीरलाई सम्झौता गर्न बाध्य बनाएको थियो । त्यसैले ती स्थानहरू अर्को अवसरका लागि थाती राख्ने निर्णय गरियो ।

फर्किने क्रममा जेठानले सोध्नुभयो, “अब कुन बाटोबाट झर्ने त ?”

मुरुडाँडाबाट फेदीमा झर्न पाँच छवटा कच्ची सडकका विकल्प रहेछन् । भिम बुढाथोकी सर र टीकाराम सरले अवलोकनीय स्थल मुरुडाँडास्थित मितेरी सङ्ग्रहालय पनि रहेको बताइसक्नुभएको थियो । त्यसैले फर्कँदा सङ्ग्रहालय हुँदै जाने इच्छा व्यक्त गरेँ ।

हामी मुरुडाँडातर्फ लाग्यौँ । मुरुडाँडाको थोरै तल भर्खरै निर्माण गरिएको मितेरी सङ्ग्रहालयको भवन देखियो । एकतले भए पनि चारैतिर अग्लो पर्खालले घेरिएको आकर्षक भवन निकै मनमोहक देखिन्थ्यो । तर त्यहाँ पुग्दा थाहा भयो, सङ्ग्रहालय भवन तयार भए पनि सामग्रीहरू अझै सारिएका रहेनछन् । स्थानीय व्यक्तिलाई सोध्दा ती सामग्रीहरू अस्थायी रूपमा तल दुरपतिडाँडाको विद्यालयमा राखिएको भन्ने जानकारी प्राप्त भयो । त्यसपछि हामी ओरालो झरेर डाँडाको बीच भागमा रहेको दुरपतिडाँडा विद्यालयतर्फ लाग्यौँ ।

त्यसपछि हामी ओरालो झरेर डाँडाको बीच भागमा रहेको दुरपतिडाँडा विद्यालयमा पुग्यौँ । त्यतिबेला साँझका चार बजिसकेकोले विद्यार्थीहरू घर फर्किसकेका थिए । विद्यालयमा रहेका शिक्षक–शिक्षिकाहरूले हामीलाई हार्दिक स्वागत गर्नुभयो ।

यस विद्यालयका प्रधानाध्यापक खिमबहादुर पुन त जेठान लोकबहादुर खडकाकै पूर्व विद्यार्थी हुनुहुँदो रहेछ । त्यसैले यो भेटघाट झन् आत्मीय बन्यो ।

कुराकानीका क्रममा थाहा भयो, मितेरी सङ्ग्रहालयको अवधारणा मुरुकै पूर्व शिक्षक बालाराम पुनले अघि सार्नुभएको रहेछ भने त्यसको महासचिवको जिम्मेवारी खिमबहादुर पुनले सम्हाल्नुभएको रहेछ । नवनिर्मित सङ्ग्रहालय भवनमा सार्ने तयारीस्वरूप पुराना स्थानीय सामग्रीहरू विद्यालयको एक कक्षाकोठाका दुईवटा काठका दराजभित्र सुरक्षित राखिएको थियो ।

हामीले ती सामग्रीहरू हेर्ने इच्छा व्यक्त गरेपछि शिक्षक शिक्षिकाहरू सबै जुट्नुभयो । एक–एक गर्दै दराज खोलेर सामग्री निकाल्न थाल्नुभयो । मानौँ उहाँहरूले केवल वस्तुहरू मात्र होइन, गाउँको विगत, संस्कृति र जीवनशैलीका स्मृतिहरू नै हाम्रो अगाडि उघारिरहनुभएको थियो ।

पुराना पुस्ताले प्रयोग गरेका अनेकौँ घरेलु तथा सांस्कृतिक सामग्रीहरू देख्दा हामी अचम्मित भयौँ । सङ्ग्रहमा डालो, पेटारो, जाबो, बाँसका सामग्री, ठेकी, मदानी, खिर्रे, सुल्पा, कोसी, चर्खा, ठेटुवा, बुन्ने तान, विभिन्न बाजागाजाका सामग्री, भैँसीका सिङ लगायतका थुप्रै वस्तुहरू रहेछन् । यी सामग्रीहरू स्थानीय समाजको जीवनशैली, सीप, श्रम संस्कृति र जीवनपद्धतिको जीवित दस्तावेज र विस्मरणको गर्तमा भासिँदै गएको हाम्रो इतिहासका साक्षी थिए ।

हामीले हटारुडोको सङ्ग्रह भए नभएको जिज्ञासा राख्यौँ । हटारुडोको लगायत केही सामग्री अर्को घरको बुइँगलमा राखिएका रहेछन् । त्यहाँ पुगेर हेर्दा हटारु डोको र चाल्नुलाई मुसाले निकै क्षति पुर्‍याइसकेको रहेछ । पहिले खोटो तथा दियो बाल्न प्रयोग गरिने सुइरोजस्तो लामो बिँड भएका पित्तलका पाला पनि सुरक्षित राखिएका थिए । ती सामग्रीहरूले तत्कालीन ग्रामीण जीवनका अनेक पक्ष सम्झाइरहेका थिए ।

सामग्रीहरूको महत्वलाई ध्यानमा राख्दै हामीले नयाँ निर्मित सङ्ग्रहालय भवनमा व्यवस्थित रूपमा नसारुन्जेल संरक्षणका थप उपाय अपनाउन सुझाव दियौँ । यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षणमा थोरै लापरबाहीले पनि अपूरणीय क्षति हुन सक्ने देखिन्थ्यो ।

विद्यालय चार बजे बन्द हुने भए पनि शिक्षक–शिक्षिकाहरू साँझ छ बजेसम्म हाम्रै लागि विद्यालयमा खटिरहनुभयो । उहाँहरूको आत्मीयता, सहयोगी भावना र आफ्नो इतिहासप्रतिको माया साँच्चै प्रेरणादायी लाग्यो । अन्तिममा चिया–बिस्कुटको आतिथ्य ग्रहण गरेर हामी घर फर्किने यात्रामा लाग्यौँ ।

जेठान लोकबहादुर खड्काको स्वास्थ्य अवस्था दिनभरि सहज थिएन । लामो खोकीले उहाँलाई लगातार सताइरहेको थियो । तर त्यसका बाबजुद पनि उहाँले यात्राभर साथ दिनुभयो र आफ्ना अनुभवहरू बाँडिरहनुभयो । त्यसैले आजको भ्रमण केवल स्थल अवलोकन मात्र नभई अनुभव, स्मृति, इतिहास र आत्मीयताको यात्रा पनि बन्यो ।

त्रिवेणी गाउँपालिकाको मध्य तथा तल्लो भेगलाई एक फन्को लगाउँदै घर आइपुग्दा साँझ परिसकेको थियो । थकानले लस्त थियौँ, तर मन भने दिनभरि देखेका दृश्य, सुनेका कथाहरू र भेटेका मानिसहरूको आत्मीयताले भरिएको थियो । राजकोट, लाछीकोट र मुरुडाँडाको त्यो यात्रा स्मृतिपटलमा लामो समयसम्म ताजै रहने निश्चित थियो ।

२०८३ असार ३ गते बुधवार

सोलाबाङ रुकुम

हिजै देवकुमारीले आफू प्रायः नबस्ने घरको आँगन बनाउँदा खर्च मात्रै लाग्ने भएकोले आँगन बनाउन मानिनन् । हिजै काम गर्नेहरूलाई रोक्न लगाइसकेकी थिइन् । उनीहरूले काम गर्न थालेको भए पनि पाठ्यपुस्तकको मस्यौदा निर्माण काममा डिस्टर्ब हुने थियो । यही कुरामा चित्त बुझाएर दिनभर काममै लागेँ । पाठ्यपुस्तकमा राख्नको लागि तिलक परियार र लक्ष्मण ओलीलाई उनीहरूको धेरैले सुनेको मौलिक गलैमा लगाउने चाँदी ठुमरा गलैमा लगाउने सुनको भमराको शब्दहरू पठाइदिन अनुरोध गरेँ । त्रिवेणीको कला तथा संस्कृतिको लागि गठित जन सांस्कृतिक महासंघका अध्यक्ष ओमप्रकाश बोहरालाई उक्त संस्थाको स्थापना र गतिविधिको सम्बन्धमा जानकारी गराइदिन अनुरोध गरेँ ।

दिउँसोतिर वनडेराकी फुपूको चितवनमा मृत्यु भएको जानकारी पाएँ । दिदीले अस्ति नै देवकुमारीलाई आमाले खाना खान छोडिसकिन् । अब बाँच्दिनन् होला । मुख भेट्ने भए आउनू भन्नुभएको रहेछ । मेरो काम भने यहाँ छोड्न मिल्ने खालको छैन । जागिरी सकिएपछि अरूले यसको केही काम छैन जस्तो गरी हेर्दछन् तर जागिरी छोडेपछि बल्ल मैले काम पाएको छु । सेकेन्ड सेकेन्डको अर्थ बुझेको छु ।

फुपू बित्दा पनि आफ्नो काम छ भनेर नजाने हुन्छ र ? यो कस्तो प्रकारको बाध्यता हो ?

लेखाको जागिर खाउन्जेल १५ वर्षसम्म यही असारले मलाई नजरबन्दमा राख्यो । भान्जा उज्ज्वल सिकिस्त बिरामी भएर नर्भिक अस्पत्ताल र कान्ति बाल अस्पत्तालको आइसियुमा राख्दा पनि मैले अफिसकै कामलाई महत्त्व दिनुपरेको थियो । त्यहाँ एक जना मात्र लेखाको कर्मचारी म मात्र थिएँ । मैले बिदा लिन मिल्दैनथ्यो । मैले बिदा लिएपछि कार्यालयको काम भइसकेको सबै बजेट फ्रिज हुने । म दरबन्दीमा हुँदाहुँदै अर्कोलाई बोलाएर काम गराउन नमिल्ने । असारमा सबै आआफ्नै काममा व्यस्त ।

किसानहरू धान रोपाईँमा व्यस्त भएजस्तै आफू भने भुक्तानी दिनमै व्यस्त ।

जागिरी छोडेपछि यो असारले दिने दबाबबाट पनि मुक्त हुने भएँ भन्ने लागेको थियो तर फेरि असारकै पञ्जामा परियो । काम सकिएन भने गाउँपालिकाको शैक्षिक कार्यक्रम अधूरो हुने । त्यति मात्र होइन यो पाठ्यपुस्तक त त्रिवेणीका ४००० भन्दा बढी विद्यार्थीको भविष्यसँग सम्बन्धित छ ।

अतः देवी दिदीलाई फोन गर्न नै सकिन । देवकुमारीलाई तिमी नै फोन गर भनेँ । उनले पनि फोन गर्न सकिनन् । भिनाजु भरत भण्डारीलाई फोन गरेँ तर उहाँको फोन स्विचअफ थियो ।

दिउँसोतिर कोलेनिकाका वर्तमान कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदीसँग फोनमा कुराकानी भयो । राजेश्वर कार्की सर पनि दिल्लीबाट फर्किसक्नुभएछ । उहाँले आफू काठमाडौँ आइपुगेको र स्वास्थ्यमा केही सुधार भएको बताउनुभयो ।

त्रिवेणी मावि सिम्रुतुका प्रअ डिल्ली मल्ल सिम्रुतु क्याम्पसका उपप्राध्यापक चन्द्रा ओली र त्रिवेणी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका सुरेशकुमार पुनलाई त्रिवेणीको शैक्षिक तथ्याङ्क उपलब्ध गराइदिन अनुरोध गरेँ ।

दिउँसो देवी हरिया मकै ल्याइदिएर आइन् । मकै उसिनेर खायौँ । बारीमा फलेको हरियो काँक्रो खायौँ ।

धेरै समयपछि फुपू बितेको कुरा सुनाउन निशा बहिनीले फोन गरी । एउटै पेटका सन्तान भए पनि हामी भाइबहिनी बिच नियमित रूपमा कुरा हुन पाउँदैन । सबै आआफ्ना कामले व्यस्त भएर होला । यही रुकुमकै घरमा जन्मी हुर्की पराई घरमा गएकोले आफ्नो जन्मघरको अवस्था बारे जिज्ञासा राख्नु स्वाभाविकै थियो । तर यही जिज्ञासालाई बुहारीपट्टि भने रुचाउँदैनन् । मन दिदीसँग पनि यही प्रसङ्गले धेरै दिनपछि कुरा भयो ।

बेलुका नुन छोड्ने कि के गर्ने भन्ने सम्बन्धमा भाइ प्रकाश र ठुल्दाइसँग सरसल्लाह गरेँ । दाजुभाउजूले भोलि बिहान छोडे पनि हुन्छ भन्नुभयो । मेरो चित्त बुझेन । खबर सुनेपछि नुन छोड्नु नै उपयुक्त ठानी बेलुका बिना नुनको तरकारी र डेरीबाट ल्याएको दुधले भात मुछेर खाएँ ।

१२ गतेभित्र सक्नुपर्ने पाठ्यपुस्तकको निर्माणको कामतिरै लागेँ । कक्षा ६ देखि ८ सम्मका सबै पाठहरूको निम्ति सूचना सङ्कलनको काम सकिएको छ । अब पाठहरूको व्यवस्थापन गर्दै छु । अहिले

२०८३ असार ४ गते  विहीवार

सोलाबाङ रुकुम

मनलाल सरलाई त्रिवेणीका पर्यटकीय स्थलहरूको भ्रमणको लागि जिबाङका विद्यार्थीहरूलाई लैजाने व्यवस्था मिलाउने अनुरोध गरेको थिएँ । उहाँले १० कक्षाका विद्यार्थीहरूलाई शुक्रबार व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मैले स्थानीय पाठ्यपुस्तक अहिले ८ कक्षासम्मको लागि मात्र निर्माण हुँदै गरेकोले ८ कक्षाका अलि ठुला विद्यार्थीहरूलाई लैजानुपर्ने सुझाव दिएँ । बेलुका उहाँले १० कक्षाका विद्यार्थीको सट्टा ८ कक्षाका सबै विद्यार्थीलाई लैजाने निर्णय भएको कुरा सुनाउनुभयो ।

कक्षा ६ मा राख्ने भनिएको सहिद टीकाराम पुनको विवरण दिन उनका छोरा राजेन्द्र पुनले अल्छी गरिरहेका छन् । यही विषयमा त्रिवेणी गापाका अध्यक्ष गणेश केसीसँग कुरा भयो । उहाँले कि त उनको घरमै पुग्नुपर्ने कि अहिले सांकेतिक रूपमा पाठ राखेर विस्तृतमा पछि सम्पादनको क्रममा राख्न सुझाव दिनुभयो । काठमाडौँबाट विपुल न्यौपानेले डमी प्राप्त भएको तर छलफलमा कुरा भएअनुसार हटाउने र बढाउने कुराहरू डमीमा नआएको गुनासो गर्नुभयो । इमेल गर्दा गल्ती भएर वा साथीहरूले पुरानै फाइलको प्रिन्ट दिएको हुँदा अहिले जे जस्तो रूपमा प्रिन्ट प्राप्त भए पनि हरेक शब्द शब्द केलाएर पढिदिई आफूलाई लागेको सुझाव दिएमा सबै कुरा पुस्तक प्रकाशन गर्दा मिल्ने जानकारी दिएँ ।

दिनभरि आज पनि बत्ती आएन । पावरहाउसको आसपासमा रोपाइँ चलिरहेकोले हाइड्रोपावरको कुलो भाँचेर रोपाइमा लगिँदो रहेछ र दिउँसो बत्ती जाँदो रहेछ । यो रोपाइँ असारभरि नै चल्ने भएकोले असारभरि स्थानीय लाइनको समस्या भइरहँदो रहेछ ।

बेलुका डम्बर खडका सालाले आज नातिनी अधिशकी छोरीको न्वारान भएकोले निम्ता गर्नुभयो । न्वारानमा बहिनीपट्टिलाई मात्र बोलाइएको रहेछ । बाहुन रामप्रसाद शर्मालाई बोलाइएको रहेछ । टीका दक्षिणा एक एकहजार खल्तीमा हालेर उतै खिर खाएर आयौँ । खाना पकाउने झन्झट हटेकोले देवकुमारी प्रफुल्लित देखिन्थिन् ।

२०८३ असार ५ गते  शुक्रवार

सोलाबाङ रुकुम

बिहान उठ्दा जिउ भारी भइरहेको थियो । खुट्टाका पिँडौलाहरू दुखिरहेका थिए । देवकुमारीले पनि जिउ दुखिरहेको भनेर दुध ल्याउन चिन्तारामको घरमा जान मानिनन् । म आफै गएँ र दूध ल्याएँ । आज त्रिवेणीको भ्रमणमा जाने योजना भएकोले छिटोछिटो खाजा बनाउन पठाएँ । र्‍याल्ने रोटा र दुध खाई सिम्रुतुतिर लागेँ । बैरागीठाँटी पुग्नेबित्तिकै रित्तो हाइस आइपुग्यो । सिम्रुतु झरेर दिउँसको अर्नीको लागि बिस्कुट र चाउचाउ बोकी जिबाङतिर उक्लिएँ । मनलाल सरले विद्यार्थीहरूलाई वडा कार्यालयमा जम्मा हुन भनिएको र ८ बजे नै अवलोकन भ्रमण सुरु हुने फोनबाट बताउनुभयो । समयमा पुग्दिनँ कि भनी सासै नबिसाई एकै झमकमा जिबाङको तलीगाउँको पिपलचौतारीमा पुगेँ । ७ बजे नै आइपुगिएछ । मनलाल सरलाई भने भर्खरै सिम्रुतुमा आइपुगेको बताएँ । मनलालले तलीगाउँबाट कक्षा ८ मा पढ्ने आत्मिक रावल पनि आउने कुरा छ ल्याएर आउनुहोला । उसकों घरमा तपाईँलाई पनि खाना पाकेको हुनसक्छ त्यतै खाएर आउनुहोला भन्नुभयो ।

मलाई आत्मिक रावलको घर थाहा थिएन । प्रज्वला पुन म्याडमको घर भने थाहा थियो । सोध्न उहाँको घरमा उक्लिएँ । प्रज्वला म्याडमको घरमा ताला झुन्डिएको थियो । तल्लोपट्टिको खड्क महरको घर पनि बन्द थियो । अतः माथिल्लो घरमा उक्लिएँ । यो घर हरिकला घर्तीको रहेछ । उहाँले प्रज्वला म्याडमलाई फोन लगाउनुभयो । प्रज्वला म्याडम घाँस काट्न बारीमा जानुभएको रहेछ । आत्मिक भने बिहानै वडा कार्यालयमा हिँडिसकेछ । तलीगाउँका खडक महर र मलाई हरिकलाजीले चिया खुवाउनुभयो ।

तलीगाउँबाट माथितिर उक्लिँदा जिउ अत्यन्तै थाकेको महसुस भयो । वडा कार्यालयमा पुग्न आधा घण्टा लाग्यो । भ्रमणमा जाने विद्यार्थीहरू सबैले हातमा कापी कलम र झोलामा खाजा बोकेर सबै उपस्थित भइसकेका थिए । शिक्षक राजेश ओली पनि आइपुग्नुभयो ।

मैले विद्यार्थीलाई गोल घेरामा लगाएर क्रमशः एक दुई भन्न लगाएँ । जम्मा २० जना विद्यार्थी पुगे । कक्षा ८ का कुनै नछुटेर सबै विद्यार्थी आएका रहेछन् । प्रत्येकलाई आफ्नो नम्बर सम्झन लगाएँ । २ जनालाई भ्रमण नेता र उपनेता छानेँ । गोला प्रथाबाट भ्रमणको क्रममा भेटिने जति सबै कुरा टिप्ने दुई दुई जनाको दरले ९ समूह बनाएँ । कसैले वनस्पतिको नाम टिप्नुपर्ने भयो भने कसैले जडीबुटीको नाम । कसैले वन्यजन्तु त कसैले घरपालुवा जनावर । कसैले खोलानाला र मुहानको नाम । कसैले जङ्गलको नाम कसैले गाउँटोल र कसैले बाटोको नाम ।  यसो गर्दा कुनै कुरा छुट्ने भएन । विद्यार्थीहरू निकै उत्साहित देखिन्थे ।

वडा कार्यालयबाट लामबद्ध भएर पहिले हामी माथिगाउँको नजिकै कोप्चीखोलामा रहेको सिद्ध गुफा पुग्यौँ । गुफा पुग्ने बाटो थिएन । मकै बारीको छेउमा भएकोले गुफाको मुखमा काँडाको झ्याङ राखेर थुनिएको रहेछ । सबै मिलेर बल्लतल्ल झ्याङहरू हटायौँ । गुफाको मुख देखियो । विद्यार्थीहरू एक एक गरेर भित्र पसे । म पनि भित्र पसेँ । भित्र बियरका बोत्तल र कोक फ्यान्टाका बोत्तलहरू छरपस्ट थिए । कुनै टुटेफुटेका कुनै नफुटेका । २० जना विद्यार्थी राजेशजी र म गरी २२ जना भित्रै अटायौँ । गुफा अझै परसम्म थियो । एक दुईवटा चमेरा पनि उडेर बाहिर निस्किए । धेरै भित्र जान असुरक्षित भएकोले एकछिन फोटो भिडियो खिचेर बाहिर निस्कियौँ ।

अब हेर्ने पालो दबाङस्थित सिद्ध मन्दिरको थियो । केही माथिपट्टि रहेछ सिद्ध मन्दिर । मन्दिर जिर्ण अवस्थामा थियो । झ्यालबाट भित्र हेर्दा तीन चारवटा चुच्चे ढुङ्गाहरूमा  दुई तीन धजाहरू राखिएको देखियो । भुइँको सतह धुलाम्मे र फोहरयुक्त थियो । मन्दिर परिसरमा पनि झारपात उम्रिएर मन्दिर नै ढाकिएको थियो । हामीले गर्व गर्ने र विद्यार्थीहरूलाई धार्मिक साँस्कृतिक तथा ऐतिहासिक उदारण दिनुपर्ने धरोहरको अवस्था यति गएगुज्रेको देखेर मन खिन्न भयो ।

सिद्ध मन्दिरको अवलोकनपछि दबाङको फराकिलो गाउँमा उक्लियौँ । तलबाट हेर्दा केही नदेखिने गाउँ माथि पुग्दा बिचमा घरै घर भएको र वरिपरि ठुलाठुला स्वाँरा भएको व्यवस्थति बस्ती देखिँदो रहेछ । त्यहाँबाट बाघखोरमा रहेको देवीको थान हेर्न जान्छौँ । एउटा अग्लो रूखमा सुकेका निगालाहरू ठड्याइएका छन् । रङ खुइलिइसकेका एक दुई धजाहरू छन् । थान भन्न लायक अरू कुनै संकेत देखिँदैन । फोटोहरू खिचेर हामी फेरि अगाडि बढछौँ । राजेश ओली सरले विद्यार्थीलाई सँगसँगै हिड्न आदेश दिइरहनुभएको छ । पारिपट्टि लाइत र खुम्चेरीको ठुलो गाउँलाई पृष्ठभूमिमा राखेर फोटो तथा भिडियोहरू खिच्छौँ । अलिकति माथि उक्लिएपछि तमाकछरे आधारभूत विद्यालयको पर्खालले हामी तमाकछरे आइपुगेको जनाउ दिन्छ । विद्यालयको घन्टीले ठिक १० बजेको जनाउ दिन्छ । विद्यालयको प्रवेशद्वारमा बसेर फोटोहरू खिच्छौँ । त्यहाँबाट तेर्सै तेर्सो सडक हुँदै अगाडि बढ्छौँ । विद्यार्थीहरूले कौतुहलतापूर्वक विभिन्न स्थल वनस्पति र खोलानालाको नाम टिपिरहेकै छन् ।

सडकै सडक केही पर पुगेपछि मनलाल सर आइपुग्नुहुन्छ । उहाँको घर यतै माथि रहेकोले माथि नै मिसिने कुरा भएको रहेछ । स्थानीय वनस्पति र ठाउँको नामको यतैको बासिन्दा भएको नाताले बढी जानकार उहाँ नै हुनुहुन्छ । विद्यार्थीहरूले उहाँलाई घेर्छन् । उहाँले एक एक गरी जवाफ दिँदै जानुहुन्छ ।

अलि पर एउटा सानो गाउँ भेटिएपछि हामी सडकलाई छोडेर हाइरुको टाकुरा गाउँतिर झर्छौँ । टाकुरा गाउँबाट पनि अप्ठ्यारो बाटो हुँदै तल झरेपछि डोरेटो बाटो पनि हराउँछ । अग्लो घाँसले ढाकिएको पाखै पाखो केही पर पुगेपछि एउटा ओढार भेटिन्छ । मनलाल सरले भन्नुहुन्छ यही हो ढिकी कुट्ने गुफा ।

ओढारको मुखमा सुकेको खर राखिएको छ । हामी खरकै मुठाको चाङमा चढेर भित्र पस्छौँ । ओढार ठुलै छ । सिद्ध गुफाजस्तो मान्छेले अतिक्रमित गरेका छैनन् । गाउँबाट अलि टाढै भएको फोहोरको डम्पिङ हुन पाएको छैन । भित्र पस्न सजिलो नै छ । समूह समूहमा भित्र पसेर हेरेपछि बाहिर निस्कन्छौँ ।

मनलाल सरले भन्नुहुन्छः अब अर्को चमेरे गुफा पनि नजिकै छ । त्यहाँ हजारौँ चमेराहरुको बास पनि छ । योभन्दा निकै ठुलो छ । सायद तेब्बर ठुलो होला । हेर्न लायक गुफा त्यो छ ।

उहाँको भनाइले विद्यार्थीहरू निक्कै उत्साहित हुँदै हल्लाखल्ला गर्दै भन्छन् आहा त्यो गुफा त हेर्नैपर्छ हेर्नैपर्छ । राजेश ओली सरले त्यही हेर्नलाई त आएको हो नि हल्ला नगरेर अगाढि बढ ।

अब उस्तै पाखो हुँदै अगाडि बढ्छौँ । बाटोको नामोनिशान कतै छैन । अलि पर निकै ठुलो पहर देखिन्छ । लाग्छ त्यतै कतै होला चमेरे गुफा । नजिकै आइपुगेको उत्साहले मन रोमाञ्चित हुन्छ । पहरको नजिकै पुगेपछि निकै छाङ्गो भिर आइपुग्छ । खुट्टा चिप्लियो कि स्वाहा । आँखा रिङ्ने भिरमा खरका बुटा समात्दै तलतिर नहेरेर माथितिर मात्र हेरी घस्रिरहेका छौँ  । अगाडि अगाडि मनलाल सर हुनुहुन्छ । उहाँ धेरै पर पुगिसक्नुभएको छ । म र केही नानीहरू अन्तिममा छौँ । एउटा पहरमा फसेपछि यताबाट नआउन सन्देश जारी गर्नुहुन्छ मनलाल सरलेः अलिकति पर घुमेर आउनुहोस् । यहाँबाट झर्न गाह्रो छ । तपाईँहरू सक्नुहुन्न् ।

पछि रहेको समूहलाई राजेश ओली सरले अगुवाइ गरिरहनुभएको छ । उहाँ भिरै भिरै तलतिर घस्रिनुहुन्छ साना साना बाबुहरू उहाँकै पछि पछि घस्रिँदै छन् । म र नानीहरु उनीहरूले बनाएको पाइलाको डोब पछ्याउँदै पछि पछि घस्रिँदै छौँ । तलैदेखि उठेको पहरले तेर्छो जाने बाटो छैन । हामी ओरालै ओरालो झरेर पहरको पुछारमै पुग्छौँ । मनलाल सरहरू धेरै माथि छुटिसक्नुभएको छ । फोन गर्दा पनि लाग्दैन । चिच्याएर बोलाउँदा पनि त्यस समूहका कुनैले प्रतिक्रिया दिँदैनन् । अब हामी पहरलाई घुमेर फेरि उस्तै भिरबाट उकालो चढ्न थाल्छौँ । भोकले गर्दा हो वा शक्ति क्षिण भएर हो मलाई उकालो चढ्न निकै कठिन भइरहेको छ । मेरो अवस्थादेखि मसँग रहेका नानीहरू टिठाइरहेका छन् । बिचरा सरलाई गाह्रो भइरहेको छ । हामी केही गर्न सक्दैनौँ । यस्तो भ्रमणमा सर त नआएको भए पनि हुने ।

म भन्छुः मलाई त केही भएको छैन । बरू तिमीहरूलाई निक्कै दुक्ख दिइयो । त्यो भिरमा केही गरी कसैको खुट्टा चिप्लिएको भए के हुन्थ्यो

होइन सर । हामी त यस्तैमा जन्मे हुर्केका हौँ । हामीलाई केही छैन । बरु यति दुक्ख गरेर गुफा नै नभेटिने भयो भन्ने चिन्ता छ हामीलाई । उनीहरूले मेरो कुराको प्रतिवाद गर्छन् ।

हामी पहरको छेउ छेउ भएर धेरै माथि पुग्छौँ । बल्ल राजेश सर र मनलाल सरको फोनमा दोहोरो संवाद हुन्छ । मनलाल सरले भन्नुहुन्छ । हामीले त चमेरे गुफा हेरिसक्यौँ । निकै ठुलो छ । हामी आएको ठाउँ पहिल्याउँदै आउनुहोस् तपाईँहरू । भ्रमण समूहका विद्यार्थीहरू धेरै तलबाट चिच्याएको आवाज आउँछ ।

तल पुग्नलाई उस्तै भिर हुँदै झर्नुपर्ने देखी म कायल हुन्छु । राजेश सरको पछि लागेर एक दुईजना विद्यार्थीहरू तलतिर झर्छन् । म भन्छु होसियार भएर झर है । चिप्लेउला ।

अलि साना साना बाबुनानीहरूसँग भिरको थाप्लोमा बसेर हामी सास बिसाउँछौँ । मलाई नानीहरूल बोत्तलमा ल्याएको पानी दिन्छन् । आफूसँग ल्याएको खाजा पनि मलाई बाँड्छन् । मेरो जिउमा ऊर्जा थपिन्छ । तल झर्न भने जाँगर चल्दैन ।

मनलाल सर सहितको अर्को समूह माथि उक्लिएपछि चमेरे गुफाको वर्णन सुन्दै अगाडि बढ्छौँ । निकै ठुलो गुफा । गुफाभित्रको आकृति । चमेराहरू कराइरहेका र भित्र बाहिर गरेको देखेर विद्यार्थीहरू डराएका । गुफाको एउटा भित्तामा उक्लिएको धिरेन महर नामको विद्यार्थी भित्रै अड्किएर रुवाबासी गरेको । बल्लतल्ल त्यस विद्यार्थीलाई निकालेको वर्णनले आफू त्यस गुफामा पुग्न नसकेको पछुताउले पोल्न थाल्छ । अलि पर थोरै घरहरू भेटिन्छन् । त्यहाँ एउटा पसल पनि रहेछ ।

त्यहाँ बिस्कुट र जुस किनेर खान्छौँ । केही छिन विश्राम गरेपछि फेरि यात्रा सुरु गर्छौँ । दिनको १२ बजिसकेको छ । अब मझौ डाँडातिर जाने सडकै सडक अगाडि बढ्छौँ । मनलाल सरले भन्नुहुन्छ अब मझौ डाँडाको नौकोठे गुफा हेर्ने पालो । यहाँको सबैभन्दा ठुलो गुफा त्यही हो । भित्र कोठैकोठा र झ्यालै झ्याल छन् ।

मझौडाँडा पुगेपछि पहाडको भित्तामा पहरै पहर र  भेटिन्छन् । तल सडक र बिचमा पाखो भएकोले भिरको जोखिम भने छैन । ओढारहरूमा खरहरू राखिएका छन् । नौकोठे गुफा कुनचाँहि हो पत्ता लगाउन कठिन हुन्छ । शिक्षक र विद्यार्थीहरू हरेक ओढारको छेउमा पुगेर गुफाको प्रवेशद्वारको खोजी गर्छन् ।

हामी बसेको भन्दा अलिकति माथि खोज्दै गरेको विद्यार्थीको एक समूहले गुफा भेटिएको खबर गर्छन् । हामी खुसी हुँदै गुफा नजिक पुग्छौँ । तर गुफा विश्वसनीय लाग्दै । एकजना मुस्किलले छिर्ने सानो मुख मात्र छ । यो त गुफा होइन होला भन्छौँ हामीहरू । मनलाल सरले भन्नुहुन्छः गुफा यही हो । यो त मूलद्वार मात्र हो । भित्र पसे थाहा हुन्छ गुफाको विशालता ।

मनलाल सर मुस्किलले गुफाको मुखबाट भित्र छिर्नुहुन्छ । मनलाल सरलाई अरू विद्यार्थीहरूले पछ्याउँदै भित्र पस्दै गर्दा मलाई आश्चर्य लाग्छ । म पनि पस्छु । भित्र अलिकति फराकिलो ठाउँ छ । मोबाइलका टर्चहरू पर पर बलिरहेका छन् । तर त्यसमा पस्ने दुलो एकदमै सानो छ । घस्रिएर मात्र पस्न सकिने । म झोलैसित घस्रिन थाल्छु । अर्कोपट्टि झनै फराकिलो ठाउँ भेटिन्छ । अगाडि पसेका केही विद्यार्थी त्यहीँ भेटिन्छन् । अगाडि फेरि अर्को साँघुरो द्वारजस्तो आकृति छ । त्यहाँबाट पनि भित्र पस्छु । अगाडि पसेका सबै विद्यार्थीहरू त्यहीँ भेटिन्छन् । त्यहाँबाट अगाडिपट्टि अर्को द्वारजस्तो आकृति छ । दायाँपट्टि पनि त्यस्तै आकृति छ । मनलाल सरले अक्सिजन नपुग्ने भएकोले विद्यार्थीहरूलाई अगाडि नबढ्न निर्देशन दिइरहनुभएको छ ।

नपत्याइएको गुफामा नभन्दै भित्र त कोठै कोठा रहेछन् । यस्तो गुफा नेपालभरि नै छैन होला । महेन्द्र गुफा लामो त छ तर एकोहोरो दुलो मात्र छ । यसलाई संरक्षण र प्रचारप्रसार गरे देशभरिका पर्यटक भित्रिन सक्छन् । तर न स्थानीयको चासो छ न गाउँपालिकाले नै उचित कदम चाल्न सकेको छ । मलाई त्रिवेणीको वैभवले खुसी मात्र होइन यस्ता अमूल्य सम्पत्ति कसैको जानकारीमा नआई मिल्किएकोमा चिन्ता लाग्छ ।

गुफाबाट बाहिर निस्कँदा झोलैसित पसेकोले मेरो हालत खराब भएको रहेछ । हातगोडा लुगालत्त र झोलैभरि माटैमाटो मात्र । आफ्नो दशा देखेर आफैलाई हाँसो उठ्छ ।

त्यहाँबाट मझौडाँडाको छेर्नोमा आएर बिसाउँछौँ । विद्यार्थीहरूले पानी भरेर ल्याउँछन् । फ्रिजमा राखिएको जस्तो अत्यन्तै ठण्डा पानीले मुख भिजाउँछौँ । त्यहाँबाट डाँडैडाँडा हुँदै केही माथि चढ्छौँ । माथि हजारौँ जना अट्ने निकै फराकिलो उन्युले ढाकेको चहुर भेटिन्छ । चारैतिर निकै घना जङ्गलै जङ्गलको राज छ । त्रिवेणीको मुहान यही हो । जङ्गलले पानी मात्र दिएको छैन बाघभालु र बँदेल पनि पालेको छ भन्दै मनलाल सरले विद्यार्थीलाई एक्लै यताउति जान खोज्ने विद्यार्थीहरूलाई सचेत गराउनुहुन्छ । दिउँसोको साढे २ बजे आइपुगेका हामीहरू ४ बजेसम्म यतै बिताउँछौँ । हामी त्यहीँ बिसाएर आआफूले ल्याएका खाजाहरू बाँडीचुँडी खान्छौँ । नाचगान चल्छ । समूहगत पैँसेरी नाच नाच्छौँ । सूर्य नमस्कारको योगाको अभ्यास गर्छौँ ।

देवकुमारीले फोन गरेर  आफ्नो खुसी सुनाउँछिन् आज १२ कक्षाको रिजल्ट भएछ । म १२ कक्षामा पास भएछु । म खुसीले फन्न नाच्छु । तर देवकुमारीबाट निकै टाढा आएको छु । भ्रमणको कार्यक्रम अझै सकिएको छैन । बिचैमा फर्कनु पनि भएन ।

विद्यार्थीहरूको पूर्व योजनाअनुसार कालापोखरा र जिलाधुरीसम्मै पुग्ने लक्ष्य थियो तर मौसम बिग्रने सम्भावना भएको र समय पनि घर्किसकेको कारण देखाउँदै यसभन्दा माथि नजान मैले नै आग्रह गर्छु । जहाँ पुग्ने भनेर आइएको थियो त्यहीँ पुग्न नसक्दा विद्यार्थीहरू खिन्न देखिन्छन् । मझौडाँडा ओर्लिएपछि मैले घरमा पुग्नैपर्ने भएकोले म सर र विद्यार्थी भाइबहिनीसँग बिदाबारी भएर अलि टाढा घर भएका साना ३ जना बच्चाको साथमा जिबाङतिर ओर्लन्छु । मनलाल सर र राजेश सरको अगुवाइमा विद्यार्थीको बाँकी समूह बल्लेजुराको नजिकै रहेको बोजोबारी हेर्न तेर्छो लाग्नुहुन्छ ।

सोलाबङ स्थित घरमा आइपुग्दा रातको ८ बज्छ । मन चङ्गा भइरहेको हुँदा जिउ थाकेको अनुभूत नै हुँदैन ।

घरमा पुगेर देवकुमारीलाई अँगालो मारेर बधाई तथा शुभकामना दिन्छु । हत्तपत्त फेसबुकमा पनि शुभकामना सन्देश राखेर सामाजिक सञ्जालको पछिल्लो ट्रेन्डलाई समात्छु । देवकुमारीको अनुहारमा फैलिएको खुसीले मलाई पनि खुसी दिन्छ । थप अध्ययनको लागि के गर्ने भन्ने सम्बन्धमा कुराकानी गर्दै जाँदा बेलुका १२ बजेको पत्तै हुँदैन ।

२०८३ असार ६ गते  शनिवार

सोलाबाङ रुकुम

हिजोको यस वर्षकै लामो यात्राले बिहान उठ्दा खुट्टा र जिउ दुखेर उठ्न सक्दिन कि भन्ने लागेको थियो तर जिउ खासै दुखेको छैन । देवकुमारी बिहानै उठेर दुध ल्याउन जान्छिन् । मैले बत्तीको सदुपयोग गर्दै सङ्कलित सूचनाबाट पाठहरू बनाउन थाल्छु । कक्षा ६ र ७ को पाठ बनाउने काम मोटामोटी सकिएको छ । ८ कक्षाका पाठहरू बनाउँदै जान्छु ।

देवकुमारीले १२ कक्षा उत्तीर्ण गरेको उपलक्ष्यमा आज केक काट्ने कार्यक्रम बनाएकी छिन् । मैले केक मात्र काटेर हुँदैन केही खुवाएर पठाउनुपर्छ भनी दूध ल्याउन पठाउँछु ।

५ बजेपछि आमन्त्रित आफन्तहरू आउन थाल्नुहुन्छ । खालि छिमेकीहरू सम्धी तथा कमला बुहारी देवी ठुल्दाइ भाउजू जेठानहरू र सालाहरूलाई मात्र निम्ता गरेका छौँ । देवी र जुनिता केक बोकेर समयमै आइपुग्छन् र केक काट्नको लागि फूलहरू जम्मा गर्ने कलश सजाउने आदि काममा लाग्छन् । ६ बजेतिर केक काट्ने काम सम्पन्न हुन्छ । आमन्त्रण गरिएअनुसार जेठा जेठानका दम्पती माइला जेठान ठुल्दाइ र भाउजू सम्धी सम्धिनी कमला बुहारी र गङ्गा जमुना बहिनीहरू डम्बर र अधिश बिनाराम र प्रज्ञान सबै आउँछन् । आमन्त्रित गरिएका सबै आउँदा सन्तोषले मन भरिन्छ ।

उहाँहरूलाई एक एक डाडु खिर खुवाएर पठाउँछौँ । आफूले पनि थप खाना पकाउन जाँगर लाग्दैन । १ डाडु खिरमै आजको दिनलाई बिदाई गर्छौँ ।

२०८३ असार ७ गते  आइतवार

सोलाबाङ रुकुम

बिहानै उठेर पुस्तक सम्पादनकै काममा लाग्छु । अस्ति जेठानसँग मुरूडाँडा र राजकोट भ्रमण गरेको यात्रालाई संस्मरणको रूपमा प्रकाशित गर्न मन लागेकोले कखरा डटकमलाई पठाइदिन्छु ।

दिउँसो काँक्रा र कुटे करेलालाई ठ्याँक्रा हाल्ने काम गर्छु । पानी नपरेको हप्ता दिन भन्दा बढी भइसकेकोले गर्मी अत्यन्तै बढेको छ । कोठा बाहिर निस्कँदा पनि शरीरभरि खलखली पसिना बग्छन् । बिहान र दिउँसो गरी दुईचोटि नुहाइसकेको छु ।

परीक्षित आज चितवनबाट काठमाडौँ फर्किएको खबर आउँछ ।

बेलुका मकैको रोटी खुवाउन जेठानले अस्तिदेखि नै बोलाइरहनुभएकोले जेठा जेठानको घरमा जान्छौँ । तर आजै उहाँको खेत रोपाइको तयारीको लागि आली लगाउने काम परेछ । उहाँहरू भर्खर आइपुगेको हुँदा हामी पाहुना पर्न गएको अप्ठ्यारो लाग्यो । माइला जेठानको घरमा रोटी पकाउँदै गरेको देखेर उतै जान्छौँ ।

आजबाट रास्वपाको महाधिवेशन भएकोले माइला जेठानले दिनभर कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्नुभएको रहेछ । अन्य नेताहरू र बालेनले के भने भन्ने बारेमा बेलिबिस्तार लगाउनुभयो । आफूले प्रत्यक्ष प्रसारण हेर्न नपाए पनि हेरेजत्तिकै बनाइदिनुभयो । रोटी खाएर घरमा आउँछौँ र फेरि पनि नुहाएर आजको दिनलाई विश्राम दिन्छौँ ।

२०८३ असार ८ गते  सोमवार

सोलाबाङ रुकुम

बिहानै उठेर सिम्रुतुतिर लागेँ ।  बैरागीठाँटी बजारमा धावक दुर्गाराज बुढासँग भेट भयो । पोहोर साल अर्थात् २०८२ भदौ १२ गते मैले नै अगुवाइ गरी मुसीकोट हेरिटेज रनको आयोजना गरेको थियौँ । करिब २७ किलोमिटरको उक्त दौडमा  डिग्रे मन्दिरबाट सुरु भएको उक्त रन घिमाने जन्ती लेक सातदुले जुम्ले पोखरी पोखरा खारा दह सान्दह ठुल्दह साँखदह कुनाबाङ हुँदै डिग्रेमै समापान भएको थियो । विभिन्न १३ जिल्लाका २४ जना धावकहरूले भाग लिएका थिए । साँखमा जन्मिएका र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएका दुर्गा बुढा प्रथम भई २५००० पुरस्कार जितेका थिए । हामीलाई दौडको पूर्वतयारीदेखि नै निरन्तर साथ सहयोग पनि गरेका थिए । यिनकै सहयोगमा जिल्लाभरको एउटा प्रतिभा बैँक खडा गरेर खेलकुद संस्कृति शिक्षा र साहित्यलाई एउटै संस्थाभित्र आवद्ध गर्ने भन्ने मोटामोटी कुराकानी भएको थियो । उक्त संस्था गठनको लागि पहल भइरहेको र आधिकारिक व्यक्तिहरूको चासो नहुँदा काम भइरहेको थिएन ।

यसैको लागि दुर्गाराज बुढाले मलाई घचघच्याइरहेका छन् । आजको भेटको क्रममा पनि उक्त संस्थाको स्थापना कसरी र कहिले गर्ने भन्ने सम्बन्धमा कुराकानी भयो ।

मनलाल सर पनि सेरिगाउँबाट ठाँटीबजार झर्नुभयो । दुबैजना सिम्रुतु लाग्यौँ र गापा अध्यक्ष गणेश केसीकै घरमा पुग्यौँ । जिबाङका विद्यार्थीहरूलाई विभिन्न पर्यटकीय स्थलहरूमा घुमाउँदा पाइएका कुराहरू गणेशजीलाई पनि सुनायौँ । गुफाहरू अनौठा अनौठा भएको तर धेरैजसोलाई जानकारी नै नभएको बाटो नै नभएको हुँदा पहुँच निकै कठिन र जोखिमपूर्ण रहेको गुफाको मुखमा काँडाहरू राखेर थुनेको भित्र बियरका टुटेफुटेका बोत्तलहरू र अन्य फोहोर फ्याँक्ने ठाउँको लागि उपयोग गरिएको बारे अवगत गरायौँ । सर्वप्रथम यस्ता गुफा संरक्षणको लागि बाटो पुर्‍याउनुपर्ने भएकोले प्रत्येक गुफाको लागि निकटमा हुन गइरहेको गाउँसभामा प्रस्ताव राखी प्रत्येक गुफाको लागि कम्तीमा रु २५००० बजेट व्यवस्थापन गरिदिन अनुरोध गर्‍यौँ । गाउँपालिकाको नाम त्रिवेणी राखिएको तर यो क्षेत्रमा त्रिवेणी भनेर चिनिने कुनै स्थल नभएको हुँदा सिम्रुतु बजारलाई त्रिवेणी बजार नामाकरण गर्न पनि माग गर्यौँ ।

उहाँले हुन्छ प्रयास गरौँला भन्नुभयो । मनलाल सर त्यताबाट जिबाङ स्कुलतिर लाग्नुभयो । म शिक्षा शाखातिर आएँ । शिक्षा शाखामा शैक्षिक तथ्याङ्क माग गर्दा लिलामणिजीले कुनै प्रतिक्रिया दिनुभएन । शिक्षा अधिकृत मानबहादुर विकले फुर्सदमा आउनुहोला आजभोलि हामीलाई फुर्सद छैन भनेकोले मन खिन्न भयो । शिक्षाकै कार्यक्रम पाठ्यपुस्तक निर्माणको लागि डाटा माग्दा त यस्तो भनिन्छ भने भोलि पाठमा राखिएको परियोजना कार्य गर्न विद्यार्थी आए भने यस्तै जवाफमा फर्किनुपर्दा उनीहरुको बाल मनस्थिति कस्तो होला । म छक्क परेँ ।

सिम्रुतुबाट गणेश केसीको गाडीमा गाउँपालिकाको कार्यालय खारानेटा पुगेँ । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत यज्ञ भण्डारी लगायत अन्य कर्मचारीहरूसँग पनि भेट भयो । केही फोटोहरू पनि लिएँ । खारानेटाबाट गाउँपालिकाको गाडीमा झुल्नेटातिर लागेँ । धौलाबाङमा जन्मेका र माओवादी जनयुद्धमा सहिद भएका टीकाराम पुनको जीवनी राख्नुपर्ने भएकोले सूचना सङ्कलन गर्न उहाँको घरमै जाँदै थिएँ । बाटोमा पर्ने  निर्माणाधीन खारा अस्पत्ताल हेरियो । धेरै वर्षसम्म आर्मीले कब्जा गरेको र अहिले छोडेर हिँडेको खारा ब्यारेकको पनि फन्को लगाएँ । सबै संरचनाहरू ध्वस्त पारिएको रहेछ । कम्तीमा सङ्ग्रहालय बनाएको भए पर्यटकीय आकर्क्षणको केन्द्र पनि बन्न सक्थ्यो । गुरुजीले सतर्क भएर हिड्नुहोला यहाँ हजारौँ बमहरू अझै छरिएर रहेका होलान् । हजारौँ मान्छेको हाडखोड पनि होला भन्दा जिउ जिरिङ्ग भयो । त्यहाँबाट अघि बढेर दहबाङ खेल मैदान  पनि हेरियो । उक्त मैदान हाल वनले आफ्नो क्षेत्रमा पर्ने भनेर रोक्का गरेको रहेछ ।

झुल्नेटा पुगेपछि त्रिवेणी होटेलमा पुगेर चिया खाजा खाएपछि गाडी फिर्ता पठाइदिएँ  । तुलसाका लोग्नेलाई टीकाराम पुनको घरसम्म लगिदिन अनुरोध गरेँ । उहाँलाई भनेको १ घण्टासम्म पनि आउनुभएन । मैले झुल्नेटामा बन्दै गरेको धुमभिर सङ्ग्रहालय पुनः अवलोकन गरेँ । अगाडि हतार भएकोले र फोटोमा पूरा दृश्य नदेखिएकोले फेरि दहबाङ खेलमैदान ओर्लिएँ । फेरि पनि पूरै फोटो आएन । अतः दहाबाङबाट झुल्नेटा पुगँ । तुलसाको लोग्नेले अझै रेस्पोन्स नगरेकोले बजारका मान्छेहरूलाई सोधपुछ गर्दै अप्ठ्यारो ओरालो काट्दै एक्लै टीकाराम पुनको धौलाबाङ स्थित घरमा पुगेँ ।

टीकाराम पुनको बारेमा जानकारी सङ्कलन गरेर पठाइदिन उनका छोरा राजेन्द्र पुनलाई बारम्बार फोन गर्दा पनि रेस्पोन्स गरिरहेका थिएनन् । घरमा टीकारामकी स्वास्नी मात्र हुनुहुँदो रहेछ । टीकारामको पारिवारिक जीवन सामाजिक जीवन र राजनीतिक जीवन बारे बुझ्न खोज्दा केही पनि जानकारी नभएको प्रतिक्रिया दिनुभयो । टीकारामले शिक्षण गरेका ठाउँहरूको मात्र नाम टिपेर म झुल्नेटा फर्किएँ । झुल्नेटा बजारमा पसल चलाइरहेकी टीकारामकी छोरीलाई सोध्दा उनले पनि कुनै कुरा पनि जानकारी नभएको प्रतिक्रिया दिइन् । टीकारामका भिनाजु भुपाल पुनलाई सोध्न नम्बर दिइन् । उनले दिएको नम्बरमा फोन लाग्दै लागेन । थप सूचनाको कुनै विकल्प नदेखेर हाइस चढेर सोलाबाङस्ति घरमा फिर्ता भएँ ।

दिउँसो देवकुमारीले घरपछाडि काम गर्दै गर्दा फुटेको सिसाले खुट्टा काटेछ । रगत बगेछ । हिड्न नसकेको अवस्थामा पुगेकी रहिछन् । घाउ सफा गरेर औषधि लगाइदिएँ । बेलुका माइली दिदी (माइला जेठान भक्तबहादुर खडकाकी पत्नी) निउरोको साग ल्याएर घरमा आउनुभएको थियो । निउरोको साग छिमेकीलाई बाँडेर घरमा पनि पकाएर खायौँ ।

२०८३ असार ९ गते  मङ्गलवार

सोलाबाङ रुकुम

बिहानै चिन्ताराम जेठानले दुध घरमै ल्याइदिएकोले दुध ल्याउन उहाँको घरमा जानु परेन । दुवाकोटबाट अनिलकृष्ण प्रसाइँ र आशाराम फाँजुले कृषि विकास बैँकको केवाइसीको लागि तारन्तार फोन गरिरहेका थिए ।

दुवाकोटमा सुरुमा बसाइँसराइँ गर्दा खानेपानीको समस्या थियो । खानेपानी ल्याउन निकोसेरासम्म र च्वङ्गा गणेश मन्दिरसम्म जर्किन बोकेर जान्थ्यौँ । लुगा धुनको लागि सरस्वतीखेलसम्म पुग्थ्यौँ । केही वर्षसम्म यसरी नै खानेपानीको कठिनाइ बेहोरियो । पछि खानेपानी सम्बन्धी उपभोक्ता समिति गठन भयो । अध्यक्ष अनिलकृष्ण प्रसाईँ भए उपाध्यक्ष आशाराम फाँजु भए भने कोषाध्यक्ष म भएको थिएँ । स्थानीय उपभोक्ताहरूबाट पैँसा उठाएर पाइप किन्ने र काम गर्ने कामदारलाई ज्याला दिन चन्दा उठाएका थियौँ । चन्दालाई तीनजनाकै नामबाट कृषि विकास बैँकमा राखेका थियौँ । यसरी खानेपानीको व्यवस्था गरिएको थियो ।

त्यही पैँसाको पुनर्प्रयोगको लागि अनिलकृष्णले मलाई पोहोर परारदेखि नै दबाब दिइरहेका थिए । झिकेर झ्वाम्मै खानको लागि हो कि भनी मलाई डर लागिरहेको थियो । तसर्थ भागी भागी हिँडेको थिएँ । अहिले आशाराम फाँजु पनि जोडिएपछि र पैसा निकाल्नको लागि पहिले केवाइसी फर्म भर्नुपर्ने रहेछ । आशाराम जोडिएपछि अब मैले चेकमा सिग्नेचर गर्नु पर्ने बाध्यताबाट मुक्ति पाएको महसुस गरेँ । आशारामले केवाइसी फर्मको फोटो खिचेर ह्वाट्सएपमा राखिदिएका थिए ।

चन्द्रा ओली सिम्रुतु पढाउन गइरहने हुँदा बहिनीलाई केवाइसी प्रिन्ट गरेर ल्याइदिनू भनेको थिएँ । तर चन्द्राले ल्याइदिएको जानकारी नदिएपछि बारम्बार फोन गरेँ तर न फोन उठ्यो न रिप्लाइ नै आयो ।

दिनभर पाठ निर्माणको लागि घरमै बसेँ । दिउँसो बत्ती नआएकोले समस्या सोचेअनुसारको प्रगति भएन । पाठमा राख्नको लागि शिक्षाको अवस्थाको लागि विवरण माग गर्न लीलामणि दाहाललाई फोन गर्दा उहाँले आलटाल गरिरहनुभयो । पाठ्यपुस्तकमा विद्यार्थीले नै कार्यालयमा पुगेर विवरण माग गर्ने परियोजना कार्य दिइएको व्यवहारमा कसरी कार्यान्वयनमा आउने हो । त्रिवेणी वडा नं ५ का वडा अध्यक्ष रणबहादुर पुनलाई वडा र वडामा काम भइरहेको अवस्थाको फोटो माग गर्दा उहाँबाट पनि प्राप्त भएन ।

बेलुका मकैको रोटी र हरियो खुर्सानीको नुन र महीसहितको अर्गानिक खाना खान जेठान लोकबहादुर खडकाले आफ्नो घरमा बोलाउनुभयो । देवकुमारीको खुट्टा काटेकोले जान सकिनन् । म मात्रै जेठानको घरमा गएँ । तमाकछरेका डिल्ली ओलीलाई ताजा घिउ ल्याइदिन ताकेता गरेँ ।

लीलाध्वन पुनकी छोरी सीमाले करिब आधा घण्टा फोन गरेर उनैले बयाना गरेको बुङमतीको जग्गाको विषयमा सोधपुछ गरिरहिन् । म पनि जग्गाको विषयमा भुक्तभोगी नै थिएँ मैले के सुझाव दिनू ? देवकुमारीलाई समेत रोटी नुन र मही ल्याइदिएर घरमा आएँ । तर देवकुमारीले खाइनन् ।

२०८३ असार १० गते  बुधवार

सोलाबाङ रुकुम

शैक्षिक विवरणहरू लिन सिम्रुतु गएँ । EMIS कै विवरण साभार गर्नुपर्ने सुझाव प्राप्त भयो । सुरेश पुनले दहबाङ खेल मैलदानका फोटोहरु पठाइदिनुभएकोले पाठमा समावेश गरेँ ।

सहिद टीकारामको विषयमा रुँघाको गोसाइँबुबु मन्दिरको बारेमा बुझ्न दिलिप देवकोटासँग भेट गरेँ । टीकारामको विवरणको लागि गणेशा कार्कीसँग फोन गरेँ तर गणेशाले फोन उठाउनुभएन । दिलिप सरले फोन गर्दा उठ्यो । उहाँले डिला पुनलाई थाहा हुनुपर्ने जवाफ दिनुभयो । लोकेन्द्र बिस्ट मगरलाई पनि फोन गरेँ तर पोन उठाउनुभएन । । हेमन्त प्रकाश ओलीलाई फोन गर्दा उहाँको फोन पनि स्वीचअफ भन्यो

कृषि विकास बैँकको केवाइसी भरेर आशाराम फाँजुको ह्वाट्सएपमा पठाइदिएँ । सिम्रुतुबाट दिउँसो घरमा आएँ र भात पकाई खाएँ । पाठहरू अपडेट पनि गरेँ ।

ओली वंशका अध्यक्ष हरि ओलीले ओलीको मन्दिर उद्‍घाटनको निम्ति  यही असार १४ गते अनिवार्य रूपमा बारेकोट जान निम्तो दिनुभयो ।  मैले पाठ्यपुस्तकको जिम्मा लिएकोले यता काम नसकिएर त्यता आउन नसकिने बताएँ

बालाराम ओलीलाई फोन गरेर जिबाङको पारेगोठ स्थित बराह मन्दिरको बारमा सोधपुछ । उनले पुजारी झुपलाल ओलीको फोन दिएकोले उनीसँग विस्तृतमा जानकारी लिएको । नरसिँह ओलीलाई नुवाकोटको माईभगवती मन्दिरको बारेमा फोटो र जानकारी पठाइदिन अनुरोध गरेको । पुण्य भट्टराईको प्रकाशोन्मुख पुस्तकको एउटा लेखमा भएका त्रुटिहरू सच्याउन लेख पठाउनुभएको । तर बत्ती र समयाभावको कारण हेर्न नभ्याएको ।

राति १० बजे धावक दुर्गा बुढाको फोन ।

२०८३ असार ११ गते  विहीवार

सोलाबाङ रुकुम

आज तुलसीको बीउ छर्ने एकादशी भएको बारेमा देवकुमारीले सम्झाई पूजाका सामग्रीहरू ल्याउन बजार गएँ । ठुलदाइको घरमा पुगेर तुलसीको बीउ ल्याएँ ।

घरमा आएर खेतबाट माटो खनेर आँगनमा सारेँ । वरिपरिका ढुङ्गाहरू खेरेँ । माटोढुङ्गाको गारो उठाएर तुलसी मठ निर्माण गरेँ । देवकुमारी र मैले तुलसीको पूजाआजापछि खाना खायौँ  । जितबहादुर शाह सरले १२ गते नै रुकुम आउने तयारी गरेको जानकारी गराउनुभयो । सोही अनुसार प्रअ तथा शिक्षकहरूलाई बोलाइदिन शिक्षाका प्रास सुरेश पुनलाई खबर गरेँ । जितबहादुर शाह आउनुभन्दा पहिले नै पाठहरू व्यवस्थापन गर्नुपर्ने भएकोले दिनभर त्यसैमा लागेँ ।

२०८३ असार १२ गते  शुक्रवार

सोलाबाङ रुकुम

बिहान १० बजेसम्म पाठहरू मिलाउनमै लागेँ । असार ५ गते जिबाङका विद्यार्थीहरू लिएर त्रिवेणीका विभिन्न ठाउँहरुको अवलोकन गर्न जाँदा सबै विद्यार्थीहरूलाई अवलोकनमा के के कुराको टिपोट गर्ने भनी कार्य विभाजन गरिएको र सोको भ्रमण प्रतिवेदन विद्यालयमा पेस गर्न निर्देशन दिएको थिएँ । मनलाल सरले भोलि विद्यार्थीहरूले क्षेत्र भ्रमणको प्रतिवेदन पेस गरिसकेकोले सो सुन्न आउनुहोला भनेर हिजै सम्झाउनुभएको थियो । मैले उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने ३ ग्रुपलाई पुरस्कार दिने घोषणा गरेको थिएँ ।

अतः प्रतिवेदन सुन्ने र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने हेतुले म १० बजे जिबाङतिर लागेँ । सिम्रुतुसम्म हाइसमा यात्रा गरेर सिम्रुतुबाट पैदल उकालो उक्लिएँ । असारको मध्यतिर हप्तौँसम्म पानी नपर्दा प्रचण्ड गर्मी थियो । सिम्रुतुबाट हिँड्दा नै ११ बजिसकेको हुँदा म छिटो उक्लनुपर्ने थियो । पसिनाको धारो बगाउँदै सास नै नबिसाई ठिक १२ बजे जिबाङ स्कुलमा पुगेँ । मनलाल सर कक्षामा जानुभएको रहेछ । निरन्तरको उकालोले मुख प्याक्प्याक्ती सुकेको थियो । पसिनाले जिउ लुगाजति जम्मै निथ्रुक्क भिजेका थिए । स्याँ स्याँ भइरहेको थियो । शिक्षक कोठामा पुगेर पानी घटघटी पिएँ । जाकेट र सर्ट निकालेँ । स्याँ स्याँ त केही बेर कम हुँदै गयो तर शरीरबाट पसिना बग्न बन्द भएन । बाहिर भित्र गर्दा पनि शीतल ठाउँमा पसिना किन निरन्तर बगिरह्यो अनौठो लाग्यो । २ जग पानी रित्याएँ । किताबले जिउ हम्किएँ तर चिटचिट पसिना आउने र बग्ने क्रम जारी नै रह्यो । साढे १२ बजेपछि पसिना कम हुन थाल्यो । अलि शीतल पनि महसुस हुन थाल्यो । मनलाल सर आइपुग्दा सामान्य अवस्थामा आइसकेको थिएँ ।

उहाँले कार्यक्रमको बारेमा बताउनुभयो । १ बजेदेखि कार्यक्रम सुरु हुने भन्नुभएको थियो तर १ बजे खाजा खान बोलाइयो । खाजा भात मासुको झोल थियो । मैले म त शाकाहारी हुँ मासु खाने गरेको छैन भनेँ । सरहरूले होटेलबाट खाजा मगाइदिने कुरा गर्नुभयो । मैले हुँदैन खाजा खुवाउने नै भए पानीमा नुन उमाल्नुहोस् । नुनेपानीसँग भात मुछेर खान्छु भनेँ । तर सरहरूले मान्नुभएन । मलाई खाजाको लोभभन्दा कार्यक्रम ढिलो होला भन्ने थियो । तर खाजाको विषयमा छलफल हुँदा हुँदै साढे १ बज्यो । परौठा र दही मगाइएको रहेछ । दहीपरौठा खाँदा २ बजिसकेको थियो ।

२ बजे कार्यक्रम सुरु गर्न लगाएँ । विद्यालयका प्रधानाध्यापक ग्यामबहादुर पुनको अध्यक्षता र मेरो प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भयो । आजै जिबाङ स्कुलको स्थलगत निबन्ध प्रतियोगिताको कार्यक्रम पनि रहेछ । पहिले प्रतिवेदनलाई पूर्व मूल्याङ्कन गरेर मात्र प्रस्तुत गर्न दिने कि भन्ने थियो । तर प्रतिवेदक ९ समूह मात्र भएकोले प्रतिवेदनका पानाहरू थोरै देखेकोले सबैलाई प्रस्तुत गर्न लगाउने निर्णय भयो । विद्यार्थीहरूले प्रतिवेदन पढेर सुनाउन थाले । बुझाएको प्रतिवेदनको अतिरिक्त गोजीमा राखेका थप पानाहरू पनि पढेर सुनाउन थाले । पानाहरू पढिसकेपछि मौखिक पनि बेलिबिस्तार लगाउन थाले । फलस्वरूप एकैजनाको प्रस्तुति पन्ध्र बिस मिनेटको हुन पुग्यो । को भन्दा को कम भनेझैँ एक से एक प्रस्तुति हुन थाले । फलस्वरुप पुरस्कार वितरण गर्दासम्म ५ बजिहाल्यो । विद्यालयस्तरीय निबन्ध प्रतियोगिताको पुरस्कार पनि प्रमुख अतिथि भएको नाताले मेरै हातले दिएँ ।

मनलाल सर र म सिम्रुतु झर्दा ६ बज्यो । मनलाल सर रेडियो साहित्यमालाको कार्यक्रम बनाउन खलङ्गातिर लाग्नुभयो । म भने जितबहादुर शाह सर आउँदै गरेको खबर पाएकोले सिम्रुतुमै पर्खिएँ । उहाँ आइपुगेपछि पाठ्यपुस्तकको बारेमा र अन्य विषयमा कुराकानी भए । उहाँले सिम्रुतुमै बास बस्न आग्रह गर्नुभएको थियो तर घरमा देवकुमारी घाइते भएको अवस्था जनाई भोलि बिहान ५ बजे नै आइपुग्ने वाचा गर्दै सोलाबाङ आएँ ।

२०८३ असार १३ गते  शनिवार

सोलाबाङ रुकुम

बिहानै उठेर चिन्ताराम जेठानको घरबाट दूध ल्याई घरमा छोडेर म सिम्रुतुतिर लागेँ । दिनभरि ३ वटा लेखकहरूको पाठ सङ्कलन व्यवस्थापन र पेज सेटिङको काम भयो । होटेलमा बस्ने केही कठिनाइ भएकोले शिक्षाको अफिसको साँचो नहुँदा कृषिको कोठा खोल्न लगाएर बाहिरबाट ताल्चा लगाएर हामी २ जना भित्र बसिरहेका थियौँ । खानाखाजा सिम्रुतु माया होटेलमै भयो । जितबहादुर शाह सरसँग अन्य अन्तरङ्ग कुराहरु पनि भए ।

सोलाबाङमा पुरातत्व विभागको बजेटबाट कइपानी शिवालय मन्दिर निर्माणाधीन थियो । ४ वर्ष पहिले नै रु २० लाख बजेट व्यवस्थापन गरेर सुरु भएको कार्यक्रम सम्पन्न भएको थिएन । सुरु कामको लागि उपभोक्त समितिबाट काम गराउने भनी चम्पा खडका वीरबहादुर ओली लगायतको समिति निर्माण गरिएको थियो । तर पुरातत्त्व विभागले उपभोक्ताबाट गरिने काम गुणस्तरीय नहुने भएकोले ठेक्का प्रणालीबाटै गर्ने अडान लियो र इबिडिङबाट ठेक्का खुल्यो । करिब १३ लाखमा ठेक्का भक्तपुरे ठेकेदारलाई परेको थियो र उसले बोरागाउँका लीलाध्वज पुनका जुवाइँलाई सम्पर्क गरी काम गराउन थाल्यो ।

कइनपानी मन्दिरको लागि मैले नै जिविसबाट बजेट व्यवस्थापन गरिदिई बनेको सानो मन्दिरलाई भत्काएर ठुलो मन्दिर बन्दै थियो । तर पूर्व गठित उपभोक्ता समितिका केही सदस्यहरूले ठेकेदारसँग निहुँ खोज्न थाले । काममा अवरोध गरे र सामान राखेको भाडा बत्तीको भाडा भन्दा अनावश्यक अत्तो थाप्न थाले ।

ठेकेदारले आफूले भोग्नुपरेको सास्ती पुरातत्त्व विभागमा ब्रिफिङ गरेकोले बाँकी काम सम्पन्न गर्न दोस्रो वर्ष बजेट परेन । तेस्रो वर्ष बजेट पर्‍यो तर फेरि उपभोक्त समितिका सदस्यहरूले ठेकेदारलाई घेरेर पुरानो पैसा वा काम दिन र नत्र अख्तियारमा उजुरी गर्ने धम्की दिएर बस्ने र काम गर्न वातावरण नै मिलाएनन् । त्यस ठेकेदार पनि रातारात भागेछ ।

यस वर्ष ६ लाखको बजेट परेको थियो । तर ६ लाखले काम सम्पन्न नहुने भएकोले जसरी पनि छाना मात्र छुवाइदिन पुरातत्व विभागलाई विनम्र अनुरोध गरेँ । रु १० लाखले सम्पन्न गर्ने गरी रिडिजाइनिङ पनि भयो तर अन्तिम अवस्थामा बजेट थप भएन र यो वर्ष ६ लाखको मात्र काम गर्न भनिएको थियो । सोको लागि मलाई सम्पर्क गर्नु भनिएकोले ठेकेदारले एक महिना मलाई फोन गरिरहेका थिए ।

ठेकेदारले आज काम गर्ने केटाहरू मुसीकोट आउँदै गरेकोले केटाहरूलाई बस्न र काम गर्ने वातावरण मिलाइदिन बारम्बार फोन गरिरहेका थिए । मलाई भने पाठ्यपुस्तककै निर्माणमा भ्याइनभ्याइ भएकोले समयमा घरमा पुग्न सम्भव थिएन ।

दिउँसो सहिद प्रतिष्ठानको हलमा राजनीतिक भेला भइरहेको थियो । कुन दलको थियो हामीलाई मतलब थिएन । खाना खाजा खाँदा त त्यही बाटो ओहोरदोहोर गरिरहेका थियौँ । तर कार्यक्रम हलभित्रको बन्द कोठामा भइरहेकोले बिना प्रसङ्ग भित्र हेर्ने कुरा पनि भएन । बेलुकातिर आनन्द पुन मलाई खोज्दै शिक्षाकै अफिसमा आइपुगे । कुराकानी गर्दा गर्दै प्रतिनिधिसभाका वर्तमान सदस्य गोपाल शर्मा, गापा अध्यक्ष गणेश केसी र ५ नं वडाका नेता टेकबहादुर ओली खोज्दै हामीले काम गरिरहेको ठाउँमा आइपुग्नुभयो ।

आउनुको उद्देश्य कक्षा १ देखि ८ सम्मको पाठ्य पुस्तकमा माओवादी जनयुद्धको सकारात्मक पक्षहरूलाई समावेश गर्न दबाब दिनु रहेछ । हामीले पाठ्यपुस्तकमा ५ जना सहिदहरूको जीवनी समावेश गरेको बतायौँ । तर उहाँहरूले जनयुद्धका उपलब्धिहरू छुट्टै पाठमा राख्नुपर्ने बताउनुभयो । हामीले बदलिँदो राजनीतिक परिवेशको वर्मान परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्ने बताएपछि उहाँहरू फर्कनुभयो ।

बेलुका सोलाबाङमा फर्कन अटो खोजेर सडकमा उभिइरहेको थिएँ । गोपाल शर्माको गाडी आँखै अगाडिबाट हुइँकियो । म अलमल्लमा परेँ । गोपाल शर्माले देखेको नदेखेई गर्नु नपर्ने हो भन्ने लाग्यो ।

तर धेरै तल पुगिसकेको गाडी ब्याक गर्दै मेरो छेउमा आयो र गोपालले आफूले मोबाइल हेरिरहेकोले मलाई नदेखेको भनी क्षमा माग्दै गाडीमा बस्न अनुरोध गरे । मलाई खोजेकै यही थियो । उनको गाडीमा १० मिनेटमै सोलाबाङ पुगिहालेँ ।

मन्दिरमा काम गर्न आएका मान्छेहरूले सोलाबाङबाट फोन गरिरहेको हुँदा म उनीहरूलाई लिएर कइनपानीतिर गई मन्दिर देखाएँ । उनीहरूले काम छिटो सक्नको लागि बत्तीको लाइन जोडिदिन र मन्दिरकै आसपासमा कोठा खोजिदिन अनुरोध गरे । गोपाल ओलीको घरमा जाँदा बत्ती दिने तर खान बस्न दिन नसक्ने बताए । ठुलदाइ भाउजू घरमा नहुँदा उहाँहरूलाई कुरा राख्न सकिएन । गोपालको यही सहयोग पनि ठुलो थियो । उनीहरूसँग कइनपानीबाट बिदा भई घरमा आएर सुतेँ ।

२०८३ असार १४ गते  आइतवार

सोलाबाङ रुकुम

बिहान उठेर दूध ल्याउन चिन्ताराम जेठानको घरमा गएँ । फर्कँदा हावाहुरीसहितको ठुलो पानी पर्‍यो । देवकुमारीको इन्सुलिन सकिएकोले भर्न दाङ नै पठाउनुपर्ने भएकोले नवराज खडकाका जुवाइँ नरेन्द्र बुढालाई हिजैदेखि कुरा गरिरहेको थिएँ ।  बिहानै सिम्रुतु जान र इन्सुलिनको कलम नरेन्द्रलाई दिन सोलाबाङको बजारतिर लागेँ । छेराको टेकबहादुर बिकले राखेको ईभी चार्जिङ स्टेसनमा गाडी चार्जिङ गरिरहेका रहेछन् । पानी झन् झन् मच्ची मच्ची परिरहेको थियो । नरेन्द्र बुढा कुनै यात्रीलाई पर्खी बसेको हुँदा इन्सुलिनको कलम नरेन्द्रलाई  दिएर म अर्को गाडीमा सिम्रुतुतिर लागेँ ।

लता भट्टराईले हिजोसम्म कक्षा ८ को पाठको खेस्रा नपठाएकोले पाठ मिलान र पूर्व सेटिङ हुन सकेको थिएन । लताले बाँकी पाठ बिहान पठाइदिएकोले जितबहादुर शाह सर त्यसैमा लाग्नुभएको रहेछ । म पुगेपछि दुबैले पाठ मिलानमा लाग्यौँ । वर्डलाई पीडीएफमा कन्भर्ट गरेर शिक्षा शाखाका प्रास सुरेशकुमार पुनलाई प्रिन्टको लागि जिम्मा दियौँ । उहाँले कागज नपुग भएको बताउनुभएपछि जितबहादुर शाहले फोटोकपि पेपर मगाइदिनुभयो । नेपालगन्जतिर १ रिम कागजलाई ५०० पर्नेमा यहाँ ६५० परेको बताउनुभयो ।

सुरेशजीले कक्षा ६ ७ र ८ का करिब ४७५ पाना प्रिन्ट गरिदिनुभयो ।

मलाई फेरि सोलाबाङ मन्दिर निर्माणको जिम्मा लिएको ठेकेदारले फोन गर्न थाले । दाङबाट पठाइएको काठहरू गाडीवालाले रोकिदियो । काठसँगै अरू कसैको सिमेन्ट पनि गएको थियो । सिमेन्टको पनि ढुवानी आफैबाट मागिएकोले अहिले केही काठ दिएर काम चलाउँदै गर्नको लागि स्थानीय हार्डवेयरका साहुजीलाई छिटो भनिदिनुहोस् भनेर ।

मैले ट्रान्सपोर्टलाई कुरा गरिदिएँ । उनले पूरै पैसा खातामा नहालेसम्म म एउटा काठ दिँदैन भनेर उल्टै मलाई नै धम्काए । सोलाबाङ खलङ्गा दाङ र सुर्खेतमा सिद्धार्थ हार्डवेयर चलाएर बसेका आफ्नै भाइहरू र सम्धीहरू थिए । मैले एक एक गरी सोधपुछ गरेँ । उहाँहरूले पहिल्यैदेखि यस ठेकेदारले ढुवानीको पैसा नदिएर दुःख दिएकोले यो ढुवानीमा पनि त्यस्तै गर्न खोजेको हो । कि राम्रोसँग सबै यथार्थ बुझ्नुहोस् हैन भने यसको कुरा नपत्याउनुहोस् । तपाईँलाई पनि फसाउन सक्छ भनेर सुझाव दिनुभयो । मलाई त ढुवानी र निर्माण व्यवसायको सुइँको सम्म थाहा छैन ।

यता छलफलका लागि बोलाइएका शिक्षक र प्रधानाध्यापकहरू आउन थालिसक्नुभएको छ । जितबहादुर शाह सर र शिक्षाका सरहरू निष्फिक्रि देखिनुहुन्छ । छलफलमा बोलाएका नआइदिने हुन् कि । छलफलमा सुझाव नै नआउने हो कि वा भाँडभैलो मात्र पो हुने हो कि भनेर ।

दुई तीन जना गर्दा गर्दै १३ जना पुग्नुभयो । हाम्रो अपेक्षा पनि १० जनाको हाराहारी आउनुपर्ने भन्ने थियो । यसपालि समूह विभाजन पनि गरिएन प्रत्येक एकाइ छुट्याएर प्रत्येकलाई शिक्षकलाई वितरण गरियो । एउटाले सकेपछि इच्छानुसार अर्कोजनाले पनि हेर्न सक्ने व्यवस्था मिलाइयो । शिक्षक साथीहरूले चासोपूर्वक अध्ययन गर्नुभयो । केही मौखिक त केही लिखित सुझावहरू दिनुभयो । शाह सर र लता म्यामको जिम्माको पाठको प्रिन्ट शाह सरले नै लानुभयो । मेरो जिम्माको मैले ल्याएँ । शाह सरकै गाडीमा मनलाल सर र म सोलाबाङ आयौँ । शाह सरहरू चौरजहारीतिर लाग्नुभयो । म र मनलाल सर मेरो घरमा आयौँ ।

मेरो घरमै बसेर पाठ्यपुस्तकलाई थप सुधार गर्नुपर्ने आवश्यकता र सम्पादनको बारेमा कुराकानी भयो । शिक्षा समितिको एक निर्णयअनुसार पाठ्यपुस्तक सम्पादनको जिम्मा मलाई दिने कुरा भएको थियो रे । मैले त्यही कुरा मनलाल सरलाई अवगत गराएँ र एक्लाएक्लै काम गर्नुभन्दा दुबैजना बसेर गरेको काम प्रभावकारी हुने भएकोले मनलाल सरको विदामा दुबैजना सँगै बसेर काम गर्ने सल्लाह भयो । यदि सम्पादनको लागि बजेट छुट्याएको भए दुबैले बाँड्ने मौखिक सम्झौता पनि भयो ।

घरअगाडि नास्पाति पाकेर काग र अरिङ्गालले ठुङिरहेका र झिँगा भन्किरहेका तर आफ्नो रुख चर्ने बुता नभएको हुँदा मनलाल सरलाई नास्पातिको रुखमा चढेर नास्पाति टिपिदिन अनुरोध गर्‍यौँ । टिप्दै गर्दा जमारु हरलेका रुपलाल ओली आएको हुँदा उनलाई र छिमेकीहरुलाई पनि नास्पाति बाँडियो ।

नास्पाति लिएर जानुभयो । देवकुमारीले नास्पाति व्यवस्थापन गर्नेतिर लागिन् ।

२०८३ असार १५ गते  सोमवार

सोलाबाङ रुकुम

बिहानै उठेर पाठ्यपुस्तक पुनः परिमार्जनतिर लागेँ । जितबहादुर शाहले विवरणात्मक शैलीलाई कथात्मक वा संवादातात्मक शैलीमा ढाल्नुपर्ने सुझाव दिनुभएको थियो । बिहान नेट आएको बेला आफूले लेखेका पाठहरू ठिक छन् कि छैनन् भनेर च्याटजिपिटीलाई पनि सोधेँ । उसले यो अलि पुरानो चलन भएको अहिलेको जमानामा पढ्ने भन्दा पनि हेर्ने सोच्ने र अभिव्यक्त गर्ने खालका पाठहरू हुनुपर्ने बतायो ।

कक्षा ६ देखि ८ सम्मका ३९ पाठहरू निर्माण गर्न २० दिनभन्दा बढी लागिसकेको छ । कक्षा १ देखि ५ सम्मका करिब १४० वटा पाठहरू निर्माण गर्न २ महिना लागिसकेको छ । अब फेरि यी पाठहरूलाई परिमार्जन गर्न कति समय लाग्ने हो । मन आत्तियो । कताबाट सुरु गर्ने भन्ने मेलोमेसो पनि पाइएन । बत्ती र नेट पनि गयो । दुध ल्याएर देवकुमारीलाई खाना पकाउन सहयोग गरेँ । हिजो टिपेका आँपहरू पनि थिए । आँपको मुरब्बा बनाउन बजारमा गएर विभिन्न मसलाहरू ल्याएँ ।

खाना पकाइसकेपछि मुरब्बा बनाउन थालियो । मैले भन्दै गएँ देवकुमारीले गर्दै गइन् । साह्रै मिठो मुरब्बा तयार भयो ।

दिउँसो बत्ती थिएन । ३ बजेतिर देवकुमारी र म दुबैजना गहुँ पिस्न घट्ट गयौँ । म मात्रै जान्छु भन्दा पनि मानिनन् र तिमी मात्र जाऊ भन्दा पनि मानिनन् । अस्ति सिसा बजेको खुट्टा टेक्नै मिलेको छैन । मैले २ पाथीजति गहुँ बोकेँ र देवकुमारीले पछेयाइन् । माइला वनको घट्टमा पिसेको पिठोका रोटी मिठो हुने विश्वासले हामी हरिबहादुर मामाको घर हुँदै माइला वनका घट्टमा पुग्यौँ । खुट्टाको घाउमा लगाउनको लागि देवकुमारीले बाटोमा भेटिएको रतन्जाउलो झार टिप्दै गइन् ।

घट्ट अर्कैले लगाएको रहेछ । बुढी महिला थिइन् । चिनापर्ची गर्दै जाँदा टेकबहादुर पुनकी आमा रहिछन् । ४ माना गहुँ पिस्न बाँकी छ भन्दै थिइन् । बढीमा आधा घण्टा लाग्ला भनेको उनको गहुँ पिसिसक्न निकै समय लाग्यो । समय बिताउन गाह्रो भएकोले घट्टमा कुलो बढाउने निहुँले पोखिएको कुलो बुज्द बुज्दै म कुलोको मुहानतिर लागेँ । अलिकति माथि रहेको क्रसर उद्योगमा छिरेँ । गिट्टी र बालुवाको अग्लो राश थियो । उद्योग मालिक ताराप्रसाद पुन त्यहीँ हुनुहुँदो रहेछ । ताराप्रसाद पुन पञ्चायती कालमा जिल्ला सभापति पनि हुनुभयो । जिल्लामा कम्युनिस्ट संस्थापक पनि हुनुहुँदो रहेछ । केही समय मशालमा काम गर्नुभयो । तर राजनीतिक स्पेस नपाएकोले पलायन हुँदै हुँदै आएर अहिले अनकन्टार खोलाको किनारमा क्रसर उद्योग चलाएर बस्नुभएको छ ।

म अकस्मात आइपुगेको देखेर उहाँ अच्चम्भित हुनुभयो । केही पुराना कुराहरू पनि कोट्याइयो । केही भावी योजना पनि सुनाउनुभयो । पाछीबाङमा ठुलो स्केलमा माछापालन उद्योग खोल्ने तयारी गर्नुभएको रहेछ ।

उहाँसँग कुराकानीपछि म घट्टतिर फर्किएँ । पिस्न अझै सकिएको रहेनछ । समय बिताउन सिर्जना कला सहित्य प्रतिष्ठान नेपालगन्जको पछिल्लो प्रकाशन कविता विशेषाङ्क ल्याएको थिएँ । केही कविताहरू हेरेँ । मनोहर लामिछाने सरको कविता पनि छापिएको रहेछ । फोन गरेर उहाँको कविता वाचन गरी सुनाएँ । उहाँ खुसी हुनुभयो ।

हामीले २ घण्टा पर्खिसकका थियौँ । ५ बजिसकेको थियो । घट्टको मालिक मालिक माइला वनको नाति आयो । भारोको कुरा गर्‍यो । कुलो भाँच्न सिकायो र आफ्नो काम छ भनेर फर्किहाल्यो । माइला वन भइदिएको भए घट्ट मर्मत गरिरहन्थे र पो यस घट्टप्रति सबैको आकर्षण थियो । अहिले यो ठिटोले भारो उठाउने बाहेक अरू के गरोस् ।

 बल्ल उनको पिसान सकिएपछि हाम्रो सुरु भयो । घट्ट राम्रोसँग घुम्दै घुमेन । कुलो कम भएर हो कि भनी फेरि कुलो बढाउनतिर लागेँ । कुलो घट्टको पाइपमा नअटाएर बाहिर पोखियो तर घट्ट रिङेन । देवकुमारीले पछुतो मान्दै भनिन् अर्को घट्ट गएको भए अहिलेसम्म पिसेर फर्किसक्ने थियौँ । यसले त हुल्याएको हुल्याएइ छ । ओइरो हाल्ने पनि बिग्रिएको रहेछ । घरी गहुँका चोक्टा फाल्छ घरी हुल्याउँछ ।

७ बजिसक्यो तर १ पाथी पनि पिसिएन । बाहिर अलिअलि उज्यालै भए पनि घट्टभित्र अँध्यारो भइसकेकोले गहुँ फर्काउनुको विकल्प थिएन । देवकुमारीले कुलो भाँच्न लगाइन् र गहुँ हालेको खोक्रोबाट सकिनसकी गहुँ निकाल्न थालिन् ।

पहिले पहिले त साउनमा भेलले कुलो वा घट्ट नै फाल्ने डरले असारमा रातभर दिनभर मुरीका मुरी गहुँ पिस्ने चलन थियो । घट्टमा पालो पनि पाइँदैनथ्यो । हप्ता पन्ध्र दिन पहिलेदेखि नै पालो थाम्नुपर्थ्यो । अहिले न त्यो स्तरमा गहुँ उत्पादन हुन्छ न त पिस्न पानी घट्टमै पुग्नुपर्छ न त वर्षाद्को खोलाले कुलो न फाल्ने सामर्थ्य राख्छ । आधाभन्दा बढी पानी घट्ट हटिसकेका छन् । ससुराको पनि घट्ट थियो । केही वर्षपहिले पहिरोले घट्ट फालिदियो । घट्ट फालेको केही वर्षपछि कालले उहाँको जीवनकै कुलो सुकाइदियो । अब त घट्टको डोब पनि बाँकी देखिँदैन ।

घरमा फर्किँदा साढे ७ बजिसकेको थियो । तर बत्ती थिएन । आजै राप्ती साहित्य परिषद्को चौधौँ भर्चुअल रचना वाचन कार्यक्रम थियो । आजको रचना वाचक त्रिवेणीका साहित्यकार कुबेर ओली हुनुहुन्थ्यो भने समीक्षक राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा हुनुहुन्थ्यो ।

स्थानीय लाइन मात्र होइन आज केन्द्रीय लाइनको बत्ती पनि थिएन । रचना वाचक अध्यक्ष र सञ्चालक केन्द्रीय लाइनको बत्तीमा निर्भर रहेको हुँदा उहाँहरू पनि जोडिन सक्नुभएन । राति ९ बजे स्थानीय लाइनको बत्ती आएपछि कार्यक्रम भोलि गर्ने गरी सार्ने सूचना राखेर खानपिन खाई १५ गतेलाई पटाक्षेप गरियो ।

२०८३ असार १६ गते  मङ्गलवार

सोलाबाङ रुकुम

बिहानैदेखि पाठ्यपुस्तक परिमार्जनको तयारी गर्न थालेँ । च्याटजिपिटीको मद्दत पनि लिँदै थिएँ । बत्ती झ्याप्प गयो र नेट पनि गयो । बत्ती गएको मौका छोपी दुध ल्याउन जेठानको घरतिर हानिएँ । सोलाबाङमा खेत रोपाइ चलिरहेकोले खारास्वाँरा हुँदै जाने बाटोका खेतहरू पनि भर्खरै रोपिएको र रोप्दै गरेकोले डोरेटो बाटोहरू हिडिसाध्य भएका छैनन् । चिप्लिँदै चिप्लिँदै मुस्किलले जेठानको घरमा पुगेँ र फर्कँदा बिनारामको घर हुँदै पहिलेको सरबाटोबाट फर्किएँ । यो अलि चौडा बाटो थियो तर खेत रोप्दै गरेका किसानहरूले हिल्याएपछि चौडाबाटोको पनि के अर्थ । घर पुग्न महामुस्किल पर्‍यो ।

दिउँसो पाठ्यपुस्तककै सम्पादनमा लागेँ ।

देवकुमारीको खुट्टामा सिसाले काटेको नौ दिन पुग्दा पनि सञ्चो भएको थिएन । देवकुमारी काममा पनि निस्किरहनुपर्ने र पानीमा पनि भिजिरहनुपर्ने बानीले पनि घाउ सन्चो हुन समय लागेको होला । आज अलि बढी सुन्निएको र दुखाइ पनि बढेकोले बेलुकातिर सोलाबाङकै मेडिकलमा पुग्यौँ । हेअ चुडामणि बुढाले घाउ ड्रेसिङ गरिदिए र रु ७२५ को औषधि दिएर पठाए ।

सवा ८ बजेदेखि हिजो सरेको कार्यक्रम आज सञ्चालन गर्नु थियो । सोलाबाङको स्थानीय लाइन जाँदै आउँदै गरे पनि ८ बजेपछि धोका दिएन । केन्द्रीय लाइन भने ८ बजे ने गएछ । साथीहरू गुगल मिटमा जोडिन आधा घण्टा लाग्यो । होस्ट अध्यक्ष सञ्चालक कविता वाचक र समीक्षक एवम् प्रमुख अतिथि गरी ५ जना मात्र कविता र समीक्षा सुन्ने भयौँ ।

कुबेर ओलीले राम्रा र गहन कविताहरू रचना गर्नुहुँदो रहेछ । ठाडीभाका र कविताहरू सुनाएर छक्कै पारिदिनुभयो । समीक्षक एवम् प्रमुख अतिथि कमलमणि देवकोटाले गहन समीक्षा गर्नुभयो । थोरै उपस्थितिमा पनि निकै राम्रो कार्यक्रम सम्पन्न भयो । साढे नौ बजे कार्यक्रम सकिएकोले खानपिन खाई सुत्दा ११ बज्यो ।

२०८३ असार १७ गते  बुधवार

सोलाबाङ रुकुम

बिहान उठेर काम गर्न खोज्दै थिएँ आँगनबाट दर्मालीले बोलाए । उनलाई घरको छाना मर्मत गरिदिनको लागि हिजै फोन गरेको थिएँ । बिहानै आइपुगेछन् । पहिले ढुङ्गे छानाको निकै महत्त्व हुन्थ्यो । ढुङ्गेछाना हाल्नेको इज्जत पनि ठुलो हुन्थ्यो । ढुङ्गेछाना भएका घरवालालाई ढुङ्गेघरा परल भनी नामै दिइन्थ्यो । अहिले पनि रुकुममा धेरै कुलीन व्यक्तिको परिवारलाई ढुङ्गे घरा परल भनेर चिनिन्छ ।

बुबाले पनि सोलाबाङको ढिकमा नयाँ घर बनाउनुभयो र ढुङ्गाको छानो हाल्नुभयो । ढुङ्गाको स्लेटहरू बोक्न हामी हुतमछरास्थित ढुङ्गा खानीमा पुगेर महिनौँसम्म घर छुवाउने चाख्ला ढुङ्गाहरू सारेका थियौँ । ढुङ्गाको छानो हालेपछि वर्षैसाल खरले छानो छुवाउने झन्झट हट्यो ।

अनि गाउँभरि सबैका छानाहरू ढुङ्गाले छाउन थालियो । केही दशक अघि सोलाबाङ गाउँ नै ढुङ्गेघरे गाउँ बनिसकेको थियो ।

तर त्यसपछि रुकुमपश्चिममा बारम्बार भूकम्पका धक्काहरू आउन थाले । भूकम्पले रोजी रोजी ढुङ्गेघरलाई चर्काउन र भत्काउन थाल्यो। ढुङ्गाको भारले गर्दा नै यसो भएको हो भन्ने निष्कर्ष निकालियो । फलस्वरुप सबैले ढुङ्गाको छानो हटाएर जस्तापाताको छानाले छुवाउन थाले । अहिले सोलाबाङमा कुनै कुनै घर मात्र ढुङ्गेघर बाँकी होलान् । ती घरहरू पनि कि त ढुङ्गे छाना फाल्ने आँट नभएका कि समय नभएका कि टिनले छुवाउन पैसा नभएकाहरूका मात्र घर बाँकी छन् ।

हाम्रो घरको छानोको पनि ढुङ्गा फालेर टिन हाल भनेर सबैले सुझाव दिइरहेका छन् । तर कच्ची घरलाई कति खर्च गर्नू भनेर ढुङ्गा फालेर जस्तापाता हाल्न आँट आएको छैन ।

तर ढुङ्गे छानालाई पनि मर्मत गरिरहनुपर्दो रहेछ । छानाको ढुङ्गा सरेर पानी चुहुन थालेको वर्षौँ भइसकेको छ । अहिले न त ढुङ्गाले छानो छुवाउने मिस्त्री भेट्न सकिन्छ न त छानो मर्मत गर्ने मिस्त्री । पोहोर परारबाट मर्मत गर्ने मिस्त्री खोज्दा कसैले फलानाले गर्नसक्छ भनी उपाय सुझाएका थिएनन् । फलस्वरुप पोहोर आफैले छानामा चढेर ढुङ्गाको काप कापमा सिमेन्ट भरेको थिएँ । तर कुशल मिस्त्रीले पानी नचुहिने गरी मिलाएका ढुङ्गालाई सिमेन्टले छोफ्दो रहेनछ । मेरो मिहिनेत र सिमेन्ट खेर गयो । छानो चुहुन छाडेन । घरको बान्नो भत्किने अवस्थामा पुगेकोले चिन्तित थिएँ तर दर्माली भेटिए ।

बिहानैदेखि दुबैजना घरको छानोमा चढेर ढुङ्गा मिलाउन थाल्यौँ । पहिले खरको छानाले छुवाउँदा मिस्त्रीहरू बाहिरबाट खरले छुवाउने र आफूले बुइँगलमा बसेर चोया फर्काउने गरेको सम्झनाले पिरोल्यो ।

सोलाबाङको तल्लो छेउमा रहेको मेरो घरबाट गाउँको बिचतिर पाखोको छेउमा जाने डोरेटो बाटोहरू सबै लगातारको पानी र खेत रोपाइले गर्दा अवरुद्ध जस्तै भएका छन् । धान नरोपिएको जग्गामा पनि मकैका बोट अग्ला अग्ला भएको र पातले बाटो ढाकेकोले डोरेटो बाटो हिँड्दा पातले जिउ कोतरेर चिलाइरहन्छ । अतः एक मात्र बाटो सोलाबाङको ढिकढिकै गएर बजार पुग्ने र त्यताबाट पुरानो बाटो गाउँमा पस्नुको विकल्प छैन । घुमेर हिँड्दा दोब्बरभन्दा बढी समय लाग्ने भएकोले मर्निङ वाक गरियो भनेर चित्त बुझाउनुपर्दछ ।

आज मेरो घरअगाडिपट्टि कान्छामामाको रोपाइ रहेछ । दिदीको बन्दकी खाएका भरतहरूले पनि घरअगाडि नै रोप्ने तयारी गर्दै छन् । ठुल्दाइ र भाउजूले पनि घरछेउको जग्गामा धानको बिउ छरेका छन् र आफ्नो जग्गादेखि प्रकाशको जग्गासम्म रोपाइको लागि खेत जोत्ने इत्ला खन्ने र आली खन्ने काम गरिरहेका छन् । बाहिर मेलाजस्तै छ । देवकुमारी भने मकै बारीमा कुलोको हिले पानी पस्यो भनेर मुर्मुरिइरहेकी छिन् । घरी खेतालाहरूलाई कुलो बुजेर लैजाऊ भन्छिन् घरी घाइते खुट्टासितै कुलोमा पसेर कुलो बुज्छिन् घरी मलाई हकारेर हिलोपानीले मकै बारी स्वाहा भइसक्यो छिट्टो बाहिर निस्केर कुलो बुज भन्छिन् । म भने बाहिर निस्कन सकेको छैन । एक त पाठ्यपुस्तकको परिमार्जनको काम छिटो सक्न पाए हुन्थ्यो भन्ने छ । अर्को बाहिर निस्किएर कुलो बुज्न थाल्नु भनेको खेतालाहरूलाई चिढ्याउनु हुन जान्छ । खेतालाहरू भनेका आफ्नै दाइभाउजू मामामाइजू र भरत भाइहरू तथा उनीहरूका बाउरे र बाउसेहरू छन् ।

म मिच मारेर भित्रै धुम्धुम्ती बसेर आफ्नो काम गरिरहेको छु । ध्यान भने घरी घरी बाहिरै गइरहेको छ । जितबहादुर शाहले अस्ति फोन गरेर परिमार्जनको कामको लागि दश पन्ध्रहजार थपिदिने कुरा गर्नुभएको थियो । आज फोन गरेर मनलाललाई थपिदिने भएँ । तपाईँलाई थप्न सक्दिनँ भन्नुभयो । काम सक्ने जिम्मा त आफ्नै हो तर परिमार्जनको काम थपिएकोले मलाई रुनु न हाँस्नु बनाएको छ ।

भुपू माननीय गोपालजी जङ्ग शाहले कुनै ताम्रपत्र तयार गर्नको लागि ताम्रपत्रमा लेखिने कुराको शुद्धाशुद्धि र ह्रस्व दीर्घको नियम फोनबाटै सोधिरहनुभएको छ । मैले जानेको कुरा बताइरहेको छु । यही सोधाइ र जवाफले पनि आफ्नो महत्त्व बढेको महसुस गरी गर्वले प्रफुल्लित हुन्छु ।

अस्ति नै पुण्य भट्टराईले रुकुमसम्बन्धी आफ्नो लेख हेरिदिन ह्वाट्सएपमा लेख पठाउनुभएको थियो । मैले बिर्सिरहेको रहेछु । ह्वाट्सएपमा आएका पाठ्यपुस्तकका फोटोहरू खोज्ने क्रममा उहाँको लेख पनि देखिएपछि म झसङ्ग हुन्छु । १ हप्तापहिल्यै उहाँले हेर्न समय मिल्ने भए पठाउँछु भन्नुभएको थियो । रुकुममा जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा आएदेखि उहाँसँग घनिष्ट मित्रता कायम भएको छ । मलाई फोन गरिरहने र विशेष गरी साहित्यिक सिर्जनामा उहाँको प्रोत्साहन मेरोलागि निकै महत्त्वपूर्ण बनेको छ । अहिले उहाँको लेख नै नहेरेको जस्तो भएकोले मैले झटपट डाउनलोड गरी केही आञ्चलिक संवाद र ठाडीभाकाका गीत थपथाप पारेर पठाइदिन्छु ।

आफ्ना भाइको छोराको बिहेको सिलसिलामा गोवाबाट साढुदाइ खिमबहादुर खडका पनि आएको खबर त पाएको छु तर भेट्न सकिएको छैन । उहाँ छिट्टै फर्किहाल्ने कुरा पनि सुनेको छु । आज बेलुका भेट्ने योजना थियो तर झरी पर्न थालेकोले भिज्दै कता जानू भनी भेट्ने योजना रद्द गर्दछौँ । देवी मकै ल्याएर दिदीलाई भेटेर फर्किइछन् । माथिल्लो तलामा उक्लिन आवश्यक ठानिनछिन् ।

बेलुका खाना खाएपछि देवकुमारी र म नास्पातिको कोसेली बोकेर जेठा जेठान र माहिला जेठानको घरतिर जान्छौँ । उहाँहरूले खाना खाएर सुत्ने तर्खर गरेको हुँदा एकछिन बसी फर्कन्छौँ ।

२०८३ असार १८ गते  विहीवार

सोलाबाङ रुकुम

आज बिहानै उठेर कइनपानीमा निर्माणाधीन शिवालय मन्दिरको प्रगति हेर्ने र उतैबाट दुध पनि ल्याउने भन्ने सोच जाग्यो । लगातारको झरी र खेत रोपाइँले डोरेटो बाटोहरू जताततै चिप्ला थिए । अलि उघारो हुनसक्छ भनेर गैराघर र स्याँलाघरको बाटो हुँदै घुमेर माथि जाने विचारमा थिएँ । कइनपानी उक्लँदा पाल्नो पाखोको जग्गा पिन हेरौँ भनेर पाल्नापाखातिर सोझिएँ । पहिले यो बाटो कोट बोरागाउँ उक्लने ओर्लनेहरूले गर्दा फराकिलो र सजिलो थियो । अहिले बाटो भेर घाँस र बुट्यान मात्र थिए । झन् बिहान कोही पनि नहिँडेको बेला उक्लँदै गरेकोले शीतले तलदेखि माथिसम्मका सबै कपडाहरू भिँजे ।

पाल्नापाखामा पनि अघिपछि कहिल्यै मल नपाएर सुख्खा जमिन बर्खाको कारणले हराभरा देखियो । पहिले मकै गहुँ सिलिङ्गे बदाम लगाइने जग्गामा अहिले सिरुको घाँस टन्नै उम्रिएको थियो । मैले नै रोपेका सिसौ र लप्सीका रुखहरू निकै ठुला भएका थिए । २ वटा रुखमा आँपहरू लटरम्म फलेका थिए । फागुनमा मात्र यो आफ्नो जग्गा हेर्न देवकुमारी र म उक्लिएका थियौँ । त्यस बेला केही रुखहरू ढालिएक थिए । रुख काटेर दाउराको चाङ राखिएको थियो । कपुरको रुख गिँडेर केही लगिसकेका थिए । केही त्यहीँ छोडिएका थिए ।

यो जग्गा रु १०००० बन्दकीमा टेकबहादुर पुनले खाइरहेका छन् । दश हजारको पच्चीसा ब्याजले वर्षको २५०० मात्र हुने हो । बैँकको ब्याज फाँट्ने हो भने त वर्षमा २०० मात्र हुन्छ । यही बन्दकी बुझाएको हैसियतले यो जग्गा सबै बन्दकीवालाको हक लाग्छ । अर्काको जग्गाका रुख बिरुवा बचाइदिऊँ भन्ने उनीहरूको हरिबाट आउँदैन । कान्लाको घाँस डालेघाँसे र दाउरा उनीहरूकै हुन्छ । हुर्किसकेका रुख काटेर दार समेत बनाउँछन् जसलाई पचास साठी हजार रुपैयाँभन्दा बढी फाइदा हुन्छ । फलेका आँप र लप्सी पनि बन्दकीवालाकै हुन्छ । यस हिसाबले दश हजार लगानी गरेर वर्षमा झन्डै १ लाखको फाइदा लिन खोज्छन् ।

बन्दकी दिँदा एउटैको राइँधाइँ चल्छ भने बन्दकी नदिँदा झन् अनेकौँको राइँधाइँ चल्छ । यसैको लागि बन्दकीवालाले गरेको अति पनि सहनुपर्ने हुन्छ ।

जग्गाको पूर्वपट्टि साँखतिरका एकजना बसाइ सरेर घर बनाएर बसेका छन् । हामीहरू प्रायः माथितिर नउक्लिने भएकोले उनले आफ्नो जग्गा विस्तार गर्दै गर्दै हाम्रो जग्गा मिचेको प्रष्ट छ । पहिले दाउरा राख्ने गोठ बनाएर । त्यसपछि टोइलेट थपे । अहिले वरैसम्म आँपका बेर्नाहरू लगाएका रहेछन् । हाम्रो जग्गामा पहिरो जाँदा पनि उनीहरूलाई नै फाइदा भएको छ ।  यो जग्गा त हाम्रो हो भन्दा उल्टै झगडा गर्न खोज्छन् । नापी ल्याएर छुट्याऊ भन्छन् । नापी ल्याउन पनि झन्झट नै छ र फुर्सद पनि मिलेको छैन ।

अतिक्रमण टुलुटुलु हेरेर माथि उक्लन्छु र सडक हुँदै कइनपानी आउँछु । मन्दिर बनाउनेहरूले मन्दिर परिसर वरिपरि काठहरू फिँजेको देखिन्छ । अलि अलि मन्दिरको छतमा काठहरू मिलाएको देखिन्छ । तीन चार दिनमा सकिन्छ होला भनेको एक हप्तासम्म पनि काम सकिएको रहेनछ । काम गर्दा गर्दै यिनीहरू पनि भागे कि भन्ने शङ्का उब्जिन्छ र गोपाल वली भाइकहाँ गएर बुझ्छु उनले हिजोसम्म काम भइरहेको बताउँछन् ।

चिन्ताराम जेठानको घरबाट दुध ल्याएर घरमा आउँछु र खाना खाई सिम्रुतुतिर लाग्छु । हाइसले सिम्रतुसम्म ५०  रुपैयाँ मात्र लिने भएकोले हाइस आएमा चढ्ने भनी सडक सडकै हिँडिरहन्छु । अटोहरूले १०० रुपैयाँ लिन्छन् । भाडाको अन्तर ५० मात्रै भए पनि आउँदा जाँदा २०० रुपैयाँ खर्च हुन्छ । अटो नै चढे पनि बढी त जाबो १०० रुपैयाँ न हो भन्ने पनि लाग्छ । तर अन्तरभन्दा पनि दोब्बर भाडा तिर्नुपर्ने भएकोले अटो चढ्ने विवेकले स्वीकार गर्दैन ।

२०४७ सालदेखि २०५४ सालसम्म सिम्रुतुमा पढाउँदा कहिले लहुँ उक्लिएर त कहिले खोलाको किनारै किनार उकाली ओराली गरिन्थ्यो । तर अहिले गाडी चल्न लागेदेखि भाडा जतिसुकै भए पनि मान्छे गाडीमै चढ्छन् । कोही आफू वर्षौँसाल हिँडेको बाटो पनि लामो लाग्छ र गाडी नै चढ्छन् । नपाए कुरिरहन्छन् । कुर्दा पनि गाडी आएन भने बरू कार्यक्रम रद्द गरेर घर फर्केलान् तर पैदल हिँड्दैनन् । म सडकै सडक हिँडिरहेको छु । अटोहरू चलिरहेकै छन् । कुनै कुनैले सोध्छन् सिम्रुतु जाने हो भनेर । मैले भन्छु ५० मा लाने हो ? उनीहरू फतफताउँदै फन्केर जान्छन् । कसैले सिम्रुतु जाने भनी सोध्दा होइन यहीँ परसम्म मात्र हो भनिदिन्छु ।

चोरकाटे कौछे हुँदै पितीबाङ पुग्दासम्म गाडी भेटिँदैन । हिँड्दा पुरानो स्मृति ताजा भएर आइरहन्छ । चन्द्रबहादुर केसीसँग साथ हुन्थ्यो । कहिले समयमा कहिले कुसमयमा पनि दुबैजना लठारिँदै हिँड्थ्यौँ ।

बिचबिचका खोला पाखा बारी र पहरका फोटो लिने अवसर पनि मिलेको छ । २० मिनेट जतिमा पितीबाङ । पितीबाङबाट २० मिनेटरमा स्याउली बजार पुग्छु । त्यहाँबाट सिम्रुतु जाने १५ मिनेट लाग्छ ।

सिम्रुतुको मुखमा ग्रिल पसल चलाएर बसेका झक्कुप्रसाद घर्तीसँग भेट हुन्छ । उनी त्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् । उनले आत्मकथा लेख्ने जाँगर चलाएको कुरा सुन्दा खुसी लाग्छ । आफ्नो इतिहास आफूबाहेक अरूलाई थाहा पनि नहुने र थाहा भए पनि अरू कसैले नलेखिदिने भएकोले आफ्नो अभिलेख आफै राख्नुपर्छ भन्ने विषयमा कुराकानी गर्छु । माओवादीले जे उद्देश्य राखेर आन्दोलन गरे जनयुद्ध चलाए त्यसबाट विचलित भएर उनीहरू सरकारमा पुगेपछि सरकारी रमझममै भुलेको र पुराना पार्टीहरूसँगै घाँटी जोडेको तर त्यो काम बालेनले एक्लै गरेको भनी व्यङ्ग्य गर्छु । उनी कुरा काट्न सक्दैनन् ।

शिक्षा शाखामा पुगेर शिक्षा अधिकृत मानबहादुर विक र सुरेश पुनसँग तयार भएको पाठ्यपुस्तकमा अझै सुधार आवश्यक भएकोले मनलाल र आफूलाई यहीँ बसेर काम गर्न दिए छिटोछरितो र राम्रो काम हुने भनी सम्झाउँछु । तर उनीहरू भने यो वर्षको बजेट सकिइसकेकोले साउनदेखिको बजेटमा मात्र सुधारको काम गर्न सकिने बताउँछन् । मैले खान बस्नलाई कति नै लाग्छ र भनी सम्झाउँदा खाने र बस्ने मात्र समस्या हो भने सोचौँला भन्ने जवाफ दिन्छन् ।

पाठ्यपुस्तकलाई सुधार गर्ने विषय भन्दा पनि जिम्मेवार पदाधिकारीहरू बजेटको समस्या देखाएर तर्किन खोजेको देख्दा अनौठो लाग्छ ।

एकछिन विचार विमर्श गरेर त्यहाँबाट निस्कन्छु । डेरीमा पुगेर घिउ ल्याई घरमा आउँछु । घिउ ल्याएको खबरले देवकुमारी निकै खुसी हुन्छिन् । तर प्लास्टिकको घिउ बट्टामा खन्याउँदा झिँगा आकारका कत्लै कत्ला देखेर घिउदेखि वितृष्णा जाग्छ । मैले कत्ला लुकाउन खोज्दा केही घिउँ भुइँमा घोप्टिन्छ ।

कत्लाले गर्दा देवकुमारीलाई वितृष्णा उत्पन्न भइसकेको छ । म भने बेलुकाका ताता ताता गहुँका रोटी घिउमा चोबेर ऋणम् कृतम् घृतम् पिवेत् संस्कृत उखानलाई व्यवहारमा उतारेँ ।

२०८३ असार १९ गते  शुक्रवार

सोलाबाङ रुकुम

मनलालले त्रिवेणी स्मारिकाको काम गर्न बिहानै बोलाएकोले मनलालकी छोरी कवितालाई आँपको कोसेली बनाई बिहान ५ बजे नै सिम्रुतुतिर लाग्छु । तर मनलाल आउने ढिला हुने भएकोले म गापा अध्यक्ष गणेश केसीकहाँ पस्छु । उनलाई पनि पाठ्यपुस्तकमा अझै सुधार आवश्यक भएको बताउँछु । तर उनी सुधार गर्ने कुरामा स्पष्ट देखिँदैनन् । उनलाई पनि बजेटकै समस्या होला । त्रिवेणीले ५५ करोडको बजेट ल्याएको  सुनाउँछन् । साहित्य कला र संस्कृतिको लागि पोहर साल २ लाख छुट्याएकोमा अहिले त्यही २ लाख पनि छुट्याउन नसकेको कुरा बताउँछन् ।

मलाई भित्रभित्रै रिस उठ्छ । अस्ति मात्र त्रिवेणीका अनौठा र विशाल गुफाहरूको भ्रमणपछि कम्तीमा गुफासम्म पुग्नको लागि डोरेटो बाटो मात्रै भए पनि बनाइदिनुपर्ने आवश्यक रहेको र अहिले प्रत्येक बाटोको लागि २५००० मात्र बजेट छुट्याउन सुझाव दिएको थिएँ । त्रिवेणीका पर्यटकीय स्थलहरको प्रचार प्रसारको लागि त्रिवेणी म्याराथनको लागि पनि बजेट छुट्याउन सुझाव दिएको थिएँ । तर गाउँपालिकाको शाखाकै रूपमा रहेको त्रिवेणी प्रज्ञा प्रतिष्ठानलाई नै बजेट छुट्याउन नसक्नेले पर्यटकीय क्षेत्रको लागि के बजेट छुट्याउँथे ।

गणेशजीले आफूले बजेट छुट्याउने प्रस्ताव गर्दा पनि उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरूले नमानेको बताउनुभयो । कला साहित्य डटकम प्रतिष्ठानको कार्यक्रमको सिलसिलामा पनि उपाध्यक्षले बजेट दिन नमानेको कुरा सुनेको थिएँ । प्रमुख प्रशासकीय अधिकृत यज्ञ भण्डारी त अलि पछि आए । केही सिर्जनात्मक काममा यिनको सहयोग होला भनेको झन् नकारात्मक दृष्टिकोण रहेछ ।

६ बजे सिम्रुतुमा आइपुग्ने भनेका मनलाल आइपुग्दा साढे ७ बज्यो । सिम्रुतुमा दाङ जाने तयारीमा गाडी पर्खिएका बालाराम ओलीसँग भेट भयो । तमाकछरे र जिबाङका मिसहरू पनि दाङ जाँदै रहेछन् । बार्गेनिङ गर्दा गर्दा एउटा भाडा प्रति व्यक्ति ५०० का गाडीले दाङ पुर्‍याउने भनेकोले त्यही गाडीमा पर्खाइमा थिए  उनीहरू । हामी पनि त्यसै गाडीमा चढेर खारानेटातिर लाग्यौँ । मैले दाङको लागि सधैँ १००० तिर्ने गरेको छु । बार्गेनिङ गर्न सके ५०० मा नै जान सकिँदो रहेछ । जति इमान्दार बन्न खोज्यो बेइमानहरूले त्यति लुट्छन् । बेइमानहरूसँग बेइमानीपूर्वक नै व्यवहार गर्नुपर्दो रहेछ । अटोहरूले त सोलाबाङबाट सल्लेको भाडा नै २५० लिन्छन् । १२ किमिको दूरीमा यो भाडा भनेको संसारमै सबभन्दा बढी भाडा होला । तर स्थानीय सरकारले यतातिर आँखा चिम्लन्छन् र सुशासनको नारा रट्छन् ।

गाडीमा मैले मनलालसँग पर्यटकीय क्षेत्रमा बाटो पुर्‍याउन र प्रज्ञा प्रतिष्ठानको लागि पनि बजेट नपरेको गुनासो राखेँ । उहाँले भन्नुभयोः स्थानीय सरकारले त जताबाट कमिशन आउँछ त्यहाँ मात्र बजेट हाल्छ । कमिशन नआउने तर दूरगामी प्रभाव पर्ने यस्ता कार्यक्रममा उनीहरूको बजेट पर्दैन । मलाई हो जस्तो लाग्यो ।

हामी पुरानो पालिका भवनको क्वाटरमा बसिरहेकी बहिनी कविता ओलीको कोठामा पुग्यौँ। त्यहाँ गणेश सिर्पाली र दुर्गाराज बुढा पनि भेटिए । उनीहरूका श्रीमतीहरूले गाउँपालिकामा काम गर्ने र क्वाटर त्यहीँ रहेकोले सबै एकै ठाउँ बस्ने भएकोले अन्य आफन्तजनसँग भेटघाट हुँदो रहेछ । त्रिवेणी प्रज्ञा प्रतिष्ठानको अफिस कोठा पनि पुरानो पालिका भवनमा दिइएको रहेछ । चावी भने नवराज खडकासँग भएको र उनी आइनपुगेकोले अफिसमा पसेनौँ । खाना खाएपछि पालिकाको नयाँ प्रशासकीय भवनमा पुग्यौँ । अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत आइसकेका रहेछन् ।

त्रिवेणी प्रज्ञा प्ततिष्ठानलाई चालु आवमा २ लाख छुट्याइएकोमा कार्यक्रम र फर्निचर व्यवस्थापनमा १ लाख खर्च भएछ । बाँकी १ लाखले त्रिवेणीको स्मारिका निकाल्ने कार्यक्रम रहेछ । लेखहरू सङ्कलन भइसकेको तर अन्तिम सम्पादन र प्रकाशनको काम बाँकी रहेको रहेछ । काम नदेखिएकोले खर्च लेख्न समस्या भएको र आर्थिक वर्ष समाप्त हुन थालेकोले बजेट फ्रिज हुने सम्भावना भएकोले सहजीकरणको लागि मलाई मनलालले यहाँ बोलाउनुभएको रहेछ । मैले लेखाका प्रेम ओली र प्रमुख प्रशासकीय अधिकृतसँग सबै काम पूरा भएको तर प्रकाशनको काम मात्र बाँकी रहेकोले बजेट फ्रिज नगरिदिन अनुरोध गरेँ । प्रेम र यज्ञजी सकारात्मक रहेको देखिनुभयो ।

हामी प्रज्ञाको चाबी ल्याएर पुरानै भवनमा आयौँ र त्रिवेणी प्रज्ञा प्रतिष्ठानको कार्यकक्ष खोल्यौँ । १० वटा प्लास्टिकका कुर्सी २ वटा साना टेबुलहरू एउटा सानो स्टिलको रित्तो दराज मात्र प्रज्ञाका सम्पति थिए । आउँदो वर्षमा झन् बजेट नपरेको निरीह कार्यकक्ष देखेर दया जाग्यो । केही कागजपत्र मिलाउने काम भएपछि ३ बजेतिर हामीहरू घरतिर फर्कियौँ । फर्कँदा सर्टकटतिर लाग्दा बाटो बिरियो । बाटो बिराउँदा खाराको उत्तरि पाखोको जङ्गलमा रहेका केही जडीबुटीहरू चिन्ने र फोटो खिच्ने अवसर मिल्यो ।

रोडमा निस्किँदा हावाहुरीसहितको मुसलधारे पानीले भेटायो । धन्न गाडी एकछिनमै आयो र भिज्न पाएनौँ । म सोलाबाङमा झरेँ भने मनलाल सेरीगाउँतिर लाग्नुभयो । बाटोमा भोलि नुवाकोटडाँडा दयालेक निपाने झारपोखरातिर जाने योजना बुन्यौँ ।

२०८३ असार २० गते  शनिवार

सोलाबाङ रुकुम

सेरिगाउँबाट मनलाल ओली सर आइपुगेपछि खाजा खाएर यात्राको श्रीगणेश गर्‍यौँ । सोलाबाङ बजारमा आइपुग्दा पेउघा जाने तयारीमा रहेको सिट भरिएको अटो भेटियो । अर्को अटो पर्खँदा ढिला हुनेभएकोले त्यही अटोको ड्राइभरसिटको वरिपरि बसेर नुवाकोट डाँडातिर लाग्यौँ ।

भेत्रिवेणीको पाठ्यपुस्तकमा रहेका १०० भन्दा बढी पर्यटकीय स्थलहरूमध्ये अधिकांशको अवलोकन गर्न पुगिसकेका थियौँ ।  हामी मुग्लुखोला तरेर काइँयाखोलाको किनारै किनार हुँदै पश्चिमतिर जाँदै थियौँ । काइँयाखोला वरिपरिका ठाडा पहाडको मुनि साँघुरिएर बगिरहेको थियो । बैरागी ठाँटीदेखि नुवाकोट डाँडासम्म बिच बिचमा पिच भएको थियो । कतै कतै वर्षात्को पहिरोले पिच भइसकेको र बाँकी छोडिएको सडकलाई निर्ममतापूर्वक भत्काइदिँदै थियो । 

मुसीकोट नगरपालिका र त्रिवेणीको सिमाना छुट्याउने भयाँरथान भन्ने ठाउँमा पुगेपछि ओर्लियौँ । एउटा सानो खोल्साले सिमानाको काम गरेको रहेछ । हामी खोला किनारमा भएको र वरिपरि ठाडा पहाड भएकोले माथितिर केही देखिँदैनथ्यो । मनलाल सरले पारिपट्टि बाह्रधार्नी गाउँ र हाम्रो माथिपट्टि बरनेटीको गाउँ भएको बताउनुभयो । भयाँरको थान कता छ भनी यहाँका बासिन्दाहरूलाई सोध्दा यहाँ बसेदेखि आफूलाई त्यो थानको बारेमा केही जानकारी नभएको बताउनुभयो ।

भयाँरथानबाट केही अगाडि बढेपछि खोलाको वरिपरि पेदीखेतऽ सालघारी लामपाटा मान्टुरा नाउँका फराकिला बस्तीहरू भेटिन थाले । पाठ्यपुस्तकमा त्रिवेणीका प्रमुख खोलाहरू रुँघाखोला खाराखोला र मुरुखोलाको सङ्गम स्थल भएकोले यस गाउँपालिकाको नाउँ त्रिवेणी रहन गएको हो भनी पाठमा समावेश गरेका थियौँ । यो भेकका साथीहरूले काइँया खोला पो त्रिवेणीको प्रमुख खोला हो भनेर प्रश्न उठाउनुभएको थियो ।

हुन पनि काइँयाखोला लम्बाइमा पनि बढी रहेछ । आयतनमा पनि मुख्य नै देखियो । अझ वरिपरिको किनारलाई अन्नभण्डारको रूपमा यहाँको बस्तीलाई प्रदान गरेको हुँदा यसको भूमिका कम थिएन । अलिकति माथि पुग्दा पहिलेको पेउघा गाविसका गाउँहरू डाँडैभरि खाँदाखाँद गरी बसेका देखिँदै गए ।

मान्छेहरू गाडी पर्खेर बसिरहेका थिए । आज शनिवार भएकोले र गाडी कमै चल्ने भएकोले अटो नै यात्राको मुख्य विकल्प देखियो । ३ सिटे अटोमा ५ जना यात्री पहिले नै थियौँ । त्यहाँबाट अरू २ जना पनि थपिए । कोलडाँडाको खोलो तरेर टुनिबोट पुग्यौँ । अब हामी पुरानो नुवाकोट गाविसको ३ नम्बर वडा र वर्तमान गाउँपालिकाको ९ नम्बर वडामा प्रवेश गरेका थियौँ । नुवाकोट डाँडातिर सोझिएको ठाडो उकालो सडक चढ्दा ३ सिटे अटोले ७ जना यात्रीलाई तान्न महामुस्किल पर्‍यो । ब्रेक फेल भएमा भिरबाट खोलामा खसिने निश्चित थियो । चौतारा नपुग्दै सबै यात्रीहरूको गन्तव्य आइपुगेकोले एक एक गरी झरे र मनलाल सर र म मात्र बाँकी रह्यौँ । अलिकति माथि जाँदा हिजोको मुसलधारे वर्षाद्ले बाटो नराम्रोसँग बिगारेको थियो । चौताराभन्दा  अलिकति माथि बाटो नै चिरा पारेकोले अटोले पार गर्न नसक्ने बताइयो ।

चालकको मनमा लोभ पनि जाग्यो होला भाडा नुवाकोटडाँडासम्मको असुल गरेपछि किन दुःख बेसाउनू । सोलाबाङबाट सिम्रुतुको दूरीभन्दा हामीले पार गरेको दूरी दोब्बर त थियो होला । यस हिसाबले प्रति व्यक्ति २०० सम्म भाडा होला भन्ने लागेको थियो चालकले ७०० मागे । म झसङ्ग भएँ । तर मनलालसँग ७०० मात्र नगद रहेछ कुनै प्रतिरोध नगरी हत्तपत्त तिरिहाल्नुभयो । प्रायजसो मनलाल र मेरो गोजीमा १०० रुपैयाँ भेटिन पनि मुस्किल पर्छ ।  लामो यात्रा भनेकोले आज मेरो गोजीले ५०० रुपैयाँ पाएको थियो । मैले तिर्नुपरेको भए भाडा नै नपुग्ने रहेछ । यति छोटो बाटोमा किन यति भाडा भनेर प्रतिवाद गर्ने समय पनि थिएन । भाडा पाउनेबित्तिकै अटोचालकले अटो मोडेर खुरुरु तलतिर कुदिहाल्यो ।

भाडाले ढाड सेकेको दुखाइलाई कम गर्न वारिपारिका बाक्ला बस्तीहरूलाई सडक छोडेर सर्टकट खोज्दै माथितिर चढ्न थाल्यौँ । करिब आधा घण्टाको हिँडाइपछि एउटा घरको आँगनमा महिला पुरुषहरू उभिएका देखिए । मनलाल सरले मही पाइन्छ कि भनी सोध्नुभयो । एकजना हाम्रै उमेरका व्यक्तिले पाइन्छ भन्दै हामीलाई आफ्नो घरतिर लग्नुभयो ।

ससम्मान कुर्सीमा बसाएर गिलास भरी भरी मही खुवाउनुभयो । उहाँ यस वडाका वडा सदस्य सन्तोष ओलीका बाबु तिलवीर हुनुहुँदो रहेछ । उहाँको सँगैको घर वडाअध्यक्षको रहेछ । हामीले जनप्रतिनिधिहरूलाई भेट्न खोज्यौँ तर उहाँहरू दुबैजना यतिखेर गाउँबाहिर हुनुहुँदोरहेछ ।

नुवाकोट डाँडासम्म आइपुगेपछि चौरजहारी नगरपालिकाको सबैभन्दा अग्लो शिखर दयालेक पनि जान पाए हुन्थ्यो भन्ने थियो । तर मुख्य उद्देश्यचाँहि त्रिवेणीकै सम्पदाहरूको अवलोकन गर्ने थियो । तिलवीरजीले हामीलाई नुवाकोट डाँडासम्म पुर्याइदिने हुनुभयो । आफ्नो घरायसी काम सकुन्जेल हामीलाई पर्खाउनुभयो र वरिपरिका बस्ती लेक खोलानाला र स्थलहरूको नाउँ बताउँदै हामीसँगै नुवाकोटडाँडासम्म जानुभयो । नुवाकोट डाँडाभन्दा उता चौरजहारी नगरपालिकाका गाउँहरू देखिए । दक्षिणपट्टि सल्यानको दार्मा गाउँपालिकाका डाँडैभरि बसेका अधिकांश गाउँहरू देखिए । दयालेक भने अलि पर आकाश थामेर उभिएको जस्तो देखिन्थ्यो । तीलवीरजीले त्यहाँ आफूहरूलाई डेढ घण्टा मात्र लाग्ने र तपाईँहरूलाई बढीमा २ घण्टा लाग्ला भन्ने अनुमान गर्नुभयो । हामी नुवाकोटडाँडा पुग्दा १० मात्र बजेको थियो । समय प्रशस्त बाँकी नै थियो । हामीले दयालेक जाने नै निर्णय गर्‍यौँ । उहाँले सडकै सडक जान सुझाउनुभयो ।

नुवाकोटको सेतीपोखरीसम्म बाटो उकालो लाग्यो भने त्यहाँबाट ओरालो झर्न थाल्यो । उकालो चढ्नुपर्ने यात्री बल्लतल्ल उक्लिसकेको ओरालो झर्नुपर्दा मन आत्तियो । हामी जति ओर्लँदै थियौँ दयालेक उति अग्लिँदै थियो । नयाँ बन्दै गरेको सडकबाटो गहिरा कुइनेटामा निकै घुम्दोरहेछ । चौरजहारी नगरपालिकाको १४ नम्बर वडाको लिउरेबारी पुगेपछि सडक छोडेर उकालोतिर लाग्यौँ । एउटा घरमा पानी मागेर खायौँ र उकालोको लागि भनेर मनलालले साथमा ल्याएको बोत्तल भर्न लगाउनुभयो । त्यो बोत्तलमा त पेट्रोल पो हालिएको रहेछ । जति पखाल्दा पनि बास्ना हराएन । बोत्तल नै त्यहीँ छोडेर उकालो चढ्न थाल्यौँ । घोरेटो बाटो भए पनि फराकिलो थियो । धेरै उकालो नभई कातेकाते उक्लिएको थियो । बिचबिचमा यात्रुको लागि चौतारीहरू पनि थिए ।

हामी तिर्पायाँ तिर्पायाँ हुँदै अगाडि बढ्दै जाँदा हामीले समातेको बाटो बायाँतिर सोझियो भने अर्को ढुङ्गे सिँढी दायाँतिर मोडियो । माथि हेर्दा टिनको छाप्रो देखियो । हामीले ढुङ्गे सिँढी समात्यौँ । ढुङ्गे सिँढीको छेउमा रेलिङ पनि राखिएको रहेछ । केही माथि चढेपछि ठुलो प्रतीक्षालय र चट्टानको भित्तामा स्टिलको सरे ढोका देखियो । ढोकामा भने ताल्चा झुन्डिएका थिए । सराहरूबाट भित्र हेर्‍यौँ । लामो गुफा देखियो । गुफामा बाघ पस्छ भनेर ताल्चा लगाइँदो रहेछ । कसैले गुफा हेर्न आउँदै छौँ भन्ने पूर्व जानकारी दिएमा मात्र ताल्चा खोलिँदो रहेछ । पानीले लुछुप्पै भिँजेर रेलिङमा चढेर तलमाथि गरिरहेका दुइटा साना बच्चाबाहेक अरू कोही थिएन । हामी गुफा भित्र पस्न पाएनौँ । बाहिरैबाट हेरेर चित्त बुझायौँ ।

बायाँतिर स्टिलको रेलिङ राखिएको ढुङ्गे सिँढी अझै माथि उक्लिएको थियो । । तलतिर उति भिर थिएन । रेलिङले बाटोको आकर्षणको काम गरे पनि रेलिङमा गरेको खर्च अनावश्यक देखियो । केटाहरुले माथि ठुलो दह रहेको र आफूले त्यहीँ ताल खेल्न आएको बताए । हामी ढुङ्गे सिँढी हुँदै माथि चढ्दै गयौँ । माथि ठुलो दुबे चहुर भेटियो । चहुरको बिचमा सानो हिले पोखरी पनि थियो । यस पोखरीलाई झारपोखरी भनिँदो रहेछ ।

डाँडाको थाप्लोमा वारिपारि लेकाली बस्ती पनि रहेछन् । एकछिन चहुरमा भुलेर हामी पूर्वपट्टिको लेकमा उक्लिन थाल्यौँ । पानीले मुख सुकेकोले एउटा गोठमा पुग्यौँ र मागेर एक एक अम्खारा पानी घटघटी पियौँ । उनीहरू पनि तलैको नाउली र लिउरेबारीका बस्तीबाट गोठ लिएर अस्ति मात्र यहाँ आइपुगेको बताए । वस्तुभाउलाई चरिचरनको लागि राम्रो ठाउँ भए पनि खानेपानीको दुःख रहेको बताए । १ घण्टा तलको खोँचमा पुगेर पानी ल्याउनुपर्दो रहेछ । तलका गाउँहरूमा लिफ्टबाट खानेपानीको व्यवस्था भइसकेको भए पनि यहाँ लिफ्ट खानेपानीको व्यवस्था रहेनछ । धौ धौ बोकेर ल्याएको पानी प्युन पाएकोमा कृतज्ञता व्यक्त गर्दै यस्तै दयालु मान्छेहरूको बसोबास भएकैले दयालेक नाम राखिएको होला भन्ने अनुमान गर्‍यौँ ।

हामी गोठभन्दा माथिको जङ्गलतिर सोझियौँ । गोठालाहरूले गाउँभन्दा माथि नजान सुझाव दिए । बाघ आएर गाईवस्तु खाइदिने बँदेल र अन्य जङ्गली जन्तुले खेतीपाती नष्ट गरिदिने भएकोले रातभर जागराम बस्नुपर्ने दुःख पनि बताए । लेकको थाप्लोमा पुग्न बाटो पनि नभएको र जङ्गली जनावरले आक्रमण गर्न सक्ने सम्भावना भन्दै सतर्क गराए । तर हामी भने लेकमै पुग्ने उद्देश्यले आएका थियौँ । दुई जना यात्री भएकोले खासै डर पनि लागेन । उनीहरूको सुझाव विपरीत माथि उक्लँदै गयौँ । माथि काँडैकाँडाको बुट्यानको झाडी थियो । झाडी पार गर्न निकै मुस्किल थियो । तैपनि हामी झाडीबिचमा दुलो बनाउँदै र छिर्दै छिर्दै २०६५ मिटर उचाइको लेकको टुप्पोमै पुग्यौँ ।

हुन त हामीहरूले ४००० मिटरभन्दा माथिका दर्जनौँ उच्च शिखरहरू टेकिसकेका थियौँ । त्यस हिसाबले यसको उचाइ आधा पनि थिएन । तर वरिपरिका होचा पहाडहरूमध्ये यो नै सबैभन्दा अग्लो पहाड भएकोले यो लेक पनि कुनै हिमालभन्दा कम देखिँदैनथ्यो । माथि बाक्लो झाडी भएकोले वारिपारि केही देखिँदैनथ्यो । अलिकति उत्तरी पाखोपट्टि झरेपछि नजिकै मौराखारा तथा सिँहलेक र तलतिरका सानीभेरी आठबिसकोट बाँफिकोट गाउँपालिकाका सयौँ गाउँहरू छरिएका देखिए । पारितिर जाजरकोटका नाम थाहा नभएका गाउँहरू पनि थुप्रै देखिए । उत्तरतिरको लेकलाई हामीले जुम्ला र जाजरकोटकोको बिचको कुसे लेक हुने अनुमान गर्‍यौँ । उत्तरी पहाडी शृङ्खला टम्मै कुहिरोले छेकेको थियो । सायद कुहिरो नभइदिएको भए रुकुम जाजरकोट र डोल्पादेखि जुम्लासम्मकै हिमाली शृङ्खला पनि देख्‍न पाइँदो हो । हामी एकछिन प्राकृतिक मनोरमतामा पौडी खेलेर लुछुप्पै भिँजेपछि मनले नमान्दा नमान्दै लेकबाट ओरालोतिर झर्न थाल्यौँ । दयालेकको पूर्वपट्टिको भाग निकै ओरालो थियो र चिप्लो पनि थियो । बाक्लो झाडीले गर्दा आँखा नरिङे पनि अत्यासलाग्दो भिर थियो । त्यही ठाउँमा मनलाल सर चिप्लिनुभयो र धन्न एउटा बुट्यानको हाँगो समातेर अडिनुभयो । मेरो खुट्टाले सिरिङ्ग गरे ।

निकै तल झरेपछि फराकिलो तेर्सो बाटो भेटियो । अब हिँडाइ सजिलो भयो । अलि पर पुगेपछि बाटोलाई सिमेन्टले ढलान गरेको देखियो । ढलानभन्दा पक्का रहेको चट्टानी पाखोमा किन ढलान गरे होलान् भनेर मनलाल र म मरीमरी हाँस्यौँ । अलिकति पर अर्को प्रतीक्षालय भेटियो । प्रतीक्षालयबाट पनि वारिपारिको सबै भाग देखिँदो रहेछ ।

त्योभन्दा अगाडि झन्डै दयालेक जति अग्लो अर्को चुचुरो देखियो । मनलाल सरले त्यो चुचुरोमा पनि पुगौँ भन्दै हुनुहुन्थ्यो तर मैले मानिनँ । दयालेकमा चढेर यहाँको लेक र दृश्यावलोकनको सबै अनुभूति सँगालिसकेपछि त्यो चुचुरोमा चढ्न किन दरकार पर्‍यो र । अवश्य यो पनि चौरजहारी नगरपालिकामा अवस्थित दयालेककै भाग त होला । त्रिवेणीका धेरै चुचुराहरू हेर्न बाँकी नै छन् ।

तेर्सै तेर्सो बाटो पार गरिसकेपछि नुवाकोट डाँडाबाट उक्लिएको कच्ची सडक भेटियो । अब सडकै सडक उकालो चढ्न थाल्यौँ । दयालेकबाट पूर्वपट्टि देखिएको चुचुरो अब देब्रेपट्टि परेको थियो । स्थानीय गोठालाहरूलाई त्यस चुचुरोको नाम सोध्यौँ । कालाथुम भनिँदो रहेछ । दयालेककै हाराहारी उचाइमा रहेको यो शिखर चौरजहारी नगरपालिका सानीभेरी र त्रिवेणी गाउँपालिका समेत तीन गाउँपालिकाको साझा चुचुरो रहेछ । अब हामी चौरजहारी नगरपालिका काटेर त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाको सिमाना भएर अगाडि बढिरहेका थियौँ ।

त्यहाँबाट अझै अगाडि भेटिएपछि अर्को पोखरी भेटियो । छेउमा नवनिर्मित प्रतीक्षालय र लाँकुरी चौतारी पनि रहेछ । शिखरमा रहेको ताल छेउमा चौतारी र वरिपरिको लेकाली वातावरण निकै मनमोहक थियो । यसलाई झारपोखरा भनिँदो रहेछ । चौरजहारीपट्टिको झारपोखरी जत्रै थियो यो पोखरी पनि । नाम पनि उस्तै उस्तै । हाम्रा पुर्खाहरूले झारले घेरिएको पोखरीलाई सजिलोको लागि झारपोखरा नाम दिए होलान् । उस्तै ठाउँमा उस्तै पोखरी भेटिएकोले अर्को पोखरीले पनि झारपोखरी नै नाम पायो होला । नाम पाइसकेपछि परिवर्तन हुन गाह्रै हुन्छ ।

पानी दयालेकदेखि यता २ घण्टा हिँड्दासम्म कतै पानी पाइएको थिएन । पानी प्यासले मुख सुकिरहेको थियो । डिङाबाछाले आहाल खेल्ने बनाएको पोखरीको हिले पानी भए पनि पिउन पाए हुन्थ्यो जस्तो लागेको थियो । मनलाल सरले पानी पिउनुभन्दा बरु नास्पाति मागेर खाऊँ भन्नुभयो । उहाँका आँखा लेकैभरि लटरम्म फलेका नास्पातिमा परिसकेका रहेछन् । नजिकै रहेकी नानीहरूलाई टिपिदिन भन्यौँ । खाँदा त निकै टर्रो पो रहेछ । यो त नास्पाति नभई भोटेमेल पो रहेछ । मनलाल हास्नुभयो । पानी प्यास भुजाउनको लागि टर्रै फल पनि चुस्नै पर्ने बाध्यता थियो । झारपोखराको प्राकृतिक मनोरमताको रसस्वादन गरेर बस्यौँ । अझै अगाडि बढेपछि एउटा भन्ज्याङ भेटियो । त्यहाँबाट हामी हिँडिरहेको सडक दुईतर्फ लाग्यो । हामी देब्रेतिरको सडक समातेर अगाडि बढ्दा सडक ओरालो लाग्यो । पारिपट्टि थुप्रै अग्ला लेकहरू देखिए । तलतिर थुप्रै गाउँहरू देखिए । मनलाल सरले पूर्वपट्टिका औला घुमाउँदै भन्न थाल्नुभयोः त्यो सतीपोले त्यो बाघखोर त्यो काँडा त्यो झाँक्रीसल्ला त्यो छिबाङ दोपाई त्यो अर्माडाँडा त्यो गराइला त्यो फुक्रु त्यो आमडाँडा त्यो जोगीनेटा । ती सबै  गाउँहरू यहाँबाट मनलालको औँलाले नै छोइएलान् झैँ नजिकै देखिन्थे ।

म पहिले सडक नबन्दै जोगीनेटा भएर धेरैचोटि चौरजहारी पुगिसकेको थिएँ । ४८ सालमा आमडाँडाका डाँडाकाँडाहरू पनि घुमेको थिएँ । पुराना स्मृतिहरू ताजा भएर आए ।

हामी त्यहाँबाट फर्किएर अर्को सडकबाटो समाती अगाडि बढ्दै गयौँ । सल्लेरी पाखामा भेडाबाख्रा चराइरहेका थुप्रै गोठाला केटाकेटीहरू थिए । हिजोबाट विद्यालयहरूमा लामो बर्खे बिदा दिइएकोले केटाकेटीहरू भेडाबाख्रा चराउने काम पाएका रहेछन् । भेडाबाख्राहरु एकातिर चरिरहेका थिए भने केटाकेटीहरू भने एउटै डल्लो परेर मोबाइलमा घोप्टो परिरहेका थिए । फोटो खिच्नलाई मनलाल सरको मोबाइलको चार्ज सकिइसकेको थियो । मेरो फोनको चार्ज पनि सकिनै थालेकोले फारु गरी गरी फोटो खिच्थेँ ।

लेकका साना साना थुम्काहरूमा थानहरू बनाइएका थिए । तर ती थानहरूको नाम के थियो कसैलाई थाहा थिएन । सानसाना पर्खाल उठाइएर बनाइएका थानहरूमा भने धेरै वर्षदेखि पुज्न छोडिएको झैँ प्रतीत हुन्थ्यो । अलिकति अगाडि बढेपछि पहाडैभरि छरिएको ठुलो गाउँ देखियो । मनलाल सरले भन्नुभयो । यही हो त्रिवेणीको निपाने गाउँ ।

एउटा गोठमा पुगेर पानी माग्दा आँगनमा उभिइरहेकी महिलाले पानी दिन पनि आनाकानी गरिन् । त्यत्तिकै भनिएको रहेनछ निपाने गाउँ । पानी नमाग्दै खासै तिर्खा लागेको थिएन । तर माग्दा पनि पानी नपाएपछि तिर्खा उग्र बढ्यो । ओठमुख प्याक्प्याक्ति सुकिसकेका थिए । टर्रा नास्पातिहरू पनि सकिइसकेका थिए । हामीहरू निराश भइहालेनौँ किनकि निपाने गाउँमा अरू पनि थुप्रै घरहरू थिए । ती महिलाको व्यवहारले गर्दा गाउँको नाउँ निपाने यत्तिकै राखिएको रहेनछ भन्दै कुरा काट्यौँ ।

नजिकैको अर्को घरमा पुगेर पानी माग्यौँ । २ वर्षे बच्चा बनाइसकेकी पन्ध्र सोह्र वर्षकी नानीले तुरुन्तै ठण्डा पानी ल्याएर दिइन् । पानीले घाँटी भिजाएपछि भोक लागेको छ केही अर्नीपर्नी नास्ता बनाइदिनुहुन्छ कि भन्ने साहस बढ्यो । उनले निर्णय गर्न सकिनन् । हाम्रो आवाज सुनेर दुईजना तन्नेरीहरू बाहिर निस्किए । कम उमेरका काका भीमबहादुर खडका रहेछन् भने बढी उमेरका भतिजा पवन खडका । दुबै हसिला रसिला थिए । हामीले अर्नीको कुरा उनीहरूसँग दोहोर्‍यायौँ । भीमबहादुर खडकाले पाइन्छ पाइन्छ रोटी बनाइदिऊँ कि भात बनाइदिऊँ भनेर सोधे । भोकाएको बेला उनीहरूको सकारात्मक जवाफले औधी खुसी भयौँ । हामीले जे सजिलो हुन्छ त्यही बनाइदिनुहोस् भन्यौँ । मनलाल सरले मोबाइल चार्ज गरिदिन अनुरोध गर्नुभयो । उनीहरूकै चार्जरले मोबाइल चार्ज पनि लगाइयो ।

नास्ता पाकुन्जेल निपानेको टावर र लेक घुमेर आउने प्रस्ताव राख्यौँ ।  पवनजीले म घुमाइदिन्छु भने । हामीलाई के खोज्छस् काना आँखा भनेझैँ भयो । यहाँ लिफ्ट खानेपानीको व्यवस्था रहेछ । पहिले तल्लो गाउँसम्मा लिफ्ट खानेपानीको योजना परेको रहेछ । पछि फेरि तल्लो गाउँबाट माथिल्लो गाउँसम्मको बजेट परेर पानीको अभाव भने रहेनछ । अगाडिकी महिलाले किन पानी दिइनन् होला भनी उनी आफै छक्क परे ।

वरिपरिका गाउँहरू स्थानीय उत्पादन जीवनशैली र जडीबुटी आदिको कुरा गर्दै टावरभन्दा माथिको लेकमा पुग्यौँ । जङ्गलबाट गाउँमा बाँदर बँदेल खरायो दुम्सी रतुवा र अन्य हिँस्रक जनावर नपसून् भनेर निकै लामो र अग्लो पर्खाल लगाइएको रहेछ । मान्छेले पार गर्ने सानो ग्याप राखिएको थियो जहाँ भित्र पस्ने जनावरलाई पासो पनि थापिएको रहेछ । मैले यस पर्खाललाई ग्रेटवाल अफ त्रिवेणी नाम दिएँ ।

यहाँबाट अझै टाढा टाढाका गाउँहरू देखिए । मनलाल सरले देखिने जिल्लाहरूको सङ्ख्या गणना गर्नुभयो । रुकुमपश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बर्दिया, बाँके, सल्यान, दाङ, रोल्पा, पूर्वी रुकुम भन्दै १० वटा जिल्ला पुर्‍याउनभयो र त्रिवेणीको सर्वोच्च शिखर जिला धुरीबाट १७ जिल्ला देखिने कुरा पनि सुनाउनुभयो । ती खड्का भाइले आश्चर्य मानेर जिब्रो टोके ।

सन्मुखमा अर्को अग्लो लेक देखियो । त्यसको नाम सोध्यौँ उनी अकमकाए । हाम्रो आजको खोज भनेको बल्लेजुरीको अवस्थिति र विशेषता बुझ्नु थियो । अरू छोडेर भए पनि बल्लेजुरी पुग्नै पर्ने थियो । तसर्थ आफैले बल्लेजुरी भनेको त्यही नै हो कि भनी सोध्यौँ । उनले हो हो भनेर हाम्रै कुरामा समर्थन गरे । मनलाल सरले बल्लेजुरी त्यही हो भने त त्यहाँ पुग्नैपर्छ भन्न थाल्नुभयो मैले नजाऊँ, नास्ता खाएपछि विचार गरौँला भनेँ । नजाऊँ भन्नुको मतलब मलाई त्यो चुचुरो बल्लेजुरी होला भन्ने विश्वासै लागेन ।

हामी त्यताबाट फर्कियौँ । खड्का भाइले यताबाट झरौँ भने । भोकले पेटमा तमासा मच्चाइरहेकोले भो अहिले छोडिदिऊँ भने तर मनलाल र उनको जिद्दी बढ्यो । उनले अर्को पाखोपट्टि लगेरै छाडे । पाखामा रहेका जडीबुटी कटुकी समायो कुरिल्लो भलायो रगतजरी घोरटाप्रे चिनाउँदै पनि गए । अलि तल पुगेपछि विशाल स्याउ बारी पो रहेछ । यहाँ स्याउ बारी देख्न पाइएला भन्ने मैले चिताएकै थिएन । स्याउहरू भर्खर रोपिँदै थिए भने केही कलमीको लागि तयार गरिएको थियो । आरु प्रजातिको खमानी उनले अझै तल जाऊँ भने अब मैले नै जाऊँ जाऊँ भनेँ । तल अर्को ठुलै पाटाभरि ओखरका बेर्नाहरू लगाइएका थिए । एउटा पाटाभरि बन्दा फलिरहेका थिए पाटा पाटाभरि बन्दाकोबी  आलु खुर्सानी र भान्टाहरू पनि लगाइएका थिए । अन्य फलफुलको बारी पनि देखाउन खोज्दै थिए । निपानेमा पानी नभएको रुखो र सुख्खा जमिन मात्र होला भनेको त पानी आइपुगेपछ यस खड्का परिवारको परिश्रमले अद्भूत चमत्कार पो गरेको रहेछ । हामी द्रवीभूत नभई रहन सकेनौँ ।

 तर हामीलाई फर्कन हतार भएकोले पछि हेरौँला भन्दै मन बाँध्न बाध्य हुनुपर्‍यो । अर्को पाखाभरि रुखका पोथ्रा  बराबर डाँठ बनाएर गाँजिएका मकैहरूले आकाश छुने प्रतिष्पर्धा गरिरहेको देख्दा हामी छक्कै पर्‍यौँ । ओहो यो त निपाने रहेनछ न्यूपाने पो रहेछ भन्दै हामी फर्कियौँ ।

फर्कँदा योकमाया र कल्पना सासूबुहारी मिलेर नास्ता तयार गरिसकेका थिए । आलुको तिहुन र लेकाली चामलको भातको स्वाद अवर्णनीय थियो । थपी थपी खाएपछि पैसा कति हो भनी सोध्यौँ । उनीहरूले पैसा लिन नै मानेनन् । फर्कँदा ठुली महिला पनि थिइन् । चिनापर्ची गर्दै जाँदा नयाँगाउँ भिमबहादुर ओली दाइकी बहिनी पो पर्दिरहिछन् । मैले बहिनीलाई दक्षिणा भयो खानाको पैसा होइन भनेर दुःख दिए वापतको थोरै मोल भिडाएरै छाड्यौँ ।

खडका परिवारबाट बिदाबारी भएर करिब सवा चार बजेतिर निपानेबाट करिब आधा घण्टा हिँडेपछि जलेखर्क भन्ने अर्को वस्ती भेटियो । त्यहाँको वस्तीमा पनि सोध्यौँ बल्ले जुरी कुन हो भनेर उनीहरूले आफ्नो उत्तरपश्चिम पटटिको अग्लो लेकलाई बल्लेजुरी त्यही हो भनी औँल्याए । यो चुचुरो निपानेको सामुन्नेको चुचुरो नभई अर्को चुचुरो थियो । हामी निकै तल थियौँ । फर्केर त्यहाँ जान अर्को आधा घण्टा लाग्ने सम्भावना देखियो । बेलुकाको ५ बजिसकेको हुँदा त्यहाँ पुगेर फर्कँदा यतै रात पर्ने निश्चित थियो ।

हामीले मन मिचेर अगाडि बढ्यौँ र थोरै अगाडि बढ्दै गर्दा देब्रेपट्टि फेरि दुईवटा थुम्काहरू भेटिए । त्यही बाटो आउँदै गरेका बच्चाहरूलाई ती थुम्काहरूको नाम सोध्दा बताउन सकेनन् । एकजना अर्की केटी आइपुगेपछि उनले भनिन् कि बल्लेजुरा भनेका यिनै हुन् । अब लेकभरि बल्लेजुरा मात्र नाउँका थुप्रै चुचुराहरू देखेर हामी चकित परेका थियौँ । केही हिँडेपछि भानिपोले भन्ने ठाउँमा आइपुग्यौँ । दोबाटोमा भानिपोलेको विद्यालय भवन थियो । प्राङ्गणमा वन समितिको बैठक बसिरहेको रहेछ । हामीलाई फोटो खिच्दै गरेको देखेपछि दुईतीनजना हाम्रो सामुन्ने आइपुगे । अनुमति नलिएर फोटो किन खिचेको भन्दै मोबाइल खोसिदिने हुन् कि भन्ने डर थियो । तर उनीहरुले त्यसो गर्नुको बदला आउनुको प्रयोजन सोधे । हामीले तपाईँहरूको बच्चाको निम्ति पाठ्यपुस्तक तयार गर्दै गरेको र त्रिवेणीका पर्यटकीय स्थलहरू पनि पाठमा राख्नुपर्ने भएकोले यता आएको बतायौँ । उनले विद्यालय सामुन्नेको लेकलाई बल्लेजुरी भनिने बताउनुभयो ।

हामीले पश्चिमतिरको अग्लो शिखरलाई बल्लेजुरी भनिएको भन्दै प्रतिवाद गर्‍यौँ तर उनले भनेः होइन । हेर्नुहोस् त त्यो त ठ्याक्कै खामोजस्तो देखिन्छ । हामी त्यसलाई खामेधुरी भन्दछौँ । यता हेर्नुहोस् यो  ठ्याक्कै बल्लको जुरो जस्तै छ । बल्लेजुरी भनेको यही नै हो । यस स्थललाई पर्यटकीय स्थल बनाइदिन बजेट पनि माग गरेका छौँ ।

हामीले  सोच्दै नसोचेको अर्को तथ्य खुल्न गयो ।

हुन पनि यताका अधिकांश शिखरहरू चुच्चो परेका नभई बल्ल (गोरु) का जुरा जस्ता अधिकांश थेप्चो परेका देखिन्छन् । यो लेकमा आइपुग्ने भनेका गोठालाहरू नै हुन् । तसर्थ उनीहरूले बल्लको जुराकै प्रतीकको रूपमा नामाकरण बल्लेजुरा राखे होलान् । यहाँका उस्तै उस्तै नाम गरेका स्थलहरू झारपोखरी, पातीहाल्ने आदि पनि थुप्रै रहेछन् ।

हामी त्यताबाट अगाडि बढ्यौँ । नजिकै घोडाको पिठ्युँको आकारमा रहेको टोड्के गाउँको सबै भूभाग देखियो । टोड्केका माध्यमिक विद्यालयका प्रअ तथा मेरो सम्धी केशरबहादुर खत्रीको घर भएकोले उहाँलाई फोन गरेर गीतैले सोधेँ

डाँडै फुर्के सल्लो । सम्धीको गाउँ त चिनेँ घर चिन्नै सकिनँ वल्लो हो कि पल्लो ।

उहाँले आफू अहिले बरनेटी बस्ने गरेको र जसरी पनि बास बस्न बरनेटी आउन अनुरोध गर्नुभयो । तर हामीलाई घर नपुगी नहुने थियो । टोड्के पुग्दा ६ बजिसकेको थियो । झर्न अझै निकै थियो ।

मनलाल सरले नजिकै रहेको थुम लेक पनि जाने मन गर्नुभएको थियो तर त्यहाँ पुगेर ओर्लन सम्भव थिएन । अतः मैले जिद्दी गर्दै तल्लो बाटोतिर तानेँ । सर्टकट भनेको त यो बाटो त झन् फनक्कै घुमेको रहेछ । दमार पल्लो लेक हुँदै पातुखोला पुग्नै १ घण्टा लाग्यो । पारिपट्टि खलङ्गाको बजारमा बत्ती बल्न थालिसकेका थिए । निकै तल सोलाबाङ बजार पनि बत्तीको झिलिमिलीमा डुबेको थियो । हामी भने अझै लेकमै थियौँ । अब छिटो पुग्ने उद्देश्यले ओरालोमा फाल हाल्न थाल्यौँ । तर यही समयमा झरी पनि सुरु भयो र बाटो निकै चिप्लो हुनगयो । मनलाल सरको मोबाइल पहिल्यै स्वीचअफ भइसकेको थियो । मेरो फोन पनि स्वीचअफ हुने अवस्थामा पुगेकोले निकाल्न सकेन । पानी पनि दर्केर परिरहेको थियो । हामी नआत्तिएर पातुखोला र भुमको पाखोमा झर्दै झर्दै गयौँ ।

मनलाल सरले आश्चर्य व्यक्त गर्नुभयो म त तमाकछरेबाट ४५ मिनेटमै सिम्रुतु पुग्छ । तर हामी लगातार दौडिँदा पनि १ घण्टा बितिसक्यो । के यो थुमलेक तमाकछरेभन्दा अग्लो छ र

मैले उचाइको आधारमा दूरी बताएँ । सिम्रुतु ११२५ मिटरको उचाइबाट २००० मिटरको उचाइमा रहेको तमाकछरे पुग्न ९०० मिटर उक्लनुपर्छ । तर थुमलेक १९०० मिटरको उचाइमा रहेकोले ९०० मिटरको उचाइको सोलाबाङबाट १९०० मिटरको उचाइमा पुग्न १००० मिटरको उचाइ उक्लनुपर्छ । तसर्थ यसको दूरी अलि बढी नै हो ।

मनलाल सरले अच्चम्म मान्नुभयो । थुमलेक हेर्दा निकै होचो देखिन्छ तर निकै अग्लो पो रहेछ । यहाँ आइनपुग्नेलाई यसको उचाइ थाहा नै नहुने रहेछ । आफैले भोगेपछि बल्ल चालपाएँ ।

कुरा गर्दै पातलमा झर्दै झर्दै हामी तल्लो सोलाबाङ आइपुग्यौँ  । झोलुङ्गे पुल तरेर सोलाबाङ उक्लियौँ । मनलाल सरलाई जुकाहरूले भेटाएछन् ।

बजार पुगेपछि मैले मनलाल सरलाई घरमा लान कर गरेँ । तर उहाँले मान्दै मान्नुभएन । सेरीगाउँ जानैपर्छ भनेर गाडी कुरेर बस्नुभयो ।

१२ घण्टाको पैदल यात्रा सकेर हामी बजारबाट छुट्टियौँ । घर पुगेपछि मनलाल सरलाई एक्लै बजारमा छोडेकोमा देवकुमारी पनि पछुताइन् । मैले उहाँ कहाँ पुग्नुभयो होला भनी दश दश मिनेटको अन्तरमा फोन लगाइरहेँ । साढे १० बज्दासम्म उहाँको फोन स्वीचअफ भनिरहेको थियो । मेरो मनमा अनेकौँ आशङ्काहरुले हुत्ती खेलिरहेका थिए ।

२०८३ असार २१ गते  आइतवार

सोलाबाङ रुकुम

आजदेखि घरको सामान्य मर्मतको लागि दर्मालीहरूलाई बोलाइएको थियो । दर्मालीका काका भतिज ९ बजे आइपुगे ।

रङ र रङ लगाउने सामग्रीहरु सिद्धार्थ हार्डवेयरका केवल केसीबाट ल्याउन लगाइयो ।

बर्खामा पानी पर्दा चिसो भित्र पस्ने र मुसाले खोलेर दुःख दिइरहेकाले भुइँतलामा स्कर्टिङ गर्ने काम थियो ।

पोहोर साल आँगन बनाउँदा बाँकी रहेको गिट्टी बालुवाले आँगन ओगटिरहेको थियो । त्यसको प्रयोग गर्नु पनि यस मर्मतको उद्देश्य थियो । खासगरी राति ट्वाइलेट जाँदा समस्या भइरहेको र नुहाउँदा पनि समस्या भएकोले प्रयोगमा नआएको भर्‍याङमुनिको कोठालाई ट्वाइलेट तथा बाथरुम बनाउने पनि उद्देश्य थियो ।

उनीहरू आउनेबित्तिकै घरको खस्रो बालुवाले हुँदैन भनेर मसिनो बालुवाको खोजी गर्न लगाए । जेठान लोकबहादुर खडकासँग बालुवा रहेछ । त्यही ल्याउने कुरा भयो । उहाँसँग ५ कठ्ठा बालुवा मात्र रहेछ । जेनतेन आजको काम चलाइयो । थप खोज्दा शङ्करले आज डाइबर नभएको भनेकोले अर्को विकल्प खोज्दै जाँदा धिरन सिर्पालीले दिन्छु भनेकोले उनीबाटै बालुवा लिने व्यवस्था गरियो । बालुवा चाल्नको लागि जाली ल्याउने तथा झिना मसिना कुराहरूको खोजीमा दिनभर दौडधुप गरियो ।

ट्वाइलेट बाथरुम बनाएपछि ड्रम चाहियो । ड्रम राख्ने ड्रम स्ट्यान्ड चाहिने भयो । सामान्य मर्मत भन्दा भन्दै असामान्य काम र खर्च हुने भएपछि मन आत्तिएको थियो । ड्रम स्ट्यान्ड सेकेन्ड ह्यान्डको खोजी गर्दा भाडा पसलवाला खिम ओलीले आफ्नो घरको २५०० मा दिन सक्ने बताए । त्यही भए पनि पठाइदिन अनुरोध गरेँ ।

नेपाली कलासाहित्य डटकमको वार्षिक प्रकाशन कलाश्रीमा मोमिला जोशीले लेख माग्नुभएको थियो । उक्त लेख पठाइसक्ने म्याद असार १५ गते थियो । तर पाठ्यपुस्तक निर्माणको कामले चुइँक्क फुर्सद नभएकोले पठाउन सकिएको थिएन ।

झारपातसँग मितेरी भन्ने शीर्षक तयार गरेर लट्टेलाई मुख्य पात्र बनाई झारपातहरूको संसार र जीवन झल्कने खालको लेख तयार गरी पठाइदिएँ ।

२०८३ असार २२ गते  सोमवार

सोलाबाङ रुकुम

आज बिहान पनि दर्मालीका काका भतिज आइपुगे ।  उनीहरूले हामी त मिस्त्री हौँ बालुवा बोक्ने हाम्रो काम होइन भनेकोले बालुवा बोक्न शालीग्राम ओली भाइलाई बोलाएँ ।

देवकुमारीले मर्मत गर्दा गर्दा किचेन बक्स बनाउनुपर्छ भनेर अर्को काम सिर्जना गरेकोले कामदारहरू स्ल्याब बनाउन थाले । दिनभर स्ल्याबको फर्मा बनाउने काम भयो । आवश्यक मात्रामा काठपात नभएकोले झ्याल र ढोकाका खापा झिकेर काम चलाइयो ।

गत असार २० गते शनिबारको दिनमा बिहानदेखि बेलुकासम्म दयालेक निपाने तथा टोड्के क्षेत्रको भ्रमण गरिएको थियो तर फेसबुकमा फोटा शेयर गर्न पाइएको थिएन । फोटाहरू शेयर गरेँ र यात्रा संस्मरण कोरकार पारेर मूलपाटी डटकमका राजु लामिछानेलाई पठाइदिएँ ।

२०८३ असार २३ गते  मङ्गलवार

सोलाबाङ रुकुम

त्रिवेणीको स्थानीय पाठ्यपुस्तकको पुनरावलोकनको लागि मनलाल सर र म सिम्रुतु पुग्यौँ र माया होटेलको एउटा कोठामा बसेर काम गर्न थाल्यौँ । मनलाल सरले चस्मा ल्याउन बिर्सिनुभएछ । पालैपालो मेरै चस्मा लगाएर काम गर्‍यौँ । मेरो चस्मा हराएकोले जेठान लोकबहादुर खडकासँग उहाँको पुरानो चस्मा ल्याएर काम चलाएको थिएँ । चस्माको पावर ठ्याक्कै मिलेको थिएन । तर चस्मा बनाउको लागि सल्ले जानुपर्ने र जाउआउ तथा खर्च पनि अनावश्यक हुने भएकोले पावर मिल्ने चस्मा पनि बनाउन सकिएको थिएन ।

मनलाल सरलाई चस्माको पावर झन् मिलेनछ । तर चस्मा नलाई झन् कामै नहुने भएकोले काम चलाउनै पर्‍यो ।

बेलुका घरमा पुगेपछि बजार पुगेर युरिया मल ल्याई मकैबारीमा युरिया मल हालियो । मकै छर्दा पनि  गाईवस्तुको मल हाल्नु आवश्यक थियो तर मल किन्नुपर्‍यो । बोकाउनुपर्‍यो । समय दिनुपर्‍यो । झन्झट भएकोले डीएपी मल किनेर शेर बुहारीलाई दिइएको थियो । उनले नै खनजोत गरी मल हालिदिएकी थिइन् ।

अरूको मकै बाली सप्रिएको तर आफ्नो मकैहरू मसिना भइरहेका थिए । युरिया मल हालौँ भन्दा देवकुमारीले अहिल्यै युरिया हाल्दा मकै ढल्छन् भनेर हाल्न दिइनन् । मकै ठुला भएर धानेबाला गर्न थालेकोले युरिया खोज्दा बजारमा सकिएको रहेछ । भोलि आउँछ पर्सि आउँछ भन्दैमा धेरै दिन बितेका थिए ।

आज मल आयो भन्ने थाहा हुनेबित्तिकै बजार पुगेर मल ल्याएको थिएँ । मल हालेपछि ठुलो पानी पर्‍यो । देवकुमारीले मल बगाइदियो भनेर चिन्ता गरिन् ।

२०८३ असार २४ गते  बुधवार

सोलाबाङ रुकुम

बिहानै उठेर सिम्रुतु गएँ । होटेलमा बसेर पाठहरू पुनरावलोकन र परिमार्जनका कामहरू गर्न थालियो । बिहानदेखि नै केन्द्रीय लाइनको बत्ती थिएन । होटेलमा इन्भर्टर भएकोले इन्भर्टरकै पावरले काम गर्दै गयौँ । एकछिन पछि इन्भर्टर पनि गयो । ल्यापटपका चार्ज पनि सकियो । सिम्रुतु हाइस्कुलका हेड सर डिल्ली मल्ललाई अनुरोध गरेर बाँकी काम स्कुलमै बसेर गर्‍यौँ । परीक्षितलाई परिशीलन प्रतिष्ठानको नविकरणको लागि भनेको थिएँ । त्यस कामको लागि ऊ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुग्यो । तर कागजातहरू नपुगेको भनी फर्काइदिएछन् । म काठमाडौँमा छँदा संस्था नवीकरणका लागि जिल्ला प्रशासनका कर्मचारीहरूले जे जे भन्छन् त्यही त्यही सबै कागजातहरू पुर्‍यएको थिएँ । कर पनि तिरिसकेको थिएँ । तर अन्तिममा अडिटरको करचुक्ता प्रमाणपत्र नभएको भनी अत्तो थापेका थिए । अडिटरको कर चुक्ताको म्याद थप पेस गर्दा पनि मानेका थिएनन् । अतः करचुक्ता प्रमाणपत्र भने अडिटर दिलमानचन्द विदेशतिर गएकोले सम्पर्क हुन नसक्दा रोकिएको थियो । उनले विदेशबाट काठमाडौँ फर्किएपछि कर चुक्ता प्रमाणपत्र पनि पठाइदिए । त्यही कागजात बुझाएर नवीकरण गर्ने परीक्षित जिल्ला प्रशासन पुगेको थियो ।

जिल्ला प्रशासनमा मित्र भोला दाहालकी पत्नी पार्वती दाहालले पनि काम गर्नुहुन्थ्यो । भोला दाहाल र म सँगैका नासु थियौँ । एकैचोटि शिक्षा मन्त्रालयमा सरुवा भई म परीक्षा नियन्त्रण कार्यालयमा पोस्टिङ भएको थिएँ भने उहाँ शिक्षा विभागमा । हामी सँगसँगै अधिकृत पनि भयौँ । म लेखा अधिकृतको रूपमा र उहाँ शाखा अधिकृतको रुपमा निर्वाचन आयोगमा भेट भयौँ । उहाँसँग नजिकिनुमा दुबैको साहित्यिक अभिरूचि एउटै थियो । कतै कार्यक्रममा जाँदा उहाँ र मसँगै पर्थ्यौँ । मैले छन्द कविता लेख्थेँ । उहाँले वाचन गरिदिनुहुन्थ्यो । निर्वाचन आयोगमा छँदा दुबै आशुकवि थियौँ । टुक्काहरू जोडेर मुखैले छन्दमा वार्तालाप गर्थ्यौँ । उहाँले निजामती सेवा दिवसको कविता प्रतियोगितामा समेत पुरस्कार जित्नुभएको थियो । उहाँको विशेष रुचि भने लोक सेवा रट्नुमै थियो ।

उहाँ र म दुबै दुवाकोट निवासी थियौँ । उहाँ न्यौपाने गाउँतिर बस्नुहुन्थ्यो भने म दुवाकोट मोडमा । हाम्रो अफिस जाने अफिस बस एउटै हुन्थ्यो । उहाँले बसमा पनि लोक सेवाकै पाठ्यक्रमअनुसारका कुराहरू घोक्नुहुन्थ्यो । अफिसमा बस्दा पनि लोकसेवाकै पुस्तक पढ्ने बानी थियो । मलाई लाग्थ्यो यसरी रटेर मात्र त के उपसचिव भइएला र ।

मैले छोरा परिशीलनलाई एउटा दुर्घटनामा गुमाएर सन्तान शोकमा डुब्दा भोला दाहालका दम्पति मेरो दुवाकोट स्थित घरमा आएर सहयोग गरिरहनुहुन्थ्यो । उहाँहरूलाई मेरो घरायसी अवस्थाको बारेमा पनि जानकारी भयो । मेरो दुखसुखमा साथ दिने अभिन्न मित्र बन्नुभएको थियो ।

भोला दाहालले २ वर्षपछि उपचिवमा नाम निकाल्नुभयो। अर्को दुई वर्षपछि सहसचिवमै नाम निकाल्नुभयो। त्यसपछि हाम्रो भेट भएको छैन । उहाँको फोन मसँग सेभ छ । म बेलाबखत फोन गर्छु । फेसबुकमा पनि मेसेज पठाउँछु । तर रिप्लाइ आएको छैन ।

आज प्रतिष्ठानको नवीकरणको निम्ति उहाँकी पत्नी पार्वती दाहाललाई सहजीकरणको लागि फोन गर्न खोज्दा फोन पाइएन । यसै सिलसिलामा पार्वती म्याडमको फोन माग्न भोला सरलाई फोन गरेको थिएँ तर उठेन । परीक्षितले नै पार्वती म्यामको फोन नम्बर पठाइदियो । मैले फोन गरेँ । परीशीलन प्रतिष्ठान भनेपछि उहाँलाई थप भन्न आवश्यक नै थिएन ।

पछि कागज पुगेछ र प्रतिष्ठानको नवीकरण गरेर परीक्षित घरमा फर्किएको खबर सुनी निकै खुसी भएँ ।

दिउँसो ३ बजेतिर केन्द्रीय लाइनको बत्ती आएपछि स्कुलबाट होटेलमा फर्कियौँ र काम गर्न थाल्यौँ ।

 बेलुका उतै बस्ने कुरा थियो तर देवकुमारीले छिमेकी सार्की परिवारको बिहे भोजमा खुट्टा दुख्ने भएकोले म जाँदिनँ तपाईँ नै आउनुहोला भनेकीले म बेलुका ७ बजेतिर घरमा आएँ र नुधाइधुवाइ गरेर पसिना पखाली बिहेभोजमा गएँ ।

आज दर्मालीको भतिजा र शालिग्रामले स्कर्टिङको काम गरेछन् ।

सोलाबाङको बिचमा कइनपानीदेखि उत्तरपूर्वपट्टि होचो डाँडो छ । त्यहीँ डाँडा उत्तरपट्टि अग्लिएर मुसीकोटको डाँडो बनेको छ । त्यही होचोमा एक गरिब सार्की परिवार बस्ने गर्दथ्यो । उनलाई हामीले डाँडाघरे सार्की मामा भन्थ्यौँ । जुत्ता सिलाएर जिविकोपार्जन गर्थे । उनका छोराछोरी धेरै जन्मिएका थिए । चार पाँचजना त छोरा नै थिए । बच्चाहरूको लालनपोषण गर्न निकै कठिन थियो । बच्चाहरू जेनतेन हुर्किए र १६ वर्ष नपुग्दै कालापार जान थाले । छोराहरूले पठाएको खर्चले सार्की मामाको जीवन सजिलोसँग चल्न थाल्यो । एकजना छोराले भारतबाट चाउमिन बनाउने सिप सिके र सोलाबाङमा चाउमिन उद्योग खोले । एकजना भारतबाट सउदी तथा दुबैतिर पुगेर काम गर्न थाले । उनका छोराले पनि दुबै नै गएर काम गर्न थाले ।

सोलाबाङको बजार बाहेक गाउँमा ३ तले पिलरवाला घर बनाउने पहिलो व्यक्ति नै सार्की मामा बने । उनले सोलाबाङ फाँटमै जग्गा तथा घर किनेर अहिले सार्की साउ भएका छन् । उनकै एक छोराको पनि छोराको बिहेभोज आज छ । पहिले सार्कीको घरमा समेत नपस्ने गाउँलेहरू अहिले सार्कीको घरमा पुगेर मासुभात खान अप्ठ्यारो मान्दैनन् । तर बुढापुराना मान्छेहरू भने अहिले पनि सार्कीले छोएको खान मान्दैनन् ।

बेहुलाघरमा नाचगान चलिरहेको थियो । शाकाहारी भएकोले फलफूल मात्र मगाएँ । तर फलफूल देखेर बच्चाहरूले मलाई घेरेकोले उनीहरूलाई नै बाँडिदिएँ । एकछिन नाच हेरेर घरमा फर्किएँ र खानपिन गरी पाठ्यपुस्तकको पुनरावलोकनतिर लागेँ ।

२०८३ असार २५ गते  विहीवार

सोलाबाङ रुकुम

आज बिहान देवकुमारीले ३ बजे नै उठाइन् । छोराछोरीको चिन्ता गरिरहन्छिन् । परीक्षितले फोन नउठाइदिँदा उनलाई झन् पिडा हुन्छ । घरलाई भित्र बाहिर रङ लगाउनको लागि दर्मालीहरूलाई बोलाइएको थियो । उनीहरू आएपछि रङभन्दा पहिले अरू नै काम देखियो । शालिग्रामले रङ लाउन जानेनछन् । तसर्थ लोग्ने स्वास्नीले नै रङ लगाउँदा राम्रो हुने भनी हिजैदेखि भोलि सिम्रुतु नजानुहोला घरमै काम गर्ने हो भनेर हिजैदि सम्झाइरहेकी थिइन् । आज पनि ३ बजे नै उठेर सोही कुरा दोहोर्‍याइन् । मैले मनलाललाई बिहानको काम सकेर आउँछु भनेको थिएँ । तर देवकुमारीले भने दिनभरि जे जे भ्याइन्छ काम सक्काएर मात्र सिम्रुतुको काम गर्नुहोला भनी घोकाइरहेकी थिइन् । तसर्थ ३ बजेदेखि नै आमाबा सुत्ने कोठामा रङ लगाउन सुरु गरेँ । बत्तीको उज्यालोले स्पष्ट नदेखिएर हो वा रङ नै पातलो भएर हो । रङ लगाएको र नलगाएको केही छुट्टिएन । रङ लगाउने काम स्थगित गरेर एकछिन सुत्यौँ ।

