×

२०८२ चैत्र १२ गते विहीवार

२०८२ चैत्र १२ गते विहीवार

दुवाकोट भक्तपुर

आज पनि हिजैको बासी भात खाएर बिहानै लेखनकुन्जको अफिसमा पुगेँ । राजबहादुर कुँवरले दिएको कविताको पाण्डुलिपी मा कतै त्रुटि छन् कि हेर्नुपर्ने थियो । दश वटा जति कविता हेर्दा हेर्दै १० बज्यो । क्रमशः चाहना, सिर्जना, मोहित र सौरभहरू आएर आफ्नो काम गर्न थालिहाले । लेखनकुन्जका यी कर्मचारीहरू स्वचालित मेसिन जस्ता छन् । काम कसैले अह्राउनुपर्दैन । अनुगमन गर्नुपर्दैन । काम सकेपछि बधाई पाउँछन् तर काम नसकिएमा सजाय पाउँदैनन् ।

कमल ढकालजी विपश्यनाबाट फर्किसक्नुभएछ । उहाँ पनि अफिसमा आइपुग्नुभयो र कर्मचारीहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर एकएकसँग कामको प्रगतिको बारेमा जानकारी लिनुभयो ।कार्यालयमा भइरहेका गतिविधिहरूको बारेमा जानकारी लिइरहनुभएको रहेछ ।ती गतिविधिहरूमा कर्मचारीहरूले खेलेको भूमिकाको बारेमा सुझाव र प्रशंसा पनि गर्नुभयो ।

अनि आफूले १० दिनसम्म लिएको विपश्यनाको अनुभव सुनाउनुभयो । कर्मचारीहरूले विपश्यना लिन किन आवश्यक छ भन्ने बारेमा बताउनुभयो र यदि कसैले जान चाहने भए नाम सिफारिस गरिदिन्छु भन्नुभयो । मैले ब्रह्मकुमारी विश्वविद्यालयले माउन्ट आबु (मधुवन) मा गरेको व्यवस्थापनको नमूनाको बारेमा अनुभव सुनाएँ । साहित्यलाई ध्यान र तपस्यासँग जोडेर लैजानुपर्ने कुराहरू पनि भए ।

दिउँसो बोल्ने कला बारेमा प्रशिक्षण दिने एकजना प्रशिक्षकलाई बोलाइएको रहेछ ।अरू साथीहरू त्यतातिर लागे पनि म भने एकछिन सुने पनि आफ्नो काम सकाउनको लागि आफ्नो टेबुलमा फर्किएँ । ३ बजेतिर सल्यानी चार्टर्ड एकाउन्टेन्ट मित्र दिलमान चन्द पनि आउनुभयो । लेखनकुञ्जलाई पीपीपी मोडेलमा प्रज्ञा प्रतिष्ठानमा लैजानको लागि उहाँसँग विचारको आदानप्रदान भयो । घोष्टराइटिङ नेपालको सिर्जनात्मक लेखन प्रशिक्षणमा सहभागी भएकी गङ्गा लामा पनि आउनुभएको रहेछ । उहाँसँग पनि अनुभवको साटासाट भयो ।

भागवत खनाल सरले भोलि लामो समयको लागि अष्ट्रेलिया जाँदै छु भन्नुभएकोले उहाँलाई आज भेट्ने उद्देश्यले ४ बजेतिर अफिसबाट निस्किएँ । तर आकाशमा बदली भई हावाहुरी सहितको वर्षाद्को लक्षण देखिएकोले लोकन्थली ओर्लन सकिनँ । गाडीबाटै उहाँलाई शुभयात्राको शुभकामना दिँदै बिदा मागेँ । गठ्ठाघर पुगेपछि हरिप्रसाद भण्डारी सरले फोन गरेर पुरस्कृत योगेश्वर वाङ्मय पुरस्कार प्राप्त गरेकोमा बधाई दिनुको साथै फुर्सद भए घरमै  भेट्न आउन अनुरोध गर्नुभयो । म फोन आउँदा गठ्ठाघरमै भएकोले झरेर उहाँको घरमै पुगेँ । उहाँको यात्रा संस्मरण साझा प्रकाशनबाट मुद्रण भइसकेको हुँदा सोको सम्बन्धमा जानकारी गराउँदै यसभन्दा अगाडि प्रकाशित समयको स्पन्दन पनि दिनुभयो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमलाई महत्त्वपूर्ण पुस्तकहरू उपहार दिने बचनवद्धता व्यक्त गर्नुभयो ।

त्यहाँबाट दुवाकोटस्थति घरमा आइपुगेँ ।राति ९ बजेदेखि बेलुका राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको अनलाइन मिटिङ भयो। मिटिङमा बैशाख ५ गते हुने वार्षिकोत्सव गर्ने चैत्र २१ गते मुसीकोटमा हुने इच्छुक प्रतिष्ठानका कार्यक्रमको अतिरिक्त राप्ती साहित्य परिषद्को नवनिर्मित भवनको भौतिक व्यवस्थापन र बाटो व्यवस्थापनको बारेमा छलफल गरियो ।

Loading

Post Comment

You May Have Missed