0%
Still working...

मुसीकोटको आकर्षक ठौरः आरुबोट चौर

मुसीकोटको मठ र सल्ले विमानस्थललाई जोड्ने नवनिर्मित झोलुङ्गे पुल तरेर २० मिनेट पैदल यात्राबाट सल्ले अस्पत्ताल पुगिन्छ । मठबाट सडकबाटोलाई पछ्याउँदै नजिकैको खोलामा पुगेर उँभोतिर लागे निर्माणाधिन चर्चको अवलोकन गर्दै छोटो गोरेटोबाटोबाट पनि सल्ले अस्पत्ताल पुग्न सकिन्छ । सल्ले अस्पत्तालबाट ५० मिटरजति माथि सिद्ध गुफा भेटिन्छ ।

धेरै पहिले डिग्रे साईकुमारी भगवतीलाई चढाउन लगेको बाख्राको पाठो हराएर यही गुफा हुँदै सल्ले निस्किएको भन्ने किम्बदन्ती पनि छ । गुफाभित्रको तल्लो सतह हेर्दा निकै परसम्म बाटो गएको जस्तो पनि देखिन्छ । अँध्यारोले धेरै परसम्म देख्न सकिँदैन । यति महत्त्वपूर्ण गुफा संरक्षणविहीन अवस्थामा मिल्काइएको छ ।

सिद्धगुफाबाट तेर्सै पूर्वतिर लागे सिद्धगुफा मन्दिर पुगिन्छ । त्योभन्दा ५० मिटरजति पर निकै ठुलो र पुरानो रयाँजको बोटमुनि अर्को नवनिर्मित मन्दिर र पाटी भेटिन्छ ।

त्यसपछि तेर्पायाँ तेर्पायाँ लागेर उकालो चढ्दै पश्चिमतिर लागे स्थानीयले घाँसदाउरा गर्ने गरेको गोरेटो बाटो भेटिन्छ । अलिकति माथि पुग्नबित्तिकै डाँडोको तल्लो धारमा पुगिन्छ । त्यही गोरेटोलाई पछ्याउँदै डाँडोको धारैधार उकालो चढ्दै जाँदा दक्षिणतिर मुसीकोटको ;सल्ले विमानस्थल र खलङ्गा बजारको अधिकांश भाग मात्र नभई रुकुमका अग्लाहोचा शिखरमा रहेका गाउँबेँसीहरू टम्मै देखिन्छन् । पश्चिमतिर सानीभेरी नागबेली आकारमा घुम्दै क्षितिजसम्म बगेको देखिन्छ भने रुकुम र जाजरकोटका प्रायः सबै अग्ला शिखरहरू माहुरीको चाकाजस्तै टम्म मिलाएर राखिएका जस्ता देखिन्छन् । सिँहलेक तथा त्रिशुलगारे लेक हातैले छोइएलान् जस्तै नजिकै देखिन्छन् । ती लेकहरूका मुनि पहाडैभरि झुप्प परेर रहेका झुला, मग्मा, बाँफीकोट र काँडाका घना बस्तीहरूले मनै लोभ्याउँछन् ।

जति माथि गयो दक्षिणतिर रहेको सल्यानको कुमाख लेक उति उति अग्लिँदै गएको देखिन्छ, उत्तरपश्चिमतिर जाजरकोटको हिमाच्छादित चाखुरे लेक तथा भालु लेक र उत्तरतिरको सिस्ने हिमाल पनि प्रष्ट देखिँदै जान्छ ।

उकालो धेरै ठाडो छैन । गोरेटो बाटो मजासँग हिड्न मिल्ने खालको छ । पाखैभरि फैलिएका बुट्यानहरू चित्ताकर्षक मात्र नभई यात्रीको लागि जाडो र गर्मीलाई वातानुकुलित बनाइदिन्छन् । एकातिर सिरसिरे हावा चल्दछ भने पारिलो पाखोले न्यानोपना छर्किरहेको हुन्छ । करिब २२०० मिटरमा उचाइमा पुगेपछि आरुबोट चौरको दम्सिलो भूभाग भेटिन्छ । यो केही तेर्सिएर थामलेकसँग जोडिएको छ । थामलेक र जन्तीलेकको बिचमा बाद्या पोखरी पनि भेटिन्छ ।

आरुबोट चौर पुगेपछि स्यार्पूदहको पूरै भाग देख्न सकिन्छ । उच्च लेकाली भेकमा वनविहार गर्नको लागि सर्वोत्तम स्थल हो यो ।

आरामसँग हिँड्दा पनि २ घण्टामै मुसीकोटबाट आरुबोट चौर पुग्न सकिन्छ । सल्ले अस्पत्तालसम्म अटोरिक्सामा जाने हो भने त अझ डेढ घण्टामै यति रमणीय स्थलमा पुग्न सकिन्छ । डाँडोको ढलौट र चारैतिरको प्राकृतिक मनोरमताको कारणले यात्रामा थकान पटक्कै लाग्दैन । जन्तीलेकसम्म पुग्न नसक्ने वा फुर्सद नहुने पदयात्रीहरूले थोरै समयमा यहाँ पुगेर चौतर्फी अवलोकन गर्ने अवसर प्राप्त गर्न सक्दछन् । अझ बिहान ५ बजे उठेर हाइकिङ वा मर्निङवाक गर्दै आरुबोट चौर पुगेर बिहान ८ नबज्दै मुसीकोट आइपुग्न सकिन्छ ।

स्थानीय सरकारले गुफा, बाटो र अन्य पर्यटकीय सुविधाको मर्मत सम्भार र व्यवस्थापन गरी थोरै लागतमा डाँडाको बाटोमा रेलिङसमेत लगाउनतिर ध्यान पुर्‍याउने हो भने यो स्थल रुकुमकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना छ ।

Loading

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts