×

२०८२ चैत्र १० गते मङ्गलवार

२०८२ चैत्र १० गते मङ्गलवार

दुवाकोट भक्तपुर

आज बिहान लेखनकुञ्जको कार्यालयमा पुग्दा कुञ्जको आँगनमै पुराना साथी राजन पौडेलसँग भेट भयो । उहाँ अहिले भोजपुरमा सिडियोमा कार्यरत हुनुहुँदो रहेछ । हामी २०६८/०६९ मा सूचना आयोगमा सँगसँगै कार्यर्त थियौँ ।उहाँ शाखा अधिकृत म लेखाअधिकृतको पदमा । केही समयपछि उहाँले उपसचिवमा नाम निकाल्नुभयो । उपसचिवबाट केही समयमै सहसचिवमा नाम निकाल्नुभएको थियो ।

भोजपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि त्यहाँका राजनैतिक दलका नेताहरूलाई चासो हुने नै भयो । उहाँलाई पूर्व मन्त्री  सुदन किँरातीले भेट्न बोलाउनुभएको रहेछ ।सुदन किराँतीको सम्पर्क कार्यालय लेखनकुञ्जभित्रै छ । किराँती आइनपुगेकोले लेखनकुञ्जमा बसेर हामी दुई जनाले विभिन्न साथीभाइहरूको बारेमा कुरा गर्‍यौँ । मुख्यतः मनिता कार्कीकै विषयमा बढी कुराकानी भयो । मनिता कार्की पनि सूचना आयोगमा हामीसँगै कार्यरत हुनुहुन्थ्यो । एक पटक उपसचिवको लिखित परीक्षामा उत्तीर्ण हुनुभएको थियो तर अन्तर्वार्तामा नाम निस्किएन । अत्यन्त सरल स्वभावकी मनिता कार्कीको बिहे २९/३०वर्षको उमेरमा एकजना चिकित्सकसँग भएको छ र दुई भाइ छोराहरू जन्मिएका छन् ।उहाँले मलाई चिया खान मन्त्रालयमा बोलाउनुभएको धेरै दिन बितिसकेको छ । तर मलाई जागिरी छँदा नै  सिँहदरबार छिर्न मन लाग्दैनथ्यो अवकाशपछि झन् सिँहदरबारप्रति वितृष्णा जागेकोले चियाको निम्तो अस्वीकार गरेजस्तै भएको छ । मलाई मनिताको व्यवहार मन पर्ने भएकैले मनिताजस्तै पात्रको कल्पना गरेर मैले यालमाया कथासङ्ग्रहमा पनि केही कथा लेखेको छु ।

सुदन किराँती आइपुगेपछि मैले राजन मेरा साथी हुन् भनेर परिचय दिँदा किराँतीले अनौठो मान्नुभयो र मप्रतिको दृष्टिकोण केही फेरिएजस्तो लाग्यो । राजनजीले आफ्नो जिम्मेवारीहरूको बारेमा विभिन्न घटनाहरू बताउनुभयो । सफलतापूर्वक चुनाव सम्पन्न गर्न सकेकोमा गर्व गर्नुभयो । सुदन किराँतीले मगाएको ब्ल्याक कफी खाँदै गर्दा राजनीति र समाजको सम्बन्धमा छलफलहरू भए ।

मैले गणेश खडका भाइलाई अफिसमा बोलाएको थिएँ । उहाँ आइपुग्नुभएकोले राजन र सुदनलाई छोडेर म गणेश भाइलाई लिन गएँ ।गणेश भाइ इन्जिनियर परिशीलन ओली स्मृति प्रतिष्ठानको आजीवन सदस्य र कार्य समितिका सदस्य पनि हुनुहुन्छ ।माइन्युटमा उहाँका छुटेका हस्ताक्षर गराएपश्चात् गणेशजी र म डिल्लीबजारस्थित नापी कार्यालयमा प्रकाश भाइलाई भेटन् गयौँ । प्रकाशसँग पनि प्रतिष्ठानको विषयमा छलफल गरेर मेरो अफिसतिर फर्कियौँ । बाटोमा राजेश्वर कार्की सरको फोन आयो ।उहाँले मलाई योगेश्वर वाङमय पुरस्कार प्रदान गरिएको र सोको समाचार साहित्य पोस्टमा र बाह्रखरी अनलाइन पत्रिकामा छापिएको बताउनुभयो । तत्पश्चात् बधाई र शुभकामनाको ओइरो चल्न थाल्यो ।

अफिसमा आइपुगेपछि कर्णाली डिस्कोर्सका उपाध्यक्ष एवम् कर्णालीका मूर्धन्य सम्पादक राजबहादुर कुँवर सर मेरो कवितासङ्ग्रहको पाण्डुलिपी लिएर अफिसमा आइपुग्नुभयो ।उहाँसँग दैलेखमा हुने भनिएको कर्णालीको सांस्कृतिक कार्यक्रमको बारेमा छलफल भयो ।

लेखनकुञ्जको काम आज पनि अपेक्षित रूपमा अघि बढ्न सकेन । आजसम्म जम्मा २५००० शब्दको मात्र सम्पादन गर्न सकियो । रातामाटो फुपूका छोरा उदिराम खड्का सिकिस्त बिरामी भई निजामती कर्मचारी अस्पत्तालको आइसीयुमा धेरै दिनपहिलेदेखि अर्धचेत अवस्थामा हुनुहुन्छ भन्ने खबर पाएपछि बेलुकातिर निजामती अस्पत्तालतिर लागेँ । तर बिरामीलाई बिहान साढे ६ बजे दिउँसो ३ बजे र बेलुका ७ बजेपछि मात्र भेट्न मिल्दोरहेछ । नभेटी फर्कनुभन्दा अढाई घण्टा बिरामी कुरुवाहरूसँगै बसेर बिताएँ । उदिरामका माइला जुवाइँ गोपाल ओली भाइ सोलाबाङबाट आइपुगेका रहेछन् । जेठी छोरी र जेठा जुवाइँ कासिराम खत्रीहरू बिरामी कुरुवाको रूपमा बस्नुभएको थियो ।काशिराम र गोपाल दुबैजना मेरा चेलाहरू । उहाँहरूसँग तत्कालीन अवस्था र समसामयिक अवस्थाको बारेमा तातो बहस गर्दा अढाइ घण्टा बितेको पत्तै भएन । बिरामी बाबु भेट्न जापानबाट ठाइँली छोरी पनि आएकी रहिछन् । उनीसँग चिनजान भयो ।

७ बजेपछि कुरुवाले बिरामीलाई भेट्न पाइनेभयो । एमआइसीयको सी ३ बेडमा रहेका भान्दाइलाई भेटन् म भित्र पसेँ । मुखमा अक्सिजन मास्क लगाइएको थियो । १५ दिनसम्मको बिरामीले हाडछाला मात्र देखिन्थ्यो । तर उहाँको होस भने ताजै रहेछ । मलाई चिन्नुभएकोमा खुसी लाग्यो । लामो खोकी लागिरहेकोले धेरै बेर कुरा गर्न सकिएन । बिरामी मान्छेसँग कुरा गर्नु नै के थियो र ।छिट्टै  सन्चो हुन्छ । औषधि र खाना नछोड्नुहोला । यति त हो ।

फेरि भेट्न आउने वाचा गर्दै राति साढे ७ पछि म अस्पत्तालबाट निस्किएँ । बाहिर झरी बेसरी दर्किरहेको थियो ।मसँग छाता थिएन ।पानी रहला कि भनी पर्खिराख्ने कुरा पनि थिएन ।  भिज्दै मिनभवन बसस्टपसम्म पुगेँ । त्यहाँ एकजनाले छाता ल्याएर आफ्नो मान्छे कुरिरहेका रहेछन् ।बस नआउन्जेल उनकै छातामा ओत लागेँ । भक्तपुर ब्यासको बस आएपछि म भक्तपुरतिर लागेँ ।

खाना खाएर छोराछोरी र नातिहरूसँग कुरा गर्दै आजको दिनको बिट मारियो ।

Loading

Post Comment

You May Have Missed