×

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

सोलाबाङ रुकुम

बिहान उठेर आँगनमा थुप्रिएको गहुँको भुस बारीमा फाल्ने काम भयो । बजारबाट दुध ल्याएर चिया बनाएँ । आँगन सफा गरेँ । बेलुकालाई समेत पुग्ने गरी खाना पकाएँ । तल्लो पाटीमा झार उम्रिएर अस्तिको महिना लगाएको बोटे सिमी बोडी मकै र स्कुसको बेर्नालाई ढाकेको थियो । झार फाल्ने प्रयास गरेँ । १ घण्टासम्म उखेल्दा पनि मेलो नसरेको र थकाइ पनि बढ्दै गएकोले झार गोड्ने काम एक्लै सम्भव नदेखी शालिग्राम ओली भाइलाई खबर गरेँ । उनको आज कतै काम रहेनछ । बोलाउनेबित्तिकै आइहाले । दुबैले मिलेर झार उखेल्न थाल्यौँ ।

शालिग्राम भाइले दिउँसो अर्नी खाएर दिनको ८०० ज्याला लिन्छन् । अर्नी नखुवाउने हो भने १००० दिनुपर्ने हुन्छ । तसर्थ उनलाई खाजाको निम्ति चाउचाउ लिन सोलाबाङको बजारतिर गएँ । बजार जाँदा सोलाबाङको स्कुल पनि पस्ने इच्छा पलायो । त्यहाँ गए माइला जेठान र देवीसँग पनि भेट हुन्थ्यो । परिशीलन प्रतिष्ठानको तर्फबाट विद्यार्थीहरूलाई दिने भनेको छात्रवृत्ति रकमको बारेमा पनि छलफल गर्न हुन्थ्यो र लोकबहादुर केसीबाट आँठीघरे मेलको वंशज विवरण पनि टिप्न हुन्छ भनेर स्कुलमा पस्ने निर्णय गरेँ ।

२०२९ साल फागुन १ गते सोलाबाङ स्कुलमा म १ कक्षामा भर्ना भएको थिएँ । म मात्र नभएर मेरा २ जना दिदी धन र मन तथा १ जना दाइ कर्ण गरी ४ जना एउटै कक्षामा भर्ना भएका थियौँ । पढ्नमा मन दिदीसँग कम्पिटिशन हुन्थ्यो । हाम्रो पालामा प्राइमेरी स्कुल ३ कक्षामा झरेकोले नयाँ शिक्षाअनुसारको शिक्षा लिन हामी सोलाबाङबाट ८ किलोमिटर टाढा रहेको यमुना नन्द नमुना स्कुल सेरीगाउँमा जानुपर्‍यो । स्कुल जाँदा साथमा बरियो लान्थ्यौँ र जङ्गलमै छोड्थ्यौँ । दिदीहरूले स्कुलबाट फर्कँदा सालको घाँस ल्याउनुहुन्थ्यो । दाइले र मैले सल्लाको खोटो झर्को र सिम्ता खोजेर ल्याउँथ्यौँ र त्यसैको उज्यालोले राति पढ्थ्यौँ ।

सोलाबाङ स्कुलमा त्यो बेला मेरै ठुलामा खड्कबहादुर खडका हेडमास्टर हुनुहुन्थ्यो र काइँलाबा तुलाराम ओली शिक्षक हुनुहुन्थ्यो । स्कुलमा पस्दा ३ वटा विशाल भवन र अगाडिको चहुरले पुरानो सम्झना दिलायो । स्कुलको शिक्षक कोठाको भित्ताभरि स्कुलको इतिहास लेखेर राखिएको रहेछ । पहिलेका शिक्षकहरू, सञ्चालक समिति, प्रधानअध्यापक र एसएलसी उत्तीर्ण हुनेहरूको विवरण । रुकुमका जिल्ला शिक्षा अधिकारीहरूको नामावली लेखिएको भित्तो भने दराजले आधा छोपिएको रहेछ । मलाई इतिहास जान्न मन लाग्यो र घुमी घुमी फोटो खिचेँ ।

यस विद्यालय स्थापना हुनुभन्दा पहिले सोलाबाङमा घुम्ती विद्यालयमा (कुनै घर वा गोठलाई विद्यालयको रूपमा प्रयोग गरी पढाइने) अध्यापन गर्ने शिक्षकहरूमा १, राम बहादुर खड्का २. प्रेमप्रकाश शर्मा 3, चुडामणी शर्मा ४, धर्मराज पुन र ५. तिलकबहादुर मल्लको नाम अङ्कित रहेछ । रामबहादुर खडका मेरो ससुरा हुनुहुन्थ्यो ।

विद्यालय स्थापना कालदेखि हालसम्मका प्र.अ.ज्यूहरूको नामावली

नाम

  • श्री खडक बहादुर खड्का २ सम्म (२०२४/७/१-२०३१/१०/२०)
  • श्री भूपेन्द्र बहादुर पुन (२०३१/११/१-२०३२/३/३०)
  • श्री इन्द्रप्रसाद गौतम (२०३२/४/१-…..)
  • श्री गोपेन्द्र पौडेल (२०…..)
  • श्री कृष्णप्रसाद शर्मा (२०…..)
  • श्री मिनबहादुर पुन (२०३८/३/१-२०४१/११/१)
  • श्री लोकबहादुर पुन (२०४१/११/२-२०४२/३/१/निमित्त)
  • श्री नारायण प्रसाद पोख्रेल  (२०४२/३/२…..)
  • श्री डिला पुन (….निमित्त)
  • श्री कैलाश खत्री (२०५०/१/२६-२०५५/५/१६)
  • श्री भक्तबहादुर खड्का (२०५५/५/१६-२०५७/६/३०/निमित्त)
  • श्री टेकबहादुर पाण्डे (२०५७/७/१-२०६२/३/३१)
  • श्री भक्तबहादुर खड्का (२०६२/४/१- हालसम्म)

जेठान भक्तबहादुर खडका पनि यही २०८२ बैशाख २१ गतेदेखि अनिवार्य अवकाश हुँदै हुनुहुन्छ । उहाँले २२ वर्षसम्म हेडसरको भूमिकामा रही काम गरेको देखिन्छ ।

विद्यालय स्थापना कालदेखि हालसम विद्यालयको सञ्चालक समिति र व्यवस्थापन समितिका अध्यक्ष हुनेहरुमा

  • श्री कलु खड्का (२०२४/४/१५/-२०४८/४/१५) संस्थापक
  • श्री बालाराम पुन (२०४८/४/१५ २०५०/४/१५)
  •  श्री केशवीर खड्का (२०५०/४/१५-२०५२/४/१५)
  • श्री जवाहर शर्मा (२०५२/४/१५-२०५४/४/१५)
  • श्री बुद्धिराम के.सी (२०५४/४/१५-२०५८/४/१५)
  • श्री योगमायाँ ओली (२०५८/४/१५-२०६०/४/१४)
  • श्री मानबहादुर ओली (२०६०/४/१५-२०६२/४/१४)
  • श्री तिलकराम शर्मा (२०६२/४/१५-२०६४/६/१७)
  • श्री होमबहादुर खड्का (२०६४/६/१८-२०६८/५/१०)
  • श्री दिपकराज खड्का (२०६८/५/१०-२०७१/२/३)
  • श्री लोकबहादुर ददेल (२०७१/२/३-२०७३/६/३०)
  • श्री होम बहादुर खड्का (२०७३/७/१-२०७६/३/३१)
  • श्री लोक बहादुर ददेल (२०७६/४/१-२०७८/११/३० का.बा.)
  • श्री मोहन खड्का (२०७८/११/३०-२०८२/०२/०७)
  • श्री घमण्ड कुं. खड़का (२०८२/०२/०७ – हालसम्म)

उल्लिखितमध्ये छैठौँ नम्बरमा रहनुभएकी विद्यालय सञ्चालक समितिकी अध्यक्ष योगमाया ओली मेरी आमा हुनुहुन्छ र झन्डै विद्यालयको ६० वर्षे इतिहासमा महिला अध्यक्ष पनि मेरी आमा मात्र हुनुहुँदो रहेछ ।

आमाको नाम देखेर मलाई गर्वको महसुस भयो ।

यस विद्यालयमा सेवागरी विद्यालय छोड्नुहुने शिक्षक शिक्षिकाहरूको

  • श्री खडकबहादुर खड़का (खलङ्गा-६, रुकुम)
  • भुपेन्द्रबहादुर पुन (खलङ्गा-६, रुकुम)
  • तुलाराम ओली (खलङ्गा-६, रुकुम)
  • कल्पना पुन (भलाक्चा-३, रुकुम)
  • भूपेन्द्रा मल्ल (खलङ्गा-३, रुकुम)
  • गीता मल्ल (खलङ्गा-३, रुकुम)
  • द्रोणराज पुन (खलङ्गा-६, रुकुम)
  • इन्द्रप्रसाद गौतम (खलङ्गा-७, रुकुम)
  • कृष्णप्रसाद शर्मा (खलङ्गा-७, रुकुम)
  •  देवी पुन (खलङ्गा-६, रुकुम)
  •  निशा पुन (खलङ्गा-७, रुकुम)
  • धनबहादुर खडका मगर (खलङ्गा-६, रुकुम)
  • गोपेन्द्र पौडेल (दाङ)
  • पूर्णबहादुर ओली (खलङ्गा-६, रुकुम)
  • बुद्धिराम केसी (खलङ्गा-६, रुकुम)
  • लक्ष्मण शर्मा (खलङ्गा-६, रुकुम)
  • पुस्कर गौतम (खलङ्गा-६, रुकुम)
  • मन्जित ओली (छिबाङ-४, रुकुम)
  • यज्ञबहादुर ओली (छिबाङ-९, रुकुम)
  • वीरबहादुर ओली (छिबाङ-२, रुकुम)
  • नारायणप्रसाद पोखरेल (बिजौरी-६, दाङ)
  • मोतीराम ओली (छिबाङ-९, रुकुम)
  • मीन प्रसाद कुमाई (कोटजहारी, रुकुम)
  • मुकुन्द शर्मा (खलङ्गा-६, रुकुम)
  • मीनबहादुर पुन (खलङ्गा-६, रुकुम)
  • डिला पुन (खलङ्गा-६, रुकुम)
  • लोकबहादुर खडका (खलङ्गा-६, रुकुम)
  • टीकाप्रसाद पुन (भलाक्चा-४, रुकुम)
  • निशा ओली (खलङ्गा-६, रुकुम)
  • लोकबहादुर पुन (खलङ्गा-६, रुकुम)
  • कामेश्वर यादव (मल्हनिया-२, सर्लाही)
  • कुलप्रसाद ओली (भलाक्चा-७, रुकुम)
  • खेमराज खडका (खलङ्गा-९, रुकुम)
  • विमलकुमार शर्मा (खलङ्गा-६, रुकुम)
  • नरबहादुर ओली (छिबाङ-४, रुकुम)
  • यमबहादुर पुन (खलङ्गा-६, रुकुम)
  • रामलाल गौतम (भलाक्चा-१, रुकुम)
  • टेकबहादुर पाण्डे (बिजौरी-६, दाङ)
  • शत्रूघ्न सिँह (फुल्काहा कट्टी-१, सिराहा)
  • मोहनलाल केसी (खलङ्गा-५, रुकुम)
  • वीरबहादुर ओली (खलङ्गा-६, रुकुम)
  • रुद्रबहादुर नेपाली (खलङ्गा-५, रुकुम)
  • चन्द्रलाल जैसी (बाघमारे, दाङ)
  • सुशीला बिस्ट (चौखाबाङ-८, रुकुम)
  • दिपेन्द्र रावल (पेउघा-२, रुकुम)
  • दिवाकर दाहाल (ललितपुर)
  • कैलाश खत्री (खलङ्गा-९, रुकुम)
  • श्यामसुन्दर ठाकुर  (नहरा रिगौल, सिराहा)
  • निर्मला खडका (खलङ्गा-६, रुकुम)
  • गणेशबहादुर केसी (शान्तिनगर-४, दाङ)
  • चन्द्र परियार (सिम्ली-८, रुकुम)
  • दुर्गाबहादुर ओली (खलङ्गा-६, रुकुम)
  • मोहन पुन (मुसीकोट-४, रुकुम)
  • प्रेमप्रकाश दाहाल (झुला-, रुकुम)
  • डोरेन्द्रप्रसाद यादव (सिराहा)
  • खड्कबहादुर केसी (आठबीसकोट-, रुकुम)
  • दुर्गा ओली शर्मा (मुसीकोट-४, रुकुम पश्चिम)
  • जुनिता खडका ओली (मुसीकोट-४, रुकुम पश्चिम)
  • दीर्घनारायण रावल (मुसीकोट-४, रुकुम पश्चिम)
  • सावित्रा ओली (मुसीकोट-४, रुकुम पश्चिम)
  • शैलेन्द्रकुमार ओली (मुसीकोट-१२, रुकुम पश्चिम)
  • ईश्वरी ओली खडका (मुसीकोट-४, रुकुम पश्चिम)
  • खड्कबहादुर रावल (मुसीकोट-४, रुकुम पश्चिम)
  • मनकुमारी ओली (मुसीकोट-४, रुकुम पश्चिम)
  • पूर्णबहादुर ओली (गङ्गादेव-२, रोल्पा)

