२०८२ चैत्र १९ गते विहीवार
दुवाकोट भक्तपुर
देवकुमारीलाई आज पनि रिङ्टा लागरहेकोले खाना पकाउनमा सहयोग गरेँ र खानपिन गरी समयमै लेखनकुञ्जतिर प्रस्थान गरेँ । लोकेन्द्र बहादुर चन्दबाट लिखित नेपाली कथासङ्ग्रहः पाहुनाघरको अङ्ग्रेजी अनुवाद Guest House अध्ययन गर्नको लागि हिजै कमलजीले मलाई दिनुभएको थियो । लेखक आफैले अनुवाद गरेको उपन्यासको टाइपिङ सेटिङ र सम्पादन लेखनकुञ्जकी कर्मचारी चाहना श्रेष्ठबाट भइरहेको छ र लेखनकुञ्जले नै प्रकाशन गर्दै छ ।
बिजुलीबजारसम्मको बस यात्रामा त्यसै कथासङ्ग्रहका कथाहरू पढ्दै गएँ । पछिल्लो समयमा लोकेन्द्रबहादुर चन्दका लेख रचनाहरू माओवादी जनयुद्धप्रति नै लक्षित हुन्छन् । अनुवाद राम्रोसँग भएको छ । कथाहरू पढ्दा अङ्ग्रेजी लेखकले नै लेखेको अनुभूति हुन्छ ।
अफिसमा पुगेपछि हरि पाण्डेको कृतिको पुनः सम्पादनको काममा लागेँ । कमलजी आएपछि क्यालेन्डरमा राख्ने फोटोहरूको बारेमा पुनः छलफल भयो । नगेन्द्र लामाजीलाई क्यालेन्डर तयार भयो भनेर बोलाएपछि नगेन्द्रजी पनि आइपुग्नुभयो । तर क्यालेन्डरको डिजाइनसमेत सौरभ सापकोटाले नै गर्नुपर्ने रहेछ ।
कमलजीलाई भेट्न सरल, मृदु भाषी र सज्जन व्यक्ति आइपुग्नुभयो । कमलजीले मसँग पनि परिचय गराइदिनुभयो । उहाँ कतारको राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायका संयोजक तथा गैरआवासीय नेपाली संघ र नेपाल व्यवसायी संघ एल.एल.सि.(जी) कतारको कानूनी सल्लाहकार मोहम्मद रमजान अली मियाँ हुनुहुँदो रहेछ ।
आज लेखनकुञ्जबाट अर्थशास्त्र र पर्यटनसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित गरिरहनुभएका व्यक्ति डा सुरेन्द्रभक्त प्रधानाङ्गको श्रीमतीजीको जन्मदिवस मनाउन प्रधानाङ्ग दम्पती लेखनकुञ्जमै आउनुभयो । लेखनकुञ्जका अध्यक्ष कमल ढकालको अध्यक्षतामा मनाइएको उक्त जन्मदिवस कार्यक्रममा प्रमुख अतिथिको रूपमा अलि मियाँलाई नै बनाइयो । प्रधानाङ्गजीले कृष्ण भक्तिधाराको बखान गर्नुभयो । आजको खाजाको व्यवस्था उहाँले नै गर्नुभएको रहेछ ।
त्यसपछि लगत्तै मधेशी आयोगकी सदस्य रेणुदेवी साह आइपुग्नुभयो । उहाँले पनि लेखनकुञ्जको सहयोगमा वन र वातावरणसम्बन्धी पुस्तक प्रकाशन गर्ने चाहना राख्नुभएको छ ।
रेणुजी आउनुभन्दा पहिले नै मेरो क्याम्पसकालीन मित्र सिए दिलमान चन्द आउनुभयो । उहाँलाई बस्दै गर्नुहोस् भनेर म त आफ्नै काममा लागेछु । धेरै पछि मात्र उहाँलाई कुराइरहेको छु भन्ने होस आयो । धेरै बेरसम्म पर्खाउँदा पनि नआएपछि दिलमानजी फर्किसक्नुभयो कि भन्ने डर लागेको थियो तर फर्किनुभएको रहेनछ । मैले कमलजीलाई उहाँको बारेमा बताइदिएँ । लेखनकुञ्जलाई पीपीपी मोडेलमा प्रज्ञा प्रतिष्ठानको रूपमा कम्पनी दर्ता गर्ने सम्बन्धमा कमलजीको र उहाँको छलफल भयो ।
अफिसबाट फर्किँदा पनि लोकेन्द्रबहादुर चन्दकै गेस्ट हाउसका कथाहरू पढ्दै बाटो काटेँ ।
![]()
Post Comment