×

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

सोलाबाङ रुकुम

हिजो बेलुका सुतेपछि जिउभन्दा बढी रातभरि पिसाब पोलिरह्यो । कम्मरमा आगो नै सल्किएको जस्तो दुखाइ भइरह्यो । रातको करिब १ बजेसम्म निद्रा परेन । उठ्दा सुतेको कोठामा उज्यालो पसिसकेछ । बिनारामले चिया खान उठाए ।

आज देवकुमारीको १२ कक्षाको पूरक परीक्षा थियो । उनलाई सफलताको शुभकामना दिँदै बेस्ट अफ लक भनेँ ।

बिनारामको घरको माथिल्लो तलामा पुगेर चिया खाइसकेपछि घर जान्छु भनेर तल ओर्लिएँ तर घर जान जाँगर चलेन । कोठामै आएर सुतेँ ।

सुती सुती फेसबुक खोलेँ । हिजो शेयर गरेको कथामा महेश पौड्यालले कुमारी लामालाई ट्याग गरेर यो नाम तिम्रै हो कि भनी सोधेका रहेछन् । उनले पूर्ण सरलाई सोध्नुपर्छ भनिछन् । मैले यो सिर्फ कथा हो । सत्य कथा नभनेसम्म कथा काल्पनिक नै हुन्छ । पात्र र घटना विवरण कसैसँग मिल्न गएमा संयोग मात्र हुन्छ भनी प्रतिक्रिया दिएँ । त्रिवेणीमा घुम्न गएको बारेमा संस्मरणात्मक लेख कखराले छापेछ । बेलुका शेयर गर्ने भनी पेन्डिङमा राखेँ । बिनारामको घरमा खाना खाएर घरतिर आएँ । घरमा नेट नभएकोले सामाजिक सञ्जालबाट सम्पर्कविच्छेद भएँ ।

खाना खाइसकेको थिएँ । घरमा आउनेबित्तिकै अरू काम गर्ने जाँगर चलेन आफ्नै खाटमा सुतेँ । देवकुमारीले परीक्षा दिइसकेर घर आएर फोन गरेपछि दिउँसो १ बजेतिर उठेँ । ठुल्दाइले गाईहरू प्रकाशको जग्गामा पाटा बाँध्न ल्याएका रहेछन् । गाईहरू बैशाख मध्यतिरको चर्को घाम खप्न नसकी कराउँदै किलामै फनफनी घुमिरहेका थिए ।

एकछिनपछि भाउजू आउनुभयो र घाँस दिनुभयो । म बाहिर निस्किएकोले उहाँ पनि आँगनमा आउनुभयो । पारि काल्ना र ढिकमनिको घाँस दोकानेकान्छीले काटिसकी । त्यो घाँस हाम्रो पनि हो । यत्तिकै किन काट्न दियौ भनेर गुनासो गर्नुभयो ।

पहिले पारिकाल्नो भागबण्डा लगाए पनि बुवाकै नाममा थियो भने ढिकमनिको काल्नो आमाको नाममा नै थियो । आमाले पहिलेदेखि नै भन्दै आउनुभएको थियो कि माइलालाई जग्गा कम परेकोले ढिकमनिको सबै काल्नो माइलालाई नै दिनू भनेर । यो कुरा होमबहादुर सम्धीलगायत छिमेकीहरू सबैलाई भन्नुभएको थियो । उहाँ ३ वर्षअगाडि बितिसक्नुभयो । बुवा पनि बितेपछि गत वर्ष आमा र बुवाको नाममा भएका जग्गाहरू मालपोतबाट छुट्याएका थियौँ । ठुल्दाइले र प्रकाशलाई आमाले भनेको कुरा सुनाएँ । उनीहरूले हामीलाई थाहा छैन । आमाबाको जग्गा बराबर हुनुपर्छ भने । साक्षी होम सम्धी छन् भनेँ । होमसम्धीले पनि मलाई थाहा भएन भन्नुभयो ।

केही जग्गा त हामीले नापी आउँदा नै छुट्याएका थियौँ । भागबण्डा गर्दा म अति नै उदार बनेको थिएँ । दाइले पढ्नुभएको छैन भनेर दाइको नाममा बढी नै जग्गा छुट्याइयो । त्यस बेलाको जग्गाको क्षेत्रफल हेर्ने हो भने मेरोभन्दा डबल नै छुट्याइएको थियो । डाँडाखेत र कइनपानीको जग्गाको क्षेत्रफल धेरै थियो । त्यसमा पनि शिक्षक पेसाबाट आएको तलब जोगाई जोगाई आफ्नै मात्र पैसाले किनेको सेरीगाउँको घर दाइलाई पढाइ खर्च भनेर दिइयो ।

मैले एसएलसी दिनेबित्तिकै ४० सालमै रातामाटा स्कुलबाट शिक्षकको जागिर गर्न सुरु गरेको हुँ । त्यस बेला अन्य खर्च हुने कुनै ठाउँ थिएन । सबै पैसा आफूले एक रुपैया पनि नराखी बुवाआमालाई दिन्थेँ । बुवाआमाको आम्दानीको स्रोत अरू केही थिएन । बैँकमा ऋण थियो । पसलहरूमा ऋण थिए । मेरो तलब आउन थाल्दा त्यही तलबबाट ऋण तिर्नुभएको थियो ।

दिदीहरू दाइ र म अर्थात् धन मन कर्ण र पूर्णले एकै दिनबाट एकै कक्षामा पढ्न सुरु गरेका हौँ । आमाबुवा बिरामी भइरहने भएकोले धन दिदीले ४ कक्षा पास गरेर छोड्नुभयो । मन दिदीले पनि छोड्नुभएको थियो । तर १ वर्षपछि फेरि पढ्न थाल्नुभयो र मभन्दा १ कक्षा पछि पर्नुभयो । ठुलदाइको पढाइ कमजोर नै थियो । २ पटक फेल भइसक्नुभएको थियो । तसर्थ ९ पढ्दा पढ्दै छोड्नुभयो । पढुन्जेल चारै भाइबहिनीले बराबर काम गर्थ्यौँ । पढाइ छोडेपछि ठुलदाइको काम घरमा बढी हुने नै भयो ।

तथापि मैले पनि दाइ र दिदीहरूसँगै बिहान बेलुका घाँस काटेर, मल बोकेर, हलो जोतेर नै पढाइ पूरा गरेको हुँ । शनिवार र बिदाका दिनहरूमा अरू भाइबहिनीभन्दा म नै काममा बढी जोतिन्थेँ ।

४६ सालमा मेरो बिहे भएपछि देवकुमारी पनि घरमा काम गर्न थपिइन् । मेरो भागको काम उनले गर्न थालिन् । मैले शिक्षक पेसा नछोडुन्जेल १ रुपैयाँ नमासेर संयुक्त रूपमा बसेको घरमै खर्च हुन्थ्यो । प्रकाश र निशालाई मैले नै पढाएको हुँ । यदि मैले उनीहरूलाई नपढाएको भए अहिले उनीहरू यो पोजिसनमा जान मुस्किलै हुन्थ्यो । पढाइको महत्त्व बुझ्ने मान्छे घरमा भइदिँदा भाइबहिनी र सन्तानहरुलाई फाइदा नै हुन्छ ।

बिहेपछि ठुलदाइ प्रकाश र मेरा सन्तानहरू पनि भए । तीनैजनाका सन्तानहरूले राम्रो पढे । अहिले ठुल्दाइका सबै छोराछोरी स्थायी भएर काठमाडौँमै एकत्रित छन् । ८ वटा नातिनातिना खेलाएर बसे पुग्छ दाइलाई । खर्चको कुनै समस्या छैन ।

मेरा र प्रकाशका केटाकेटीहरू भने अझै पढ्दै छन् । मेरा केटाकेटीहरू सानैदेखि मेधावी थिए । हरेक कक्षामा यिनीहरू नै प्रथम हुन्थे । प्रथमलाई विद्यालयले निशुल्क गरिदिएकोले फिस तिर्नै पर्दैनथ्यो । एसएलसीपछिको उच्चशिक्षा पनि छात्रवृत्तिमै पढिरहेका छन् ।

मैले नै इन्जिनियर पढाइसकेको सन्तान गुमाउनुपर्‍यो। सन्तान गुमाउनुजत्तिको पीडा आमाबाबुलाई अरू केही हुँदैन ।

म माछामासु खाँदैन । मध्यपान गर्दैन । मनोरञ्जनका कुनै साधन प्रयोग गर्दैन । भान्सामा सामान्य खालको खाना पाक्छ । होटेल रेष्टुँरा गइँदैन । आफ्नो जीवनलाई सादगी तुल्याउने कोसिस गरिरहेको छु । मेरो परिवारमा अरूहरूले पनि त्यही सिको गरेका छन् । अस्मिता र परीक्षितले एमबीबीएस छात्रवृत्तिमै पढेपछि अनिवार्य सरकारी करार सेवामा काम गरे । एमडी पढ्दा पनि सरकारले नै उपसचिव बराबरको तलब दिन्छ । काठमाडौँको घर र जग्गा यही बचतको प्रतिफल हो ।

यसरी समाजमा प्रेरणाको स्रोत बन्न सकूँ भन्ने मेरो प्रयासलाई झिनामसिना गुनासोहरूले कहिलेकाँही बिच्काइदिन्छन् ।

तथापि गुनासो गरिरहने भाउजूलाई केही भन्न सक्दैन । खारास्वाँराको जग्गा पछि बाँड्न भनेर ठुल्दाइकै नाममा राखेका छौँ । त्यो दाइले नै एकलौटी चलाइरहनुभएको छ । आमाको नामबाट नामसारी भएको कोरीपाखाको जग्गा मेरो नाममा भए पनि दाइहरूले नै चलाइरहनुभएको होला । ढिकमनि पनि पहिले दाइले नै कोदो रोपेर खानुभयो हामीले केही भनेनौँ । घाँस कसले काट्छ हेरेर बसिरहने कुरा पनि भएन । मलको आशाले आफ्नो भागपट्टिको घाँस काट्नू भनिहोलिन् देवकुमारीले ।

ढिकमनि त चिन्ताराम जेठानको जग्गापट्टिको रोजेको हुँ तर पारिकाल्नाको जग्गा र कोरीपाखाको जग्गा कतापट्टिको परेको हो भन्ने समेत मलाई थाहा छैन । भेट भयो कि भाउजूले यस्तै मात्र गुनासो गरिरहने भएकोले ठुल्दाइको घरतिर जान पनि जाँगर चल्दैन । त्यति मात्र होइन मेरा अरू सबै भाइबहिनीहरूले पनि मेरो यो वास्तविकतालाई नजरअन्दाज गर्ने हुँदा कसैसँग बोल्न र नजिक पर्न मन लाग्दैन ।

भोलि न्वागी पुनीमा खिर खान आउनू भनी निम्तो पनि दिनुभएको छ भाउजूले । तर मिठो खिर भन्दा तितो गुनासोले पेट भरिन्छ । कसरी जानू ?

तातिइरहेको जिउमा शीतल होला भनेर भाउजू आफ्नो घरतिर लागेपछि लुगा धोएँ नुहाएँ । खाना पकाएँ । तल्लोपाटोमा झरेँ । २ महिना अघि लगाएका बोटे सिमी र स्कुस लटरम्म फल्न थालेका रहेछन् । अस्ति आधा पाटो जग्गामा उम्रिएको झार बाहुरे लगाएर फालेका थियौँ । आज पनि एक मेलोजति झार उखेलेँ । पकाइसकेको खाना खाएँ र ओछ्यानमा पल्टिएँ ।

एक छिनपछि महेश पौड्यालको फोन आयो । उहाँले भन्नुभयोः सेतोपाटीमा प्रकाशित तपाईँको कथाले यहाँ नारी साहित्यकारहरूबिच बहस मच्चिएको छ । तपाईँलाई सम्बन्धित पक्षले मुद्दा हाल्ने कुरा छ । सेतोपाटीको कार्यालय तोडफोड गर्छन् होला तुरुन्त त्यो कथा हटाउन लगाउनुहोला ।

म छक्क परेँ । त्यस कथा कसैप्रति लक्षित होइन । सिर्फ आफ्नै कल्पनाको उडान भरेको हुँ । त्यहाँ यौनको कुरा पटक्कै छैन । पात्रहरू काल्पनिक नै तुल्याइएको छ । गाडीको ढोकामा टाँसिएको नमस्कार गरिरहेको चित्रको बारेमा कथाको मुख्य पात्र चिठ्ठी प्रेषकको एकतर्फ मनगढन्ते कुराहरू पोखिएको छ । यो काल्पनिक कथा हो भनेर शेयर गर्दा नै भनेको छु ।

लेखकको निजी कल्पनाउपर मुद्दा मामिला चल्ने हो भने त अब प्रेमसम्बन्धी कुनै कथा लेख्न बन्दै गरे भो । यौनकथाहरूले पुरुष र महिला बराबर नै हिंसामा पर्छन् र त यौनकथाहरू लेखिइरहन्छन् । मैले लेखेको कथामा त यौनको कुनै लेष पनि छैन ।

साहित्यकारहरू उदार स्वभावका हुन्छन् भन्ने धारणा थियो मेरो । तर स्थापित साहित्यकारहरू भनाउँदा नै यतिसम्म संकुचित हुँदारहेछन् । अनौठो लाग्यो ।

यदि कसैको मर्ममा चोट लाग्छ भने कथा हटाउन लगाए के नै बिग्रियो र भनी सेतोपाटीमा फोन गरेँ तर फोन उठेन ।

यदि आफ्नो मन कलुषित भइदिएको भए यस धम्कीले दिउँसो नुहाएदेखि शीतल भइरहेको शरीरमा पुनः ज्वरो थपिन्थ्यो होला । मलाई यो कुनै ठुलो कुरा लागेन । स्थापित साहित्यकारहरूले नै अनावश्यक कुरालाई मुद्दा बनाएर मेरो नाम चलाइदिन्छन् भने राम्रै भयो भनी मनलाई सम्झाएँ र आरामसँग सुतेँ ।

Loading

Post Comment

You May Have Missed