कवितागद्य कविता

कालो मेघ  र बनचराहरु

बदलिँदो छ मौसम

मिठाइ लतपतिएको रङ्गीन मेचहरु बर्साउन छोडेर

यतिखेर

चट्याङ हुरी र असिना बोकेर

मडारिँदै छ कालो मेघ

उत्तरतर्फ घस्रिँदैछ उच्छ्रिँदै-पाच्छ्रिँदै छ

कृतिम ज्वरोमा भतभताएर

न धार न आधारका बनचराहरुको बथानतिर

 

निवर्तमान भुइँचालोको फ्रिजबाट चुहिएको

मेचदाताको हरेक आज्ञा स्वीकार्न अभिशप्त

उत्तरतर्फको चीसो हावा

कालखण्डको धेरै पछिपछि पर्दै

बिस्तारै बिस्तारै बेपरवाह निष्फिक्रि गुज्रिँदैछ

बनचराको गुँड बोकेको

सतिसालका पातहरु सुमसुम्याउँदै

एकथान वारवहन र एकथान पारवहनको आत्मरतिमा

 

रीति बदलिँदो छ आजकाल

चीसो र तातोले न्यानो जन्मनुपर्नेमा

चीसो हावा र तातो हावाले जन्माउँछ थुप्रै चट्टानहरु

बेपरवाह कम्मर मर्काउँछ चीसो हावा

लेब्रो तानेर उदेक मान्दै कालो मेघले

भित्रैसम्म दुईफ्याक पार्ने सुरले

तुहाएको एक-बिजुली चट्याङ

सार्वभौम अङ्कित सतिसालमा बज्रिँदा

ठिङ्ग उभिएको छ सिङ्गै/उत्रै

आफ्नै वक्षस्थलबाट

उतर्सँदै- पर-सरेका बनचराको कोलाज हेरेर

 

कालो मेघ परिवर्तित एक झोँक्का हुरीबाट

कालो मेघ परिवर्तित एक ढीक्का असिनाबाट

जर्जर अर्थ-राजनैतिक काण्डहरु मक्काउँदै

लछारपछार पारिँदा आफ्नै गुँडहरु

बनचराको घाँटी दबेको चीरबीर स्वरमा

दुःस्वप्न छरपष्ट हुन्छः

यो मौसम सुध्रिँदैन कि अब ?

 

कसै गर्दा पनि नउध्रिने बनचराका मनहरु

चकित हुँदै

कालो मेघको छत्र-छायाँमा रमाउने

काला ओढारवासी चःमेराहरु

चःउसकामा परिवर्तित हुँदै

चःचःचःचःचःचःचः

थाल्छन् बनचराका बाक्ला मनहरु ठुङ्न

ट्वाक-ट्वाक ट्वाक-ट्वाक ।

 

अनि निस्कन्छन् फुत्त फुत्त

परमाणु जुगका बिचरा बनचराहरु

गोलिया दाउरा र चिर्पटहरु खोज्दै

आफैलाई, नितान्त आफैलाई

एक डोको प्रश्न तेर्छ्याउँछनः

असिनाले लछारपाटो नलाउने गुँड बनाको खोइ ?

चट्याङले नचोइट्याउने हाँगो रोजेको खोइ ?

बेकार छ कालो मेघको गर्जनदेखि तर्सनु र

सत्तोसराप गर्नु मात्रले

कालो मेघको एक झोँक्कामा आफ्नै गुँडमा अडिन त सकिनस् ?

जसलाई देखेर अर्थ्याइन्छः

घरतिर जाँदा वनतिर मुख

वनतिर जाँदा घरतिर मुख

कालो मेघले तर्साइएका बिचरा बनचराहरु !

 

बदलिँदो छ मौसम

मिठाइ लतपतिएका सेता मेचहरु बर्साउन छोडेर

यतिखेर

चट्याङ हुरी र असिना बोकेर

मडारिँदै छ कालो मेघ

 

(राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको आयोजनामा २०७२ मंशिर ५ गते आयोजित कार्यक्रम ‘रुकुम साहित्य माला’को अठाह्रौँ श्रृङ्खला प्रज्ञाभवन कमलादीमा वाचन गरिएको कविता)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *