पी.ए.को जागिरे
पीडा मात्र दियौ भनी नसकिने पोखौँ गुनासो कता
सेवामा रहँदै बित्यो सब जुनी, टुट्दै गयो धैर्यता ।
ऊर्जा, सिर्जन, जोस, आत्मबल औ, सम्मान गिर्दै गयो,
तल्ला चढ्नु र झर्नु मात्र हुन गो, सुक्तै गयो ज्यान यो ।।
खै पानी, न छ नेट, फोन सुविधा, टेर्ने न कोही हुनु ,
चर्पी हेर्नु, ज्युनार पार्नु र पियन्, बोलाउँदै दौडिनु
पैँसा धर्दिनु बैंकमा, फगतका, यी कार्य मेरै भए,
भो भो खान्न निरीह जागिर म यो, कर्तव्य यस्तै भए ।
नाता के छ तिमी, ममा रगतको ? मान्छे म के हैन र ?
कस्को सेवक ? राष्ट्रको कि घरको ? सोच्यौ सधैँ नोकर
दासीदास प्रथा ढले रुढिबुढी बीसौँ शताब्दी उता,
तिम्रै नित्य निजी सहायक बनी, स्वीकार्नु के दासता ?
पैँसा, मान, दया, अनेक सुविधा, पाइस् नि जो भन्दछन्,
दाँज्दा ती सुविधा समान तहका, सैयौँ गुणा तुच्छ छन् ।
टाँठा धूर्त, ठुलाबडा पहुँचका, कुम्ल्याउनै मस्त छन्,
कोही काम नभै यही अफिसमा, मारी झिँगा बस्तछन् ।।
दर्जा, ज्ञान र कामकाज बिचको खै कार्यसूची यता ?
सेवा मालिकको कि आम जनको प्रस्ट्याउ लौ सत्यता !
राखी ख्याल, कदापि अन्तर नहोस्, बोली तथा कृत्यमा !
को लत्याउँछ ? को निरन्तर रह्यो, दायित्व कर्तव्यमा ?
पार्दर्शी, दक्षता र मीतव्ययिता, मूल्मन्त्रमै धाउँछु,
देऊ काम सदैव आम जनको, फत्ते गरी आउँछु
लाऊ लेप हुँ घाउको मलमझैँ, खोज्छौ भने साध्य छु,
जानी राख हुँ कालको कलम यो, जोत्छौ त दु:साध्य छु ।