×

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

भरतपुर चितवन

आज पछिल्लोचोटि दैनिकी लेख्न सुरुवात गरेको ठिक ३ महिना पुगेको छ । माघ २७ गतेदेखिको मेरो दैनिकी लेखन प्रयासले निरन्तरता पाएकोमा आत्मसन्तुष्टि मिलेको छ । उसो त दैनिकीमा महत्त्वपूर्ण कुराहरू केही नहुन सक्छन् । तर अन्य नयाँ विषयवस्तु नपाउँदा यही दैनिकीको आधारमा भोलि कला भरेर केही रचना सिर्जना गर्ने आधार तयार भएको छ । यसलाई जीवनकालसम्म निरन्तरता दिने प्रयास गर्नेछु । परिस्थिति सधैँ आफ्नो वशमा नहुन पनि सक्ला । त्यो समयले नै प्रमाणित गर्ला

आज चितवनतिर लाग्ने कार्यक्रम भएकोले अन्तस्करणले ३ बजे नै उठायो । ५ बजे तुलसीपुर चोकमा पुगे वीरगन्जतिर जाने गाडी भेटिने सम्भावना हुन्थ्यो । अस्तिको पालि देवकुमारी र म तुल्सीपुरबाट चितवन जाँदा वीरगन्जतिरको गाडीमा चढेका थियौँ । यात्रा निकै सजिलो भएको थियो । ५ बजे तुलसीपुरको मुख्य चोक वीरेन्द्रचोकमा पुग्नको निम्ति पौने ५ बजेतिर हिँडे पुग्थ्यो । ४ बजे उठे पनि पौने घण्टामा तयारी पुग्थ्यो ।

म उठेर बाथरुमतिर छिरेँ । सासु काँस्नुभयो । बाथरुमबाट निस्कँदा पनि काँस्नुभयो । ३ बजे नै उठेर त के काम भनी म कोठामा गएर सुतेँ । उठ्दा सवा ४ बजिसकेछ । पुनः बाथरुम गएँ । सासूले ब्युँझै भएको प्रमाण स्वरूप काँस्नुभयो । मैले हातमुख धोएर दाँत माझ्ने र दारी काट्ने काम सकी हिजो छरेका लुगाहरू खेरेर झोलामा खाँदेँ । ४ बजेर ३५ मिनेट जाँदा सबै तयारी पुग्यो । १० मिनेट बाँकी नै छ भनेर मोबाइलमा नेट खोलेँ । पौने ५ बजे यात्रा प्रारम्भ गर्नुपर्नेछ भन्ने नै भुसुक्कै भुलेछु । ५ बज्नलाई १० मिनेट बाँकी रहँदा झल्याँस्स सम्झिएँ र हतार हतार निरा र सासूसँग बिदावारी भई झोला र थैलो बोकेर बाहिरिएँ ।

निराले म पुर्‍याइदिन्छु भन्दै हेलमेट लगाएर मूलद्वारमा आइपुगिन् । उनकै सहायताले म वीरेन्द्रचोकमा पुगेँ । चोकमा पुग्नेबित्तिकै नारायणगढ थाहा पाएको हुँदा हाइस गाडीका खलासीले मेरो झोला समातेर भित्र राखिहाले । मलाई पनि डोर्‍याउँदै पछिल्तिरको सिट देखाए । हाइसमा अगाडि र पछाडिको सिटमा कति धेरै अन्तर हुन्छ र ? म पछिल्लो सिटमा बसेँ । न गाडी नम्बर हेरिएको छ न बाहिरबाट गाडी कस्तो छ भनी हेरिएको छ । बस्नेबित्तिकै गाडी घोराहीतिर कुदिहाल्यो ।

अघिल्लै दिन टिकट लिइसकेका एकजना यात्री तुल्सीपुरमै छुटेका रहेछन् । सहचालकको मोबाइलमा ती यात्रीको विवाद घोराही जाउन्जेल चल्यो । घोराही झन्डै आधा घण्टा गाडी रोकियो । छुटेकी महिला यात्री रहिछन् आइपुगिन् । गाडीमै एकछिन विवाद भयो । उनले अघिल्लो सिटको टिकट काटेकी रहिछन् । तर उनी छुटेको भनी अघिल्लो सिटमा अर्कैलाई बसालिएछ । छुटेकी महिलाकी साथी लमहीबाट चढ्ने कार्यक्रम रहेछ । यता छुटाए पनि लमही पुगेपछि समातिने भएकोले गाडीले छुटेका यात्रीलाई पर्खेको रहेछ ।

घोराहीदेखि लमहीसम्मै बाटो विस्तारको काम चलिरहेको रहेछ । बाटो असाध्यै साँगुरो हुँदा दुर्घटना भइरहन्थ्यो । अब चौडा सडकमा यति दुर्घटना नहोला भनी अनुमान गरेँ । लमही पुग्दासम्म चालक सहचालक र करिब करिब सबै यात्रीहरू चिनिइसकेका थिए ।

लमहीमा केही यात्रीहरू झरे । केही चढ्ने क्रममा थिए । यसै बेला पारिपट्टि सार्वजनिक शौचालय दृष्टिगोचर भएकोले रोकिएको गाडीको फाइदा उठाउने सुर जागेकोले म ओर्लिएँ र चालक र सहचालकलाई म पिसाब फेर्न गएको छु है एकछिन रोक्नुहोला भनेँ र शौचालयमा छिरेँ । शौचालयको सदुपयोग पिसाब फेरेर मात्र के गर्नु भनी लङट्वाइलेट गर्न थालेँ ।

गाडी छुट्ने डरले तुरुन्तै बाहिरिएँ । पैँसा तिरेँ । गाडी खोज्न दौडिएँ । एउटा गाडी अगाडि रोकेको देखी त्यता गएँ । त्यहाँभित्र हेर्दा न यात्री न चालक नै चिनेका छन् । यो गाडी आफ्नो होइन भनी अर्को गाडी खोज्न थालेँ । वारिपारि अघिपछि जतातै हेरेँ सेतो रङको हाइस अर्को त्यहाँ कतै थिएन ।

रोकिराखेका हाइस र गाडीवालाहरुलाई अर्को काठमाडौँ जाने हाइसको नम्बर थाहा छ कि भनी सोधेँ । अरू कसैले थाहा नभएको बताए । गाडी नम्बर नै नहेर्ने र गाडीवालाको मोबाइल नम्बर नै नलिने कस्तो यात्री हौ भनी झन् मलाई नै उल्ल्याए ।

गाडी भागेको ठानी म निकै हतासिएँ । गोजीमा अब दाङ फर्किने भाडा जति मात्र बाँकी थियो । ल्यापटप सहित अरू लुगालत्त राखेको ब्याग र घरबाट सकी नसकी बोकी ल्याएको गहुँ मेथी र चना हालेको बोरा पनि त्यही गाडीमा थियो ।

मलाई लाग्यो अब सबथोक हरायो । म निकै हतासिएँ । धन्न मोबाइल त आफैसँग थियो तर बिचबाट गाडी चढेको हुनाले दाङका कुनै काउन्टरवालाको नम्बर थिएन । मैले एउटा गाडीवालालाई काउन्टरको नम्बर मागेँ । उनले भने दाङबाट त दर्जनौँ हाइसहरू काठमाडौँको लागि छुट्छन् । सम्भव त छैन । कि गाडीवालाको नाम थाहा भए पनि पत्ता लगाउन सकिन्थ्यो ।

जति बसवाला यात्रु र टिकट काट्नेहरुलाई सोध्थेँ कसैले पनि थाहा नभएको बताउँथे । मैले मेरो सबै सामान हरायो भन्दै गुहार गर्दा पनि कसैले संवेदनासमेत प्रकट गरेनन् ।

सामान पनि हरायो र आफू पनि बेवारिसे भइयो भनी चिन्ताले मेरो ओठमुख सुक्यो । लमही बजार तिरिमिरी देखियो । सबै ठगैठग जस्ता मात्र देखिए ।

उपाय त केही गर्नै पर्‍यो भनीकन विस्तृत विवरण लमहीको मुख्य बस काउन्टर रहेको बस टर्मिनलतिर कुदेँ । त्यता जाँदै गर्दा एकजना यात्री शौचालयबाट निस्कँदै गरेको देखेँ । ती यात्री त चिने चिनेका जस्तो लागे । अगाडि एउटै बसमा आएका यात्री जस्तो लाग्यो ।

उनी हरियो गाडीतिर लम्किए । म पनि उतैतिर लम्किएँ । नभन्दै चिनेकै चालक सहचालक र यात्रीहरू त्यहीँ थिए ।

भित्र छिरेर हेरेँ आफ्नो सिट र झोला त्यहीँ थिए । बल्लै हतारिएछु भनी लाज लाग्यो । मैले गाडी चढ्दा र झर्दा बसको रङ समेत याद गरेनछु । हरियो रङको गाडीमा चढेको रहेछु तर शौचालयबाट निस्कँदा अगाडि हरियो रङको गाडी देखेर त्यो आफू चढेको गाडी होइन भन्ठानी सेतो रङको गाडी खोज्दै भौँतारिएछु ।

मैले जे नाटक देखाएको थिएँ त्यो अलि परै भएकोले यस गाडीका यात्रु र चालकहरुको अगाडि रातो मुख पार्नुपरेन ।

गाडीको रफ्तार निकै तेज थियो । अरू गाडीले लमहीबाट भालुबाङ पुग्न नै करिब १ घण्टा लगाउँथे तर यसले २० मिनेटमै भालुबाङ पुर्‍याइदियो । भालुबाङ पुग्दा गाडी सबै भरिइसकेको थियो । लमहीबाट १ घण्टा नबित्दै चन्द्रौटास्थित इभी गाडी चार्जिङ स्टेशनमा पुर्‍यायो । गाडी चार्ज गर्न डेढ घण्टा लाग्यो ।

यतातिर पनि सडक विस्तारको काम धमाधम भइरहेको रहेछ । बुटवलदेखि अगाडि भने सडक जताततै बिस्तार भएर पिच समेत भइसकेको रहेछ । बुटवलबाट डेढ घण्टा लाग्ने दाउन्ने पुग्न ४० मिनेट मात्र लाग्यो ।

दाउन्नेको भागको काम सम्पन्न हुन थोरै मात्र बाँकी देखियो । १२ बजे हामी कावासोती काटेर लौकाहा पुगिसकेका थियौँ । लौकाहामा फेरि गाडी चार्जमा राख्यो । लौकाहामा पुग्दा अत्यन्तै गर्मी चढिसकेको थियो । चार्जिङ स्टेशन राख्नेहरूले अब नयाँ नयाँ होटेल पनि खोल्न थालिसकेका रहेछन् । चार्ज गर्ने ठाउँमा ओर्लिएका यात्रीहरूले खाना लगायत केही न केही खाने नै भए । चालकहरूको नयाँ सम्पर्क स्थापित भयो । राजमार्गमा यात्रीहरूकै भरमा चलेका पुराना होटेलहरू सुके । नयाँ होटेलहरूले कमाउने मौका पाए ।

पुराना होटेलहरू भने महा ठगहरू हुन्थे । भातमा सोडा मिसाएर एक गास खाँदैमा यात्रीको पेट ढुस्स भइहाल्थ्यो । बासी दाल भात र तरकारी बलजफ्ती भिडाउँथे । ३० रुपैया पर्ने चाउमिनको यात्रुलाई ठटाएर १५० लिन्थे । फुल खानाको १०० हुँदा कसैले हाफ माग्यो भने ९५ रुपैयाँ ठटाउँथे । यसरी करोडपति बनेका होटलेहरू अहिले अरबपति भएर ठुलो ठुलो लगानी गरिरहेका होलान् ।

अब भने त्यस्तो अवस्था छैन । यात्रु पनि अलि सजग भएका छन् । हिजोआजका होटलेहरूले पनि मन त्यति सारो निष्ठुरी छैन जस्तो लाग्छ । खाना खाने ठाउँमा स्वच्छ दाल भात तरकारी पाइन्छ । सोडा हालेको थाहा पाइएको छैन । खानाको विकल्पमा अन्य खानेकुराहरू थुप्रै पाइन्छन् ।

लौकाहामा खाना त मिठै थियो तर गाडीलाई फुल चार्ज गर्न २ घण्टा लाग्यो । चार्ज गर्ने समयमा अमर शाहको गाउँ छोडेको कविता सङ्ग्रह पढेर समय काट्न उपयुक्त ठानेँ । कविताहरू पढ्दै जाँदा रस बढ्दै गयो । सारै मिठा कविताहरूको रसस्वादन गरियो । जिउबाट जेठमासको पहिलो पसिनाको धारोले जम्मै लुगा भिजिरहेको थियो । जति पानी पिए पनि मुख प्याक्प्याक्ती सुकिरहेको थियो । गाडीको छत तातिएर बीबीक्युमा झुन्डिएको मृत बोकातुल्य भएर २ घण्टा जसोतसो कटाइयो ।

त्यहाँबाट नारायणघाट पुग्न २० मिनेट पनि लागेन । बुटवल नारायणघाटको बाटो बन्ने क्रममा बाह्र वर्षसम्म यात्रीहरुले निकै सास्ती खाए । कसैले यो प्रगति हेर्न नपाएर ज्यान फालिसके होलान् । जे होस् अबका नयाँ यात्रीहरुले सहज रूपमा यात्रा गर्न पाउने भए भन्ने कुराले खुसी तुल्यायो ।

काठमाडौँ जाने गाडीले नारायणघाटमै छोडिदियो । त्यहाँबाट अटो लिएर चितवनको पिपलचोकस्थित छोरी अस्मिताको डेरामा आइयो । जुवाइँ पनि यतै आउननुभएको रहेछ । छोरी नाति जुवाइँ र आमा सम्धिनीसँग भेट भयो । सुखदुखका कुरा र आआफ्ना घरतिरको सन्चोबिसन्चोको आदान प्रदान गरियो ।

नातिले हनुमान चालिसाका केही पङ्क्तिहरू कण्ठस्थ गरेका रहेछन् । सुनाए । महाभारतका कथाहरू पनि सुनाए । हाम्रो पालामा महाभारतका कथा थाहा पाउन जुनी बिताउनुपरेको थियो । तर अहिलेका बच्चाहरूले ५ वर्षकै उमेरमा थाहा पाइसक्छन् । मलाई निकै खुसी लाग्यो ।

Loading

Post Comment

You May Have Missed