२०८३ बैशाख १५ गते मङ्गलवार
सोलाबाङ रुकुम
बिहानको खाना खानुभन्दा पहिले पाठ्यपुस्तक निर्माणमा लाग्यौँ । आज चन्द्रा र मनलाल सर पनि हुनुहुन्थ्यो । ४ कक्षाको पाठ्यपुस्तकको काम सकिएको थिएन । तथापि सबै मित्रहरूको आआफ्नै जिम्मेवारीहरू भएको हुँदा घरमै बसेर काम गर्न सजिलो होस् भनेर खानापछि ५ कक्षाको पुस्तकको विषयसूची निर्धारण गर्यौँ र भागबण्डा लगायौँ ।
सल्लेरीको यात्राबाट फर्किँदा एकजना महिला यात्रीले आफूलाई चिठी लेख्नू है भन्दै बिदा भएको प्रसङ्गलाई केही सत्यता र धेरै कुरा काल्पनिकतामा मिसमास पारेर पत्र शैलीको कथा लेखी सेतोपाटीलाई पठाएको थिएँ सो कथा सेतोपाटीले प्रकाशित गरिदिएछ । मैले शेयर गरेँ र केही यात्रीहरूलाई पठाइदिएँ । महेश पौड्यालले विचित्रको लेखन भनी कमेन्ट गर्नुभयो र शेयर गर्नुभयो । दलबहादुर खडका भाइले पनि शेयर गरेछन् ।
दिउँसो पाठ्यपुस्तकमा राख्ने फोटोहरूको सङ्कलन गर्न मनलाल खिमविक्रम र म स्थानीय खेती, उद्योग, व्यवसाय भएको स्थलतिर घुम्यौँ र फोटोहरू लियौँ । फोटो खिच्दै गर्दा शरीरमा निकै कमजोरीको महसुस भयो । गरुवा उद्योगको क्रियाकलापको फोटो लिँदा म उभिनै नसक्ने भएँ र चकटीमा विश्राम गरेँ । जिउ तातिइरहेको थियो। पेट फुलेको थियो । फोटो लिने कामपछि होटेलमा फर्किएर खाजा खाने तयारी भयो । पेट फुलेको र खान अमन भएको हुँदा मैले खाजा छोएँ मात्र खान सकिनँ ।
आज घर फर्किने कुरा थियो तसर्थ कोठामा गएर आफ्ना लुगालत्त र सामान झोलामा राखी बाहिर आयौँ । धेरै बेर कुर्दा पनि सोलाबाङतिर जाने कुनै यातायातको साधन फेला परेन । जिउ झन् झन् भारी भइरहेको थियो । एकछिन पछि एउटा बाइकलाई होटेल साहुले रोकेर सरलाई बैरागीसम्म छोडिदिनू भने । उनले हाजिर गरेर आउँछु तपाईँ तल बाटोमा उभिँदै गर्नुस् भने । नगपालिकाकै कृषि शाखाका प्राविधिक हुन् भन्ने जानकारी भयो । म बाइकमा जाने आशाले सडकमा उभिइरहेँ । धेरै कुर्दा पनि उनी आएनन् । म भने उभिन नसक्ने अवस्थामा पुगेको थिएँ । दाङतिर आउने हाइस आइपुगेकोले मनलाल सर र म त्यसैमा चढी सोलाबाङ आयौँ । भाडा मनलाल सरले नै तिरिदिनुभयो ।
म घरमा पुग्नेबित्तिकै ओछ्यानमा पल्टिएँ । जिउमा हनहनी ज्वरो आयो । मर्छु कि जस्तो भयो । केही बेर आराम गरेपछि थोरै हल्का भयो । दिउँसैदेखि बिनाराम सालाले खाना खान बोलाएका थिए । आज राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको पाक्षिक भर्चुअल रचना वाचन कार्यक्रम थियो । त्यस कार्यक्रमको गुगल मिटको होस्ट मैले गरिरहेको थिएँ । घरमा नेट थिएन । मैले एड्मिट नगर्दा कार्यक्रम नै हुँदैनथ्यो । घरमा खाना पकाउने सामर्थ्य पनि थिएन । अतः खाना खाने र कार्यक्रम पनि खोलेर बस्नको निम्ति बिनारामको घरमा गएँ ।
बिनारामले आफूलाई लगाइएको मुद्दा सम्बन्धमा हाइस्कुलमा केही समय यतादेखि चलेको लुँछाचुँडीले आफूलाई अनावश्यक रूपमा तानेको गुनासो राखे । आफूले गएर आइसीटीका सामानहरू हेर्न पनि गएको तर उनीहरूले अरू नै सामान देखाएछन् । कुन सामान कुन पसलबाट ल्याइएको हो भन्ने कसरी एकिन हुनसक्छ र ? विद्यालयका प्रअले ढाँटे होलान् भन्ने मलाई लागेन । अब सर्वोच्चमा पुनरावेदन दिनुपर्ला ।
बिनारामहरूलाई यस मुद्दाले खासै तनावमा पारेको देखिँदैनथ्यो ।
साढे ७ बजे रचना वाचनको लागि गिरिप्रसाद बुढा र समीक्षाको लागि प्राडा जीवेन्द्रदेव गिरी उपस्थित भइसक्नुभएको थियो । बिस्तारै सचिव ओम खत्री अध्यक्ष मनलाल ओली लक्ष्मण ओली तुलसी केसी भूपेन्द्रा मल्ल चन्द्रा ओलीलगायत १२ जनाको उपस्थिति भयो । गिरिप्रसादले गद्य कविता छन्द कविता र गीतहरू प्रस्तुत गर्नुभयो । जीवेन्द्रदेव गिरीले १ घण्टाभन्दा बढी लगाएर उक्त कविताउपर रौँचिरा विश्लेषण गर्नुभयो । मैले सुती सुती कार्यक्रम सुनेँ ।
खाना पहिल्यै पाकिसकेको हुँदा कार्यक्रम सकिँदासम्म चिसो भइसकेको थियो । खान पनि मन थिएन । खानामा हात राखेँ मात्र । खाना खाने र कार्यक्रम सञ्चालनको निम्ति बिनारामको घरमा गएको भए पनि काम सकिएपछि उठेर घरमा आउन सकिनँ । बिनारामकै घरमा सुतेँ ।
रातभरि हनहनी ज्वरो आइरह्यो । शरीरका हड्डीहरू असह्य दुखिरहे ।
![]()
Post Comment