यो अभिलेख ३ वर्षभन्दा पुरानो हुनुपर्छ । अहिले यो सङ्ख्या बढेको होला । माथि क्रमसङ्ख्या १४ मा लेखिएको शिक्षक म नै हुँ ।

२०४० सालमा सोलाबाङको हेडसर मीनबहादुर पुन हुनुहुन्थ्यो । विद्यालय सञ्चालक समितिका अध्यक्ष कलु खडका हुनुहुन्थ्यो । सोलाबाङको दरबन्दी रिक्त हुँदा दुबैजनाले मलाई सो दरबन्दीमा राख्ने प्रस्ताव गर्नुभएको थियो । तर उक्त दरबन्दीमा मेरो जेठान लोकबहादुर खडकाले रहन चाहनुभएको थियो । लोकबहादुर खडका मेरी श्रीमती देवकुमारीको सहोदर दाइ हुनुहुन्थ्यो । उति बेला देवकुमारीकै मुख हेरेर मैले सोलाबाङमा बस्दैन भनेको थिएँ र म रातामाटा पढाउन गएको थिएँ । यसैगरी स्थायी भएर पदस्थापन हुँदा पनि नजिकै दरबन्दी खाली हुँदाहुँदै पनि माइला जेठान भक्तबहादुर खडका कार्यरत रहेको कैलदेउमा उहाँलाई साथ दिनको लागि मागेको थिएँ ।

कैलदेउमा सो दरबन्दीमा स्थानीय कर्णबहादुर बोहरा कार्यरत रहेकोले उहाँलाई हटाएर बस्नुपरेको थियो । मलाई हाजिरी नगराउन विद्यालय व्यवस्थापन समिति मरिमेटी लागेको थियो तर पछि दरबन्दी नै काटिने सम्भावना बढेपछि बाध्यतावश् मलाई हाजिर गराइएको थियो । कर्णबहादुर बोहरा शिक्षक दरबन्दीबाट हटाइएपछि पिरले गर्दा रुकुम छोडेर दिदीसँग काठमाडौँ बस्नुभयो । त्यतैबाट कर्मचारीमा नाम निकालेर लेखाअधिकृतसम्म पुगी अवकाश हुनुभएको थियो ।

यसरी जति सोलाबाङको स्कुलसँग मेरो साइनो गाँसिएको छ त्यति नै मेरो ससुरालसँग पनि शिक्षण पेशामा साइनो गाँसिएको छ ।

सोलाबाङ स्कुलले मेरो शैक्षिक अवस्थालाई झझल्क्याइदियो ।

स्कुलबाट फर्कँदै गर्दा शिक्षक जनार्दन शर्माले मलाई मुसीकोटको कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक उपलब्ध गराइदिनुभयो ।

घरमा पुगेर पुनः शालिग्राम भाइसँगै गोडमेलमा लागेँ । मध्यान्हमा अर्नीको रुपमा चाउचाउ पकाएर शालिग्रामलाई दिएँ ।

यसै बिचमा नहरमा पानी यत्तिकै बगिरहेको देखेर कुलेसो बनाई तल्लोपाटोको तरकारी खेतीमा सिँचाइ गरेँ । बेलुका बाँकी रहेका गहुँका बाला चुटेर ओसाउने कलाउने काम गरेँ । घरको पश्चिमपट्टिको करेसाबारीमा केराको बोट पनि लगाएँ । शालिग्राम भाइलाई पैसा छुट्टा नभएकोले १००० दिएर पठाएँ ।

राति बिहान पकाएको खाना खाएर नेट चलाउन सम्धी होमबहादुर खडकाको घरमा पुगेँ । उहाँले दही केरा खुवाउनुभयो । एकछिन बसेर पुनः घरमा आई बिछ्यौनामा पल्टिएँ ।

Loading

Post Comment

You May Have Missed