उठ्नेबित्तिकै रङ लगाउने काम सुरु गरियो । रङ अलि पातलो नै रहेछ । रङको पाउडर थपेँ ।

देवकुमारीलाई नभने तापनि मनमा भने २ वटा भित्री कोठा रङ लगाउने पाए आफ्नो जिम्मेवारी सकिएको भनी दिउँसोतिर पाठ्यपुस्तकको अन्तिम सम्पादन हेर्ने योजना बनाएको थिएँ । लगभग २ घण्टाजति निरन्तर काम गरेपछि पूर्वी कोठाको रङ लगाइसकियो ।

अग्लो ठाउँमा रङ लगाउन सजिलो हुनेभएकोले बा सुत्ने खाटमा रङ लगाउँदै थिएँ । खाटको फ्ल्याक अकस्मात् चिप्लियो । खाटको फल्याकसँगै म पनि तल झरेँ । खाटमुनि ५० वर्ष पुराना बाकसहरू थिए । खाटको चौकोसले जिउ ढल्न पाएन धसियो मात्र तर पाइतालामुनि काटिएछ । देवकुमारी नजिकै भएकोले उनले आफूलाई लगाउन ल्याएको टेन्चर ल्याएर घाउ धोइन् र घाउमा लाउने मलहम पनि लगाइदिइन् । तुरुन्तै थिचेर टेन्चर लगाएकोले रगत धेरै बग्न पाएन ।

घाउको दुखाइ छँदै थियो । गर्दा गर्दैको काम रोकियो ।

आज काम गर्नको लागि दर्मालीको भतिजो घमण्ड मात्रै आए र भुइँतलाका कोठाहरूको स्कर्टिङको काम गर्न थाले । एक्लै काम गर्दा ढिला हुने नै भयो । देवकुमारी काम सरेन भन्दै गनगन गरिरहेकी थिइन् । म भने काम हेन भर्‍याङ ओर्लन समेत नसक्ने भएको थिएँ ।

घाउको दुखाइ कम भएपछि देवकुमारी सुतेको मौका छोपी बिचको कोठाको दुई भित्तामा पनि रङ लगाएँ ।  गत असार ५ गते जिबाङका गुफाहरू अवलोकन गरी तयार गरेको संस्मरण प्रकाशित गरेको थिएनँ । पर्यटकीय महत्त्वको भएकोले यो लेख स्थानीय पत्रिकालाई भन्दा राष्ट्रिय पत्रिकालाई दिन ठिक हुन्छ भन्ने लागी फरकधारका सन्तोष आचार्यलाई पठाइदिएँ ।

कक्षा २ को पाठ्यपुस्तकका ३ एकाइसम्मका १३ वटा पाठहरूको शैली समेत परिमार्जन गरी कक्षासुहाउँदो बनाएँ ।

बेलुकातिर भने खुट्टा सुनियो । दुखाइ पनि बढ्दै गयो । देवकुमारीले तातोपानीले घाउ सफा गरिदिने, कर्केटो सल्काएर हान्ने र टेन्चर र मलहम लगाइदिने काम गरिन् । दुखाइ अति नै भएकोले ब्रुफिन खाएर सुतेँ ।

२०८३ असार २६ गते  शुक्रवार

सोलाबाङ रुकुम

पाइतालामुनिको घाउले गर्दा न कुर्कुच्चा टेक्न मिल्छ न औँलाले टेक्न । दिउँसो खोच्याउँदै बाहिर निस्कनुभन्दा उज्यालो नहुँदै मुस्किलले बाथरुम जान्छु । सिम्रुतु गएर पुस्तक परिमार्जनको काम गर्ने भनेको खुट्टा चोट लागेर थला परेकोले जान सकिनँ । मनलाल सर भने पुस्तक परिमार्जनको सिलसिलामा सिम्रुतुको माया होटेलमा मलाई पर्खेर बसिरहनुभएको थियो ।  मैले हिजो खुट्टामा चोट लागेकोले आउन नसक्ने खबर गरेँ । उहाँले पत्याउनुभयो भएन थाहा भएन ।

परीक्षितले स्वास्थ्य मन्त्रालयबाट करार सेवाको लागि कर्णाली प्रदेश सरकारमा सिफारिस गरेको खबर गर्‍यो । एमडी सकेपछि छात्रवृत्ति पाउने विद्यार्थीहरूले २ वर्ष अनिवार्य सेवा गर्नुपर्छ । तर परिवारलाई सजिलो होस् भनेर कि काठमाडौँकै आसपास मिलाउने कि अस्मिता भएको ठाउँ चितवनमा मिलाउने कि दाङ मिलाउने भनेर त्यही अनुसार निवेदन दिएको थियो । तर अरूहरूलाई रोजेकै ठाउँमा पठाएको तर परीक्षितलाई भने अन्तिम प्राथमिकतामा राखेको ठाउँमा पठाइएकोले तनाव सिर्जना भयो । देवकुमारीले भने सुर्खेतबाट परीक्षितलाई रुकुममै पठाउने भएकोले यतै बस्न पाइने भयो भनेर खुसी मनाइरहेकी थिइन् ।

बेलुका फरकधार पत्रिकाले त्रिवेणीका रहस्यमय गुफाहरूको बारेमा लेख छापिदिएछन् । सम्बन्धित साथीहरूलाई शेयर गरेँ ।

२०८३ असार २७ गते  शनिवार

सोलाबाङ रुकुम

दर्माली टीकारामले वाल लगाउनको लागि दिनभरि ब्लक बनाउनमै समय बिताए । घमण्डले भित्तामा धुलो कलर लगाएजस्तो मात्र गरे । एउटा कोठा पनि कलर लाएर सकेनन् । बेलुकातिर दुबैजना लागेर किचेन स्ल्याबको फर्मा चयार गरी ढलान पनि गरे ।

म भने पाइतालाको घाउले गर्दा बाहिर निस्कन पनि गाह्रो भइरहेको थियो । भित्रै बसेर त्रिवेणीका पाठ्यपुस्तकका विभिन्न पाठहरू परिमार्जनमै व्यस्त रहेँ ।

बिहान बुद्धि भिनाजु दाङबाट आइपुग्नुभयो । उहाँका एक जना नातेदार जो निसन्तान भएर घरबार विहीन थिए उनी बिरामी परेको खबर सुनेर आफन्त भएको नाताले भेट्न आउनुभएको रहेछ ।  पारिवारिक कुराहरू भए । दिउँसो भने उक्त व्यक्तिको निधन भएको खबर आयो । भिनाजुलाई खबर गरिदिने भन्ने जानकारी आएकोले खबर गर्दा फोन स्वीचअफ थियो ।

बिहान मूलपाटी डटकमले पनि दयालेकका दयालुहरू भन्ने शीर्षकको मेरो संस्मरण प्रकाशित गरेको खबर प्राप्त भयो । तर हिजो राति मात्र फरक धारको लेख शेयर गरेकोले तुरुन्तै मूलपाटीको लेख शेयर गर्न सकिनँ ।

२०८३ असार २८ गते  आइतवार

सोलाबाङ रुकुम

दर्मालीहरूले अर्कै घरमा काम परेकोले २ दिनपछि मात्र आउँछौँ भनेर हिजै जानकारी गराइसकेका थिए । आज काम गर्नेहरू आएनन् । मनलाल सरले घरमा पानी भर्ने काम भएको र आज पानी आउने पालो भएकोले पानी पर्खेर बस्नुपरेको हुँदा सिम्रुतु नजाने बताइसक्नुभएको थियो । तसर्थ म मात्र सिम्रुतु जाने कुरा आएन । घरमै बसेर काम गरेँ ।

दिउँसो काठमाडौँबाट बिपुल न्यौपानेको फोन आयो । उहाँको बुवा केशवप्रसाद न्यौपानेको आत्मकथा घोष्टराइटिङ नेपालबाट प्रकाशोन्मुख रहेको र सोको सम्पादनको जिम्मा मैले लिएको हुँदा उहाँले मलाई नै सम्पर्क गर्न खोज्नुभएको थियो । उहाँहरूले अन्तिम सेटिङ गरिएको डमी पनि हेरि भ्याउनुभएछ । काठमाडौँ आइपुगेर हेरिदिनकव लागि अनुरोध गर्नुभयो ।

तर मेरो जिम्मेवारी यता पनि सकिएको थिएन । मलाई केही समय लाग्छ भन्दा उहाँ निराश हुनुभएको बुझियो ।

अपरान्हतिर घोष्टराइटिङका कर्मचारी चाहनाले पनि काठमाडौँ आउने नआउने सम्बन्धमा सोधपुछ गर्नुभयो । सायद कमल ढकाल सरले नै सोध्न लगाउनुभएको होला । मैले यताको काम नसकिएकोले सकिएपछि मात्र आउन मिल्ने बताएँ । दोहोरो जिम्मेवारीले म कायल थिएँ । उता पनि जिम्मा लिएको काम सम्पन्न गर्न सकेको भए हुन्थ्यो भन्ने थियो । तर यताको काम सुरु भइहालेकोले सुरुमा यतै आएँ । असार १५ गतेभित्र जसरी पनि फर्कन्छु भन्ने थियो तर यताको काम झन् थपिएकोले म अन्यौलमा परिरहेको थिएँ ।

भित्रको इमान्दारिता छाती खोलेर देखाउन नमिल्दो रहेछ ।

२०८३ असार २९ गते  सोमवार

सोलाबाङ रुकुम

आज पुस्तक परिमार्जनको लागि बिहानै सिम्रुतु जाने तयारी गरेँ । मनलाल सर सेरीगाउँबाट घरमै आउनुभयो । आज सिम्रुतु जानुभन्दा सोलाबाङमै बसेर काम गरौँ भनेर मनलाल सरलाई भनेँ तर उहाँले मान्नुभएन । दुबैजना सिम्रुतु गएर काम गर्न थाल्यौँ । एकअर्काले नबुझेका कुराहरू क्लियर हुँदै अगाडि बढ्दा गल्ती रहने सम्भावना हुँदैन । हामीले काम गर्दै आन्तरिक गन्थनहरू पनि गर्‍यौँ । पाठ्यपुस्तक सम्पादनको काममा अहोरात्र जुटेको ३ महिना पुगिसकेको छ । घोष्टराइटिङ नेपालले भए ३ महिनाको १ लाख २० हजार दिइसक्थे । काम सजिलो पनि थियो । तर यहाँ भने मनलाल र मलाई साठी साठी हजार खातामा हालिदिएको जानकारी प्राप्त भएको छ ।

समितिमा हामी ७ जना थियौँ । २ जना शिक्षाकै कर्मचारीहरू थिए । बाँकी ५ जनामा टीकाराम २ दिन मात्र देखा परे । चन्द्रा र नरसिँह एक हप्ता जति निरन्तर आए । तर मनलाल र म भने अफिसमा पुगेर पनि पाठ्यपुस्तककै काम र घरमा पुगेर पनि पाठ्यपुस्तककै परिमार्जनमा लागेका छौँ । दिन गन्ती गर्ने हो भने दुबै जनाले ८० दिन काम गरिसकेका छौँ । यो कुरा शिक्षाका कर्मचारीहरूलाई पनि थाहा छ र पालिकाका अध्यक्ष र कर्मचारीहरूलाई पनि थाहा छ  । तर पारिश्रमिक भने अरूलाई पचास पचास हजार दिइएछ। हामी २ जनालाई दश दश हजार मात्र थपिदिएछन् ।

शिक्षाका हाकिम अझ दिनदिनै ताकेता गरिरहेका हुन्छन् । किन ढिला भयो । किन कुद्‍न सक्नुभएन भनेर । होटेल व्यवस्थापनको सहजीकरण गरिदिनुहोस् भन्दा खुट्टा र जिब्रो कमाउँछन् ।

विद्यालयको पाठ्यपुस्तक बनाउने काम लरतरो होइन र हतारमा गरिने काम पनि होइन । यसको जिम्मेवारी नलिएको भए सायद पहिलो मस्यौदा बुझाएर हाम्रो जिम्मेवारी सकिइसकेको हुन्थ्यो । तर पाठ्यपुस्तकलाई फलदायी बनाउनुछ  । दिगो बनाउनुछ । १ कक्षादेखि ८ कक्षासम्मका करिब २५० वटा पाठहरू रातारात १५ दिनमा तयार हुने कुरै होइन । झन् यो त स्थानीय विषयको पाठ्यक्रम । कसैको कपि गर्न मिल्दैन । स्थलहरू भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिको गहन जानकारी लिएर मात्र पाठ्यपुस्तकमा तथ्य राख्‍न मिल्ने हो । हावादारी गफ लडाएर हुने कुरा होइन ।

पारिश्रमिकले भने हाम्रो कामको मूल्याङ्कन पटक्कै नभएको देखिन्थ्यो । ५ दिन मात्र आउने र ८० दिन लगातार खट्नेको पारिश्रमिकमा खासै अन्तर नहुँदा हाम्रो साह्रै चित्त दुखेको थियो । तर भोलि पाठ्यपुस्तकमा केही कमीकमजोरी देखिँदा मनलाल र म नै उत्तरदायी हुनुपरेकोले स्वयमसेवक सरह खटिरहेका छौँ ।

दिउँसो प्रकाशले आमाको तिथि साउन १ गते र बुबाको तिथि ११ गते परेकोले परम्पराअनुसार तिथि कता गर्ने भनेर राय माग्यो । ठुल्दाइ र मैले यतै तिथि गर्ने भनेर सुनाएँ ।

बेलुका ८ बजेदेखि भर्चुअल रूपमा भानु जयन्ती मनाउने कार्यक्रम थियो । रुकुमेली वाङ्‍मय अधिष्ठानको आयोजनामा कार्यक्रम गर्ने भनी पूर्व तयारी थियो । बेलुका बत्तीको स्थानीय लाइन आएन । केन्द्रीय लाइन पनि आउने जाने गरिरहेको थियो । भर्चुअल साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन अध्यक्ष भूपेन्द्रा मल्ल पनि खासै इच्छुक देखिनुहुन्न । रुकुमेली वाङ्‍मय अधिष्ठानका कार्य समितिकै सदस्यहरू अधिष्ठानले चलाएको कार्यक्रममा उपस्थित हुँदैनन् ।

देवकुमारीको इन्सुलिनका औषधिहरू दाङबाट ल्याइदिन इभी चालक ठाराढुङ्गाका हरिशङ्कर रावललाई भनेका थियौँ । उनले उनले बेलुका साढे ७ बजे आइपुगेको बताए । देवकुमारीलाई औषधि ल्याउन जाऊ भन्दा उनले मानिनन् ।  म आफै गएँ । तर १ घण्टा कुर्नुपर्‍यो । ८ बजेदेखि भर्चुअल भानुजयन्ती मनाउने कार्यक्रमको होस्ट म आफै थिएँ । बत्ती पनि आउने जाने गरिरहेको थियो । हरिशङ्करले मेटफर्मिन मात्र ल्याइदिएछन् । इन्सुलिन पाइएन भने । म औषधिहरू लिएर घर फर्किएँ । एकछिन भूपेन्द्रा मल्ल म्याडमसँग कुराकानी भयो बत्ती गइहाल्यो । फैरि बत्ती आउँदा सवा नौ बजिसकेको थियो । औपचारिकता मात्र निभाउने हो कि भनेको नजोडिने मात्र होइन कसैले फोन नै उठाउनुभएन ।

२०८३ असार ३० गते  मङ्गलवार

सोलाबाङ रुकुम

आज पनि बिहान उठेर सिम्रुतुतिर लागेँ । आज हिजोअस्तिभन्दा झन् पाइताला दुखेकोले घरबाट सडकमा ओर्लन निकै सकस भयो । एक पाइला चाल्न नसकेकोले सडकको छेउमा बसेर गाडी कुरिरहेँ । अटो आएकोले त्यही अटोमा चढी सिम्रुतु पुगेँ ।

बेलुका घरमा फर्किँदा देवकुमारीले सुत्ने कोठापट्टिको भित्तामा निलो कलर पोत्दै रहिछन् । मैले भित्ताको स्कर्टिङमा रातो पोतेँ । काम सकेर खाना खाँदा बेलुकाको १० बज्यो ।

२०८३ असार ३१ गते  बुधवार

सोलाबाङ रुकुम

आज देवकुमारीले सिम्रुतु नजानुस् घरमै बस्नुस् भनेकीले उनको कुरा फाल्न आवशयक ठानिनँ । जाने तयार भएर पनि रोकिएँ । मनलाल सरलाई आज खुट्टा बढी दुखेकोले आउन सकिनँ भनेर खबर गरेँ । देवकुमारीलाई शर्त गराएको थिएँ म घरमै बस्ने हो भने काम पुगेन यो गर त्यो गर भनेर केही भन्न पाइँदैन । पाठ्यपुस्तकको अन्तिम प्रति बुझाउन ढिला भइसकेको छ । उनी राजी भए पनि एक्लै काममा खटिने र घरी घरी आउँदै यो भएन ऊ भएन भन्न छोडिनन् । कचकच गरिरहनेभए म अहिल्यै सिम्रुतु जान्छु भनेर थर्काएँ पनि ।

दिउँसो पुण्य भट्टराई सरले कुरा गर्न खोज्नुभएको थियो तर फोनको टावरले काम नगरेकोले कुरा हुन पाएन । खुट्टाको घाउ सन्चो हुने छाँट नदेखाएकोले घाउ सुकाउने चुडामणि बुढाको मेडिकलबाट घाउ सुकाउने औषधि खान सुरु गरेँ ।

यो पटक आमाको तिथि साउन १ गते परेकोले हाम्रो पुरेत श्याम शर्मालाई जुटाउनुपर्ने सामग्री बारे सोधपुछ गरेँ ।

देवकुमारीको इन्सुलिन आइनपुगेको र दाङबाट ल्याउन पठाउँदा पनि इन्सुलिनको कलम फिर्ता आएकोले फेरि कसलाई भन्ने भनेर तनाव भइरहेको थियो । देवीले पनि २ गते आउँछु भनेकोले ल्याएर आइदिनू भनेर ढुक्क भइयो ।

देवकुमारीले एउटा पर्समा राखेको मङ्गलसूत्र हराएको र त्यो मङ्गलसूत्र पक्का पनि काम गर्न आउनेले लगेको भनी शङ्का गरिरहिन् । मैले अन्तै परेको होला भनी सम्झाइरहेँ । उनले आफ्नो जिद्दी छोडिनन् । बेलुका टीकाराम दर्माली किचेनमा राखेको स्ल्याब झिक्न आए । देवकुमारीले मङगलसूत्र हराएको गुनासो पोखिन् । टीकाराम अलि विचलित व्यवहार देखाइरहेको अनुमान गरेँ । उनले पनि कतै परेको होला हेर्नुहोला । बाहिरको कोही आएर लग्यो कि भने । देवकुमारीले कोठाभित्र अरू कोही पनि नपसेको अडान लिइन् । उनले त्यो सक्कली सुन नभएर नक्कली भएको पनि बताइन् । उनी फर्किए ।

बेलुका उनको फोन आयो । झुलमा लटपटिएर आफ्नै घरमा आएको रहेछ म अर्को दिन ल्याइदिउँला भनेर । मलाई ताजुब लाग्यो । लगिसकेपछि उनी किन आफै साविती भए अनौठो कुरा भयो । मैले लगेकै छैन भनेर जिद्दी गरेको भए हाम्रो केही लाग्ने थिएन ।

राति १२ बजेसम्म बसेर पाठ्युस्तकको परिमार्जनको काम गरेँ । माथिको कोठा लिपपोत गरेर चिसो भएकोले तल्लो कोठामै सुत्यौँ ।

२०८३ असार ३२ गते  विहीवार

सोलाबाङ रुकुम

देवकुमारी बिहान ५ बजे नै उठेर सालको पात टिप्ने र पाइएमा च्याउ ल्याउने भनेर पोखरी वनतिर गइन् । म उठेर नित्यकर्महरू सकी सिम्रुतुतिर लागेँ । घरबाट काप्रिवासमा रहेको ३ मिनेटको बाटो हिँड्दा पनि पाइताला दुख्यो । स्कुटी चढेर आउँदै गरेकी चन्द्रा बहिनी भेटिएकोले उहाँसँग म सिम्रुतुमा पुगेँ । मनलाल सर अस्तिदेखि सिम्रुतु नै बस्नुभएको थियो । सिम्रुतु पुगेर कक्षा ५ को युनिट ३ सम्मको मेल मनलाललाई गरिदिएँ । एउटैले हेर्दा आफ्ना गल्तीहरू सबै नदेखिने भएकोले उहाँलाई तथ्यगत वा शाब्दिक त्रुटि भए सच्याउने जिम्मा दिएको थिएँ ।

म कक्षा ५ को बाँकी युनिटको परिमार्जनमा लागेँ ।

दिउँसोतिर नविन विभासको फोन आयो । ऐतिहासिक साहित्यिक र संस्कृति अनुसन्धान सम्बन्धी करिब आधा घण्टा फोन वार्ता भयो ।

देवीले देवकुमारीको इन्सुलिनको औषधि सुर्खेतभरि कतै नपाइएको जानकारी गराइन् । इन्सुलिन ल्याउने अन्तिम विकल्प पनि समाप्त भएको हुँदा मन निकै आत्तियो । देवकुमारीले बिहान बेलुका इन्सुलिन लाइरहेकोले सुगरको अवस्था नियन्त्रणमा आएको छ । नियन्त्रणमै छ कि छैन भनेर जाँच भएको पनि छैन । नकारात्मक असरहरू नदेखिएकोले नियन्त्रणमै होला भन्ने अनुमान छ । तर इन्सुलिन लगाउन छोड्नेबित्तिकै गम्भीर समस्या उत्पन्न हुनसक्छ भन्ने कुरा जानकारी नै छ । अब कसलाई ल्याउन लगाउने होला भनेर चिन्ता फेरि बढ्यो ।

२ बजेतिर स्थानीय सिँगारू नाचको फोटोहरू खिच्न धनसिङ ओली कृपाराम ओलीलाईहरूलाई बोलाइएको थियो । म भने सोलाबाङ फर्कनुपर्ने भएकोले गइनँ । अटो चढेर सोलाबाङ आएँ । मसँग ५०० रुपैयाँ थियो अटोले खुद्रा छैन भनेकोले सोलाबाङ बजार नै पुग्नुपर्ने भयो । बजार जाँदा खिमबहादुर ओलीको भाँडा पसलमा तिरनतारन बाँकी भएकोले पसेँ ।

उनले पहिल्यै प्लास्टिक किन्दाको पैँसा बाँकी भएको खाता देखाए । काठमाडौँ जाँदा मैले सबै पैसा तिरिदिएको थिएँ । तर प्लास्टिकको पैसा काटेनछन् । तिरेको हुँ भन्दा पनि बाँकी छ भनेर जिद्दी गरे के लाग्यो र । ड्रम स्टान्ड बालुवा छान्ने जाली र बाँकी पैँसा गरी ३३६५ तिर्नुपर्ने देखियो । अनलाइन तिरौँला भनेर आएँ ।

अस्ति दाङबाट इन्सुलिन ल्याइदिने नवराजका जुवाइँ सोलाबाङको बजारमा भेट भएकोले पुनः उनलाई नै अनुरोध गरेँ । देवकुमारीलाई कलम र पैसा छिटो छोड भनेर बजारमा पठाएँ ।

भोलि आमाको तिथि । आज कपाल खौरनुपर्ने । दिन नबुर्दै कपाल खौरने र त्यसपछि खाना नखाने परम्परा छ । देवकुमारीलाई छिटो रोटी हाल्न पठाई दुधरोटी खाएँ । कइनपानीबाट ठुल्दाइ आउनुभयो । ठुल्दाइको कपाल मैले खौरिदिएँ र मेरो ठुल्दाइले । जेठा जेठान, होम सम्धी र दोकाने मानबहादुर काका पनि घरमा आउनुभयो ।  पारिवारिक तथा सामाजिक कुराकानी भए । बेलुका धन दिदी पनि रोटी खान आउनुभयो ।

Loading

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts