×

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

दुवाकोट भक्तपुर

बिहान काठमाडौँतिर जानुपर्ने भएकोले ५ बजे नै निद्रा खुल्यो । नातिले हिजो नै भोलि यतै बस्नुहोला पर्सि मात्र काठमाडौँ जानुहोला बुबा भनेका थिए । तर काठमाडौँ मेरो जरुरी काम परेको बालक प्रवीरलाई के थाहा । उनी सुतिरहेका थिए । उठाउँदा रुने भएकोले उठाइनँ । जुवाइँ पनि हेटौँडा जाने भन्दै हुनुहुन्थ्यो । उहाँ उठ्नुभयो । हातमुख धोई चिया सातु खाउन्जेल ६ बज्यो । जुवाइँले नारायणगढसम्म पुर्‍याइदिनुभयो । एउटा काठमाडौँतिर जाने हाइस तयार भइरहेको रहेछ । म त्यसैमा बसेँ । अघिल्ला सिटहरू भरिए पनि बिचका र पछिल्ला सबै सिटहरू खाली नै थिए । म बिचमा बसेँ । बसचालकले यात्रुहरू खेरिरहे । बिचका सिटहरू पनि भरिए । पछिल्ला सिटहरू २ वटा मात्र खाली थिए । ३ जना यात्रुहरू काठमाडौँ जानलाई आइपुगे । चालकले मलाई पछिल्लो सिटमा बस्न भन्यो । मैले मानिन । पहिल्यै बिचमा बसिसकेको छु पछाडिको सिटमा मेरो ढाड दुख्छ म पछाडि बस्दिनँ भनेँ । उसले कि पछिल्लो सिटमा बस नत्र झर भन्यो । म गाडीबाट झरेँ र अर्को गाडी खोज्न थालेँ । अर्को गाडी पनि काठमाडौँ जानलाई तयार भएको रहेछ । बिचमै सिट पाइयो । उसलाई पनि भनेँ अघिल्लो गाडीले बिचमा बसिसकेकालाई पछाडि बस भन्यो । तपाईँले पनि पछि नै सार्ने हो कि ? उसले बिचको सिटको टिकट नै काटेर दियो । म बिचकै सिटमा बसेँ ।

नारायणघाटमा चालकहरूको लागि एउटा यात्रु छुट्दै र चढ्दैमा केही फरक पर्दैन । यसै गरी यात्रुलाई पनि एउटा गाडी छुट्दैमा कुनै फरक पर्दैन भन्ने कुराको म साक्षी भएँ । गाडी आरामदायक नै थियो । सायद अघिल्लो गाडीमा म पछाडि सरिदिएको भए वा जिद्दी गरेर त्यही गाडीकै  बिचमा बसेको भए पनि यति आरामदायी हुन्नथ्यो जस्तो लाग्यो ।

नारायणघाट त नारायणघाट नै भइहाल्यो सोलाबाङको पुरनलाहोरे भान्जाले पनि एक महिनाअघि देवकुमारी र मलाई यस्तै व्यवहार गरेका थिए । हामी दाङ जाँदै थियौँ । सोलाबाङबाट हामीलाई आफ्नो चढाएर सिम्रुतुसम्म ल्याए । सिम्रुतुमा एक हुल यात्रुहरू भेटिए । ती सबैले एउटै गाडीमा चढेर जाने जिद्दी गरे । हाम्रो नाताभन्दा उनको लागि भाडा ठुलो भयो । हामीलाई सिम्रुतुमै झारिदिए र उनीहरूलाई चढाएर दाङतिर लागेका थिए ।

नारायणघाटबाट करिब ७ बजे छुटेको गाडी ननस्टप हुइँकिइरहेको थियो । गाडीको रफ्तार निकै तेज थियो । ठुला साना गाडीहरूलाई उछिन्दै अगाडि बढिरहेको थियो । पछाडिका यात्रुले पिसाब लाग्यो भन्दै थियो तर चालकले सुनेनन् वा रोक्न आवश्यक ठानेनन् । गाडी मलेखु पुगेपछि मात्र रोकियो । गाडी रोकिनुपहिल्यै पछाडिका वयोवृद्ध यात्रुले पाइन्टमै तुर्काइसकेछन् । गाडी गन्हाउन थालेपछि पर्फ्युम छर्केर र झ्यालका सबै ढोका खोलेर दुर्गन्धलाई कम गर्ने प्रयास गरे ।

नारायणघाटबाट चढेका र आफ्नै छेउमा बसेका एकजना यात्रीलाई कतै चिनेचिनेजस्तो लागिरहेको थियो । तर बोलाउन सकिरहेको थिइन । मैले चिनेको भए त उनले पनि मलाई चिन्थे होलान् र बोलाउँथे होलान् भनी म चुप्पै रहेको थिएँ । उसो त गाडीमा म चिनेकै मान्छेसँग पनि बात मार्दै हिड्ने खालको परिन ।

मलेखु ओर्लिएर पिसाब फेरेर फेरि गाडी चढेपछि भने उनले आफ्नो परिचय दिए । कानुन मन्त्रालयबाट भर्खरै उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी रहेछन् । घर पूर्वतिर रहेछ । नारायणघाटमा एक कार्यक्रममा बोलाएकोले कार्यक्रम सकेर आएको बताए । परिचयपश्चात् गाडीवालाहरूले र ट्राफिकवालाहरुले पालना गर्नुपर्ने नियम कानुन र आचारसंहिताको बारेमा कुरा गरे । बोलीमा खासै अहंकार थिएन । हसिलो मिजासका थिए । तर आफ्नै कुरामात्र गर्नुपर्ने । गाडीमा उनी कुशल वक्ताको लागि प्रस्तुत भए म असल स्रोताको रूपमा । एकोहोरो बोलिरहे । म पनि कर्मचारी नै थिएँ भनेर परिचय दिएपछि उनको भाषण राजनीतिक र प्रशासनिक विकृतितिर मोडियो । राज्यले भ्रष्टाचारीहरूलाई अझै चिन्न नसकेको बताए । भ्रष्टाचारीहरूलाई एक एकलाई पाता कस्नुपर्ने बताए । यस्तै बेथितिले नै राजनीतिक परिवर्तन भएको बताए ।

उनले आफ्नो काठमाडौँको बसोबासको पनि परिचय दिए । बत्तीसपुतलीतिर बस्दा रहेछन् । बत्तीसपुतलीमा एउटा साढे तीनतलाको घर रहेछ । अर्को घर सिनामङ्गलको केएमसी अस्पत्ताल नजिकै रहेछ जुन भाडामा रहेछ । सानोगौचरणमा भने १ रोपनी मात्र जग्गा रहेछ । बच्चाहरू अमेरिका र अष्ट्रेलियातिर रहेछन् ।

नभनुँ भन्दा भन्दै पनि काठमाडौँजस्तो महङ्गो ठाउँमा रिङरोडभित्रै जग्गा किन्न र घर किन्न पुग्ने कमाइ त कानुन मन्त्रालयतिर पनि राम्रै हुँदो रहेछ भन्ने आशयको प्रश्न फुस्किहाल्यो । उनले भने आफू त इमान्दार र स्वच्छ कर्मचारी परियो । वर्षमा एक दुई करोडभन्दा बढी कहिल्यै हात लागेन । त्यही पनि टिएडिए र कार्यक्रम चलाएको पैसा मात्र हो । कमाउनेले त वर्षमा पचासै करोड कमाइदिन्छन् भन्न पनि बाँकी राखेनन् । हाम्रो अगाडिकी महिलाहरूले ब्याक मिररबाट उनको अनुहार हेरिरहेको जस्तो लागेकोले मैले किताब पढ्ने निहुँले उनका हरेक व्याख्यामा अँ अँ मात्र भन्न थालेँ ।

मलाई उनले गरेका यी कुरा नौलो लागेन । मेरै समान तहका एउटै ब्याची साथीहरूले पनि रक्सी खाएको बेला यस्तै कुराहरू फुस्काउँथे । जस्तै नराम्रो अफिसमा पुगेकाले पनि वार्षिक पचास साठी लाख कमाएको फुइँ हाँक्थे । कमाइ राम्रो हुने सडक, अर्थ मन्त्रालय र आयोजनातिरका साथीहरूले त छोइछिटो नै गर्थे । चिनेपनि बाहिरी सर्कलका कर्मचारीहरूलाई झिँगापिउँसा सरह व्यवहार गर्दथे ।

कलङ्की आइपुगेपछि उनले फेरि भेटौँला भन्दै कसिलो हात मिलाएर बिदा भए ।

हिजो यस्तै अर्का यात्री फेला परेका थिए । उनी मेरो अगाडि र म पछाडिको सिङ्गल सिटमा परेकोले धेरै बातचित त हुनपाएन । उनी रोल्पातिरका रहेछन् । मंगोलियन अनुहार र पर्वते फेसनले पनि उनी गाउँबाट आएको प्रष्ट थाहा हुन्थ्यो ।

उनले मलाई सिट कसरी पछि ढल्काउने, कसरी झ्याल खोल्ने ? कसरी बन्द गर्ने ? दाङबाट बुटवल कति टाढा छ ? एसी भनेको केहो ? नारायणगढबाट कता लागे काठमाडौँ पुगिन्छ ? भनेर सिकाइरहेका थिए । उनको कुरा सुन्नेहरूले हामी दुबैलाई गँवार ठान्दथे । मुखामुख गरेर हाँस्दथे । रिचार्ज गर्ने ठाउँमा गाडी रोकिँदा उनी मलाई समातेर बाहिर लान्थे । जहाँ पिसाब फेर्न गयो त्यहीँ जान्थे र अन्टसन्ट प्रश्न सोध्थे । शौचालयको ढोकामा टाँसेको चित्र हेरेर मात्र भित्र पस्न सचेत गराउँथे । खाजा खान म जता बस्थेँ उनी त्यतै आइपुग्थे र त्यही टेबुल नजिक बसेका अरू यात्रीहरू उठेर पर पर भाग्थे ।

म नारायणघाट ओर्लँदै गर्दा काठमाडौँ आइपुगेकै छैन किन झर्छौ भनी झोलाहरू तानेका थिए । मेरो गन्तव्य यहीँसम्म हो भनेपछि उनी भक्कानिएका थिए ।

कलङ्कीमा केही बेर जाम परे पनि ४ घण्टामै चितवनबाट काठमाडौँ आइपुगेका थियौँ । मकालु पेट्रोलपम्प अगाडि ओर्लँदा ११ बजेको थियो । त्यहाँबाट भक्तपुरे लोकल बसमा चढी सल्लाघारीतिर लागेँ । दुवाकोटमोडस्थित आफ्नो निवासमा पुग्दा दिउँसोको १ बजिसकेको थियो । देवकुमारी र परीक्षित घरमै थिए । जेठानहरू पनि उपचारको लागि यतै आउनुभएको रहेछ । कुराकानी भयो ।

दिउँसो कतै गइएन । जेठानहरू सानोठिमीस्थित सुशीलको घरतिर लाग्नुभयो ।

Loading

Post Comment

You May Have Missed