×

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सिम्रुतु रुकुम

बिहानै उठेर लुगाहरू धोएँ । नित्यकर्म सकेर १० वटै वडा भ्रमणको लागि यात्राको प्रारम्भ भयो । स्थानीय पाठ्यपुस्तक निर्माणको लागि भौगोलिक तथा सामाजिक अवस्थाको अवलोकन गर्नु, पाठ्यपुस्तकको लागि महत्त्वपूर्ण फोटोहरू स्थलगत रूपमै लिनु र त्रिवेणीको अवस्थितिको निर्क्यौल गर्नु रहेको थियो । स्थानीय अधिकारीहरुको उद्देश्य भने विकास निर्माणको कामको अनुगमन गर्नु पनि रहेको थियो । यात्रा टोलीमा गापा अध्यक्ष गणेश केसी, मनलाल ओली, नरसिँह ओली, त्रिवेणीका शिक्षा अधिकृत मानबहादुर विश्वकर्मा, शिक्षा कर्मचारी खिमविक्रम केसी र चालक विश्व झलकलगायत म थियौँ । हामीहरू समुन्द्री सतहबाट १११० मिटर उचाइमा रहेको सिम्रुतु खोला तरेर पालिकाको गाडीमा बिमैचातिर उक्लियौँ ।  

सिम्रुतु रुँघा सडक हुँदै कोरबाङ खोलातिर अगाडि बढ्यौँ । हामी कोरबाङबाट देब्रे मोडिएर छोडेर बर्खेटाकुरा डाँडा जुम्लेपोखरी बिमैचा तलीगाउँ हुँदै २००० मिटर उचाइको बिमैचा माथिगाउँ पुग्यौँ । बिमैचाको सुन्तला बारीले आकर्षित गर्‍यो । त्यहाँबाट बेतखोलाको बालविकास केन्द्रमा छिर्‍यौँ । बेतखोलाबाट बारकोटे लेकको बिच हुँदै गैरीनेटा पुग्यौँ । बेतखोलाको पाखाबाट पारिपट्टि ७ वटा चुचुराहरू देखिए । सायद अरू ५ वटा चुचुराहरू समेत गरी बाह्रवटा कोट भनिएको हो कि भनी अर्थ्यायौँ ।

समुन्द्री सतहबाट २,१०४ मि. उचाइमा रहेको गैरीनेटामा पुगेर माध्यमिक विद्यालयको अवलोकन गर्‍यौँ । गैरीनेटा गाउँमा सफा र सुन्दर घरहरू बनाइएका रहेछन् । हामीलाई खाना खुवाउने व्यवस्था पनि गैरीनेटामै सर्वजीत केसीको घरमा गरिएको रहेछ । छिटो गर्नको लागि ढिँडो पकाउन लगायौँ र बाह्रकोटको चुचुरोतिर लाग्यौँ ।

२,२२८ मि. उचाइमा रहेको बारकोटे धुरीमा जनयुद्धकालीन बङ्करहरूका अवशेषहरू थिए । अलिकित पर सहिद स्तम्भको भग्नावशेष थियो । पहिले ढुङ्गा माटोको अग्लो स्तम्भ बनाइएको रहेछ उतिबेला सुरक्षाकर्मीले भत्काइदिएका रहेछन् । बारकोटबाट मुसीकोट बाँफीकोट त्रिवेणी र सानीभेरीका अधिकांश ठाउँहरूलगायत उत्तरतिर रुकुम डोल्पा र बाग्लुङका हिमालहरू समेत देखिँदा रहेछन् । सिम्रुतुबाट हामी २ नम्बर वडामै थियौँ ।

हामी ढिँडो खाएर  बाँदरपानीतिर लाग्यौँ । यात्रामा हेडसर चन्द्रमणि ओली र भीमदत्त थपिए ।  २,१६६ मि. उँचाइमा रहेको बाँदरपानी वरिपरि अग्ला थुम्काहरू र बिचमा तारजाली लगाइएको पोखरी रहेछ । पोखरीलाई ढलान गरेर जोगाउन खोज्दा झनै पोखरी सुकेको रहेछ । जिल्लाकै सबैभन्दा पुरानो युनिसेफले बनाइदिएको पानी ट्याङ्की पनि त्यहाँ देख्यौँ । बाँदरपानीको पाखैभरि लसुनबारी देखियो । बाँदरपानीबाट कालापोखरा नजिकै भए पनि मोटरबाटोले नजोडिएकोले हामी टाकुराको थाप्लोमा चहुर बनेर थपक्क बसेको दहभागेतिर झर्‍यौँ ।

दहभागेको बाटोमा चट्टानको भित्तोबाट ठुलै जुर खसेर बाटो ढाकेको रहेछ । हतौडा, घन र सप्पलले जुरको बाटोपट्टिको भागलाई फुटाएपछि बल्ल गाडी छिर्ने बाटो खुल्यो । नजिकै झोलुङ्गे पुल बनिरहेको र गाउँमा पनि निर्माणको कामहरू गर्नको लागि र त्यस्ता निर्माणका काममा आवश्यक पर्ने गिट्टी बेच्नको लागि केटाकेटी तथा महिलाहरू पहाडको चट्टानी भित्तो कोट्याएर ढुङ्गाहरू निकाली गिट्टी बनाउँदै रहेछन् । भित्ता कोट्याउँदा कोट्याउँदै कतै गुफाकारका दुला बनिसकेका थिए । माथि ठुलाठुला जुर मुस्किलले अड्किएका र त्यसको मुनि काम गरिरहेको देखेर आकस्मिक दुर्घटनाबाट बच्नुपर्ने सल्लाह दियौँ ।

२,००० मि. उचाइमा रहेको दहभागेमा पुगेर भागेको दह हेर्न गाउँतिर लाग्यौँ । दहभागेको पोखरी पनि सुकेको अवस्थामा भेटियो । यो त्रिवेणीको १ नम्बर वडा थियो ।

दहभागेबाट माथितिर कालापोखरातिर उक्लिँदा बल्लेजुरा बोक्सीथला किम्मुगैरा आदि गाउँ देखिए । हामी  लिफ्टसिँचाइ योजना पनि देखियो ।

हामी लग्र गाउँबाट उकालो लागेर मसानेगैरा तथा सुपेगैराको तलतली निकै बाक्लो रानीवनमा विभिन्न घुम्तीमा घुम्दै कालापोखरा (२,३७२ मि.) उक्लियौँ । कालापोखराको पोखरी पनि मान्छेको अतिक्रमणले खुम्चिएर सुक्नै थालेको अवस्थामा थियो । सीमाना बजारको अवलोकन गर्दै हामी रोल्पाको भूमिमा प्रवेश गर्‍यौँ ।

रोल्पाका सिरुवाली, राक्सेबाङ, सुपाकुना, पन्चासे, थुनी, जुमाराङ्सी, साहित्यकार नवीन विभासको गाउँ नन्दबहादुर पासाङको गाउँ राङ्सीलगायतका ठाउँहरू हेर्दै रोल्पाको परिवर्तन गाउँपालिकाको बागखोर गाउँ हुँदै जिलाधुरीतिर उक्लियौँ । बाटैभरि राम्रो आलुखेती देखियो । केही माथि पुगेपछि सानो खोला पार गर्‍यौँ । यो खोला तेह्रकुने तालबाट आएको थियो ।

केही उकालिएपछि हामी रोल्पाको सुकीदह पुग्यौँ । यसको दायाँपट्टि रुकुम पश्चिमको त्रिवेणीको सबैभन्दा अग्लो २७०५ मिटर उचाइको जिलाधुरी थियो । यो त्रिवेणीको वडा नं १ र ५ अन्तर्गत पर्दोरहेछ । हामी रोल्पा र रुकुमको ठिक बिचैबिच डाँडैडाँडा हुँदै दक्षिण पश्चिमतिर हानियौँ । सडक शिखरको थाप्लै थाप्लो खनिएकोले रुकुम र रोल्पाका अधिकांश भागहरू देखिन थाले ।

अलि पर बडेमानका धुपीहरूको जङ्गल भेटियो । नामै जुम्लेधुपी (२६२५ मि.) भनिँदो रहेछ । त्योभन्दा अगाडिबाट देब्रेपट्टि रोल्पाको गंगादेव गाउँपालिकाको रातामाटा, राँकखोला, बल्ले, जाया, जिनाबाङ, तालाबाङ, मछाइने, पुत्लीडाँडा, र दायाँपट्टि त्रिवेणीकै ५ नं र ४ नं वडाहरू पर्नेरहेछन् । केही समयपछि लाममेला (२४५० मि.) भन्ने सानो बजारमा पुग्यौँ । त्यहाँबाट केही ओर्लिएपछि किलाठोके (२३१६ मि.) र अझै पर डल्सिँगे बजार (२२६२ मि.) भेटियो । हामी घरी रुकुमको भूभागमा त घरी रोल्पाको भूभाग हुँदै अगाडि बढ्दै थियौँ । डल्सिँगेको थोरै पर पुगेपछि सुवाटोड्केको सानो बजारमा पुग्यौँ । यो बजारमा रोल्पाको सीमा समाप्त लेखिएको सहिद स्मृति गेटबाट छिरेपछि सल्यानको बागचौर नगरपालिकाको भूभागमा पस्यौँ ।

पहिले यो बाटो बारम्बार हिँडेका मनलाल र गणेश सरले यो ठाउँमा पहिले जङ्गल मात्र रहेको तर अहिले नयाँ बस्ती देखेर अच्चम्म मान्नुभयो । तलतिर सल्यानका बाँफुखोला ओख्रेनी पातीहाल्ना आदि गाउँहरू देखिए । जङ्गलै जङ्गल केही पर पुगेपछि रुकुमको सुकीदह (२२४० मि.) भेटियो । सिम्रुतु र आसपासका क्षेत्रहरूबाट वनभोज खान आउने प्रसिद्ध स्थल हो यो । पानीको सुविधा पनि छ । मनलाल सरले यहाँको पानी असाध्यै मिठो भएकोले गाडीबाट ओर्लेर पानी खान सुझाउनुभयो तर हामीहरूको समय घर्किँदै गएकोले गाडी रोकिएन ।

देब्रेतिर खाराको दयालेक/राङ्गोमारे (२३८० मि.) खौला १९६५, झुल्नेटा.

 पार्दै हामी खौला (१९६५ मि.) झर्‍यौँ ।  झनखानी (२०८१ मि.) लाई देब्रेतिर पारेर राप्ती लोकमार्गको पक्की सडक हुँदै एकैछिनमा रुकुमको प्रसिद्ध बजार झुल्नेटा (१९२२ मि.) मा पुग्यौँ । यो बजार त्रिवेणीको वडा नं ३ र ६ को बिचमा पर्दो रहेछ ।

झुल्नेटामा शहिद स्मृति सङ्ग्रहालय पार्कको गेट त बारम्बार देखेका थियौँ तर पार्कभित्र छिर्ने अवसर कसैलाई मिलेको थिएन । हामी गाडीबाट ओर्लेर पार्क पनि हेर्ने भनी उकालोतिर लाग्यौँ । स्मृति पार्कको प्रवेशद्वार नै निकै विशाल रहेछ । ३ जना किशोरीहरू प्रवेश टिकट काट्न बसेका थिए तर गणेश सरले अनुगमन टोली हो भनेपछि टिकट काट्नुपरेन । त्यहाँबाट ओहोरदोहोर गर्ने रेलिङ लगाइएको निकै फराकिलो सिँढी चढ्दै माथि गयौँ । माथि बाल उद्यान बन्दै गरेको रहेछ । त्यहाँबाट अझै पर गयौँ । त्यहाँ सङ्ग्रहालयको विशाल भवन (२००० मि.) निर्माणाधीन अवस्थामा रहेछ । अझै पर टावर पनि बन्ने क्रममा देखियो ।

फर्किँदा टिकट काट्ने बहिनीबाट दर्ता पुस्तिका माग्यौँ । २०८०।०७।२० गतेबाट दर्ता गर्न थालिएका पर्यटकको सङ्ख्या १२३४ लेखिएको देखियो । तर उक्त सङ्ख्या १६५० जति हुने अनुमान गर्‍यौँ । अहिले दिनमा लगभग पाँच सातजना अवलोकनकर्ता मात्र जाने गरेको देखियो । तथापि निर्माण सम्पन्न भइसकेपछि रुकुमकै नमूना सङ्ग्रहालय बन्ने र धेरै पर्यटकको ध्यान खिच्ने सम्भावना देखियो ।

मलाई लागेको थियो यो युद्ध सङ्ग्रहालयमा हेर्नको लागि युद्धका सामग्रीहरू राखिइसकेको होला । तर माथि पुगेपछि मात्र थाहा भयो । भवन बन्दै रहेछ र सम्पन्न हुन अझै केही वर्ष लाग्नेछ ।

सङ्ग्रहालयको बन्दै गरेको बाहिरी कङ्काल मात्र हेरेर हामी झुल्नेटामा फर्कियौँ । झुल्नेटाको छेउमै रहेको युवा जागरण माविमा टीकाराम खडका सरले फलफूल खुवाउनुभयो।

झुल्नेटाबाट अब हामी ६ र ७ नम्बर वडाको बिचैबिच हुँदै अगाडि बढ्यौँ र सल्यानको दार्मा गाउँपालिकाको भूभागमा पस्यौँ । केही परबाट सडक फेरि रुकुम र सल्यानका लेकाली सीमाना हुँदै पश्चिमतिर लाग्दै गयौँ । केही पर भेरीपोखरा (२०३० मि) को डाँडामाथिको गाउँ भेटियो । यो त्रिवेणीको वडा नं ८ मा पर्दोरहेछ  अझै पर बाज्ने (२००५ मि) भन्ने ठाउँ भेटियो । यहाँ दशैँतिहारको बिचमा ठुलो मेला लाग्दो रहेछ । मेलामा सल्यान र रुकुमका मान्छेहरू मेला भर्न आउँदा रहेछन् ।

बाध्नेबाट अझै अगाडि बढेपछि चौरबाटा (१९३२ मि) भन्ने ठाउँमा पुग्यौँ र त्यहाँबाट ओरालो झर्‍यौँ । अब त्रिवेणीको वडा नं ९ सुरू भएको थियो । एकैछिनमा  नुवाकोट डाँडा (१७४७ मि.),आइपुग्यौँ । गाडीमा झुल्नेटाबाट नुवाकोट डाँडा पुग्न आधा घण्टा पनि  लागेन ।

यहाँबाट बल्लेजुरी (१८९७ मि.), खामेधुरी (२०७३ मि), ९ नं. निपाने (२०६५ मि.) झारपोखरा (१९८६ मिटर) हाम्रो सन्मुख नै देखिए । बल्लेजुरी हुँदै टोड्के पुग्ने हाम्रो लक्ष्य भए तापनि आकाशमा कालो बादल मडारिन थालेकोले बदलिँदो मौसमको अगाडि यात्रा कमजोर र कठिनाइ हुने निष्कर्ष निकाल्यौँ । ठाउँहरूलाई नजिकैबाट अवलोकन गर्दै हामी गैरीखेत झर्‍यौँ । केही अगाडि बढेपछि सालघारी भन्ने ठाउँमा पुग्यौँ । यो त्रिवेणीको १० नं वडा पर्दोरहेछ । यहाँ सहिदहरुको नाम लेखिएको ठुलै स्तम्भ क्षतिग्रस्त अवस्थामा सडकको छेउमा पन्छाइएको देखियो । यहाँ ड्रागन खेती आलु खेती प्रशस्त मात्रामा भएको रहेछ । खेतैभरि लहलह झुलेको गहुँ काट्न मान्छेहरू व्यस्त थिए । त्रिवेणीको सबैभन्दा बढी कृषि उत्पादनशील क्षेत्र मानिँदो रहेछ यसलाई । यहाँबाट काइँयाखोलाको किनारै किनार अगाडि बढ्यौँ । भँयाराथान (११३३ मि.) बाट अगाडि मुसीकोट नगरपालिकाको १२ नम्बर वडा पर्दो रहेछ । हामी सोलाबाङको नजिकै रहेको ठाँटीबजारबाट पुल तरेर पुनः राप्ती लोकमार्ग हुँदै त्रिवेणीको सबैभन्दा होचो स्थान रातापहर (११३३ मि.) स्थित प्रवेशद्वारबाट छिरेर सिम्रुतुतिर पुग्यौँ । हाम्रो यात्रा पूर्वयोजनामुताबिक त्रिवेणीका सबै वडाहरूको भूभाग टेक्दै र हेर्दै एक चक्कर लगाएर सफल भएको थियो ।

माया होटेलमा पुग्दा विद्यार्थी र शिक्षकहरूको खचाखच रहेछ । भोलिदेखि सुरु हुने कक्षा १२ को परीक्षाका परीक्षार्थी र शिक्षकहरू रहेछन् । सिम्रुतु पुगेको एकैछिनमा हावाहुरी र चट्याङसहितको मुसलधारे वर्षा बर्सिन थाल्यो । बिजुली बत्ती हिजैबाट गएकोले प्रायजसोको मोबाइलमा चार्ज सकिएको थियो ।र बत्तीका कुनै विकल्पहरू बाँकी नरहेकोले परीक्षार्थीहरूले कसरी परीक्षा दिने होलान् भन्ने चिन्ता लाग्यो ।

खाना खाइसकेपछि दिनभरको यात्राको अत्यधिक थकानलाई विश्राम दिने काम भयो ।

Loading

Post Comment

You May Have Missed