२०८२ चैत्र १४ गते शनिवार
दुवाकोट भक्तपुर
आज छोरी अस्मिताको जन्मदिन ।प्रविधिको उपहारस्वरूप फेसबुक नेपालमा भित्रिएसँगै शुभकामना आदानप्रदान पनि फेसबुकबाटै हुने गरेको छ । आफ्नो पहुँचमा फेसबुक भएपछि शुभकामनाको औपचारिकता पनि पूरा गर्नैपर्यो । करिब एक दशकअघि त जन्मदिन कहिले पर्छ सो समेत थाहा हुँदैनथ्यो ।
आफ्नै छोरीलाई दिनदिनै बिहान बेलुका शुभआशिष दिइएकै हुन्छ । तर जन्मदिन झन् विशेष हुने कुरा भइहाल्यो । अहिले त छोरी चितवनतिरै छिन् । छोरीको जन्मदिन चितवन गएर मनाउने कि भन्ने छलफल पनि भएको थियो । तर यही समयमा उनको दाङमा गोष्ठी परेकोले दाङ अस्ति नै दाङ गएकी छन् । आज त उनी दाङबाट फर्कँदै छिन् । सम्धी सम्धिनीहरू पनि हेटौँडाबाट चितवन आउनुभएको छ । योपालि घरायसी वातावरणमै जन्मदिन मनाऊन् भनेर हामीले अस्मितालाई फोन र फेसबुकबाट मात्र जन्मदिनको आशिष दियौँ ।
फेसबुकमा पोस्ट बनाउँदै गर्दा परीक्षितले अनुहारमा आश्चर्य बोकेर मेरो कोठामा पस्यो ।आफ्नी दिदीलाई जन्मदिनको सिलसिलामा शुभकामना दिनलाई होला भन्ने सोच्दै थिएँ उसैले बतायोः बालेन सरकारले केपी ओली र रमेश लेखकलाई पक्राउ गरेछ नि ।
मलाई पत्याउन मुस्किल पर्यो । मैले अरू साथीहरूसँग अनुमान गर्दा पनि बालेन सरकारले तर्साउन सक्ला तर पक्राउ नै त नगर्ला भन्ने सोचेको थिएँ । झटपट अनलाइन समाचार पत्रिकाहरू हेरेँ रेडियो सुनेँ केपी ओली र रमेश लेखकलाई पक्राउ गरेकै खबरहरू भाइरल भइरहेका थिए ।नपत्याउने कुरै भएन । मन्त्रिपरिषद्को पहिलो बैठकको पहिलो निर्णय नै गौरीबहादुर आयोगमा सुझाव कार्यान्वयन गर्ने भन्ने थियो ।
अस्ति मात्र साथीहरूसँग कुरा भएको थियो । पछिल्लो चरणमा जेसुकै परिस्थिति सिर्जना भए पनि नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउनमा काँग्रेसको नै मुख्य देन थियो । कोइराला परिवारलगायत काँग्रेसको यो देनमा शेरबहादुर देउवाको पनि भूमिका छ नै ।बेलायतमा पढेर पनि राजतन्त्र कालमा प्रजातन्त्र पुनर्बहालीको लागि सङ्घर्ष गर्दा जेलनेल भोग्ने व्यक्ति पनि हुन् देउवा ।उनको प्रधानमन्त्रित्व कालमा भारत, अमेरिका लगायत छिमेकी राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध राख्न सकेका थिए ।२०४६ पछि लोकतान्त्रिक व्यवस्थालाई जोगाउने भूमिकामा निरन्तर सक्रिय रहे । माओवादी शान्ति प्रक्रियालाई अघि बढाउने क्रममा योगदान गरे । समावेशी संविधान कार्यान्वयनमा सहयोग पुर्याए ।
यसै गरी केपी ओलीको पनि बहुदलीय लोकतान्त्रिक व्यवस्था पुनर्स्थापना गर्नको लागि जेलनेल खाएका नेता हुन् । राजनीतिबाट कमाएर दिनलाई उनका सन्तानहरू पनि छैनन् । पढाइ नभए पनि नेताहरूमा बौद्धिक स्तरका नेता हुन् । उनी अन्य नेताहरूको तुलनामा ज्ञान र विज्ञानमा पनि अब्बल छन् । उनको उखान मात्र होइन तर्कशक्ति पनि बेजोड छ । नयाँ नयाँ प्रयोगमा पनि उनी अगाडि नै छन् । नेता हुनलायक व्यक्ति नै हुन केपी ।भारतसँग सीमा जोडिएका लिपुलेक कालापानीको विवादमा केपीले स्पष्ट अडान राखेका थिए । नयाँ नक्सा जारी गरेर राष्ट्रिय भावनालाई जागृत गरेका थिए । “समृद्ध नेपाल, सुखी नेपाली” जस्ता दीर्घकालीन दृष्टिकोण ल्याए । रेल, पानीजहाज लगायत मध्यपहाडी लोकमार्ग र अन्य ठूला परियोजनाको परिकल्पनाकार पनि हुन् केपी । तर ठूला नारा ल्याए पनि अधिकांश परियोजनाको कार्यान्वयन पक्ष कमजोर रह्यो ।आफ्नो पार्टीभित्र पनि उनी तानाशाही प्रवृत्ति देखाउँछन् भन्ने आरोप छ ।
यसै गरी पूर्व गृहमन्त्री रमेश लेखक काँग्रेस पार्टीभित्र विवादमा कम तानिने मध्यमार्गी नेताको रूपमा पहिचान बनाएका छन् । संवैधानिक र कानुनी विषयमा राम्रो पकड भएकाल नीति निर्माणमा स्पष्ट धारणा राख्ने नेताको रूपमा चिनिन्छन् ।नेपाली कांग्रेस भित्र संगठन विस्तार र समन्वयमा पनि यिनको महत्त्वपूर्ण भूमिका मानिन्छ ।
तर भदौ २३ पहिलेको केपी सरकारले युवाहरूको चाहनाको नजर अन्दाज गरी सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइदिए । भ्रष्टाचार र कुशासनको चक्रभित्र फसेका युवाहरूलाई यसले बल्दो आगोमा घिउको काम गर्यो । भदौ २३ गतेको आन्दोलनको आह्वान गर्यो । तत्कालीन सरकारलेउक्त आन्दोलन उपर चर्को दमन गर्यो । १९ जना विद्यार्थी भाइबहिनीहरू र युवाहरूलाई हत्या गर्यो । यसले उग्र भएका युवाहरू र अवसरमा खोजीमा रहेका अन्य विध्वंसक शक्तिले सरकारका महत्त्वपूर्ण अङ्गहरूलाई छानी छानी आगो लगाइयो र विध्वंस मच्चियो ।विभिन्न नेताहरूका घर घरमा नोटका बिटा राख्ने सुरुङ भेटिएको भिडियो पनि प्रसारित भयो ।
पूर्व प्रमले राजीनामा दिन बाध्य भए र सरकार ढल्यो । त्यसको बदला जेनजीको चाहनाअनुकूलको सरकार बन्यो । आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भयो र लामो समय लगाएर प्रतिवेदन दियो । उक्त प्रतिवेदनमा पूर्व प्रम गृह मन्त्री र प्रहरी प्रमुखलाई ज्यान मुद्दामा कारवाही गर्न सिफारिस गरिएको थियो ।
यसै बिचमा चुनाव भयो र जेनजीको माग सम्बोधन गर्ने कसम खाएको रास्वपाले दुईतिहाइ नजिक सिट जित्यो ।यसअघि रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा मुद्दा लगाएर लामो जेल जीवन बिताउनुपरेकोले रविले पनि प्रतिशोध लिनु नै थियो ।
अतः अफिसभित्र भएको छलफलमा काँग्रेस र कम्युनिस्ट पार्टीले बनाएको प्रजातान्त्रिक इतिहास बाङ्गिने अवस्थामा पुगेको भन्ने कुरामा साथीहरू निष्कर्षमा पुगेका थिए ।
मनपरीतन्त्रलाई हटाएर प्रजातन्त्र ल्याउनु नेताहरूको योगदान भए पनि ल्याएको प्रजातन्त्रलाई भने आफैले खेलाउनु खेलाए । छोटो समयमा निकै ठुलाठुला भ्रष्टाचार काण्डहरू घटे । अधिकाँश काण्डहरू सामसुम पारियो । सरकारका सबै अङ्गहरूमा सेटिङमा चल्यो । अरू त अरू अदालतमा समेत भागबण्डाको राजनीति गरियो ।
अवकाशपूर्व म एक मध्यमस्तरको कर्मचारी थिएँ । मेरो मातहतको निकाय मलेनिका थियो । मलेनिकाले लेखा समूहका कर्मचारीहरूको पदस्थापन र सरुवा गर्दथ्यो ।हरेक अवसरहरूमा कर्मचारी संगठनहरूकै सिफारिस चल्दथ्यो । प्रत्येक मन्त्रालयमा एमाले निकट ५० प्रतिशत कर्मचारीहरूको बोलवाला हुन्थ्यो । करिब ३० प्रतिशत काँग्रेस निकट कर्मचारीहरू हुन्थे । १० प्रतिशतजति माओवादी निकटका र बाँकी अन्य कर्मचारीहरू हुन्थे । कमाउ अड्डाहरूमा सोही प्रतिशतमा कर्मचारीहरूको भागबण्डा चल्दथ्यो । यस हिसाबले आकर्षक कार्यालय भनिने भ्रष्टाचारका अखडाहरूमा बढीजसो एमाले निकट कर्मचारीहरू नै पुग्दथे । त्यसपछिको पालो हुन्थ्यो काँग्रेसी कर्मचारीहरूको र माओवादी कर्मचारीहरूको । कुन कर्मचारीलाई कता पठाउने भन्ने कुरामा मन्त्रीहरूको फोनले पनि काम गर्थ्यो ।अर्थात् ती कर्मचारीहरूका प्रत्यक्ष संरक्षक मन्त्रीहरू हुन्थे भने आफ्ना मन्त्रीहरूलाई प्रधान मन्त्री र पार्टीका नेताहरूले संरक्षण गर्दथे ।
म सल्यान कोलेनिका छँदा मेरो सरुवाको लागि कोलेनिका रुकुमका एमाले निकट हाकिमले पहल गरिदिएका थिए । उनले अन्य संगठनहरूलाई थाहै नदिई १२ जना लेखा अधिकृतहरूको सरुवा हुँदै गरेको बताएका थिए । मेरो पनि सल्यानबाट काठमाडौँ सरुवा हुने निश्चित भएको भनिएकोले म खुसी नै थिएँ । पछि मेरो सरुवा भएन र अन्य १२ जनाको मात्र सरुवा गरियो । ती १२ जना सबै एमालेमा सक्रिय कर्मचारीहरू मात्र थिए ।
यसै गरी ठेकेदारहरू पनि आआफ्ना संगठनका हुन्थे । अडिट गर्नेहरू र गराउनेहरूबिच पनि सेटिङ नै हुन्थ्यो । अनुगमनकारी निकाय र कार्य सञ्चालन स्तरका निकायहरू भित्ररहेका कर्मचारी संगठनहरूको मिलिभगतले दोषी सजिलै उम्किने तर निर्दोषी वा आफ्नो संरक्षक नभएको कर्मचारी फस्ने अवस्था थियो ।
नेपालमा भएका ठुला ठुला भ्रष्टाचार काण्डहरू पृथक प्रकृतिका भए पनि एक अर्का पार्टीबिच घाँटी नजोडी सम्भव थिएन । नेताहरूको घाँटी उच्च कर्मचारीहरूसँग घाँटी नजोडी सम्भव थिएन ।
यस्ता अति राजनीतिकरण र अति भ्रष्टीकरण हुँदा पनि सबै दल र जनताहरू चुपचाप थिए ।इतिहासले सधैँ यस्तै करतुतहरूलाई बोकेर हिँडिरहन सक्दैनथ्यो ।फलतः विस्फोटको अवस्थामा पुगेको युवा चेतनाले भदौ २३ र २४ को विध्वँस मच्चियो । चुनावमा नयाँ दलको बहुमत आउनु पनि देशको प्रशासनिक र राजनीतिक व्यवस्था र संस्कृतिमा परिवर्तनको माध्यम हुनु अनिवार्य थियो ।
प्रजातन्त्र र राष्ट्रियताको हकमा जतिसुकै योगदान गरेको भए पनि यिनीहरूले भ्रष्टाचार गर्दै नगरेको भए पनि देशमा चरम भ्रष्टीकरणका कारकहरू यिनीहरू नै थिए । बालेन सरकारले प्रत्येक भ्रष्टाचारको निष्पक्ष छानबिन अगाडि बढाउनै पर्छ । यस्ता कुराहरूमा कसैको मोह मोलाहिजा वा दया मानेर सम्झौता गर्नु भनेको परिवर्तनको गोरेटो समात्न कोसिस गरेको नेपाललाई पुनः पछाडि नै धकेल्नु हुन जानेछ ।युवाहरूले जुन सपनाको लागि विध्वंस मच्चाएका थिए यदि उनीहरुको सपना र उद्देश्य विपरीत सरकार गयो भने पुराना दलका कार्यकर्ताले गर्ने आन्दोलनभन्दा निकै महङ्गो युवाहरूको अर्को विध्वंसको सामना गर्नुपर्नेछ ।
आज बिदा भए पनि परीक्षित अस्पत्ताल गइसकेको थियो। खाना अबेरतिर खाइयो । खाना खाइसकेपछि भाते निद्राले छोपेकोले पुनः सुतियो । उठ्दा तीन बजिसकेको थियो । देवकुमारीले भाटभटेनीतिर घुमेर आउने प्रस्ताव राखिन् । देवकुमारीलाई साथ दिने एक दिन शनिवारमा त हो भनी म पनि तयार भएँ । दुवाकोट नपुग्दै पानी झमझम पर्न थाल्यो । मैले फर्कौँ कि भनेँ । देवकुमारीले घुम्न निस्केपछि किन यत्तिकै फर्कने भनेकोले रुझ्दै भिज्दै भाटभटेनी पुग्यौँ । देवकुमारीलाई के भ्रम छ भने अन्यत्र केही सस्तोमा पाइने भए पनि भाटभटेनीमा किनेकै राम्रो हुन्छ भनी जिद्दी गरेकोले उनलाई आवश्यक सामानहरू सङ्कलन गर्न भनेर म पर्खिएँ । उनले मरमसला फलफूलहरू र क्रिम तथा तेलहरू सङ्कलन गरेर पैसा तिर्ने स्थानमा ल्याइन् । हामीसँग सुक्को नगद नभएकोले अनलाइनबाट तिर्न खोजेँ ।जति गर्दा पनि नेट चल्दै चलेन । अतः खेरेका सबै सामानहरु सबै त्यहीँ छोडी हामी बाहिर निस्कियौँ । देवकुमारीमा असन्तुष्टिका लहर मिचमाच पारिन् । मैले भोलि पर्सि नगद निकालेर फेरि लिऔँला भनी ढाडस दिँदै घर फर्कियौँ ।
केपी र रमेश लेखकलाई पक्राउ गरेको विरोधमा देशका विभिन्न स्थलहरूमा आन्दोलनहरू भएछन् । एमालेको बैठकले पनि संघर्षको कार्यसूची बनाएको छ । काँग्रेसका पूर्णबहादुर खडकाले पनि कानुनी र राजनैतिक प्रतिवाद गर्ने विज्ञप्ती निकालेका छन् । सम्भवतः भोलिबाट अझै आन्दोलन चर्कनेछ ।
तर आन्दोलनले सरकारलाई पछि हट्न बाध्य बनायो भने र आन्दोलनकारीले भनेबमोजिम नै सरकारले कदम अगाडि बढाउनुपर्ने भयो भने शक्तिशाली सरकारको इज्जत माटोमा मिल्ने पक्का छ ।युवाहरूले परिवर्तनको सम्भावनाबाट फेरि विमुख हुन बाध्य हुनेछन् । जय सन्ध्या ।
![]()
Post Comment