×

बन्द परिबन्द

बन्द परिबन्द

(सुदूपश्चिममा अनिश्चितकालीन बन्दमा परेको बेला)

सुन्दर् पश्चिम नामले कहलिँदो, टाढा सैयौँ माइल

जस्ताका टहरा ठड्याइ लहरै, बस्तो छ दिपायल

डाँडाको शिरमा छ त्यो शिलगढी, शैलेश्र्वरी मन्दिर

फर्की पूर्व दिशा निशब्द बहँदी, सेती नदी मुन्तिर ।

 

थुम्को माथि छ राजपूर भनिने, क्षेत्रीय मुकाम् जुन

डाँडा आठ मिली बन्यो नगर त्यो, देखिन्न उद्द्यम कुनै

आई दुर्गममा यतै, अफिसको, भारी बिसाइ बसेँ

ऐले देख्तिन उम्कने पथ कुनै, जन्जालमा पो फसेँ ।

 

सेवा ठप्प भए नितान्त नखुली, दोकान् र कार्यालय

धुलो खेल्छ भविष्यको बिर पिँढी, भै बन्द विद्यालय

पर्दैछन् अलपत्र बीच बटुवा, खानै नपाईकन !

मर्दैछन् बिचमै बिरामि सहजै, ओख्ती नपाईकन ।

 

दिन् चर्या थप कष्टकर् भइरहे, सुन्दैन कोही कुरा

खाली सुन्दछु नाचगान् चरकिँदा, नारा जुलुस्का स्वर

धेरै भो जनता र राज्य बिचको, सम्पर्क विच्छेद भो

यो ‘लोक्तन्त्र’ पनी ‘हुनू नहुनु’ मा, खै! खास के भेद भो ?

 

एक्लै थे दुर, सख्त वृद्ध बिचरा बाबा बिरामी परे

बाटो मै अलपत्र भै पर कतै, आमा रुँदैछिन् अरे

बच्चा रोइ पुकार्दछन् हरघडी, “बाबा छिटो आउनू”

बुझ्दैनन् वश यो, परेँ सकसको, निस्की कता धाउनू ?

 

बाटो खर्च पनि रित्तिँदो छ दिनहूँ, थुप्रो भयो पीरको

चल्मल् गर्न दिँदैन कत्ति वरपर्, भारी छ जागीरको

भाग्थेँ बार छिचोलि घोर वनको, हावा सरी भै तर

जानै हुन्न छलेर धीर नरही, कर्तव्य भन्दा पर !

 

आमाबा वयले, अनिष्ट भयले, गल्दा कलीला मुना ।

चिन्ताले डढँदी पृया सहचरी, रोगी शरीर् को छु म

उम्की एक् दिन आउँला जसरि’नी, यो दर्द सुनाउँला

बुझ्ला पो कसले, पिडा सकसको सुनाई के पाउँला ?

  • २०६७।०१।२४
  • दिपायल, डोटी ।

Loading

Post Comment

You May Have Missed