×

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

सोलाबाङ

आज बिनारामकै घरबाट खाना खाएर ९ बजे घरमा आइपुगेँ । विभिन्न समयमा खाना खाएर जुठै थन्क्याइएका भाँडाहरू माझेँ । ड्रममा पानी रित्तिएकोले पानी भरेँ । खेतमा थुप्रिएको गहुँको भुसमा खेतमा रहेका जिलौटाहरू सङ्कलन गरेर जलाएँ । तल्लो पाटोको बारीको २ मेलोजति झार उखेलेँ ।

अबेरतिर देवी आइन् । आउनेबित्तिकै निराले आमा बिरामी भई अस्पत्तालतिर लिन थालेको भनी फोन गरेको खबर गरेपछि उनी बाटैबाट फर्किइन् । देवी फर्किनेबित्तिकै डम्बर चन्द्रा अधिश र बनिस्पा आए । अस्ति नै सङ्कलन गरेर थुपारिएको चनाको झाङ चुटेँ । चन्द्रा चना कलाइदिइन् । डम्बरहरू फर्किएपछि बिनारामले केराको २ वटा बेर्नाहरू ल्याइदिएकोले एउटा घरपछाडि र अर्को घरमुनि खाडल खनेर लगाएँ । ढिकमनि लगाउने भनेर लगेका थियौँ चिन्ताराम जेठानले लगाएको केरा सुकिसकेको अवस्था देखेर यस बेर्नालाई पनि खेर फाल्न भएन भनी घरछेउकै पाटामा लगाएँ ।

बेलुकातिर भाउजू आउनुभयो । होम सम्धी पनि आउनुभएको थियो । भाउजूले कमला बुहारीले घाँस काटिदिएकै विषयमा गुनासो गर्न थाल्नुभयो । सम्धीको आडले कमला बुहारीप्रति नभई हामीमाथि पनि आक्रोश पोख्नुभयो ।

हिजो मेथीलाई चुटेर भुसैसँग राखेको थिएँ । रात परेपछि हावा चल्न थालेकोले मेथी ओसाउने र कलाउने काम गरेँ । मेथी कलाउँदा कलाउँदै दर्किएर पानी पर्न थालेपछि भात र उसिनेको साग पकाएर खाँदा राति १० बज्यो । रातभर हावाहुरी र चट्याङसहितको पानी पर्‍यो । बत्ती गएकोले एक्लो घरमा केही डर पनि लाग्यो । सितिमिती निद्रा लागेन । आज अस्ति प्रकाशित कथाको बारेमा फोन आएन । सायद पीडित पक्षभित्र भित्रभित्रै आगो सल्किँदै पो छ कि ?

Loading

Post Comment

You May Have Missed