कवितागद्य कविता

मन, मान र मायाँ

फेरि आज पनि
तिमीले मेरो मन राखिदियौ
मैले तिम्रो मन राखिदिएँ ।
तिमीले भन्यौ, तपाईँ अघि खानुस्
मैले भनेँ, होइन, सँगसँगै खाम्
तिमीले भन्यौ, तपाईँ अघि लाग्नुस्
मैले भनेँ, होइन होइन, सँगसँगै जाम् ।

तिमीले भन्यौ
अनुमति पाऊँ, आज म मेला जान्छु
मैले भनेँ
अनुमति देऊ, आज अलि अबेला आउँछु
म गएँ र तिमी गयौ
तिमीले मेरो मान राखिदियौ
मैले तिम्रो मान राखिदिएँ ।

प्रतिक्षाको सीमा अगावै
तिमी मेला नै नपुगी फर्की आयौ
म बेला नै नपुगी फर्की आएँ
तर मभन्दा तिमीनै अघि आइपुगिछ्यौ ।

मैले मान राख्नुको पछाडि
अभिमान र स्वाभिमान ज्यादा थियो
तिमीले मन राख्नुको पछाडि
मायाँपन पो ज्यादा रहेछ पृय
फेरि पनि
तिमीले मेरो मन राखिदियौ
मैले तिम्रो मान राखिदिएँ ।

मन/मान राख्नु र मायाँ पोख्नुमा
जति निकटता थियो त्यति विकटता थियो
मैले हार्दै थिएँ, तिमीले जित्दै थियौ ।

२०७३।१०।०३ भैरहवा

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *