कवितागद्य कविता

अब सगर जोतिन्छ !

कत्ति छेकिनू त्यो सगरबाट

हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा

फगत थुतुनो बालुवाभित्र धसेर !

 

ओ, मेरी जोरी !

आँशु, अल्छ्याइँ, अन्धभक्तिलाई

रछ्यानमा मिल्काएर

जर्‍याकजुरुक्क उठ, च्याप कोदाली चपक्क

भिर गादो सपक्क, एक पस्स्यो जुनेलो हालेर

माथि हेर, माथि !

तिम्रो टाउकोमा टेक्ने ऊः माथिको नीलो बारीमा

एक्लैएक्लै सुस्तसुस्त दिनभरि चरिरहने त्यो झुले बल्ल

अनि भोटेको भेडाबथानजस्तो रातको तिरिमिरिमा

घरिघरि वल्लो र पल्लो कुनाबाट पसेर उत्पात मच्चाउने त्यो तारे बहर

ती दुवैलाई सँगसँगै नारेर

पुच्छर निमोठ्दै कुदाउँदै परपरसम्म

दिन र रातलाई मथमाथ पारी

सधैँ बिहानी मात्र उमार्न

हामीले आजै सगर जोत्नुपर्छ ।

 

अन्तरिक्षविद् भनाउँदा सगर जोतुवाहरुले

राँटैराँटा छोडेको त्यो सगर

एकामेशबाट आँख्यो मार्दै उग्-लाउनुछ

असिना वा चीर्को हान्ने कालो बादल पन्छाउँदै

तिमी डल्ला मार्दै गर,

त्यो क्रुर सगरलाई धुलोपीठो पार्नैपर्छ

क्षणिकताका खोपिल्टाहरु भष्म पारी

असीम गहिराइलाई पुरपार पारी

युगौँसम्मको लागि सम्याउनैपर्छ ।

 

तिमी शिला टिप्दै जानू ताराहरुका

गादोमा साँची राख्नू खस्लान् कतै

(जो पातालमा निराशिएकालाई काम आउनेछन् ।)

जोत्दैजाँदा जोरी नमिलेका यी बल्लहरुलाई

घरि पूर्व र घरि पश्चिम फर्काउँदा

सृष्टिचक्र उल्टो र सुल्टो घुमोस् घरिघरि

सबैलाई ज्ञात होस् न्यानोपना आमाको गर्भाशयको

सुखदुःखका दिन चाखून् तल बस्नेहरुले पालैपालो ।

घरिघरि दुखाउने राहुकेतु जिलौटाहरु भेटिए

खेरखार पार्नू आगो सल्काउनुपर्छ

खरानी पार्नुपर्छ अशुभ जिलौटाहरु ।

 

लुकीलुकी तलकाको सपना/विपना चोर्ने

चोरमुसो कता दबेको छ, च्याउँदै जानू

जोत्नथाले मात्र भत्किँदै जानेछ त्यसको खोर

निस्सास्सिएर अकस्मात् फुत्त निस्कनेछ

निस्कनासाथ कुटोले टाउकैटाउकोमा ठुन्क्याउनू

छेको हाल्नू, भाग्न नदिनू किमार्थ

हाम्रो सातोको एकएक हिसाब गरेर

उसको पनि सातो खानैपर्छ ।

 

म जोत्दैजान्छु, उधिन्दैजान्छु

हाम्रो पाइलापाइलामा बाधक बनी हलो अड्काउने

को लुकी बसेको छ जरा तेर्स्याएर ?

त्यो सगरको पछिल्तिर,

जरै उत्तानो पार्नुपर्छ

सारा अन्तरिक्षको नै

चाहे बिच्क्यून् झुले-तारे बहरहरु,

चाहे भाँचियोस् हलो ज्वाली

तिमी जुनेलो रोप्दै गर ।

 

कहाँनेर खुन्टिइएको छ

हाम्रो ललाट जथाभावी कोर्ने भाविनीको लेखनी

सियो सियोमा खोज्दै जानू

मसी निचोरेर मिल्काउनुपर्छ ।

फेर्नुपर्छ पात्र-परिचय सांसारिक रङ्गमञ्चको

आइन्दा तलकाले भाग्यलाई नधिक्कारुन् ।

 

थकान मेट्दा पसिना पुछ्दै, सुस्केरा छोड्दै

पत्ता लगाउँछु शून्यभित्रको महाशून्य – सगरपारिको कालो ओढार

को छ त्यहाँ हरेक अस्तित्वलाई क्वापक्वापी निल्ने ?

त्यहीँबाट शुरुवात भएको हुनुपर्छ अन्तिम अन्त्यको

त्यही हुनुपर्छ जीवात्माको जेल

जहाँ पृथ्वीका अपहरित सन्तानहरु

त्यतैकतै कैद गरिएको हुनुपर्छ

म हलोले उधिन्छु, तिमी कोदालोले चोइट्याइदेऊ

त्यो जीवन थुन्ने जन्जिरलाई

अन्त्यको अन्त्य हुनैपर्छ

सकुशल उनीहरुलाई फर्काएर ल्याउनैपर्छ ।

 

त्यसैले,

ओ मेरी जोरी !

जर्‍याकजुरुक उठ

आज सगर जोत्नैपर्छ

उमारेर सगरभरि जूनैजून फुलाउनुपर्छ ।

 

२०७३।१०।७

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *