×

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

दुवाकोट भक्तपुर

आजको दिन महत्त्वपूर्ण घटनाहरूले ओगटे । परीक्षित अफिस जाँदा बिहान खाना पनि नखाई उसको बाइकमा लेखनकुञ्जमा पुगियो ।अफिस पस्दै गर्दा विवशजीले आज त बिदा होला नि सर भन्नुभयो ।बिदाको बारेमा सिर्जनाको पनि सोधनी आएको थियो । मैले तपाईँहरूले दिनहुँ अविराम रूपमा काम गरिरहनुभएकै छ । तोकिएको समयमा आफूलाई जिम्मा लगाइएको काम गर्ने गरी आज सरकारी बिदा पनि भएकोले तपाईँहरूले पनि बिदा मनाउनुहोला भनेर जवाफ दिएँ । लेखनकुञ्जको निम्ति छुट्टै विशेषता भएको क्यालेन्डर तयार गर्न मैले केही सूचनाहरू सङ्कलन पनि गरिसकेको छु ।साथीहरूलाई सान्दर्भिक फोटोहरू पनि सङ्कलन गर्न लगाएको छु ।साथीहरूसँग छलफल गरेर अति आवश्यक बिदाहरूको मोटामोटी निर्धारण गरेका थियौँ । सो बारेमा कमलजीबाट अनुमोदन गराउन बाँकी नै छ । कार्यक्रम र क्रियाकलापहरू निर्धारण गरिएको २०८३ सालको उक्त क्यालेन्डरमा पनि रामनवमीमा बिदा दिइने व्यवस्था गरिएको थियो ।

बिचमा कता के कुराको समस्याले यो काम अड्किएको छ स्पष्ट छैन तर २ दिनमा तयार गर्न सकिने क्यालेन्डर २ महिना बित्नथाल्दा पनि बनाउन सकिएको छैन । लेखनकुञ्जका सबै छपाईका कामहरू नगेन्द्र लामाजीले नै  गर्ने भएकोले नयाँ क्यालेन्डरको ब्ल्याक एण्ड ह्वाइट फर्म्याट उपलब्ध गराइदिन बारम्बार भनिरहेको छु । तर उहाँले भोलि भोलि भन्दा भन्दै आजसम्म पनि प्राप्त  भएको छैन । अफिसकै जिम्मेवार व्यक्तिबाट काम लिनु उपयुक्त हुने भएकोले बजारमा खोज्न जान पनि सकिएको छैन ।नत्र त चैत्र महिनामा क्यालेन्डर छाप्ने काम हरेक प्रिन्टिङ अफिसमा हुने भएकोले १० मिनेटमै उपलब्ध पनि हुनसक्छ ।

बिहान अफिस खोल्दै गर्दा विवशले आज त बिदा हो कि सर भनेर सोध्नुभएको थियो । मैले साथीहरू आएर काम गर्नुभयो भने बिदा हुँदैन आउनुभएन भने बिदा हुन्छ भनिदिएँ ।अनि आज चिया समेत नखाएर आएको छु तसर्थ तपाईँहरूलाई खाना पकाउँदा मलाई पनि थपिदिनुहोला भनेँ ।केही बेरपछि चिया लिएर आउनुभयो र आज त बिदा नै हुनुपर्छ भन्नुभयो ।

बिहानै जानुको तात्पर्य मेरो आफ्नै कामको लागि थियो । निकट भविष्यमा प्रकाशित हुने मेरो कविता सङ्ग्रहको सेटिङ समेत गरी अन्तिम हेरफेरको लागि राजबहादुर कुँवरले मलाई  छिटोभन्दा छिटो फिर्ता बुझाउने गरी प्रिन्ट कपि दिनुभएको थियो । सो काम आज बिहानै सकिएमा दिउँसो लेखनकुञ्जको काम गर्न बाधा हुँदैनथ्यो भन्ने मेरो मनाशय हो ।

मैले उक्त प्रिन्टको शुद्धाशुद्धि हेर्दै गर्दा लेखन कुञ्जमा भुषाल सर आउनुभयो र कमल सरको बारेमा सोधपुछ गर्नुभयो ।मैले कमल सरलाई फोन लगाइदिएँ । उहाँहरू बिचमा कामको बारेमा कुराकानी भयो र कमलजीले मलाई भुषाल बालाई चिया खुवाएर पठाउनुहोला भनी अह्राउनुभयो । मैले भुषाल सरलाई चिया बनाइदिनुहोला भनी विवशजीलाई पहिल्यै भन्दा उहाँले आज त बिदा हुनुपर्ने हो भनेर फेरि सोध्नुभएको थियो । कमलजीले भनिसकेपछि चियाको निम्ति विवशजीलाई फोन मार्फत खबर गर्छु भन्दा उहाँको फोन नै उठेन । भुषाल सर तातो पानी खाएर फर्किनुभयो ।

साढे १० बजेतिर देवकुमारीले खाना खाए नखाएको बारेमा सोधिन् ।मैले चिया पकाउने भाइलाई खाना पनि तयार गरिदिनू भनेको त हुँ तर अहिलेसम्म खाना पाकेको जानकारी नआएकोले खाना पाइने सम्भावना छैन भनी जवाफ दिएँ ।देवकुमारीले ‘खाजा लिनुभएकै छ, त्यही खाँदै गर्नुस् न भनिन्’ । हो त भनी मैले खाजा खानलाई दूध मगाएँ ।दूध पनि आयो तर विवशजीको अनुहार उज्यालो थिएन । बिदामा पनि दुक्ख दिइरहने कस्तो मान्छे होला यो भन्ने उहाँलाई लागिरहेको जस्तो लाग्यो ।सातु बदाम र मसलाहरू मुछिएको खाजा झिकेँ र दूधमा भिजाएर खान थाल्दा चम्चा भेटिएन । चम्चा खोज्न फेरि विवशजीलाई नै खोज्नुपर्नेभएकोले हातैले मुछेर खान सुरु गर्दा लेखनकुञ्जका प्रमुख सल्लाहकार  टङ्कप्रसाद सर आइपुग्नुभयो मैले लाजले हत्तपत्त लुकाई हात चुठेँ ।

के गर्दै हुनुहुन्छ भन्ने उहाँको सोधनीमा मैले आज क्यालेन्डर बनाउन लागेको जानकारी दिएँ । उहाँले क्यालेन्डर त बजारमा थुप्रै पाइन्छन् । हामीले किन गराउनुपर्‍यो  भन्नुभयो । मैले विश्व र नेपाली साहित्यकारहरूको परिचय र जन्मोत्सव उल्लेख गरेर र  घोष्टराइटिङका कामहरूको विज्ञापन राख्दा राम्रै हुने र कर्मचारीहरूलाई दिइने बिदाको पनि सुनिश्चितता हुने बताएँ । उहाँले यो संस्था साहित्यिक मात्र पनि होइन ।सरकारी बिदामा हाम्रा कर्मचारीहरूले पनि बिदा लिएकै छन् भन्नुभयो । मैले तर्कको निम्ति तर्क गरिरहन उपयुक्त ठानिनँ ।म माघ १ गते यस लेखनकुञ्जमा प्रवेश गर्दा बिदाकै दिन थियो । माघमा शनिबारका दिन बाहेक अन्य ४ वटा सरकारी बिदामा सबै कर्मचारीहरू लेखनकुञ्जमा आएर काम गरेकै थियौँ ।फागुनमा रुकुम जानुपूर्व पनि ३ वटा सरकारी बिदामा समेत आएर काम गरेकै थियौँ ।नयाँ काम गर्ने केही होइन भएकै कुरालाई नयाँ तरिकाले काम गर्नुपर्छ भन्नेमा विश्वास भएकोले मलाई यस्ता सिर्जनात्मक कामहरू गर्न मन पर्छ ।

नगेन्द्रजीले भोलि मात्र पठाइदिने भन्नुभएकोले क्यालेन्डरको काम भोलि नै गरौँला भनेर सौरभजीले मलाई बताउनुभयो । क्यालेन्डरकै निम्ति अफिसमा बस्नुपर्ने आवश्यकता रहेन ।तर केपिएनकै काम सक्ने उद्देश्यले फाइल खोलेँ । फाइल खुल्दा फेसबुक खुल्यो । फेसबुकमा एउटा हृदयविदारक घटना भाइरल भएको रहेछ । निजामती सेवामा शाखा अधिकृतको रूपमा कार्यरत त्रिवेणी १० रुकुम पश्चिमका गोपाल ओलीले एक बच्चा र एक बच्चीकी आमा आफ्नी पत्नीलाई खुकुरीले हानेर हत्या गरेछन् ।उनको कुकृत्यलाई औँल्याएर उनका चिनजानका व्यक्तिहरूले गालीगलौजपूर्ण पोस्ट राखेका थिए ।केही हप्ताअगाडि उनका भाई महेन्द्र ओलीले झोलुङगे पुलबाट हाम्फालेर आत्महत्या गरेका थिए । उनका एकजना दाइ गाडी दुर्घटनामा परी उपचाररत रहेका रहेछन् ।

यस्ता खबरहरूले दिमागमा दिगमिग भयो र अफिसको काम पनि गर्न मन लागेन ।

मनोहर लामिछाने सरले राजबहादुर कुँवर सरसँग बागबजारमा बसिरहेको बताएपछि सर्सर्ती  शुद्धाशुद्धि हेरिसकेर प्रिन्ट बोकेर म पनि बागबजारतिर लागेँ । बागबजारको युनिटी क्याफेमा दुबैजना चिया खाँदै बसिरहनुभएको रहेछ । म पुगेपछि लोकवार्ता परिषद् र कर्णालीको लोक साहित्य सम्बन्धी कुराकानीहरु भए ।गोरखापत्र संस्थानले कर्णाली लोकसाहित्यको लागि राजबहादुर कुँवर सरलाई सम्पादनको जिम्मा दिएको रहेछ । उहाँ गोरखापत्र जाँदै हुनुहुँदो रहेछ । तर गोरखापत्रमा काम नहुनेभएपछि उहाँ र म मेरो कविता सङ्ग्रहको अन्तिम सम्पादनको काम सक्न डिल्लीबजारस्थित उहाँकै कार्यालयमा पुग्यौँ । बाटोमा मैले पश्चिमका ठाडीभाका सम्बन्धमा केही लेखहरू लेखी २२ जिल्लाका ठाडीभाकाहरू सङ्कलन गर्ने काम करिब करिब सम्पन्न गरेको बताएँ । उहाँले यो काम सांस्कृतिक प्रतिष्ठानमार्फत् सम्पन्न गर्न सकिने भएकोले प्रतिष्ठानका सदस्यहरूलाई भेटाइदिने वचन दिनुभयो ।

अफिस पुगेपछि देशको महत्त्वपूर्ण घटनाक्रमको बारेमा चासो भएकोले अनलाइन समाचारहरू हेर्‍यौँ । बालेन शाहले बटुकहरूबाट हिन्दू परम्परा अनुसारको स्वस्ती वाचन र बौद्ध गुरुहरुको मंगलपाठ सहित  प्रधान मन्त्रीको शपथ पनि लिएछन् । मन्त्रिपरिषदमा १. बालेन्द्र शाहः प्रधानमन्त्री २. स्वर्णिम वाग्ले ः अर्थमन्त्री ३ शिशिर खनाल ः परराष्ट्रमन्त्री ४. सुदन गुरुङ ः गृहमन्त्री  ५. प्रतिभा रावल ः सामान्य प्रशासनमन्त्री  ६. गणेश पौडेल ः पर्यटनमन्त्री ७. अमरेश सिंह ः उद्योगमन्त्री  ८. सुनिल लम्साल ः भौतिक पूर्वाधारमन्त्री  ९. गीता चौधरी ः कृषिमन्त्री  १०. सस्मित पोखरेलः शिक्षामन्त्री ११. निशा मेहताः स्वास्थ्यमन्त्री  १२. सीता वादः- महिला बालबालिकामन्त्री १३. सोबिता गौतमः कानुनमन्त्री  ४. विराजभक्त श्रेष्ठः ऊर्जामन्त्री र १५ विक्रम तिमिल्सिनाः सञ्चारमन्त्रीको रूपमा शपथ लिएछन् । मन्त्रिपरिषद्को पहिलो निर्णयबाट गौरीबहादुर कार्की आयोगले सिफारिस गरेको जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णय गरेको रहेछ । झन्डै दुईतिहाइ सांसदहरू रहेको संसदका शक्तिशाली नयाँ मन्त्रिमण्डलप्रति यसपालि विगतका भन्दा जनताहरूले धेरै आशा र भरोसा गरेका छन् ।

यस्तै आशा र भरोसा २०६४ सालमा जनताले माओवादीलाई पनि गरेका थिए । रास्वपाले उठाएका हालका मुद्दाहरू पनि तत्कालीन माओवादीहरूसँग मिल्थे । पहिलो चुनावमा यस्तै नाराहरू बोकेर माओवादी समर्थकहरू गाउँगाउँमा पसिएको थियो । तर जब सरकारमा पुगे नयाँ केही गर्न सकेनन् । हामीले आशा गरेका व्यक्तिहरूले पुरानै ढर्रा अपनाए । पञ्चे शैलीलाई पटक्कै फेर्न सकेनन् । भ्रष्टाचारी र तस्करहरूसँग साँठगाँठ गरे । नेताहरूको बसाइ घुमाइ र खवाइ कुलिन अमिरहरूको जस्तो भयो । रवाफमा रमाउनु रमाए । तस्करहरूसँग साँठगाँठ गर्नेलाई खुलेआम छोडियो । फलस्वरूप अहिले सुनकाण्डलगायतका डरलाग्दा काण्डहरूमा प्रमुख नेताहरू नै मुछिए । हामीले यस्तो गर्नुहुँदैन चुनाव जित्दा दिएको नारा यो होइन भन्ने कसैमा चेत आएन । नेताहरू राजा कहलिए । नेताका छोराहरू राजकुमारमा दरिए । भोज भतेरमा राजसी शैली देखाइयो ।

मैले एक पटक रुकुमका नेता गोपाल शर्मा अनलजीसँग सँगै यात्रामा रहँदा नाङ्गै खुट्टा हिँडिरहेकाहरू शक्तिमा पुग्दा पनि नाङ्गै खुट्टा हिँडे के बिग्रन्छ र भनी यी विकृतिहरू बताएको थिएँ । हाम्रा ठानिएकाहरूले केही गर्न सकेनन् । अवसर पाउँदा पनि सत्ता स्वार्थमा चुके । आफ्नाहरू सत्तामा पुगेपछि केही न केही भाग मिल्छ भन्ने ठान्ने समर्थकहरूले पनि उनीहरुको कुकृत्यमा पनि आँखा चिम्लिदिए । तर यिनीहरूले अमूल्य अवसर पाएका छन् । यो अवसरको दुरुपयोग गरे भविष्यमा आफ्नो पनि खैरियत रहनेछैन भन्ने कुरामा यिनीहरू बढी सचेत छन् जस्तो लाग्छ । गरेरै देखाउन पनि सक्छन् । यस्तो पनि सजिलै गर्न सकिन्थ्यो भन्ने चेत यिनीहरूले गर्दै जाँदा महसुस हुनेछ पुराना नेताहरूलाई ।

नेपाली राजनीतिमा र सरकारमा  वर्षौँ वर्षदेखि उही अनुहारहरू दोहोरिँदै आएका थिए । चुनाव जित्नेबित्तिकै फलानो व्यक्ति फेरि पनि मन्त्री हुनेछ भनी अड्कल भइहाल्थ्यो  र उही नै मन्त्री बनेको हुन्थ्यो। ३५ वर्षीय युवा बालेन्द्र शाहको नेतृत्वमा नेपाली राजनीतिमा युवाहरूको प्रवेशले सर्वत्र चासो जगाउनु स्वाभाविकै पनि हो । गोरु बेचेको साइनो लगाउने हो भने गणेश पौडेल साहित्यपोस्टसँग आवद्ध साहित्यकार पनि हुन् ।साहित्यपोस्टको आजीवन सदस्य म पनि हुँ । तसर्थ यिनीसँग मेरो पनि नजिककै साइनो छ ।

 अस्ति अश्विनी कोइरालाले आयोजना गरेको साहित्यपोस्टका आजीवन सदस्यहरूको सम्मिलनमा गणेश पौडेलजी पनि आएका थिए । त्यहाँ पनि साहित्य र राजनीतिको सम्बन्धलाई मिठो शैलीमा अभिव्यक्त गरेर उपस्थितहरूको मन जितेका थिए । यस्तै मिठा भाषणले नै चुनाव जिते होलान् ।तर भाषण गर्नु र काम गर्नुमा फरक छ । सीमित स्रोत साधन र असीमित जनइच्छाबिच तालमेल मिलाउनु चुनौतीपूर्ण नै हुनेछ ।

तातो समाचार हेरेर पुगेपछि सच्याउनुपर्ने कुराहरू राजबहादुरजीकै कम्प्युटरको सफ्टकपिमा सच्याएर सम्पादनको पनि अन्तिम काम सम्पन्न भएको छ । कभर डिजाइन भएर प्रेसमा जानेबित्तिकै मेरो कवितासङ्ग्रह ‘स्तब्ध शब्दहरू’ सम्भवतः यही चैत्र मसान्तभित्र बजारमा आउनेछ । साहित्यिक प्रकाशनको हिसाबले ५ सन्तानको पिता हुँदै छु भन्ने गर्वले छाती ढक्क फुल्यो ।

काम सकिँदा रात पर्न थालेकोले र हावाहुरी सहितको वर्षादका लक्षणहरू देखिएकोले झटपट दुवाकोटको गाडी चढी घरतिर कुद्नै पर्ने थियो । भेट्नुपर्ने त कान्छामामाको छोरा प्रकाशकी पत्नी रुखबाट लडेर घाइते भई काठमाडौँ आएको महिनौँ बितिसकेको छ उनलाई पनि थियो । आज भेट्छु भोलि भेट्छु भन्दा भन्दै बिर्सने बानी र कामको अत्यधिक चापले उनलाई पनि भेट्नै पाइएको छैन । उनी उपचारको काम सकेर पर्सि घरतिर जाँदै छिन् ।

घरमा आइपुगेपछि पनि बालेन सरकारकै विषयमा छलफल भयो । अघिपछि पढाइमा व्यस्त रहने परीक्षितले आज बालेन सरकार र मन्त्रीहरूको बारेमा छलफल गर्ने रुचि देखायो । देवकुमारीले पनि जान्ने मनसाय देखाइन् । कुरा गर्दा गर्दै आज पनि रातको ११ बजिहाल्यो जितबहादुर शाह सरले नव चेतनाका चौथो अंकका लागि कविता पठाइदिने अनुरोध गर्नुभएको हुँदा प्रकाशोन्मुख कवितासङ्ग्रहभित्रकै ‘टोलमा धारा आयो’ शीर्षकको कविता पठाएर आजको दिनलाई बिट मारेँ ।

Loading

Post Comment

You May Have Missed